आरक्षणले मौलाएको विकृति (२०८०) उपन्यास रामप्रसाद घिमिरेद्वारा लिखित बेलायती विकृत समाजको यथार्थ चित्र अङ्कन गरिएको नवीनतम कृति हो । खोटाङ जिल्लाको बुइपा खिरीमा जन्मिएका साहित्यकार घिमिरे दुई दशकयता बेलायतमा बसोबास गर्दै नेपाली भाषा र साहित्यको सेवा गरिरहने व्यक्तित्व हुन् ।
यसअघि उनका हामीले टेकेको धरती, वेश्याको सिन्दूर (उपन्यास), खप्परेका कथाहरू (कथासङ्ग्रह), प्रेमका पराकम्प (उपन्यास) कृति प्रकाशित छन् । उनले सामाजिक विज्ञानमा बेलायतबाट स्नातकोत्तर अध्ययन गरेका छन् । त्यसैले उनका कृतिमा सामाजिक विषयको गहन अध्ययन गरिएको हुन्छ । उनको यस उपन्यासमा पनि बेलायती समाजको नजिकबाट अध्ययन गरी विद्यमान विकृति र विसङ्गतिको यथार्थ चित्र उतारिएको छ ।
विदेशी भूमिमा रचित अधिकांश नेपाली साहित्यिक कृति डायस्पोरिक विषयमा आधारित छन् । विदेशी भूमिमा रहनुपर्दाको भय, चिन्ता, स्वदेशप्रतिको मोह, अतीतबोध आदिको चित्रण डायस्पोरामा लेखिएका कृतिको आमविशेषता हो । यस विपरीत प्रस्तुत ‘आरक्षणले मौलाएको विकृति’ उपन्यास विदेशीभूमि, त्यहीको समाज, पात्र र जीवनमा आधारित रहेको छ । त्यसैले यसले नेपाली पाठकलाई बेलायती समाजको एउटा कृष्णपक्षको चित्र कोरिदिएको छ ।
बेलायत, अमेरिका, अष्ट्रेलिया, जापान, क्यानाडा आदि विकसित देशप्रतिको नेपाली धारणा अत्यन्त सुन्दर छ । भौतिक विकासले भरिपूर्ण भएकाले ती देशका भूमिमा स्वर्गीय सुखभोग पाइन्छ भन्ने आशा र विश्वास आमनेपालीमा रहेको छ । त्यसैले ती भूमि नेपालीको सपनाको भूमि हो । त्यहाँको सुख र वैभवले नेपाली मात्र होइन नेपालजस्ता विकासशील देशका नागरिकलाई आकर्षित गरिरहेको हुन्छ । तर त्यहाँको भूमिमा सधैँ सबैतिर शुक्लपक्ष मात्र छैन कृष्णपक्ष पनि छ भन्ने कुरा कम नेपालीमा मात्र ज्ञान छ । यस्तै सामाजिक दुर्दशा, गरिबी, अशिक्षा, दुर्व्यसन जस्ता विकृतिले ग्रस्त कुनै समयको विश्वको सबैभन्दा शक्तिशाली र धनी देश बेलायती समाजको डिस्टोपियन यथार्थ यस उपन्यास चित्रण गरिएको छ ।
भौतिक सुखसुविधा र सरकारी आरक्षणले मात्र समाजलाई सुखी, समुन्नत र सभ्य बनाउन सक्दैन भन्ने कुराको उदाहरण यस उपन्यासले प्रस्तुत गरेको छ ।
उपन्यासकारका अनुसार ‘‘प्रस्तुत उपन्यास बेलायती सरकारले प्रदान गर्ने आर्थिक सहायतामा जीवन निर्वाह गर्ने एक विपन्न परिवारको पृष्ठभूमिमा जन्मिएको विशुद्ध बेलायती पारिवारिक उपन्यास हो । यस उपन्यासमा चित्रित पात्र मार्गरेट ब्राउन र उनकी छोरी जुलियाको सांस्कारिक चरित्र–कथा बेलायती एउटा तप्काको प्रतिनिधि उदाहरण हो ।’’
सरकारले दिएको सरकारी सुविधाको दुरुपयोगले आचरणगत विकृति र तुच्छ संस्कारको प्रभाव तिनका सन्तानमा पर्ने भएकाले त्यस्ता व्यक्तिहरूको एउटा सिङ्गो समुदायको जीवन पद्धति नै दर्दनाक हुनपुगेको विषय यस उपन्यासमा प्रस्तुत गरिएको छ ।
एउटा समुन्नत देशको तल्लो स्तरको जीवन बचाइको प्रतिनिधि पात्र जुलिया हो । ऊ बाह्र वर्षको उमेरदेखि नै चुरोटको कुलतमा फसेकी हुन्छे । त्यसपछि बैंसको उन्माद बढ्दै जाँदा मद्यपान र गाँजाको लतमा पनि फँस्न पुग्छे । त्यतिवेला अनेक केटाहरूसँगको रासलीलामा पनि उसको लत लागिसकेको छ । ‘‘सेक्स नै जीवनमा रोमान्सको पहिलो खुड्किलो हो, गाइज’’ भन्ने जुलिया आमा बैठक कोठामा रहेको बेला केटा बोलाएर बेडरुममा रोमान्स गर्न डराउँदिन । यसैका कारण ऊ १६ वर्षको उमेरमा नै पहिलो पटक आमा बन्न पुग्छे ।
अनेक केटाहरू फेर्दै तेइस वर्षको उमेरसम्ममा उसले तीन छोराछोरी जन्माइसकेकी हुन्छे । बेलायतमा एकल महिला र बच्चाका लागि सामाजिक सुरक्षा भत्ता दिइने भएकाले उसका लागि ती बच्चाहरू आम्दानीका स्रोत हुन्छ । जति धेरै बच्चाको संख्या थपिंदै गयो उसको आम्दानी पनि बढ्दै जान्छ तर ती सबै पैसा उसले छोराछोराका लागि खर्च नगरेर आफ्नै मोजमस्तीमा उडाउँछे । छोराछोरी जति आमालाई जिम्मा लगाई ऊ रासलीलामा मस्त हुन्छे । त्यसपछिका उसका केटाहरूको सङ्ख्या बढ्दै जान्छ तर जति केटाहरू थपिन्छन् । ती पनि सबै त्यस्तै निम्न स्तरका पारिवारिक पृष्ठभूमिको हुन्छन् । यसले गर्दा कतै पनि उसको जीवन सुखमय बन्न सक्दैन ।
जुलियाका छोराछोरीले उचित शिक्षादीक्षा र संस्कारको पाठ सिक्ने अवसर पाउँदैनन् । परिणामस्वरूप उनीहरू पनि आमाजस्तै कुकृत्यमा संलग्न हुन थाल्छन् । बेलायत जस्तो एउटा विकसित र सुविधा सम्पन्न मुलुकमा पनि एउटा विकृत संस्कारहीन समाज विकसित भइरहन्छ ।
त्यसैले उपन्यासको अन्त्यमा समाख्याताले विकसित देशमा पनि अभिभावकको उचित संस्कारगत शिक्षा आवश्यक छ भन्ने विचार व्यक्त गरेका छन् : ‘‘बेलायत जस्तो विकसित देशमा हुर्किएर र पुस्तौंदेखि बसोबास गरी असीमित प्रविधि र सुविधाहरू उपभोग गर्ने सुअवसर पाएर मात्र कहाँ हुँदोरहेछ र ? आफू जिम्मेवार नभइदिनाले, आचरण र संस्कारमा परिवर्तन नआइदिनाले परिवार विकृतिमा फस्दो रहेछ । बेलायतभित्रै यस्तो विकृतियुक्त समाज हुर्किरहको छ । जुलिया र उसका सामीप्यका जनहरू त्यही अर्को फरक बेलायतका प्रतिनिधि पात्र बनेका छन् र बेलायतभित्रकै फरक बेलायत निर्माणको असामाजिक संस्कार पछ्याइरहेका छन् ।’’ यसरी बेलायतजस्तो भौतिक सुविधाले सम्पन्न मुलुकमा पनि पारिवारिक संस्कार र उचित शिक्षाको अभावमा समाजको एउटा तप्का विकृतिको पोको बोकेर हुर्किरहेको छ । यो त्यस्ता सम्पन्न देशको एउटा कालो यथार्थ पनि हो ।
विकसित देश भन्नेबित्तिकै सबै थोक उन्नत हुन्छ, पश्चिमाहरू सबै सभ्यशिक्षित हुन्छन् भन्ने नेपाल जनमा निर्मित एक प्रकारको भाष्यलाई यस उपन्यासको यथार्थले ठूलो धक्का दिएको छ । यो कुरा सबैले बुझ्नु पनि आवश्यक छ । भौतिक प्रगति नै जीवन सुखको परिचय होइन । त्यसभित्र पनि शिक्षा र संस्कारको उचित व्यवस्थापन हुन सकेको छैन भने त्यही भौतिक विकास नै जीवन सुखको बाधक बन्न सक्छ । बेलायतमा सामाजिक सुरक्षाका लागि त्यहाँका नागरिकलाई भत्ता आदि सेवासुविधा प्रदान गर्ने गरिए पनि त्यसको सदुपयोग हुन नसक्दा त्यसले नागरिकका जीवनस्तरमा सुधार ल्याउन सकेको छैन ।
तसर्थ राज्य नागरिकप्रति उत्तरदायी त भएर पनि राज्यले प्रदान गरेको सेवासुविधाले आमनागरिकको जीवनस्तरमा कस्तो प्रभाव पारिरहेको छ भनेर त्यसको समीक्षा एवम् मूल्याङ्कन नहुँदा त्यसले अझ विकृति बढाउँदै लगेको छ । तसर्थ भौतिक सुविधाले मात्र मान्छेको जीवन र मानव सभ्यतालाई नयाँ उचाइमा पुर्याउन सक्दैन । यस उपन्यासका पात्रहरूको जीवन बचाइले विकसित देशका सबै नागरिक सभ्य र शिक्षित हुँदैनन् भन्ने कुरा प्रस्ट पारेको छ ।
वर्तमान नेपाली उपन्यास नवीन विषय र शिल्पको खोजीमा तल्लीन छ । नेपाली उपन्यासको विषयगत आयाम निरन्तर फैलिँदो क्रममा रहेको छ । मानवीय भावना, संवेग र प्रेमको आन्तरिक पक्ष मात्र होइन नेपाली समाज र संस्कृतिमा लुकेका र लुकाइएका यथार्थको खोजी गरी बाहिर ल्याउन अहिलेको उपन्यासमा निरन्तर क्रियाशील छ । यसै सन्दर्भमा उपन्यासकार घिमिरेको यस उपन्यासले समुद्रपारिको कथित आदर्श समाजको विकृत यथार्थको खोजी गरेको छ । नेपाली उपन्यास परम्परामा यसले विषयगत नवीनताको खोजीमा एउटा आयाम थप गरेको छ ।
अहिले नेपाली भाषा र साहित्य विश्वका प्रायः देशमा बिस्तार भइसकेको अवस्था छ । यस परिस्थितिमा अब नेपाली उपन्यासले विश्वका कुनै पनि देशका कुनै पनि समाज र संस्कृतिलाई विषय बनाउने सामर्थ्य राख्दछ भन्ने कुराको एउटा गर्विलो उदाहरण आरक्षणले मौलाएको विकृति उपन्यास हो ।
उपन्यास : आरक्षणले मौलाएको विकृति (२०८०)
उपन्यासकार : रामप्रसाद घिमिरे
प्रकाशक : नन्दकुमारी प्रतिष्ठानका लागि साहित्यपोस्ट डट कम
मूल्य : रु. ४५०
पृष्ठ : ३२०
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।