आख्यान विधाको कान्छो प्रविधाको रूपमा विकसित भएको लघुकथाले पछिल्लो समयमा निकै व्यापकता पाएको छ । अहिले लघुकथा लेखन तथा प्रकाशन गर्ने सर्जकहरूको बाक्लो उपस्थिति छ । लघुकथाका पाठक र समीक्षकहरू पनि उल्लेख्य सङ्ख्यामा बढेका छन् । लघुकथा लेखन, पठन र प्रकाशनका लागि सामाजिक सञ्जाल एक उपयुक्त र सरल माध्यम बनेको छ । व्यस्तताका बाबजुद छोटो बसाइमा पढ्न मिल्ने भएकैले लघुकथाको लोकप्रियता दिनानुदिन बढ्दै गइरहेको छ ।

साहित्य सिर्जना र पठनको सम्बन्ध जीवन्त हुँदोरहेछ । सिर्जना बासी नहुनु, नित्य नूतन बनिरहनु लेखनको जीवन्तता रहेछ । कहिल्यै देखभेट नभएको, भेट्दा पनि प्रत्यक्ष चिनजान हुन नसकेका केही सर्जकहरूसँग वर्षौंपछि भलाकुसारी गर्न पाउनुको आनन्द शब्दातीत हुनेरहेछ । रोशन पराजुली एक त्यस्तै बिरलाकोटी सर्जक रहेछन् जसले आफ्नो लेखनमा सच्चाइ र इमानदारितालाई मूलमन्त्र बनाएका छन् ।

रोशन पराजुली (२०२५) ऐतिहासिक किराँतकालीन विजयपुर राज्यको राजधानी धरानमा जन्मे हुर्केका स्रष्टा हुन् । वि.सं. २०४० देखि कविता लेख्दै साहित्यमा होमिएका रोशन पराजुलीमा काव्यिक व्यक्तित्व छ । जुन कुरा उनको पहिलो लघुकथासंग्रह ‘धरान गेट’ मा पाउन सकिन्छ ।

उनको पहिलो लघुकथा ‘आमा’ मैले पहिलो पटक पढ्ने अवसर पाएको थिएँ । यो कथा संग्रहको अन्त्यमा संगृहीत छ । ममतामयी आमाको मातृत्वको पूर्वस्मृतिमा रचिएको सुन्दर कथा हो यो । ‘धरान गेट’ मा ६५ वटा विविध विषय र बान्कीका लघुकथाहरू रहेका छन् । ५४ वटा लघुकथाको शीर्षक एकपदीय, १० वटा लघुकथाको शीर्षक एकपदीय र १ वटा लघुकथाको शीर्षक तीनपदीय देखिन्छ । अलिकति ध्यान दिन सकेको भए सबै लघुकथाको शीर्षक एकपदीय बनाउन सकिने अवसरबाट भने रोशन पराजुली चुकेको देखिन्छन् । यस संग्रह अध्ययन  पश्चात् यसमा प्रयुक्त विषय, श‌ैली, भाषा, सन्देश र सीमाहरू केलाउने कोशिश गरेको छु ।

कुनै पनि सिर्जनामा विषयवस्तुको विशेष महत्त्व हुन्छ । लघुकथामा अनेक विषयवस्तु पस्किन सकिन्छ । रोशन पराजुलीले मान्छे, परिवार, समुदाय, समाज, राष्ट्र र विश्वजनीन विषयको अलावा प्रकृति, विसङ्गति र विकृतिलाई लघुकथाको विषय बनाएर कथा रचेको देखिन्छ ।

लघुकथामा आशा, निराशा, दुराचार, अनाचार छन् । नातावाद र कृपावाद छन् । धर्म, दर्शन, जीवन र विज्ञान छ । संस्कार छ, संस्कृति छ । बाउ, पिरलो, अन्त्यमा, माया, जीवित क्रिया, सम्झना, न्यानो, सन्तान, चाहना, अभाव र मुख हेर्ने शीर्षकका कथामा पारिवारिक साथ, माया, ममता र समस्याका कुरा छन् । अन्ततोगत्वा, कर्तव्य, जीवन बोध शीर्षकका लघुकथामा जीवन दर्शन पाइन्छ ।

‘अन्तरदोष’ शीर्षकको कथामा प्रकाशले विधातासँग वार्ता गरेको छ । कथामा सभ्यता र संस्कारका कुरा बुझाउन मानव भित्रकै दोष देखाउन चल्तीको उखान ‘विनाशकाले विपरीत बुद्धि’ को प्रयोग गरिएको छ ।

साहित्य किन सिर्जना गरिन्छ ? यसको जवाफ सर्जकपिच्छे फरक हुनसक्छ । कसैले स्वान्तसुखायका लागि लेख्छु भन्छन् त कसैले सिर्जनामार्फत समाज बदल्न सहयोग पुगोस् भनेर लेख्छु भन्छन् । कसैलाई समयको पदचापसँगै हिंड्नु छ कसैलाई अघि पुग्नुछ । तथापि साहित्य सिर्जना भनेको आफू बाँचेको समाजको दर्पण हो । कसैले यसको यथार्थ पक्षलाई जोड दिन्छन् भने कसैले कल्पनाशीलता र स्वैरकल्पनामा सजाएर प्रस्तुत गर्न रुचाउँछन् । रोशन पराजुलीले आफ्ना लघुकथामा यस्तै विविध पक्षलाई उजागर गरेर कतै स्वान्तसुखायमा रमाएका छन् भने कतै समाजलाई अग्रगमनतर्फ डोर्‍याउन उद्धत छन् ।

लघुकथा लेखन र प्रयोगमा कुनै सीमा र छेकथुन नभए पनि यसका केही अवयवहरू छन् जसले लघुकथालाई साँच्चै सुन्दर बनाउँछन् । लघुत्व, कौतुहलता र व्यंग्यमिश्रित लघुकथा सुन्दर हुन्छन् । प्रस्तुतिमा नवीनता, कथ्य र प्रयोजनमा सार्थकता भइदियो भने लघुकथा सफल हुन्छ । रोशन पराजुली यसप्रति सचेत देखिन्छन् । तथापि केही कथामा समय, परिवेश निकै लामो देखिन्छ । जस्तै – ‘अनुत्तरित प्रश्न’ मा पण्डितको सानो छोरो हुर्कन्छ, विद्रोही बनेर भूमिगत हुन्छ र शहादत हुन्छ । सन्तानको पीडामा बाआमाले प्राण त्याग गर्छन् । महिनौंपछि गाउँमा परिवर्तनकारीहरू नाराजुलूस गर्दै आउँछन् । केही कथा क्लिष्ट देखिन्छन् । सन्देशमा सन्देह गर्ने ठाउँ पनि कतैकतै भेटिन्छन् । कृतिको शीर्षक ‘धरान गेट’ लघुकथाको आधारमा सार्थक देखिदैंन । सर्जकको जन्मभूमि बाहेक धरान हुनुबाहेक कृतिसँग छेउटुप्पोको सामञ्जस्य देखिदैंन ।

यस लघुकथासंग्रहको प्रस्तुति फरक र रोचक ढङ्गले अगाडि बढेको छ । सुन्दर र सशक्त लघुकथा रचना गर्न उपयुक्त विषय भएर मात्रै पुग्दैन त्यो विषयलाई प्रस्तुत गर्ने मनमोहक शैली पनि चाहिन्छ । रोशनका अधिकांश लघुकथामा विषयवस्तुलाई शैलीले न्याय गरेको देखिन्छ ।

त्यसैगरी विचार विनिमयको एउटा सशक्त माध्यम ‘भाषा’प्रति नजर पुर्‍याउँदा रोशन पराजुलीको कथामा प्रयुक्त भाषा सरल, सरस र लालित्यपूर्ण देखिन्छ । झर्रो नेपाली भाषा र अनुकरणात्मक शब्दको प्रयोगले कृति पठनीय बनेको छ ।

रोशन पराजुलीका काव्यिक र निबन्धात्मक अंशले भरपुर लघुकथाहरू अध्ययन गर्दा राल्फ वाल्डो इमर्सनको ‘अमेरिकी विद्वान’ शीर्षकको निबन्धको अंश याद आयो । उनी लेख्छन्, ‘किताबहरूको सिद्धान्त उदात्त छ । पहिलो युगको विद्वानले वरिपरिको संसारलाई आफूभित्र ग्रहण गर्थ्यो अनि त्यसमा गुन्थ्यो, त्यसलाई आफ्नै मनको नयाँ चाँजोपाँजो प्रदान गर्थ्यो र त्यसलाई फ्री उद्गार गर्थ्यो । त्यो उसभित्र जीवन बनेर आउँथ्यो भने उसबाट सत्य भएर निस्कन्थ्यो । जुन मनबाट त्यसको उत्पत्ति भयो, त्यो जति मात्रामा गहिरो हुन्छ त्यति नै माथि अकासिन्छ, त्यति नै लामो समयसम्म त्यो गइरहन्छ ।’

रोशन पराजुलीको गहिरो मनबाट निस्किएको ‘धरान गेट’ लामो समयसम्म पाठकहरूले सम्झिरहोस्, शुभकामना !