भारतीय नेपाली कथा लेखनमा समशेर अली अब अपरिचित नाम पटक्क रहेन । मूलतः संस्मरण अनि काल्पनिक कथानक घोलेर नयाँ अनि स्वादिष्ट परिपाटीको कथा पस्कन खप्पिस कथाकार अलीले भारतीय नेपाली साहित्य भण्डारमा एकपछि अर्का उम्दा कथाकृति दिएर पाठकको हृदयमा आफ्नो लेखकीय सत्ताको साम्राज्य स्थापित गर्नु मात्र होइन उनी खोजीखोजी पढिने लोकप्रिय आख्यानकार समेत बनिसकेका छन् । यति हो उनका कृतिहरूमाथि अब अकादमिक गवेषण र अनुसन्धानात्मक कार्य भने हुन बाँकी छ । उनले जुन प्रकारको कथा लेखनको धार निर्माण गरेका छन् त्यो भारतीय नेपाली साहित्यमा निकै फरक अनि विचलन परम्परासित अघि बढेको देख्न पाइन्छ ।

सरल भाषाशैली लिएर, निजात्मक अनुभूति घोलेर अनि नवीन विधागत कथ्य संरचनाको बुनोट खिपेर रोचक आख्यान संसारमा पाठकलाई विचरण गराउने अलीका कथाहरू सामान्य अनि साधारण संघटनाभित्र रुमल्लिएका हुन्छन् । उनका कथाहरू जति बौद्धिक पाठकका निम्ति प्रिय छन् उत्तिकै आमपाठकका निम्ति पनि चासोका विषय बनेका छन् । कथालाई कथामा मात्र सीमित नराखेर उनले कथाभित्र जातीय गौरवगाथा, भाषा मोह, सामाजिक सद्भाव, सांस्कृतिक अध्ययन, राजनैतिक व्यङ्ग्य, धार्मिक सहिष्णुता, राष्ट्रप्रेम आदि यावत विषयहरूलाई पनि कथ्य संरचनाले टिपेर सङ्कथनको निम्ति पाठकहरूलाई गृहकार्य पनि दिएका छन् । वास्तवमा आख्यानको संसारबाटै समय, समाज र सभ्यताको यथार्थलाई विषयवस्तु बनाएर पाठकसित सोझो संवाद  गर्न सक्नु नै एक सफल कथाकारको खुबी हो ।  यो खुबी कथाकार अलीमा प्रशस्त देखिन्छ ।

उनका कथाहरू पढ्दा निसंस्मरण पो पढ्दैछु कि भन्ने भ्रम पाठकलाई भइरहन्छ । तर निसंस्मरणभित्र जुन स्वैरकल्पना र आख्यानात्मक स्वरूप मिसाएका हुन्छन् त्यसले पाठकलाई फेरि संस्मरण नभएर आख्यानको आभास दिलाउन पुगिहाल्छ । त्यसैले अलीका अधिक जसो कथाहरू संस्मरणदेखि पातलो पर्दाले पृथक् बनेका पाउछौँ । अंग्रेजी साहित्यको आत्माख्यानको विधामा खाप खाने उनको यो शिल्प भारतीय नेपाली साहित्यमा थोरै लेखकमा मात्र पाउन सकिन्छ । यो शैलीमा उनले जति सिर्जना दिएका छन् त्यसबाट वास्तवमा उनको यो शैली नै समशेरीय शैली भन्दा अत्युक्ति नहोला ।

दुई थोपा आँसु कविताबाट साहित्यिक यात्रा शुरू गरेका उनले अहिलेसम्म ७ वटा कथासंग्रह बजारमा ल्याइसकेका छन्  । हरेक पुस्तक ‘हटकेक’ बनेर बिक्री-वितरण भएको ज्ञात हुँदा उनको लेखनको फ्यान कति रहेछन् भनेर अनुमान गर्न सकिन्छ ।

आदरणीय पाठकवृन्द ! तपाईंले उहाँको नवीनतम कृति ‘द लास्ट डान्स’ पढिसक्नुभयो ? कृतिनामले कुनै अङ्ग्रेजी कृति पो हो कि भन्ने भ्रम दिन्छ । वास्तवमा कृतिनामको चयनमा कथाकार निकै सचेत छन् । ‘त्यो अन्तिम नृत्य’ भन्दा पनि हुन्थ्यो तर उनले अङ्ग्रेजी नाम नै उपयुक्त ठाने अनि त्यो साह्रै मीठो पनि सुनियो ।

शीर्षकीय कथा ‘द लास्ट डान्स’ रोमान्टिक कथा छ । आफूले मन पराएर पनि परिस्थितिले आफ्नो बनाउन नसकिएका फर्स्ट क्रसको कथा जो जीवनको उत्तरार्द्धमा पुन: भेट हुँदा खुलस्त हुँदछ । हाल डायलेसिसमा रहेका कथाकारले कोलकातामा आफ्नो उपचार क्रमलाई नै कथाको पृष्ठभूमि बनाएर लेखिएको यो कथामा विगतको युवाकालीन सन्दकफु यात्रा क्रममा भेटिएकी नायिका जेनीसितको पुनर्भेट र बिछोडको बेजोड कथा छ- ‘द लास्ट डान्स’ ।

वास्तवमा प्रेमानुभूतिको सुन्दर अभिव्यक्ति समाहित यो कथाले पनि विवाहोपरान्त प्रेम सम्बन्धलाई सुन्दर ढङ्गले प्रस्तुत गरेको छ । अलीका अघिल्ला कथाकृतिहरूमा सङ्कलित कथाहरू बाघपुल चर्किंदैछ र आफ्रिन लगायत अन्य प्रणयकथा जस्तै यो ‘द लास्ट डान्स’ पनि मास्टरपिस कथा छ । कथाकार र नायिकाले जुन विस्वाद, थकथकी र स्मृति मनभरि बोकेर एकार्कालाई बिदाइ गर्छन् त्यसले पाठकको मन र मस्तिष्क वास्तवमै भारी भइआउँदछ ।

सम्भवतः कथाकारको आफ्नै बुबा-मुमाको कथा हो ‘ईश्वरको हार’ कथा । कथा नायक मुस्लिम अनि नायिका इसाई । विपरीत धर्म र जात भए पनि कथामा पवित्र अनि निस्वार्थ प्रेमको अघि ईश्वरले पनि हार खानुपरेको संयोगान्त कथा छ यो । यसमा नायिका सेलिनको मानसिक द्वन्द्व, निश्चय अनि फेरि प्रेमप्रतिको समर्पणले कथामा रोचक उत्कर्ष  थपेको छ ।

ओ हेनरीले आफ्नो कथाको अन्तिम दृश्यमा सधैं एउटा रहस्य र चक्रबिन्दु राखेर कथान्त गर्थे । त्यही शैलीमा समशेरका कथाहरू पनि पाइन्छन् । कथा ‘चौकीदार बाजे’ पनि यसै शैलीभित्र पर्न आउँछ । ६२ सालको चीनसितको युद्ध लडेर बर्खास्त भएका एक पल्टनेको कथा जो चिया फ्याक्ट्रीमा चौकीदार काम गर्छन् उनैको कथा हो ‘चौकीदार बाजे’ । यसमा पनि हाम्रा वीर गोर्खाहरूले लडेका युद्धकथाको सानो झुल्को पाउन सकिन्छ । यसको अन्त्यले कथामा जुन आख्यानात्मकता दिएको छ त्यसले कथाको सौन्दर्यलाई माथि पुर्‍याएको छ ।

प्रेम-प्रणयका कथा सिर्जना गर्दा कथाकार खुबै निपुणता प्रदर्शन गर्दछन् । कृतिभित्रका  बालसुलभ आकर्षणको प्रेमिल अनुभूतिको मीठो कथा ‘चिलाउनेको पात’ को कथा होस् या हायर स्टडिजको निम्ति विदेशिएकी तर कहिल्यै नफर्किएकी प्रेमिकाको यादले बल्झाएको ‘बाडुली’ को कथा  । हेडमास्टरको झापट खाएर पनि हार नमान्ने ‘स्याबास सुमियन’ कथाको  मेजर मनकुमार राईको लाटो प्रेम होस् या त कथा आफ्रिनकै दोस्रो भाग ‘चिनार’को कथा होस् या त झुलुक्क भेटेर हराएकी ‘पैयुँको फूल’ कथाकी मिलीको कथा होस् या ‘भुइँ कुहिरोले छोपेको एउटा कथा’को ऐकान्तिक प्रेमिल पल अथवा ‘रातो गुलाब’को आकस्मिक प्रेमविच्छेदको पीडित क्षणको कथा, हरेक कथाले पाठकको मनमा एउटा-एउटा उत्सुकता, रोमाञ्च र संवेगको आरोह-अवरोह गराउन सक्षम बन्दछ । यी कथाहरू सबै कथाकारकै जीवनका घटनाहरू जस्ता संस्मरणात्मक शैलीमा लेखिएका छन् । यति धेरै प्रेमानुभूतिलाई अभिव्यक्त गर्ने उनको कला पनि गजबकै मान्नुपर्छ । हलुका लाग्ने कथाभित्र तर गम्भीर प्रेमानुभूत क्षणहरूलाई सबलतासित अभिव्यञ्जित गर्ने यस्ता कलात्मकता थोरै आख्यानकारहरूमा देख्न पाइन्छ ।

कथालाई रसिलो बनाउने कथाकार अलीको शिल्प साँच्चै उम्दा लाग्छ । सामान्य घटना तर त्यसका रोचक प्रस्तुतिमा कथाकारले विशेष ध्यान दिएका पाउछौँ । उनका कथाहरूमा दोहोरिरहने पात्र ‘मामा’लाई लिऊँ । अघिल्लो कथा सङ्ग्रह  ‘मामा’ लगायत अन्य कथाहरूमा देखिने ‘मामा’ चरित्र कति रोचक छन् । कतै उटपट्याङ कार्य गर्छन् त कतै सामाजिक विकृति र विसङ्गतिलाई चोटिलो प्रहार गर्दै चिन्तन गर्न पनि बाध्य गराउँछन् । ‘मामा-भानिज’को युगलबन्दीमा जन्मिएका कथाहरू हाम्रै छर-छिमेकमा घटिरहेका हुन्छन् ।

यो सङ्ग्रह ‘द लास्ट डान्स’मा पनि ‘ढिब्रीबत्ती’ कथामा मामासितको मीठो कथा छ । उत्तरआधुनिक शैलीको यो कथा पराख्यानात्मक छ । ‘अलादिनको ल्याम्प’कै कथालाई आधार गरेर स्थानीयताको रङ्गमा उनिएको यो कथाले हामी नेपाली/गोर्खाको ‘माल पाएर पनि चाल नपाउने’ प्रवृत्तिलाई गतिलो व्यङ्ग्य वाण हानेको छ ।

ढिब्रीबत्तीबाट निस्केको जीनबाट केवल क्षणिक सुखभोग मात्र उपभोग गरिरहेका मामाले राम्री दुलही खोज्न लाउँदा भुटान महाराजकै रानी उठाएर ल्याउँदा जन्मेको समस्याले गर्दा मामाले ढिब्रीबत्तीकै झटारो हान्दा सुइँकुच्चा ठोकेको जीन नफर्केको रोचक प्रसङ्ग छ । त्यही ढिब्रीबत्ती ५० रुपियाँमा किनेर पत्रुवाला कालुमियाँ हाल चारतले बिल्डिङ र दुई-चारवटा गाडीका मालिक शेख कालुमियाँ बनेको छ । यता “मामाले भने जीन उम्केर गएको फुटेको ऐनाको झ्याल पनि फेर्न सकेका छैनन् ।”

त्यस्तै मामासितको अर्को कथा ‘शिकारी कुकुर’ पनि रोमाञ्चक छ । किनेको भालेलाई शिकारी कुकुरले शिकार गरेको लुईँचे भाले भन्दै भानिजको परिवारलाई खुवाएको यथार्थ खुलिएपछि मामाको फाइँफुट्टी उदाङ्गो बनेको मीठो कथा छ यो पनि ।

यस्तै हास्य र परिहास मिसिएको कथा छ ‘आइसियुमा कौवा बिरयानी’ । आइसियुको उपचार कक्षमा दाह्रीजुँगा खौरन बोलाइएको हजाम र उनको व्यवहार अनि उनले प्रयोग गर्ने छुरा कैँचीसित जोडिएको कथाले जुन स्थिति सिर्जना गरेको छ त्यो गहन उपचार कक्ष र त्यहाँको गम्भीर वातावरणको विपरीत छ । रुँदारुँदै हाँस्नुपर्ने जस्तो परिवेश र स्थिति । त्यस्तै ‘उधारो’ कथाले पनि बेकारी जीवनले जन्माएको परिहासमय स्थितिलाई उधिनेको छ ।

कथाकार अली मिर्गौला रोगी हुन् । हाल डायलेसिसमा छन् । उनले मृत्युलाई पटक-पटक नजिकबाट बोध गरिराखेका छन् । घरीघरी आइसियुमा पस्दै निस्कनुपर्दाको पीडामय क्षणहरूले उनलाई पिरोलिराखेका छन् । ‘द लास्ट डान्स’ले उनको मृत्यबोधको त्यो चरम पीडालाई प्रत्यक्ष-परोक्ष बोकिराखेको पाउछौ । आख्यानलाई आख्यानकारको जीवनदेखि अलग्ग राखेर हेर्नू भन्ने मान्यता छ । तर कथाको पृष्ठभूमिमै बिमारी, अस्पताल, आइसियु, उपचारक्रम आदि दोहोरिरहँदा हामी कथाको पात्र रूपमा कथाकारलाई नै जीवन्त पाउछौं ।

कथा ‘जुनकिरी’ लाई लिऊँ । कथावाचक स्वंय कोलकातामा छन् । घरदेखि टाढा कालेबुङको जूनकीरी उनलाई खोज्दै बिमारीको हालखबर खोज्न यहाँसम्म आइपुग्छ । कथा वास्तवमा कथाकारको गाउँको माया अभिव्यक्त गर्ने माध्यम मात्र छ । गाउँको हालखबर के कस्तो होला ? के गाउँले मलाई सम्झिराखेको छ त ? ती तमाम् ऐकान्तिक मनोवाद र सम्झनाहरूलाई कथा ‘जूनकीरी’ले हामी पाठक अनि गाउँका परिचितहरूसमक्ष ल्याइपुर्‍याएको छ ।

उस्तै अर्को कथा ‘पर्दा खस्नअघि’ले पनि जीवन र मृत्युको दूरत्व एकदमै नजिक रहेको महसुस गराउँछ । कथाको संरचनाजस्तो बनाउन निबन्धात्मक पद्धतिले नाटकको मञ्चको परिकल्पनामा गर्दै ‘सपनाको नाटक’को अभिनय कर्ताको रूपमा आफैलाई कथाकारले प्रस्तुत गरेका छन् ।

‘उँटका ताँतहरू पछ्याउँदै अमिर’ कथा वास्तवमा बहुआयामिक प्रतिभाका खानी डुवर्सका अमिर सुन्दासका चित्रकला, कविता-गीत लेखन, मूर्तिकला, जातीय सचेतन, राजनैतिक योद्धा जस्ता विविध आयामका कर्महरू सापेक्ष मूल्याङ्कन गर्दै संरचना गरिएको कथा हो । कथाभन्दा धेर यो मूर्तिकार अमिरको जीवनवृत्त हो । उसै गरी आफ्ना वैंशालु मनका उत्ताल भावनाहरूलाई अम्बर गुरुङका गीतहरूसित बगाइदिन उनले कथालाई दुई प्रेमिल हृदयको बिछोड र पुनर्मिलनको संघटनासित जोडिदिए ।

वास्तवमा कथाकारले अजम्बरी गायक सङ्गीतकार अम्बर गुरुङप्रति देखाउन चाहेको असीम श्रद्धा र प्रेमलाई कथा ‘अम्बर गुरुङ एक लभ स्टोरी’ मा सुटुक्क देखाएका छन् । गोर्खा जातीय पर्व दशैं-तिहारको महत्त्व दर्शाउन अनि आफ्नो बाल स्मृतिमा अल्झेका मित्रहरूका सम्झनामा यो कथा जन्मेको छ । यसको अन्तिम परिच्छेदले जीवनको गम्भीर सत्यलाई उजागर गरेको छ ।

अर्को कथा ‘ऊ घर फर्केन’ ले ८६-८८ को गोर्खाल्यान्ड आन्दोलनले कति होनहार युवाहरूको भविष्य र जीवन नै अन्धकार बनायो त्यसैको एउटा झुल्को यो कथा । कालेबुङको तत्कालीन परिवेशमा घटेको एउटा जीवन्त घटनामा आधारित यो कथाले हाम्रो जातीय इतिहासको काला दिनहरूबारे सङ्केतमै धेरै कुरा भनेको छ ।

अन्तमा कथाकृति ‘द लास्ट डान्स’ हेनरीको ‘द लास्ट लिफ’ नै बनोस् हामी पाठकलाई लागिरहन्छ । किनभने कथाकारबाट अझ धेरै उम्दा कथा लेखिन बाँकी छ । त्योभन्दा पनि लेखिएका उम्दा कथाहरूका मूल्याङ्कन भएको हेर्न बाँकी छ । मान-सम्मानले सुशोभित बन्न बाँकी छ ।