ढुङ्गे युगदेखि क्रमिक रूपमा विभिन्न प्रयोजनमा हामी घुम्दै फिर्दै आएका यायावर हौँ । मानव हृदयको एउटा अतृप्त प्यास हो यात्रा । यात्रा गरेर मानव कहिले नथाक्ने रहेछ । गतिशील जीवन नै चिनारी हो हाम्रो । कहिले पूरा हुँदैन हाम्रो यात्रा । अझ हाम्रो संस्कारले भन्छ यो शरीरको अन्त्य पछि पनि हामी नवीन यात्रामा निस्कन्छौं कल्प कल्पसम्म।

घुम्ने रहर मलाई पनि अत्यधिक छ । समय र परिस्थिति सधैं अनुकूल हुँदैन । प्रविधिको स्वर्ण युगमा उपाय निकाल्छु । परिस्थिति बदल्न नसक्दा प्रायः मनस्थिति बदल्छु । अनि विभिन्न माध्यमबाट घुम्ने गर्छु । ‘युरोप यात्रा’ कल्पना गर्दा पनि रोमाञ्चित हुन्छु । हुन त हामी सबैको सुनौलो सपना हो युरोप  भ्रमण । प्रायः रिकी स्टिभको युरोप यात्रा युट्युबमा हेरेर रोमाञ्चित हुन्छु । रौसिन्छु पनि । यसरी युरोपका धेरै ठाउँहरू रिकी स्टिभसँग पर्दामा घुम्दा त मक्ख पर्ने म सशरीर युरोप पुग्दा के गरौंली ? अहिले किताब पढ्न थालेपछि यात्रा साहित्यले तान्दै छ । केही समय अगाडि डाक्टर गोविन्दराज भट्टराईको “मेरो दोस्रो बेलायत” पढेर युरोप घुमें । अहिले बिन्दु सुवेदले कलाको आँखाले गरेको ‘युरोप यात्रा’ पढेर आनन्दित भएकी छु । अक्षरको मार्गबाट म पनि उहाँहरू सँगसँगै युरोपका विभिन्न देशमा विचरण गरें ।

बिन्दु सुवेदी नेपाली साहित्यमा चिरपरिचित नाम हो । बालसाहित्य, कथा र यात्रा साहित्यमा कलम चलाउँदै आएकी स्रष्टाका सिर्जनाहरू अमूल्य छन् । जापानमा एक वर्ष (यात्रा), कुहिरोको घर (बालकथा), अंशुको यात्रा (बालउपन्यास), मेरी दिदी र ऊ (कथासंग्रह) सहितका कृति प्रकाशित छन् । आफ्ना भान्जाका छोराको उपनयनको अमूल्य निम्तो स्वीकार्दै अस्ट्रिया पुगेकी स्रष्टा दुई महिनाको युरोप यात्रामा निकै रमाएकी छन् ।

आफूले गरेको युरोप भ्रमणको नालीबेलीलाई साहित्यको जलप लगाएर निकै सुललित तवरले कला, साहित्य, भूगोल, इतिहासको व्याख्या गरेकी छन् । यस कृतिमा यात्रा वर्णन,डायरी र अनुभूतिको सजीव चित्रण आएको छ । सन् २०१८ को जुलाईदेखि युरोपका महत्त्वपूर्ण देशहरू फ्रान्स, जर्मनी, हंगेरी, स्वीजरल्याण्ड, अस्ट्रिया, इटलीको भ्रमणमा आफूले देखेका अनुभव गरेका स्थान, युद्ध, राजनीति, प्रकृति, पर्यावरण, कला, साहित्य, संस्कृति, व्यापार, शहर, शपिङ् र शिक्षाका  निजात्मक अनुभवहरू यस कृतिमा निकै सुन्दर किसिमले व्यक्त गरेकी छन् ।

युरोप यात्रामा एक्लै हिंड्न लागेको देखेर त्रिभुवन विमानस्थलका कर्मचारीले गरेको प्रश्नमा स्रष्टा मन केहीबेर प्रश्नात्मक भएर टोलाउँछ, ‘के मैले एक्लै यात्रा गर्न सक्दिनँ र ? नेपालबाट कति महिलाहरूले विदेशमा भएका सभा सेमिनारमा एक्लै पनि त भाग लिन जाने गरेको होलान् ( पृष्ठ १६०)।“

ती हवाई अड्डाका कर्मचारी बिचरा आम नेपाली न थिए । नेपाली महिलाहरूको अवस्था निकै नजिकबाट हेरेका रहेछन् । ती कर्मचारीलाई के थाहा नेपालभित्र पनि अर्को सुन्दर, सभ्य र समतामूलक नेपाल छ भनेर । साहित्य, शिक्षा र कलाप्रेमी परिवारको वास्तविकताबाट अनभिज्ञ कर्मचारी चिन्तित हुनु स्वाभाविक नै लाग्यो । मात्र एउटी नारी ती पनि कपाल फुलेकी मान्छे, कत्रो आँट एक्लै युरोप भ्रमणमा निस्किँदा, आम मान्छेले गर्ने प्रश्न गलत पनि त थिएन । वास्तवमा नेपाली महिलाहरूलाई यसरी घुम्ने अवसर बिरलै मिल्दछ ।

ती कर्मचारीलाई थाहा छ यहाँका नारीलाई यात्रा गर्न सजिलो छैन बासको मात्र हिसाब हैन प्रत्येक श्वासको हिसाब बुझाउनुपर्छ नारीले । बिन्दु सुवेदी ती भाग्यशाली नारी हुन् जसका श्रीमान् आफ्नी आमाको छत्रछायामा शिक्षादीक्षा लिंदै हुर्किएका एक मातृभक्त छोराको साथमा छिन् ।

सुवेदी आफ्नो परिवारको वास्तविक स्वरूप पाठकहरूलाई पनि देखाउँछिन्, “मेरो घरमा हामी परिवार खाना खान एकसाथ बसेको समयमा साहित्य, संगीत, कला र अन्य विषयमा चर्चा हुने गर्छन् । वास्तवमा त्यो समय नै यस्तो समय हुने गर्छ जति बेला परिवारका सबै सदस्यहरू एक साथ हुने गर्छन् । एक अर्काको मनमा उठेका कुराहरू छलफल गर्ने, केही जान्न चाहेका कुराहरू सोध्ने समय नै त्यही भान्साको टेबल हुने गर्छ ( पृष्ठ १६) ।“ यस्तो आदर्श परिवारबाट उठेर हिँडेकी स्रष्टा प्रश्नकर्ताको प्रश्नले छक्क पनि परेकी छन् । के थाहा उनलाई बौद्धिक भनिएका आम नेपालीहरू  खाना खान टेबुलमा जम्मा हुँदा नूनको  विषयलाई लिएर हातापाइँ नै हुन्छ भन्ने साधारण कुरा ।

कतारको दोहा हुँदै भियना उडेको हवाईजहाजमा भेटिएका युवाहरूले स्रष्टालाई गरेको व्यवहार बडो सान्दर्भिक किसिमले उठान गरेकी छन् । युरोपियन युवाहरूले एक नेपाली महिला त्यो पनि कपाल सेतै फुलेकी बूढी आफू सँगैको सीटमा बस्दा पक्कै असजिलो माने । तर कलाकी पुजारी बिन्दु किताबलाई बढो प्रेम गर्छिन् । हेड फोन नजिकै हुँदाहुँदै पनि ठूलो ठूलो आवाजमा सिनेमा हेर्दै गरेका युवाहरूलाई बेवास्ता गर्दै जब स्रष्टा किताब झिकेर पढ्न थाल्छिन् । ती असभ्य जस्ता देखिएका युवाहरू गैरयुरोपियन बूढीले पुस्तक पढेको देखेर तीन छक्क पर्छन् । र आफ्नो व्यवहारमा परिवर्तन ल्याउँछन् । उनीहरूमा अचानक पुस्तक प्रतिको श्रद्धा प्रकट भएको जस्तो लाग्छ । तर पुस्तक प्रतिको यो सम्मान अचानक चाहिँ पक्कै आएको होइन । ती युवाहरूको शिक्षा, संस्कार, पुस्तक पठन र अध्ययनले निर्माण गरेको पुस्तक प्रतिको प्रेम, श्रद्धा र हार्दिकताले नै हो । मैले यो सन्दर्भ पढ्दै गर्दा हाम्रा युवालाई तुलना गरें । के हाम्रा युवा किताबप्रति यति श्रद्धावान् होलान् ? जे होस किताब जहिले पनि ब्यागमा बोक्ने मेरो बानीले पनि मलाई थप हौसला प्रदान गर्‍यो ।

यसरी अस्ट्रिया पुग्दा स्रष्टाले ट्रली लिनका लागि गरेको संघर्ष पनि निकै रोचक छ । कति रमाइलो छ यात्रा । स्रष्टालाई स्वागतदेखि युरोप भ्रमणको साथ र साथी विदुषी अलका आत्रेयको परिवार  छ।

यात्रा युरोपमा मात्र सीमित छैन । युरोप, नेपाल र जापानको तुलनात्मक रूपमा विचार विमर्श गरेकी छन् । स्वीट्जरल्याण्ड को  शहर ज्युरिकबाट आरम्भ भएको यात्रामा कला आन्दोलनको  कुरा ल्याएकी छन् । घरमा दादाइज्मको बारेमा छलफल भएको कुरा गर्दै, दादाइज्मको प्रसङ्ग पनि लेखेकी छन् । हंगेरीको राजधानी बुडापेष्टको इतिहासलाई छुँदै भ्रान्तिको गोधुलीमा हराएकी छन् । बर्लिनको इतिहास, युद्धको सम्झनामा हिटलरलाई स्मरण गर्दै जर्मनीको सुन्दर भूगोलको सचित्र व्याख्या गर्दै हिंडेकी छन् ।

कलाले भरिएकी स्रष्टा हम्बोल्ट विश्वविद्यालय किनारमा साल्भाडोर डालीको बहुचर्चित चित्र “पग्लिएको घडी” पुस्तक देख्दा स्रष्टा निकै हर्षित हुन्छिन् । हम्बोल्ट विश्वविद्यालयको इतिहास पढ्दा म पनि बडो जिज्ञासु हुँदै पढें, ‘हम्बोल्ट विश्वविद्यालयमा सयभन्दा बढी विषयहरू पढाइ हुनेरहेछ। कला र मानविकी विषयको पढाइमा त यो अति नै प्रतिष्ठित मानिंदो रहेछ । त्यति मात्र होइन संसारमा पिएचडी अध्ययनको शुरूवात पनि यही हम्बोल्ट विश्वविद्यालयबाट भएको रहेछ । त्यसैले होला यो विश्वविद्यालयलाई आधुनिक विश्वविद्यालयकी आमा पनि भनिने रहेछ ( पृष्ठ ५४) ।

यसरी यात्राभरि अमूल्य जानकारीहरूसँग पाठकहरू साक्षात्कार हुने अवसर प्राप्त हुन्छ । यस्ता यस्ता ऐतिहासिक प्रसङ्ग पढ्दा पाठक हृदय पक्कै हर्षित हुन्छ । कलाप्रेमी श्रीमानलाई सर्प्राइज गिफ्ट किन्न लाग्दाको त्यो मनोभाव पनि उत्तिकै स्मरणीय छ । स्रष्टाले हम्बोल्ट विश्वविद्यालयको नजिकै सडक किनारमा सेकेन्ड ह्याण्ड किताबहरू बेच्न राखिएका हुन्छन् । हर्मन हेसे र फ्रान्ज काफ्काका पुस्तहरू देखिन्छन् । साहित्यका, चित्रका पुस्तकहरू प्रशस्त देख्दा पुस्तक प्रेमी स्रष्टाको हृदय उत्साहित हुन्छ । साल्भाडोर डालीको प्रख्यात चित्र “पग्लिएको घडी”  देख्ने बित्तिकै बिन्दुको मन खुसीले नाच्न थाल्छ । उनलाई त किताबले भरिएको गाडा नै मण्डिखाटार लैजान मन लाग्छ ।

अन्तिममा डालीको मूल्यवान् पुस्तक लिएर अलका आत्रेय भएको ठाउँमा आनन्दित हुँदै पुग्छिन् । कत्रो चेतना ! साहित्य र कला बुझेको घर लाखौंमा एक हुन्छ । त्यो पनि श्रीमानको रुचि बुझेर त्यहाँदेखि पुस्तक उपहार ल्याएको देख्दा मलाई पनि निकै हर्ष लाग्यो । सुनेकी छु नारीले हृदय खोलेर किन्ने भनेको लुगा, गहना, ब्याग मात्र हुन् । दुई वटी आइमाई भेट भए भने खालि गहनाकै कुरा गर्छन् । लुगाकै कुरा गर्छन् । अलका आत्रेय र बिन्दु सुवेदीको यो यात्रा पढेपछि म ढुक्कले भन्न सक्छु नारीले विश्व साहित्य, कला र संस्कृतिको पनि कुरा गर्छन् । आशा गर्छु नारीहरू सचेत भएर अध्ययन, पठन र लेखनमा लागून् ।

बिन्दुको बौद्धिकता र चेतना यहाँ यसरी उद्घाटित भएको छ, “म छोराहरू सलिल र गिरीशलाई भन्ने गर्छु- तिमीहरूको बुबाको यो संकलन तिमीहरूको लागि गौरव र प्राप्ति हो भन्ने ठान्नू ( पृष्ठ ५८ )।“

आहा ! कति गम्भीर अभिव्यक्ति । बाआमाको इच्छालाई बुझेर बाआमाकै मार्गमा पाइताला चलाउने सन्तान त लाखौंमा एक हुन्छन् । कला बुझेकी स्रष्टा भेनिस पुग्दा शेक्सपियरको भेनिसको व्यापारीलाई स्मरण गर्न पुगेकी छन् । फ्रान्स पुग्दा कलाको महत्त्व बुझेर खुलेर अध्ययन अनुसन्धान र मनन गरेकी छन् । इतिहासलाई संरक्षण गरिएको बडो लोभलाग्दो चित्र छ फ्रान्स यात्राको । भर्सायल दरबार भित्रको सौन्दर्य, गार्डेनको फैलावटदेखि, मिररको अद्भुत वर्णन ।

त्यहाँका वास्तुकला, चित्रकला, मूर्तिकलाको इतिहास, परिचयदेखि वर्णन निकै सुन्दर तरिकाले शब्दको पर्दामा देखाएकी छन् । लुभ्र म्युजियममा भएका कलाकृतिदेखि मोनालिसासँग भेट गराउन सफल छन् स्रष्टा। घरी आईफल टावरको त्यो भव्य उचाइमा पाठकलाई चढाउँछिन्, आइफल टावरमाथिको बजार, होटल देखाउँदै आइफल टावरको रात्रिकालीन परिवेश झलमल देखाउँदा पाठकको हृदय पनि आलोकित पार्छिन् । सेन नदीको छातीमा पौडिरहेका फेरी र जहाजहरू आँखामै ल्याउँछिन् ।

मीठामीठा चकलेट स्वादमा रमाउने स्रष्टालाई के थाहा पाठक पनि चकलेटप्रेमी हो भनेर । स्रष्टाको चकलेटको वर्णनमा पाठकको जिब्रोले पनि चकलेट खोज्छ । अन्त्यमा मलाई यस्तो लाग्यो आफ्नो संस्कृति, परम्परालाई प्रेम गर्ने मान्छेलाई ठाउँ र परिस्थितिले छेक्दैन रहेछ । हृदयमा नेपाल बोकेर हिँडेपछि नेपाल अदृश्य हुँदैन । देश भनेको भूगोल मात्र होइन रहेछ । देशको भूगोलमा बसेर पनि देश बिर्सिएका अनेकौँ उदाहरण छन् । कला, भाषा र साहित्यलाई कुल्चेर निर्धक्क रूपमा विदेशलाई देशमाथि शासन गर्न दिएका छन् ।

अल्का आत्रेयलाई नमन छ अस्ट्रियामा बसोबास गरेर, आफ्ना सन्तानलाई त्यो किसिमले संस्कार दिएकी छन् । युरोपमा हुर्किएका सन्तान आफ्नी आमाले भनेको टप टप मानेका छन् । अतिथिको स्वागतमा आफ्नो निजी समय खर्च गर्ने सन्तान पक्कै पनि उदाहरणीय छन् सम्माननीय छन् । नेपाली संस्कृतिसँग परिचित गराउन विदेशीहरूलाई पनि जमघट गराएर उपनयनको संस्कार बुझाएकी छन् । नेपाली संस्कृति, परम्पराप्रति युरोपियनहरूलाई जिज्ञासु बनाएकी छन् । यस्ती विदुषी डाक्टर अल्का आत्रेयलाई हृदयतः सम्मान छ ।

अनिता कोइराला