यति थोरै पनि कति धेरै सूचना दिन सक्नुभएको ? यसमा आएको समालोचकीय चेत सारै मन पर्यो मलाई । दाजु, निबन्धका यी अंश निबन्ध मात्र नभएर निसमालोचनाका अंश जस्ता पो लागे त मलाई ।
(कवि श्यामल अर्थात्
फकिर स्वभावका कवि हुन् । उनलाई उनको वास्तविक नामले सायद कसैकसैले चिन्लान् । उनी चितवनतिर पनि बेलाबेलामा बरालिने गर्छन् । समालोचकहरू उनलाई भूपी र रिमालका असली सन्तान मान्छन् । यसरी आधुनिक कवितामा जमेका उनै श्यामल कहिलेकाहीँ निबन्ध पनि लेख्दा रहेछन् । त्यसरी लेखिएका निबन्धको संकलन हो, ‘रित्तो गाउँ’ । यो चिठी सोही निबन्धकृति पढेपछि लेखिएको हो ।)
मिति : २०८१ भदौ १० कृष्ण जन्माष्टमी
स्थान : भरतपुर, चितवन ।
आदरणीय लेखक श्यामल दाजु,
नमस्कार अनि सम्झना !
यता चितवनतिर मेरो हालचाल ठिकै छ । आशा छ काठमाडौँतिर तपाईं पनि ठिकै हुनुहोला । हाम्रो चितवनतिर त अझै पनि गर्मी नै छ । त्यता काठमाडौंतिर कस्तो छ कुन्नि ? यता त पानी परिरहेको छ । त्यता पानी कत्तिको परेको छ ? बदलिंदो मौसमले यहाँको लेखनमा कत्तिको प्रभाव परेको छ ? यहाँको लेखनीले गति त पक्कै लिएकै होला ।
अनि साँच्ची, तपाईं चितवन आएको कुरा पनि फेसबुक हेरेर थाहा पाउनुपर्ने दिन आएछ । अलिक व्यस्त भएर पो हो कि ? जे भए पनि यस पालिको चितवनको गर्मी चाखेर जानुभएछ । खुशी लाग्यो । काठमाडौँ फर्कनुअघि तपाईं पसेको सम्पूर्ण किताबमा म बेलुका पसेको थिएँ । तपाईंलाई नभेटे पनि तपाईंको ‘रित्तो गाउँ’ भेटें । तपाईंलाई भेटेजस्तै भयो ।
श्यामल दाजु ! मलाई तपाईंका कविता मन पर्छन् । कविता मात्र नभई तपाईं स्वयम् पनि मेरो मन परेको लेखक हो । मन परेको लेखक आफ्नो ठाउँमा आउनु र भेट्न नपाउनुले पाठकलाई नमज्जा त लाग्छ नै । मलाई पनि त्यस्तै लागेको हो । सामाजिक सञ्जालमा तपाईं आउनुभएको खबर त हेरेकै हो । तर के गर्नु हामी गरिखाने वर्गका मान्छेलाई भन्ने बित्तिकै समय नमिल्दो रहेछ ।
मैले तपाईंलाई प्रत्यक्ष रूपमा भेट्न नपाएपछि यो चिठी लेखेको हुँ । मलाई आशा छ, तपाईंले पक्कै पनि यो पढ्नु हुनेछ । यो सूचना र प्रविधिको जमानामा पनि फोन, च्याट, मेसेज नगरेर मचाहिँ चिठी नै लेख्दै छु । चिठी लेख्नुको मज्जा अरूमा छैन भन्नेमा ढुक्क छु म । हो, यो चिठी पढेपछि तपाईंलाई पनि रमाइलै लाग्ला । हैन र दाजु ?
तपाईंले आफ्नो निबन्धकृति ‘रित्तो गाउँ’मा २० वटा निबन्ध राख्नुभएको रहेछ । मैले सबै निबन्ध सर्सती पढें । पढ्दा मज्जा आयो । एउटा कालखण्ड राम्ररी उतार्नुभएको रहेछ । मैले तपाईंका कवितामा काठमाडौँ बढी पढेको थिएँ । यसमा बल्ल दैलेख, नेपालगञ्ज पढ्न पाइयो । यसमा तपाईंले तपाईंसँग कुनै न कुनै रूपमा सम्बन्ध जोडिएका लेखकका बारेमा लेख्नुभएको रहेछ । पहिलो निबन्ध नै चितवनका स्रष्टा रेशम विरहीमाथि लेख्नुभएको रहेछ । ‘पिङजस्तो हल्लिरहेको जिन्दगी’ शीर्षकको निबन्धमा रेशम विरहीका बारेमा लेखिएका यी पंक्तिहरू मार्मिका लागे :
“रेशम उसो त त्यसै बस्ने मनुवा थिएन । लखेटाई, निराशा र स्वध्ययनका बीच उसलाई एक साहित्यिक पत्रिका निकाल्नुपर्छ भन्ने लाग्यो । अनिल सिग्देल र दिलीप कार्की नामका आफ्ना अल्लारे साथीहरू राखेर त्यतिबेलाको जिल्ला पञ्चायतको अतिथिगृहमा उसले बैठक ग¥यो । पत्रिकाको नाम भयो – ‘आरन’ ।” (पृष्ठ : २०)
यी पंक्तिहरू पढिरहँदा चितवनको साहित्यिक इतिहास पढेजस्तो लाग्यो । यसले विगतमा मात्र पुर्याएन आफू पनि चितवनको भएकाले खुशी नै लाग्यो । यसका लागि दाजुलाई धन्यवाद !
श्यामल दाजु ! भूपी शेरचन मलाई पनि बिछट्टै मन पर्ने कवि हुन् । उनीसँग सम्बन्धित दुई वटा निबन्ध रहेछन्, एउटा स्मृति र अर्को नियात्रा । यी निबन्धले भूपीको याद ताजा गराइदियो । मलाई यत्तिले मात्र पुगेन । यहाँले भूपीका बारेमा सिङ्गै किताब लेख्नुपर्छ भन्ने आग्रह छ मेरो ।
यहाँको निबन्धमा वासु शशी, ईश्वरवल्लभ, गोविन्द वर्तमान, कृष्णचन्द्रसिंह प्रधान, गोविन्द गोठाले र रूपचन्द्र विष्ट मात्र किन अटाए ? बाँकी मूर्धन्य स्रष्टाका बारेमा किन मौन बस्नुभएको ? हामीले तिनका बारेमा कहिले पढ्न पाउने ?
यहाँले रेशम विरही बाहेक अन्य जीवित स्रष्टाका बारेमा किन नलेख्नुभएको ? नारायण ढकाललाई लेख्न पनि विमोचन समारोह कुर्नुपर्ने ? उनका किताबसँग हेटौंडा सयर गराउनुपर्ने ? यी कुरा मलाई अलिक चित्त बुझेन दाजु । एउटा पाठक भएका नाताले मैले प्रश्न गर्न पाउनुपर्छ ।
श्यामल दाजु ! तपाईंले गोविन्द वर्तमानलाई राम्ररी झेल्नुभएको रहेछ । म त उनका सोह्र साँझ पढेर रमाएको पाठक हुँ । उनले द्वन्द्वको समयलाई पनि कति मार्मिक तरिकाले चित्रण गरेका छन् त्यो कृतिमा । उनी कसरी बाँचे ? आफ्नै बारेमा उनी के सोच्थे ? मलाई केही थाहा थिएन । तपाईंले ‘जीवनबाटै फरार भयो वर्तमान’ शीर्षकको निबन्धमा उनका बारेमा लेखेका यी हरफहरूले निकै भावुक बनायो :
“आफ्ना कमजोरीमाथि ठट्टा गर्नेको ऊ दुश्मन थियो । गह्रुँगो बोल्थ्यो, कतिलाई उसको यस्तो बानी पच्दैनथ्यो । उसले धेरै कविता लेखेको थिएन, तर आफ्नो कलमका प्रशंसकको संख्या निकै बढाएको थियो । हक्की खालका उसका निबन्धहरूले पनि उसको कविपनलाई निखार्न मद्दत गरिरहेका थिए ।” (पृष्ठ : ५९)
यति थोरै पनि कति धेरै सूचना दिन सक्नुभएको ? यसमा आएको समालोचकीय चेत सारै मन पर्यो मलाई । दाजु, निबन्धका यी अंश निबन्ध मात्र नभएर निसमालोचनाका अंश जस्ता पो लागे त मलाई ।
श्यामल दाजु ! तपाईंसँग दैलेखको जाडोमा जन्मी हुर्केको र कालान्तरमा काठमाडौँबासी बनिसक्नुभएको व्यक्ति हुनुहुन्छ । केही समय नेपालगञ्जको गर्मी झेल्नुभएछ । बाँकी त गर्मी झेल्नुभएको छैन होला । म चितवनको स्थायी बासिन्दा । गर्मी झेल्नु मेरो रहर मात्र नभएर बाध्यता पनि हो । हामी चितवनेहरू यहाँको गर्मीलाई सहज मान्छौँ ।
गर्मीकै बारेमा यहाँको निबन्ध रहेछ, ‘गर्मीको स्वाद’ । कृतिभरी मलाई सबैभन्दा बढी मन परेको निबन्ध यही हो । यसमा नेपाल र भारतका विभिन्न ठाउँमा गरिएका गर्मीसम्बन्धी अनुभवहरू आएका छन् । त्यति मात्र नभएर प्रेम, यात्रा, संस्मरण, व्यंग्य आदि मिसिएर बनेको छ यो निबन्ध । यसमा तपाईंले गर्नुभएको यो बयान अलिक बुझिनँ :
गर्मी यामका आफ्नै विशिष्टता हुन्छन् । त्यसैताका पहाडमा काफल पाक्छ र काफल पाक्यो चराले वनजंगललाई आफ्नो सुमधुर आवाजले गुञ्जायमान पार्छ । भर्खरै बिहे गरेका युवतीको मन त्यतिवेला एकतमासले आफ्नो माइती र पूर्वप्रेमीसँग बिताएका क्षणतिर फर्कन्छ । उदासीले तिनको मन विरक्त हुन्छ, तर तुरुन्तै ती दुनियाँको कठोर यथार्थतिर फर्कन्छन् । (पृष्ठ : १४४)
गर्मीमा नवविवाहित युवतीले आफ्नो पूर्वप्रेमीलाई सम्झन्छन् भन्ने भनाइ कुन अनुसन्धानसँग सम्बन्धित छ ? यसका बारेमा कुन मनोवैज्ञानिकले कुन लेखमा बताएका छन् ? पूर्वप्रेमीलाई सम्झिन गर्मी नै किन कुर्नुपर्छ र ? यो कुरा मेरो दिमागमा पटक्कै छिरेन दाजु ।
श्यामल दाजु ! मैले सिङ्गो निबन्ध पढिसक्दा तपाईंको वामपन्थीलाई राम्ररी नियालें । हो, तपाईं कुनै कम्युनिस्ट दल विशेषसँग नजोडिएको भए पनि मार्क्सवादी विचारलाई राम्ररी बोकेर हिँडेको स्रष्टा हो भन्ने कुरा यी निबन्धले पुष्टि गरेका छन् । स्रष्टाका बारेमा चर्चा गर्दा पनि सोही चस्माको प्रयोग अत्यधिक भएको पाएँ मैले । त्यो कत्तिको जायज हो ? आखिर स्रष्टा त स्रष्टा नै हो नि हैन र ?
कलम रोक्नुअघि केही कुरा भन्नै पर्छ भन्ने लाग्छ । यहाँको पुस्तकप्रेमलाई सलाम छ । यहाँलाई ‘नेपाली महिलाको अनुहारको पोतो’ र ‘रुपचन्द्रको अर्को’ पाटो निबन्ध अलिक हतारमा टुङ्ग्याएँ कि भन्ने लाग्दैन ? कि मलाई मात्र त्यस्तो लागेको हो ? यहाँको कविताको त म फ्यान थिएँ नै यो निबन्धको भाषाको पनि फ्यान भएँ म । यो कृति निस्केको पनि ७ वर्ष पुगिसकेछ । अब छिट्टै अर्को निबन्धकृति पढ्न पाऊँ भन्दै बिदा माग्छु । हवस् त दाजु, नमस्कार ।
उही तपाईंलाई पढिरहने भाइ,
रमेश प्रभात !
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।