१.  विषय प्रवेश

नेपाली साहित्यिक श्रीवृद्धिमा भारतका दार्जिलिङ, सिक्किम र असमको ठुलो योगदान रहेको छ । यहाँबाट दिनानुदिन पुस्तक पत्रिका प्रकाशन, साहित्यिक भेला- गोष्ठी, साहित्यिक संस्था सक्रिय आदि सम्पन्न भइरहेका छन् । नयाँ नयाँ कवि लेखक देखा पर्दैछन् । अब भारतीय नेपाली साहित्य पूर्णतया विकसित भएको छ । अन्य छिमेकी ठुला ठुला भाषाका साहित्य जस्तै भारतको नेपाली साहित्य पनि उन्नतिशील छ, सक्रिय छ । यहाँका विभिन्न विद्यालय, महाविद्यालय र विश्वविद्यालयमा नेपाली पठन पाठन हुने गर्छ अनि विद्यार्थी समूहमा पनि नेपाली भाषा साहित्य सिर्जनाको मूल फुटेको हुन्छ ।

२. सीताराम काफ्ले एक परिचय-

नेपाली साहित्यमा सीताराम काफ्लेलाई चिनाइरहन पर्दैन । उनी एक दक्ष निबन्धकार र समीक्षकका रूपमा परिचित छन् । जलपाईगडी जिल्लाको बाग्राकोट भन्ने ठाउँमा जन्मग्रहण गरेका काफ्ले आमा बाबुको नाम स्व. पवित्रा काफ्ले र स्व. रामचन्द्र काफ्लेका सुपुत्रका रूपमा जन्मेका हुन् । उनले नेपाली विषयमा स्नातकोत्तर, हिन्दी साहित्यमा विशारद र पत्रकारितामा डिप्लोमा अध्ययन गरेका हुन् । उनी कालिम्पोङको प्रतिष्ठित कुमुदिनी विद्यालयका शिक्षण कार्यमा संलग्न छन् । उनी मेरो तकदीरको परिणाम (कविता) र अनिश्वरवादी व्यक्तित्व देवकोटा (निबन्ध) नामक लेखहरू लिएर साहित्यमा उदाएका हुन् ।

हालसम्म उनका ९ वटा पुस्तकाकार कृतिहरू प्रकाशित छन्- गोजिका (निबन्धसंग्रह, १९८४), अस्तित्वका कुराहरू (निबन्धसंग्रह, १९९२), रचना विमर्श (निबन्धसंग्रह, १९९४), विचार विकीर्ण (निबन्ध, १९९५), विमर्श विमर्श (निबन्ध, २०१२), समयको अवसान (कवितासङ्ग्र, २०१२), नेपाली साहित्यका निर्माता एम एम गुरुङ, भारतीय साहित्यका निर्माता हरिप्रसाद गोर्खा राई र हालैको मनस्वी (निबन्धसंग्रह, २०२४) । यस सूचीबाट हेर्दा उनी मूलतः निबन्धकार हुन् । एउटा कवितासंग्रहका आधारमा उनलाई कवि भन्न सकिएला तर उनको सफलता कवितामा भन्दा निबन्ध र समीक्षामा बढी पाइन्छ ।

सीताराम काफ्ले एक अनुभवी व्यक्तित्व हुन् । उनी आफैं जातीय चिनारीको राजनीतिमा उत्रेका थिए । उनी एउटा आन्दोलनकारी दलको विद्यार्थी शाखाका अगुवा थिए । उनको नेतृत्वमा विद्यार्थी शाखाले गति पाएको थियो । उनको राजनैतिक व्यक्तित्वहरूसित राजनैतिक संसर्ग थियो । उनले केही वर्ष टिस्टा सुनकोश नाम छापाखाना चलाएका थिए । त्यहाँबाट टिस्टा सुनकोश नामक पत्रिका प्रकाशित गर्थे । प्रेससित जडित हुँदा उनको राजनैतिक नेताहरूको वैचारिकता, जनगुनासो सबै कुरामा अवगत थिए । उनको कलमको काम थियो । उनी कलेमको माध्यमबाट पनि जन- आन्दोलनलाई सहयोग गर्थे ।

काफ्लेको कृतित्वमाथि केही समीक्षकहरू जस्तै जय क्याक्टस, डा राजकुमार छेत्री, नवीन पौड्याल, सपन प्रधान, एम पथिक, राजेन्द्र भण्डारी, रूपेश शर्मा, डा इन्दुप्रभा देवी, सोनाम शेर्पा, देवराज शर्मा, टीका भाइ, सचिन खवास आदिले समीक्षा गरेका छन् । उनको विमर्श विमर्श र समयको अवसानबारे केही समीक्षकहरूको ध्यानकेन्द्रित भएको छ ।

३. निबन्ध विधा एक परिचय

साहित्य आख्यानेतर विधाका रूपमा निबन्धलाई मानिएको छ । यसका साथै नेपालीमा साहित्यमा यसलाई कान्छो विधाका रूपमा मान्न सकिन्छ । यसमा निजात्मकता हुनुपर्ने हुँदा यसको लेखन आरम्भ अन्य विधाभन्दा धेरै पछि भएकाले निबन्धलाई कान्छो विधा भनिएको हो । यद्यपि आख्यानेतर गद्य जति सबैलाई निबन्धभित्र गाभ्दा भने निबन्ध अरू विधाभन्दा जेठो हुन्छ । किनभने नेपाली साहित्यको शुरूवात् नै निबन्धात्मक स्वरूपका लेखोटबाट भएको मानिन्छ । यो विधा विभिन्न रूपमा देखा पर्दछ । निबन्ध विधा एउटा ठुलो रूख हो भने प्रबन्ध, नियात्रा, संस्मरण, जीवनी, आत्मजीवनी आदि यसका हाँगाबिँगा हुन् । यात्रामा देखिएका कुरादेखि लिएर पहिले संस्मरण, कुनै वस्तुको विवरण आदि जम्मै निबन्ध हुन् ।

पहिले पहिले निबन्ध र प्रबन्धलाई समग्र रूपमा एउटा मानिन्थ्यो भने अहिले यी दुई शब्दहरूको अलगअलग अर्थ, ढाँचा र स्वरूप मानिन्छ । निबन्धका विभिन्न प्रकार, भेदोपभेद बारेमा विभिन्न विद्वानका परिभाषा मत-मतान्तर पाइन्छन् । लेखकहरूका निम्ति आफ्नो ज्ञान, अनुभव, विचार, अनुभूति, संवेदनालाई पाठकसित सोझै बाँड्ने, अभिव्यक्त गर्ने कला हो । यो कुनै पनि विषयमा लेखिन्छ । यसका विषय अनन्त छन् । जीवाणुदेखि लिएर ब्रह्माण्डसम्म नै यसका विषयवस्तु हुनसक्छन् । सामान्य भौतिक वस्तुको वर्णनदेखि लिएर कल्पना गरेकोसम्म सबै खाले मूर्त अमूर्त सबै कुरा यसभित्र अँटाउन सकिन्छ । निबन्धमा सुनियोजित तरिकाले एउटा मुख्य विषयको विस्तार र विश्लेषण गर्न सकिन्छ अथवा मिश्रित कुरा जे पनि हाल्न सकिन्छ ।

निबन्धमा लेखक र पाठकको सोझो सम्बन्ध हुन्छ । यस्तो लेखक पाठको सोझो सम्बन्ध अरूमा हुन्न । भावुक र भावक, वक्ता र श्रोता, लेखक पाठकको सोझो सम्बन्ध हुन्छ । निबन्धकारले आफूले प्रतिपादन गर्न चाहेको विषय र आशयलाई सोझै आफ्नै तरिकामा प्रकट गर्दछ । यो औपचारिकभन्दा अनौपचारिक बढी हुन्छ । निबन्धकारको मनमा एउटा अज्ञात श्रोता र पाठक हुन्छ र उसलाई गफ गरेको ढाँचाले सुनाउँछ । लेखक प्रस्तोता भए  पाठक अज्ञात श्रोता भावक हुन्छ । कुनै लेखकले छोटोमा र कुनैले विस्तारपूर्वक सनाउँछ । अज्ञात श्रोताले कुनै तर्क नगरी हो मा हो मिलाएको भान गर्छ । उसलाई तर्क दिएर, उदाहरण आदि दिएर विभिन्न तरिकाले बुझाउने प्रयत्न गर्छ । कुनै विषयलाई टुङ्गोमा पुर्‍याएको हुन्छ । लेखक पाठकसित लहसिन्छ, आत्मीय भएर विचार व्यक्त गर्छ । ज्ञान, सत्यता र तथ्यको पक्ष लिन्छ । विषय, विचार वा आशयलाई पाठकका निम्ति पत्यारिलो पार्न तर्क दिन्छ, विवरण दिन्छ । निबन्धभित्र आख्यान तत्त्व पनि समावेश गर्न सक्छ । त्यो आख्यान काल्पनिक पनि हुनसक्छ वा लेखकको आफ्नै पनि हुन सक्छ । निबन्ध छरपस्टिएको चिन्तन मात्र नभएर ज्ञान, अनुभव, संवेग आवेग आदिका सन्तुलित र व्यवस्थित लेखन पनि हो ।

निबन्ध लेखन भनेको लेखनगत स्वतन्त्रता, उन्मुक्तता सहजानुभूतिको प्रकटीकरण हो । लेखकले जे लेखे पनि आफ्ना मनमा उब्जेका कुरालाई जसरी भए पनि लेख्ने स्वतन्त्रता पाउँछ । यद्यपि निबन्ध लेखनमा स्वतन्त्रता हुन्छ भन्दैमा यो बेकाबु घोडाको दौड होइन बरु लगामले बाँधेको घोडाको हिँडाइ हो । विषयलाई छरपस्ट हुन नदिई नियन्त्रित राखेर आफ्नो भन्नुपर्ने कुरा लेख्नु पर्छ । पाठकलाई ज्ञान र मनोरञ्जन दुवैले लाभान्वित बनाउनु पर्छ । भावना सँगसँगै शब्द चयन, बुनोट र बनोट सबै मिलेको हुनुपर्छ भन्ने विद्वानहरूको भनाइ छ । निबन्ध लेखनका निपुणताका आधारमा नै ‘गद्य कविनाम् निकषाम् वदन्ती’ भन्ने भनाइ रहेको पाइन्छ ।

४. मनस्वी निबन्धसंग्रह एक परिचय

संस्कृतमा एउटा भनाइ छ- गद्य कवीनाम् निकष बदन्ती अर्थात् कविको कविको वास्तविक प्रतिभा गद्यमा रहेको हुन्छ । निबन्धका रूपमा मनका भाव, सत्यवचन, अनुभव, अनुभूतिलाई पाठकसामु अभिव्यक्ति गर्ने काममा सिताराम काफ्ले देखा पर्दछन् । उनको हालै प्रकाशित पुस्तक मनस्वी (२०२४) उनको गहन चिन्तन र भावनाको उपज हो । यसभित्र उनका ज्ञान, अनुभव अनुभूति, चाहना आदि सबै प्रस्तुत गरेका छन् । यसभित्र रहेका लेखहरूको अध्ययन गर्दा यसलाई कुन विधाको पुस्तक ठान्नु भन्ने कुरामा पाठक अलमल पर्न सक्छन्- यो निबन्धसंग्रह हो कि? समीक्षासंग्रह? व्यक्ति परिचय संग्रह हो? जातीय प्रेमको उद्गारहरूको सँगालो? समग्रमा हेर्दा यस पुस्तकमा यी जम्मै कुरा समेटिएका छन् । यी जम्मैको एकमुष्ट रूप हो मनस्वी । यसरी हेर्दा यस मनस्वीलाई सिर्जनात्मक समीक्षासंग्रह मान्न सकिन्छ । पाठकले एकरसता नभएर बहुरसता पाइन्छ । पाठकले एकै ठाउँमा ज्ञान, अनुभव, जानकारी, अनुभूति, सन्देशसहित साहित्यिक रसास्वादन पाउँछन् । लेखकले आफ्ना अनुभूति, अनुभव, विचार, भावना, ऐतिहासिक तथ्य, चेतना प्रस्तुत गरेका छन् । यसमा स्थलगत जानकारी, व्यक्तिचित्र, संस्मरण, समीक्षात्मक ढाँचा आदि सबैको सङ्गमका रूपमा देख्न पाइन्छ ।

सिर्जनात्मक समीक्षा- समीक्षा र सिर्जना दुई भिन्नाभिन्नै कुरा हुन् भन्ने धारणा छ । सिर्जनाको परख गर्ने, मूल्याङ्कन गर्ने, त्यसमा रहेका गुण दोष केलाउने, त्यसबारे आलोकित गर्ने समीक्षा हो । सिर्जना मूल हो भने त्यसबाट प्रतिक्रियाका रूपमा समीक्षा सिर्जना हुन्छ । यद्यपि समीक्षाभित्र नै सिर्जना गरिएको हुन्छ । समीक्षामा नै सिर्जनाका हुन्छ ।

मनस्वीका लेखहरूको अध्ययन गर्दा पाँच वटा सिर्जनात्मक समीक्षा पाइन्छन्- साहित्यिक व्यक्तिचित्र, पुस्तक समीक्षा, तथ्यात्मक र जातीय चेतना । यसमा सबैको सम्मिश्रित रूप हो । मनस्वीभित्र जम्मा २० वटा लेखहरू समावेश छन् । मनस्वी मूलतः निबन्ध संग्रह हो । यसमा रहेका लेखहरूमा भाषा र शैलीको मिठास पाइन्छ । सलल बगेको जस्तो भाषा बगेको छ । निबन्धभित्र ज्ञान अनुभव, अनुभूति, चिन्तन, मनन, समीक्षा, मूल्याङ्कन, संस्मरण, इतिहास सबै कुरा समावेश छन् । यसभित्र साहित्यकार, गीतकार, गायक कलाकार, राजनैतिक नेता, समाजसेवक आदि सबै खाले व्यक्तित्व अँटाएका छन्, सबै मूल्याङ्कित भएका छन् ।

यसभित्र रहेका लेखहरूलाई अध्ययन गर्दा यसभित्र निबन्धात्मक स्वरूप पाइन्छ ।  विषय, शैली र वैयक्तिक दृष्टिको प्रधानता भएको छोटो छरितो गद्यात्मक संरचना नै निबन्ध हो । यसका विषय, शैली र उद्देश्य मुख्य तत्व हुन् ।

 ५. मनस्वीका विषयवस्तु

सीताराम काफ्लेकृति मनस्वीको विषयवस्तु विविध छन् । यद्यपि पाँच वटा प्रवृत्तिहरू प्रमुख रूपमा परिलक्षित हुन्छन् र तिनलाई यसरी वर्गीकरण गर्न सकिन्छ- सर्जक मूल्याङ्कनपरक निबन्ध, समीक्षापरक निबन्ध, संस्मरणात्मक निबन्ध, जातीय चिन्तनपरक निबन्ध र तथ्यात्मक निबन्ध आदि जस्ता रहेका छन् । पाठकका निम्ति प्रत्येक लेखहरू विभिन्न पक्षहरूको सम्मिश्रित रूपमा प्रस्तुत गरिएकाले रोचक, नयाँ किसिमका लाग्छन् । यसमा बहुविध विषयवस्तु छन् । यहाँ समीक्षा, विचार, संस्मरण, परिचयन, जीवनी कथन, स्वकथन, इतिहास कथन, तथ्य र जानकारीले भरिएका छन् । कतै संवाद योजना गरिएको छ पाठकले प्रत्येक लेखभित्र ज्ञान, अनुभव, अनुभूति, चिन्तन मनलाई एकै ठाउँमा अभिव्यक्त गरेका छन् ।

५.१. सर्जक मूल्याङ्कनपरक निबन्ध-

यस पुस्तकको अध्ययन गर्दा लेखकको मूल ध्येय भने व्यक्ति प्रतिभालाई चिनाउनु रहेको पाइन्छ । यसमा साहित्यकार बाहेक सङ्गीतकार गोपाल योञ्जन र नारायण गोपाल, अशोक राई, छुजाङ डुक्पा आदिमाथि शाब्दिक प्रोफाइलचित्र उतारेका छन् । यसमा महानन्द पौड्याल, हस्त नेचाली, युवराज काफ्ले, सकुरा थुलुङ, एम पथिक, सानुमति राई, हाइमनदास राई किरात, प्रदीप गुरुङ, बद्रीनारायण प्रधान, जीवन नामदुङ, कितापसिंह राई, अशोक राई, गोपाल योञ्जन, नारायण गोपाल आदिबारे परिचय, मूल्याङ्कन गरेका छन् ।

यसमा बिजनबारीका साहित्य साधक एम पथिकबारे रोचक रेखाचित्र उतारेका छन् । एम पथिक एक दक्ष कथाकार, एक कुशल समालोचक र एक राम्रो नियात्राकार हुन् । यसका साथै उनी विभिन्न संस्था र भाषा साहित्य सेवामुखी प्रशिक्षण आदिमा पनि सक्रिय रूपमा अघि रहेका छन् भन्ने तथ्य प्रस्तुत गरेका छन् । मौरीपालन बारे एम पथिक एक आधिकारिक अनुभवी र विशेषज्ञ हुन् ।

५.२. समीक्षात्मक निबन्ध

यस पुस्तकमा समीक्षा पक्ष पनि निकै प्रबल मात्रामा पाइन्छ । यसमा व्यक्ति समीक्षा, कृति समीक्षा जस्ता कुरा पाइन्छन् । यसमा व्यक्तित्व, कृतित्व, संस्थागत समीक्षा गरिएको छ । सबै लेखहरू नै समीक्षात्मक छन् । यसभित्र रहेका जम्मै लेखहरूलाई सिर्जनात्मक समीक्षामा राख्न सकिन्छ । समीक्षा र सिर्जना दुई भिन्नाभिन्नै कुरा हुन् भन्ने धारणा हुन्छ । सिर्जनाको परख गर्ने, मूल्याङ्कन गर्ने, त्यसमा रहेका गुण दोष केलाउने, त्यसबारे आलोकित गर्ने समीक्षा हो । सिर्जना मूल हो भने त्यसबाट प्रतिक्रियाका रूपमा समीक्षा सिर्जना हुन्छ । यहाँ रहेका कतिपय लेखहरूलाई सिर्जनात्मक समीक्षाका रूपमा लिन सकिन्छ । यसमा शिशिर गुरुङ, अशोक राई, आदिका अभिनन्दन ग्रन्थबारे समीक्षा गरिएको छ ।

५.३. आत्मकथात्मक निबन्ध-

यसमा रहेका अधिकांश निबन्धहरूमा आत्मकथात्मकता पाइन्छ । अरू व्यक्ति र प्रसङ्ग आउँदा आफ्नो कुरा पनि राखिएको हुन्छ ।  यसका लेखहरू अध्ययन गर्दा सबैमा आत्मकथा टाँसिएका छन् । इस्वीको अस्सीको दशकदेखि हालसम्मकै आफ्नो आत्मकथाको शृङ्खला जोडिएको छ ।  उनी साहित्यिक हुनाले  साहित्यिक संसर्ग, यात्रा, अनुभव अनुभूतिसँगै आफ्नो जीवनक्रम अघि बढ्दै गएको देखाइएको छ । यसमा सिलगडी, दार्जिलिङ, कालिम्पोङ, डुवर्स, काठमाडौं, बिर्तामोड आदि स्थल गएर साहित्य सम्बन्धित काम गरेको, त्यहाँ जाँदाको साहित्यिक सहयात्रीको संगत आदिलाई क्रमबद्ध रूपमा उतारेका छन् । यस ग्रन्थलाई अध्ययन गर्दै जाँदा लेखक पहिले डुवर्सको बाग्राकोटमा जन्मग्रहण गरेको, त्यहाँको विद्यालयमा स्कुले जीवन बिताएको, विद्यार्थी जीवनसँगै सिलगडी गएर प्रेसमा काम गरेको, पत्रिकामा काम गरेको, कलेज पढ्दा विद्यार्थी राजनीतिमा नेतृत्व गरी गोर्खाल्याण्ड आन्दोलनमा सक्रिय रूपमा सहभागी भएको, विभिन्न साहित्यिक गोष्ठी आदिमा सक्रिय भाग लिएको, कलेज सकेपछि केही समय आफ्नो टिस्टा सुनकोश प्रेस र पत्रिका चलाएको, त्यसपछि कालिम्पोङ प्रतिष्ठित कुमुदिनी विद्याश्रममा अध्यापन गरेको आदि जीवनरेखा कोरेका छन् । आफ्नो जीवनक्रममा देखेका, अनुभूति गरेका,

५.४. संस्मरणात्मक निबन्ध-

यस पुस्तकभित्र संस्मरण तत्व निकै पाइन्छन् । लेखक आफूले टिस्टा सुनकोश प्रेस र पत्रिकाको सम्पादन गर्दाका, विद्यार्थी आन्दोलन आदिका संस्मरण रोचक रहेका छन् । लेखक काठमाडौं गएका बेला लक्ष्मीप्रसाद देवकोटाको मूल घर पुगेर तिनकी श्रीमती मनदेवी देवकोटालाई भेटेर महाकविका आनीबानी, जीवनशैली आदिबारे जानकारी लिएका छन् । यसमा देवकोटाका कतिपय नयाँ तथ्य पनि प्रस्तुत गरिएको छ ।

५.५. जातीय चिन्तनपरक निबन्ध-

यस संग्रहमा रहेको एउटा केन्द्रीय पक्ष जातीय चेतना हो । यसमा रहेका अधिकांश निबन्धहरूका मूल मर्म जातीय चेतना पाइन्छन् । हाम्रो आफ्नो घर बनाउने जनचाहनालाई प्रत्यक्ष र परोक्ष दुवै किसिमले अभिव्यक्त गरेका छन् । लेखकको मनभित्र गढेर बसेको चाहनालाई कुनै कुनै प्रसङ्गको माध्यम बनाएर व्यक्त गरेका छन् । उनका केही लेखहरू जस्तै सकुरा थुलुङको संस्मरण, युवराज काफ्लेबारे चर्चा, पर्यवेक्षण एक टिस्टा सुनकोशको गढतिर, फुटे फाइदा अरूलाई, अशोक राई प्रसङ्ग आदिमा जातीय चेतनालाई उदाङ्गो पार्दै लगेका छन् । हामीले यत्रा आन्दोलन गर्दा पनि आन्दोलन तुहिएको छ । नेताहरू बिकाउ बनेका छन्, हाम्रा स्थानीय जग्गा जमिन हामीदेखि टाडिंदैछन्, हामी स्वार्थलोलुप, पदलोलुप, धनलोलुप आदिका कारणले दिनदिनै खुम्चदै छौं आदि कुरामा लेखक चिन्ता व्यक्त गर्छन् । हाम्रो अनेकता, हाम्रो गलत नेतृत्व आदिले हामी नै बिस्तारै समस्याग्रस्त बनेकामा लेख क्षोभ व्यक्त गर्छन् ।

५.६. तथ्यात्मक निबन्ध

यस प्रकारको निबन्धमा स्थलगत तथ्य, घटनागत तथ्य, व्यक्ति तथ्य आदि प्रस्तुत गरिएका छन् । यसमा कालिम्पोङ, सिलगडी, डुवर्स आदिका विभिन्न स्थानहरू र तिनका भित्री ठाउँहरूको पनि नामोल्लेख गरेका छन् । पाठकका निम्ति स्थलगत जानकारी पाउँछन् । यसमा लेखक आफूले को को साहित्यकार आदिसित सुसंगत गरेको, प्रेसमा काम गरेको अनुभव, सन् १९८६ देखि दार्जिलिङमा चलेको गोर्खाल्याण्ड आन्दोलनमा आफू विद्यार्थी नेताको रूपमा काम गर्दाका केही अनुभव, केही घटना, साहित्यिक व्यक्तिहरूका पारिवारिक पेशागत, स्वभावगत, तथ्यहरू पनि प्रकाश पार्दै लगेका छन् । उनी साहित्यिक भ्रमण, कार्यक्रममा सहभागी हुन जाँदाको अनुभूतिलाई पाठकसामु प्रस्तुत गरेका छन् ।

६. मनस्वीको भाषा र शैली

सीताराम काफ्लेले प्रस्तुत गरेको मनस्वी पढ्दा पाठकलाई केही कुराले आकर्षण गर्छ । उनको आफ्नो मौलिक लेखन शैली रहेको छ । यसमा सिर्जनात्मक लेखन अनत्रगत व्याकरण विचलनको भाषा, अनुभूतिको यथास्थानिक र चेतनप्रवाहमय प्रस्तुति, विशृङ्खलताभित्र शृंखलता, अप्रस्तुतबाट प्रस्तुत अनौपचारिकता आदि रहेका छन् । लेखकको आफ्नै ढाँचा, स्वरूप, संरचना बनोट, बुनोट रहेको छ ।  यसमा निजात्मकता, स्वच्छन्दता, वैचारिकता र बौद्धिकता आदि गुण पाइन्छन् । राजनैतिक, साहित्यिक, समीक्षात्मक विषयहरूलाई अनौपचारिक शैलीमा अभिव्यक्त गरेका छन् । लेख्दै जाँदा मनमा आएका कुरालाई व्याकरणिक ख्याल नगरी सरासरी लेखेका छन् । व्याकरणिक शुद्धताका आधारले अध्ययन गरे यसमा शब्दगत, वाक्यगत, अर्थगत विच्युति पाइन्छन् । वाक्यहरूमा हुनुपर्ने पदक्रम, नामपद र क्रियापद तथा उद्देश्य र विधेयको सही पालन र स्थान निर्वाह गरिएको छैन । यसमा प्रयुक्त भाषा नै सीताराम काफ्लेको लेखनगत विशेषता हो । व्याकरणिक आधारमा हेर्दा यसभित्र अमानक भाषा पाइन्छ तर सिर्जनात्मक लेखनका आधारमा पाठकको आनन्दका निम्ति शैलीय विविधता, विचलन आदि प्रयोग गरिएको छ । यद्यपि भाषिक प्रयोग नै काफ्लेको लेखनगत कमजोरी मान्न सकिने ठाउँ छन् । उनको लेखनगत शैलीले पाठकलाई एकप्रकारको तरङ्ग दिए तापनि भाषिक तारतम्य मिलेको छैन । चाहिनेभन्दा बढी अनौपचारिकता पनि पाठक रचाउँदैनन् । विषयलाई व्यक्त गर्ने भाषा पनि मिलेको नै चाहन्छन् । कवितात्मक निबन्ध

. मूल्याङ्कन र उपसंहार

यसभित्रका निबन्धहरूमा अनुभवमिश्रित विषयवस्तु, वैयक्तिक दृष्टि, सूक्ष्म प्रस्तुति जस्ता गुण पाइन्छन् । यद्यपि तार्किक प्रस्तुति, तथ्याश्रित विषय जस्ता कुरा पनि पाइन्छन् । कतै कवितात्मक निबन्ध, कतै संवादात्मक निबन्ध, कतै कथात्मक, कतै समीक्षात्मक निबन्ध, कतै संस्मरणात्मक आदि जस्ता विविधताले गर्दा पाठकलाई आनन्द प्रदान गर्दछन् । कतै विवरण र कतै संकेतले निबन्धहरू स्वादिला बनेका छन् ।  सिर्जनात्मक लेखनले लेखहरू पाठकका निम्ति रूचिकर बनेका छन् ।