हालसालै भर्जिनियाको मनासस शहरमा साहित्यकार अशोकनाथ तिवारीद्वारा लेखिएका पाँच कृतिहरूको विमोचन कार्यक्रम राखिएको थियो । ‘मैले नाचिनेको म’, ‘हिरासत’, चुनौती, पितृलोकको वर्णन र मैजु महारानीको सामूहिक रूपमा एकै साथ विमोचन गरिएको थियो । विमोचित ती पुस्तकहरूमा ‘मैले नचिनेको म’ आध्यात्मिक चिन्तनप्रधान निबन्धसंग्रह , ‘हिरासत’ आध्यात्मिक चिन्तनप्रधान निबन्धसंग्रह, ‘चुनौती’ चिन्तनप्रधान निबन्धसंग्रह , ‘पितृलोकको वर्णन’ आध्यात्मिक चिन्तनप्रधान निबन्धसंग्रह हुन् भने ‘मैजु महारानी’ ऐतिहासिक विषयवस्तुमा आधारित पुस्तक भनी उल्लेख गरिएको पाइन्छ ।

सो विमोचन कार्यक्रममा मैले ‘मैजु महारानी’ पुस्तकको बारेमा आफ्नो विचार व्यक्त गरेको थिएँ । यस लेखमा मेरो पाठकीय धारणाका केही शब्दहरू कोर्ने जमर्को गरेको छु ।

यस कृतिका लेखक तथा साहित्यकार मेरो पुरानो मित्र हुन् । धेरै वर्षपछि अचानक उनको फोन बज्यो एक सुन्दर बिहानी भर्जिनियामा । मलाई थाहा पनि थिएन उनी यतै अमेरिकामा बस्न थालेको पनि थुप्रै वर्ष भै सकेछ । उनका यी पाँच कृति गरी एघार साहित्यिक कृतिहरू पनि प्रकाशित भै नै सकेका रहेछन् । तर म नादान उनको कुनै कृतिको पाठक मात्र होइन उनी लेख्छन् भनेर थाहा पत्तो पनि पाइन ।

धेरै पछिको फोन वार्तालापमा पुरानो सम्झनालाई ताजा बनायौं । अनि वर्तमानमा फर्कियौं । उनको नवीनतम ती पाँच कृतिको विमोचन र एउटा कृतिको बारेमा मैले बोल्नु पर्ने । पुरानो मित्र सम्झेर फोन गरेको अनुरोध टार्न सक्ने त कुरै भएन । उनले तिन वटा महाकाव्य पनि प्रकाशित गरिसकेका रहेछन् । कानुनका प्राध्यापक, अधिवक्ता अनि राजसभाका सदस्य भएर धेरै अनुभव बटुलिसकेर स्थापित साहित्यकार पनि बनिसकेका रहेछन् ।

अशोक जी मेरो चिर परिचित पुरानो मित्र हुन् । उमेरको हिसाबले पनि हामी एकै सालका । जन्मसाल मात्र मिलेको होइन  साहित्य पनि हामी दुवैको रुचि र सौखको विषय मिलेको छ  !

मैजु महारानी एक ऐतिहासिक विषयवस्तुमा आधारित कृति हो । यस कृतिमा १३ विभिन्न शीर्षकमा मल्लकालीन ऐतिहासिक घटनाक्रमका विषयवस्तुलाई लेखकले आफ्नो शिल्प र शैलीमा पाठकलाई प्रष्ट्याउने प्रयत्न गरेका छन् ।

१८७ पृष्ठको यो पुस्तक हिमालय प्रतिष्ठान, अनाम नगर काठमाडौंबाट प्रकाशित भएको छ ।

यस कृतिलाई विधागत हिसाबले ऐतिहासिक विषयवस्तुमा आधारित भनिएको छ । साहित्यका कुनै पनि विधामा यो कृति  उल्लेख गरिएको पाइएन । कृति अध्ययन गरेपछि लाग्यो यो कृति ऐतिहासिक घटनामा आधारित उपन्यास हो । ऐतिहासिक विषयवस्तुलाई घटना प्रधानको रूपमा शिल्प र कथ्यको नवीनतम नमूनाको उपन्यासकोको रूपमा लेखकले यस कृतिलाई सरल, बोधगम्य र सुललित तवरले यो कृति सिर्जना गरेको पाइन्छ । यो कृति औपन्यासिक कथ्य र शिल्पले सजिएको छ भन्दा फरक पर्दैन ! तसर्थ यो कृति ‘ ऐतिहासिक घटनामा आधारित उपन्यास’ हो भन्ने मेरो बुझाई छ  !

यो कृति बारेमा कसै कसैले निबन्ध संग्रह हो भनेका छन् । तर मलाई त्यस्तो लाग्दैन  किनकि निबन्ध भन्नाले कुनै पनि विषयलाई लिएर कल्पनात्मक वा बस्तुगत पाराले गद्यमा लेखिएको छोटो साहित्यिक रचनालाई निबन्ध भनिन्छ । यसर्थ यो पुस्तकमा कुनै छोटो छोटो विभिन्न शीर्षकमा निबन्धहरू छैनन् । यो सम्पूर्ण पुस्तक सिर्फ मैजु महारानीको बारेमा र उनको जीवनमा घटेको विभिन्न घटनाको फेहरिस्त हो । तथ्यगत घटनालाई औपन्यासिक कथ्यले यो पुस्तक रोचक बनाएको छ ।

यो पुस्तकमा मल्लकालीन राज्य व्यवस्थामा भएको अन्याय, अत्याचार, महिला हिंसा र क्रूर शासन शैलीको नै प्रमुख मुद्दाको रूपमा यस पुस्तकमा व्याख्या गरिएको छ । मल्लकालीन समयमा टुक्रा टुक्रामा विभाजित राज्यमा भएको अशान्ति र असुरक्षाको कारण नै  पृथ्वीनारायण शाहलाई नेपाल खाल्डो जित्न सहज भएको व्याख्या गरिएको छ ।

मयजु महारानीको यस पुस्तकमा १३ वटा अध्यायका विभिन्न शीर्षकमा मयजु महारानीको कथा व्यथा समेटिएको छ ।

वास्तवमा यो ‘मैजु महारानी’ पुस्तक काजी त्रिभुवन प्रधानकी छ वर्षको उमेरको छोरी मैजु प्रधान राजनैतिक षडयन्त्रको शिकार बनी उनको जीवनमा आइपरेका अनेक यातना र पीडादायी घटनाको शिकार भै अन्तमा बडामहाराजा धिराज पृथ्वी नारायण शाहका छोरा राजकुमार प्रताप सिंह शाहसँग विवाह गरी दरबार यात्राका संघर्षशील, पीडादायी र आरोह अवरोहका रोमाञ्चक घटनाको कथा हो ।

यस पुस्तकको प्रत्येक अध्यायका केही रोचक प्रसङ्गलाई यहाँ मैले समेट्ने प्रयत्न गरेको छु ।

१. मैजु महारानीको जन्म’ 

यस अध्यायमा मा काजी त्रिभुवन प्रधानको छोरी मैजु प्रधानको जन्म अनुमानित रूपमा लेखकले विसं १८२१ राखिएको छ । पृथ्वीनारायण शाहले काठमाडौं उपत्यका जिते पछि आफ्नो छोरा प्रताप सिंह शाह र युवराज्ञी राजेन्द्रलक्ष्मी लाई काठमाडौँ मा राखिएको पाइन्छ ।

भावी राजाले नेपाल देशको मूल थलोको रूपमा रहेको उपत्यकाका नेवारका भाषा, संस्कृति, संस्कार, चाडपर्व जात्रा आदि को ज्ञानको लागि  राजकुमार प्रताप सिंह शाह र युवराज्ञी राजेन्द्र लक्ष्मी हनुमान ढोका दरबारमा बस्न थालेको प्रसङ्ग यस अध्यायमा समेटिएको छ ।

प्रताप सिंहले नेवारी संस्कार र संस्कृतिको ज्ञान लिदै जाने सन्दर्भमा तन्त्र विद्या पनि सिक्ने सन्दर्भमा एउटी अबोध बालिका मैजु महारानी सँगको प्रत्यक्ष भेटको सन्दर्भ उल्लेख गरिएको छ । एउटी अबोध बालिका लाई तन्त्र विधाको नाममा बालिकाको शोषण र अत्याचार गरिएको छोटो प्रसङ्ग यहाँ उल्लेख गरिएको पाइन्छ ।

२. ‘तिनताकाको उपत्यका’

मल्ल राजा यक्ष मल्लको प्रादुर्भावको कथा छ । उनको वीरता र शौर्यकलाले आफ्नो राज्य लाई विस्तार गर्न सफल भएको । त्यसरी विस्तार गरेको राज्यलाई राजा यक्ष मल्लले आफ्नै छोरा छोरी, ज्वाइँ लाई राज्य नै  पैत्रिक सम्पत्ति जसरी बाँडफाँड गरी साना साना टुक्रामा विभाजित गरी राज्यमा असन्तोष, कलह र विग्रह को शुरूवात गरेको चर्चा यहाँ गरिएको छ । राजा यक्ष मल्लको अदूरदर्शी निर्णयले गर्दा देशको दयनीय अवस्था र आम जनतामा डर, त्रास र भयको वातावरण सिर्जना भएको फेहरिस्त पढ्न पाइन्छ । सत्ताको लोभ र मोहमा आफ्नै वंशभित्र चलेको संघर्षले जनतामा पर्न गएको अन्याय र अत्याचारको वर्णन गरिएको पाइन्छ । यस अध्यायमा मल्ल वंशको विकास र विनाशको विस्तृत चर्चा परिचर्चा गरिएको छ ।

३. थकालीसँगको भेट 

मल्लकालीन राज्य सत्ता च्युत भै पृथ्वी नारायण शाहको उदयको कथा । राजा पृथ्वी नारायण शाह र उपत्यकावासी सँगको सहकार्यका कथा समावेश छन् । जीवित देवी कुमारी लाई राजाले ढोगेर कुमारी भित्र्याए पछि प्रजा खुशी भएको विवरण यस अध्यायमा पढ्न पाइन्छ  ।

साथै यस अध्यायमा मल्लकालमा भएका नारी उत्पीडन, हिंसा, अन्याय र अत्याचारका कथा पनि उल्लेखित छ । जो आज पनि केही अंशमा यस समाजमा टड्कारै देखिन्छ ।

४. षडयन्त्र

यस अध्यायमा मल्ल राजालाई विस्थापित गरी शाह वंशको राज्य भै सके पछि मल्ल राजाका बफादार गणहरूले विभिन्न बहानामा राजकुमार प्रताप सिंह शाह लाई जालमा फसाई राज्य नै हत्याउने या अन्य केही गर्ने षडयन्त्रको तानाबानाको कथा रहेको छ । नेवारको संस्कार, संस्कृति र गुठी परम्पराको बारेमा राजकुमारलाई जानकारी दिने बहानामा आफ्नो वशमा पार्ने सम्मको षड्यन्त्रको फेहरिस्त यस अध्यायमा रहेको छ ।

५. अध्ययन शुरू 

वास्तवमा यो अध्याय एकदम महत्त्वपूर्ण रहेको मैले ठानेको छु । मल्लकालीन राजाका भारदारहरू जस्तै आमात्य, गुभाजु, पण्डितहरूले पृथ्वी नारायण शाहले राज्य नै लिइसके पछि राज्य संचालन गर्नको लागि नेवारी संस्कार, संस्कृति, गुठी अनि जात्रा परम्पराको ज्ञान लिन आवश्यक रहेको भनी राजकुमार प्रताप सिंह शाह लाई शिक्षा दिन शुरू गर्छन् ।

यस अध्यायमा ईन्द्रजात्राको महत्त्व, जात्राको शुरूवात र विशेषताको बारेमा विस्तृत जानकारी उल्लेख गरिएको छ । त्यसै गरी गुठीको महत्त्व, किसिम र आवश्यकता को बारेमा पनि विशेष चर्चा गरिएको छ । जसको कारण हामी पाठकलाई समेत ती सबैको जानकारी प्राप्त गर्ने अवसर मिल्छ ।  यस महत्त्वपूर्ण अध्यायको लागि लेखकले निकै अध्ययन अनुसन्धान गरी यो अध्याय तयार परेको प्रस्ट झल्किन्छ । यस अर्थमा लेखक धन्यवादका पात्र भएका छन् ।

६ युवराज युवराज्ञीका सल्लाह 

यो अर्को महत्त्वपूर्ण अध्याय हो । यस अध्यायमा युवराज्ञी राजेन्द्र लक्ष्मी लाई यो शिक्षा दीक्षा सबै षडयन्त्र हो भन्ने थाहा भै सकेको कारणले युवराजलाई यो तन्त्र विद्या सिक्न जरूरी छैन भनेर सल्लाह र सम्झाउने कुराहरूको फेहरिस्त यस अध्यायमा पाउँछौं । वास्तवमा तन्त्र विद्या सिक्नको लागि युवराजले अब्रह्मचर्य रहनु पर्ने कुरा थाहा भए पछि युवराज्ञीले युवराज लाई बिबाहको महत्त्व, नारीको महत्त्व र नर र नारीको सम्बन्धको बारेमा विस्तृत तवरले सम्झाउने कोशिश गरेका छन् ।

विशेष महत्त्वपूर्ण कुरा युवराज्ञीले युवराजलाई विवाह गर्नुपर्ने कारण महत्त्व, विशेषता र आवश्यकताको बारेमा सम्झाउने प्रयत्न गरेको देखिन्छ । यसै सिलसिलामा युवराज्ञीले नर र नारीको भिन्नता,  महत्वता,  विवाह र संसर्गको आवश्यकताको बारेमा युवराजलाई सम्झाएको पाइन्छ ।

लेखकले युवराज्ञी मार्फत सम्पूर्ण पाठकलाई नारीको चरित्र, महत्ता, गरिमा र गुणको लामो व्याख्या गरी सविस्तार पाठ पढाइएको छ । जुन अत्यन्त सराहनीय र निकै उच्चकोटीको अध्याय लाग्दछ । लेखकको गहन लेखनकलाले गर्दा लेखक एक स्थापित लेखक भएको प्रमाण यस अध्यायमा प्रष्ट झल्किन्छ ।

उदाहरणको रूपमा यस पन्तिलाई लिन सकिन्छ !

‘हे प्रिय नारी प्रकृति हो । प्रकृति सृष्टि थलो हो । प्रकृति धरा पनि हो । प्रकृति सदा हराभरा भएर सृष्टिको निरन्तरता दिई रहन्छे । हेर, प्रकृति,  सृष्टि संचालन गर्न नपाए पछि रिसाउँछे । सृष्टि संचालनका बाधक विरुद्ध ठुलो आँध बेहरी, तूफान, घनावृष्टि , अतिवृष्टि, बाढी पहिरो र भूकम्प बनेर त्यस्तो तत्त्वलाई नाश गर्छे ।’

यसमा नारी लाई सृष्टिसँग दाँजेर उनको विरुद्धमा आइलाग्ने र जाइलाग्नेको सर्वनाश हुनबाट कसैले रोक्न सक्दैन भनेर लेखकले आफ्नो सही दलिल पेश गरेको छ । जो अति उत्तम र सर्वमान्य सिद्धान्तमा आधारित नै छ ।

७. तन्त्र साधनको छलफल 

यस अध्यायमा युवराज र मल्लकालका अमात्यहरूसँग तन्त्र विद्या सिक्नको लागि पूर्वाधार आवश्यकताहरूको विविध विषयमा छलफलका रोचक अंशहरू पढ्न पाइन्छ ।

८. अबोध वालिका फाले मृत्यु मुख 

यस अध्यायमा काजी त्रिभुवन प्रधानकी अबोध बालिका वर्षले सिर्फ छ वर्षको बच्ची मयजु प्रधानलाई तन्त्र साधनमा आहुति दिन लागिएको दारुण कथाको चित्रण गरिएको छ । ती अबोध मैजुलाई के कसरी उपस्थित गराउने षडयन्त्रको ताना  बानाको फेहरिस्त यहाँ उल्लेख छ ।

तर युवराज्ञी राजेन्द्र लक्ष्मीको सुझ बुझ र बुद्धिमत्ता सोच, तर्कपूर्ण र अति मननयोग्य बिचारले त्यो षडयन्त्र सफल हुन् नसकेको कथा यस परिच्छेदमा उल्लेख गरिएको छ । त्यो षडयन्त्र सफल हुन सकेको भए के कस्तो आपत् विपतको स्थिति आउन सक्थ्यो भन्ने कुराको स्थितिको आंकलन पनि यहाँ संक्षेपमा दर्शाइएको पाइन्छ ।

९. धिक्कार छ, कस्तो निर्लज्ज गुरु (लेखमा शीर्षक राखिएको छि छि कस्तो निर्लज्ज गुरु)

यस अध्यायको शीर्षक दुई वटा भएको देखिएको छ । विषय सूचीमा ‘धिक्कार छ कस्तो निर्लज्ज गुरु’ भनी राखिएको छ भने भित्री आलेखमा भने ‘ छि छि कस्तो निर्लज्ज गुरु’ भनेर राखिएको छ । यो शायद सम्पादनको गल्ती हुन् सक्छ ।

यस अध्यायमा गुरु/ पुरोहितको महिमाको चर्चा गरिएको छ । गुरुको ज्ञान दिने धर्म के कस्तो वातावरणमा हुनु पर्छ । गुरु चेलाको सम्बन्ध कस्तो हुनु पर्छ भन्ने एक आम सबैको चासो, जिज्ञासा र जनहितको लागि यो लेख समर्पित छ भन्ने मैले सोचेको छु । गुरुले जस्तो ज्ञान दिने हो त्यही अनुसार नै चेलाको भविष्य हुने हुँदा गुरु छान्नु, र गुरुले आफ्नो असीमित ज्ञान लाई निस्वार्थ बाँड्नुपर्छ भन्ने कुराको चर्चा यस अध्यायमा गरिएको छ ।

१०. तन्त्र साधना 

यस अध्यायमा युवराजलाई गुभाजु र पण्डितले तन्त्र साधनाको ज्ञान दिन शुरू गरेको । अमात्यहरूले रचेको षडयन्त्रमा युवराज फसिसकेको अवस्थामा र  सो योजना बारेमा विस्तृत चर्चा यहाँ गरिएको छ ।

११. युवराजको राजेन्द्रलक्ष्मीसँग भेट 

अमात्य, गुभाजु र पण्डितहरूको तन्त्र साधना सिक्नको लागि गरिएको षडयन्त्र सफल भएको ! त्यस पश्चात् बडा महाराजको सल्लाह बमोजिम मयजु प्रधानलाई समय आए पछि महारानी बनाउने निर्णय गरेको कथा यस अध्यायमा अध्ययन गर्न पाइन्छ ! तर षडयन्त्रकारीका योजनापूर्ण सफलता नपाई तन्त्र साधना अधुरो रहेको चर्चा यस अध्यायमा अध्ययन गर्न सकिन्छ !

१२. अधुरो तन्त्र साधनाको असर 

यस अध्यायमा पनि विषय सूचिमा “अधुरो तन्त्र साधनाको असर” भनी लेखिएको तर लेखमा “अधुरो साधनाको असर” मात्र लेखिएको । यहाँ पनि सम्पादनको  गल्ती भएको देखिन्छ ।

तन्त्र साधनालाई पूर्णतया पालना नगरिएको र अधुरो साधनाले विग्रह पैदा गर्छ भन्ने किंवदन्तीलाई लेखकले यस अध्यायमा विभिन्न घटना र परिवेशलाई इंगित गर्दै औंल्याएका छन् !

अधुरो तन्त्र साधनाले पिर्छ । अकाल मृत्यु निम्त्याउँछ । सन्तानको भलो हुँदैन । पारिवारिक कलह बढ्छ भन्ने पुरातन मान्यता लाई लेखकले आफ्नो गवाही सहित तर्क प्रस्तुत गरेका छन् ।

यस अध्यायमा परिणामको रूपमा पृथ्वी नारायण शाह सिर्फ ५१ वर्षमा बित्नु, प्रताप सिंह को शासन काल शुर भएको करिब दुई वर्ष दश महिनामा नै अकालमा मृत्यु हुनु । बहादुर शाह र राजेन्द्र लक्ष्मी बिच झैँ झगडा र मनोमालिन्य बढ्दै जानु  आदि उल्लेख गरिएको !

सत्ता प्राप्तिको लागि पारिवारिक कलह र विग्रह पैदा भएको कारण देशको उन्नति  र प्रगतिमा धेरै बाधा आइपरेको विवरण लेखकले यस अध्यायमा उल्लेख गरेका छन् ।

१३. मयजुको विवाह र अन्तिम क्षण 

यस पुस्तकको यो अन्तिम अध्याय हो । यस अध्यायमा बडा महाराजाधिराज पृथ्वीनारायण शाहको दूर दृष्टिको कारण नेवार थरकी मयजु प्रधानको प्रताप सिंह शाहसँग विवाह हुन्छ । अन्त्यमा मयजु महारानी बन्न सफल हुन्छिन् । जात पातको भेदभाव गर्नु बेकारको कुरा हो भन्ने गहन सन्देश प्रवाह गरेको पाइन्छ । समाजमा विभिन्न समुदायका मान्छेहरूमा समानताको हिसाबले एक अर्का प्रति माया प्रेम र सद्भावका साथ रहेको विवरण यस अध्यायमा पढ्न पाइन्छ ।

संक्षेपमा भन्नुपर्दा यो कृति –  काठमाडौं राज्य विजयी बनेका बडा महाराजाधिराज पृथ्वीनारायण शाहका छोरा युवराज प्रताप सिंह शाहलाई षडयन्त्रमा पारी मल्ल दरबारका षडयन्त्रकारीहरू अमात्य, गुभाजु, तान्त्रिक र गुरुहरूले नेवार कन्या मयजुसँग सहवास गराई नेवार उत्तराधिकारी बनाउने खेल रचिएको एक सनसनीपूर्ण, रोचक घटना र परिघटनाले परिपूर्ण एक सशक्त औपन्यासिक कथा हो !

साहित्यकार अशोक नाथ तिवारीले यस पुस्तकमा मल्लकालीन नेपालको ऐतिहासिक कथावस्तुलाई साहित्यिक कथ्य, शिल्प, प्रस्तुति र औपन्यासिक ढाँचामा मीठो शैलीमा ढालेर यस पुस्तकलाई अत्यन्तै रोचक र चाखलाग्दो पारेको देखिन्छ ! यो नै यो पुस्तकको विशेषता हो भन्ने मैले ठानेको छु ।

आवरण अत्यन्त आकर्षक छ । यस पुस्तकको सबभन्दा ठुलो कमजोरी मैले सम्पादनमा देखेको छु । प्राय हरेक पन्नामा केहि न केही अशुद्धि भेटेको छु । भाषा र सम्पादनमा यति बिघ्न गल्ती नभएको भए यो उत्कृष्ट कृति सुनमा सुगन्ध हुने थियो !

यस बहुमूल्य कृतिका लेखक अशोकनाथ तिवारी एक सिद्धहस्त र स्थापित साहित्यकार हुन् भन्ने कुरा यस कृति बाट प्रमाणित हुन्छ । ऐतिहासिक पृष्ठभूमिमा लेखिएको देशको इतिहासलाई यति सुन्दर र कौतूहलपूर्ण ढङ्गले पाठक माझ प्रस्तुत गरेको यो कृति पठनीय र संग्रहनीय भएको म ठान्दछु ।

भर्जिनिया, अमेरिका