साहित्यका अन्य विधामा झैं कथा विधामा पनि नयाँनयाँ प्रयोग हुँदै आएका छन् ।

हिजोको परिभाषा र अर्थले आजको कथालाई अर्थ्याउन सक्ने स्थिति छैन । भाषा मान्छेका लागि अनिवार्य माध्यम हो । मानव समाजको सर्वोत्तम उपलब्धिकै रूपमा रहेको छ भाषा ।

भाषाले नै मान्छेको ज्ञान–विज्ञानलाई बढाएको छ । भाषाविना मानव गतिविधि शून्यमा पुग्छ ।

आ–आफ्नो भाषाको प्रयोग र विकासमा सबैको अग्रसरता बढिरहेको छ । एउटै भाषामा पनि बोलिने र लेखिने भाषाको स्तर फरक हुन्छ । लेखिनेमा पनि साहित्य र साहित्यइतर भाषा फरक हुन्छ । साहित्य भनेको कलाको एउटा रूप हो । साहित्यकै एउटा विधा कथा पनि कलाकै रूप हो ।

कथाकार मनु ब्राजाकी विश्वेश्वरप्रसाद कोइराला, भवानी भिक्षु, गोविन्दबहादुर मल्ल ‘गोठाले’, दौलतविक्रम विष्ट र पोषण पाण्डेपछिका विशिष्ट सर्जक हुन् ।

परशु प्रधान, ध्रुवचन्द्र गौतम, ध्रुव सापकोटा, रमेश विकल, प्रेमा शाहका युगका हुन् मनु । तर कथालेखनको दृष्टिले उनी आफ्नो युगका सर्जकहरूमा टाढैबाट चिनिने टाकुरा बनेका छन् । उनको लेखनमा समकालीनहरूको स्पर्श परेको छ, यस कुरोलाई नकार्न सकिन्न । उनी वास्तवमा कथा लेख्दैनन्, अनुभवको सङ्कलन तयार गर्दछन् ।

उनी जे देख्छन्, जे भोग्छन्, जे पढ्छन् अनि तिनले संवेदनशील अङ्गमा जब च्वास्स घोच्छ तब तिनै कुराहरू कथाको स्वरूप लिएर अगाडि देखा पर्दछन् । यथार्थिक घटनाले हुटहुटी लगाएपछि तिनैलाई चोटिलो बान्कीमा उतार्दाखेरी कथाको सिङ्गो रूप तयार हुन्छ । यसैलाई हामी मनु ब्राजाकीको कथा भन्छौं । उनी कथा लेख्दैनन्, आफ्नो अनुभव बाँड्छन् । अनुभवभित्र कतै हाँस्छन्, कतै रुन्छन्, कतै रुवाउँछन्, कतै व्यंग्यै व्यंग्यको रोटेपिङ घुमाउँछन् र भन्ने गर्छन् : “म स्वयं पनि चिन्तनशील हुन र पाठकहरूलाई पनि चिन्तनशीलतातर्फ अभिप्रेरित गर्न लेख्छु ।”

यही हो मनु ब्राजाकीको कथाकार । उनको कथाले गाउँको पीडा बोल्छ भने शहर र राजधानीको विसङ्गतिलाई ओकल्दछ अनि विदेशी रोजगारीको मारले आक्रान्त बनेको नेपालीको रोदनलाई व्यक्ताउँछ ।

जुन कुरा अरूको संवेदनालाई छुँदैन त्यही मनु ब्राजाकीको कथाको रचना गर्भ बन्दछ । यस दृष्टिले कथात्मक साहसमा मनु ब्राजाकी अतुलनीय छन् । यसको अर्थ मनु ब्राजाकीलाई असाधारण फक्कड कथाकारको रूपमा गणना गरिनु पर्छ भनेको होइन । उनको कथाको संसार वस्तुतः त्यो सामान्य जीवनको संसार नै हो, जसलाई अति सामान्य ठानेर अरू कथाकार आँखा चिम्लने गर्छन् । मनुको छोटा कथाहरू अनौठो तर यथार्थ घटनाहरूले सजिएको छ, जसबाट कथाकारको सूक्ष्म सौन्दर्य–दृष्टि थाहा हुन्छ ।

कथाकार मनु ब्राजाकी आधुनिक नेपाली कथाका विशिष्ट सर्जक हुन् । उनले पूर्ववर्ती र समवर्तीहरूका बीचबाट नौलो कथालेखनको आविष्कार गरेका छन् ।

साझा प्रकाशनबाट प्रकाशित मनु ब्राजाकीका छोटा कथाहरू पाठकले अत्यधिक मन पराएका छन्, यो पढ्दा पाठक आन्दोलित रोमाञ्चित हुनेगरेको पाइएको छ— यसमा पाठकले आफूलाई कतै न कतै पाउँछ, आफ्नै वरपर घटेको घटना झै लाग्छ ।

सानो घटना, थोरै चरित्र, आकर्षक प्रस्तुतिमा चोटिलो अभिव्यक्तिले १९ वटा छोटा कथाहरूको यो संग्रह लोकप्रिय बनेको छ । कथाकार मनुब्राजाकीका कथाहरूको मूल आधार नै समाज हो । सामाजिक यथार्थवादकै पृष्ठभूमिबाट उनका छोटा कथाहरू जन्मेर हुर्केका छन् । गुरुप्रसाद मैनालीद्वारा शुरू गरिएको सामाजिक यथार्थवादलाई उनले सशक्त ढङ्गबाट गति दिने कार्य गरेका छन् । पुराना मान्यतालाई त्याग्दै नवीन मान्यताको खोजी गर्ने क्रममा ब्राजाकीले कथालाई सशक्त र जीवन्त तुल्याउन सामाजिक यथार्थवादभित्रका सूक्ष्मातिसूक्ष्म विषयलाई अङ्गीकार गरेको देखिन्छ ।

उनका कथा प्रवृत्तिहरूमा सांस्कृतिक रूपले पनि अहम् भूमिका खेलेको छ । कथाकारले धार्मिक र सांस्कृतिक बिम्ब-प्रतीकका माध्यमबाट धर्म र संस्कृतिबाट पनि केही छोटा कथाहरूलाई सशक्त गराएका छन् । ‘राजा रन्तिदेव र म’ कथाको विषयवस्तु धर्म र संस्कृतिबाट लिएका छन् । विषयवस्तुको सन्दर्भ र प्रसङ्गमा मेल खाने गरी धार्मिक र सांस्कृतिक बिम्ब÷प्रतीकलाई चाखलाग्दो तरीकाले सजाउन उनी निकै नै सिद्धहस्त देखिन्छन् । राजनीतिक विकृतिलाई औंल्याएर त्यसलाई स्वीकृतिमूलक ढङ्गबाट अगाडि बढायोस् भन्ने चाहना उनको रहेको देखिन्छ । छोटा कथाको माध्यमबाट विकृत राजनीतिको पर्दाफास गर्न उनी कतै पनि पछि परेका छैनन् ।

राजनीतिलाई नाराबाजी तरिकाबाट होइन मनुब्राजाकीले शिष्ट कलात्मक शैलीका माध्यमबाट प्रस्तुत गरेका छन् । त्यसैले राजनैतिक प्रवृत्ति उनको कथाकारिताको अभिन्न अङ्ग हो । व्यङ्ग्यात्मकता उनको अर्को उल्लेख्य विशिष्ट पक्ष हो । व्यंग्यात्मक प्रस्तुतिबाट विषयवस्तु धेरै नबुझिने जस्तो लागेको अवस्थामा नै अभिधेय शक्तिको सहायता लिने गर्दछन् । होइन भने उनी लक्षणा र व्यञ्जनाद्वारा नै छोटा कथालाई हिंडाउन मन पराउँछन् । त्यसैले व्यंग्यात्मक कलाले उनका छोटा कथाहरू सुशोभित हुन पुगेका छन् ।

कथाकार मनुब्राजाकी सूक्ष्म विषयवस्तुलाई प्रस्ट्याउने कथाकार भएको हुँदा स्थानीय विषयलाई गहन किसिमले अध्ययन गरी त्यसलाई छोटा कथामा भित्र्याएका छन् । मध्य तराईको आञ्चलिक विशेषतालाई उनले छोटा कथामा समेटेका छन् । यथार्थलाई कतै नखजमजाईकन प्रस्तुत गर्न कथाकार सफल भएका छन् ।

कुनै पनि विषयलाई गम्भीर ढङ्गबाट विश्लेषण गर्नु कथाकार मनुब्राजाकीको विशेषता हो । मानवीय जीवन भोगाइका क्रममा देखिने कुनै पनि विषयलाई दार्शनिक सिद्धान्तका आधारबाट अध्ययन र विश्लेषण गर्न उनी सिद्धहस्त छन् । उनका छोटा कथाहरूमा दार्शनिक चेतहरूले जरा गाडेको पाइन्छ । अस्तित्ववादका साथसाथै व्यक्ति मानवतावादका प्रश्नहरूमा पनि त्यति कै संवेदनशील हुने गर्दछ । पात्रका चेतन, अचेतन र अद्र्धचेतन मनको खोज, अन्वेषण र विश्लेषण उनले गरेका छन् । दमित यौन कुण्ठाले सताइएको पात्रको मानसिकताको सफल शल्यक्रिया गर्न उनी दक्ष देखिन्छन् । पारिवारिक विगठन पश्चात् जन्मिएको यौनकुण्ठालाई स्वाभाविक किसिमले प्रस्तुत गर्नु नै कथाकार ब्राजाकीको कथा प्रवृत्तिको उल्लेख्य पक्ष हो । यौनको सूक्ष्मतिसूक्ष्म विषयदेखि लिएर मनोविज्ञानका सबै पक्षहरूमा उनका छोटा कथाहरू विचरित छन् ।

कथाकार मनुब्राजाकीको कथा प्रवृत्तिहरूको चर्चा गर्दाखेरि द्वन्द्वात्मकतालाई पनि उल्लेख्य दायरामा ल्याउनु पर्दछ । कथाकारले छोटा कथाभित्र द्वन्द्वात्मकताको राम्रो संयोजन गरेका छन् । कथाकारले मानसिक र संवादात्मक दुवै किसिमबाट द्वन्द्वको आयोजन गरेका छन् । कथावस्तुलाई प्रस्ट्याउने सन्दर्भमा उनी सूक्तिमय वाक्यहरूको प्रयोग गर्छन् । कथाकारले कथामा सिद्धि प्राप्त गर्न थालेपछि कथामा सूक्तिमयताको विकास हुने गर्दछ । यसले कथाको भाषिक बनौटलाई लचक गराउँदछ ।

आज देशमा विघटनकारी तागतको वर्चस्व बढ्दै गैरहेको छ । ‘खुला बाटोको ट्राफिक नियम’ छोटा कथा दिन–प्रतिदिन नेपाली नागरिकता किनेकाहरू गतिविधिहरूलाई केन्द्रमा राखेर लेखिएको छ । कथा शुरू हुन्छ अर्धनग्नावस्थामा चियापसल सामु उभिएकी जवान तर भोकाएकी मगन्तेनी जसको जीउमा लगाएको लुगा अस्तव्यस्त छ— बाट । कसिएको मासल शरीर देखेर लोभिनेहरूको मनोदशाको गाँठो फुकाएका छन् ।

‘छाती र गोली’ छोटा कथा राजनीतिक चालबाजीको कारण सत्तापक्षको ज्यादतीको मनोव्यथालाई चित्रित गर्दछ । संग्रहको ‘वातावरण शान्त छ’, ‘राजा रन्तिदेव र म’, ‘यै हो मेरो देश हजुर !’ आदि छोटा कथाहरू समाजका ती जीवन सत्यलाई अगाडी ल्याएका छन् जसले व्यक्तिको जीवन समयको तितोपनले भरिदिएको छ ।

‘सावधान ! सूचना, सूचना !!!’ छोटा कथाले सामाजिक विसङ्गतिलाई प्रष्ट्याएको छ । सम्पूर्ण विवशता, आत्मनिष्ठा र भावनालाई पन्छाएर आधुनिकताको नाममा छाडापन अपनाएको कथा हो यो । छोरी बुहारीलाई विज्ञापन बुझाउने नाममा ‘चोली के पिछे ….’ जस्ता छाडा गीत बजाएर छाडा संस्कृति भित्र्याएको देखाइएको छ ।

समग्रमा मनु ब्राजाकीका छोटा कथाहरूको सबभन्दा ठूलो उपलब्धि हो त्यसको अन्तर्वस्तुको गम्भीरता र साथै प्रवाहमयी भाषा । भाषाको यो सहजताले पाठकलाई पट्याउन सक्षम छन् । यी छोटा कथाहरूमा आगन्तुक शब्दहरू पनि पाइएका छन् ।

पात्रहरूको अनुकूल साथै परिवेशगत सत्य उद्घाटित गर्नको लागि यी छोटा कथाहरू आञ्चलिक बोलीको सहारा लिएको पाइन्छ । शब्द शक्तिको प्रयोगमा मनु ब्राजाकी बडो होसियार देखिन्छन् । कतैकतै व्यंग्यात्मकता र विम्वात्मकताले उनका छोटा कथामा प्राण भरेका छन् ।

‘एयरब्यागका लागि अधबैंसे र कन्डक्टरको झगडाले गर्दा बस नारायणघाटको पुलचोकमा अडियो ।’ जस्ता चित्रात्मकता उनको गद्य शैलीमा यत्र तत्र छरिएको हुँदा ताजापन महसुस गराउँछ ।

अतः मनु ब्राजाकीको यथार्थवादी छोटाकथा काल–परिवेश अनुसार नयाँ शिल्प, नयाँ विषय बोध, नयाँ दृष्टिकोणको साथ सामाजिक पृष्ठभूमिमा व्यक्तिको जीवन संघर्ष, जीवन सत्य र साम्प्रदायिक सौहार्दको बोली बोल्दछ ।