अध्यात्म जीवन जिउने सुन्दर कला हो जसले वर्तमान, भूत र भविष्यको रहस्यलाई खोतल्ने प्रयत्न गर्दछ । आध्यात्मिक सुख विषयको सुखभन्दा भिन्न छ । यो आफूभित्रबाटै प्राप्त परमानन्दको स्थिति हो । मन, बुद्धि, चित्त र अहङ्कार शान्त भएपछि प्राप्त हुने आध्यात्मिक सुखमा ध्यान र आत्मासम्बन्धी ज्ञानको विशेष प्रभाव हुन्छ ।
भौतिकवादीले भनेझैं इच्छा पूरा हुँदैमा आनन्द प्राप्त हुने कुरामा यसले विश्वास गर्दैन । ऊँकारलाई परम तत्व मान्ने अध्यात्मवादीहरू मन शान्त भएपछि आत्माको अनुभव हुने विश्वास गर्दछन् । समाधिबाट मात्रै योगीले शान्त मनमा आत्माको अनुभूति गर्न सक्ने यिनको मत छ । आत्माको अमरत्वमा विश्वास गर्ने अध्यात्मवादी चिन्तन शरीरलाई क्षणिक मानी आत्मा अविकारी र अविनाशी एवम् अमर भएको बताउँछ । योग, साधना, ध्यान र तपस्यामा लीन हुँदा चैतन्यको भित्री तहबाट सत्यलाई नियाल्न सकिने विश्वास अध्यात्मवादमा छ । यही सत्य नै वास्तविक सत्य मान्ने पात्रलाई केन्द्रमा उभ्याएर अँध्यारोभित्र उज्याला सम्भावनाको खोजी गर्दै देखापरेको उपन्यास हो : अनिता कोइरालाको उज्यालो औंसी (२०८१) ।
विपर्यासयुक्त दुई शब्दको चयन गरी शीर्षकीकरण गरिएको कोइरालाको उज्यालो औंसी स्वैरकाल्पनिक शैलीयुक्त यथार्थ उपन्यास हो । यसमा माध्यमिक कालीन लेखन प्रवृत्तिभित्र आधुनिक समयको कथाको अन्तर्घुलन गरिएको छ । भ्रुणावस्थाको पात्रको मनस्थितिलाई स्वैरकल्पनाको रङ पोतेर शुरू गरिएको कथानक यथार्थ र कल्पनाको मिश्रणबाटै विकसित हुँदै अगाडि बढेको छ ।
नेपालको राजनीतिमा विभिन्न समयमा देखापरेका द्वन्द्व, युद्ध, हिंसा र त्यसले निम्त्याएको दुर्दशाका कारण जनजीवनमा पर्न गएको क्षतिको प्रतिनिधित्व यस उपन्यासले गरेको छ । विभिन्न स्वार्थले विचारशून्य भएर बिल्ला भिराउने प्रवृत्ति, बदलाका भाव र हिंसा फलदायी कदापि हुँदैन । कसैको जितको शङ्खनाद कसैका लागि बर्बादीको सूत्रपात हुन्छ । एउटाले मानेको वा देखेको सत्य शतप्रतिशत सत्य नहुन सक्छ । सीमित स्वार्थका लागि बुनिएका प्रपञ्चले असीमित उत्पीडनको महल खडा गरिदिन सक्छ । सकारात्मक कदमको प्रशंसा र पुरस्कारका बदलामा मिलेको मृत्युदण्ड न्यायको धब्बा बनेर युगयुग चित्कार गरिरहन्छ भन्ने तथ्यलाई यस उपन्यासले कलात्मक रूपमा उजागर गरेको छ ।
म पात्रको केन्द्रीय भूमिका रहेको यो उपन्यास गर्भावस्थादेखि २५ वर्षको उमेरसम्मको कथाको समयावधिमा बाँधिएको छ । आफ्नो बाबुलाई मार्ने षड्यन्त्र रचिरहेका दुष्टहरूको मतियार, योजना तथा क्रियाकलापलाई प्रत्यक्ष नियालिरहेकी भ्रूण बालिकाको प्रस्तुतिले उपन्यासलाई रोचक बनाएको छ । प्रथमपुरुष दृष्टिविन्दुको प्रयोग गरी भ्रूण म पात्रमार्फत प्रस्तुत गरिएको अभिव्यक्तिले पाठकको मथिङ्गल हल्लाउँछ । उसको आत्मानुभूति, प्रस्तुति तथा क्रियाकलाप असम्भव र अविश्वसनीय प्रतीत हुन्छ । यसले उपन्यासलाई यथार्थबाट पर धकेलेर स्वैरकल्पनाको पगरी गुथाएको छ ।
बाबुको मृत्युपछि गर्भेटुहुरीका रूपमा सानी बालिकाले भोग्नुपरेको घोचपेच, घृणा, उत्पीडन भने तत्कालीन नेपाली समाजको ऐना बनेर उभिएको छ । यसले बालमस्तिष्कमा एकातिर बीभत्स हत्याको दृश्यको स्मृतिका कारण पर्न गएको मानसिक अभिघातलाई जीवन्त चित्रण गरेको छ भने अर्कातिर समाजले बाबुटोकुवीको उपमा दिँदै लगाएको अनेक लाञ्छना, गरेको दुर्व्यवहार र नकारात्मक दृष्टिले अबोध बालिकामा पर्न गएको मानसिक असरलाई सशक्त रूपमा प्रस्तुत गरेको छ । गर्भेटुहुरी छोरीको आत्मकथालाई मूल विषय बनाइएको यस उपन्यासले राजनीतिक, सामाजिक, सांस्कृतिक, पारिवारिक, लैंगिक एवम् भौगोलिक दृश्यमार्फत तत्कालीन समाजको फोटोग्राफी उतारेको छ ।
सामन्तीका नाममा सज्जन व्यक्तिमाथिको अत्याचारको पराकाष्ठाले निम्त्याएको मनोवैज्ञानिक असरलाई छोरीका अनुभूति र भोगाइमार्फत यसमा प्रस्तुत गरिएको छ । म पात्रको बाबुआमाको आदर्शको कथालाई यसमा प्रमुख स्थान दिइएको छ । स्वैरकल्पना र सपनाका माध्यमबाट अधुरा इच्छा र रहरको पूर्ति भएको देखाइएको छ ।
पुरुषविना पनि उस्तै विरासत धानेर बसेका महिला पात्रको उपस्थितिले महिला सशक्तीकरणलाई बोध गराएको छ । म पात्रको आमा र हजुरआमामा मातृसत्तात्मक प्रवृत्ति हाबी देखिन्छ । निम्न वर्गका मानिसहरूको पीडा र अवस्थालाई पनि यस उपन्यासले समेटेको छ । चिने र उसका परिवारलाई घरेलु कामदारका रूपमा राखेता पनि परिवारकै सदस्यका रूपमा व्यवहार गर्ने प्रवृत्ति देखाइएको छ । म पात्रको बाबुले गरिब तथा निमुखाको ऋणमोचन गरिदिएको सन्दर्भ मानवताको दृष्टान्त बन्न पुगेको छ । पितृसत्ताले नारीमाथि हेर्ने दृष्टिकोण भने नकारात्मक छ । घरमा छोरीछोरी धेरै जन्मिएपछि हजुरआमाको दृष्टिकोण र कथन पितृसत्तात्मक छ ।
यसो भनिरहँदा नारी सशक्तीकरणको भूमिका निर्वाह गरिरहेका महिलामा महिलामाथिकै नकारात्मक दृष्टि उपन्यासको कमजोर पक्ष बनेको देखिन्छ ।
नेपाली समाजमा विधवा र गरीब नारीलाई हेर्ने दृष्टिकोण र भाष्य अत्यन्त डरलाग्दो देखिन्छ । यस्ता नारीलाई बोक्सीको आरोप लगाएर दुर्व्यवहार गर्ने, मलमुत्र खुवाउने र गाउँ निकाला गरिदिने वा मारिदिने प्रवृत्तिलाई यस उपन्यासले उजागर गरेको छ ।
भिमान, सिन्धुली, जनकपुर र काठमाडौंलाई परिवेश बनाइएको यस उपन्यासको बढी भूभाग भिमानकै चित्रणमा समेटिएको छ । जातीय, वर्गीय, लैंगिक उत्पीडनलाई छर्लङ्ग देखाइएको यस उपन्यासमा रूढिवादी सोच र चिन्तन पनि उत्तिकै हाबी बनेको छ । भविष्यवाणीमा विश्वास गर्ने, हात हेराउने, सपनामाथि विश्वास गर्ने प्रवृत्ति यस उपन्यासका पात्रमा भेटिन्छ । भिमानबाट पढ्नका लागि जनकपुर पुगेकी म पात्रको जीवनमा आएको आकस्मिक परिवर्तन अनौठो बनिदिन्छ । खासमा जनकपुरको क्याम्पसमा शिक्षकसँगको पहिलो भेटबाटै बदलिएको म पात्रको मन आकस्मिकताकै उदाहरण हो । शिक्षकलाई भेटेपछि सकारात्मक चिन्तनको विकास भएको, जीवनमा जे पनि गर्न सकिन्छ भन्ने हिम्मत बढेको सन्दर्भ उपन्यासमा भेटिन्छ ।
बुबा र हजुरबुबाको आदर्शीकरणको पुनरावृत्तिसँगै आमा र हजुरआमाप्रतिको सकारात्मक चिन्तनको पनि आधिक्य यसमा पाइन्छ । नारी शक्तिहरू पुरुषविना पनि अविचलित भएर चुस्त दुरुस्त रूपमा घरव्यवहार, समाजसेवा तथा अध्यात्ममा सशक्त रूपमा अघि बढिरहेको सन्दर्भ एकातिर देखिन्छ भने अर्कातिर बाबु, हजुरबुबा र प्रेमीकै याद तथा विलापमा पच्चिसौँ वसन्त पार गरिसकेकी म पात्रको अवस्थाले सन्दिग्ध चेतनालाई द्योतन गरिरहेको छ । ध्यान, योग र चिन्तनको स्थितिसँग स्वैरकल्पनाको मेल गर्न खोजिएको यस उपन्यासमा अध्यात्मको फागलाई स्वैरकल्पनाको रागले थिचेको देखिन्छ ।
यस उपन्यासले अध्यात्म, ध्यान र योगसम्बन्धी चिन्तन र त्यसले कोरेको मार्गदर्शनको पूर्वज्ञान भएको पाठकको अपेक्षा गरेको छ । सामान्य पाठकलाई एक पटकको पढाइले सहजै सन्देशमा पुग्न नसक्दा भावबोधमा कठिनाइ हुने भय पैदा गर्दछ । ठूला र लामा अनुच्छेद रचनाको आधिक्य, पुनरावृत्तियुक्त कथन, भाषिक त्रुटिले पनि यस उपन्यासको गरिमालाई ओझेल पारेको छ ।
तथापि उपन्यासकारको पहिलो उपन्यास नै आध्यात्मिक चेतलाई बालमनोविज्ञानको कसीमा ढाल्नसक्ने शक्ति सह्रानीय बन्न पुगेको छ । सामन्त घोषित गरिएका निर्दोष व्यक्तिहरूको दृष्टिकोणबाट लेखिएको यस उपन्यासले नखाएको विष लागेका तत्कालीन तथा सम्भाव्य पीडितहरूको प्रतिनिधित्व गरेको छ । यसले जीत र हारको खेलमा असत्यको भ्रमबाट पैदा भएको पारिवारिक उत्पीडन एवम् दुर्घटनाप्रति पनि खबरदारी गरेको छ । सिर्जनाका माध्यमबाट आत्मज्ञान एवम् शान्ति र मोक्षको मार्ग पछ्याउँदै जीवन जिउने सकारात्मक ऊर्जा पैदा हुने आध्यात्मिक चेतनाको उज्यालोलाई अनेक समस्या र चुनौतीका औंसी चिरेर खोजी गर्नु यस उपन्यासको पृथक् र सशक्त पाटो बन्न पुगेको छ ।
लेखकको आगामी लेखनीमा थप ऊर्जा मिलोस् भन्दै नवनव आयाममा परिष्कृत लेखनप्रति निरन्तरताको शुभकामना समेत व्यक्त गर्दछु ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।