विषय प्रवेश

यो रात उस्तै, यो दिन उस्तै र घाम उस्तै

परिवर्तन कहाँ भयो ? सब ठाम उस्तै ।

(ज्वालाका रापहरू, पृ.२)

२०५२ साल फागुन १ गतेबाट देशमा विद्रोहको मसाल बलिरहेको थियो । आममान्छे बहुदल प्राप्ति पछिको कष्टकर शासन भोगिरहेका थिए । राज्यसत्तामा बस्ने र त्यसको गुणगान गाउनेहरू एउटा कित्तामा उभिएका थिए भने आममान्छे पञ्चायत पछिको पञ्चायत महसूस गर्दै विद्रोहीलाई सघाउँदै थिए । ठिक त्यसै वेला गजलकार आर. वि फ्लेम प्रकाशन गर्दै थिए ‘ज्वालाका रापहरू’ (२०५४) गजलसंग्रह ।

त्यसमा भूमिका थियो ताराकान्त पाण्डेयको । हामी खोजीखोजी रवि प्राञ्जल, आर.वि. फ्लेम, बुँद राना, ज्ञानुवाकर पौडेल, ललिजन रावल, मनु ब्रजाकी, घनश्याम न्यौपाने ‘परिश्रमी’ आदिका गजल पढ्न रुचाउँथ्यौँ । धेरै मानिसले २०५० को दशकलाई ऊर्जाको समय पनि भने । योद्धाहरूले ज्यान गुमाए पचासको दशकमा । २०६३ पछि मात्र विद्रोह अलि साम्य भयो । रूपमा साम्य देखिए पनि न त साम्यवाद आउने हिसाबले समाजवादी आधार तयार भएको छ न त जनजीविकाको प्रश्नको उत्तर ।

नेपाली साहित्यमा निरन्तर बहस चलिरहेको परिवर्तनको विषय अनि परिवर्तनको फलभोग कसले गरे ? भन्ने प्रश्न । २०५४ सालमा जस्तै बोल्न नपाउने वा एउटाको पक्षमा लाग्न नपाउने स्थिति त छैन तर सत्ताका निकट बस्नेहरूको जीवनशैली र अन्य सर्वसाधारणको जीवनशैली सजिलै छुट्टिन्छ । केही गर्ने आशामा विदेशिएका युवाहरू त्यहाँ बसेर पनि देशकै चिन्ता गरिरहेकै छन्  । फरक यत्ति हो उति वेला विचार लेख्नेहरू यतिवेला आलोचना लेखिरहेका छन् । उतिवेला सङ्गठनमा कुँद्नेहरू यतिवेला शुभचिन्तक भइरहेका छन् । यो त्यतिवेला र यतिवेलाको प्रवृत्तिगत फरकपन हो ।

म कुनै गम्भीर विषयको चर्चा गर्न खोजेजस्तो गरिरहेछु । मलाई चिमोटिरहन्छ आर. वि. फ्लेमका गजलहरूले । उनले त्यतिवेला लेखेका कुराले छोइरहन्छ पटकपटक । अब त ‘ज्वालाका रापहरू’ पनि मधुरो भएछ कि जस्तो लाग्छ । थपक्क पल्टाउँछु उही गजलसंग्रह अनि पढ्छु ताराकान्त पाण्डेयको वैचारिक भूमिका । अहिले ताराकान्त पाण्डेय भौतिक रूपमा हुनुहुन्न तथापि उहाँका लेख रचना हामीसँग छन् । उनका विचारले जगाइरहन्छ । ताराकान्त पाण्डेय २०८० सालमा सबैको परिचित प्राध्यापक डाक्टर ताराकान्त पाण्डेय भएर असमयमै भौतिक रूपमा बिदा हुनुभयो । तारा सरप्रति हार्दिक श्रद्धाञ्जलि !

अहिले म २०८१ सालमा उभिइरहेको छु । २०५४ सालमा प्रकाशित ‘ज्वालाका रापहरू’ मात्र छैन मेरो हातमा । डा. ऋषि वस्ताकोटीको ‘विसङ्गत बस्ती’ मुक्तकसंग्रह (२०७९) पनि छ । कवि आर.वि.‘फ्लेम’ लाई पढ्न थालेको पनि तीन दशक भएछ ।

बीचमा भेटघाट भएन रचनाहरूमा । झन्डै ६२-०६३ पछि २०७६ सम्म त मैले १२-१४ वर्ष केही पढिनँ आर वि ‘फ्लेम’ का । २०७६ पछि फेरि मुक्तकमा देख्न थालेँ । २०७९ मा त ‘विसङ्गत बस्ती’ मुक्तकसंग्रह नै आइपुग्यो । हिजोआज आर.वि.‘फ्लेम’ डा. ऋषि बस्ताकोटी भएका छन् भन्ने कतिलाई थाहा नहुन सक्छ । आर.वि.‘फ्लेम’को नामले आउन रुचाएनन् ऋषि वस्ताकोटीले अब ।

– – – –

विसङ्गत बस्तीको यात्रा

शायद भूगोलले मान्छेको चेतनालाई प्रभाव पार्छ । विचार निर्माणमा श्रमले पारेजस्तै । विसङ्गत बस्तीभित्र सरुभक्तको उपस्थिति अनि विवश पोखरेलको उपस्थितिले पनि त्यस्तो लाग्छ यो निजी सोचको कुरा हो मेरो । म अलि बढी पूर्वाग्रही भएँ कि ? लेख्ने विचारका मुक्तक वैचारिक हिसाबले केलाउनेलाई नै भूमिका लेखाएको भए हुन्थ्यो कि ! भन्ने लागेको मात्र हो ।

विवश पोखरेल र सरुभक्तको भूमिका पनि कमजोर कहाँ छ र ? आज डा. ऋषि बस्ताकोटीको बसोबास नियमित रूपमा नेपालमा छैन तथापि उनले आफ्नो कृतिमा नेपाललाई नै सम्झिरहेका छन् । नेपालकै चुच्चे नक्साको सिमानाभित्र चौबिसै घण्टा बसेको नागरिक जसै गरी सोचिरहेछन् नेपाललाई । यस अर्थमा खुसी लाग्छ डा. ऋषि बस्ताकोटीको ‘विसङ्गत बस्ती’ मुक्तकसंग्रह पढ्दा ।

म शास्त्रीय आधारमा ‘विसङ्गत बस्ती’का मुक्तकहरूलाई आलोचना वा समालोचना गरिरहेको छैन । झन्डै एक दर्जन मुक्तकबाहेक उनका मुक्तकहरूले शास्त्रीय नियमको पालना गरेका छन् । विषय थालमा के छ ? भन्ने होइन भाँडोलाई थाल भन्ने बित्तिकै भोक मेटाउने खाने कुरा छ भन्ने विश्वास हुन्छ । मजस्तो साहित्यका मामुली पाठकले रूपलाई भन्दा बढी रचनाभित्रको ऊर्जालाई ध्यान दिंदो रहेछ ।

विषय चाहिं के रहेछ ? विषय त उही त हुन् हाम्रो बस्तीको । जसलाई हामी विसङ्गत बस्ती भनिरहेका छौँ । यो सङ्गति खोज्ने कुरा पनि धेरै गाह्रो रहेछ । विचारमा सङ्गति खोज्यो व्यवहारमा चिप्लने । व्यवहार मिलाउन थाल्यो विचार कता पुग्ने कता ? मैले भन्न आँटेको कुरा अलि फरक छ । विचार–सिद्धान्त र वैचारिक पक्षलाई राम्ररी संयोजन गरेर लेखिएको ‘विसङ्गत बस्ती’ भित्र विचारको सङ्गति खोज्न लालायित मेरा नजरले भूमिकाहरू सहित १२५ ओटा मुक्तक पढ्न धेरै बेर लगाएन ।

सान्दर्भिक शीर्षक दिएर प्रस्तुत गरिएका मुक्तकहरू एकपछि अर्को एकचोटि मात्र होइन दोहोर्‍याएर पढ्ने मन हुन्छ । मुक्तकहरूमा प्रस्तुत गरिएको विषय विविधता र त्यसभित्रको गहन पक्षले मेरो पाठक मनलाई यस्तो पो मुक्तक लेख्नु तैले लेखेको त भएन पो ! जस्तै बनायो । म पनि कहिले कसो पोखिन्छु मुक्तकमा । मेरो पोखिने क्रम भनेको मकै सडकमा सुकाएको जस्तै भएको रहेछ । अरूलाई नपढी आफू को हुँ कहाँ थाहा पाइँदो रहेछ र ? मुक्तककार बस्ताकोटीले लेखनमा प्रयास गर्ने सिकारुहरूलाई राम्रो बाटो देखाएका छन् । उनले विचार के हो ? र यो कति शक्तिशाली हुन्छ भन्ने चिनाएका छन् भने रूप के हो ? किन आवश्यक छ भन्ने महत्त्व दर्साएका छन् । ‘रहर’ शीर्षकको मुक्तक हेरौँ त :

घर फेर्नु भो उहाँले, थर फेर्नु भो

कहिले चौतारो कहिले वर फेर्नु भो

फेर्नु फेरिनुमै मज्जा छ र त हेर्दाहेर्दै

जीवन र जवानीका रहर फेर्नु भो । (पृ.८२)

मान्छे को हो ? ऊ के गर्छ ? सत्तामा शक्ति लिएर बस्यो भने झन् त्यसको वास्तविक रूप बुझ्न सजिलो हुने रहेछ भन्ने प्रस्ट पारेको छ मुक्तकले । मान्छे पञ्चायतमा मन्त्री  भए । बहुदलका प्रवक्ता भए । गणतन्त्रमा पनि मुख बाएर बसेका छन् केही मिल्ला कि ! भनेर । आखिर सत्ता र राजनीतिका नाममा मान्छे केवल गरिरहेछ स्वाद फेर्ने कार्य । तरमारा समूह चाहे आरक्षका नाममा होस् चाहे आरोप गरेर सबै खाले स्वादको उपभोग गरिरहेछ । बाँकी सामान्य नागरिक त ‘नुन’ को खोजीमा पुर्पुरोमा हात लगाइरहेकै छन् ।

आमा भन्ने शब्द व्यक्तिवाचक होइन । यो त संस्थाको पनि संस्था रहेछ । आमाको महत्त्वलाई पनि मुक्तककार निकै विन्यास पुर्याएर परिभाषाकै सम्बन्धमा प्रस्तुत गर्दछन् :

 अदम्य साहस, अठोट र जाँगर हुन् मेरी आमा

सन्तानका लागि नरित्तिने सागर हुन् मेरी आमा

बचेराले वेग हानेपछि गुँड हानेपछि गुँड रुँगी बसेकी चरीझैँ

नदीले छाड्दै गएको एकान्त बगर हुन् मेरी आमा । (पृ. १४९)

 जन्म दिने आमा भनौँ वा जन्मिएको भूमि । कति महत्त्वपूर्ण छ  । आमा आज लाखौँ युवा सन्तानलाई विदेशमा रमाएर बस्दा पनि निराश छैनन् । आउला नि एकदिन आमा सम्झिएर भनिरहेकी छन् । नेपालका लाखौँ युवा श्रम र सोच बेच्न विदेश जानुपर्ने आजको स्थितिलाई मुक्तककारले सूत्रवाक्यमा उनेका छन् । आमा छिन् र हामी छौँ, मुक्तकको आशय यही निस्कन्छ । आजको समस्या श्रमको क्षेत्र राज्यभित्र साँघुरो भएर मात्र निम्तिएको होइन । समस्या बहुआयामिक बन्दै गएको छ । पाखुरा र मस्तिष्क दुवै वैदेशिक रोजगारीमा गए पनि पाखुराको पीडा मस्तिष्कले थाहा नपाउन्जेल संवेदना मर्दै गएको अनुभूति गर्छन् मुक्तककार । आफ्नो पूर्ण बन्दोबस्त गर्दै विदेशमा रमाउनेहरू र बुढी आमा अनि परिवारका सदस्य छाडेर श्रमका लागि खाडी पस्नेहरूको लास प्रतिदिन बाकसमा फर्कनुलाई मुक्तककारले गहिरो चिन्ताका रूपमा अभिव्यक्त गरेका छन् ।

कहिले गाउँ दुख्छ त यहाँ, कहिले सहर दुख्छ

कुर्दाकुर्दै देउरालीमा सान्नानीको रहर दुख्छ 

जब जहाज चढेका सपना बन्द बाकसमा फर्कन्छन्

तब के दुख्दैन यहाँ सबको घर–घर दुख्छ । (पृ.१०५) ।

आज नेपालका युवा दुई खाले उद्देश्यका साथ विदेशतर्फ लागिरहेका छन् । पहिलो खाले श्रमिक युवाहरू श्रम गर्ने र जीविकोपार्जन गर्दै परिवारको गर्जो टार्ने कामका निम्ति बिदेसिएको छ । दोस्रो खाले युवाहरू तुलनात्मक रूपमा शिक्षित भनिने गरिएको तथापि व्यक्ति जीवन  र महत्त्वाकाङ्क्षालाई पूरा गरी सके गन्तव्य मुलुकमै रहने र देशलाई बिर्सने वा गाली गरी बस्ने नसके ढिलोचाँडो सम्पन्न बनेर देशमा बसोबास गर्न फर्कने उद्देश्यले अभिमुख छ । यस हिसाबले हेर्दा जति पनि युवाको ताँती हामी अन्तर्राष्ट्रिय यात्रामा देख्छौं तिनीहरूमध्ये बाकसमा फर्कने भनेको पहिलो श्रेणीका काममा गएकाहरू नै हुन् । नेपालमै एउटा जीविको गर्न पाए ती युवा सकेसम्म विदेश जानै चाहँदैनन् । युवा विदेश लाग्दा परिवारको विघटन मात्र भएको छैन सिङ्गो श्रमको संस्कृतिले बाटो बिराएको छ ।

मुक्तककार बस्ताकोटी विश्वमा छरिएर रहेका नेपालीको मात्र होइन विश्वभरका श्रमिकको जीवनस्तर उठाउने विषयमा गम्भीर हुन राज्यलाई झकझक्याउँछन् । ‘विसङ्गत बस्ती’ मुक्तकसंग्रहभित्र यस्ता पीडाका पसिनामा पौडिएका, आँसुका आहालमा डुबेका अनि महत्त्वाकाङ्क्षाको मैदानमा म्याराथुन गर्दागर्दै हराएका लाखौं नेपाली युवाको पीडा पोखिएको छ ।

‍‍‍‍‍- – – –

निष्कर्ष :

मुक्तककार ऋषि बस्ताकोटी एउटा विचारले प्रशिक्षित लेखक हो । उनको विचार लेखन र व्यवहारमा पनि राम्ररी देखा परेको छ । नेपाल र नेपालीको मात्र नभएर संसारभरिको श्रमजीवी वर्गको पीडालाई उनका कलमले उतारेका छन् ।

जनप्रतिनिधि बनेर जनताको अधिकार कटौती गर्न खोज्ने गणतन्त्रका सन्काहा नेता र आम्दानीका निम्ति जोडिने कार्यकर्ताको उनले उछित्तो काटेका छन् । सजिलो छैन श्रमिकको जीवन तथापि नथाकी यात्रा गर्नुको विकल्प पनि त छैन । निरन्तर परिवर्तनका निम्ति लाग्दै जीवनयात्रालाई एउटा गन्तव्यमा पुर्‍याउन समवेत स्वरको खाँचो रहेको कुरा उनका मुक्तकहरूले मुखर गरेका छन् । आमाप्रति, बुबाप्रति, समाजप्रति र राज्यप्रति न्यूनतम पनि जिम्मेवार लेखक आफूलाई उत्ताउलो र अश्लील विषयतर्फ धकेल्दैन बरु त्यस्ता प्रवृत्तिमाथि कलात्मक प्रहार गर्न आफ्नो कलमलाई दौडाइरहन्छन् । काव्यभित्रकै गजलपछि मुक्तकले पाठकलाई आर वि फ्लेमकै नियाँस्रो मेटाएको छ ।