उठान

साहित्यकार विश्वराज अधिकारीको नयाँ कृति उत्तरआधुनिक त्रासदी बजारमा आएको छ । यसलाई समकालीन साहित्य, बेलायतले प्रकाशन गरेको हो र यस पुस्तकको वितरक बिएन पुस्तक संसार प्रालि रहेको छ । यस कृतिमा ३१ वटा विचारोत्तेजक प्रबन्धहरू संग्रहित छन् ।

यी सबै प्रबन्धहरूमा वर्तमान समयमा हाम्रा अगाडि व्यक्ति, समाज र विश्वमा देखिएका विकृति र विसङ्गतिप्रति गहिरो चिन्ता र चिन्तन प्रस्तुत गरिएको छ । लेखकले यी विकृति र विसङ्गतिहरूलाई सप्रमाण उत्तरआधुनिक युगका त्रासदी हुन् भन्ने तर्क राखेका छन् ।

लेखक अधिकारीले कृतिको पिडिएफ प्रति पठाइदिएकाले यति धेरै कुराहरू लेख्न सकेको हुँ । जब मैले ‘उत्तरआधुनिक त्रासदी’ पढ्न थालें मेरो आङ जिरिङ्ग भयो । उनले प्रत्येक प्रबन्धमा यस्ता सूचना र तथ्य प्रस्तुत गरेका छन् कि यो कृति पढ्दा जो कोहीलाई पनि जिरिङ्ग बनाउँछ । आफ्ना सिर्जनामा उनी विचार प्रस्तुत गर्छन् । ती विचारहरूलाई तथ्यहरूले प्रष्ट्याउँछन् । उनको यो लेखन शैलीले मलाई सधैँ तानिरहन्छ ।

उनका प्रबन्धहरू पढ्न थालेपछि छोड्न मन लाग्दैन । प्रत्येक प्रबन्ध पढ्दा पाठकको मस्तिष्कमा उथुलपुथुल हुन्छ । तहल्का मच्चिन्छ । मस्तिष्कमा सकारात्मक र नकारात्मक दुवै तरङ्गहरू मडारिन्छन् । पाठकले आफ्नै वरिपरि घटिरहेका घटनाहरू झलझली देख्दछ । उत्तरआधुनिक त्रासदी लेखेर विश्वराजले नेपाली साहित्यमा आफूलाई एउटा फरक स्थानमा उभ्याएका छन् ।

यस कृतिभित्र साहित्य, कला, चिन्तन मनन र दर्शन छ । यो कृतिले हामी बाँचेको समयको यथार्थ बोध गराउँछ । यो कृतिलाई तथ्यहरूको संग्रह भने पनि अतिशयोक्ति नहोला । यो कृति समाजको अध्ययन गर्ने विद्यार्थीका लागि राम्रो स्रोतपुस्तक बन्ने कुरामा विश्वस्त छु । विद्यार्थी मात्र हैन अरूका लागि पठनीय र संग्रहणीय कृति हो उत्तरआधुनिक त्रासदी ।

‍===

उत्तरआधुनिक त्रासदीमा के छ ?

विश्वराज अधिकारीले यस पुस्तकमा उत्तरआधुनिक युगमा व्यक्ति, समाज र मानव जातिमै पारम्परिक आदर्श, मूल्य, मान्यता र अनुशासन ह्रास हुँदै गएको विकराल रूप प्रस्तुत गरेका छन् । उत्तरआधुनिक युगलाई नै यसको जिम्मेवार ठान्छन् । अहिले व्यक्ति र समाजमा आएको परिवर्तनलाई लेखकले त्रासदीको संज्ञा दिएका छन् । उत्तरआधुनिक युगका असरहरूले मानव समुदाय नै संकटमा पर्ने आशङ्का व्यक्त गरेका छन् ।

उत्तरआधुनिक युगले मुख्य गरी दुई क्षेत्रलाई असर गरेको भन्ने उनको तर्क छ । ती दुई क्षेत्र हुन् : व्यक्ति र समाज । स्थानीय र वैश्विक दुई वटा समाजलाई एउटै समाजको घानमा हालेर प्रस्तुत गरेका छन् ।

उत्तर आधुनिक युगले व्यक्तिलाई कसरी असर गरेको छ भन्दा उनी यस्ता तर्कहरू प्रस्तुत गर्छन् : व्यक्ति व्यक्ति बीचको सद्भाव कम भएको छ; ‘म खाऊँ मै लाऊँ’ भन्ने अति व्यक्तिवादी सोचले परिवार बिना एक्लै बस्ने प्रवृत्तिको विकास भएको छ; एकल संस्कृतिले विवाह जस्तो पवित्र संस्था धरापमा परेको छ;  मान्छे चरम स्वार्थी भएको छ; मान्छेले परम्परागत मूल्य, मान्यता र अनुशासनलाई मान्न छाडेको छ; पैसा र सुख सयलका लागि जे पनि गर्ने सोचको विकास हुनाले नेपाली युवा विदेश पलायन हुन बाध्य छन्; आवश्यकता भन्दा चाहनालाई प्राथमिकता दिइएको छ जसले गर्दा आकाङ्क्षा आकासिंदै गएको छ – फलस्वरूप अनावश्यक उपभोग्य वस्तुको पछि लागेका छन्; मोबाइल र भिडियो गेमका प्रयोगले बच्चाहरूको वैयक्तिक विकासमा नै बाधा पुर्‍याएको र उनीहरूको बालापन नै खोसिएको छ; मुनाफा बढाउन नयाँ नयाँ उपभोग्य वस्तुको उत्पादनले व्यक्तिमा ती वस्तुहरू जसरी भए पनि प्राप्त गर्ने चाह बढेको छ – फलस्वरूप व्यक्ति अमान्य र अनैतिक कार्य गर्न उद्धत छ; सञ्चार क्षेत्रमा भएको विकासले सञ्चारको बाढी आएको छ र त्यसले प्रत्येक व्यक्तिमा भ्रमको सिर्जना गरेको छ, निर्णय गर्ने शक्ति नै ढुलमुलाएको छ ।

यसैगरी उत्तरआधुनिक युगले समाजलाई गरेको कुअसर यसरी प्रस्तुत गर्छन् : समाजको आधार भनेको परिवार हो, जुन अहिले यसरी विखण्डित छ कि छोराछोरी आ-आफ्नै इलममा परिवारदेखि टाढा छन्, आमाबाबु भग्न घर र परिवारमा एक्लै छन्; आफ्ना स्वार्थका लागि बाबुआमाले युवाहरूलाई मुग्लान लखेट्दैछन्; अधिक अस्तित्ववादी सोच र एकल संस्कृतिले विवाह जस्तो पवित्र संस्था ढल्दै छ; विभिन्न कारणले मान्छे स्थानान्तरण गर्छन्, तर अहिले त समूहगत रूपमा नै स्थानान्तरण गर्ने डरलाग्दो स्थिति उब्जिएको छ; धर्म, संस्कृति, र राजनीतिलाई धनले कब्जा गरेको छ, जसले सामाजिक सद्भावमा खलबल ल्याएको छ; समाज व्यक्तिवादी सोच, अति जातिवादी सोच, चरम उपभोक्तावादी सोचले ग्रस्त छ; सामाजिक सञ्जालमा भएका र नभएका समाचारको सम्प्रेषणले समाजमा मनोभाजित संस्कृतिको विकास भएको छ ।

लेखकले वैश्विक समाज र मानव जातिलाई नै सङ्कट पार्नसक्ने कुअसरहरू यसरी प्रस्तुत गरेका छन्: भौतिक विकासलाई मुनाफाका लागि प्रयोग गर्दा वातावरणीय विनाश भइरहेको छ; खाद्यान्न उत्पादन बढाउने निहुँमा अधिक विषादीको प्रयोगले र वंशाणुगत गुण परिवर्तन गरिएको बीउको प्रयोगले स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ; मानव तस्करीले वैश्विक समाज आक्रान्त छ; विज्ञानको विकासले हातहतियारको सिर्जना गर्‍यो तर त्यही हातहतियारको होडबाजीले विश्व सङ्कटमा छ; उग्र राष्ट्रवादले विश्व विभाजित छ; मुनाफालाई मात्र प्राथमिकता दिंदा गरिबी बढेको छ; अनावश्यक र विलासिताका वस्तुको उत्पादन तीव्र भएको छ; धर्मलाई पनि व्यापारको साधन बनाइएको छ; व्यापारिक नैतिकतामा ह्रास आएको छ ।

===

विश्लेषण

विश्वराज अधिकारी आफ्नो मन्तव्यमा लेख्छन्, ‘यस पुस्तकमा उत्तरआधुनिक युगका त्रासदीहरू मात्र देखाइएका छन् । ती त्रासदीका कुअसरहरू कसरी काम वा समाप्त पार्ने भन्ने बारे भनिएको वा देखाइएको छैन ।’

लेखकको भनाइ र माथि उल्लेख गरिएका सामाजिक विकृति तथा विसङ्गतिहरूको अध्ययन गर्दा दुई वटा प्रश्न उब्जिन्छन् । पहिलो, के यी सामाजिक विकृति तथा विसङ्गति त्रासदी नै हुन् ? दोस्रो, के यी त्रासदीहरू उत्तरआधुनिक युगका उपज हुन् ?

लेखकले आफ्नो कृतिमा प्रस्तुत गरेका त्रासदीहरू त्रासदी नै हुन् कि समाज परिवर्तनका संकेत र त्यस युगका चुनौती हुन् त भन्ने तर्फ विचार गरौं । व्यक्ति व्यक्ति मिलेर समूह बन्छ । समूहबाट समाज बन्छ । समाज सञ्चालन गर्न समाजले आफ्नो मूल्य, मान्यता र दायरा निर्माण गर्छ । त्यो समाज स्थान, काल, धर्म, संस्कृति अनुसार फरक हुन्छ । नेपालको नेपाली समाज र आइसल्यान्डको समाजमा पक्कै पनि भिन्नता छ । तर व्यक्ति परिवर्तनशील छ । नयाँ नयाँ कुराको अनुभव गर्न खोज्छ । त्यसैले व्यक्तिलाई त्यही समाज अपर्याप्त लाग्न थाल्छ अनि सामाजिक दायरा भत्काउन थाल्छ । यसरी समाजको पनि परिवर्तन हुन्छ ।

तीन वटा पुस्ता रहेको एउटा परिवारको उदाहरण लिऔं । हजुरबा, बा, र छोरा पुस्ता । यी तीन पुस्ताको समय फरक हुन्छ र विचार पनि फरक हुन्छ । यी तीनै पुस्ताको बुझाइ पनि फरक हुन्छ । यी तीन पुस्ता एउटै अपरिवर्तनीय समाजमा बस्न सक्दैनन् । हामी हाम्रै तीन पुस्ते कुरा सम्झियौं भने पनि ज्वलन्त उदाहरण पाउँछौं । हाम्रा बाआमाले धोती फेरेर खाना खानु हुन्थ्यो, भान्सा अलग हुन्थ्यो । हाम्रो समयमा हामी सपरिवार सँगै बसेर खान थाल्यौं । हाम्रा छोराछोरी कतिखेर के खान्छन्, कहाँ खान्छन्, कसरी खान्छन् भन्ने पनि हामीलाई थाह नहुन सक्छ । यो प्राकृतिक परिवर्तन हो । हामीले यसलाई स्वीकार गरेकै छौं । यो सामाजिक परिवर्तनको सङ्केत हो ।

उत्तरआधुनिक युगसम्म आइपुग्दा समाजमा धेरै परिवर्तन देखिएको छ । यी परिवर्तनलाई त्रासदीका रूपमा प्रस्तुत गर्नु भन्दा पनि समाज परिवर्तनका चुनौतीका रूपमा प्रस्तुत गर्दा उचित हुन्छ होला ।

लेखकले प्रस्तुत गरेका उदाहरण मध्ये विवाह संस्था सङ्कटमा परेको विषयमा चर्चा गरौं । मानव सभ्यतामा विवाहको इतिहास तीन हजार वर्षभन्दा पुरानो छैन । मानव उत्पत्तिको इतिहाससँग तुलना गर्ने हो भने यो समय थोरै हो । यसको अर्थ विवाह कुनै एउटा काल खण्डको मान्यता मात्र हो र यो संरचना पनि परिवर्तनशील छ । लेखकले विवाह संस्थाको अहिलेको स्थितिलाई पारम्परिक सोचको विवाहसँग तुलना गरेर त्रासदी देखाएका छन् । यो कुरा विकासवादी सिद्धान्त भन्दा फरक छ ।

पूर्वीय परम्परामा विवाह कस्तो स्थितिबाट गुज्रेको छ भन्ने पनि हेरौं । महाभारतमा द्रौपदीले पाँच पाण्डवसँग विवाह गरेकी थिइन् । तर पाण्डवहरूका आआफ्ना अलग्गै श्रीमतीहरू थिए ।यसै गरी नारीलाई मनोरञ्जन र सन्तानोत्पादनको साधन मात्र हैन विनिमय गर्ने वस्तु बनाइएका पनि प्रशस्त उदाहरणहरू छन् ।

दोस्रो विश्वयुद्धपछिको नारीवादी आन्दोलनले के देखायो भने पूर्व आधुनिक र आधुनिक युगमा नारीलाई पुरुषसत्ता बलियो बनाउने सहयोगी र सन्तान उत्पादन गर्ने वस्तुका रूपमा लिइयो । विवाह संस्थाले अझैसम्म यही परम्परावादी विचारलाई टेवा दिइरहेको छ । त्यसैले समाजमा नारीको समुचित सहभागिताका लागि यो विवाह संस्थाको धारणामा पनि परिवर्तन हुनु आवश्यक देखियो । यसैका फलस्वरूप अहिले विवाहका विभिन्न रूपहरू देखिएका हुन् । यसरी हेर्दा उल्लिखित सामाजिक विकृति र विसङ्गतिहरूलाई सङ्केत वा घण्टी बजाउने काम भन्नु उचित होला ।

समाज परिवर्तनको इतिहास हेर्दा जब आधुनिक युग शुरू भयो त्यसै वेला धर्म र राजनीतिक सत्तालाई अलग्याइयो । त्यस वेलाको त्यो परिवर्तन अभूतपूर्व र अकल्पनीय थियो । त्यस वेलाको समाज परिवर्तन हुँदा पनि यस्तै त्रासदी देखाइएको थियो होला । मानव जातिकै अन्त्य हुन्छ भनिएको थियो होला । तर हामी एक्काइसौं शताब्दीमा आइसक्यौं । मानव जातिको अन्त्य भएको छैन ।

त्यसैले समाज परिवर्तनशील छ र आफ्ना चुनौतीहरूको आफै सामना गर्छ भन्ने हामीले देखिसकेका छौँ । यसर्थ पनि त्रासदीलाई परिवर्तनका सङ्केतका रूपमा लिनु पर्छ ।

अब हामी दोस्रो प्रश्नमा जाऔँ । लेखकले उल्लेख गरेका त्रासदी उत्तरआधुनिक युगका उपज हुन् कि होइनन् ?

यसको उत्तर खोज्न फेरि एक पटक इतिहासमा जानुपर्ने हुन्छ ।

सत्रौं शताब्दीमा फ्रान्समा भएको औद्योगिक क्रान्तिबाट नै आधुनिक युगको शुरूआत भएको मानिन्छ ।

लेखकले प्रस्तुत गरेका त्रासदीहरू उत्तरआधुनिक युगका उपज हुन् भनेका छन् । पहिलो कुरा त उत्तरआधुनिक अवधारणा आधुनिक युगको उपज हो । यो आफैमा स्वतन्त्र युग हैन । आधुनिक युग निर्माणको युग हो भने उत्तरआधुनिक युग विनिर्माणको युग हो । आधुनिक युगमा तर्कलाई महत्व दिएको थियो भने उत्तर आधुनिक युगमा आएर एक जनाको तर्कलाई मान्नु भन्दा पनि सामूहिक सम्मतिलाई महत्व दिइन्छ । धर्म, संस्कृति र सिद्धान्तलाई उत्तरआधुनिक युगमा ‘कोरा लेखनी मात्रै हो’ भनेर लिइन्छ । यही नै पारम्परिक मान्यताको उल्लङ्घन हो । दोस्रो विश्वयुद्धपछि आधुनिक युगको अन्त भएको मानिन्छ । लेखकले प्रस्तुत गरेका त्रासदीहरू मध्ये धेरै जसो आधुनिक युगका कारण उब्जिएका त्रासदीहरू हुन् न कि उत्तरआधुनिक युगका कारण ।

आधुनिक युग भौतिक विकासको युग हो । भौतिक विकास भएपछि रामराज्यहरू स्थापित हुन्छन् र मान्छे सुख सयलसँग बाँच्छ भन्ने अवधारणाको विकास भएको थियो । तर अति भौतिकवादी विचारले मान्छे विलासितातिर गयो । सत्ता सञ्चालनका लागि धन सङ्कलन र हातहतियारको सञ्चयमा बढोत्तरी भयो । विकासका नाममा विनाश हुन थाल्यो । धनलाई साधन भन्दा पनि साध्यका रूपमा स्थापित गरियो । समाजमा ज्ञानी भन्दा पनि धनी प्रतिष्ठित हुन थाले । धर्म र सम्प्रदायका नाममा युद्ध हुन थाले । गरीब राष्ट्रहरू धनी राष्ट्रको आशामा बाँच्न थाले । यी सबै कार्यको नतिजा लेखकले उल्लेख गरे जस्तै त्रासदीका रूपमा अहिले पनि छन् ।

हो उत्तरआधुनिक युगमा व्यक्तिवादी सोचको उदय भएको हो । स्थापित मूल्य र मान्यता भन्दा सार्वजनिक सम्मतिलाई माथि राख्दा मनोभाजित संस्कृतिको विकास भएको छ । फलस्वरूप निर्णय गर्ने क्षमतामा ह्रास हुँदै गएको छ ।

उत्तरआधुनिक युग पनि सन् २००० सम्ममा अन्त भइसकेको समाजशास्त्रीहरू मान्छन् । हामी अहिले उत्तरआधुनिक नाघेर अझ नयाँ युग (मेटामोडर्न) मा आइसकेका छौं । जुन कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टिलिजेन्स) को युग हो । व्यक्ति मोबाइलमै झुन्डिराख्नु नयाँ युगको समाजको द्योतक हो । यसरी हेर्दा किताबको शीर्षकले पाठकलाई सही दिशा नदेला कि भन्ने शङ्का पनि उत्पन्न भएको छ ।

‍===

बैठान

अब म अन्त्यतिर आइपुगेको छु । यो पुस्तक तथ्यहरूको सँगालो भएकाले सामाजिक अध्येयताहरूको स्रोत पुस्तक बन्न सक्छ । यति राम्रो पुस्तक पढिसकेपछि मनमा एउटा तृष्णा जागृत भएको छ । त्यो तृष्णाको निवृत्ति लेखकबाट होला भन्ने आशा छ ।

त्यो के भने लेखकले प्रस्तुत गरेका तथ्यहरूका आधारमा समाज परिवर्तनको दिशा के होला ? यी चुनौतीहरूलाई सामना गर्ने उपाय के हुन सक्छन् ?

लेखकबाट यसको बारेमा लेखिएको पूरक पुस्तकको अपेक्षा गरौं ।

~~ ० ~~

एडमन्टन, क्यानडा