श्रीराजकुमार राईकृत ‘किवाहाङ’ नामक ३२४ पृष्ठको उपन्यास पढेर भर्खरै सिध्याएँ । साब्लाबुङ पुस्तकालय अभियान काठमाडौं प्रकाशक रहेको उक्त उपन्यासमा पहिलो र दोस्रो विश्वयुद्ध र त्यस पछिका समयमा बेलायती सेनामा भर्ती भएर नेपाली युवाहरूले कसरी ज्यान गुमाए अनि कसरी आँसुका समुद्रबाट मोतीजस्ता खुशीहरू बटुले भन्ने कुराको यथार्थलाई बडो कलात्मक ढङ्गले अनि सरल र मन छुने किसिमले कथामा बुनिएको छ । हेर्दै आकर्षक आवरणको यस उपन्यासमा किवाहाङ नामक प्रमुख पात्र छन् र ती पुरुष पात्र वरिपरि कथा घुमेको छ ।
किवाहाङले आफ्नो २८ वर्षको लाहुरे जीवन पूरा गरेर हङकङबाट नेपाल फिर्ने क्रममा भएको जहाजको उडानसँगै उपन्यासको प्रारम्भ भएको छ । उनी १६ वर्षको उमेरका थिए ब्रिटिश आर्मीमा भर्ती भएर लाहुरे बन्दा ।
अनेकौं दुःखकष्ट सहेर इमानदार किवाहाङले लाहुरे जीवनमा सम्भव हुनेसम्मको राम्रो उन्नति गरे । हङकङमा उनी र उनको परिवारलाई सारा सुखसुविधा प्राप्त थिए । उनले चाहेको भए त्यहीँ स्थायी बसोबास गर्न सक्थे उनी । तर मातृभूमिको मायाले उनी त्यहाँको सबै सुखसुविधालाई त्यागेर सपरिवार आफ्नो जन्मभूमि फर्कंदै थिए । यस्तोवेला उनको मनमा विभिन्न प्रकारका कुरा खेल्नु स्वाभाविकै थियो र आफ्नो सारा विगत स्मृतिमा आउनु पनि स्वाभाविकै थियो ।
यो उपन्यास वास्तवमा किवाहाङले आफ्नो जीवनलाई पछाडि फर्केर हेर्दा देखिएको साङ्गोपाङ्गो विवरण हो – उनको स्मृति र उनको मनमा खेलेका कुराहरूको अनुकृति हो ।
पूर्वनेपालको संखुवासभा घर भएका राई परिवारका ११ वर्षीय बालक किवाहाङको मनमा लाहुर जाने तिर्सना कसरी पलायो भन्ने कथा निक्कै रोचक छ । गाउँका हवलदार बाजेले लगाएको बुट, उनले लगाउने आकर्षक पोशाक, उनले हाल्ने कथा आदिबाट प्रभावित भएर बालक किवाहाङ लाहुर जाने सपना देख्न थाल्छन् ।
१६ वर्ष पुगेपछि हवल्दार बाजेले उनलाई लाहुर नजा भन्ने उनका आमा र आप्पालाई सम्झाइदिएर उनलाई लाहुर जाने बाटो खोलिदिन्छन् ।
यसरी जिम्वालका सन्तान किवाहाङ लाहुरे बन्छन् । अब उनी र उनी जस्तै लाहुरे बनेका गोर्खा युवालाई लडाइँ भएका ठाउँमा पुर्याउन कलकत्ता बन्दर्गाहमा लगेर पानीजहाजमा चढाइन्छ । त्यहाँ उनीहरूले कल्पना गरेभन्दा ठूलो पानीजहाज देख्छन् । किवाहाङलाई त्यो पानीजहाज लाहुरेले नै बनाएको होला भन्ने लाग्छ । सुकिलामुकिला मानिसहरू जति पनि त्यो जहाजमा चढ्छन्, उनले ती सबैलाई लाहुरे नै देख्छन् । त्यति मात्र होइन उनले जति विदेशी देख्छन् सबैलाई लाहुरे नै ठानेको कुरालाई लेखकले उपन्यासमा बडो रोचक ढङ्गले बयान गरेको पाइन्छ ।
पानीजहाजमा ठाउँकुठाउँमा गोरा युवायुवतीहरूले आपसमा चुम्बन गरेको देखिन्छ । अर्धनग्न भएर महिलापुरुष सँगै नुहाएको जस्ता दृश्यहरू देखा पर्छन् ।
जसले पनि आफूले थाहा नपाएका र आफ्नो संस्कृतिमा नभएका कुरालाई अनौठो र अस्वाभाविक मान्छन् नै । विदेशी महिला पुरुषका यस्ता स्वच्छन्द व्यवहार र लवाइखवाइ देख्दा किवाहाङ र उनका साथीहरूलाई पनि अशोभनीय लाग्छ ।
पानीजहाजमा बसेर २१ दिन लामो पट्यारलाग्दो यात्रा गरेपछि अन्ततः किवाहाङ र उनका साथीहरू मलाया पुर्याइन्छन् । त्यहाँ नौ महिनासम्म उनीहरूलाई तालिम दिइन्छ अनि मलाया सरकारको विरोधमा उत्रेका मले जनताविरुद्ध आक्रमण गर्न पठाइन्छ ।
त्यसवेलाको किवाहाङको मनको पीडालाई उपन्यासमा यसरी वर्णन गरिएको छ- “एकातर्फ पल्टनको आदेश शिरोपर गरी वीरगोर्खालीको युद्ध इतिहास बचाउनु छ, अर्कोतर्फ बिनारिसइबी मान्छे मार्नु पर्ने अवस्था आएको छ ।”
तीन वर्षपछि उनी ६ महिनाको छुट्टीमा घर जान्छन् । त्यहीवेला मनमायासँग उनको बिहे हुन्छ । छुट्टी सकिन लागेपछि आप्पा, आमा, नाना र मनमायाले लाहुर नफर्कन सक्दो दबाब दिंदादिंदै पनि उनी पल्टनको अनुशासन सम्झेर घरबाट बिदा भई आफ्नो नयाँ ठाउँको कर्तव्य निर्वाह गर्न सिंगापुर पुग्छन् ।
उनी सिंगापुरमा कार्यरत रहेकै वेला ब्रुनाइको राजाविरुद्ध जनविद्रोह हुन्छ र सिंगापुरमा रहेका गोर्खाहरूलाई अपर्झट सो जनविद्रोह दबाउन पठाइन्छ । विद्रोहीहरू माथि नियन्त्रण गरेर गोर्खाहरूले ब्रुनाइको राजालाई सत्ता फिर्ता गराइदिन्छन् । ब्रुनाइमा सान्ड्रा नाम गरेकी इटालियन युवतीले किवाहाङलाई झन्डै मनमायालाई बिर्साउने अवस्थामा पुर्याइदिएकी थिई । उनि अनुशासित र संयमित भएकाले मात्र उसको आक्रामक प्रेमबाट उम्किन सफल भएकाथिए उनी । विभिन्न ठाउँमा प्रेमप्रसङ्ग हरूको वर्णन गरेर उपन्यासकारले सर्वसाधारण पाठकका लागि उपन्यासलाई रोचक बनाएका छन् ।
ब्रुनाइको ड्युटीपछि किवाहाङको सरुवा हङकङमा हुन्छ । त्यहीं भएका वेला उनी श्रीमतीलाई लिन ६ महिनाको बिदामा गाउँ पुग्छन् । उनी आमा र आप्पासँग बिदा भएर मनमायालाई लिएर हङकङ आइपुग्छन् र पछि त्यहीं उनकी छोरी हाङ्गमायाको जन्म हुन्छ । हङकङमा रहँदा चिनिया भूमिबाट भागेर हङकङ आउनेहरू माथि निगरानी र नियन्त्रण गर्नु नै गोर्खा फौजको खास काम हुन्छ ।
यत्तिकैमा तीन वर्षको अवधि बितेको हुन्छ र यसपछि उनीलाई बेलायत सरुवा भइजाने अवसर मिलेको हुन्छ । उनी छ महिनाको बिदा पाएर श्रीमती र छोरीका साथ कलकत्ताको बाटो हुँदै धरान पुगी सात दिन हिंडेर आफ्नो गाउँ संखुवासभा पुग्छन् । उनका साथमा घर र गाउँलेका लागि ७ जना भरियालाई बोकाएर लगिएको कोसेली पनि हुन्छ । त्यसै पनि जिम्वालको घर त्यसमाथि लाहुरे किवाहाङ यसरी भरियाका साथ आएपछि घरको रौनक बढ्ने भइहाल्यो । भेटघाट र कोसेलीको वितरण गर्दागर्दै ६ महिना बित्नै लाग्छ । अब उनी घरबाट बिदा भएर बेलायतका लागि प्रस्थान गर्छन् । बेलायत उनका लागि नितान्त नौलो ठाउँ हुन्छ । मलाया, हङकङ, सिंगापुर र ब्रुनाई भन्दा बेलायत फरक हुने नै भयो । उपन्यासमा त्यस कुरालाई रोचक ढङ्गले बयान गरिएको छ ।
किवाहाङका लागि बेलायतको सरुवा ज्यादै महत्वपूर्ण हुनजान्छ । त्यहाँ उनलाई अक्सफोर्ड विश्वविद्यालयमा पढेका कर्डेल अन्तर्गत रहेर काम गर्ने अवसर प्राप्त हुन्छ । कर्णेल पावेलले उनलाई राम्रा राम्रा पुस्तकहरू पढ्न दिने हुनाले उनको ज्ञानको दायरा बड्दै जान्छ । उनै कर्णेलले उनलाई अक्सफोर्ड विश्वविद्यालय घुमाउन पनि लैजान्छन् र त्यहाँको पुस्तकालयको सदस्य पनि बनाइदिन्छन् । पुस्तकालयको सदस्य भएपछि मन परेका पुस्तकहरू घरमा ल्याएर पढिसके पछि फिर्ता गर्न पाइन्छ भन्ने कुरा किवाहाङले पहिलो पटक त्यहीं थाहा पाउँछन् ।
उनले कर्णेल पावेलको संगतले त धेरै कुरा सिक्न पाउँछन् नै मनोरञ्जन गर्न पबमा गएको वेला उनीतर्फ आकर्षित भएकी अफ्रिकी मूलकी युवती एलीबाट समेत उनी धेरै कुरा सिक्छन् । जहाँ उनका साथीहरू पबमा गएर युवतीहरूसँग नाच्न, गाउन र पिउनमै मस्त हुन्छन् किवाहाङ भने त्यस्ता ठाउँमा पुग्दा पनि अनेकौं नयाँ जानकारी र ज्ञान बटुल्न नै तल्लीन रहन्छन् । यस्तैमा उनको बेलायत बस्ने अवधि पूरा हुन्छ र हङकङ फिर्ता हुन पुग्छन् ।
अब उनले श्रीमती र छोरीलाई फेरि हङकङ बोलाउँछन्, जसले गर्दा उनकी छोरी हाङमायाले हङकङमै स्नातक सम्मको पढाइ पूरा गर्ने अवसर पाउँछिन् ।
आमा र आप्पालाई भेट्न घर जाने बिदा मिलाउन प्रयास गर्दागर्दै उनको क्याप्टेनमा पदोन्नति हुन्छ । तर पदोन्नतिको खुशीयाली मनाउन नपाउँदै र घरमा पदोन्नतिको खुशीको खबर लेखेर चिट्ठी पठाउन नभ्याउँदै घरबाट एउटा चिट्ठी आउँछ ।
त्यस चिट्ठीमा उनका आप्पाको देहावसान तीन महिना अघि नै भइसकेको दुःखद समाचार रहेको हुन्छ । उनी अपर्झटको एक महिने बिदा लिएर आप्पाको काजकिरिया गर्न घर पुग्छन् । एक महिनापछि आमालाई एक महिला सहयोगीको साथमा छोडेर उनी फेरि कर्मथलो हङकङ फर्किन्छन् । त्यहाँ रहँदा उनले आफ्नो सैन्य सेवाका साथै विभिन्न सामाजिक र सांस्कृतिक कामहरू गरेको र गोर्खा रेजिमेन्टको अफिसरको हैसियतले आफू मातहतका पल्टनेहरूप्रति सधैं न्यायपूर्ण व्यवहार गरेको देखिन्छ । उनी एक्लै हुँदा पनि अरू लाहुरेजस्तो खराब लतमा नफसेको र कर्तव्यबाट नचुकेकोले उपन्यासकारले उनलाई प्रमुख पात्र बनाएको एकदमै उचित देखिन्छ ।
अर्को शब्दमा भनौं भने उपन्यासकारले यस उपन्यासमा किवाहाङको कथा भनेर गोर्खा जातिको वीरता, इमानदारी, अनुशासन र प्रगतिको कथा भनेका छन् भन्न सकिन्छ ।
हो, ब्रिटिश सेनामा जान पाएका किवाहाङले जस्तै प्रगति गरेको केही लाहुरेका कथाले नेपाली समाजको घाउमा केही मलहम लगाउन पनि खोजेका छन् नै । लाहुरेका छोराछोरीले राम्रो शिक्षा पाउने अवसर भयो भनेर चित्त बुझाउन पनि मिल्छ । नेपाली साहित्य र संस्कृतिको प्रवर्द्धनमा टेवा पुगेको कुरा पनि गर्न सकिन्छ । लाहुरेका छोराछोरीले राम्रो शिक्षा पाएको उदाहरण अघि सार्न पनि सकिन्छ । लाहुरेहरूबाट नेपाली संस्कृतिको प्रवर्द्धन भएको कुरा देखाउन पनि सकिन्छ । यी कुरा किवाहाङ उपन्यासले देखाउन खोजेको छ ।
उपन्यासकारले विभिन्न ठाउँका लडाइँमा धेरै नेपालीले ज्यान गुमाएको कुरा प्रसङ्ग मिलाएर उल्लेख गरेका छन् । पहिलो र दोस्रो विश्वयुद्धताका लाखौंको संख्यामा नेपाली युवाहरूको ज्यान गएको कुरा हृदयविदारक ढंगबाट उपन्यासमा उजागर भएको छ । लाहुरेहरूले अरूकै देशका लागि लडे पनि विजयपश्चात् खुशीयाली मनाएका कुराहरू यहाँ छन् ।
गोर्खाहरूले अग्रपंक्तिमा बसेर युद्धमा होमिनुपर्ने तर सुविधा जति गोराहरूले पाउने गरेका कुराहरू ठाउँठाउँमा उठान गरिएको देखिन्छ । नेपालीले ब्रिटिश साम्राज्यको रक्षा गर्ने सम्झौता राणा र ब्रिटिशहरूको बीचको सम्बन्धका कारण भएको हो । तर खासगरी जनजाति मूलका नेपाली युवाहरू त्यसको शिकार भए भन्ने गुनासो उपन्यासमा अन्तर्निहित रहेको पाइन्छ ।
पहाडबाट नून किन्न धरान, पोखरा र बुटवलतिर झरेका कलिला ठिटाहरूलाई जबर्जस्ती लाहुरे बनाउने र त्यसबापत राणा प्रधानमन्त्रीले मोटो कमिशन खानेगरेको कुरा धेरैलाई थाहा नहुन सक्छ । तर यो उपन्यास पढिसकेपछि त्यो कुरा पनि छर्लङ्ग हुनजान्छ । राणाहरूका दरबारहरू लाहुरेका खून, पसिना र ज्यानको जगमा खडा भएका हुन् भन्ने कुराको रहस्योद्घाटन पनि यस उपन्यासले गरिदिएको देखिन्छ ।
उपन्यासका नायक किवाहाङलाई शुरूदेखि अन्त्यसम्म नै एकदमै कर्तव्यपरायण, अनुशासित, शिष्ट, दृढ र राष्ट्रप्रेमी व्यक्तिको रूपमा उभ्याएर उपन्यासकारले समाजमा सकारात्मक सन्देश दिन खोजेका छन् । जुनसुकै क्षेत्रमा पनि किवाहाङ जस्ता मानिस नेतृत्वमा पुगून् भन्ने लेखकको आन्तरिक अभिलाषा साँच्चै नै स्वागतयोग्य छ ।
अत: समग्रमा भन्नुपर्दा राजकुमार राईद्वारा किराँत-राई संस्कृतिका अनेक पक्षहरूमाथि प्रकाश पार्दै तयार पारिएको “किवाहाङ” नामक यो उपन्यास एकदमै रोचक, संग्रहणीय र पठनीय छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।