विसं २००३ सालको फागुन महिनामा भोजपुरको गोगनेमा जन्मेका कवि मञ्जुलको वास्तविक नाम मेघराज शर्मा हो । आधुनिक नेपाली कवितामा मञ्जुल प्रारम्भमा प्रगतिवादी वैचारिक धरातलका कविता लेख्ने कविका रूपमा चिनिन्छन् । २०२४ को राल्फा आन्दोलनका अभियन्ता मञ्जुलका यस आन्दोलनसँग सम्बद्ध कविताहरू प्रगतिवादी प्रवृत्तिका छन् भने पछिल्लो समयका कविताहरू भिन्नभिन्न प्रवृत्तिका देखिन्छन् ।
सामाजिक राजनीतिक विकृति र विसङ्गति, अनाचार, शोषण, अशिक्षा, गरीबी आदिको विरोधका साथै क्रान्ति र विद्रोही चेतनाको अभिव्यक्तिलाई उनले आफ्ना कविताका विषय बनाएका छन् । मञ्जुल प्रणयपरक रागात्मक चेतना, प्रकृतिचेतना र राष्ट्रिय चेतनालाई सरल र कलात्मक भाषामा प्रस्तुत गर्ने कवि हुन् । विपन्न वर्ग प्रतिको सहानुभूति, मानवता, हार्दिकताको अभिव्यक्तिका साथै भावना र कल्पनाको प्रयोग उनका कवितामा पाइने अर्को विशेषता हो ।
मञ्जुलले २०२० को ‘जुनेली साँझ’ पत्रिकामा प्रकाशित ‘सोध फूलसँग किन उसले अस्तित्व भुल्यो’ शीर्षकको कविताबाट आफ्नो कवितायात्रा शुरू गरेका हुन् । उनका कवितासंग्रह, गीतसंग्रह, नियात्रा, संस्मरण, उपन्यास आदि गरी एक दर्जनभन्दा बढी पुस्तकहरू प्रकाशित रहेका छन् । उनका प्रकाशित कृतिहरू ‘गायक यात्री’ (२०४०), ‘मञ्जुलका नयाँ कविता’ (२०४५), ’चोकटी कविता’ (२०५५), ’सिद्धिचरणहरू (२०५५), ‘मृत्यु’ (२०५५), ‘गाउँका दृश्यहरूमा बाँडिएर’ (२०५६), ’पाइलाका निबहरूले’ (सहलेखन–२०५८) र ’बाल्यकालसँग खेल्दै’ (२०७१) आदि उनका प्रकाशित कवितासंग्रह हुन् ।
उनी प्रारम्भमा राल्फा आन्दोलनका अभियन्ता भएकाले त्यस परिवेश र सेरोफेरोमा लेखिएका कविताहरू प्रगतिवादी प्रवृत्तिका दृष्टिले सबल छन् र तिनमा वैचारिक स्पष्टता छ भने त्यसपछि क्रमशः उनका गीत तथा कविताहरू सौन्दर्यप्रति अनुराग व्यक्त गरिएका छन् र स्वच्छन्दतावादी प्रवृत्तिका छन् । मञ्जुलका पछिल्ला चरणका कवितामा पनि अन्याय, अत्याचार, अशिक्षा, गरीबी, असमानता आदि यावत् नकारात्मक प्रवृत्तिहरूप्रति विमति देखिए पनि तिनमा विद्रोह र क्रान्तिचेतना चाहिं भएको देखिन्छ तर सामाजिक, राजनीतिक, आर्थिक, शैक्षिक आदि क्षेत्रमा देखिएका उनका कविताले जीवन र जगत्का सूक्ष्म पक्षलाई पनि राम्ररी अभिव्यक्त गरेको देखिन्छ । मञ्जुलका कवितामा निम्न वर्गप्रति सहानुभूति व्यक्त गरिएको पाइन्छ तसर्थ उनका कविता मानवीय संवेदना पाइन्छ । सरल अभिव्यक्ति र भाषिक प्रयोगका कारण उनका कविता अभिधामै अर्थबोध हुने खालका छन् तापनि भावका दृष्टिले ती गम्भीर छन् ।
उनको मृत्यु कविता (२०५५) मा मृत्युको परिभाषा र परिवेशमा केन्द्रित रहेको छ । मृत्यु दर्शनमा लेखिएको यस संग्रहका कवितामा साधारण व्यक्तिले भ्याउन नसक्ने या पन्छाउने जीवनको मूल्य, मृत्यु, समय, मानवको या समाजको भविष्य, इच्छाको स्वतन्त्रता, वर्तमानको असामञ्जस्य, प्रेम र घृणाका, जीवन मरणका, मूलभूत कुरा समेटिएका छन् । यहाँ कवि मञ्जुलको मृत्यु कवितामा प्रयुक्त मृत्युको भाव र परिभावको विश्लेषण गरिएको छ ।
०० ०० ०० ०० ००
मृत्युसम्बन्धी धारणा
‘प्राणत्याग गर्नु’ भन्ने अर्थ बुझाउने ‘मूड’ धातुमा ’त्युक’ प्रत्ययको संयोजन भएपछि बन्ने मृत्यु शब्दको अर्थ मरण भन्ने हुन्छ । रसित चैतन्यको वियोग र जन्मको अभिप्राय भौतिक शरीर र चैतन्यको जीवन–मरण विपरीतार्थक शब्दका रूपमा प्रयुक्त हुन्छन् । यही अम्बाले नै जन्मेका सबै प्राणीको मृत्यु हुन्छ भन्ने तात्पर्यलाई संकेत गरेको अवश्यम्भावी छ भन्ने कुरा सचेत सबै मानिसलाई थाहा छ तर पनि मानिस वायुकम चर्चा गर्न चाहन्छ र सुन्न पनि कम चाहन्छ । भय सम्पूर्ण प्राणीमा हुने साझा अभिलक्षण हो । अभिलक्षण मध्ये खानु, सुत्नु, डराउनु, सन्तान उत्पत्ति गराएर आफ्नो वंश बढाउनु आदि हुन् ।
मानिसको जन्मपछि कालक्रम अनुसार उसको मृत्यु हुन्छ र यो सृष्टिचक्रको नियमित प्रक्रिया हो । तर मृत्युको सहजतालाई सामयिक, असहजमा भवितव्य, दुर्घटना वा आत्महत्यालाई असामयिक मृत्यु मानिएको छ ।
श्रीमद्भागवत गीतामा मृत्युलाई स्वाभाविक प्रक्रियाका रूपमा यसरी वर्णन गरिएको छ : जन्म–मृत्युको प्रक्रियाबाट कोही छोडिन सक्दैन । जन्मेपछि अवश्य मर्नुपर्दछ ।
पूर्वीय दर्शन वाङ्मयले शरीरलाई दुई प्रकारले छुट्याएको छ । भौतिक र अभौतिक । भौतिक वा स्थूल शरीरलाई बिसाउनु वा फेर्नु मृत्यु मानिन्छ भने अभौतिक वा सूक्ष्म शरीरका रूपमा आत्मा रहको छ जसलाई अमर वस्तुको रूपमा मानिएको छ ।
मानिसको स्थूल शरीरभित्र रहेको ईश्वर तत्त्वलाई आत्मा भनिन्छ, आत्मा मानिन्छ । यो द्रष्टा हो, सबैको अन्तर्यामी भएर शरीरभित्र रहन्छ । यो जो स्वयं प्रकाशका रूपमा सबै प्राणीको शरीरमा स्फुरित भइरहन्छ । यो निर्विकार भएर कर्ता भोक्ता बन्दछ । त्यसैले मानिसको शरीर भित्रको सूक्ष्म जीवतत्त्व आत्मा हो । यो जन्म र मृत्युको चक्रबाट परिचालित छ ।
जीवित शरीरभित्र ईश्वर छ, जब शरीर वा देह ढल्दछ आत्मा सूक्ष्म रूपमा निस्केर र पुनः जीवको शरीर प्रवेश गर्दछ । आत्माको शरीरभित्र पस्ने र निस्कने एउटा निश्चित प्रक्रिया र गति छ त्यसलाई सामयिक वा कालगति भनिन्छ । कालगति वा सामयिक प्रक्रियाबाट देह ढल्नु वा मृत्युमा प्राप्त हुँदा आत्मा सजिलै उन्मुक्ति हुन्छ वा मोक्षको मार्गमा जान्छ भन्ने विश्वास छ ।
त्यसैले मृत्यु सहज र असहज गरी दुई प्रकारमा बाँडिन्छ । मृत्युको प्रक्रिया सहज हुँदा कुनै समस्या हुँदैन तर असहज मृत्यु हुँदा त्यसबाट उत्पन्न परिस्थिति फरक हुन्छ । जीवनलाई बोध गर्न वा बुझ्न मृत्युलाई बुझ्नुपर्छ, जान्नुपर्छ । मृत्यु स्वतः प्राप्त हुने प्रक्रिया हो, मृत्युका बारेमा हाम्रा धर्मशस्त्र तथा वैदिक साहित्यमा चर्चा परिचर्चा भएका छन् ।
‘महाभारत उद्योगपर्व’मा सनतकुमारले मृत्युसम्बन्धी यस्तो दर्शन प्रस्तुत गरेका छन् : त्यो ज्ञानले मृत्यु भयबाट मुक्ति प्रदान गर्दछ । अतः मृत्युसम्बन्धी समग्र ज्ञानको अन्वेषण आवश्यक छ, अर्थात् मृत्यु के हो भन्नेबारे वैज्ञानिक र दार्शनिक ज्ञानको स्थापना हुनुपर्छ । मानिसमा सबैभन्दा ठूलो डर नै मृत्युको हुन्छ । मरुँला भन्ने चिन्ताले मानिस सदैव छटपटाई रहन्छ । त्यसैले मृत्युबारे छलफल गर्न मानिस डराउँछन्, यद्यपि यो भूमण्डलमा जन्मेका जति प्राणी छन् तिनको जीवनको अन्त्य अनिवार्य छ । मानव शरीरमा हुने पाटपुर्जाले काम नगर्नु (भौतिक पक्ष) एक किसिमको चेतना र जीवतत्त्वको (चेतन पक्ष) अन्त्यलाई मृत्यु भनिन्छ तर कतिपयको चेतनाले काम गर्दागर्दै जीवतत्वमा रोगव्याधीले नाश पारेपछि मृत्यु स्वतः स्वीकार्नु पर्छ । धेरैजसो मृत्युमा शरीररूपी पदार्थ र चेतनाको अन्त्य समान किसिमले मानिए पनि मानवमा भएको चेतना कसरी उड्छ भन्नेबारे विज्ञान तथा वैज्ञानिक खोज तथा अनुसन्धानले पनि निश्चित उत्तर दिन सकेका छैनन् । त्यसैले हरेक धर्म जात, सम्प्रदाय वर्णमा अन्तिम अवस्थामा ईश्वरप्रतिको चिन्तन पाइन्छ ।
यो संसारको सृष्टि, जीवनजगत्को बारेमा सबैको व्याख्या विश्लेषण गर्न सक्ने शास्त्र वेद नै हो । वेद धर्मको मूल हो, आत्मा विश्वको मूल हो, शरीर धर्म साधना गर्ने मूल आधार हो । शरीर भए मात्र धर्म साधना हुन्छ । भौतिकवादीले शरीरलाई मुख्य आधार मानेका छन् भने अझ शरीरको उपयोगिता नै मूल विषय सम्झेका छन् । जब शरीर उपयोगविहीन हुन्छ त्यसको कुनै महत्त्व रहँदैन । त्यसैले होला अहिले भौतिकवादको विकासले चरम उत्कर्षमा पुगेका मुलुकले वस्तुको उपयोगजस्तै आफ्ना आफन्तको देहलाई मात्र सम्झेका हुन्छन् । देहसँग आत्माको सम्बन्ध भनेको चेतना र पदार्थ भने जस्तै हो भनिन्छ ।
शरीरको उपयोगिता सकिएपछि विसर्जनको बाटोमा लाग्नु त प्राकृतिक नियम हो । जुनसुकै वस्तु होस् वा शरीरको समाप्ति वा विसर्जन हुन्छ, त्यो निश्चित छ । तर आध्यात्मवादीका धारणामा देहको विसर्जनमा केही फरक छ । पशुप्राणी र मानवको निधन एकै होइन भनेर नै संस्कारको चलन चलेको हो । भौतिक शरीरको अन्त्यका हिसाबले उस्तै हो तर आत्मिक सम्बन्धका हिसाबले फरक छ । भौतिकवादीहरू वस्तुको उपयोगमा विश्वास राख्छन् जसरी वस्तुको उपयोगिता सकिन्छ त्यसरी नै पितामाताको उपयोग सकिएपछि उनलाई आफूभन्दा अलग पुर्याउने वृद्धाश्रम बनाउने वा आफू टाढा हुने चलन सम्पन्न देशको संस्कृतिले देखाएको छ ।
अझ कतिपय भौतिक सम्पन्न मुलुकमा त छोराछोरी अठार वर्ष पुगेपछि बाबुआमाबाट अनिवार्य छुट्ट्याएर राख्नुपर्ने नियममै छ भने अर्कातिर बाबुआमा पनि लामो समयसम्म सँगै बस्ने अवस्थामा हुँदैन । (उनीहरू बीचको सम्बन्ध पनि विच्छेद गरी छोराछोरी र प्रौढ बाबुआमाका बीचको नाता नै विलीन हुने सम्भावना हुन्छ ।) यसरी भौतिकवादी जीवन दर्शनमा आमाबाबुप्रति श्रद्धाञ्जली, स्मृति र शोक बार्ने चलन कमै छ । भौतिकवादमा शरीर नै मुख्य भएपछि आत्माको अमरत्वलाई प्रधानता दिंदैनन् । यही नै हो, अध्यात्मवादी र भौतिकवादी जीवनदर्शन बिचको फरक र संस्कारगत भिन्नता पनि ।
समग्र पूर्वीय दर्शन र उपनिषद्मा मृत्युबारे प्रशस्त चर्चा भएका छन् । परलोक र पुनर्जन्मको अवधारणा त्यो छलफलबाट निस्केको निष्कर्ष नै जीवनको अमरत्व प्राप्ति हो । जीवनमुक्तिको वेदान्ती अवधारणा त्यस्तै अर्को निष्कर्ष हो । आत्माको अमरत्व पनि मृत्यु चिन्तनबाट निस्केको निष्कर्ष हो । शरीरको अन्त्य हुनु शरीरको मृत्यु हो आत्मा त अमर तत्त्व हो । शरीरको जीर्णता र वृद्धत्वसँगै भएको मृत्युलाई नै मृत्यु भनी स्वीकार गर्न हिन्दू विज्ञानले चाहेको छैन र मान्दैन । देह र आत्माको स्वरूपको चर्चासँगै आत्मा र प्रेतात्माको चर्चा पनि गरिएको छ । सहज मृत्यु र असहज मृत्यु, मोक्ष र प्रेतयोनी जस्ता प्रसङ्गको उदाहरण पुराणहरूमा पाइन्छ । आत्महत्याको चर्चा पनि विभिन्न शास्त्रहरूमा लेखिएका छन् । अतृप्त आत्मा प्रेतात्मा, किचकन्नी, भूत, प्रेत, पिशाच, काँचो वायु जस्ता असहज मृत्युबाट भएका प्रेतात्माको कुरा गरिएको हुन्छ । मृत्युका बारेमा श्रीमद्भगवत गीतामा श्रीकृष्णले अर्जुनलाई जन्म हुनेको मृत्यु र मृत्यु हुनेको पुनर्जन्म निश्चित छ भनी सम्झाएका छन् । वास्तवमा मृत्यु भनेको पनि यस्तै रहेछ ।
न जायते म्रियते वा कदाचिन्नायंभूत्वा भविता वा न भूय: ।
अजो नित्यः शाश्वतोऽयं पुराणो न हन्यते हन्यमाने शरीरे ।। २। २०।।
वासांसि जीर्णानि यथा विहाय नवानि गृह्णाति नरोऽपराणि ।
तथा शरीराणि विहाय जीर्णा न्यन्यानि संयाति नवानि देही ।।२.२२।।
जीवविज्ञानलाई विश्वास गर्ने हो भने मानव शरीरको अन्त्य हुन्छ, त्यसका वंशाणुगत अंशहरू उनका छोरा–छोरी र तिनका पनि सन्तान दर सन्तानमा जीवित हुन्छन् । पूर्वीय समाजमा उसको कर्म र सन्ततिको चर्चा गरिन्छ । पश्चिमी संस्कारमा जब कुनै व्यक्तिको मृत्यु हुन्छ, त्यसवेला तिनका छोरा–छोरीको संख्या गनेर सबैका माध्यममा ती दिवंगत व्यक्ति जीवित छन् भन्ने धारणा प्रकट गरिन्छ । संसारमा पुनर्जन्मका बारेमा निकै खोज र चासो देखिन्छ । समय–समयमा पत्र–पत्रिका र अन्य सञ्चार माध्यमद्वारा पूर्वजन्म र पुनर्जन्मका बारे चर्चा गरिएको हुन्छ । के मृत्युपछि पुनर्जन्म हुन्छ त ? पूर्वीय धर्मशास्त्रले त वनस्पति र हरेक जीवजन्तुको पनि पुनर्जन्म हुन्छ
भन्छ । के यी कुरा सत्य हुन् ? प्रमाणित हुन सक्लान् ? हरेक जीवजन्तुको पुनर्जन्म हुन्छ, यसबारे स्पष्ट खोज अनुसन्धान गरिनुपर्छ ।
बौद्ध दर्शनमा मृत्यु चिन्तनलाई यसरी प्रस्तुत गरिएको छ, “जीवन अनित्य छ ।”
यस विषयमा बुद्धका चार आर्य सत्यमा भन्दछन्: हे भिक्षुहरू दुःख प्रथम आर्य सत्य हो, जन्म पनि दुःख हो, वृद्धावस्था, मृत्यु, शोक वेदना यी सबै दुख हुन् । तर मृत्यु आफैंमा खराब होइन, यो अनिवार्य शर्त हो । चार्वाकले आत्मा मान्दैनन् नाशवान् शरीर हो समय आएपछि जान्छ भन्छन् । जैन दर्शनले मृत्युका विषयमा वैज्ञानिक धारणा राखेको छ । हामीले मृत्युका बारे दुख मान्नु पर्ने कुनै कारण छैन, यो शाश्वत नियम हो । यसलाई नकारात्मक धारणाले हेर्नुको औचित्य पनि छैन । त्यसैले हामी जसरी जन्मलाई मङ्गलका रूपमा लिन्छौं मृत्युलाई पनि त्यसरी नै लिनुपर्दछ । गरुडपुराणमा मृत्युका बारे मनुष्यको अन्त्येष्टि विधान र पुनर्जन्मको प्रक्रियाको उल्लेख गरिएको छ । सुकरातले परलोक र पुनर्जन्मलाई विश्वास गरेका छन् ।
यसरी हेर्दा विभिन्न धर्म, दर्शन तथा विचारले आत्माको अमरत्वलाई स्वीकारेको छ । मृत्यु दर्शनले सभ्य मानिसलाई अनादि कालदेखि घच्घच्याउँदै ल्याएको छ । कृष्णयजुर्वेद र कठोपनिषद्का मूल विषयवस्तु आफ्नै प्रकारले र चिन्तनका आधारमा मृत्युबारे गरिएको मानव इतिहासको पहिलो अभिलिखित ग्रन्थ हो । नचिकेता र यमराजबिच मृत्युबारे लामो छलफल चल्दा विद्या र अविद्या, विज्ञान र ज्ञान, सम्भूति र असम्भूति, अस्तित्व र अनस्तित्व, कल्याण र करुणा तथा इहलोक र परलोक आदिको कुराकानी भएको थियो ।
त्यसैगरी अन्य विद्वान्ले मृत्युका बारेमा आआफ्ना दृष्टिकोण राखेका छन् । किर्केगार्डले अस्तित्व र वरणअन्तर्गत मृत्यु सम्बन्धमा चर्चा गरेका छन् । उनले धर्म र दर्शनको उद्भव नै मृत्युको भयबाट भएको हो भनेका छन् । किर्केगार्डले आफ्नो दर्शनलाई विषयनिष्ठ (objective) र विषयनिष्ठ (subjective) चिन्तनबाट विश्लेषण गरेका छन् ।
त्यसमा पनि उनको चिन्तन मूलतः विषयनिष्ठ अथवा आत्मपरक दृष्टिकोणलाई उनले बढी रुचाएका छन् । त्यसैले उनी भन्छन् मृत्युको अर्थ आत्मपरक सत्य हो । त्यसकारण यसलाई आत्मपरक रूपले मात्र राम्रोसँग बुझ्न सकिन्छ । तर धेरै मानिसले मृत्युलाई वस्तुगत रूपले मात्र बुझ्दछन् । उनका विचारमा हाम्रो शारीरिक जीवन केवल मृत्युको सतत: स्थगन (postponement) मात्र हो । औसत व्यक्तिमा मृत्युचेतना (Death awareness) रहेको पाइँदैन तर मृत्यु चिन्तन भने रहेको पाइन्छ ।
किर्केगार्डका विचारमा युवा अवस्थामा हामीमा मृत्युसम्बन्धी कुनै ज्ञान हुँदैन, यद्यपि मृत्यु हामीसँगै साथ रहेको हुन्छ । उनले आफ्नो मृत्युसम्बन्धी विचारमा आत्माको अमर अवधारणालाई स्वीकार गरेका छन् । उनले अमरतामा विश्वास मानव जातिको डरलाग्दो मृत्यु भयको प्रतीक हो भनेका छन् । किर्केगार्डको विश्वास छ कि मृत्युको आत्मपरक सत्यलाई बुझ्नका लागि आन्तरिकता (inwardness) को आवश्यकता हुन्छ । हाइडेगरले मृत्युको अनुमति प्रायः सबै अस्तित्ववादी चिन्तकले जीवनको मृत्यु विषयलाई अस्तित्वपरक आधारमा व्याख्या र विश्लेषण गर्ने प्रयत्न गरेका छन् । तिनमा पनि हाइडेगरको मृत्यु चिन्तन बढी गहन, व्यापक र अस्तित्वपरक छ । उनले आफूलाई अस्तित्ववादी चिन्तकका रूपमा चिनाउन चाहेका छैनन् । तर पनि उनको दर्शन अस्तित्ववादी विचारबाट अभिप्रेरित छ । अस्तित्ववादी दर्शनमा मृत्यु चिन्तनका विषयमा चर्चा गर्दा हाइडेगरले मृत्युको अनुभूतिलाई बढी महत्त्व दिएका छन् । उनका अनुसार मृत्यु निश्चित भविष्य हो । उनका विचारमा मानव अस्तित्वको भविष्यका सम्बन्धमा यदि कुनै पूर्णता छ भने त्यो केवल मृत्यु नै अनिवार्य शर्त हो । जीवनको क्रम यसरी नै चलेको छ ।
यो प्राकृतिक स्वभाव नै होस् बूढो भएपछि संसार छाड्नैपर्छ, सम्पूर्ण तृष्णालाई त्यागेर जानुपर्छ । मृत्युको यो अनुभूति सृष्टिको प्रारम्भदेखि अनादि कालसम्म रहिरहने छ । सामान्यतया मानिसका विचारमा मृत्यु एउटा निराशाजनक विषय हो र भरसक यसलाई पन्छाउन चाहन्छ । तर कुनै शर्तमा पनि काल पन्छिँदैन, निशर्त यसलाई स्वीकार्नु पर्छ अर्को विकल्प छैन र हुँदैन पनि ।
मृत्युका शब्दहरू धेरै छन् : निधन हुनु, देहावसान हुनु, मर्नु, स्वर्गे हुनु, परलोक जानु, चोला बदल्नु, देह त्याग्नु, मुक्त हुनु, आँखा चिम्लनु, जिब्रो टोक्नु, खुत्रुक्क हुनु, मास छर्न जानु, खस्नु, खुट्टा तान्नु, चोला बदल्नु, सिलटिम्बुर खानु, दिन सकिनु, लम्पसार पर्नु, भोगभाग सकिनु, कालले लैजानु, दैवले लैजानु, प्राण त्याग्नु, हावा खानु, ज्यान जानु, सासफेर्न बिर्सनु, माथि जानु, परमधाम जानु, बैकुण्ठबास हुनु, दिवङ्गत हुनु, ब्रह्मलीन हुनु, चीर निद्रामा जानु जस्ता शब्द नेपाली जनजीवनमा बोलिने मृत्युसम्बन्धी लोकबोली हुन् ।
नेपाली जनजीवनमा मृत्यु भनेको ठूलो त्रासदीभित्र लुकेको विषय हो । यो कालले जसरी भोकले खरिएको सर्पले मुसालाई भेट्दा एक गाँस पार्छ त्यसैगरी प्राणी जतिलाई पनि कालले समाप्त पार्छ । काल भनेको समय हो । दिन र रातजस्तै त्यसैले जन्म र मृत्यु भनेका सिक्काका दुई पाटा हुन् । यो सामान्य प्रक्रिया नै हो सामयिक मान्दा शरीरबाट विधिगत प्रक्रियामा मृत्यु हुन्छ तर असामान्य प्रक्रिया, आत्महत्या, दुर्घटना तथा भवितव्यबाट मृत्यु हुँदा भने त्यो मोक्षका लागि भड्किरहन्छ, प्रेत बन्छ भन्ने लोकविश्वास पनि छ । यसरी असामयिक वा भवितव्यबाट भवितव्यबाट मृत्युवरण गरेकाहरू प्रेतात्मा बन्दछन् ।
तर प्रेतात्माको बारेमा भन्नुपर्दा असामयिक मृत्यु वा दुर्घटनाबाट मृत्यु हुँदा प्रक्रियामा त्रुटि हुन्छ र आत्माले आफ्नो सहि मार्ग समात्न सक्दैन एउटा जीवको शरीरबाट त निस्कन्छ तर त्यसको गतिमा रुकावट हुने हुनाले त्यो प्रेतात्मा वा दुष्टात्मा भएर अदृश्य वायु रूपमा यत्रतत्र घुम्दछ भन्ने मान्यता समाजमा आज पनि विद्यमान छ ।
मानिसमा मृत्यु भयाक्रान्त हुनुमा उसभित्र रहेको चिन्तन शक्ति नै प्रमुख कारक बनेको देखिन्छ यसैले मानिस अरु पशुभन्दा फरक दर्जामा उभिएको छ । मानिसले मृत्युका बारे जे गरेपनि जति नै पन्छाउन खोजे पनि कवि लेखनाथले पौड्यालले भने मैं ‘आयो टप्प टिप्यो …..टारेर टर्दैन त्यो’ जस्तै मृत्युले कुनै पनि प्राणीलाई छोडेको छैन र छोड्दैन पनि । अर्को भन्नैपर्ने अको कुरा चाहिं के हो भने चिन्तन शक्तिकै कारण मानिस मृत्यु भयबाट जति आक्रान्त छ, त्यति नै त्यसको भयबाट मुक्त हुने कुरामा पनि ऊ नै अग्रणी छ । जीवनबारेको चिन्तनभन्दा अपेक्षाकृत कम भए पनि संसारका अधिकांश दार्शनिकले चिन्तन गरेकै छन् ।
प्रायः सबै सचेत मानिसबाट मृत्युचिन्तन भए पनि त्यसलाई अभिलेखीकरण गर्ने कार्य भने अत्यन्त न्यून मात्रामा मात्र भएको पाइन्छ । पौरस्त्य दर्शनमा मृत्युचिन्तन गरिएका उपजीव्य ग्रन्थ उपनिषद् हुन् । उपनिषद्हरूमा पनि कठोपनिषद्मा मृत्युचिन्तन सूक्ष्मताका साथ भएको छ । कठोपनिषद्ले मानव शरीरको जन्म, मृत्यु, र पुनर्जन्म सन्दर्भबाट प्रशस्त चिन्तन गरेको छ ।
०० ०० ०० ०० ००
मृत्यु कवितामा मृत्युको भाव
जन्म र मृत्यु जैविक प्रक्रिया हो, सृष्टिको संरचनामा: मान्छेको जन्म नै मृत्युको घोषणा हो । जन्म र मृत्यु एक अर्कासँग जोडिएरै आएका हुन्छ । त्यसैले जन्मबिना मृत्यु सम्भव छैन । आखिर अवश्यम्भावी मृत्युप्रति डराउनु, चिन्तित बन्नु वा दुःखी बन्नुको कुनै अर्थ छैन । प्राणी मात्रलाई मृत्युले कुनै असर पार्न सक्दैन किनभने मृत्यु आफैंमा स्वतन्त्र र शक्तिशाली होइन, खालि जन्मले निम्त्याएको वा तय गरेको यात्रा हो । जीवन सादृश्य यात्रा हो भने मृत्यु अदृश्य यात्रा हो । फरक यति हो– जीवनका भोगाइहरू लेख्न सकिन्छ तर मृत्यु कसैले भोगेको हुँदैन अर्थात् मृत्यु भोगेर लेखिएको कुरो होइन । मृत्युको भाव, कल्पना, मृत्यु निकटका भोगाइहरू मात्र समेट्न सकिन्छ । तिनै मृत्युका भाव तथा कल्पनाका पक्ष अर्थात् यस्तैयस्तै भावाभिव्यक्तिमा मृत्युका विविध दृष्टिकोण कवि मञ्जुलले मृत्यु कवितामा पोखेका छन् ।
हामीले मृत्युलाई बुझ्नुपर्छ, छाम्नुपर्छ सहजताका साथ आत्मसात् गर्नुपर्छ भन्ने दर्शन यस कवितासंग्रहमा पाइन्छ । मृत्युका एउटै भाव र एउटै निष्कर्ष समाहित गरी यस संग्रहमा १०८ मृत्यु–कविताको सान्दर्भिकता साथ काव्यात्मक स्वरूप प्रदान गरिएको छ । यहाँ प्रस्तुत गरिएका मृत्यु दर्शन कविको स्वकीय सिर्जनाको सापेक्षित दर्शन हो । कवि मञ्जुलको दीर्घसाधना र परिपक्व सोचको प्राप्ति यस कवितासंग्रहमा मृत्युमाथि विविध दृष्टिकोण रहेको नेपाली साहित्यमै नयाँ प्रयोग गरिएको छ । यही मृत्युमाथिको दार्शनिक अभिव्यक्ति र विविध दृष्टिकोणको मृत्यु कविताको विश्लेषण यहाँ गरिएको छ :
मृत्युको गणना, एक दुई गरी एकसय आठसम्म प्रस्तुत गरिएको छ । मुख्य रूपमा मृत्युको भाव प्रस्तुत गरिएको कविताहरू छनौट गरी विश्लेषण गर्दा पहिलो कविता मृत्यु एक कवितामा मृत्यु सत्यलाई गुरुको रूपमा मान्दै यसरी प्रस्तुत गरिएको छः
ओहो ! मृत्यु कस्तो महान् गुरु
मृत्यु कस्तो असल मित्र
जिन्दगीलाई चिन्न खोज्नेहरूका लागि
मृत्यु
मलाई जिन्दगीको ढोकाजस्तो लाग्छ
मृत्यु
मलाई जिन्दगीको प्राप्तिजस्तो लाग्छ
मृत्यु, केवल
मृत्युले मानिसहरूबीच भाइचारा दिएर जान्छ । (मञ्जुल , २०६९, पृ. १)
कविले मृत्युलाई महान् गुरु, असल मित्र भन्दै जिन्दगीको ढोकाका रूपमा बुझ्दै जिन्दगीको मूल प्राप्तिका रूपमा लिएका छन् । जिन्दगी बुझ्नका लागि मृत्युबोध हुनैपर्छ, बाँच्नका लागि चाहिने प्रेरक वस्तु भन्दै कविले मृत्युमाथिको सहज भाव प्रस्तुत गरेका छन् ।
त्यस्तै मृत्यु चार कवितामा कविले मृत्युको सुखद् आगमनको पलको चित्रण गर्दै मृत्युको सङ्गीत र सुखद पनलाई यसरी व्यक्त गरेका छन्:
मृत्यु
मसँग आउँछ
मध्यरातमा
मुरली बजाउँछ
फूलको बोटमुनि बसेर
रोइरहेको जीवनलाई
न्याना हातहरूले सुमसुम्याउँछ
शीतल स्पर्शहरूले छुन्छ
र मध्यरातमै
घामका झलमल्ल किरणहरूको उज्यालो दिन्छ
मृत्युले । (मञ्जुल , २०६९, पृ. ६)
मानिसले मृत्यु सधैं आफैंसँग बोकेर हिँडेको हुन्छ र मृत्यु रातसँगै फूलको बोटमुनि बसेर मुरली बजाउँछ भन्दै रातको सन्नाटामा गुञ्जिएको मृत्युको झङ्कारको भाव प्रस्तुत गर्दै रोइरहेका जीवनलाई मायालु स्पर्शमा आफूसँगै लैजान्छ भन्दै मृत्युको ममतालाई काल्पनिक रूपमा चित्रण गरेका छन् ।
मृत्यु बाह्रमा कविले मृत्युले कुनै प्राणीलाई कहिल्यै छोड्दैन, सधैं सँगै र साथसाथै रहने सत्यलाई यसरी व्यक्त गरेका छन्:
म घरबाट बाहिर जान्छु
मृत्यु मसँगै बाहिर जान्छ
म बाहिरबाट घर फर्कन्छु
मृत्यु मसँगै घर फर्कन्छ
म उसलाई बाहिर छाडेर
घर फर्किन पनि सक्तिनँ
म उसलाई घरमा छोडेर
बाहिर जान पनि सक्तिनँ
मृत्यु मसँग होइन
मै भएर भित्र–बाहिर गर्छ
मै भएर बाँच्छ
मै भएर सुत्छ, मै भएर उठ्छ (मञ्जुल , २०६९, पृ. १५)
मृत्युको रङ्गबोध गर्दै कवि मञ्जुलले भिन्न भिन्न वैचारिकता भएकाहरूले भन्ने गरेका मृत्युको रङलाई कविले मृत्यु पन्ध्र शीर्षकमा यसरी व्यक्त गरेका छन्:
क्रान्तिकारीहरू भन्छन्
मृत्युको रङ रातो छ
कविहरू भन्छन्
मृत्युको रङ नीलो छ
साधारण मानिसहरू भन्छन्
मृत्यु खरानी रङको छ
कोही भन्छन्, मृत्यु कालो रङको छ
कोही भन्छन्, मृत्यु सेतो रङको छ
मृत्युलाई चिन्नेहरू भन्छन्
मृत्युलाई बोकेर हिँड्नेहरूको
रङ अवश्य छ
तर मृत्युको आफ्नो कुनै रङ छैन
मृत्यु
मृत्युजस्तो छ । (मञ्जुल , २०६९, पृ. १८)
मृत्युको भिन्न रङ्गको बुझाइलाई प्रस्तुत गर्दै कविले फरक मान्छेका मृत्युको फरक रङ्गबाट हेर्न खोजेका छन् । विचार सिद्धान्तबाट परिचालित मानिसले मृत्युको रङ्ग बुझ्न नसकेको भन्दै अन्त्यमा मृत्युको कुनै रङ्ग छैन, मृत्युको आफ्नै रङ्ग मृत्युजस्तै भएको भाव अभिव्यक्त गरेका छन् ।
मृत्युको स्पर्श चाहना अर्थात् सुखद रूपमा मृत्युलाई भेट्ने अभिलाषालाई कविले मृत्यु सत्ताइसमा यसरी अभिव्यक्त गरेका छन् :
सागरमा
एक थोपा पानी खसेजस्तो
म मृत्युमा खस्न चाहन्छु
आफूलाई हराउन, आफूलाई मेटाउन होइन
क्षणिक पानीको थोपाभन्दा विशाल
सागर भएर बाँच्न
म आफूमा
विशाल सागर अनुभव गर्न चाहन्छु
सागर – विशाल सागर, आफैं भएर
म पानीको सानो थोपा
पानी नै भएर सागरमा खस्न चाहन्छु
तुप्लुक्क !
सम्पूर्ण समर्पणले
भव्य र विशाल आनन्दले । (मञ्जुल , २०६९, पृ. ३५)
सरल रूपमा मृत्युवरण गर्ने चाहलाई कवि मञ्जुलले समुद्रमा एक थोपा पानी खसेर मिसिएर विशाल स्वरूप ग्रहण गरेर पानीको थोपा समुन्द्रको रूपमा परिचित भएझैं कविमा मृत्युको सहज बोधको भाव अभिप्रेरित गरेका छन् । पानीको थोपा भएरै पानीमै रमाउन चाहन्छु भन्नुको तात्पर्य ब्रह्मबाट ब्रह्ममै विलीन हुन चाहन्छु भन्ने दर्शन यहाँ अभिव्यक्त भएको छ ।
मृत्यु पैँतीस शीर्षकमा कवि मञ्जुलले मृत्यु भनेको पानीमा औंलाले घोचेजस्तै सरल प्रक्रिया मान्दै कविले मृत्युलाई प्रक्रिया मानेका छन् । मृत्यु अनायासै आउँछ भन्ने कुरालाई यसरी प्रकट गरेका छन्:
पानीमा औंलाले घोचेजस्तो गरी
मृत्युले
जीवनको नाम लेख्छ
छोउन्जेल चिसो वा तातो
छुन छोडेपछि
न औंलाको डाम बाँकी रहन्छ
न औंलाले घोच्यो भन्ने सुख वा पीडा
पानीमा औंलाले घोचेजस्तो गरी
मृत्युले जीवनको नाम लेख्छ । (मञ्जुल , २०६९, पृ. ४३)
मृत्युले जीवनको नाम लेख्छ छोउन्जेल चिसो वा तातो अनुभव गरिन्छ तर पानीबाट औंला झिकेजस्तै कुनै रूप वा स्वरूप नरहने कुरा व्यक्त गरेका छन् ।
त्यस्तै मृत्यु अठतीस शीर्षकमा कविले समयक्रममा मृत्यु अनायासै आयने वा जाने होइन यो सधैं आफैं सँगै साथै रहिरहन्छ भन्दै नियमित आकस्मिकताका रूपमा यसरी प्रस्तुत गरेका छन्:
तर मृत्यु
आउने वा जाने कुरा होइन
त्यो त अभिन्न भएर
आफैंमा रहने आफै हो
हाँस त
हाँसोमा जीवन पनि हाँस्छ मृत्यु पनि
रोऊ त
रोदनमा जीवन पनि रुन्छ मृत्यु पनि
जीवन र मृत्यु एउटै कुरा हो
खालि हामीले
नबुझेको मात्र हो
रूखको पात
जीवन मात्र हो ?
मृत्यु होइन ?
रूख, सिङ्गो रूख
जीवन मात्र हो ?
मृत्यु होइन ?
जीवनकै नाम मृत्यु हो
मृत्युकै नाम जीवन
खालि हामीले
एउटै कुरालाई दुई किसिमले अनुभूत गरेको मात्र हो । (मञ्जुल , २०६९, पृ. ४८)
हामी मृत्युलाई जेजस्तो रूपमा लिन्छौं त्यस्तै रूपमा मृत्यु प्रकट हुन्छ या देखिन्छ, रुँदा रोए जस्तो हाँसे हाँसेजस्तो भन्ने भावमा मृत्युको चर्चा गरिएको छ ।
त्यस्तै मृत्युबोधका बारेमा मृत्यु सतचालीस शीर्षकमा मृत्युको बारेमा नजान्ने जीवनलाई परालको त्यान्द्रोजस्तो शुष्क भएको भावसँग तुलना गर्दै मृत्युसत्यको बारेमा जान्ने पर्छ भन्ने कुरा यसरी अभिव्यक्त गरेका छन्:
मृत्यु–बोध नभएको जीवन
शुष्क
परालको त्यान्द्रोजस्तै हो
रसहीन
बेस्वाद
आशाको एउटा थोपो पनि नभएको
मलाई
त्यस्तो जीवनको कुनै मोह छैन
त्यस्तो जीवनलाई
स्वीकार्नु त परै जाओस्
घृणा गर्न पनि जाँगर छैन । (मञ्जुल , २०६९, पृ. ६१)
अबुझ र अज्ञानबाट मुक्त जीवनको चाह गर्दै कविले जीवन बुझेजस्तो मृत्यु पनि बुझ्न सक्नुपर्छ भन्ने भाव व्यक्त गरेका छन् । मृत्यु चेतनाविहीन जीवनसँग कुनै मोह नभएको कुरा कवितामा प्रस्तुत गरिएको छ ।
मृत्युलाई मोहनी रूप मान्दै एक सुन्दरी स्त्री उर्फ स्वास्नीमान्छेको परिकल्पना गर्दै कविले मृत्यु चवन्नमा नारीको अधरलाई मृत्युको रूपसँग तुलना गरेका छन् :
मृत्यु–बोध
मुस्कुराउँदै जब मेरो अगाडि आउँछे
मलाई
सबभन्दा सुन्दर सूर्योदय
मेरो अगाडि आएजस्तो लाग्छ
यति सुन्दर–
धर्ती–आकाशबीचको क्षितिज
र एउटी स्वास्नीमान्छेका ओठहरू
मलाई उस्तै–उस्तै लाग्छन् (मञ्जुल , २०६९, पृ. ६१)
मृत्युको बोध गदै कवितामा कविले मृत्यु र नारीको अधरसँग सुखद चित्रण गरेका छन् ।
मृत्यु कविताको पचहत्तरौं शीर्षकमा कविले मृत्युको सहज प्रक्रियाका रूपमा अभिव्यक्त गरेका छन्ः
जहाँ मृत्यु हुँदैन
त्यहाँ न शून्यता हुन्छ न आवाज
शून्यता मरेर आवाज जन्मन्छ
आवाज मरेर शून्यता
मृत्यु निरन्तरता – महान् निरन्तरता
मृत्यु, गाइने र नगाइने
दुवै गीत हो
मृत्यु, सुनिने र नसुनिने
दुवै गीत हो
मृत्यु गीत हो
सृष्टिको सबभन्दा सुन्दर गीत (मञ्जुल , २०६९, पृ. ११०)
यसरी जन्म नभई मृत्यु हुँदैन भन्ने तत्त्वबोधलाई कवि मञ्जुलले मृत्युको निरन्तरताका रूपमा अभिव्यक्त गर्दै मृत्युलाई सम्झने, नसम्झने, गाइने, नगाइने, सुनिने, नसुनिने सृष्टिको सन्दिर गीतका रूपमा चित्रण गरेका छन् ।
मृत्यु पचासी शीर्षकमा मृत्युको वासस्थान चिहान उर्फ श्मसानघाटको चित्रण यसरी गर्न पुगेका देखिन्छन् :
चिहान
जीवनको अन्त्य पनि होइन
मृत्युको वासस्थान पनि होइन
चिहान त
जीवन र मृत्युले एकै ठाउँमा, एकैसाथ टेकेको
पाइलाको एउटा चिह्न मात्र हो । (मञ्जुल , २०६९, पृ. १३०)
भौतिक मृत्यु उर्फ शरीर जीर्ण भएर कर्म विपाक भएपछि अन्त्येष्टिका लागि लगिने चिहानलाई कविले चिहान जीवनको अन्त्य होइन, मृत्युको वासस्थान पनि होइन भन्दै जीवन र मृत्युको समीकरणमा एकैसाथ पाइला टेकेको स्थानका रूपमा परिभाषित गरेका छन् ।
मृत्यु अठासीमा कविले मृत्युको यथार्थलाई प्रस्तुत गरेका छन् । मृत्यु सत्य र वास्तविकतामा सृष्टि प्रक्रिया र विलयनसँग जोडेर यसरी हेरिएको छ:
पानीमाथि उठेका छालहरू
बिस्तारै खसेर
पानी नै भएजस्तो
आकाशमा देखा परेको इन्द्रेनी
बिस्तारै बिलाएर
सेतो सफा प्रकाश भएजस्तो
रातभरि देखेका सपनाहरू
बिस्तारै–बिस्तारै बिर्सिएर
विस्मृति भएजस्तो
प्रकृतिका सुन्दरताहरूको माझबाट सिर्जित जिन्दगी
बिस्तारै–बिस्तारै क्रियाकलापहरूमा थाकेर
प्रकृतिमै विलयन हुन्छ ! (मञ्जुल , २०६९, पृ. १३३)
जुन बस्तु जेबाट निर्मित हो अथवा जेबाट बनेको थियो त्यसैमा गएर समाहित भएजस्तै मृत्युको स्वरूपमा पनि त्यस्तै हुन्छ भन्ने भाव कविले व्यक्त गरेका छन् । पानीको छाल पानीमै मिल्छ, आकाशमा देखा परेको इन्द्रेणी क्षणभरमै आकाशमै विलीन हुन्छ, रातमा देखिएका सपना ब्युँझँदा स्मृतिमा समेत अट्दैनन् त्यस्तै प्रकृतिबाट निर्मित मानव जीवनको अन्त्य प्रकृतिमै विलयन हुन्छ भन्ने कुरालाई कवितामा प्रस्तुत गरिएको छ ।
मृत्यु बयानब्बेमा मृत्यु र कुहिरोको रूप र स्वरूप एउटै हो मानिसको जन्म र मृत्युलाई दृश्य तथा अदृश्य वस्तु क्षणभरमै बदलिने अवस्थालाई कविले यसरी प्रस्तुत गरेका छन् :
कुहिरो आयो भन्छन् मानिसहरू
कुहिरो गयो भन्छन्
कुहिरोसँग
आउनु र जानु जोडिएका छन्
कुहिरो आयो हुनु
कुहिरो गयो नहुनु
कुहिरो गयो हुनु
कुइरो आयो नहुनु – सम्भव छैन
त्यसैले मानिसहरूले
सदियौँ–सदियौंदेखि गाइरहेछन्
कुहिरो आयो…
कुहिरो गयो…
हुन्छ भने विकृति नराम्रो हुन्छ
प्रकृति त सधैं राम्रो हुन्छ ! (मञ्जुल , २०६९, पृ. १३९)
यसरी मानिस जन्मनु र मर्नुको सामान्यीकरण गर्दै कविले जन्ममृत्युको सदियौँ देखिको नियमित प्रक्रियालाई पुष्टि गर्न खोजेका छन् ।
शिकार र शिकारी उर्फ मर्ने र मारिने प्रक्रियालाई भ्रम हो भनने वैचारिकता र यथार्थको विश्लेषण गर्दै कविले कालिज र शिकारीसँग जोडेर यसरी प्रस्तुत गरिएको छ :
कालिजको सानो आँखाबाट
सानो मृत्यु चियाउँछ
कालिज भागिरहेछ पोथ्रापोथ्रा
मृत्युबाट बच्न
तर उसका अङ्ग–अङ्गमा, शरीरका रेसा–रेसामा बसेर
उसको मृत्यु ऊसँगै दगुरिरहेछ, ऊसँगै
सिकारी
कालिजको मृत्यु हातमा बोकेको छु भन्ने भ्रमले
आफै लखेटिइरहेछ – आफ्नै मृत्युले
थाकेर लखतरान
कालिज
आफ्नै मृत्यु मर्छ
सिकारी
आफ्नै मृत्यु मर्छ – मर्नुपर्दा
तर प्रकृति–रानी
लखेट्नु र लखेटिनुको खेल खेलाएर
त्यही खेलको आनन्दले रमाएर
जाडाका दिनहरू काटिरहिछन् । (मञ्जुल , २०६९, पृ. १४५)
यसरी शिकारीले कालिजलाई मार्नका लागि जे जस्तो गरिरहेछ त्यो भ्रम हो, भन्ने सत्यलाई बोध गर्दै समय आएपछि सबै समय चक्रमा मर्छन् भन्ने कुरा यहाँ व्यक्त गरिएको छ ।
भौतिक रूपमा मर्नु परेका अवस्था र मृत्युपछिको सम्बोधन मुर्दालाई कविले म को हुँ भन्ने प्रश्नलाई खोज्न आफैंले आफैंलाई मुर्दा मानेका छन्ः
आफू आफैंसँग प्रश्न गर्छु
‘मेरो नायक को हो ?’
मेरो सोझो र सरल उत्तर हुन्छ
‘मुर्दा’
मुर्दा स्वार्थी हुँदैन – निकृष्ट
मुर्दा बेइमान हुँदैन – लालची
मुर्दा माटो हुन्छ
मेरो देशजस्तो, मेरो प्रिय देशजस्तो
तिम्रो आदर्श के हो भनेर
कसैले मलाई सोध्यो भने
म ठाडो शिर गरेर भन्नेछु
‘मुर्दा ।’(मञ्जुल , २०६९, पृ. १५३)
यसरी मानिस त स्वार्थी हुन्छ । तर मुर्दा सोझा र सरल हुने भएकाले भौतिक शरीर भन्दा माथि ज्ञानबाट मात्र आत्मालाई जन्म मरणको चक्रबाट मुक्त हुन मुर्दा हुनपर्छ भन्ने भाव व्यक्त गरेका छन् ।
०० ०० ०० ०० ००
निष्कर्ष
यसरी कवि मञ्जुलले मृत्यु कवितामा मृत्युका विभिन्न रूप, स्वरूप तथा मृत्युका भावलाई व्यक्त गरेका छन् । मृत्यु शीर्षकमा लेखिएका उनका सबै कवितामा भिन्न दृष्टिबाट मृत्युको परिभाषा, रूप तथा स्वरूपको चित्रण गरिएको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।