बबिता मादेन द्वारा लेखिएको पुस्तक हो – “१९८६ बास हराएपछि” ।  १०४ पृष्ठमा आबद्ध यस पुस्तक २१ अध्यायमा अटाइएको छ ।

यस पुस्तकको प्रथम संस्करण २०२१ मा प्रकाशित भएको थियो भने यसको दोस्रो संस्करण २०२४ मा भएको छ ।

‘१९८६ बास हराएपछि’ – दार्जीलिङ पहाडमा १९८६ मा भएको छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति भएको हिंसात्मक आन्दोलन माथि आधारित रहेको छ । यस पुस्तकमा त्यस समय दार्जीलिङमा रहेको दुई वटा प्रमुख पार्टी जी. एन. एल. एफ. र सी. पी. एम. बीचको द्वन्द्व बारे देखाइएको छ । १९८६ आन्दोलनमा पहाडमा ठूलो नरसंहार भएको थियो धेरै मानिसहरूको ज्यानको क्षति भएको थियो । बाहिरका मान्छेहरूले हामीलाई अत्याचार गर्नु भन्दा पनि आफ्नाहरूले हामीलाई अत्याचार गरेको कुरा यहाँ यस पुस्तकमा लेखिएको छ ।

दार्जीलिङ पहाडमा त्यस समयमा जुन पार्टीको वर्चस्व रहन्थ्यो अरू पार्टीहरू स्वतः प्रताडित हुनुपर्ने अवस्था थियो । जी एन एल एफ पार्टीको वर्चस्व रहेको ठाउँहरूमा अन्य पार्टीका मानिसहरू प्रताडित हुनुपर्ने, केही भेगहरूमा सी पी एम पार्टीको वर्चस्व रहने अन्य पार्टीका मानिसहरू प्रताडित हुनुपर्ने ।

अहिले आएर १९८६ को आन्दोलन सम्बन्धित धेरै पुस्तकहरू प्रकाशित हुँदै गइरहेको छ, जस्तै छुदेन काविमोको ‘फात्सुङ’ उपन्यास, विमल लामा द्वारा लिखित ‘नुनको चिया’ उपन्यास, लेखनाथ छेत्री द्वारा लिखित ‘फुलाङ्गे’ उपन्यास, सञ्जय विष्ट द्वारा लिखित ‘माटोको घर’ उपन्यास, भगिरत रावतको ‘बास सल्किरहेछ’ उपन्यास हरू छन् । यसै सिलसिलामा आएको संस्मरणात्मक निबन्ध हो ‘१९८६ बास हराएपछि’ ।

यसमा १९८६ को आन्दोलनमा के के भोगे भन्ने कुराहरू बारे लेखेका छन् ।

त्यस समयमा केही नबुझी, चाहे उमेर सानो नै किन नहोस् मान्छेहरू राजनीतिमा होमिनु पुगेका थिए भन्ने कुराहरू यसमा पाइन्छ । सँगै गोर्खाली नै गोर्खालीको शत्रु भई आफ्नो ठाउँबाट भागाभाग गर्नुपरेका कुराहरू, आफ्नै गोर्खे दाजु भाइहरूले आफ्नो घर जलाइदिएका कुराहरू मार्मिक तरीकाले लेखिएका छन् । मुटु नै चसक्क हुनेगरी त्यो वातावरणलाई प्रस्तुत गरिएको छ । ज्यान जोखिममा राखेर छिमेकी राज्य सिक्किममा शरणार्थी झैँ बस्नुपरेको विषयले भावुक बनाउँछ । सिक्किम राज्यमा बस्दा लेखिकाले भोगेका दुःख कष्टका दिनहरू, त्यहाँको पाठशालामा आफू पढ्दाका अनुभवहरू यसभित्र प्रशस्तै भेटिन्छन् ।

केही स्थिति साम्य भएर आफ्नो घर फर्किएको, घर फर्के पनि घर घर जस्तो नलागेको, रिक्तता नै रिक्तताको महसूस भएको यावत कुराहरू यस पुस्तकमा लेखिएका छन् ।

लेखिकाले आफ्नो बाल्यकाल बिजनबारी क्षेत्रमा बिताएकी हुन्छिन् । त्यसैले पनि यस पुस्तकमा बिजनबारीको परिवेश पाइन्छ । बिजनबारी क्षेत्रलाई पृष्ठभूमि बनाएर पहिले पनि लेखनाथ छेत्रीले ‘फुलाङ्गे’ उपन्यास लेखेका थिए र उक्त उपन्यास पनि त्यसै आन्दोलनमा आधारित थियो ।

यस पुस्तकमा भने लेखिकाले त्यस समय सी पी एम पार्टीका मानिसहरूले आफ्नो वर्चस्व देखाउन धेरै मानिसहरूको घर जलाएका थिए, मानिसहरूलाई मारेर काटेर फ्याँकिदिएका थिए भन्ने कुराहरूको उल्लेख गरेकी छिन् । यस सँगै आन्दीलनकारीहरूको अमानवीय कार्य बारे पनि खुलाएकी छिन् । केही ठाउँहरूतिर त झन् ती आन्दोलनकारीहरूले बालबच्चालाई आन्दोलनको शिकार बनाएका घटनाहरू उल्लेख छन् । आफ्नो खेल्ने पढ्ने समय, आफ्नो बाल्यकाललाई आन्दोलनले परिपक्व बनाएको विषय लेखिकाले बढो मर्मस्पर्शी ढङ्गले प्रस्तुत गरेकी छन् । सानै उमेरमा बाँच्नको लागि संघर्ष गरेको लेखिकाको अनुभवले आँखा रसाउँछन् ।

लेखिकाले आफ्नो अनुभवसँगै १९८६ को समयमा मानिसहरूको सामाजिक जीवन, धार्मिक विषय तथा रीतिरिवाज सम्बन्धित केही कुराहरू पनि समेटेकी छिन् । लेखिका आफू लिम्बू समुदायमा जन्मिएको हुनाले लिम्बू समुदायको परम्परा बारे रोचकीय शैलीमा लेखेकी छिन् । बुझ्न सकिन्छ – त्यस बेला त्यो गाउँ ठाउँमा अन्धविश्वास धेरै नै थियो । किनकि यसमा उल्लेख गरिएको छ : मानिसहरू बिरामी भएको समयमा डाक्टरकोमा नगएर झारफुक जस्ता विधिमा धेरै भर परेको र असल उपचार नपाएर मृत्यु भएको प्रसङ्ग उठाइएको छ यस पुस्तकमा ।

पुस्तक पढेपछि यो कुरा पनि बुझ्न सक्छौं कि छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति हामीले धेरै चोटि आन्दोलन गरेका छौं र धेरै क्षति बेहोरेका छौं ।  राज्यको निम्ति यति धेरै बलिदान दिए पनि किन अहिलेसम्म हामीले छुट्टै राज्य पाएका छैनौं भन्ने कुराको पनि हामीलाई बोध हुँदो रहेछ ।

यस सँगै हिजोसम्म एउटै थालमा भात खाएर बसेको दाजुभाइहरू कसरी राजनीतिको कारणले गर्दा एक अर्काको शत्रु भएको र राजनीतिले हामीलाई एकतामा ल्याउन नसकेको तर हामीलाई मात्रै विभाजित गरेको महसूस पनि हामीलाई यस पुस्तक पढेपछि हुँदो रहेछ । आन्दोलन कालमा दार्जीलिङ पहाडमा यति धेरै नरसंहार हुँदा पनि बंगाल सरकारले त्यो नरसंहार नरोकेको देख्दा बरु उल्टा सी आर पी को भरमा आगोमा तेल हालेको देख्दा बंगाल सरकार हाम्रो शुभचिन्तक कहिले नरहेको बोध हामीलाई हुँदो रहेछ । यहाँ धेरै प्रश्नहरू उठाउन सकिन्छ जस्तै आन्दोलन कालमा मार्क्सवादी विचारधारा बोकेका त्यस समयको सी पी एम पार्टीका मानिसहरू के साँच्चै नै सिद्धान्तवादी मार्कसिस्टहरू नै हुन् ?

छत्रे सुब्बा जस्तो गोर्खाल्याण्ड भनेपछि मरी मेट्ने मान्छे, जसले १९८६ को आन्दोलनकालमा गोर्खाल्याण्ड भन्दा अरू केही स्वीकार नगर्ने पक्षमा रहेको मान्छे, त्यस्तो मान्छे पनि कसरी नराम्रो राजनीतिको जालमा फसेर धेरै वर्ष व्यर्थमा जेलमा थुनिए त्यो कुरा देख्दा हामी यो पनि बुझ्न सक्छौं कि दार्जीलिङ पहाडको राजनीतिमा कोही पनि एउटै सिद्धान्त बोकेर हिंड्न सक्दैन । यदि त्यो व्यक्ति अडिग भएर एउटै सिद्धान्तमा बस्न खोजे धेरै नराम्रो हुनसक्ने कुरा यस पुस्तक पढेपछि हामीलाई बोध हुन्छ ।

अन्त्यमा यही भन्न सकिन्छ कि १९८६ बास हराएपछि पुस्तक पठनीय छ । पुस्तक पढेपछि मानिसहरूले १९८६ को समयमा कस्तो कस्तो दुःखका कुराहरूको सामना गर्नु परेको थियो भन्ने कुरा छर्लङ्ग हुन्छ ।

लेखिकाको सहज, सरल, आकर्षित र रोचक भाषाशैलीले पनि पाठकलाई पुस्तकको अन्तिमसम्म तानिरहन्छ । बीचमा हराउन मन लाग्दैन ।

अन्त्यमा बबिता मादेन ज्यूबाट यस प्रकारको पुस्तकहरू अझै बजारमा आइरहुन् । बधाई एवम् शुभकामना !

दार्जीलिङ