कवि डा. दामोदर पुडासैनी साढे चार दशकभन्दा लामो समयदेखि साहित्य सृजनामा सक्रिय हुनुहुन्छ । उहाँका १० वटा कवितासंग्रह, ७ वटा नियात्रासंग्रह र एउटा दर्शनसँग सम्बन्धित कृति समेत डेढ दर्जन कृति प्रकाशित छन् । उहाँ मूलतः नियात्राकार र कविका रूपमा परिचित हुनुहुन्छ । नियात्रा र कविताका क्षेत्रमा उहाँले दिनुभएको योगदान महत्त्वपूर्ण छ । समकालीन नेपाली कविताका महत्त्वपूर्ण हस्ताक्षरका रूपमा उहाँलाई लिइन्छ । लामो कविता यात्रामा उहाँले आफूलाई नेपाली कविताका क्षेत्रमा आफ्नो निजतासहित स्थापित गर्नु भएको छ । आज पनि उहाँ कविता सृजनाका क्षेत्रमा उत्तिकै सक्रिय हुनुहुन्छ ।

जीवन एवम् समकालीन यथार्थका विविध पक्षलाई उहाँले आफ्ना कवितामा अभिव्यक्ति दिंदै आउनु भएको छ । आफू बाँचेको समयको उज्यालो–अँध्यारो, आशा–निराशा, सुख–दुःख, घात–प्रतिघात, स्वप्न–सङ्घर्षलाई कलात्मक अभिव्यक्ति दिनु उहाँको विशेषता हो । उहाँका कवितामा प्रकृति, पर्यावरण, प्रेम, संस्कृति आदिसँग सम्बन्धित विषयहरूले पनि अभिव्यक्ति पाएका छन् । मानवता एवम् विश्वप्रेमका साथै आलोचनात्मक चेतना पनि उहाँका कवितामा पाइन्छ ।

कवि जीवन र जगत्का विविध पक्षहरूलाई आलोचनात्मक ढङ्गले हेर्नुहुन्छ । आलोचनात्मक चेतना सुन्दरको आग्रहसँग जोडिएको छ । देशलाई माया गर्नु, समाज बदलिएको हेर्न चाहनु, मानवीय गरिमा, सौन्दर्य र स्वाभिमानको गीत गाउनु; समस्त विभेद र उत्पीडनको प्रतिवाद गर्नु, जीवनलाई सङ्घर्ष सहितको यात्राका रूपमा बुझ्नु; स्वतन्त्रता, समानता र भाइचारालाई महत्त्व दिनु, मानवताका पक्षमा उभिनु आदि जस्ता उहाँका काव्यिक विशेषता यही आलोचनात्मक चेतनाका परिणाम हुन् ।

अनुभवको कलात्मक प्रकाशनमा आलोचनात्मक विवेकको ठूलो भूमिका  रहन्छ । कविले कवितामा गर्ने यथार्थको प्रतिविम्बन सोझो र सपाट हुन्न । ज्ञानात्मक संवेदनासहित यथार्थसँग उसको साक्षात्कार हुन्छ र उसले जे जस्तो अनुभूति गर्छ त्यसैलाई काव्यात्मक अभिव्यक्ति दिन्छ । ज्ञानात्मक संवेदना आलोचनात्मक विवेकरहित हुँदा स्रष्टाले उज्यालो र अँध्यारो, सुन्दर र कुरूप बीचको अन्तर नै देख्न सक्तैन र उसको काव्यकर्म उल्टो धारातर्फ बहन शुरू गर्छ ।

कवितामा कलात्मक उपकरणहरूको प्रयोगप्रति सचेत कविका रूपमा उहाँलाई लिन सकिन्छ । उहाँका कविता पढ्दा हामीलाई कविता नै पढे जस्तो लाग्छ । मुलुकमा कविता कर्ममा लागेका मानिसहरूको संख्या निकै छ । सयौं होइन हजारौं कवि कविता सृजनामा सक्रिय छन् । कविताका हजारौं कृति प्रकाशित छन् । कविता जस्ता कविताका कृति भने निकै कम छन् । पुडासैनी कवितामाथि न्याय गर्ने कविहरूको लहरमा पर्नुहुन्छ । कविता सांस्कृतिक कर्म भएकोले यसै पनि यसको महत्त्व छ तर कविताको चर्चामा कविता जस्ता कविताको मात्र अर्थ रहन्छ । कविता कविता जस्ता नभएपछि त्यसको मूल्य स्वतः घट्छ । गम्भीर कविहरू कविता जस्ता कविता सृजनाका निम्ति सघन आत्मसङ्घर्ष र साधनाको प्रक्रियाबाट अघि बढ्छन् । आत्मसङ्घर्ष र साधनाको कविता जस्ता कविता सृजनामा महत्त्वपूर्ण भूमिका रहन्छ ।

आत्मसङ्घर्ष काव्यकर्मका दृष्टिले आफूलाई अझ समृद्ध, परिष्कृत र रूपान्तरित गर्ने कुरासँग सम्बन्धित छ । यो अध्ययन, अनुभव, आलोचनात्मक विवेक र स्वमूल्याङ्कनको गम्भीरता बोधसँग जोडिन्छ । आत्मसङ्घर्ष उत्कृष्ट कविता सिर्जनाका अवरोधहरूसँग जुझ्छ र अघिल्तिरको सुन्दर यात्राका निम्ति बन्द ढोकाहरू खोल्छ । पुडासैनीका कवितामा आत्मसङ्घर्ष र साधनाको परिणामलाई नियाल्न सकिन्छ ।

कविता न अन्तर्वस्तुका कारणले मात्र सुन्दर हुन्छन् न त रूपका कारणले    मात्र । कवितामा अन्तर्वस्तु प्राथमिक भए पनि कविता अन्तर्वस्तु र रूप दुवै दृष्टिले सुन्दर हुनुपर्छ । अन्तर्वस्तुको कलात्मक प्रकटीकरणका कारण कविता सुन्दर हुन्छ । अन्तर्वस्तुको उम्दापन जीवन दर्शन, दृष्टि, अनुभव, संवेदना, बोध एवम् यथार्थलाई हेर्ने र बुझ्ने कुरामा खोजिन्छ । कुरूपका पक्षमा उभिने जीवन दर्शन र दृष्टिलाई सही ठहर्याउन सकिन्न । अन्तर्वस्तुको फलक व्यापक छ । यसभित्र विचार, भावना, संवेदना, संस्कार, अनुभव, स्मृति, आकाङ्क्षा आदि सबै पर्छन् । कविताका निम्ति लिइने विषय पनि यसैभित्र पर्छ । पुडासैनीका कविता अन्तर्वस्तु र रूपका दृष्टिले राम्रा छन् । कलात्मक परिपाकसहित उहाँले अन्तर्वस्तुलाई अभिव्यक्ति दिनुभएको छ ।

‘मेन स्ट्रीटमा कुदिरहेकी स्वास्नीमान्छे’ पुडासैनीको एघारौं कविता कृति हो । यस कृतिमा त्रिपन्नवटा कविता छन् । अमेरिकामा रहँदाका अनुभव, हेराइ र बुझाइलाई कवितामा व्यक्त गरिएको छ । कविता विविध विषयसँग सम्बन्धित छन् । अमेरिका धेरैका निम्ति ‘सपनाको देश’ हो । मानिसहरू अमेरिका जान मरिहत्ते गर्छन् । मरिहत्ते गर्नेहरूमा विभिन्न वर्ग, समुदाय, पेशा र अवस्थाका मानिसहरू हुन्छन् । अमेरिका पुग्नसके जीवन धन्य हुन्थ्यो भनेर सोच्नेहरू निकै छन् ।

नेपालबाट पनि निकै मानिसहरू अमेरिका गएका छन् । अमेरिका पुग्नेहरूको पृष्ठभूमि र अवस्था समान छैन । कैयौं नेपालीहरूमा देखिने अमेरिका मोह आश्चर्यलाग्दो छ । अमेरिकाको भौतिक सम्पन्नता, त्यहाँ पुगेपछि हुने आयआर्जन र भौतिक सुविधा अमेरिका मोहका प्रमुख कारण रहेका छन् । अमेरिका गएर बस्न पाउँदा आफूलाई धन्य सम्झनेहरूको संख्या कम छैन । त्यहाँको यान्त्रिक जीवन, वैभवका बिचमा पाइने गरिबी र वर्गीय अन्तर, पुँजीवादी अश्लील संस्कृति, व्यक्तिवादी, उपभोक्तावादी र सुखवादी जीवन दृष्टि र मूल्य, अमेरिकाको वैश्विक वर्चश्व र त्यसबाट जन्मिएका सङ्कट एवम् पीडाप्रति धेरैको ध्यान जाँदैन । धेरैले आलोचनात्मक विवेक गुमाउँछन् र अन्धप्रशंसाको स्तरमा ओर्लन्छन् ।

कविले यस यथार्थलाई कवितामा कलात्मक अभिव्यक्ति दिनुभएको छ । अमेरिकामा बसेर गरिएका अनुभूतिहरूको कलात्मक प्रकाशनका कारण कविता जीवन्त बनेका छन् । अमेरिकाले गर्दै आएको हातहतियारको निर्माण र व्यापार, युक्रेन, गाजादेखि विभिन्न मुलुकमा चलेका युद्धहरूमा उसको प्रत्यक्ष परोक्ष संलग्नता, युद्धका कारण भएको भौतिक र मानवीय क्षति, त्यसका दुष्प्रभाव आदिप्रति पनि कवितामा गम्भीर सरोकार राखिएको छ ।

अमेरिकामा बस्नेहरूले गर्ने डायस्पोरिक अनुभूति, उनीहरूका पीडा र मनोविज्ञान, उनीहरूका स्वप्न र विरोधाभासको चित्रण पनि कवितामा पाइन्छ । सन्तान विदेशमा रहँदा आमाबाबुले खप्नुपरेको गहिरो पीडालाई पनि कवितामा अभिव्यक्ति दिइएको छ । कविले त्यहाँको पर्यावरण, प्रकृति र त्यसलाई लिएर गरिएका अनुभूतिहरूलाई पनि काव्यात्मक अभिव्यक्ति दिनुभएको छ । सुन्दर प्रकृति र पर्यावरणबाट कवि गहिरो गरी प्रभावित हुनुभएको पाइन्छ । प्रकृतिको सौन्दर्यप्रति कविको काव्यिक सरोकार सुन्दर रहेको छ तर कविमा यसको स्थायित्वलाई लिएर चिन्ता पनि छ ।

हामी पर्यावरण विनाशको समयमा छौं र अमेरिका जस्ता पूँजीवादी एवम् औद्योगिक राष्ट्रहरू यसका निम्ति धेरै जिम्मेवार छन् । यस संग्रहका कवितामा मानवता, मानवीय प्रेम, सद्भाव, सहिष्णुता, समानता, स्वतन्त्रता र सामाजिक न्यायका भावनाहरूले पनि अभिव्यक्ति पाएका छन् । देशभक्तिको प्रगाढ भावनालाई पनि कवितामा नियाल्न सकिन्छ । देश छाडेर जानेहरूलाई लिएर कविमा गहिरो चिन्ता छ । देशभक्तिको भावना, हातहतियार र युद्धको विरोध, यान्त्रिक जीवन एवम् व्यक्तिवाद र उपभोक्तावादको आलोचना, मानवता तथा स्वतन्त्रता, समानता र सामाजिक न्यायको चाहना, प्रकृति र पर्यावरण प्रेम, भौतिक सम्पन्नता र यान्त्रिकता बीच मानिस हुनुको अर्थ गुमाउँदै गरेको मनुष्यप्रति गहिरो दुःखको अभिव्यक्ति आदि यस कृतिका महत्त्वपूर्ण विशेषता हुन् ।

यस कवितासंग्रहमा कविले उपयुक्त विम्ब, प्रतीक र अलङ्कारका माध्यमबाट अन्तर्वस्तुलाई अभिव्यक्ति दिनुभएको छ । सबै कविता प्रगीतात्मक ढाँचामा रचिएका छन् । सरल, सम्प्रेष्य, र कलात्मक तरिकाले भावको प्रकाशन उहाँका कविताका विशेषता हुन् । कयौं कविमा कवितालाई बढी कलात्मक बनाउने मोह पाइन्छ र उनीहरू कृत्रिमताको शिकार हुन्छन् । कवितामा कलात्मक उपकरणहरूको प्रयोग स्वाभाविक ढङ्गले गरिनुपर्छ । विम्ब, प्रतीक र अलङ्कारहरूको अनावश्यक प्रयोगले कविता सुन्दर बन्दैनन् । शब्दहरू थुपारेर मात्र कविता बन्दैन ।

कविता विम्बको भाषा हो तर विम्ब बोझिल भाषा होइन । कविता बढी आलङ्कारिक र क्लिष्ट हुनुबाट बच्नुपर्छ । त्यसैगरी बढी सरल र सपाट हुनबाट पनि बच्नुपर्छ । यी सबै कुराप्रति कवि पुडासैनी गम्भीर र सचेत हुनुनुहुन्छ । हेरौं उहाँका केही कविताका सुन्दर पंक्तिहरू

ऊ एक्लै हुइँकिएकी छे कार लिएर

सपनाहरू दौडिरहेका छन् कारको गतिभन्दा वेगमा

 

मेन स्ट्रीटमा कुदिरहेकी स्वास्नीमान्छेसँग

निद्रा  हुँदैन, भोक हुँदैन र हुँदैन कुनै नाता सम्बन्ध

ऊ केवल मेसिन जिन्दगीको राप ताप्छे

र मेसिनभन्दा अलि दह्रो समयसँग कावा खान्छे

          

मेन स्ट्रीटमा कुदिरहेकी स्वास्नीमान्छेको कारको दायाँ सिटमाथि

वषौंदेखि ढुसी र जालोले रङ्गहीन बन्दै गइरहेको

मार्क्सको ‘दास क्यापिटल’ र गोर्कीको ‘मदर’ सुतिरहेका छन्

उसले भने चिनेकी छ ईश्वरलाई

एउटा व्यापारिक घरानियाँको रूपमा

जसले सधैं व्यापार गरिरहेछ

संविधान, संसद्, राजनीति र अर्थनीतिको नाममा

पैसाको पोको बटुल्ने धूर्त बनियाँ जसरी

                              (मेन स्ट्रीटमा कुदिरहेकी स्वास्नीमान्छे)

——

एउटा देश आँखामा

र एउटा देश मुटुमा छ मेरो

देश देशका धमिला सिमानाहरू

भत्काउनुपर्छ भनिरहेछु

 

बिहान लाखे नाच्छु

दिउसो ब्याले नाच्छु

साँझ साल्सा नाचिरहेछु

मेरो नाचमा मोहित भएर नै होला

बिस्तारै दर्शकहरू उक्लँदैछन्

अग्लो नृत्यशालामा

                                 (अमेरिकन ब्लुज)

——

 

यतिखेर रोबोटको साम्राज्यमा

म आफैं रोबोट कुदिरहेछु

 

प्यासको कुवा आफू भित्रभित्र गहिरिरहेछ

उता पुरानो गुँडतिरबाट माउहरूले पठाउँछन् पुलिन्दा

शरीर जीर्ण रूख बनेर ढल्नै लागेको

बाँझो खेतबारीमा ऋणको बन्सो बेसरी मौलाएको

जीवन र घरको धुरीखाँबो थेग्ने औषधिमूलो पनि नभेटेको

छोराछोरीको पातालमा घरगाडीको छेलोखेलो गफ चुटेको

सुनौलो शरद् बोकेर

पातालबाट फर्कंदैछन् हाम्रा बचेराहरू भन्ने ढोल पिटेको

र आफू र आफन्त सबैलाई

एक एक थान आइफोनको प्यास मेटाइदिने बाचा बाँधेको ।

                     (पातालमा उचालेको सगरमाथा)

—–

अचेल बच्चाहरू

स्कूल जान्छन् कि ब्यारेक

फूल रोप्छन् कि एम्बुस

हिजोसम्म चराजस्तै चरा पछाडि दगुरिरहने नानीहरू

अहिले बमको धूवाँसँगै आकाशमा उडेर

माटोमा लडिरहेको खबर छ माटोकै रूपमा

रोक, युद्ध रोक

                                      (ब्रेकिङ न्यूज)

——

सम्बन्धमा पहिरो गइरहेछ

पानीका फोका छन् नयाँ सम्बन्धहरू

भीड नै भीडको माझमा एक्लो छ मान्छे

फराक जमिनमा लम्पसार परेर

एक्लो टापुमा फसेको महसूस गरिरहेछ

                                      (अमेरिका ! ओ अमेरिका !! (१)

——

म कवितालाई हतियार भन्छु

तिमी हतियार नै कविता हो भनिरहेछौ

तिम्रा हतियारले क्षत विक्षत पारेको घाउमा मैले कविता रोपें

त्यही कविताले संसार हल्लाउँदैछ अहिले ।

                           (अमेरिका ! ओ अमेरिका !! (२)

——

साँझसम्म ऊ चुपचाप सुतिरहेथ्यो

बिहान घामसँगै छमछम नाचिरहेछ

बतास बनेर ऊसँगै नाचें म

उसको र मेरो नाच हेर्न

फुत्रुक्क ओर्लियो घाम

लहरका पाइलाहरूसँगै

(लेक मिसिगन –(१)

अन्तमा, पुडासैनीको कलम अझै तिक्खर हुँदै जाओस् । उहाँबाट हामीले अझै सुन्दर कृतिहरू पाउन सकौं । उहाँका कवितामा पाइने मानवता, प्रेम, परिवर्तन, शान्ति र देशभक्तिका भावनाहरू अझ सघन र हृदयस्पर्शी बनून् ।