कवि कृष्ण बाउसेद्वारा प्रणीत ‘सपनाको जीर्णोद्धार’ कवितासंग्रह २०८० को बुद्ध जयन्तीका दिन पहिलो पटक सार्वजनिक भएको हो । जीवनभर काव्य साधना र साहित्य सेवा गरेका बाउसे पछिल्लो समय पर्या-साहित्य पठन र लेखनमा व्यस्त छन् ।

‘अज्ञात यात्राका पदचिह्नहरू’, ‘सपनाको जीर्णोद्धार’ हुँदै  ‘पर्याप्रेमको गुञ्जन’ कवितासंग्रह सम्म आइपुगेका बाउसे मुक्तक लेखनमा पनि उत्तिकै सक्रिय छन् । बाल साहित्यतर्फ पनि आधा दर्जनभन्दा बढी  कृतिहरू रचना गरेका  छन् ।

जीवनभरि साहित्यमा रमाएका र गहिरो काव्य साधनामा डुबेका बाउसेको यो तेस्रो कवितासंग्रह ‘सपनाको जीर्णोद्धार’ उनकै अनुभव, भोगाइ, जीवन-जगतको बुझाइ र चिन्तनहरूको उपजको रूपमा देखिएको छ । १२८ पृष्ठमा संरचित यस संग्रहमा ४५ वटा कविता समेटिएका छन् । पुस्तकको नाम संग्रहित कविताहरू मध्ये पहिलो कविताको शीर्षकै आधारमा नामकरण गरिएको छ ।

“जहाँ तन पनि दुख्छ, मन पनि दुख्छ” शीर्षकको कवितामा कविले दिनभरि भारी बोकेर पेट पाल्ने ज्यामीलाई पात्रको रूपमा उभ्याई उसको जीवनका जटिलता र सामाजिक व्यवस्था र व्यवहारको जीवन्त प्रस्तुति दिएका छन् । यस कवितामा कवि ज्यामीको भोगाइलाई आत्मानुभूतिका माध्यमबाट यसरी भन्छन् :

`खचर भएर जन्मन पाएको भए हुन्थ्यो
त्यसो भइदिएको भए
तन मात्र दुख्थ्यो होला
अहिले त
तन पनि दुख्छ मन पनि दुख्छ ।´

“के बाँचिरहेको स्वाङ पारिरहनु ?” कवितामा कविले आफ्नो सभ्यता, संस्कृति र धरोहरप्रति अघात आस्था र प्रेम प्रकट गरेका छन् । पुर्ख्यौली सभ्यता र हाम्रो साझा धरोहरको संरक्षण र सुरक्षाका लागि कवि भन्छन् :

`सास फेरिरहेकै भरमा

के बाँचेको स्वाङ पारिरहनु ?

बरु म लड्दालड्दै मरौंला

र शहिदहरूसँग साक्षात्कार गरौँला

तर म आफ्नो सभ्यताको लागि

म तिम्रै विरुद्ध पनि लडौँला

म मेरै विरुद्ध पनि लडौँला… ।´

अर्को कविता “शुभको खोजी”मा कवि गन्तव्यसम्म पुग्नको लागि एकताबद्ध यात्राका लागि आह्वान गर्छन् । कवि भन्छन् `बरु तिमी हामी एउटै मोर्चा बनेर जाऔं एउटै कदम बनेर अघि बढौं´ । यस कवितामा कविले जीवन प्रतिको जिजीविषा जगाउन खोज्दै संघर्ष गर्न र जीवनप्रति आशावादी हुन प्रेरित गरेका छन् ।

“काँडै भए पनि” शीर्षकको कवितामा कविले शासकहरूलाई कविता मार्फत केही व्यावहारिक अनुरोध गरेका छन् ।

उनी भन्छन् :

`अबोधहरूलाई सजाय दिनु भनेको आफू क्रूर बन्नु हो,
निर्बलहरू माथि बलमिचाइ गर्नु भनेको
आफै आफ्नो पतनको खाडल खन्नु हो… ।
तिनले थरिथरिका जिज्ञासा राख्न सक्छन्
उत्तर दिंदा विज्ञानी बन्ने गर
जाति लिङ्गका भेदका दुर्भाव
परित्याज्य छन् भन्ने गर
व्यवहारमा संधै म नभनी हामी भन्ने गर ।´

जीवन दर्शनमा आधारित अर्को कविता हो – “यस्तै हो जिन्दगीमा” । यस कवितामा कविले मानवीय जीवनमा सृजित हुने जटिलता, दुरूहता, बाध्यता लगायतका परिस्थितिजन्य पक्षहरूलाई बडो मार्मिक ढङ्गबाट प्रस्तुत गरेका छन् । आफ्नो नियन्त्रणमा नरहने जीवनका तमाम विषयहरूलाई मार्मिक बिम्ब मार्फत कविले यसरी पोखेका छन्:

`काँल्लाको कुस पखाल्दै बगेको पानीले
मन नलागे पनि बाटोमा बिटुलिंदै
कुनै खोलामा मिसिन जानुपर्छ…
झर्न मन नलागे पनि

पातहरूले शिशिरमा झर्नुपर्छ…

आफ्नो भन्दा अरूकै बढी भइदिएपछि
गर्दिन भनेका कुराहरू पनि गर्नुपर्छ
गर्छु भनेर खाएका कसमहरू पनि तोड्नुपर्छ ।´

अर्को व्यंग्यात्मक कविता हो – “मेरो देशको व्यथा/मेरी आमाको कथा” । यसमा कविले देश र आमालाई सादृश्य भाव राखेर देश र आमाको अवस्था र स्थितिलाई ध्वन्यात्मक सादृश्य स्वरूपमा प्रस्तुत गरेका छन् । साथै वर्तमान समयमा सन्ततिले आफ्नो थलो र आमालाई बिर्सेर आफ्नै तरीकाले रमाउने स्वार्थ चरित्र विकास भइरहेको सन्दर्भलाई कविले यसरी तिखो व्यङ्ग्य मार्फत प्रस्तुत गरेका छन् :

`एकदमै ठूलो सन्तोष छ मेरी आमालाई /मेरो देशलाई

किनभने डार्विनलाई पनि

झुक्याउन सकेका छन् उनीहरूका सन्ततिहरूले ।

हेर्नुस् न ! तिनीहरूको तनमा

अझसम्म सिङ पनि ठडिएको छैन

पुच्छर पनि लत्रिएको छैन ।´

“आमा, बा र सन्तानहरू” शीर्षकको कवितामा कविले यी तीन शाश्वत  सम्बन्धहरूलाई तीन आयामबाट प्रस्तुत गरेका छन् । कवि भन्छन्, `ब्रह्माण्ड भरिको मायाको खजाना हुन् आमा ।´,

पिताको सन्दर्भमा कवि लेख्छन्, `प्रकृतिको नियमले नै बा सन्तानका सहसृष्टिकर्ता हुन् ।´ र सन्तानहरूको सन्दर्भमा यसरी पोख्छन्, `उनीहरू फूल जस्ता बनुन् /फल जस्ता बनुन्…´
“नबिर्सनु यति कुरा” कवितामा कविले जीवनचेतना, अस्तित्व चेत एवं स्थिति/ स्थान बोधको ज्ञानलाई शब्दार्थमा होइन आशयमा बुझौं भन्ने भावलाई ध्वन्यात्मक आज्ञा गरेका छन् ।

कविले मानवीय जीवनको जटिलतालाई “तिमीले ठिकै भन्यौ” शीर्षक कवितामा पोखेका छन् । अभिव्यञ्जनात्मक शैलीमा व्यक्त यस कवितामा विश्वास र मानवीय संवेदनामूलक गुणको खडेरी परेको वर्तमान परिस्थिति झल्किन्छ :

`प्रेमका पातहरू देखाएर
हिंसाका फलहरू फलाउने जादुगरहरूको
बिगबिगी छ चारैतिर
त्यसैले पनि हिजो आज
मैले प्रेमका गीतहरु लेख्न छाडे ।´

जीवनप्रति आशा राख्नुपर्छ भन्ने कुरा “सुझाव” कवितामा कविले मीठो ढङ्गले व्यक्त गरेका छन् ।

यसरी उनका कविताहरूले वर्तमानप्रति सुधारवादी, भविष्यप्रति आशावादी र विगत र इतिहासको अनुभवप्रति उपयोगवादी भाव अभिव्यञ्जनालाई अँगालेका छन् ।

कविका हरेक कविताको वाक्य गठन र शब्द चयन एवं अभिव्यक्ति शैली बडो कलापूर्ण देखिन्छ । भनिन्छ साधारण विषयलाई असाधारण ढङ्गले प्रस्तुत गर्नु र जटिल विषयलाई सरल ढङ्गले अभिव्यक्त गर्ने कला नै कविता हो । यसरी कवि बाउसे नेपाली साहित्यको फाँटमा आफ्नो उपस्थितिलाई बलियो र प्रभावकारी बनाउन अत्यन्तै सफल देखिन्छन् ।

जस्तै: बुझ्नुपर्छ भीर पहराले हाम फालेर
कतै बाटोमाथि खेलबाड गरेका त छैनन् ?

यहाँ कविले पहिरोको सन्दर्भलाई एकदमै कलात्मक ढङ्गले प्रस्तुत गरेका छन्  । यस्ता कलात्मक स्वाद संग्रह भित्रका हरेक कवितामा पाउन सकिन्छ ।

यस कवितासंग्रह भित्र कतिपय कविताहरू परदेशिएका युवाहरूको पीडा र वेदनामा केन्द्रित छन् । प्रदेशिएका युवाहरूका भावना, तर्कना, दुःख र वेदना एवं बाध्यतालाई समेत आत्मानुभूतिको माध्यमबाट प्रस्तुत गर्दै समय र सन्दर्भका ज्वलन्त विषयहरूलाई समेट्नु यस कविता संग्रहको विशेषता हो ।

विभिन्न आन्दोलन र संघर्षको नेतृत्व गर्दै नागरिक स्वतन्त्रता र परिवर्तनका लागि लडेकाहरू जब सत्तामा पुग्छन् तब उनीहरूले आफ्नो धरातल भुल्दछन्  । र उही दमन र स्वार्थकै भुलभुलैयामा भुल्दछन् । यही क्रूर चक्रमा नेपालको राजनीति केही दशकदेखि फसिरहेको छ । यस्ता समसामयिक राजनीतिक विषयवस्तुलाई समेत कविले आफ्ना कविताहरूमा समेटेका छन् । यसरी सत्तामा पुगेर जनतालाई भुल्ने नेताहरूलाई `शीर्ष आसनका भिखारी´को संज्ञा दिंदै जनतालाई नेताहरूले दिएको धोका र झुटा आश्वासनप्रति तीव्र आक्रोश व्यक्त गरेका छन् ।

“गन्थनहरू लेखेको नै के अर्थ” शीर्षकको कवितामा २०४४ /१२/२९ गते दशरथ रङ्गशालामा भएको इतिहासकै दुर्दान्त घटनालाई उद्गार गर्दै आफू पत्रकार भएर त्यस घटनाका कारण पीडामा परेकाहरूलाई केही गर्न नसकेको दायित्वबोधलाई पीडाबोधका माध्यमबाट अभिव्यक्त गरेका छन् । सामाजिक उत्तरदायित्वको भावना हराउँदै गएको वर्तमान परिप्रेक्ष्यमा यसरी हरेक पेशा व्यवसायीले समाज र राष्ट्रका हरेक गतिविधि र घटनामा एवम् रीतले दायित्वबोध हुन सके हाम्रो समाज कति सुन्दर हुन्थ्यो । त्यस सुगम समाज निर्माणार्थ यस कविता सत्प्रेरणा बिन्दुको रूपमा देखिएको छ ।

“बाटोको हाल” कवितामा नेपालको असारे विकास, गुणस्तरहीन भौतिक संरचना लगायत बन्द हडताल, भ्रष्टाचार, विकृति र विसंगति पक्षहरूलाई कविले तिखो व्यंग्य प्रहार गरेका छन् । संग्रहका कतिपय कविताहरूले देश, समाज र राष्ट्रका शिथिल पक्षहरूलाई झकझकाउने प्रयास गरेका छन् । लामो संघर्ष, बलिदान र कागजी परिवर्तनका बाबजुद पनि समाजमा विद्यमान विभेद, हिंसा, दमन र अत्याचार जस्ता विषयहरूलाई उठान गर्दै वास्तविक परिवर्तनका लागि तीव्र उत्कण्ठा व्यक्त गरेका छन् ।

संग्रह भित्रका कतिपय कविताहरू जति आजको समयमा सान्दर्भिक छन् ती कविताहरू दशकौं पछि पनि उत्तिकै सान्दर्भिक हुने प्रकृतिका छन् । ती कविताहरूले दार्शनिक पक्षहरूलाई समेट्न सफल देखिन्छन् । समयको आवाज र मागलाई कवितामा जबरजस्त ढङ्गबाट प्रस्तुत  गर्नु आफैमा जटिल कार्य हो यस जटिल कार्य गर्न कवि सफल भएका छन् ।

“कसरी फर्माउनु शुभ खबरहरू” शीर्षकको कवितामा साधारण लाग्ने नेपालीहरूको दैनन्दिन र जनजीविका सम्बन्धित सवालहरूलाई बडो जबरजस्त तवरले उठाइएको छ । साथै सुल्झाउन जटिल सामाजिक विषयहरू – रोजीरोटी, महिला असुरक्षा, हिंसा, दुर्वेशनी, दाइजो लगायतका विसंगत पक्षहरूलाई उठान गर्दै दिनानुदिन अधोन्नति तर्फ गइरहेको समाजप्रति उत्तरदायी बोधको भाव व्यक्त गरेका छन् ।

कविताहरूमा साइबेरियाली क्षेत्र भ्रमण गर्दाका बाछिटाहरू पनि देखिन्छन् । यिनै सन्दर्भमा आफ्नो मातृभूमिप्रतिको प्रेम कविले कविताहरूमा छताछुल्ल पोखेका छन् । (वैकाल ताल देखेपछि) ‘विदेश कस्तो विडम्बना’ शीर्षकमा कविले विदेश जानुपर्ने बाध्यतालाई सारा वैभवको भोग गर्ने रोग भनी आरोपित गरेका छन् । तथापि अति महत्त्वाकाङ्क्षा पालेर ठूला भनिने देशमा जाने र जान लालायितहरूलाई यो कविता उत्तिकै सान्दर्भिक देखिन्छ ।

अर्को कविता छ “आफैंलाई बिर्सिहिंडे” । यो बढी मुक्तक वा गजल जस्तो देखिन्छ । रदिफ र काफियाले युक्त ।

“आँसु” शीर्षकको कविता पनि संरचनाका दृष्टिकोणले संग्रह भित्रका अरू कविताभन्दा अलि फरक देखिन्छ । बढी लयात्मक र गेयात्मक । गीतिकविता जस्तो ।

“मण्डेला कैदमुक्त भएको खुसीमा” शीर्षक कविता मार्फत कविले आफूलाई सचेत विश्व नागरिकको रूपमा उभ्याएका छन् । स्वतन्त्रता र मुक्ति कुनै देश वा भूगोल भित्रको हुनसक्छ तर त्यसले दिने सन्देश र खुशी, सारा विश्वभरिका नागरिकका लागि हो भन्ने भाव यस कवितामा पाइन्छ ।

मानवेतर प्राणीको अनुभव र अवस्थालाई पनि आत्मानुभूतिको आयामबाट  पर्गेल्ने विशिष्ट कवित्व प्रतिभाको उदाहरण हो- “एउटा सुधो खराएको प्रलाप” कविता । “बालिका हराउने देश”, “लाजमर्दो परिदृश्य” कविताहरू मार्फत कविले महिला हिंसा र नारी समस्या लगायतका विषयहरूलाई सम्बोधन गर्ने प्रयास गरेका छन् ।

समग्रमा कविताहरूले जीवन र जगतका तमाम क्षेत्र र आयामहरूलाई समेटेका छन् । अनुभूतिको गहिरो तालमा चुर्लुम्म डुबेर भावनाका शब्दहरूलाई जस्ताको तस्तै उतार्नु कविको अर्को विशिष्ट विशेषता र प्रतिभा हो । कतिपय कविताहरू यस्ता छन् कि पढ्दै गर्दा कविताको प्रभाव कतिखेर अन्तस्थलमा पुग्यो आफैलाई पत्तो हुँदैन । हलुका हलुका तवरले अन्तस्करणमै पुगेर गहिरो प्रभाव छोड्नु संग्रहित कविताहरूको साझा विशेषता हुन् । कविता पढ्दै गर्दा उत्पन्न हुने भाव र अनुभूतिहरू नै कविताको प्रभावकारितालाई पुष्टि गर्ने आधार हुन् । त्यसका लागि कविता नै पढ्नुपर्छ ।

संग्रहित अधिकांश कविताहरूमा वाक्य वक्रताको सन्तुलित, सहज स्वाभाविक र उत्कृष्ट प्रयोग भएको पाउन सकिन्छ । उभय मार्ग पनि भनिने माधुर्य गुणको प्रभाव हुने पाञ्चाली रीति सिद्धान्तको पनि उत्तिकै स्वाभाविक प्रयोग गरिएको पाइन्छ । शब्दहरूको छनौट, सन्तुलित भाव सम्प्रेषणीय कला कवितामा स्पष्ट झल्केको पाइन्छ ।

दीर्घ साहित्य साधना, अभ्यास र प्रतिभाको सामञ्जस्यताका कारण यस कवितासंग्रह साहित्यिक जिह्वाहरूलाई त्रिमधुको विशिष्ट स्वाद चखाउन सफल देखिन्छ ।