दिल खोलेर दिलले गरेको यात्रा एवं दिल लगाएर दिलले लेखेको यात्रा रहेछ  ‘तिब्बत – यात्रा’ (तृतीय सं २०७४) . दिलको यात्रालाई दिलैमा नराखी कृतिमा उतारी गहनीय कार्य गर्ने लेखक हुन् – विष्णुप्रसाद शर्मा पराजुली ।

यात्रा गर्नु त्यसपछि कृति रचेर साहित्यिक यात्रा गर्नु दुवै कार्य लेखकलाई फलदायी हुन पुगेको देखिन्छ । त्यसो त यात्रा गरेर कसलाई पो हानी भएको छ र साहित्य रचेर को पछुताउनु परेको छ र ? दैवी दुर्घटनासिवाय यात्रा र आशिष् दुवै हितकारी र गुणकारी विषय हुन्छ । प्रकृतिको सुन्दर रचना नै स्वर्ग हो भनी भन्ने र निरन्तर घुम्न सके जीवन सार्थक भएको देख्ने लेखकको यात्रा निरन्तर जारी रहोस्, यात्रा अनुभव र अनुभूति लेखनमा सफलता प्राप्त होस् । यात्रामा गोडाले पाएको दुःख झनै कृतिको मलमले मनलाई शान्त पार्न सकिने र त्यस्तै उत्साह र जाँगरले साहसिक यात्रामा पाइला चालिरहून् ।

यो यात्रा पूर्वनियोजित व्यवस्थित यात्रा हो ‘चल जोगी फट्कार छाला,  जहाँ जाला भातै खाला’ भने जस्तो यो बरालिएको यात्रा होइन । हिमाली यात्रा कठिन र चुनौतीपूर्ण छ, त्यसैले यसको हिसाबकिताब नगरी त्यसै स्वतन्त्र रूपमा चालिने यो यात्रा होइन । मौसम अनुकूल हेरी यथेष्ट साधन स्रोत जुटाएर जानुपर्ने यात्रा भएकाले यो केही साथीहरूसहितको सामूहिक यात्रा हो । यसमा गाइड र आफ्नो भरिया समेतको व्यवस्था हुनुपर्दो रहेछ ।

तिब्बत चीन स्वशासित ऐतिहासिक महत्त्वको क्षेत्र हो । नेपालका पर्यटन व्यवसायीसँग समन्वय गरेर लेखक पहिलो पटक ल्हासातिर बाट र दोस्रो पटक फ्रान्सेली साथीहरू सहित यात्रामा सहभागी बनेका छन् । कतै पैदल कतै हवाई र कतै जीपको उपयोग गरी उनीहरू ल्हासादेखि गुगेसम्मको लामो र ऐतिहासिक गन्तव्यमा पुगेका छन् । यस्तो यात्रामा पूर्वपैदल यात्राको अभ्यास पनि गर्नुपर्ने हुन्छ, नत्र स्वास्थ्यको जोखिम बेहोर्नुपर्ने हुन्छ । होचो ठाउँबाट अग्लो ठाउँमा जाँदा अक्सिजनको मात्रा कम हुन्छ र रोग लाग्न सक्छ ।

त्यसैले आफ्नो अनुभव सुनाउँदै निबन्धकार भन्छन्,  “त्यस्ता उच्च ठाउँमा यात्रा गर्दा हतारमा यात्रा गर्नुहुँदैन । विस्तारै-विस्तारै लामो सास फेर्दै आराम गर्नुका साथै निरन्तर पानी पिउँदै हिंड्नुपर्छ । यसलाई सामान्य र सहज रूपमा यात्रा भनियो तर यो त महायात्रा हो । महायात्राको अर्थ त मरण हो तर यहाँ कठिन हुने अध्यायमा प्रयोग गरिएको शब्द हो ।”

कतै लोकतन्त्रप्रति कटाक्ष, कतै प्राकृतिक हरियाली, कतै रोपाइँ, कतै नेपाली जीवन तथा संस्कृति नियाल्दै यात्रा अगाडि बढ्छ । लेखकको अभिव्यक्ति सटिक र सूत्रात्मक छ, कहीँ उखानको प्रयोग गरेर कथालाई फूलबुट्टा हालेर लम्बेतान नतुल्याई स्पष्ट र छरितो पाराले चट्ट भनिदिन्छन् । त्यसले निबन्धलाई निकै रोचक र आकर्षक तुल्याएको छ, जस्तै केही नमूना-

“बसेको ठाउँमा खुइय गर्नुसिवाय अरू के नै पो गर्न सक्थ्यौं र हामी” पृ १२

“मौसमले हामीलाई घर न घाटको बनायो ।” पृ १३

“सबैको अनुहार काटेर फालेको प्याउलीको फूलजस्तो ओइलाएको थियो । पाहुना साथीहरू एकातिर गर्मीले राता भएका थिए भने अर्कोतिर तिनीहरू पिरले मुर्झाएका थिए ।” पृ १२

“हाम्रो दिमागमा विभिन्न किसिमका तर्कनाले कुस्ती खेलिरहेका थिए ।” पृ १४

नेपालको अति दुर्गम जिल्ला हो हुम्ला जसको राजधानी हो सिमकोट,  जडिबुटीको राजधानी । हुम्लामा जडीबुटी र पर्यटनको व्यवस्थापन गर्ने हो भने राज्यले हुम्लालाई केही दिनुपर्दैन,  आत्मनिर्भर हुन्छ ।

हुम्ला अति दुर्गम भए पनि प्रकृति र संस्कृतिका हीराको खानी हो भन्ने लेखकको धारणा छ । हुम्लामा अझै बहुपति प्रथा छ । हुम्लावासीले आफ्नो घरबार बनाउन पनि निकै गाह्रो छ । चेलीको विवाह भयो भने पनि बीस डाँडा पारि हुँदा घर माइत गर्न र ससुराली जान लामो यात्रा तय गर्नुपर्छ जुन भौगोलिक र कामकाजी अवस्थामा असम्भव जस्तै हुन्छ । यसको यथार्थ कथा बनाएर लेखकले कारूणिक भावना प्रकट गर्दा निबन्ध निकै मर्मस्पर्शी बन्न पुगेको छ । सुन्नेबुझ्ने पाठकले हुम्लावासीप्रति प्रशस्त सहानुभूति गरे पनि राज्यले हुम्ला विकासप्रति अझै यथोचित ध्यान दिएको छैन ।

सिमकोटको बाटो भएर पैदल यात्रा गर्दै हिल्सा र त्यसपछि मानसरोवर र कैलाश परिक्रमाका यात्रामा लेखकको समूह अघि बढ्छ । यात्रीहरू नेपालतिरको बाटामा अनुहार झिंगाले ढाकिएका र शरीरको तल्लो भाग निर्वस्त्र रहेका बालकको अवस्थाबाट त्यहाँको गरीबी देख्छन्, पैंतालिस कटेकीलाई साठी कटेको जस्तो देख्छन् । त्यहाँको अभाव, गरीबी, कष्ट, रोग आदि देखेर कसको मन विक्षिप्त नहोला ? ती सबैका उपचारका निम्ति मुख्य तीन आधार छन् : पर्यटन, जडीबुटी र जलस्रोत । तिनको राम्रो सञ्चालनबाटै तिनको उद्धार हुनेमा लेखकको धारणा एक दशक पहिले आए पनि राज्य नै त्यसमा दृढ सङ्कल्पित देखिन्न ।

सिमकोटबाट प्रकृतिको राज्य सल्ली खोलाको तीर पुग्दा लेखक साबुन र चकलेट माग्दै गरेका बालबालिकाका बारेमा सोच्छन्, त्यहाँका बालबालिका अन्नपूर्णका बालबालिकाका स्तरमा पुग्न अझै एक सय वर्ष कुर्नु पर्ने देख्छन्, कर्णालीको तीर भिरको बाटो पाइला ठाउँमा राख्न गल्ती गरे सोझै गुल्टिएर कर्णालीमा पुगी इहलीला समाप्त हुने खतरा पाउँछन्, त्यहाँ करीब दुई सय मिटर अग्लो ठाउँबाट च्या छहराले हाम फालेको पनि देख्छन्, पहरो खोपेर बनाइएको बाटो खतरामुक्त त छँदैछ,  जाँदै गर्दा केर्मी गाउँका गुजुमुच्च टाँसिएर बनेका घर देख्छन् ।

यात्रीहरू सल्ली खोलाको तीर वरपर चट्टाने पहाड पनि देख्छन्, त्यहाँ धुपी, भोजपत्र र ओखरका रूखले ढाकिएका अग्ला पहाड पनि देख्छन्, त्यहाँको प्रकृति सुन्दर भए पनि जनजीवन अति कष्टकर भएको बुझ्छन्,  सिमकोटको सल्ली खोलापछि कर्णालीको बाटो हुँदै याल्वाङ गाउँ, यालवाङ गुम्बा, मुचु पुग्छन्, मुचुपछिको तुमकोटमा कर्णाली नदी छाती फुकाएर बगेको देख्छन्, कर्णालीवासीको पाहुना र पाकालाई आदर र सत्कार गर्ने पुरानो चलनप्रति प्रभावित हुन्छन्, हुम्लाको शान भनिएको यारीको प्राकृतिक छटा देख्छन्, तिब्बतीसँग मिल्दोजुल्दो रहनसहन पनि अनुभव गर्छन्, त्यसपछि नारा भन्ज्याङको नाके उकालो र मुटु हल्लाउने हिल्साको ओरालोको पनि अनुभव गर्छन् ।

यसमा तीन खण्ड छन् । पहिलो खण्डमा हुम्ला- कैलाश यात्राको अनुभव समेटिएको छ । यसभित्रै सिमकोट सल्ली खोलाको तीर, तुमकोट, मुचु, कर्णाली नदी, पहरो खोपेर बनाइएका निर्वस्त्र डाँडाका भिरका बाटा, हुम्लाको पारिका प्राकृतिक छटा, नारा भन्ज्याङका नाके उकाला र मुटु हल्लिने ओरालाका रोचक र मनोरम अनुभूति छन् ।

दोस्रो खण्डमा मानसरोवर, कैलाश, गुगेबारे चर्चा छ । तिब्बत ताक्लाकोट पुगेपछि यात्रीहरू बझाङको सैपाल हिमालको शृङ्खला, गुम्बा र राकस ताल आदिको अवलोकन, कैलाश पर्वतको दृश्य र गुर्लामन्दता हिमालको पनि अवलोकन गर्छन् । गुणमा फरक भए पनि रङका दृष्टिले राकस ताल मानसरोवर ताल जस्तै मनोहर देखिन्छ । यात्री तिब्बतका होटल बाहेक लजहरूमा त्यस बेला शौचालयको समस्या देख्छन् । लेखक नेपाल र तिब्बत दुवै तर्फका परिवेशका सौन्दर्यको तुलनात्मक चित्रण पनि गर्छन् ।

यात्री सतलज नदीका किनारमा तीर्थपुरीमा पाल हाल्छन्, त्यहाँ भाग्य प्वाल हेर्ने पनि अवसर पाउँछन् । यस सन्दर्भमा लेखकले नेपाल र तिब्बतका भौगोलिक अवस्थिति, प्राकृतिक रूपरङ,  परिदृश्य आदिको तुलना गरेर वस्तुस्थितिलाई राम्ररी स्पष्ट्याएका छन् ।

सांसारिक झमेलाभन्दा पर प्रकृतिको साथ लागेर तिब्बतका पठार, सुनखानी, नन्दादेवी हिमशृङ्खला, शिवलिङ्ग पहाड, सतलज नदीका किनारमा अवस्थित सानो थोलिङ गुम्बा र सापाराङ शहर ल्हासाभन्दा धेरै पश्चिम गुगेमा रहेको माटाको जङ्गल आदिको पनि लेखक अवलोकन गर्छन्, त्यसपछि ऐतिहासिक महत्त्वका गुगे क्षेत्र, सापाराड, अग्ला हिमशृङ्खला, थोलिङ गुम्बा र गुम्बाका भित्रेचित्र, गुफा, दरबार, माहुरीको चाका जस्ता माटाका ढिस्का आदिको अवलोकन गर्छन् । नदी नै मानव सभ्यताको जननी भएको बोध हुन्छ । यसै क्रममा ती थोलिङ्ग गुम्बाको बनावट र भग्नावशेषको पनि दर्शन गर्छन्, गुम्बा अवलोकनपछि कैलाश परिक्रमाको आधार शिविर दारचेनका निम्ति प्रस्थान गर्छन् । दारचेन कैलाश पर्वतको द्वार जस्तै हो ।

ती दारचेनपछि दारपोचे पुग्छन् । दारपोचेमा लुङ्दार र यमद्वार छन् । यसलाई कैलाश परिक्रमा गर्ने मुख्य विन्दु भनिन्छ । यमद्वारभित्र प्रवेश गरेपछि अनजानमा गरिएका पापकर्म सबै नाश हुन्छन् भन्ने विश्वास गरिन्छ । यस द्वार नजिकै रहेको एक थुम्कामा मानिसका लाश काटेर वरपर फाल्ने चलन छ । ती काटेर फालेका टुक्रा गिद्धले खाने गर्छन् । यो चलन अहिले पनि छ । यात्री कैलाश पर्वतको परिक्रमा र मनमोहक दृश्यको अवलोकन गर्छन् । लेखकले कैलाश अर्थात् सुमेरु पर्वतका अनेक रूप र अनेक विश्वासको चर्चा गरेका छन् ।

कैलाश पर्वतकै सम्बन्धमा लेखक स्वयंले भनेका छन्,  “संसारमा साधना पवित्रता र सुन्दरतामय कैलाश पर्वत जस्तो शक्तिशाली स्थान अन्यत्र कहीं छैन ।” पृ ११७

यो स्वर्ग र पृथ्वी जोड्ने पुल हो, यो प्राकृतिक पिरामिड हो, धरती र भूमण्डल जोड्ने सेतु हो भन्दै यसको धार्मिक विश्वास र प्राकृतिक संरचनाप्रति लेखकले व्यापक प्रकाश पारेका छन् । उनी कैलाश हिमाली उपमहादेशको नदीको स्रोतका साथै बोन, हिन्दू, बौद्ध, जैन धर्मावलम्बीको आस्थाको केन्द्र भएको जानकारी पस्कन्छन् ।

लेखक यात्री कैलाश परिक्रमा गर्दा डोल्मा भन्ज्याङ पार गर्नु त्यस यात्राको ठुलो र प्रमुख कार्य रहेको बताउँछन् र डोल्मा ला पुगी खुसीयाली मनाउँछन् । उनी डोल्मा लापछि गौरी कुण्डको दर्शन, सुन्दर पहाडहरूको अवलोकन गर्दै कैलाश पर्वतको दक्षिणी मोहडा दारचेनतर्फ ओरालो झर्छन्, दारचेनपछि मानसरोवरका किनारमा पाल टाँगेर विश्राम गर्छन्, सबै काम सफल हुँदै आएको र आफूहरू गन्तव्यमा पुग्न सफल हुँदै आएकाले मानसरोवरको त्यो रात विशेष रोमाञ्चक रात भएको अनुभव गर्छन् ।

त्यसपछि ताल दर्शनको अनुभव लेखक यात्रीले शब्दमा, “ सुन्दर र विशाल तालको आकाशे रङको मोहनी लाग्ने नीलो पानी, गुर्लामन्दता हिमाल, प्रदूषणविहीन नीला आकाश, हावाको गतिसँगै मोहनी रूप ती छालको चुलबुलेपनबाट मोहित भएर त होला शिव पार्वती त्यो तालमा आएर जलक्रीडामा लीन भएका ।” पृ. १३१

त्यसपछि लेखक मानसरोवर ताल र धार्मिक सम्बन्धका बारेमा चर्चा गर्छन् । यसरी दोस्रो खण्डमा माटाको वन, थोलिङ गुम्बा हुँदै कैलाश पर्वतको परिक्रमा गरिन्छ । कैलाश पर्वत त्यसका अनेक रूप र विश्वासको वर्णन गरिएको छ, सतलज किनारमा रहेको ऐतिहासिक गुम्बामाथि प्रकाश पारिएको छ । मानसरोवर तालका किनारमा भएको प्रेमालापको पनि वर्णन गरिएको छ । तिब्बतलाई सांस्कृतिक, धार्मिक, ऐतिहासिक एवं आर्थिक रूपमा चिनाउने मुख्य भाग रहेको देखिन्छ ।

तेस्रो खण्डमा तिब्बत यात्रा योजनाका मनोरञ्जनात्मक निबन्ध अधिक छन् । यसैमा हो उनले ल्हासा, ब्रह्मपुत्र, ग्याङ्त्से, सिगात्से, तिब्बततिर बाट सगरमाथाको आधार शिविर पुगेको वर्णन गरेको । लेखक नेपाल र तिब्बत दुवैतिरबाट सगरमाथाको आधार शिविर पुगेका छन् र त्यसको अनुभव उल्लेख गरेका छन् । त्यस खण्डमा यात्राको अनुभवको समीक्षा पनि छ । अन्य यात्राका तुलनामा तिब्बत यात्रा खर्चिलो हुनाका साथै स्वास्थ्यका दृष्टिले संवेदनशील र  कष्टकर हुने पनि बताइएको छ । तिब्बत यात्रा के कसरी गर्ने, समय, साधनस्रोत के के हुने भन्ने विषयमा पनि प्रकाश पारिएको छ । तिब्बतका ऐतिहासिक क्षेत्र ल्हासा शहर, पोताला दरबार, जोखाङ मन्दिरको वर्णन गर्दै ल्हासाको कला, संस्कृति र इतिहासको सुन्दर बयान गरिएको छ ।

यस क्रममा लेखकले आफ्ना धारणा र दृष्टिकोणलाई पनि खुलस्त पारेका छन्, नेपाल र तिब्बत बीचको ऐतिहासिक सम्बन्धलाई पनि दर्शाएका छन् । सो तिब्बत यात्रालाई उनले अंग्रेजी भाषामा पनि प्रकाशन गरेका छन् ।

कृतिमा हिमाली पदयात्रा गर्दा के के अपनाउनुपर्छ, के के बिर्सनुहुँदैन,  के के तयारी गर्नुपर्छ भन्ने सम्बन्धमा तिब्बत यात्रा मार्गदर्शनका अनमोल कुरा छन्, आधारभूत आवश्यकताका जानकारी छन्, स्थान, परिवेशका वर्णन छन् । प्रकृतिका विविध पक्षका सही सूचना छन्, सांस्कृतिक महत्त्वका सामग्री छन्, धारिला तर्क र मनोरम सन्देश स्पष्ट छन् । वर्णन विवरणमा तिक्खरता र निक्खरता छ ।

अभिव्यक्तिमा पनि नयाँपन छ । शैलीशिल्पका दृष्टिले पृथक् स्वाद र स्वरको अनुभूति हुन्छ । विविध प्रसङ्ग ल्याएर तर्क र टिप्पणीद्वारा कथाको पुष्टि गरिएको छ । यिनै विविध कारणले कृतिको महत्त्व रहेको पाइन्छ । तिब्बतको प्रत्यक्षदर्शी भएर अनुभव र प्रमाण (तस्बिरसमेत) का आधारमा जानकारी दिने यो कृति सबैका निम्ति पठनीय र संग्रहणीय छ । तिब्बत यात्रा गर्नेहरूका निम्ति यो कृति तिब्बत यात्रा विशेषतः कैलाश, मानसरोवर, ल्हासाको मार्गचित्र बनेको छ ।