१.विषयपरिचय

वि.सं. २०२७ मा खोटाङमा जन्मिएका निबन्धकार ज्ञानेन्द्र विवश(श्रेष्ठ) सक्रिय स्रष्टा हुन् । पिता धननारायण श्रेष्ठ र माता विष्णुमैया श्रेष्ठको कोखबाट जन्मिएका श्रेष्ठ राष्ट्रसेवक कर्मचारीका रूपमा कार्यरत छन् । साहित्यसँगै उनको कलाकारिता निकै खारिएको छ ।

औपचारिक शिक्षामा विश्वविद्यालयको उच्च तहसम्म पूरा गरेका विवशले साहित्यिक पत्रकारिता, कला, साहित्य, संस्कृतिको विगत तीन दशकदेखि अनवरत सेवा गरिरहेका छन् । पहिलो रचना कलाकार अरनिको (निबन्ध, गोरखापत्र, २०४२) बाट नेपाली साहित्यको लेखन क्षेत्रमा प्रवेश गरेका उनी कवि तथा निबन्धकारका रूपमा चर्चित छन् । सम्पादकको रूपमा चिनिने उनी अनुवादमा पनि दक्खल छन् ।

ज्ञामृत्युलाई उत्सवका रूपमा मानेर शब्दशक्तिको व्यञ्जनातहमा पुगी नेन्द्र विवशले जीवनका विभिन्न भोगाइसँगै यात्राका क्रममा भेटिएका अनन्त मृत्युको सम्भावनालाई लिएर मृत्यु–उत्सव निबन्धसंग्रहको रचना गरेका छन् । वास्तवमा मृत्यु पीडादायी हुन्छ तर यसको विकल्प नभएकाले निबन्धकारले मृत्युलाई उत्सवका रूपमा प्रस्तुत गरेका छन् । यस संग्रहभित्र समेटिएका २४ निबन्धमा कतै न कतै मृत्युका रूप, रङ्ग, बोध, अवस्था तथा प्रकारलाई छोइएको छ भने मृत्यु शोकलाई उत्सवका रूपमा प्रस्तुत गरिएको छ ।

– – – – –

२. मृत्युको अवधारणा

मृत्यु एक आश्चर्यबोधक स्थिति, एक गन्तव्यको सङ्केत र एक क्रियामुखी भाव व्यक्त गर्ने बहुआयामिक साङ्केतिक भाव व्यक्त गर्ने शब्दको रूपमा रहेको छ । यस शब्दले एकातिर प्रलयवत् अवस्थाको सङ्केत गर्दछ र परिवर्तनको स्थिति दर्शाउँछ भने अर्कोतिर अति महत्त्वपूर्ण प्रस्थान बिन्दुको रूपमा समेत भाव व्यक्त गरिरहेको हुन्छ । यस शब्दले समाजमा व्याप्त गतिहीनता, निरुद्देश्यता, पथभ्रष्टता सङ्केत गर्दै यस्ता स्थिति तथा अवस्थाबाट मुक्ति पाउन गरिनुपर्ने हाम्रो सामाजिक दायित्वतर्फ पनि हामीबाट हुनैपर्ने अति महत्त्वको चुनौतीपूर्ण प्रयासलाई समेत बोध गराइरहेको हुन्छ ।

सामान्यतया लोकलयको भाषामा व्यापक मात्रामा प्रयोग भइरहेको मृत्युको अर्थ र अवस्था सबैले बुझेका छन् तापनि परिवर्तित अर्थमा मृत्युको भूमिका र स्थिति पनि बुझ्नुपर्ने आवश्यकता त छँदैछ तापनि प्रस्थान बिन्दुको रूपमा समेत रहेको मृत्युले के र कस्तो सन्देश दिन खोजिरहेको छ यस भावको गहिराइमा समेत पुग्नु हाम्रो लागि अनिवार्य छ । यति मात्र होइन समाज सुधारको रूपमा क्रियाशील समूहहरूका लागि ती भौतिकवादी हुन् या

अध्यात्मवादी ? यी अति महत्त्वका चुनौतीपूर्ण सन्देशवाहक शब्द रहेका छन् । यस्तै विविध भाव र अर्थपूर्ण सङ्केतहरूमा केन्द्रित रहेर आफ्नो संशय, विचार र भावहरू व्यक्त गर्ने प्रयास गर्नेछौं ।

मृत्यु वा निधन चैतन्यको वियोग–संयोग भएकाले जन्म–मृत्यु जीवन–मरण विपरीतार्थक शब्दका रूपमा आएका हुन्छन् । यही मृत्युको अवश्यम्भावी भन्ने कुरा सचेत सबै मानिसलाई थाहा छ तर पनि मानिसको जीवनको भन्दा मृत्युको कम चर्चा गर्नसक्छ । सुन्न पनि कम चाहन्छ । शायद यो मृत्यु भयबाट जीवनको आक्रान्त हुनुको परिणति पनि हुनसक्छ । भय सम्पूर्ण प्राणीमा हुने साझा अभिलक्षण हो ।

जीवनका आधारभूत अभिलक्षणमध्ये खानु, सुत्नु, डराउनु, सन्तान उत्पत्ति गराएर आफ्नो वंशलाई बिस्तार गर्नु चार मुख्य हुन् । यी चार सम्पूर्ण जीवजन्तु, प्राणीमा हुने साझा अभिलक्षण हुन् । यीमध्ये मृत्यु अन्य अभिलक्षणभन्दा पृथक् प्रकृतिको तथा अनिवार्य भएकाले समग्र प्राणीलाई साझा विशेषण दिने गरिन्छ– मरणधर्मा जीव । यसरी मरणधर्मा समग्र प्राणीकै साझा विशेषण भए पनि मृत्यु भयबाट बढी चिन्तित हुने प्राणीमा मानिस पहिलो स्थानमा पर्छ । मानिस अन्य प्राणीभन्दा बडी मृत्युभयाक्रान्त हुनुमा उसभित्र रहेको चिन्तन शक्ति नै प्रमुख कारक बनेको देखिन्छ र यही शक्तिकै कारण ऊ अन्य पशुभन्दा फरक दर्जामा उभिएको छ ।

मानिसले मृत्युका बारे जति सोचे पनि, मृत्युलाई टार्न जति नै प्रयास गरे पनि कालले मानिसलाई छोड्दैन भन्ने सत्य कवि लेखनाथले भनेझैं ‘आयो टप्प टिप्यो लाग्यो मिति पुग्यो टारेर टर्दैन त्यो’ भएको छ । मृत्युले कुनै पनि प्राणीलाई छोडेको छैन र छोड्दैन पनि । यस सन्दर्भमा भन्नै पर्ने एउटा अर्को कुरा चाहिं के हो भने चिन्तन शक्तिकै कारण मानिस मृत्यु भयबाट जति आक्रान्त छ, त्यति नै त्यसको भयबाट मुक्त हुने कुरामा पनि ऊ नै अग्रणी छ । मरिने जीवन बारेको चिन्तनभन्दा अनिश्चित मृत्यु भयबाट जति आक्रान्त छ, त्यति न यसैले जीवनबारेको चिन्तनभन्दा अपेक्षाकृत कम भए पनि संसारका अधिकांश दार्शनिकले मृत्युचिन्तन गरेकै छन् ।

मृत्यु शाश्वत सत्य भएकाले दार्शनिकले मात्र नभई हरेक सचेत व्यक्तिले जीवनको कुनै न कुनै क्षणविशेषणमा मृत्यु चिन्तन गरेकै हुन्छ । चाहे मृत्युको नजिक पर्दा होस्, चाहे जीवन चिन्तन गर्दा होस् वा अरूको मृत्यु देख्दा होस् मानिसले मर्नुपर्छ भनेर मृत्युचिन्तन गरेकै हुन्छ । प्रायः सबै सचेत व्यक्तिबाट मृत्युचिन्तन भए पनि त्यसलाई अभिलेखीकरण गर्ने कार्य भने अत्यन्त न्यून मात्रामा मात्र भएको पाइन्छ । पौरस्त्य दर्शनमा मृत्युचिन्तन गरिएका उपजीव्य ग्रन्थ उपनिषद् हुन् । उपनिषद्हरूमा पनि कठ उपनिषद् मृत्युचिन्तन सूक्ष्मताका साथ भएको छ । कठोपनिषद्ले शरीर, आत्मा, पुनर्जन्म र मुक्तिका सन्दर्भबाट प्रशस्त चिन्तन गरेको छ ।

यस्य ब्रह्म च क्षत्रं च उभे भवत ओदनः

मृत्युर्यस्योपसेचनं क इत्था वेद यत्र सः ।

मृत्युले जुनसुकै बलियो, निर्धो सबै मनिसलाई भात तिहुन खाए झैं खाइदिन्छ । मृत्युलाई परमात्माले ।

यदेवेह तदमुत्र यदमुत्र तदन्विह ।

मृत्यो : स मृत्युमाप्नोति य इह नानेव पश्यति ।।

जुन तत्त्व यस संसारमा छ त्यही तत्त्व परलोकमा पनि छ । आत्मालाई बुझ्न नसक्नेले मृत्युबाट मृत्यु नै प्राप्त गर्दछ । अर्थात् जन्ममृत्युको चक्रमा घुमिरहन्छ ।

भयादस्याग्निस्तपति भयात्तपति सूर्य ।

भयादिन्द्रश्च वायुश्च मृत्युर्धावति पञ्चम ।।

यस संसारमा परमात्माको भय अर्थात् डरले अग्नि सधैं तातो रहन्छ, सूर्य चम्कँदै संसारमा घुमिरहन्छ, इन्द्र, वायु, र मृत्यु सधैं आफ्नो काममा अहरोत्र लागिरहन्छन् ।

यदा सर्वे प्रमुच्यते कामा येऽस्य हृदि श्रिता ।

अथ मृत्र्योऽमृतो भवत्यत्र ब्रह्म समश्नुते ।।

मृत्युलाई जित्नका लागि आफूसँग भएका सबै कामनाहरू सकिनु पर्दछ, त्यतिवेला मृत्युभन्दा माथिको अमरता प्राप्त हुन्छ भन्ने कुरा यमराजबाट नचिकेताले पाएको ज्ञान अर्थात् ब्रह्मभाव उत्पन्न भएको पाइन्छ । कठोपनिषद्लाई आधार मानेर उत्तरवर्ती अध्यात्मवादी र भौतिकवादी दार्शनिकले मृत्युचिन्तन गरेका छन् । यही मृत्यु चिन्तन र मृत्युबोधलाई निबन्धकार ज्ञानेन्द्र विवशले मृत्यु उत्सवका रूपमा प्रस्तुत गरेकाले मृत्युको अनेकन् रङको विश्लेषण यहाँ गरिएको छ :

मृत्यु–उत्सवमा मृत्युको रङ

यस संग्रहको पहिलो निबन्ध अर्थहीन सिर्जनाबाट सुरु भएको छ । पुरुषार्थ चतुष्टयको मूल्यबोध गर्दै लेखिएको यस निबन्धले यो सृजना शक्ति वा सृष्टिमा केही प्रभाव छ तर आजको समयले सृष्टिकर्ता तथा सर्जकलाई समाजले हेयको दृष्टिले हेर्छ भन्ने भाव व्यक्त गर्दै शासकले साहित्य र साहित्यकारलाई हेर्ने दृष्टिकोणको परिवर्तनका लागि विद्रोहात्मक लेखन चाहिने भाव व्यक्त गरेका छन् । भाषा साहित्यका क्षेत्रमा जीवनको आद्योपान्त समय बिताएका सर्जकहरू बिरामी भएर मृत्यु शैय्यामा छट्पटिंदा शासक तथा राज्यले नदेखेको पीडा भावलाई यस निबन्धमा व्यक्त गरिएको छ ।

जीवनशून्य संसारको सिलसिला निबन्धमा मृत्युबोध सँगै मृत्युको रङ बोध गर्दै निबन्धकार विवशले मृत्यु संवेदनालाई यसरी प्रस्तुत गरेका छन् :

“हिजोआज मृत्युसंवेदनाका घटना र घाउले प्रत्येक नेपालीको हृदय छियाछिया पारेको छ । स्वाभाविक र अस्वाभाविक मृत्युबीचका कथित मनोदशाले मान्छेलाई स्पर्श नगरी छोड्दैन । त्यो स्पर्श मानवीय मनको गहिराइबाट अनुभूतिको तहसम्म आइपुग्दा त्यसले कठोर हृदयलाई पगाल्ने चेष्टा गर्छ । जन्मनु र मृत्युवरण गर्न पुग्नुका अप्रत्याशित घटनालाई स्वीकार्न कहिल्यै, कसैले सक्दैन ।===” (पृ.६)

देशभित्रको आन्तरिक द्वन्द्वको परिवशेमा रचना गरिएको यस निबन्धमा मृत्युले रन्थनिएको नेपाली समाजको यथार्थलाई प्रस्तुत गर्दै निबन्धकारले मृत्युको स्वाभाविक चरित्रले इहलोक समाप्त गरी छाड्ने सत्यलाई प्रस्तुत गरेको छ । जीवनको अनिश्चितपन जन्मसँगै जोडिएर मृत्युसम्म रहिरहने भएकाले कुनै जीवजन्तु प्राणी अमर बन्न नसकेको भएता पनि गुमाउँदा मन बुझाउन नसकेर भक्कानिएको अवस्थालाई चित्रण गरेका छन् । मृत्युको पीडा असह्य हुन्छ भन्दै निबन्धकारले मृत्युको रूपलाई बोध गराएका छन् ।

मर्नु, मार्नु वा मारिनुको प्रासङ्गिक कुरालाई प्रस्तुत गर्ने क्रममा मान्छे आजकल निकै अराजक बन्दै गएकाले मानवीयपन पनि हराउँदै गएको अवस्थालाई निबन्धकारले यसरी प्रस्तुत गर्न खोजेका छन् :

“जन्मेपछि मर्नु त छँदैछ भनी जानेर पनि हामी अराजक बनेका छौं । सामाजिक शान्तिलाई भङ्ग गरी आतङ्क मच्चाउन मरिहत्ते गरिरहेछौं । दया, माया, धर्म, कर्म सबै बिर्सिएर एकप्रकारले दीर्घजीवी जीवनको धमाका मच्चाउन अग्रसर हुँदैछौं । मृत्युदेखि कुनै डर छैन । बरु मृत्यु विजयको सपना साँचेर मृत्युघाटमा पुगुन्जेल पनि अनेक तिकडम गर्दै अरूलाई सास्ती दिन मज्जा लाग्छ ।” (पृ.७)

जन्म र मृत्युलाई जोडेर हामीले गर्ने अराजक क्रियाकलापको चित्रण गर्दै निबन्धकारले सामाजिक रीतिस्थितिलाई बिगार्न लागि परेका आजका तथाकथित आधुनिक मान्छेले मान्छेले बिर्संदै गएको मानवीयपन तथा मानवताको पक्षलाई चित्रण गर्दै मृत्युसँग डर नमानी विभिन्न गलत क्रियाकलापमा संलग्न अमान्छेको व्यवहारप्रति व्यङ्ग्य प्रहार गर्न खोजेका छन् ।

द्वन्द्वका बहानामा त्यसै मारिएका अथवा हतियारबाट मारिएकाहरूको मृत्युपीडामा उद्विग्न मनको चोटलाई व्यक्त गर्दै कुन वेला कहाँ कसरी मरिने वा मारिने हो भन्ने त्रास बोकेर बाँच्न विवश जीवनको कल्पना गर्दै निबन्धकारले त्रासदीपूर्ण अवस्थाको चित्रण गरिएको छ ।

दश वर्षे जनयुद्धमा फरक मत राखेबापत पनि त्यसै निहत्था मारिन पुगेका आम–दाजुभाइहरूको अवस्थालाई आत्मसात् गर्दै निबन्धकारले भोगेको मानसिक अवस्थाको चित्रण यहाँ गरिएको छ

“मृत्युको कति भयानक चोट खेपेर कुनै गल्तीबिना ‘बचाऊ बचाऊ’ को कारण चित्कारसँगै मर्नुपर्‍यो । मार्नेहरू पनि हामी जस्तै मान्छे हुन् तर कति हिंस्रक हृदय, कति कठोर मन ! मार्नु जति सजिलो छ, त्यति गाह्रो छ । बाँचेकालाई चित्त बुझाउन । यस्तो मृत्युले हामी आफैंलाई दुखाउँछ । संवेदनाको आँसु चुहिनु र शोकमा हृदय भक्कानिनु मात्र होइन, यस वेला अदृश्य रूपमा हामी आफैं चकनाचकना भएर भकाभक काँटिदैछौं । क्रमशः दुखद मृत्यु मर्दैछौं (पृ.९) ।”

यसरी मृत्युको भयानक चोटसँगै मारिएका मानिसका चित्कार र मानवीय संवेदनाका भावलाई व्यक्त गर्दै निबन्धकारले मृत्युको दुखद पीडाभावलाई व्यक्त गरेका छन् ।

जन्म र मृत्युबीचको जीवनका बीचमा प्राप्त चेतन अवस्थामा पाएका मृत्युका अनगन्ती तरङ्गसँगै रुमलिएको जीवन गाथालाई अभिव्यक्त गर्ने क्रममा निबन्धकार विवशले मृत्युको रङलाई यसरी व्यक्त गर्न पुगेका छन्:

मृत्युपीडा र मृत्युसंवेदनाका यस्ता अनगिन्ती वर्तमानबीच हामी जीवनमृत्युको दोसाँधमा बाँचिरहेका छौं । बाँच्नुको नियमित नियतिमा पालैपालो आफन्तको अवसानले आहत हुँदै कहिले मूर्छा पर्दै फेरि बौरिंदै केवल जीवनको बोझ बोकिरहेछौं । अपशगुनको अर्थहीन जीवनभोगाइ आफन्तको मृत्युशोकमा शोकाकुल हुँदै बितेको छ । कति सम्झाउनु, कति आँसु बगाउनु, कति चिन्ता लिनु ? मृत्युपीडाका चिन्ताले जीवन चिथोरचाथोर भइसक्यो । मृत्यु समाचारको संसारमा हामी एकलकाँटे भइसक्यौं । त्यसैले मृत्युसंवेदनाको घटना र घाउको उपचार गर्न अब ढिलाइ भइसक्यो (पृ.१०)।

यसरी मृत्युपीडाको बोझमा बाँचेको जीवनको मूल्यबोध गर्दै निबन्धकारले मानवभित्र मृत्यु दुख्न छाडेको प्रसङ्गलाई चित्रण गर्दै हामी भित्रको क्रूरता र अराजकपनलाई प्रस्ट्याउन खोजेका छन् ।

बढ्दै गएको एकाङ्गीपन र मानिसको बढ्दै गएको दुरीले मृत्युको संवेदना समेत बिझ्न छोडेको कुरालाई यसरी व्यक्त गरेका छन् : “त्यसैले छुँदैन कसैको मृत्यु–घटनाले कसैलाई । यो स्वार्थीहरूको साम्राज्य हो –जहाँ मानवीय संस्कृति सङ्कटमा परिसकेको छ । यस वेला आफूले आफैंलाई बडो जतनले जोगाएर राख्न सक्नुपर्छ , दिनदहाडै हत्या, अपहरण वा अरू यस्तै अशुभ समाचार बन्न सक्छ । समय घाइते सिंहको गर्जनसामुन्ने नतमस्तक भएर लम्पसार परिसकेको छ ।” (पृ.१३)

हाम्रो संस्कृति परम्परामा समेत सङ्कट परिरहेको अवस्थाको चित्रण गर्दै निबन्धकारले दिनदहाडै भएको हत्या, हिंसाले समाजमा निबै त्रासदपूर्ण अवस्थाको सिर्जना भएको अवस्थालाई प्रस्तुत गर्न खोजेको छ ।

विवशपूर्ण जीवनको अन्त्यको अनिश्चितपन र मृत्युको असामयिक सन्दर्भलाई जीवनको डुङ्गाको ढलपल मान्दै केही गर्न नसकेको अवस्थालाई निबन्धकारले मुर्दाजीवनको संज्ञा दिएका छन् । मरेतुल्य बाँच्नुको पीडालाई निबन्धमा यसरी अभिव्यक्त गरेका छन् :

“जीवनडुङ्गा डुबिसक्यो । जीवनघाम अस्ताउने तरखरमा लागिसक्यो यो जीवन अस्तित्वको लडाइँ कहिलेसम्म, कसकससँग गरिरहने हो ? प्रतीक्षाको फल मिठो भएन । प्रतीक्षाको फल पनि अब बाँकी छैन । बरु पीडाको प्रहारले झापट हान्यो । व्यथाभूत भक्कानोले अहिले आँसु खसाल्न, आवाज निकाल्न र ओल्टेकोल्टे फेर्नै नसक्ने भई मुर्दाजीवन लडेको छ ।” (पृ.१३) । भन्दै निबन्धकारले जीवनको निरसपनलाई प्रस्तुत गरेका छन् ।

त्यस्तै “बाँच्नुको अर्को नाम जिन्दगी” शीर्षकको निबन्धमा अनिश्चित मृत्युको स्वरूपमा प्रकृति प्रकोप, बाढी पहिरोका कारण भोग्नुपरेको असामयिक मृत्युले बिझाएको मुटु र आफन्त गुमाएर रन्थनिएको अवस्थाको चित्रण यसरी गर्न पुगेका छन्: “हुन पनि त्यत्तिका गाउँ र त्यो पहाडै सोहोरेर भीषण पहिरो गयो । पहिरो मध्यरातमा सुरु भयो । भर्खर निद्रामा परेका गरिब गाउँलेले आफू पहिरोमा परेर मरेको पत्तै पाएनन् ।”  ( पृ.२०)

यसरी विभिन्न रूप र स्वरूपमा अनायासै आउने मृत्युको अवस्थालाई निबन्धकारले रावा खोलाले बगाएको गाउँको अवस्थालाई स्मरण गर्न पुगेका छन् ।

“मृत्युशय्यामा सिर्जनात्मक ढुकढुकी” शीर्षकको निबन्धमा निबन्धकार विवशले कला, साहित्यका सर्जकहरूको प्रतिभा पहिचान र सम्मान नहुँदा बिस्तारै हराउँदै र मर्दै गएको सर्जकको सिर्जना शक्तिलाई सम्झन पुगेका छन् । राष्ट्रको शान, मान र इज्जतका रूपमा रहेको मौलिक सिर्जनालाई बेवास्ता गरेको अवस्थालाई निबन्ध मृत्युशय्यामा पुगेको अवस्था भन्दै गहन भाव व्यक्त गरेका छन् ।

यसरी समकालीन जीवनको मृत्यु सङ्घारको परिकल्पना गर्दै कुनै पनि वेला जीवको प्राण पखेरु उड्ने कुरामा निबन्धकारले मानवीय संवेदना निख्रँदै गरेका आफन्तको अनुभूतिलाई व्यक्त गर्न खोजेका छन् ।

त्यस्तै “दियोमुनिको अँध्यारोमा” शीर्षकको निबन्धमा निबन्धकारले मान्छे मर्नु र मार्नुको उद्योग चलेकाले मान्छे नै मान्छेको शत्रु भएको भाव व्यक्त गरेका छन्:

“जहाँ मान्छे मार्नु नै ठूलो उद्योग बन्छ, त्यहाँ मानवीय मनको के सम्मान हुन्छ ? संस्कार र संस्कृति एकाघरको रहेन अब । सिर्जना र सर्जकबीच पनि खेदो खन्ने परिपाटी बसिसक्यो । यस्तोमा ओडालेको ढिंडोको के कुरा चौरासी व्यञ्जनले पनि दाप्सासेट उकासिँदैन । स्वाद हुँदैन । त्यसैले यहाँ कसैले, कसैको वास्तासम्म गर्दैन । बाँच्दा र मर्दा पनि शान्तिको सुस्केरा फेर्न सकिँदैन ।” (पृ.३८)

मान्छेका बीचमा रहेको मृत्युजस्तो पीडाजन्य कुरामा पनि मान्छे संवेदनहीन बन्दै गइरहेको प्रसङ्गलाई निबन्धमा व्यक्त गरेका छन् ।

त्यस्तै “मृत्यु–संवेदनाको तरङ्ग” शीर्षकको निबन्धमा मान्छेको अन्त्य र काशीवासको प्रसङ्गलाई जोड्न खोज्दै निबन्धकारले मृत्युको हराउँदै गएको संवेदनालाई प्रस्तुत यसरी गरेका छन् :

काशीको पवित्र गङ्गाजी स्वयम् धमिलिँदै जाँदैछ । स्वरूपमा विरूपको आकारबाट खिइँदै बग्दैछ । उत्तरवाहिनी गङ्गाको महाश्मशान घाटमा कति ज्यान खरानी भो ? कनै टिपोट छैन । जीवनको एउटा संवेदनशील दृश्य लाशैलाशका लस्करका विलीन हुन पुग्छ । त्यहाँ जीवनको कुनै परिभाषा छैन । जीवनको उद्देश्य छैन । जन्मनु र मर्नुको हर्ष अनि विस्मात् कसैलाई कोही हुँदैन ।” (पृ.४२) ।

यसरी मान्छेको मृत्युको परिवशेजन्य गङ्गामा विसर्जन भएको प्रसङ्गलाई निबन्धमा प्रस्तुत गर्दै कहिलेकाहीं मृत्युको समाचारले पनि मानिसलाई नछुने अवस्थाको चित्रण गरेका छन् ।

त्यस्तै “गाउँगाउँमा बिहानी जागोस्” निबन्धमा निकै कठिन परिस्थितिमा मर्नु भन्दा पनि बाँच्नु निकै कठिन भएको परिवेशलाई निबन्धमा यसरी व्यक्त गरेका छन् :

“यस्तोमा मर्नुभन्दा बाँच्नु पो ननिको लागेर आउँछ । जहाँ सिर्जनाको कुनै महत्त्व हुँदैन । त्यहाँ लेखकीय इमानदारी र इज्जतको के कुरा भयो ? जीवनकै मेलोमेसो निख्रिएर बाँच्नै धौधौ भइरहेका वेला शिक्षा, स्वास्थ्य र चेतनाको विकासको कुनै अर्थ नहुँदोरहेछ । विपन्न अर्थतन्त्रको नेपाली जीवन भरिया मानसिकताबाट झनै दास मनोरोगले ग्रस्त हुन थालेको छ । अब त, त्यही भरिया जीवन बाँच्छु भन्दा पनि त्यो अवसर छैन ।” (पृ.५६)

अप्ठेरो परिस्थितिले बाँच्न निकै कठिन भएको अवस्थाको चित्रण गर्दै निबन्धकारले सर्जक र सिर्जनाको महत्त्व नबुझेको परिस्थितिको कुरा गरेका छन् । जीवनको मेलोमेसोमा देखिएका विभिन्न अवस्थाको चित्रण गर्दै निबन्धकारले अप्ठेरो अवस्थामा मर्नुभन्दा बाँच्नु ननिको जीवनको चर्चा गरेका छन् ।

“शून्य मनका स्तब्ध आँखाहरू” शीर्षक निबन्धमा निबन्धकार विवशले मृत्युको रङमा निब चोबेर बनेको कलाचित्रको चित्रण यसरी गरिएको छः

“एउटा अकल्पनीय पीडादायी घटना र घाउमा आहत हुँदै एउटी संवेदनशील कलाशिल्पीले ती सन्दर्भलाई चित्रमा अरू लिपिबद्ध गरेकी छन् । श्रद्धाञ्जलि, आशीर्वाद, म कसरी उदाऊँ अब, अनर्थ, शातिदूत, स्तध नजर, मेरो सूर्यमुखी रोइरहेछ, स्तब्धनजरहरूलाई, शान्तिबाहक आदि शीर्षकका १३ थान क्यानभास चित्रहरूले कलाकारभित्रको उकुसमुकुसलाई उतारेको छ । त्यस्तै दुःस्वप्न, स्तब्ध नजरहरूलाई जस्ता चित्रले शोक र संवेदनालाई एकसाथ समेटेका छन् (पृ.६८) ।”

यसरी कलाद्वारा अभिव्यक्त मृत्युचित्रलाई विभिन्न शीर्षकमा प्रस्तुत गरिएको कलाका रूपमा जीवनको अभिन्न रूपको रूपमा चित्रण गर्दै निबन्धकारले मनभित्रको मृत्युको पीडा अभिव्यक्त गरेको कुरा व्यक्त गरेका छन् । कलाशील्पमा जीवन भन्दा पनि मृत्युभित्रको संवेदनशीलपनलाई प्रस्तुत गरेको मृत्यु सत्यलाई रङमा प्रस्तुत गरेको प्रसङ्ग यहाँ आएको पाइन्छ । शून्य मनका मृत्यु पीडालाई कलाकारिताले कोरेको चित्रसँग जोडेर व्यक्त भाव यस निबन्धमा प्रस्तुत भएको छ ।

जीवनको यात्रामा निस्कँदा अन्तिम गन्तव्य मृत्युसम्मै पुगिने हो तर त्यो लक्ष्य कहलिे र कहाँ भन्ने अनिश्चित छ तर सत्य छ भन्दै निबन्धकारले एकपल्ट सोचेर समय हिँडौं शीर्षकको निबन्धमा निबन्धकारले अन्त्य जाने पनि सम्हालिएर हिँड्नका लागि सचेत गराएका छन् । यसरी हिँदा मात्र उचित छ भन्दै उनले निबन्धमा आफ्ना भाव विचारलाई यसरी अभिव्यक्त गर्न पुगेका देखिन्छन् :

“यसरी हिँड्दा निश्चय निर्धक्क गन्तव्यमा पुगिने छ । हिँड्दा गन्तव्यमा नपुगेर अहिले हामी हैरान भइरहेछौं । यही हैरानीले हाम्रो हैसियत र हविगत गएगुज्रेको भइसक्यो । हामीले समय सोच्नतिर अब पनि नलागे हाम्रो उपस्थिति निरर्थक हुनेछ । हामी आफ्नै मृत्युको आफैं मलामी हुनेछौं । हाम्रो साथ कोही र केही रहने छैन । हाम्रो सहयोगमा कसैले साथ दिने छैन । एक्लाएक्लै हामी मृत्युशोकमा रुवावासीविनै शून्यतामा विलीन हुनेछौं । यस्तो घटनाको कल्पना होइन वास्तविकतामै छर्लङ्ग भइरहेछ अहिले । फेरि एकपल्ट सोचेर समय हिँडौं ।” (पृ.८१)

जन्म र मृत्युको यात्रामा सोचेर हिंड्नसके मात्र निश्चित लक्ष्यमा पुग्न सकिने कुरातर्फ इङ्गित गर्दै निबन्धकारले मृत्युसत्यको गाँज्दा जीवनको सार्थकता र निरर्थकताको तुलना गरेका छन् । गलत बाटोमा यात्रा गर्दा मृत्यु एक्लै हुनेछ भन्दै मृत्युको अभिव्यञ्जनको प्रस्तुती यस निबन्धमा पाइन्छ

समग्रमा भन्नु पर्दा मृत्यु–उत्सव निबन्धसंग्रहका निबन्धले मृत्युका विविध रङको चित्रण गरेका छन् । जीवनको अनभूतिमा विभिन्न रङले बनाएको चित्र उर्फ जीवनको परिवेशसँग जोख्दै तुलना गर्दै मृत्युलाई नजिकबाट नियाल्न निबन्धकारले भोगेका, देखेका र आफैंले अनभूत गरेका त्रासद पलको चित्रण यहाँ पाइन्छ ।

– – – – –

निष्कर्ष

विभिन्न शीर्षकमा रचित निबन्धहरूको सँगालो निबन्धकार ज्ञानेन्द्र विवशको निबन्धसंग्रह ‘मृत्यु–उत्सव’मा उनले मृत्युका विभिन्न रङलाई प्रस्तुत गरेका छन् । मृत्युको त्रासद र विभत्स रूपलाई विभिन्न परिवेशमा घटेका घटना र अनुभूतिसँग जोडेर प्रस्तुत गरेका छन् ।

मृत्युको संवेदनालाई जीवनका भिन्न परिवेशमा जोडेर प्रस्तुत गर्दै निबन्धकारले मर्नु, मार्नु र मारिनुको जीवनको तीन अवस्थामा देखिएका मानवता गुमाउन पुगेको अवस्थाको चित्रणसँगै मृत्युबोधका विभिन्न रूपलाई निबन्धमा वर्णन गरिएको पाइन्छ ।