साहित्य क्षेत्रको कठिन विधा मानिने उपन्यास लेखनमा दोस्रो पटक उदाएकी लेखक हुन् – क्रान्ति पराजुली । उनको दोस्रो उपन्यास ‘प्रिय स्वप्नद्रष्टा’ भर्खरै बजारमा आएको छ । झापा चारपाने निवासी उनी २०७६ सालमा पहिलो उपन्यास ‘डिलको डोभ’ लिएर नेपाली लेखन क्षेत्रमा उदाएकी हुन् । त्यसयता उनको लेखन कार्य निरन्तर छ ।

प्रिय स्वप्नद्रष्टा – क्रान्तिचेत बोकेको उपन्यास हो । लेखककै नामजस्तै उपन्यासका पात्रहरूले गर्ने कुराकानीले क्रान्तिको उद्घोष मात्र गर्दैन, परिवर्तनका लागि बलिदानी संघर्षको बीजारोपण पनि गरेको छ । नेपाली जनताले समृद्ध देश बनाउन गरेका संघर्षका कथाहरू र गाथाहरूको चित्रण गरेका छन्, प्रिय स्वप्नद्रष्टामा पात्रहरूले ।

ती स्वप्नद्रष्टाहरूले देखेको देश र आँखामा समृद्ध देश बोकेर शहीद भएकाहरूको सपना कति पूरा भए त ? कि अझै पनि देशले बलिदान मागिरहेको छ ?

उपन्यासको मुख्य पात्र पोषित क्रान्तिचेत भएको युवक हो र ऊ राजनीतिक व्यवस्था परिवर्तनको कुरा गर्छ अनि देशको बिथिति बिरुद्ध हरपल विद्रोह बोल्छ । अनि उनै पोषितकी प्रेमिका डिपोसा उनका तर्कमा बल प्रदान गर्छिन् ।

लेखन क्षेत्रमा महिला पात्रलाई कमजोर र निरीह रूपमा प्रस्तुत गर्ने परम्परा छ । तर यो उपन्यासमा फरक शैली अपनाइएको छ, जहाँ उनै डिपोषाको त्याग, समर्पण र संघर्ष प्रतिको अभिलाषाले नयाँ सन्देश दिन खोजेको छ ।

प्रायः लेखनमा माया प्रेमको कथा  हुन्छ । पात्रहरू मार्फत प्रेमभाव दर्शाउनु र उनीहरू बीचको संवादमा माया, प्रेम, करुणा देखाउनु पुरानै शैली हो तर यसमा त्यो भन्दा अलग तरिका अपनाइएको छ, जहाँ अव्यक्त भाव छ । एक प्रकारको मनोनेट शैली छ । मनोवैज्ञानिक लेखनको प्रयोग गरिएको छ ।

अझ भनौं, राजनीतिक व्यवस्था परिवर्तनको एजेन्डा बोकेर अगाडि बढ्नेहरू माथि राज्य व्यवस्थाले जहिल्यै पनि गिद्दे नजरले हेर्छ । आजसम्म पनि नयाँ व्यवस्था लागू नहुनुको कारण भ्रष्ट नेतृत्वका कारण हो । यो उपन्यासले यस्ता विषयमा मिहिन तर्कना गरेको छ । यो शैली अलिक पुरानै हो तर यसलाई नयाँ रूपरंग दिने तरीका गजबको छ ।

जस्तो कि नेपालमा राजनीतिक विषय बनाएर धेरै कथा, निबन्ध, उपन्यास लेखिएका छन् तर ‘प्रिय स्वप्नद्रष्टा’मा राजनीति र प्रेमलाई सँगसँगै लगिएको छ । लेखनको विषयका आधारमा हेर्दा प्रेम र राजनीति बीचमा धेरै अन्तर देखिन्छ । तर यो उपन्यासमा दुवै विषयलाई एकसाथ प्रस्तुत गरिएको छ । परिवर्तनको चाहना र प्रेमको भावना भेटिन्छ किताबमा ।

यो कसरी सम्भव भयो ? नेपाली लेखनशैलीका आधारमा हेर्दा यो कहाँनेर छ ? लेखक क्रान्ति पराजुलीको स्वकथन छ, यो उपन्यास प्रेमको प्राप्ति वा अप्राप्तिसँग मात्र सम्बन्धित छैन । यो त अजर, अमर र कालजयी रूपमा स्मृतिको बगैँचाभरि पेटुनिया, नीलकमल र गोदावरी भएर फुलिरहन्छ ।

पोषित जस्ता क्रान्ति, परिवर्तन र समृद्धिको सपना देख्ने मान्छेहरू राज्यको नजरमा आतंककारी करार हुन्छन् किनभने राज्य व्यवस्थाका ठेकेदारहरू आफ्नो विकल्प खोज्न आफैँ तयार हुँदैनन् । न उनीहरू आफू परिवर्तन हुन्छन्, न जनताको त्यो चाहना पूरा गर्न लाग्छन् । यो आजको विश्व राजनीतिको समस्या हो, जहाँ नयाँ विचार हुर्काउन कोही न कोही त मरिरहेकै छ । अनि देशलाई प्रयोगशाला बनाएर आफ्नो सत्ता टिकाउन लाग्नेहरू उपन्यासका पात्र मुक्तिजस्ता देशभक्तलाई सिद्ध्याउन लाग्छन् ।

देश समृद्ध हुनका लागि व्यक्ति, व्यवस्था र जनताको अहम् भूमिका हुन्छ । तर त्यो भन्दा बढी पथप्रदर्शकको ठुलो खाँचो पर्छ । जसले समयको तालमा आफ्ना कदम चाल्न सकुन् । त्यो गन्तव्य पहिल्याएर हिंड्न कठिन हुन्छ, जहाँबाट अरूलाई सही बाटो देखाउन सकियोस् । सत्य, निष्ठा, समर्पण, साधना, अनुभव र निरन्तर प्रयासबाट मात्र एक असल नेतृत्व जन्मेको हुन्छ । यो उपन्यासको सार यही हो ।  निःस्वार्थ प्रेमको माध्यमबाट देशका सपना पूरा गर्ने क्रममा एक स्वप्नद्रष्टाले गरेको बलिदानलाई यस किताबले उद्बोधन गरेको छ । सामाजिक न्याय, नैतिक मूल्य ह्रास भएको यो समयमा एक कर्मयोगीले लेखेको सपना र उनको प्रेममाथि समाजले उठाएको सवाल अनि वर्तमान समाजको स्खलित सोचलाई थांग्रा लगाउनु यस उपन्यासको ध्येय हो ।

लेखक पराजुलीले लेखेकी छन्, ‘यस उपन्यासमा प्रयुक्त पोषितको कथा पढेर थोरै मात्र युवा देशप्रति समर्पित भएको, न्यायकर्ताहरूले निष्पक्ष रूपमा ग्याबल चलाउने प्रण गरे र निस्वार्थ प्रेमको प्रेरणा लिन सके भने म धन्य हुनेछु ।’

लेखक आफू कानुन व्यवसायी भएका कारण पनि कतिपय उनका तर्क न्यायसँग जोडिएर आएका छन् उपन्यासमा । खासगरेर गैर न्यायिक हत्याको विषयमा उपन्यासमा उठेका प्रश्नहरु उत्तिकै कडा छन् । तैपनि अन्यायले देशभक्तहरूका छातीमा बुट बजारिरहेको छ । यसरी कहिलेसम्म पोषितहरूको बलिदान माग्छ देशले ? कति मुक्तियोद्धा र क्रान्तिवीरहरू धीर भएर उभिनेछन् यो धर्तीमा ?

के अब पनि जनताको शासन आउँदैन त ? अझै कतिले देशका लागि बलिदान दिनुपर्ने हो ? यस्ता आम प्रश्न छोडेर क्रान्तिपछि देशलाई शान्तिको मार्गमा हिंडाउने चाहना बोकेकी डिपोषा चुनावमा होमिन्छिन् ।

अब देश समृद्धिको मार्गमा हिंड्न सक्ला ? क्रान्तिपछि शान्तिको अपेक्षा गर्नु र त्यसपछि विकास र समृद्धिको चाहना हुनु स्वाभाविकै हो तर त्यसका लागि हाम्रो नेतृत्व तयार छ ? यस्ता धेरै प्रश्न जन्माउँछ यो उपन्यासले ।

के डिपोषाले यही व्यवस्थाभित्र पसेर हिलोमा कमलको फूल फुलाउन  सक्लिन् ? वा ती प्रश्नका उत्तर बाँकी नै रहन्छन् ।