सरस्वती शेर्पाद्वारा लिखित एकाङ्की नाटक संग्रह मातृत्व सन् २०२५ को जुन २५ मा प्रकाशित भएको हो । १ सय ६९ पृष्ठमा फैलिएको यस कृतिमा २० वटा एकाङ्की नाटकहरू समेटिएका छन् । आकारमा मझौला देखिने यस पुस्तकले विषयवस्तुमा भने जीवनका विविध पक्षहरू समेटेको छ ।

यस संग्रहका नाटकहरू विशेषतः घरेलु समस्याहरूमा आधारित छन् । कुनै न कुनै समस्याविना मान्छेको जीवन पूरा हुँदैन, त्यसैले हरेक परिवारमा द्वन्द्व, चुनौती र संघर्षहरू हुने गर्छन् । यसै सन्दर्भमा, कतै सासू–बुहारीबीचको तनाव, कतै पुरानो पुस्ता र नयाँ पुस्ताबीचको विचारगत टकराव, कतै लागूपदार्थजस्ता कुलतले ल्याउने विनाशकारी असरलाई प्रस्तुत गरिएको छ ।

पुस्तकमा मार्मिक घटनाक्रमहरू पनि छन् । जस्तै, वृद्ध सासूलाई घरबाट निकालेर अलपत्र पार्ने तर पछुतो भएपछि फेरि घर ल्याउने प्रसङ्ग, काँप्ने हातका कारण थाल फुटाउने वृद्ध पितालाई अपमान गर्ने तर पछि आफ्नै बुढ्यौलीमा त्यही अवस्थाको अनुभव भएपछि माफी मागी फेरि मायाले स्याहार गर्ने घटनाहरू पाठकलाई गहिरो छुन सक्छन् । कतै अत्यधिक माया र लाडले बिग्रिएका सन्तानलाई अनुशासन दिन कठोरता आवश्यक हुन्छ भन्ने शिक्षा दिइएको छ ।

संग्रहको शीर्षक नाटक मातृत्व  विशेष रूपमा हृदयस्पर्शी छ । यसमा मुटुरोगले मृत्युको संघारमा पुगेकी छोरीलाई आमाले आफ्नै मुटु दान गरेर बचाउँछिन् । तर अन्ततः आमाको मृत्यु हुन्छ । यस घटनाले आमाको अमूल्य त्याग र सन्तानप्रतिको असीम माया उजागर गर्छ । यसैगरी, आमाबाबुले दुःखसुख गरेर हुर्काएका सन्तानले पछि उनीहरूलाई बोझ ठानेर वृद्धाश्रममा पुर्याइदिने कठोर यथार्थलाई पनि लेखिकाले प्रस्ट्याएकी छन् ।

नाटकहरूले एउटा गहिरो सन्देश दिन्छन् — बाहिरी सौन्दर्य मात्र हैन, भित्री सौन्दर्य पनि महत्त्वपूर्ण हुन्छ । मानिसलाई केवल पैसाले मात्र खुशी दिन सक्दैन, प्रियजनको साथ, समय र स्नेहले पनि जीवनलाई आनन्दमय बनाउन सक्छ भन्ने कुरा यस संग्रहमा प्रकट गरिएको छ ।

यसरी हेर्दा ‘मातृत्व’  संग्रहका नाटकहरू घरपरिवार र समाजसँग गहिरो रूपमा जोडिएका छन् । तिनले केवल समस्याहरू देखाइदिएका छैनन्, समाधानका बाटाहरू पनि सुझाएका छन् । कतिपय नाटकहरू सहयोगात्मक र प्रेरणादायी छन् भने कतिपय वियोगात्मक र कारुणिक पनि छन् ।

तर, आजको आधुनिक युगमा नाटकको लोकप्रियता घट्दो छ । टेलिभिजन, मोबाइल, युट्युब, नेटफ्लिक्स, अमेजोन, हटस्टार जस्ता माध्यमहरू घर–घरमा प्रवेश गरेपछि नाटक मञ्चन लगभग हराउँदै गएको छ । तर नाटक भनेको पौराणिक कालदेखि नै साहित्यको महत्त्वपूर्ण अङ्ग हो — चाहे भारतको शास्त्रीय परम्परा होस् वा प्राचीन ग्रीसको रंगमञ्च । त्यसैले यस पुरानो विधाको अस्तित्व जोगाउनु हाम्रो सामूहिक जिम्मेवारी हो ।

यही कारणले, सरस्वती शेर्पाले ‘मातृत्व ‘ जस्तो एकाङ्की संग्रह ल्याएर नेपाली साहित्यमा ओइलिँदै गएको नाटक विधालाई पुनः चेतनासाथ जागृत पारेकी छन् । लेखकहरूले अन्य विधामा लेख्ने गरे पनि नाटकमा कलम चलाउनेहरू दुर्लभ हुन्छन् । तर उनले यस क्षेत्रमा पुर्याएको योगदान प्रशंसनीय छ ।

संग्रहको नाम मातृत्व राखिएको छ । सम्भवतः शीर्षक नाटक नै लेखिकाको हृदयसँग नजिक भएकाले वा संग्रहका अधिकांश नाटकहरूमा मातृत्व भावनाको गहिरो अभिव्यक्ति भएकाले यसलाई यही नाम दिइएको हो भन्ने अनुमान गर्न सकिन्छ ।

भाषाशैलीको दृष्टिले, संग्रह सरल र सहज छ । यद्यपि कतिपय ठाउँमा साना व्याकरणिक त्रुटिहरू देखिए पनि तिनले पाठकलाई असुविधा भने गर्दैनन् ।

समग्रमा, मातृत्व संग्रह नेपाली नाटक साहित्यमा सरस्वती शेर्पाको उल्लेखनीय योगदानको प्रतीक हो । भविष्यमा पनि उनको कलमबाट यस्तै उत्कृष्ट कृतिहरू निस्कने अपेक्षा पाठकवर्गले राखेका छन् ।

दार्जीलिङ