कृष्णजी शर्मा उपनाम भएका घनश्याम डल्लाकोटी राप्ती नगरपालिका वडा नं. ८ चितवनमा जन्मिएका स्रष्टा हुन् । पिता विष्णु र माता बेलीमायाका पाँच सन्तान मध्ये दोस्रो सन्तान र जेठो छोराका रूपमा जन्मिएका डल्लाकोटीले व्यवस्थापनमा स्नातक तहसम्मको औपचारिक अध्ययन गरेका छन् । २०५० देखि ५६ सालसम्म उनले शिक्षण पेसा पनि अपनाए तर त्यहाँ उनी धेरै समय रमाएनन् । खासमा उनको २ वटा व्यक्तित्व छ– पहिलो व्यवसायी व्यक्तित्व र दोस्रो साहित्यिक व्यक्तित्व ।

साहित्यिक व्यक्तित्वका पनि दुई पाटा छन्– एउटा सर्जक व्यक्तित्वको पाटो र अर्को साहित्यिक अभियन्ता व्यक्तित्वको पाटो । सर्जक व्यक्तित्वमा उनी विशेषतः आख्यानकेन्द्री छन् । आख्यानभित्र पनि उनी लघुकथा प्रविधामा बढी एकाग्र छन् । हुन त उनले साहित्यमा नाट्य विधाबाट पहिलो पाइलो सारेका हुन् । २०५३ मा संयुक्त लेखनमा लेखिएको मृत्युशैया नामक नाटक नै उनको साहित्यिक जीवनकै पहिलो सिर्जना हो । लघुकथामा भने उनी २०७४ बाट संलग्न भएका हुन् । ‘समय खराब छ’ उनको पहिलो लिखित लघुकथा हो ।

घनश्याम लघुकथा अभियानमा लाग्दालाग्दै आफ्नो सिर्जनकर्मको प्रकाशनमा पछि परिरहेका थिए । धेरै पछि आएर मात्र उनको पहिलो सङ्ग्रह प्रत्यक्षीकृत भएको छ । पहिलो साहित्यिक सँगालो बन्ने अवसर उनकै रुचिको प्रविधा लघुकथाले पाएको छ – ‘महाकम्प’का नाममा । हुन त मलाई के लाग्छ भने– पहिलो कृति प्रकाशनमा धेरैजसो मानिसहरू हतार गर्छन् । हतार र हतपतले कृतिको स्तरीयतामा आघात पुर्‍याउँछ । मैले यस्ता धेरै लेखकहरू भेटेको छु जो ‘हतार गरिएछ’ भन्ने निष्कर्षमा पुगेका छन् । यसैले घनश्यामको ‘स्वकृति प्रकाशन विलम्ब’ अर्थपूर्ण नै लागेको छ ।

प्रस्तुत लघुकथा कृतिका केही लघुकथाको पठनमा मैले घनश्याममा लघुकथा सचेतना भेट्टाएँ । यो उनले लघुकथाको अभियानमा लाग्दा पाएको अनुभवको परिणति हो भन्ने लाग्छ । लघुकथाहरूमा घनश्याम विकृति, विसङ्गति र गलतहरूप्रति प्रहारक बनेका छन् । अभिव्यक्तिको सरलता उनको खास वैशिष्ट्य हो ।

हुन त लघुकथा लेख्दा मस्तिष्क र हृदय पक्ष दुवै सञ्चालित हुनसक्छ । मस्तिष्क पक्ष चलायमान भई लेखेका बेला लघुकथाकार निकै बौद्धिक बन्छ । बौद्धिकता प्रबल भएका बेला जटिल संरचनाका लघुकथा लेखिन्छन् । बौद्धिक लघुकथाले फरक खाले पाठकको अपेक्षा गर्छ । हृदय पक्षको प्रबलताले लघुकथा आम पाठकहरूमा सजिलै लोकप्रिय बन्छ ।

म ढुक्क छु– घनश्यामका लघुकथा सर्वप्रिय बन्नेछन् । मैले प्रथम चरणमा जे जति लघुकथा पढेँ त्यसमा राखिएका शीर्षकहरूमध्ये अधिकांश शीर्षक अभिधात्मक भन्दा प्रतीकात्मक नै पाएँ । यो उनको कृतिभित्रका एक तिहाइ लघुकथा पढेपछिको मेरो निष्कर्ष हो । लघुकथाहरूले यथार्थ पाटोलाई नै बढी समाएको छ ।