मानिस चेतनशील प्राणी भएकाले हरेक नयाँ कुराको खोजीमा लागिरहेका हुन्छन् । यसको लागि यात्रा जरूरी हुन्छ । यात्रामा निस्किने मानिसहरू आफूले यात्रा गर्दा देखिएका कुनै मन छुने प्रसङ्ग अथवा अनुभूतिलाई लिखित रूपमा समेट्दछन् । यसरी यात्राको अनुभूतिको सँगालो नै नियात्रा अथवा यात्रा संस्मरण हो । साहित्यको एउटा विधाको रूपमा अहिले नियात्रा स्थापित विधा हो । नियात्रा र निबन्ध उस्तै उस्तै लाग्छ । त्यसैले नियात्रालाई यात्रा निबन्ध पनि भनिएको पाइन्छ ।

पाँच सय पच्चीस वर्ष अघिबाट नै नियात्रा लेखिंदै आइरहेको कुराहरू हामी विभिन्न पुस्तकहरूमा पढ्न पाउछौं । अहिले आएर लोकप्रिय विधा बनेको छ । पहिले लेखिएका यात्रा संस्मरणहरूलाई पछिल्लो समय प्रा. बालकृष्ण पोखरेलले नियात्रा नामकरण गरेका थिए भनेर विभिन्न लेख रचनाहरूमा पाइन्छन् । नियात्रा लेखनका लागि सत्य घटना त चाहिन्छ नै, त्यसमा मिठास भर्नका लागि थोरै कल्पना पनि चाहिन्छ । ता कि पाठकलाई पढ्दापढ्दै अल्छी नलागोस् । यात्रामा देखेका, भोगेका र अनुभव गरेका कुरालाई विस्तारसहित लेख्न सकिन्छ ।

पाठकलाई पढ्दैगर्दा लेखकसँगै यात्रा गरिरहेको अनुभव होस् । तिथि, मिति पनि स्पष्ट राखेको राम्रो मानिन्छ । किनकि यात्रा संस्मरण भनेको इतिहास हो, भूगोल हो र उत्सुकता पनि हो । जुन ठाउँका बारेमा लेखिएको नियात्रा छ, पाठकले पढेपछि त्यो ठाउँ जाने मन बनाउन सकोस् ।

यस्तै एउटा नियात्रासंग्रह मेरो हातमा छ – अनुभूति । हो अर्जुन चामलिङ ‘यावा’को अनुभूति यात्रा संस्मरण । कथा विधामा निपुण ‘यावा’ कविता, निबन्ध, लेख पनि लेख्दै आएका व्यक्ति हुन् । पेशाले पत्रकार ‘यावा’को ‘अनुभूति’ पहिलो नियात्रासंग्रह हो । उसो त उनका ‘अस्तित्व’ कथासंग्रह, ‘अवलोकन’ समीक्षात्मक टिपोटहरू, ‘बितेका कुराहरू’ जीवनीपरक लेखसंग्रह, ‘भनेको मान्नुपर्छ’ बाल-चित्रकथा आदि कृतिहरू प्रकाशित भैसकेका तर नियात्रा संग्रह भने पहिलो ‘अनुभूति’ नै हो ।

यस कृतिभित्र जम्मा ९ वटा यात्राका अनुभव सङ्ग्रहित छन् । इन्द्रबहादुर राई, वैरागी काँइला र त्रिफला (१४ सितम्बर २०१०) मा आफू नेपालको त्रिफला राष्ट्रिय पुस्तकालयको साहित्यिक कार्यक्रममा जाँदाको र इन्द्रबहादुर राईद्वारा बैरागी काँइलालाई ‘प्रथम मोतीराम भट्ट साहित्य पुरस्कार’ दिइएको ऐतिहासिक कुराहरू छन् भने ‘यावा’ले सबैले ‘दार्जीलिङ’ लेख्ने दार्जीलिङलाई इन्द्रबहादुर राईले किन ‘दार्जिलिङ’ लेखे भन्ने कुरा पनि उजागर गरेका छन् ।

हुन पनि भारतीय नेपाली साहित्यका धरोहर इन्द्रबहादुर राईले साँच्चै किन लेखेका होलान् नि दार्जिलिङ !

अर्को यात्रा संस्मरण छ ‘काठमाडौं यात्रा’ । सन् २०१३ को जुलाई महिनाको काठमाडौं यात्रामा उनले जादूमयी आवाजका धनी रेडियोकर्मी डा. नवराज लम्साल, वरिष्ठ सङ्गीतकार बुलु मुकारुङ लगायतका वरिष्ठ अनि शालीन स्रष्टा सर्जकहरूसँग भेटेका कुरा छँदैछन् । उता फेरि कतै लुटिएको कुरा पनि समेटेका छन् । हो हामी आफ्नो गाउँ ठाउँ छोडेर अर्को ठाउँ जाँदा प्रायः लुटिन्छौं नै । यस संस्मरणबाट हामी घरबाट बाहिर निस्किएबाट नै सजग रहनुपर्छ भन्ने एउटा सिकाइ पनि भएको छ ।

र अर्को कुरा साथीभाइबाट हिम्मत, ऊर्जा पनि चाहिने रहेछ केही नयाँ काम गर्दा । यात्रा होस् या शुभ कार्य । यता सिक्किम फर्किआएर यात्रा संस्मरण लेखनमा ढिलाइ भएकोले सबै नभए पनि संक्षिप्त लेख्ने मनसाय प्रकट गरेका छन् ।

मलाई के लाग्छ भने, संस्मरणमा टिपोट गरेर भन्दा पनि आफैंले हेरेका दृश्यहरूलाई सत्य नलुकाई बनाइएको यात्राको अनुभवले नै आकर्षक नियात्रा बन्छ  । ‘यावा’ले धेरै समयपछि मात्र लेखे पनि धेरै मेहनत गरेर राम्रोसँग लेखेका छन् ‘काठमाडौं यात्रा’ ।

‘सम्झनामा डोना पौला’ – गोवाको निक्कै लोकप्रिय समुद्र ‘डोना-पौला’को यात्रा उनको २०१५ जुलाई कै हो । गोवामा हुने राष्ट्रिय कवि सम्मेलनको अनुभव मनमै राखेर उता गोवाको डोना पौला समुद्र (बिच) पुगेको र डोना पौलाको ऐतिहासिक कथा समेट्न सफल भएका छन् । नयाँ साथी, एक्लो यात्रा मिहिन पाराले समेटेको यो संस्मरण पढिरहँदा मलाई भने आफू पनि समुद्रमा पुगिजान पाए हुन्थ्यो भन्ने हुटहुटी लागिरह्यो ।

साहित्यिक यात्रा कै क्रममा १७ सितम्बर २०१७ मा पोखराको धम्पुसमा सम्पन्न ‘देवकोटा-लु सुन प्रज्ञा प्रतिष्ठान’-को कार्यक्रममा पुगेका थिए अर्जुन यावा । त्यसैको अनुभव हो – ‘पोखरा धम्पुससम्म’ । प्रेस क्लब अफ सिक्किम र देवकोटा लु सुन प्रतिष्ठानले सिक्किम र नेपालका विभिन्न ठाउँमा हरेक वर्ष कार्यक्रमहरू गर्दैआएको कुरा हामीलाई थाहा नै छ । सोही कार्यक्रममा पोखरा पुगेका अर्जुनले पाठकलाई पनि आफ्नो साथमा रमाइलो गरी पोखरा पुर्‍याएर ल्याएका छन् । सूक्ष्म विवरण पेश गरेर पाठकलाई स्पष्ट पार्न खप्पिस यावाले आफ्नो संस्मरणमा पनि स-साना कुराहरू अटाउने गरी नै प्रस्तुत गरेको पाइन्छ ।

अर्को ‘दशगजा पारिको यात्रा’ २०१८ जुलाईमा म लगायत युवा बराल अनि अर्जुनको यात्रा थियो । गर्मीको महीनामा पहाडबाट तराई झर्दाको पीडादेखि साहित्यले दिएको खुशी समेटेर स्पष्ट र सत्यका आधारमा लेखिएको यस संस्मरणमा आयोजकका केही कमी कमजोरी पनि थाहा पाउन सकिन्छ । हुन त काम गर्न सजिलो छैन । जतिसुकै राम्रो काम गरे पनि एउटा न एउटा कमजोरी देखाउने समाजका मान्छे हौँ हामी । तरै पनि आफूले भोगेका कुरा लेखिएको छ ।

तर साहित्य यस्तो विषय भैदियो कि सत्य लेख्न नसक्ने झुट लेख्नै मन नलाग्ने । यहाँ लेखक अर्जुन मात्र हैन हामी प्रायः लेखक यसै खाले भुमरीबाट गुज्रिरहेका छौँ ।

‘मेरो दिल्ली यात्रा’ नोभेम्बर २०१९ मा भएको रहेछ यो यात्रा । पहाडका लागि दिल्ली यात्रा निकै भयावह हुन्छ । त्यसमा पनि एक्लै । झट्ट हेर्दा चाइनिज देखिने मङ्गोल अनुहारका लागि अझ बढी असहज हुने ठाउँ । सानो अनि स्वर्गजस्तो राज्यबाट दिल्ली पुग्दा कता हो कता समुद्रमा खोला पुगेझैं । हिन्दी साहित्यिक कार्यक्रमका लागि पुगेका उनी समय निकालेर छोटो समयमा ऐतिहासिक पर्यटकीय स्थलहरू घुम्नसम्म भ्याएका अर्जुनले वृत्तान्त लेखेका छन् । उनका सबै संस्मरणमा आफू सँगसँगै भएको अनुभूति हुन्छ ।

२०१९ को यात्रा ‘पटनाको दोस्रो भ्रमण’मा उहाँले गर्नुभएको यात्राको विस्तृत जानकारीलाई उहाँको विशेषता नै मानें मैले । धरान यात्राका दुई दिन, साहित्यिक यात्राका क्रममा नेपाल भारतका विभिन्न भागमा पुगिसकेका लेखक यस पटक धरानको कार्यक्रममा पुगेका छन् । कार्यक्रमको विस्तृत जानकारी यस संस्मरणमा पाइन्छ । ऐतिहासिक पृष्ठ भन्न सकिन्छ यसलाई । कार्यक्रमको सम्पूर्ण विवरण यस शीर्षक अन्तरगतको लेखमा पाइन्छ ।

यस संग्रह भित्रको अन्तिम नियात्रा हो– ‘श्रम संस्कृति पार्कदेखि बुढासुब्बा र भेडेटारसम्म’ । यसमा स्थानीय समाज, भौतिक पूर्वाधार, पर्यटन आदिलाई समग्रमा समेटेर पढिरहूँ लाग्ने र पढेपछि गइहालूँ लाग्ने नियात्रा तयार गरेका छन् ।

संग्रहका यात्रा संस्मरणहरूमा मसिना कुरालाई पनि कलात्मक ढङ्गले प्रस्तुत गरेको पाइन्छ । यही कारणले भन्न सकिन्छ कि अर्जुनको यो संग्रहमा पाठक अवश्य आकर्षित हुनेछन् । यसमा दुई मत छैन । उनी सानो-सानो कुरालाई आफ्नो लेखनी मार्फत बृहत् र विशिष्ट बनाउन खप्पिस छन् ।