लागूऔषध दुर्व्यसन नियन्त्रणका लागि लामो समयदेखि क्रियाशील झापा भद्रपुरका इन्द्रप्रसाद ओलीले पाँचौँ कृतिका रूपमा भर्खरै प्रकाशन गरेको लागु पदार्थ दुर्व्यसन न्यूनीकरणसम्बन्धी चेतनामूलक पुस्तक दिव्य दृष्टिले वर्तमान नेपाली समाजमा जटिल बन्दै जानुमा लागूऔषधलाई प्रमुख समस्याको रूपमा चित्रण गर्ने प्रयास गरेको छ । पुस्तकले समाज र राष्ट्र बिगार्ने दुर्व्यसनी खेलको संरक्षक को हो त ? भन्ने प्रश्नको उत्तर समेत खोज्ने प्रयास गरेको छ । पैसामुखी सामाजिक वातावरणको बढोत्तरी भइरहेको वर्तमानमा थोरै लगानीबाट धेरै कमाउने बाटो राजनीति र सामाजिक संरचनाले खोजी गर्ने क्रममा लागु पदार्थको अवैध कारोबार फस्टाएको सङ्केत पुस्तका अंशहरूले प्रस्ट पार्ने प्रयास गरेको देखिन्छ ।
चेतना नेपालका अध्यक्ष तथा प्रमुख प्रशिक्षक, राष्ट्रिय हिन्दु एकता मञ्चका अध्यक्ष समेत रहेका ओलीले पाँचौँ कृतिसम्म आइपुग्दा नेपाली समाज र राजनीतिको विकृत बारे राम्रै जानकारी राखेर विषय बस्तु पस्कने प्रयास गरेको देखिन्छ । राजनीतिले सही गति लिन नसक्दा फिरङ्गीहरूले घुमफिरका नाममा लागु औषधको दुर्व्यसनको व्यापार गरेर अरबौँ रूपैया नेपालबाट विदेश लगिरहेको पुस्तक पढ्दै जाँदा प्रस्ट हुन्छ । विदेशीहरू पर्यटक बनेर नेपाल प्रवेश गर्दै गर्दा सरकारी संरचनाले अवैध काम वा गतिविधि गरो कि गरेन भनेर चासो नलिँदा नेपाली समाजमा दुर्व्यसन छोडेर आउँदा भएको खर्चको दुई गुना पैसा कमाएर जाने गरेको अवस्था छ । यही अवस्था नै आजका पुस्ताको भोलीमाथिको खेलबाड तथा असल नागरिकविहीन राज्य बन्ने आधार रहेको पुस्तकको मुख्य विषय हो ।
आज विनाशतिरको गन्तव्य तय गरिरहेको युवा पिँढीलाई त्यस्तो आचरणबाट हुने यो आत्मघाती डढेलोमा होमिनबाट जोगाउन सकिएन भने भोलिको नेपाल ’जिउँदा लासहरूको देश’ बन्न सक्ने सङ्केत पुस्तक मार्फत लेखकले देखाउने प्रयास गरेका छन् । उनले यस पुस्तक मार्फत अनेक प्रमाणहरू र उद्धरणहरूका साथ कुलत विरुद्ध चेतना प्रवाह गर्न चाहेका छन् । लागु पदार्थको जीवनघाती कुलतमा फसेका छोराछोरीका अभिभावकहरूका पीडा र मानसिक यातना समेटेर कुलतमुक्त छोराछोरीका अभिभावकहरू पनि त्रसित भएको अवस्था चित्रण गरेका ओलीले यस पुस्तकको मुख्य सन्देश बनाएर कुलतमुक्त वातावरणको कामना समेत राखेका छन् ।
कृति भित्र कहिलेदेखि र कहाँबाट नेपाली समाजमा लागूऔषधको प्रकोप प्रवेश गर्यो भनेर खोज्ने प्रयास गरिएको छ । नेपालमा लागुऔषध ल्याउने र नेपाली युवा युवतीहरूलाई दुर्व्यसनी बनाउने काम हिप्पी–जिप्सीहरूबाट स्थापित भएको मानिन्छ । विदेशी पर्यटक सहज आवतजावतको वातावरण बनेपछि यो विनाशकारी कुलतले खास गरी देशको भविष्यका कर्णधार युवा पिँढीलाई नष्ट र भ्रष्ट तुल्याउने अवस्था बढ्दो छ । सही समयमा लागूऔषध दुर्व्यसनका बारेमा सही जानकारी नभएको कारण धेरै युवा युवतीहरू लागुऔषध दुर्व्यसनको लतमा फसेका छन् । ड्रग्स माफियाहरू आफ्नो सञ्जाल फिँजाउनका लागि गाउँ समाज हुँदै विद्यालय तहसम्म डुलन्ते विक्रेता खटाएर अरबौँको व्यापार गरिरहेका छन् । खास गरी १५ देखि १९ वर्ष उमेर समूहका किशोर—किशोरीलाई लागूपदार्थको दुर्व्यसनमा फसाउन सफल भएका माफियाहरूले आफ्नो कालो व्यापार फस्टाउन सफल भइरहेको चिरफार गर्ने प्रयास लेखकको छ । दुर्व्यसन रोकथाम गर्ने आवश्यकता दुर्व्यसनी भएका पीडित घरपरिवारले गरिरहेको भए पनि समाज र राष्ट्रको नेतृत्व गर्ने अगुवाहरूको प्राथमिकतामा नपरेका कारण लागुऔषध कारोबार तीव्र गतिमा वृद्धि भइरहेको पुस्तकले सङ्केत गरेको छ ।
लागुऔषध प्रयोगका कारण विनाशतिरको गन्तव्य तय गरिरहेको युवा पिँढीलाई यो विनाशकारी सङ्क्रमणरूपी डढेलोमा होमिनबाट जोगाउन सकिएन भने भोलिको नेपाल ’जिउँदा लासहरूको देश’ नबन्ला भन्न सकिने अवस्थामाथि चिन्ता गरिएको छ । लागु पदार्थको जीवनघाती कुलतमा फसेका छोराछोरीका अभिभावकहरूका पीडा र मानसिक यातनाका भारीहरू देखेर कुलतमुक्त छोराछोरीका अभिभावकहरू पनि त्यस्तै हुने हो कि भनेर समाजमा सन्त्रस्त छन् । रक्सीबाट शुरू हुने लागु पदार्थको दुर्व्यसन चरेस तथा हिरोइनमा गएर जीवनकै अन्त्य हुन्छ । विनाशकारी आचरण बनाएर जीवन लीला समाप्त पार्ने युवा युवतीको सङ्ख्या दिनदिनै बढ्दै जानु देशका लागि भविष्य अन्धकार हुनु हो । दुर्व्यसनको कारण आर्थिक, सामाजिक र पारिवारिक विचलन समेत भोग्नु पर्छ । एउटा व्यक्तिको गलत आचरणले सयौँ व्यक्तिमा नकारात्मक प्रभाव बेहोर्नु पर्ने हुन सक्छ । यी तथ्य खोज्ने काम पुस्तकले प्रयास गरेको छ ।
पुस्तकमा लागूपदार्थका कारण सुदूरपूर्वको झापा पछिल्लो दशकयता निकै आक्रान्त भएको देखाउन खोजिएको छ । भारतसित खुल्ला सिमाना जोडिएको झापा लागूपदार्थ ओसारपसार गर्ने सहज मार्ग बनाएर कारोबार गर्नेदेखि प्रयोग गर्ने दुर्व्यसनीसम्मको सङ्ख्या उच्च भएको जिल्लामा पर्दछ । छिमेकी भारतीय बजारमा नेपाली युवा युवतीले सहजै खरिद गर्न पाउने लागुऔषध नेपालतिर प्रतिबन्धित भए पनि उतै खाएर फर्कने युवा युवतीको सङ्ख्या झापामा बढी रहेको पनि पुस्तक मार्फत सङ्केत गरिएको छ । यस्तो अवस्था भारतसित खुल्ला सिमाना जोडिएका नेपालभरिका सबै जिल्ला तथा स्थानमा रहेको प्रस्टोक्ति पुस्तकले दिने प्रयास गरेको छ । खास गरी पर्यटकीय क्षेत्रबाट प्रवेश गरेको लागुऔषध दुर्व्यसन वर्तमानमा नेपालभरि फैलनुमा राजनीति कुनै न कुनै रूपले दोषी भएको पढ्ने क्रममा प्रस्ट हुन्छ ।
यसअघि ओलीले लागूऔषध सम्बन्धी नै विभिन्न पुस्तकहरू प्रकाशित गरेका थिए । ती पुस्तकले समेट्न नसकेका नयाँ नयाँ तथ्य यस पुस्तकले समेट्ने प्रयास गरेको देखिन्छ । नेपाल प्रहरीमा लामो समय सेवारत रही लागुऔषध दुर्व्यसन नियन्त्रणको क्षेत्रमा निरन्तर क्रियाशील छन् । प्रहरी नायव निरीक्षक पदबाट उनले २०६२ सालमा स्वैच्छिक अवकाश पाएपछि स्थलगत अध्ययन र अनुसन्धानमा लागेर नागरिकमा चेतना विस्तार गर्न पुस्तक मार्फत प्रयासरत देखिन्छन् । निरन्तर झापामा रहेर लागूऔषध दुर्व्यसन विरुद्ध विभिन्न चेतनामूलक कार्यक्रम गरिरहेका ओली धार्मिक जागरण अभियानमा समेत क्रियाशील छन् । उनको पछिल्लो पुस्तकले बालबालिका र युवा पुस्ता बचाउने र भविष्य सुन्दर बनाउने हो भने लागू पदार्थको कारोबार बन्द गर्न राज्य जिम्मेवार हुनै पर्ने आवाज उठाएको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।