कुनै पनि यात्राका दौरानमा भएका विभिन्न घटना परिवेशहरू, भेटिएका पात्रहरू आदिको बारेमा लेखिएका निजात्मक अनुभूति सहितको भोगाइ, अनुभव आदिलाई निबन्धात्मक रूपमा रोचक एवं कलात्मकताले लेपन गरेर श्रष्टाले प्रस्तुत गर्नसक्नु नै नियात्रा निबन्धको अब्बलता मान्न सकिन्छ । ‘राजा गगनीराजको यात्रा’बाट शुरू भएको मानिएको नेपाली नियात्रा ‘जंगबहादुरको बेलायत यात्रा’ हुँदै आजको अवस्थामा आइपुगेको हो ।

प्रतीक ढकालका जुम्लामा पाइला टेकेको दिनबाट शुरू भएर हाट भर्ने स्यालसम्म जम्मा विभिन्न शीर्षकका एक्काइस वटा नियात्राहरू ‘त्यो उज्यालो कर्णालीमा’ परेका छन् । प्रतीक ढकालले देखेका,अनुभव गरेका कुराहरूलाई सूक्ष्म रूपले केलाउन सकेका छन् । यस्तो लाग्छ नियात्रासंग्रह पढ्दा कि स–साना कुराहरूले पनि श्रष्टाको मन झंकृत भएको छ ।

कर्णाली प्रदेशको आँगनमा पुगेर विकटतापूर्ण भूगोल, त्यहाँको जनजीवन, धर्म, संस्कृति, भाषा, इतिहास लगायतका विविध विषयमा सूचना सम्प्रेषण गर्न श्रष्टा सक्षम देखिएका छन् । त्यहाँको बारेमा अध्ययन, अनुसन्धान र अन्वेषण पनि गरेको भान पर्छ । त्यस क्षेत्रमा भएका अँध्यारा पाटाहरू पनि उजागर भएका छन् पुस्तकमा । उनले जहाँ जहाँको माटो टेके, त्यहाँ त्यहाँको बारेमा मिहिन ढंगले अध्ययन गरे । त्यहाँको उज्याला र अँध्यारा पक्षहरू मज्जैले छुट्याए । स्थानीय प्राकृतिक र लोक सम्पदाको बारेमा पाठकलाई जानकारी दिए । कतै उनी अन्वेषक झैं लाग्छन्, कतै कथाकार, कतै इतिहासकार, यात्राको सिलसिलेवार र रोचक रूपमा वर्णन गर्ने सीप भएका श्रष्टा लाग्छन् ।

 ‘त्यो उज्यालो कर्णाली’ मा कर्णाली प्रदेशका जनताको यायावर सपना, अभावको कालो वेदना र उज्याला सम्भावना समेत पोखिएको छ । मनको मझेरीको नजिकबाट पीरका थुप्रै नदीहरू बगेको उनले देखेका छन् । कर्णालीका पहाडहरूको आँसु देखेका छन् ।आँसुको प्यालामा जिन्दगी पिइरहेका त्यहाँका मान्छेका व्यथाकथाहरू भोगेका छन् उनले । यात्राको क्रममा विचित्रताका अनेकौं कुरा मस्तिष्कको स्मृतिमा कैद गर्दै मसीका कूचीले मीठो नियात्राको चित्र कोरेका छन् । नेपाललाई पूरै कायापलट गर्नसक्ने क्षेत्रको रूपमा कर्णालीको चित्रण गर्छन् उनी । यो कुरामा ठोकुवा गर्छन् । आफूसँगै डोर्‍याउँछन् पाठकहरूलाई र यात्रामा सँगै भएको भान पार्छन् । उनको लेखकीय क्षमता उच्च कोटीको छ ।

कर्णालीका पीडाहरूमा उनी आफैं रोएका छन् र पाठक हृदय पनि दुखी बनाउँछन् । तर त्यो दुःख नफुस्कँदै खुशीको स्पन्दनलाई उनी मानव हृदयको आँगनबाट फ्यात्त बाहिर निकाल्छन् । नेपाल बनाउने सम्भावनाहरूको खानी हो कर्णाली भनेर । रोग,भोक र अभावहरूसँग मितेरी लाएका कर्णालीका जनतासँग पाठकहरूको मन पुर्‍याउँछन् उनी । त्यहाँको विकटतात्यहाँको रूढीवादीता र जनताको दुखद दैनिकीसँग साक्षात्कार गराउँछन् ।

ढकाल धर्म, संस्कार र संस्कृतिको जानकारी गराउने संस्कृतिविद् बनेका छन् कतै । कतै ऐतिहासिकताको बारेमा जानकारी राख्छन् र इतिहासकार बन्छन् । कतै भाषा साहित्यको जानकारी दिने भाषाविद् बन्छन् । उज्यालोको मज्जाको प्रकाश फ्याँकेर दुर्गति ओढेर अँध्यारो बाँचिरहेको कर्णालीलाई आशावादीताको सामल दिन्छन् उनी । यात्रुहरूको गाइड बुक जस्तो लाग्ने, कर्णालीको भूगोलको बारेमा जानकारी लिनेको लागि भूगोल लाग्ने र इतिहासबारे जानकारी लिनेको लागि कर्णालीको इतिहास बनेको छ ।

जुम्लामा उनले पाइला टेकेको दिनबाट शुरू भएको प्रतीक ढकालको यात्रा विभिन्न विकट पहाडहरूमौसमको प्रतिकुलतामा हुने आकाशको अनियमित उडानचिनजान हुँदा पाइने सहजताविभिन्न स्थानका ऐतिहासिक विशेषताविभिन्न मन्दिरहरूसांस्कृतिक लगायतका सम्पदाहरू, हिमालका मनोरम दृष्यहरूपुरातात्त्विक कुराहरूका चित्रणहरू गरिएको वहुआयामिक पुस्तक बनेको छ यो पुस्तक ।

यहाँभित्र रारातालको मनमोहक र वैभवपूर्ण सौन्दर्य र उनले त्यहाँ व्यतीत गरेका सुखद पलहरू, यात्राका अविराम श्रृंखलामा आँखाले खिचेका विभिन्न सुन्दर बिम्बहरू, स्वप्निल यात्राका खुशीका अनुभूतिहरू पस्केका छन् । अभाव र पीडामा बगेका आँसुका आहालहरू पुछिसाध्यै रैनछ बाबै कर्णालीको । उनी त्यहाँको दुःखमा असाध्यै दुखित पनि भएका छन् ।

नियात्राकारले आफ्नै आँखाले कर्णालीको सुन्दर धर्तीको सौन्दर्यलाई दृष्यापान गर्नुको मज्जा शब्दमा  व्यक्त गरेर पाठकहरूलाई मीठो ईर्ष्यालु कौतुहलता जन्माउन सफल देखिएका छन् । उत्साहित नियात्राकार यात्रामा निस्केपछि उनका पैतालाहरू कहिंकतै थाकेजस्तो देखिंदैन गन्तव्यमा नपुगेसम्म । उनका पूर्ववर्ती नियात्रा कृतिहरू भन्दा पृथक् छ यो ।

कर्णालीलाई मानव सभ्यताको सिन्धु तथा मोहोन्जोदाडोसँग दाँजेका छन् उनले यहाँ । कर्णालीको इतिहासभाषासाहित्यको खोजी गरेका छन् । त्यहाँका कारुणिक व्यथा र कथाहरूको कहानी संकलन गरेका छन्  । त्यहाँका प्राकृतिक सौन्दर्यको प्रचारक बनेका छन् प्रतीक । सांस्कृतिक वैभवको उत्खनन कर्ता जस्ता देखिएका छन् । लाग्छ आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत यो कृति कोशेढुंगा हुनेछ । देशप्रेमको भाव छताछुल्ल भएर यत्रतत्र पुस्तकभर छरिएको छ । उनी राष्ट्रको भूगोल छातीमा बोकेर यात्रा गर्ने राष्ट्रवादी हुन् । वर्तमानको राजनीतिक बेथितिसँग असहमत देखिएका कारण यो राजनीतिक दुरावस्था प्रति रोश व्यक्त गर्दछन् ।

समग्रमा कर्णाली प्रदेशको सांस्कृतिक वैभवलाई उजागर गर्न सफल देखिन्छन् नियात्राकार । कर्णालीबासीको आकाङ्क्षा त्यहींको प्राकृतिक श्रोत र साधनबाट पूर्ति हुन सक्ने कुरामा उनको ठोकुवा छ । उनी भन्छन् बदलिन्छ कर्णाली र बदलिनै पर्छ ।

स्थानीय भाषाको भरपूर प्रयोगमीठासपूर्ण तर सरल भाषाशिल्प र शैलीको कलात्मक मिश्रण  तथा स्थानीयताको टपक्कै टिपाई यो नियात्राको विशेषता हो । नेपाली साहित्यको वर्तमानको लोकप्रिय विधा  हो नियात्रा । त्यो उज्यालो कर्णाली गतिशील भएर बहेको छ । नियात्राकारले यथार्थपरक तथ्यहरू पस्केका छन् । यात्रामा भेटिएका पात्रहरू जो उनको मनको नजिक बस्न सफल भएका छन् तिनीहरूसँगको वार्तालाप पनि समावेश गरेका छन् । यथार्थतालाई थोरै कल्पनाशीलताको पालिस लगाएर आफ्नो सिर्जनालाई कलात्मक बनाउन सक्नु उनको नियात्रा लेखनीको अर्को विशेषता हो ।

लेखनीमा इमानदारीता अचम्मकै लाग्छ उनको । विभिन्न तथ्यप्रमाणहरू समेट्न सक्नु उनको क्षमता मान्नुपर्छ । शीर्षक छनोटका हिसाबले विषयवस्तुलाई मज्जैले उनका नियात्राले समेटेको देखिन्छ । यात्रा कतै आख्यानात्मक भएर बगेको छ त कतै निबन्धात्मक शैली प्रयोग भएको छ । आफ्ना सबै यात्राका अनुभूतिहरू व्यक्त भएपछि उनको मनमा लागेका कुराहरूलाई निर्धक्क आफ्नो विचार दृष्टिकोण सहित अन्त्य गर्नसक्नु नियात्राकारको विशेषता लाग्छ । सूचनाको सही व्यवस्थापनले नियात्रा थप सुन्दर बनेका छन् ।

सन्दर्भहरू नयाँनयाँ भएर आएका छन् दोहोरिएका छैनन् । यथार्थपरक नियात्राले सिर्जनशीलता मर्न सक्छ तर यहाँ उनले आफ्नो सृजनशीलतालाई गतिशील बनाएका छन्,मर्न दिएका छैनन्।नियात्राका आकार केही लामा लागे पनि पट्यार लाग्दैन । पाठकलाई तानेर अझै अगाडी लान सक्ने सामर्थ्य छ उनका लेखनीमा ।

लेखनीमा भद्रता छकतै कसैलाई आक्षेप छैन । पाठकको मन खिच्नसक्ने खुबी छ नियात्रामा । यथार्थ वर्णन गर्ने नाउँमा रछ्याने वर्णन गरिएको पाइन्न । पाठकमा कौतुहलता अब के होला भैरहन्छ ।अब के देख्न पाइएला दृश्यको आकलन गरिरहन्छ पाठक । चित्ताकर्षक शैलीमा सलल बहेका शब्दहरूले नियात्रालाई रुचीकर बनाएको  छ । उनमा कल्पनशीलता पनि यथार्थपरक देखिन्छ । वास्तवमा नियात्रा भनेको व्यक्तिपरक रचना नै हो । त्यसैले यहाँ पनि नियात्राकारलाई कुन ठाउँ जान मन लागेको हो त्यो ठाउँमा पुगेर मनमा लागेको,मनमा गढेको विषयमा लेख्ने काम भएको छ ।

नियात्रालाई सुन्दर बनाउन आत्मानुभूतिको भूमिका महत्त्वपूर्ण हुन्छ । यहाँ ढकालले सत्यताको निकट रहेर आत्मानुभूतिलाई सुन्दर बिम्बहरू सहित प्रस्तुत गर्न सकेका छन् । यसैले त नियात्रा पठनीय कृति बनेको छ । देखेभोगेका कुराहरूको सादृश्य वर्णन चित्रात्मक छ ।

यात्राको क्रममा उनी कर्णालीको प्रगाढ प्रेममा फसेका छन् । उनलाई त्यहाँबाट देखिने हिमश्रृंखलाहरूले लोभ्याउँछन् । कतै पहिरो गएर बिधुवाको फुस्रो सिउँदो बनेका पहाडहरूले उनको ध्यान खिच्छन् । कतै अँध्यारा सांस्कृतिक संवेदनाहरूमा मन दुखी पार्छन् । कतै कविता लेखेजस्तोकतै आख्यानीकृत भए जस्तो यस्तै छन् प्रतीक ढकाल । खाद्यान्नको चरम अभावगरीबी र भोकमारीआर्थिक संकटका अनेकौं छिद्रहरू र तिनले कर्णालीका जनताहरूलाई दिएको पीडा सम्झेर कहालिन्छन् ।

तर उनमा एउटा खुबी छजस्तो छ परिवेश त्यस्तैमा रुझ्न र भिज्न सक्ने । त्यहाँका आम निम्न बर्गीयहरूको जिन्दगीको दशाको प्रत्याङ्कन गरेका छन् नियात्रामा । कतै बिरसिलो राग सुनाउँछन् उनी । कतै व्यंग्य कस्छन् त कतै हास्य गर्छन् । उनको लेखन शैली रोचक छ ।

यसरी उनी सबै बिरसिलो र रसिलो भावको बीचमा आफ्ना नियात्रा वर्णन गर्छन् । कतै उनले शासकहरूलाई झस्काइदिएका छन् । किन त्यहाँको बारेमा चासो र चिन्ता कम शासकहरूको भनेर प्रश्नात्मक चिन्हले घोचिरहन्छन् । त्यहाँ अमूल्य हिरा पाइन्छ । नियात्राकारले स्वर्गको एक टुक्रा हो कर्णाली निराश हुन जरुरी छैन,त्यो उज्यालो कर्णाली हो भनेर सबैमा आशाको सञ्चार झंकृत गराउन प्रशस्त शब्द खर्च गरेका छन् । तथ्यमा टेकेका छन् उनी यात्राको तिर्खा मेट्ने उनको लालसा देखिन्छ यहाँ । के छैन यहाँ स्थानीयताको चर्चैचर्चामुगुहुम्लाजुम्लाकालिकोट लगायतको भाषा । साहित्यकार कृष्ण धारावासीका शब्द सापट लिने हो भने एउटा काव्य कृति पढिरहेको जस्तो लाग्छ ‘त्यो उज्यालो कर्णाली’ । खस आर्य भाषा र संस्कृतिको जननी कर्णालीको समग्र तस्वीर हेरिरहे जस्तो भान पर्छ ।

यहाँ कहाँ अभाव र विपन्नताको मात्रै कुरा छ र⁄ त्यो त सतही हो । गहिराइमा पुगेर अध्ययन गरेपछि नियात्राकारले उजागर गरे । त्यहाँ पाइने गौरव गर्न योग्य सम्पदाहरू । नेपालको समग्र संवृद्धि प्राप्तिका लागि अनन्त सम्भावनाको उज्यालो क्षेत्र कर्णाली । कर्णालीलाई हेर्ने दुवै मनस्थितिको चित्र अंकित गरिएको छ । यो कृति आफैंमा रोचक छ ।

ढकालको प्रखर अभिव्यक्ति मिसिएकोकर्णालीको सांस्कृतिक गरिमाको खोज गरिएको नियात्रा साहित्यमा पृथक् पहिचान दिन सफल कृति हो। यसमा नियात्राकारमा भएको काव्यबीज पनि छर्किएको छ । कोमलता र माधुर्यता पनि भरिएको छ । खोजद्वारा भेटिएका ज्ञानहरू भण्डारण पनि गरिएको छ । प्रकृति,यात्राका अनुभूति र तिनमा बनेका बिम्बहरूको गजबको संयोजनले पाठकहरूले एउटा बौद्धिक खुराक पाएको महसुस गर्न सक्छन् । कर्णालीको हुङ्कार बोलेका छन् ।

त्यहाँको भविष्यवोध गराउन सकेका छन् । त्यताका भौगोलिक परिवेश र सामाजिक जीवनका अनेकौं मार्मिक चित्रहरू कोरेका छन् ।यथार्थखोजभेटघाटअनुसन्धान समेत गरी त्यसमा आफ्ना भावहरू घोलेर स्वादु बनाएका छन् । लाग्छ प्रतीक ढकाल चिन्तनशील नियात्राकार हुन् । माटोप्रेम उनका लेखनीको ढुकढुकी हो । यात्रामा रमाउन सिपालु । आत्मपरकताको धुन बजाएका छन् । निजात्मक अभिव्यक्तिमा रमाएका छन् । तथ्यमा टेक्छन् । खोज र अनुसन्धान गरेर मात्र लेख्छन् । उनको अभिव्यक्तिमा रोचकता छ । सिर्जनाका सोपानहरूमा निरन्तरता छ । खै के शब्दमा लेख्ने अब त्यो उज्यालो कर्णालीमा गम्भीर चिन्तन पनि छ । अनि कर्णालीको चिन्ता पनि । उनको यात्रामा निरिक्षणको पक्ष छ, विश्लेषण छ । सूत्रात्मक रूपमा लेख्छन् तर उन्मुक्त भएर वर्णन गर्न सिपालु छन् ।

कर्णाली प्रदेशका हरेक विषयलाई खोतलेर पाठक सामु पस्कने प्रशंसनीय प्रयास गरेका नियात्राकार प्रतीक ढकालले नियात्रामा हिजोको उचाइमा अझ अग्लो उचाइ बनाएका छन् । पर्वतीय नियात्रा लेखनीमा समेत ख्याति कमाएका प्रतीक ढकालको यो कृति वास्तवमै जीवन्त कृति बनेको छ । नेपाली नियात्रा साहित्यको उन्नयनमा उनको निभ अझै तीखो बनेर चोभियोस् । शुभकामना ।