भो, नसोध मलाई, कहाँ दुख्छ ? तर हद नाघेर दुख्छ, बिछट्टै दुख्छ, दुखिरहन्छ । भन्न सक्दिनँ यहीँ दुख्छ, किन दुख्छ ? कहिले दुख्छ ? अनि कति दुख्छ । हो, अनिल श्रेष्ठको निबन्धसंग्रह यो मन कहाँ दुख्छ ? (२०८१) को शीर्षक पढ्ने बित्तिकै मलाई यस्तै अनुभूति हुन पुग्यो । अनि सादा रङमा सोचनीय र गम्भीर मुद्रामा टोलाएर चस्माभित्रबाट नियालिरहेका निर्दोष आँखासँग सोध्न मन लाग्यो – तिमीलाई के ले कहाँ दुखायो कवि ?
पाना पल्टाउँदै उनका दुखाइसँग साक्षात्कार गर्ने हुटहुटी मनमा जागिहाल्यो । त्यसो त विषयसूची पढ्दैमा मन लाग्दा कतिपय शीर्षकहरू पनि छन् । तर यस पुस्तकमा पहिलो वा शीर्ष निबन्धले मात्र होइन अन्यले पनि पठनप्रतिको हुटहुटी जगाउन थालिहाल्यो । यसका १९ वटा निबन्धमध्ये विशेषगरी पहिलो, तेस्रो, सातौँ, एघारौँ, सोह्रौँ र उन्नाइसौँलाई तुरुन्त पढिहाल्ने हुटहुटी बढ्यो र घोरिन थालिहालेँ । एकैदिनमा पढिसकें पनि ।
पहिलो शीर्ष निबन्ध निबन्धकारसँगै भावनामा चुर्लुम्म डुबाउने आत्मपरक निबन्ध रहेछ । यसमा निबन्धकार आफैँसँग घोत्लिएर टोलाइरहेको प्रसङ्गले अनुमान गर्न सकिन्छ, उनी कुनै बिपतमा परेका छन् । शीर्षकलाई बिर्सने हो भने कुनै न कुनै समस्याको झाँगमा फसिरहेका निबन्धकार किन, कसरी र केमा फसे हुनन् भन्ने जिज्ञासा चुलिन्छ । तर यसभित्र समाविष्ट पारिजातको कविताको सन्दर्भले एकलकाँटे यायावरलाई परेका दुःख र द्विविधाको अनुमान गर्न कठिन हुँदैन । गौतम बुद्ध त ज्ञानको खोजीमा निस्केर दुःखका कारण पत्ता लागेका थिए, घोरिएर घरमा बसेर मनको दुखाइ कसरी मेट्न सकिन्छ र ? भन्ने प्रश्न पाठकले लेखकसँगै उभिएर यसमा गर्न सक्छ । डाक्टरको भिडियो एक्सरेले नभेटेको मनको दुखाइको प्रमाणको सन्दर्भले दुवैको जिज्ञासाको समान उत्तर दिलाइदिन्छ । पाठकलाई सँगसँगै हिँडाउन र सोच्न लगाउन सक्ने सामर्थ्य यसमा निबन्धकारको शक्ति बनेर उभिएको छ ।
‘निर्मलासँगको सान्निध्य’ – दोस्रो निबन्धको शीर्षक पढ्ने बित्तिकै कञ्चनपुरमा बलात्कृत भएर मारिएकी निर्मलासँगको साक्षात्कार पनि उनले लेख्न भ्याएछन् भन्ने सोचमा परेँ म । त्यो क्षणभरमै भ्रम बनिदियो । वास्तवमा आफ्नो ज्ञानको दायराले मान्छेलाई यसरी एकोहोरो बनाउँदो रहेछ भन्ने बोध भइहाल्यो । पढ्दै जाँदा यसमा मुंसी प्रेमचन्द्रको निर्मला उपन्यासको सान्निध्यको कुरा भेटेँ । भारतीय समाजमा रहेको दाइजोप्रथा र अनमेल विवाहले निम्त्याएका नारी समस्यालाई समेटेर लेखिएको यस उपन्यासको समीक्षालाई निबन्धात्मक रूपमा प्रस्तुत गरिएको समीक्षा निबन्ध रहेछ यो ।
‘आँसुको सौन्दर्यशास्त्र शीर्षकमा पनि मेरो अनुमान अनुत्तीर्ण भयो । बिन्दु शर्माको कविताको विश्लेषण गरेर आँसुको सौन्दर्यशास्त्र निर्माण गरिएको होला भन्ने अनुमान त मनमा एक रति पनि थिएन । राधिका कल्पितका कविताको समीक्षा गरिएको निबन्धका रूपमा ‘कविताको मैदानमा एक सानदार ब्याटिङ’ शीर्षकको निबन्ध पनि देखा परेको छ । यसले कल्पितका बरफका कोइलाहरू पढिसकेपछि निबन्धकारलाई मनमा लागेका कुराहरूलाई विषय बनाएको छ ।
बागी स्त्रीको आत्मकथा पढेर कवि सुमिनाका कवितात्मक प्रवृत्तिहरूको विवेचना गरिएको ‘सुमिनासँग संवाद’ शीर्षकको निबन्ध पनि समीक्षात्मक प्रवृत्तिको निबन्ध हो । यसले पारिजातपछि मार्क्सवादी विचारधारामा श्रम र वर्गलाई जोडेर लेख्ने कविका रूपमा उनको उदय भएको निबन्धकारको ठम्याइ छ । यसरी तुलनात्मक रूपमा अध्ययन गरेर निष्कर्षमा पुग्नुअघि अन्य सर्जकतर्फ पनि ध्यान पुग्नु राम्रो हुन्थ्यो कि भन्ने संशय मनमा उब्जिरह्यो । यी तीनै निबन्ध कविताको पठनबाट जन्मेका छन् ।
सुकरातको जीवनी र योगदानलाई समेटिएको जीवनीपरक निबन्धका रूपमा ‘अँध्यारोको जुनकीरी’ देखापरेको छ । यसमा मर्नुअघि सुकरातले साथीसँग भनेको “क्रीटो, ममाथि अस्क्लेपियसलको एउटा कुखुरा उधारो बाँकी छ, त्यो तिमीले तिरी दिनू” भन्ने वाक्यले निकै भावुक तुल्याउँछ । घनश्याम ढकाल, मोदनाथ मरहट्टाजस्ता सर्जकसँगको सान्निध्य र तिनका प्रवृत्तिलाई पनि निबन्धात्मक शैलीमा प्रस्तुत गरेका निबन्धकार प्रभाववादी बनेर पनि उभिएका छन् । एकदिन कवि अनिललाई खोज्दै उनको घरमै भेट्न पुगेका कवि मोदनाथ मरहट्ठासँगको प्रसङ्गलाई निबन्धकारको वर्णनले एकफेर मज्जाले हाँसो जगायो ः
“पक्क परेर उनलाई हेरेँ । मलाई खोज्दै मेरै आँगनमा मेरो सामु उभिएर मलाई नै सोधिरहेका यी अचिनारुको अनुहारलाई अलिकति गढेर हेर्दै भनेँ, अनिल त मै हुँ ।”
“म मोदनाथ मरहट्टा । उनले भने ।” (पृ. ६२)
यस्तो समस्या धेरैलाई परेको हुन सक्छ । लामो समयको अन्तरालमा भएको भेटमा यस्तै हुन्छ । कुनै एउटा कार्यक्रममा मसँग मेरै कुरा काट्ने मान्छे पनि मैले भेटेकी छु । यसले आफ्नै अनुभूतिलाई निबन्धकारले लेखिदिएजस्तै पनि मलाई महसुस हुन पुग्यो । सायद अरू पाठकलाई पनि यसले आफ्नै भोगाइ प्रतीत गराएर एकफेर हँसाउने छ भन्ने मेरो अनुमान छ ।
निबन्धकारले समीक्षक, जीवनीकारका रूपमा मात्र नभएर नियात्राकार समेत बनेर पाठकलाई एउटै प्लेटमा फरक फरक स्वादमा निबन्धात्मक भोजन गराएका छन् । ‘झिमरुकमा बयलिन हिँडेको मन’ उनको नियात्रापरक निबन्ध हो । यसमा प्युठान साहित्य महोत्सवमा जाँदै गर्दाको यात्रा वर्णनलाई विषय बनाइएको छ । झिनामसिना लाग्ने तर यथार्थ घटनालाई फोटोग्राफी शैलीमा वर्णन गरिएको यस निबन्धले पाठकलाई लेखककै सिट नजिक बसेको एक यात्री प्रतीत गराइदिन्छ ।
“आजकल किन सडकमा देखिन्छन् हातमा पर्चा बोकेर ईश्वर बेच्न हिँडिरहेका मान्छेहरू ?” (पृ. १०९) भन्ने निबन्धकारको वाक्यले पाठकलाई सोचमग्न बनाउँछ । उनको ‘योगः एक उन्मुक्त जीवनशैली’ शीर्षकको निबन्धको हरफ हो यो । यसमा निबन्धकारले अध्यात्म र धर्मको भेद छुट्याउन नसक्ने मान्छेले पुँजीवादी युगमा योगको व्यापार गरिरहेको सन्दर्भमाथि व्यङ्ग्य प्रहार गरेका छन् ।
निबन्धकारले चितवनको प्राकृतिक महकता, तोरीको प्युरिटी र साहित्यको ओरिजिनलाई तुलना गर्दै फरक स्वादको निबन्ध लेख्न पनि बिर्सेका छैनन् । बाबुआमा टोकुवीका नाममा छोरीहरूमाथि लाग्ने गरेका लाञ्छनामा अभ्यस्त भएको मेरो सोच निबन्धकारको ‘त्यो रमाइलो डाँडा’ शीर्षकको निबन्धको आधा अंश पढेपछि असामञ्जस्यमा पर्न पुग्यो । उनी लेख्छन् ः “सानो छँदा सबैले बाउ टोकुवा भनेको सुनेपछि एकान्त पाउँदा ऐना अगाडि एक्लै उभिएर उनी आफ्नो मसिना दाँतहरूलाई छाम्थे र सोच्थे– मैले कसरी बुबालाई यी दाँतहरूले टोके हुँला” (पृ. १२६) ।
मनकामना केबुलकारका निर्माता लक्ष्मणबाबुले भोगेको तीतो अनुभवले औंसीमा जन्मेर बाबु गुमाएका नारीमा जस्तै पुरुषहरूमाथि पनि लाञ्छना लाग्दो रहेछ भन्ने प्रमाण दियो । तर यसतर्फ अहिलेसम्म नखिचिएको मेरो ध्यान उनका निबन्धले धेरैबेर खिचिरह्यो ।
आँबुखैरेनीमा स्वास्थ्यकर्मीका रूपमा स्वास्थ्य पेसालाई डोर्याउँदै साहित्यलाई हाँकिरहेका श्रेष्ठले त्यहाँको साहित्यिक गतिविधिलाई पनि निबन्धमा समेट्न भुलेका छैनन् । ‘प्रमोदित प्रमोद’ जस्तो बिम्बात्मक शीर्षक दिएर कवि प्रमोद प्रधानको साहित्यिक पारख लेख्न नभुल्ने निबन्धकार कवितामा बिम्बको प्रभावको सैद्धान्तिक धारणामाथि नै निबन्ध तयार गर्न पछि पर्दैनन् । ‘लहैलहै जिन्दगी’ देखि ‘बरेलीबजार र तेजी सुरीको हराएको झुमका’लाई समेत निबन्धको विषय बनाउन नभुल्ने निबन्धकार ग्वालियरमा मन छुटाएर सिराइचुलीलाई सिरानी हाली निदाउन सक्दैनन् । दार्शनिक ह्युवाकरले भनेझैँ तारादेखि लिएर धुलोसम्म र अमिबादेखि लिएर मानिससम्म निबन्धको विषय हुने तथ्यलाई अनिल श्रेष्ठका निबन्धका विषयले पनि पुष्टि गरेका छन् । तसर्थ जो व्यक्ति सङ्गतमा पर्दछ, जसलाई पढ्छन् उनका विषयमा पनि निबन्धकारले कतिबेला निबन्ध बनाइदिने हुन् भन्ने संशय भने मनमा पैदा भइरहन्छ ।
वर्णविन्यास, वाक्यगठनमा देखिएका त्रुटि, संयुक्तवाक्य तथा मिश्रवाक्य प्रतिको असजगता, एउटा वाक्य समाप्त भइसकेपछि (र,) संयोजकको प्रयोग गरी अर्को वाक्य आरम्भ गर्ने प्रवृत्तिको अधिक पुनरावृत्ति, लामा अनुच्छेद योजना, आदरार्थी तथा कारकको प्रयोगप्रतिको असावधानी हुँदाहुँदै पनि निबन्धहरू निबन्ध भावका दृष्टिले पठनीय छन् । जे होस्, स्थापित कविले निबन्धमा पनि पत्तै नपाई कविताकै अधिक सन्दर्भ राख्दै काव्यात्मक भाषाको प्रयोगमार्फत आफूमा भएका ज्योतिलाई छरिरहेको प्रतीत हुन्छ । प्रभाववादी र समीक्षात्मक निबन्धको आधिक्यलाई ध्यानमा राखेर स्वतःस्फूर्त, आत्मपरक एवम् वस्तुगत निबन्धतर्फ निबन्धकारको ध्यान जान सके सुनमा सुगन्ध मिल्ने निश्चित छ । समाजका विकृति, विसङ्गतिलाई चिर्दै परिवर्तनको उद्घोषमा कलम चलाइरहने कविको आगामी साहित्य यात्रा थप ऊर्जाशील बनोस् भन्ने शुभेच्छा प्रकट गर्दछु ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।