यसै पनि किनेर पुस्तक पढ्ने प्रवृत्तिमा ह्रास आइरहेको आजको विषम परिस्थितिमा असल पाठक पाउन झनै गाह्रो छ । सित्तै लगिएका पुस्तक पनि घरमा त्यसै थन्किएर बसिरहेका हुन्छन् । यो अवस्थामा सकेसम्म आफूले प्राप्त गरेका पुस्तकहरू पढ्नु र त्यसबाट धेरथोर ज्ञान लिनु हरेक पाठकको धर्म हो । पढेर ज्ञान लिनुका साथै समीक्षात्मक टिप्पणी पस्किन सके आफ्नो निखारपन देखिनुका साथै सम्बन्धित स्रष्टाप्रतिको सम्मान पनि दर्साउने थियो ।

पुस्तक निकाल्नेहरूको भिडमा एउटा अलग स्वाद र विलुप्त आवाज लिएर आफ्नो दोस्रो कविता कीर्ति ‘प्रदीप्त मन’ मार्फत झुल्किएकी हुन् कवि तथा सशक्त नारी हस्ताक्षर ‘जुनू घिमिरे’ । आउनुस्, यसैमाथि गरिएको पाठकीय टिप्पणीभित्र हराऔं ।

शीर्षक नै ‘प्रदीप्त मन’ अर्थात् प्रकाशले युक्त, उज्यालो कहिल्यै ननिभ्ने मन, यसैले पढूँपढूँ लाग्ने, संग्रहभित्र मान्छे हराएको गाउँबाट शुरू भएर उड्यो एक योद्धासम्म गरी ४३ वटा कविता सङ्ग्रहित छन् । बानेश्वर क्याम्पसमा गरिएको छोटो मिठो विमोचन कार्यक्रममा जब पुस्तक हातमा पर्‍यो, १ घण्टापछि खाजा खाने बेलासम्म पुग्दा तीस ओटा पढेर सकिसकेको थिएँ ।

कविताको उठान जब हुन्छ पढ्ने भोक झन्झन् बढ्दै आउँछ, नसकिए हुन्थ्यो भनेर पढ्दा पढ्दै कविता सकिन्छ त्यो पनि सशक्त बैठानका साथ । शीर्षक छनौट त्यसमाथि बिम्बात्मक तवरले निर्मम प्रहार गरिनु, बा, चौतारी, गाउँघर, पानीपँधेरा, बादल, बालापन, आमा, भगवान्, आफू बाँचेको परिवेश, सुन्दरता, भ्रम, प्रेम,तथा आफैलाई घरीघरी चिमोटेर गरिने  प्रश्न आदि जुनू घिमिरेका कविताका मूल तत्त्व हुन् ।

कविताक्रम पस्किँदै गर्दा डाक्टर नवराज लम्सालका काव्यमाथि गरिएको ‘नयाँ नयाँ बिम्बका झरिला कविता’ शीर्षकमा सशक्त टिप्पणी पढ्न पाइन्छ, “कविता चिन्नु कवि नचिन्नुको स्वाद मलाई खुब मजा लाग्छ ।” हुन पनि हो पहिले नै चिनिएका कवि भन्दा कविताले चिनाएका कवि बढी नै स-शक्त लाग्छन् ।

कुनैदिन,

विकास खोज्दै शहर परेको गाउँ 

शहरमै हरायो 

फर्किएर,

विकास गाउँसम्म आयो 

तर खोज्न गएकाहरू फर्किएनन् !

‘मान्छे हराएको गाउँ’मा छचल्किएको विम्ब हो यो उनको ।

यहाँ,

मान्छेहरू भन्छन् बादलजस्तो स्वतन्त्र भएर पो बाँच्नु !

ए बादल ! तिमीलाई हेरेर

स्वतन्त्रताको परिभाषा लेख्न मिल्छ ?

‘बादलको पक्षमा’ शीर्षकबाट टिपिएको कवितांश हो यो !

प्रिय मान्छे !

मलाई थाहा छ 

त्याग र समर्पण नै माया हो -समर्पित प्रेम । 

कुनै शीर्षक त्यस्तो नहोला जसले मजस्ता पाठकको मन कटक्क नपारेको । आफ्ना कविताहरूसँगै आफ्ना पाठकहरूलाई तिनै रित्तिएका गाउँ, जवानीमा छुट्नेहरूको पीडा र रोदनसँग एकाकार गराउँदै विचरण गराउनु जुनू घिमिरेका कविताका सबल पक्ष हुन् ।

सुन्दर बगैंचामा पुग्दा यो फूल चुमूँ कि त्यो फूल चुमूँ, अनि कुनै नछाडूँ भए जस्तै जुनूका कविताहरू पढ्दै जाँदा कुनै छाड्न मनै लाग्दैन । पाठकलाई जति  पढ्यो उति भोक जगाउनु कविको काव्यिक सबलता हो ।

अघाउनलाई भोको पेट र 

आनन्दित मन चाहिने रहेछ 

कहिले गुन्द्रुक र ढिँडो खाएँ 

गरिबीमा पनि शान्तले निदाएँ  

तर, सुनौलो भविष्य खोज्न 

सन्तानले भारी कसेपछि 

न जाऊ भन्न सकेँ 

न बस भनेर, प्रेमले छाक टार्न सकेँ !

आज लाग्दै छ उड्नेहरूको भिडमा

मैले पनि 

सन्तान उडाएँ – सन्तान उडे पछिबाट !

यति सशक्त विम्बहरू छन् कि बियाँ र भुस जति अरूकै भागमा छोडेर कविले यस संग्रहमा चामल मात्र लिएर उपस्थित भए झैं भान हुन्छ ।

एउटा त्यस्तो बस्तीले बाटो हेरिरहेछ

जुन बाटो ,

हरेक सूर्योदयमा कल्पना भएर जन्मिन्छ 

सपना भएर सूर्यास्तमै मर्छ -सिमानामा देश । 

त्यस्तै,

एक पुरुष मोहित भएर,

अर्को पुरुष दिग्भ्रमित भएर 

सीता र मन्दोदरीले बाँचे 

सुन्दरताभित्र पनि कुरूप जीवन 

आखिर यो सिलसिला कहिलेसम्म 

र कति युग बितेपछि 

पुरुष लज्जित हुन्छन् -भगवानलाई प्रश्न ? बाट !

यी र यस्ता कयौँ अनुत्तरित प्रश्न छन् यस कवितामा जसको जवाफ पाउन अझ थुप्रै वर्ष व्यतीत गर्नुपर्ने तर्फ इशारा गरेकी छिन् कवि घिमिरेले ।

केही थान डर,

केही थान आत्मविश्वास,

अथाह प्रेम 

बिछोडिएको पीडा

आँखाभरी पानी 

र मनमा दृढ सङ्कल्प भरेर निस्किइन 

खुल्ला आकाशमा उड्न छोरी 

भिरेर झोला 

कुनै युद्धमा निस्किएको सिपाहीझैँ भएर -‘उड्यो एक योद्धा’बाट !

पढ्ने हरेक पाठकले मेरै कथा पो लेखिछन् भनेर उनका कवितासँगै एकाकार हुनु कविताको सामर्थ्य हो ।

दुर्बल पक्ष पनि कोट्याएको भए हुन्थ्यो भन्ने लाग्न सक्छ, नढाँटी भन्छु मैले त्यस्तो ठाउँ नै भेटिनँ कतै ।

पाठकको नजरले देखेका खुराक पस्किएँ यो पूर्णता अवश्य होइन, विषयमा प्रवेश मात्र गरिएको हो । पूर्ण कविता पढ्ने जिम्मा तपाईंहरूमा छोड्दै स्रष्टा जुनू घिमिरेको आगामी उज्ज्वल काव्यिक भविष्यको कामनाका साथ हार्दिक बधाई र शुभकामना दिँदै बिसाएँ -अस्तु ।