सार्वजनिक सेवामा संलग्न कवि दिनेश थपलिया साहित्यलेखनमा पनि सक्रिय व्यक्तित्व हुन् । कविता र मुक्तक विधामा साहित्य रचना गर्ने थपलियाले ‘म गाउँ फर्किन्छु’ (२०८०) कवितासङ्ग्रह प्रकाशन गरेका छन् । यसैक्रमलाई निरन्तरता दिँदै उनको ‘प्रेमिल जिन्दगी’ (२०८१) मुक्तकसङ्ग्रह प्रकाशित भएको छ ।

कवि थपलियाभित्र प्रेमिल जागृतिका लहरहरू लहरिरहँदाको परिणामस्वरूप प्रेमिल मुक्तकको सिर्जना भइरहेका छन् । जसलाई सिङ्गो कृतिका रूपमा मुक्तकीय कृति ‘प्रेमिल जिन्दगी’ प्रकाशित भएको छ । यो मुक्तकसंग्रह उनको उन्मुक्त मुक्तकसङ्ग्रह हो । यसभित्र विभिन्न प्रेम–प्रणयका भाव र विचार बोकेका २४९ वटा मुक्तकहरू समाविष्ट छन् ।

‘प्रेमिल जिन्दगी’ मुक्तकसङ्ग्रहमा समाविष्ट मुक्तकका विषयवस्तुमा विविधता पाउन सकिन्छ । सङ्गृहित मुक्तकहरू एक नभएर अनेक विषयका छन् जसले धेरै विषयवस्तु र सन्दर्भलाई समेटेको पाइन्छन् । यहाँ समेटिएका केही मुक्तकमध्ये पहिलो मुक्तकमै राष्ट्रवादी चेतना र देशभक्तिको भावना यसरी अभिव्यक्त भएका छन् :

म जन्मेको गाउँ र हिँडडुल गरेको बाटो त्यहीँको

म हुर्केको ठाउँ र खनजोत गरेको माटो त्यहीँको

जहाँ पुगेपनि कहिले भुल्न सकिनँ मेरो जन्मभूमि

यो मुटुमा खोपेको जन्मस्थानको टाटो त्यहीँको । (–पृ.१)

आफू जन्मेको गाउँ र आफ्नो जन्मभूमिलाई सम्झेर मुक्तककार थपलियाले आफ्नो जन्मस्थानलाई विषय बनाएर मुक्तक रचना गरेका छन् ।

मुक्तक सङ्क्षिप्त, मितव्ययी, सूत्रात्मक, तुकान्त हुनुपर्छ भन्ने अनेकौं मुक्तकीय प्रवृत्तिलाई प्रायः हरेक मुक्तककारले आत्मसात् गर्दछन् मुक्तककार दिनेश थपलियाका मुक्तकमा पनि यी प्रवृत्तिहरू रहेका छन् । उनका प्रत्येक मुक्तकमा नवीनता वा नवनवोन्मेषिता देखिन्छन् । उनका मुक्तकमा यस्ता प्रवृत्ति यसरी व्यक्त भएका छन् :

म तिमीले रोजेजस्तो कसरी हुन सक्छु ?

म तिमीले खोजे जस्तो कसरी हुन सक्छु ?

आफैंले सोचे जस्तो त हुन सकेको छैन ?

म तिमीले सोचे जस्तो कसरी हुन सक्छु ? (पृ.११)

 अक्षर मिलेर शब्द, शब्द मिलेर वाक्य बन्दो रहेछ

लेखिएका हरेक वाक्यको आ–आफ्नै अर्थ हुँदो रहेछ

जानेर र बुझेर मात्र लेख्नुपर्छ भन्ने सुनेको थिएँ,

तर, भोगेर लेखिने वाक्यले मात्रै मन छुँदो रहेछ ।(पृ.२१)

मुक्तकले उन्मुक्त भाव बोकेको हुन्छ । थोरै कुराले धेरै कुरा व्यक्त गर्न सक्ने सामर्थ्य राख्दछ । त्यसमा पनि एउटै विषयबीजलाई विभिन्न रूप, रङ, छटा, स्वाद र शिल्पसज्जामा रूपान्तरण गर्न सक्नु मुक्तककार थपलियाको प्रतिभाचातुर्य र कलाकौशलताको दृष्टान्त बन्न पुगेको छ । यस कृतिमा मुक्तकीय विषयले अधिकतम प्रणयजन्य अनुरागलाई व्याप्ति बनाइरहँदा पनि त्यसको प्रस्तुतिगत सौन्दर्य पटकपटक प्रेमिल रतिरागतर्फ उन्मुख गराउन सक्नु नै कवि थपलियाको प्राप्ति देखिन्छ । यसलाई मुक्तकमा यसरी व्यक्त गरेका छन् :

तिम्रो तिर्सनामा कैयौँ रात अनिदो बिताएको छु

तिम्रो सम्झनामा कैयौँ रात तकिया भिजाएको छु

हाम्रो सम्बन्धले अनौठो खेल खेल्यो नियतिले,

जिन्दगीका कैयौँ हार सहेर तिमीलाई जिताएको छु । (पृ.५०)

त्यस्ता शैलीशिल्पगत वा संरचनागत वैविध्यका कोणबाट हेर्ने हो भने पनि एउटै अनुप्रासीय कलालाई उनले अन्त्यानुप्रास, पदगत मध्यानुप्रास, पदांशगत मध्यानुप्रास तथा आदिमध्यानुप्रासका रूपमा प्रस्तुत गरेका छन् । जसलाई मुक्तककार थपलियाले यसरी प्रस्तुत गरेका छन्ः

कहिले पिरतीले लालित्यको रूप लियो

कहिले पिरतीले चरित्र हत्याको रूप लियो

मन मिले पनि औकात नमिलेको बहानामा

कहिले पिरतीले आत्महत्याको रूप लियो । (पृ.२४३)

कवितामा लेखेँ, गीतमा लेखेँ, कहानीमा लेखेँ

दिनमा देखेँ, रातमा देखेँ, सपनीमा देख्छु

कहाँ राखौँ, कहाँ भेटौँ भएरहेछ अझै पनि

दिलमा आई बस तिमी, परानीमा राख्छु ।( पृ.२०४)

यसरी थपलियाका मुक्तकमा मध्यानुप्रास र अन्त्यानुप्रासको प्रयोग गरिएको छ ।

थपलियाका मुक्तकमा प्रेमिल चिन्तन, अस्तित्ववादी चेतना, स्वअवस्थाबोध, पारिवारिक अवस्थाजस्ता कुराहरू प्रशस्त पाइन्छन् । उनका मुक्तकमा पर्यावरणदेखि व्यक्तिगत चरित्रका सूक्ष्म पक्षसम्मका यावत् कुराहरू आएका छन् । जीवन नकारात्मक नभएर सधैं सकारात्मक हुनुपर्छ र एउटा आदर्श बोकेर हिँड्नुपर्छ भन्ने मान्यताका साथ प्रेमिल कुरालाई खोज्दै आदर्श र सुखमय जीवनको कामना यसरी व्यक्त गरेका छन्ः

तिमी मायाको सुवास बनेर छाइरहे हुन्थ्यो

तिमी पिरतीको मुस्कान बनेर आइरहे हुन्थ्यो

तिम्रो अनुपस्थिति अभाव बनेर दुखिरहन्छ मलाई

तिमी निरन्तर जवान बनेर धाइरहे हुन्थ्यो । (पृ.६७)

यस प्रकारका प्रेम, प्रणय र रतिभाव व्यक्त भएका उनका मुक्तक सरल र सुबोध्य छन् ।  विचार र भाव व्यक्त गर्न तिनीहरूलाई सामान्यीकरण गर्न उनले सरल बोधगम्य शब्दको चयन गरेका छन् । यस हिसाबले उनीभित्र शैलीशिल्पमा पर्याप्त परिपक्वता पाइन्छ । यहाँका मुक्तकहरूमा जीवनका प्रेम, खुशी, पीडा, अभाव, सन्तुष्टि र अतृप्तिलाई छुने तथा आघातलाई सुमसुम्याउने क्षमता समेत् देखिन्छ । यसैबाट सांसारिक सन्तुलनको चाहना पनि अभिव्यञ्जित भएको प्रतीत हुन्छ । विविध विषयको अध्ययन, साधना र समर्पणका अनेक चरणपछि रचना गरिएका यी मुक्तकले उनलाई सम्भावना बोकेका मुक्तककारका रूपमा उभ्याएको छ ।

यस सङ्ग्रहमा समेटिएका मुक्तकहरू बहुमुखी जीवनचेतना बोकेर आएका भए पनि सौन्दर्यका दृष्टिले कलात्मक रहेका छन् । चतुष्पदीय ढाँचाका प्रायः अन्त्यानुप्रास मिलेका उनका मुक्तक सौन्दर्यका दृष्टिले पनि उपयुक्त छन् । विषयवस्तु, भाव, रूपक, सामर्थ्य र लोकोक्तिको प्रयोग आदिमा पनि मुक्तकहरूको गुण प्रचुर मात्रामा देखिन्छ । समग्र दृष्टिले उनका मुक्तक सिर्जना पठनीय र दीर्घप्रभावी देखिन्छन् । यसर्थ निर्धक्कसँग भन्न सकिन्छ, थपलिया ‘प्रेमिल जिन्दगी’मार्फत प्रतिनिधि नेपाली मुक्तककारका रूपमा उभिएका छन् ।