‘लोककथा’ – लोकको कथा, लोक र कथाको समस्त शब्द । अंग्रेजीमा folk tales, हिन्दीमा कहानी, पाश्चात्य साहित्यमा myths, legends, जस्ता शब्दहरूले सम्बोधन गरिने लोककथाअन्तर्गत किंवदन्ती, परिकथा, नीतिकथा, पशुकथा जस्ता विषयक्षेत्र सम्बन्धित कथाहरू पर्ने गर्दछन् ।
लोककथा भन्ने परम्परामा बाँचेको कथा हो । यस्ता कथाहरूमा तिलस्मी, चमत्कारी, जादूगरी, अतिशयोक्तिपूर्ण मायावी, साहसिक, रोचक, कुतूहलपूर्ण, नैतिक सन्देशमा आधारित कथावस्तुहरूलाई समावेश गरिएको हुन्छ । यस्ता कथामा परेका कथावस्तुहरू अतिशयोक्तिपूर्ण हुन्छन् तथापि मनोरञ्जनात्मकता तथा कुतूहलता जस्ता विशेषताहरूका कारण श्रोताहरूलाई अविश्वसनीय र भ्रमयुक्त कथा नभई यथार्थपरक कथा सुने जस्तै आभास हुन्छ । लोककथाका पात्रहरूमा मानवीय, अतिमानवीय, पशुपंक्षी, वृक्ष, नदी, पहाड र अन्य प्राकृतिक वस्तुहरू आउने गर्छन् । यी पात्रहरू प्राय लोकजीवनभन्दा भिन्न अतिरञ्जनाले भरिएका हुन्छन् । यस्ता कथामा मानवीय पात्रहरूसमेत अतिमानवले जस्तो साहसिक चमत्कारिक गतिविधि गर्न सक्षम हुन्छन् ।
नैतिक उपदेशात्मक वा लोककल्याणकारी सन्देश सम्प्रेषण गर्ने लोककथाहरूमा कथयिताको विशेष भूमिका हुन्छ । श्रोताहरूलाई प्रभावित पार्न वक्ताले आफ्ना वर्णनको शैलीलाई समय र परिस्थिति अनुसार बदल्दछ । वक्ताले कथामा केही थप्नसक्छ केही घटाउन पनि सक्छ । लोककथाहरू वर्णनात्मक हुँदाहुँदै पनि कथाभित्र संवादको समेत समावेश गरिएको हुन्छ । केही कथाहरूमा बीचबीचमा आएका गीतहरूले कथालाई अझ बढी रोचक बनाएका हुन्छन् । सरल बोलचालको भाषामा स्थानीय रङ भरेर प्रस्तुत हुने लोककथाहरूले कथाभित्र परेका समाजको ऐतिहासिक, सामाजिक, सांस्कृतिक, आर्थिक विशेषताहरूलाई प्रकटीकरण गरेका हुन्छन् ।
लोककथा सङ्कलन आजको आवश्यकता हो । लोककथा हराउँदै गएका अवस्थामा अथवा लोककथा कथन परम्परा सिद्धिंदै जाँदा सङ्कलन गरेर पुस्तकाकार रूप दिनु आफैमा सह्रानीय कार्य हो । हुन त लोककथा लेख्ने बित्तिकै लोककथा नभई लिखित कथा हुन्छ । यसर्थ लोककथालाई जनजिब्रोमा बाँच्न दिनुपर्छ र यसको मूल मान्यता पनि यही हो भन्ने मत पनि पाइन्छ । तथापि लोप हुनुभन्दा सङ्कलन हुनुमा नै यसको अस्तित्व जीवित हुनसक्छ ।
आजको समाज दिनानुदिन जटिल बन्दै गइरहेको छ । नैतिकता हराउँदै गएको यस समाजमा नीति शिक्षाको अभाव खड्किएकै छ । अतः अहिलेको नैतिकताको खडेरी पर्दै गएको यान्त्रिक समाजलाई नैतिकताको पाठ सिकाउनका लागि पनि लोककथाहरू उपयोगी मानिन्छन् । यसर्थ पनि लोककथा सङ्कलन अहिलेको आवश्यकता बनेको हो ।
यिनै मूल मर्मलाई आत्मसात् गरी नेपाली लोक जीवनलाई समर्पण गरेका साहित्यकार शशिराम कार्कीको छैठौं कृति हो – ‘रुकुमका लोककथा’ । यस लोककथासंग्रहलाई इन्डिगो इन प्रालिले प्रकाशनमा ल्याएको हो । यसमा ४३ वटा लोककथाहरू समावेश छन् ।
उल्लिखित ४३ वटा लोककथाहरू कृतिकारले बाल्यकालमा पिता गोपाल कार्की, माता रूपादेवी कार्की, मामाघरकी बजै खली क्षेत्रीनी, दिदी मैमी कार्की र विभिन्न उमेरमा साथीहरूबाट सुनेका कथाहरूलाई स्मरण गरेर तयार पारिएको हो । १९८ पृष्ठमा तन्किएको यस पुस्तकमा तस्वीरहरू पनि परेका छन् । संग्रहभित्र १३ हरफमा संरचित आधा पृष्ठको संक्षिप्त लमाइगत आयामका लोककथादेखि १७ पृष्ठको लमाइगत आयाम धारण गरेका लामा प्रकृतिका लोककथाहरू समेटिएका छन् ।
संग्रहभित्रका कथाहरूले लोककथामा हुनुपर्ने कतिपय मान्यताहरूको न्यायोचित ढङ्गले प्रयोग गरेका छन् जुन कृतिको शक्तिपक्ष बनेर देखा परेको छ । लोककथामा अपेक्षा गरिए बमोजिम नै संग्रहभित्र परेका कथाहरूमा तिलस्मी, चमत्कारी, जादूगरी, अतिशयोक्तिपूर्ण, मायावी, साहसिक, रोचक, कुतूहलपूर्ण, नैतिक सन्देशमा आधारित कथावस्तुको प्रयोग गरिएको छ । त्यसैगरी धामी, झाँक्री, भूतप्रेत, बोक्सी, पुनर्जन्म आदिको विश्वासमा आधारित कथावस्तुलाई पनि संग्रहले समेटेको छ ।
यसभित्र मानवीय पात्रहरूका साथै बाख्रा, फर्सी, डल्लो, पोको जस्ता मानवेतर पात्रहरूको प्रयोग भएको छ भने उल्लिखित मानवेतर पात्रहरू मानवीय पात्रसरह संवादमा सहभागी भएका छन् । उक्त संवादहरू कृत्रिम कम प्राकृतिक बढी देखिएकाले संवाद नै कृतिको सबल पक्ष बनेर उभिएको छ ।
लोककथाहरूले व्यापक परिवेशको माग गर्ने गर्छन् । वर्षौं वा युगौं पहिले देखिका समयगत परिवेशहरू समेटिने लोककथामा पृथ्वी, स्वर्ग, नर्क, आकाश, पाताल आदि स्थानगत परिवेशलाई समेत समेटिएको हुन्छ । यही परिवेशका कसीमा रुकुमका लोककथाहरू भित्र समेटिएका लोक कथाहरू सफल छन् । युगौँ अघिका र वर्षौं अघिका समयगत परिवेशलाई समेटेको यस कृतिले पृथ्वी, स्वर्ग, घना जङ्गल, डरलाग्दो रात, सधैँ अँध्यारो मात्रै हुने डरलाग्दो जनवार रहेको पहाड लगायतका स्थानगत परिवेश पनि समेटिएका छन् । लोककथा गद्यात्मक विधा हो । यति हुँदाहुँदै पनि लोककथाका कतिपय प्रसङ्गहरू व्ययात्मक वा काव्यात्मक बनाउन गीत एवं कविताका हरफहरू आउने गर्छन् यसै मान्यताको कसीमा प्रस्तुत लोक कथासंग्रहभित्र:
छप्की जाऊ न छप्की जाऊ न राजैका रौतेला
तिम्री मुमा आइपुगेँ दूध खाउ यसैबेला (पृ.४६)
भाइलु रोयो मेरी आमै न्याओ न्याओ गरी
बुबु खुवाऊ भाइलुलाई नत्र बन्छ चरी (पृ.१६२)।
लगायतका थुप्रै गीतांश एवं कवितांशहरू प्रसङ्ग अनुकूल भएर कथावस्तुलाई थप सशक्त बनाउन द्दत पुर्याएका छन् । यसर्थ गयात्मकता वा काव्यात्मकता प्रस्तुत लोककथाको अर्को शक्तिपक्ष बनेर पाइन्छ ।
रुकुमका लोककथाभित्र परेका केही कथाहरूले अपेक्षित प्रारम्भको संयोजन गरेका छन् । धेरै वर्षअघिको कुरा हो, धेरै वर्ष पहिलेको कुरा हो, एकादेशमा एउटा कुनै गाउँमा लगायतका आरम्भ शैली लोककथाको सिद्धान्त अपेक्षित छन् । नैतिक सन्देशहरूको प्रबलता रहेका रुकुमका लोककथाहरूमा लोककथा अपेक्षित सरल, बोध्य, व्यञ्जना, लक्षण र प्रतीकात्मकता भन्दा अभिधात्मक भाषाको प्रयोगमा जोड दिइएको छ ।
रुकुमका लोककथाको अर्को प्राप्ति रसगत विविधता हो । राजकुमार सिदौरी लगायतका केही कथाहरू वीररस केन्द्रित छन् भने डल्लो र पोकोको मितेरी करुण रसमा आधारित कथा हो । धोकेबाज स्वास्नी रौद्र रससँग सम्बन्धित छ भने बिरालोमा हास्यरस प्रधान भएर आएको छ । लिख्या टोकिनी अद्भुत, करुण, वात्सल्य, शान्त लगायतका रसहरू आएका छन् । समग्रमा रसगत विविधता अँगालेको यस लोककथासंग्रहमा परेका अधिकांश कथाहरू संयोगान्त अर्थात् सुखद अन्त्यको संयोजनमा आधारित छन् ।
‘रुकुमका लोककथा’मा केही सीमापक्ष भेटिन्छ जसलाई सुधार गर्दै लोककथा सङ्कलनमा लाग्नु आजको आवश्यकता पनि हो । कृतिले समेटेका केही कथाका शीर्षकहरू आधुनिक कथा सुहाउँदा देखिएकाले लोककथाले धारण गर्ने प्रकृतिको शीर्षक चयनमा ध्यान दिइनु जरूरी देखिन्छ । राजकुमार सिदौरी र लिखाटोक्यानी लगायतका केही कथामा लोककथा अपेक्षित अन्त्य पाइए पनि अधिकांश कथाहरूले लोककथाको अन्त्य शैलीलाई आत्मसाथ गर्न सकेका छैनन् ।
लोककथाहरूको आरम्भ गर्ने शैली अन्य कथाको तुलनामा पृथक् हुन्छ । ‘एकादेशमा’, ‘परापूर्व कालमा’, ‘धेरै वर्ष पहिलेको कुरा हो’ जस्ता प्रसङ्गबाट कथाको उठान गरिन्छ भने कथाको अन्त्य भइसकेपछि ‘सुन्नेलाई सुनको माला भन्नेलाई फूलको माला यो कथा वैकुण्ठै जाला भन्ने बेला सरासर आइजाला’ भन्दै बिट मार्ने गरिन्छ । यस प्रवृत्तिलाई यस संग्रहले अँगालेको पाइँदैन ।
कृतिभित्र आएका गीतका अंशहरूले कृतिलाई अब्बल बनाएको छ । यति हुँदाहुँदै पनि समेटिएका कथाहरूमा माटो सुहाउँदो, लोक सुहाउँदो वा तत्कालीन समयको प्रतिनिधित्व गर्ने खालको नभई स्वयं सङ्कलनकर्ताले नै रचना गरेको आभास हुने प्रकृतिका गीतहरूले प्रविष्टि पाएका छन् । लोककथा भन्ने परम्परामा बाँचेको कथा हो । यस्ता कथाहरूले तत्कालीन समाज, संस्कृति र रहनसहनलाई पर्गेल्न सक्नुपर्छ । त्यसैले यस्ता कथामा प्रयुक्त भाषामा बौद्धिकताको मिसावट उपयुक्त हुँदैन जुन कुरामा सङ्कलनकर्ता शशिराम कार्की थप सचेत हुनु जरूरी देखिन्छ ।
परापूर्व कालदेखि श्रुति परम्परामा बाँचेका लोककथाहरूको सङ्कलन गर्नु, हेर्दा जति सजिलो लाग्छ त्योभन्दा धेरै गुणा जटिल र चुनौतीपूर्ण कार्य हो । समय र श्रम खर्चिनुपर्ने तथा कथालाई भूगोल र तत्कालीन परिवेश सुहाउँदो बनाउनका लागि त्यहाँको रहनसहनमा भिज्नु जरूरी छ । लोककथामा कृत्रिमता, बौद्धिकता वा सङ्कलनकर्ताको हस्तक्षेप वर्जित हुन्छ तथापि कतिपय कथाहरू श्रवण गराउने पुराना पुस्ताका मानिसहरू नरहेको र अहिलेको पुस्ताले उक्त कथा न्यायोचित ढङ्गले प्रस्तुत गर्न नसक्ने भएको हुँदा पनि यो कार्य थप चुनौतीपूर्ण बन्न पुगेको हो । यस चुनौतीलाई छिचोलेर रुकुम जिल्लाको सेरोफेरोमा भनिंदै र सुनिंदै आएका लोककथाहरूलाई समेटेर तयार पारिएको रुकुमका लोककथा लोककथा संग्रह सम्पूर्ण लोककथा पारखीहरूलाई समर्पण गर्नु शशिराम कार्कीको सह्रानीय कार्य हो ।
‘सत्यको सधैँ जीत हुन्छ । अरूको कुभलो चिताउनेको पतन सुनिश्चित छ। सङ्घर्ष गर्नेहरूले सफलताको शिखर चुम्ने अवसर प्राप्त गर्छन् । सहयोगी भावनाले सधैँ अघि बढाउँछ भने असहयोगी र ईर्ष्यामा जल्नेहरूको कहिल्यै भलो हुँदैन ।’ यी र यस्तै किसिमका नैतिक सन्देश सम्प्रेषण गरेकै आधारमा पनि प्रस्तुत लोककथा बालबालिका र आम मानिसहरूका लागि प्रेरणादायी र पठनीय कथा भएर आएका छन् ।
हुन त कृतिभित्र परेका भाषाले कथावस्तु वा पात्रको अनुकूलतालाई पूर्ण रूपले न्याय गर्न सकेका छैनन् । संग्रहमा प्रविष्ट गीतहरू मौलिक कम कृत्रिम बढी लाग्छन् । यति हुँदाहुँदै पनि बाँकेको हकमा लोककथा सङ्कलन कार्यको खडेरीलाई चिर्दै आएको सङ्कलक शशिराम कार्कीद्वारा सङ्कलित रुकुमका लोककथा लोककथासंग्रह स्वागतयोग्य छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ पुष २०८२, सोमबार 










