गत जून २२ का दिन दार्जीलिङको नेपाली साहित्य सम्मेलन भवनमा भव्यताका साथ विमोचित स्थानीय कथाकार बिनीता छेत्रीको दोस्रो कथासंग्रह “एकलो लुङ्दर” को एकप्रति मलाई पनि कथाकारबाट सस्नेह प्राप्त भयो लन्डनमा । त्यसको लागि म उनीप्रति आभारी छु । उनको पहिलो कृति ‘हिमफेदीका कथाहरु’ पनि मैले २०२१ मा उनकै सौजन्यबाट प्राप्त गरेको थिएँ ।
कथाकार बिनीता छेत्रीको यो नवीनतम कथासंग्रहमा फेरि एकपल्ट आफ्नो लेखन शैली र वाक्यको बनावटको अर्को सुन्दर नमूना पेश गरेकी छिन् । कथा लेख्नु वास्तवमा सजिलो हुँदैन, जो कोहीले प्रयास त गर्छन् तर केही मीठा भैदिन्छन्, केही तीता । मलाई लाग्छ कथा लेख्नु कला मात्र हैन बौद्धिक शक्ति पनि हो । अभ्यास गर्दै गएपछि निखारिएर आउने गर्छन् बिनीता जस्ता कथाकारहरू ।
आफ्नो छोटाकविता संग्रह ‘मनको साइनो (२०१७)’ बाट साहित्यिक बजारमा पाइला टेकेकी बिनीताले कथासंग्रहमा हात हालिन् र जन्माइन् कथासंग्रह ‘हिमफेदी’ । यसले उनलाई दार्जीलिङकी नारी स्रष्टाको हाराहारीमा ल्याएर उभ्याइदियो ।
अब लागौं नयाँ कथासंग्रह ‘एक्लो लुङ्दर’ तर्फ । कूल १२ थान छोटा-लामा कथाहरूको संगम हो ‘एक्लो लुङ्दर’, जसलाई अनावश्यक र पट्ट्यार लाग्दा भूमिकाहरूले घेरेको पनि छैन । उनको परिचयात्मक आफ्नो छोटो कुरा सकेपछि हामीलाई सोझै कथाको मचानमा पुर्याइदिन्छिन् लेखिकाले ।
पहिलो कथा छ – ‘नीलकण्ठ’ ।
यौटा मान्छेको मायाले कति, फरक पर्दछ जिन्दगीमा – यो त हामीले सुन्दै आएको गीत हो । अब यसलाई म यसरी पनि लेख्छु – कि यौटा मान्छेको शंका परिशंकाले, गलत्फहमीले कति फरक पर्दछ यौटा प्रेमिल जोडीको जिन्दगीमा । अहिलेको सामाजिक र पारिवारिक परिवेश पहिलेको जस्तो छैन, प्रेमविवाह गरिसकेपछि श्रीमान् वा श्रीमतीको सम्बन्ध जति सुमधुर हुनुपर्ने हो त्यो नभएर अलिक वर्ष बितेपछि श्रीमानले अनाहकमा स्यानो शंकाको आडमा स्कूल जाने नानीकी आमामाथि परपुरुषसँग सल्केको निराधार आरोप लगाएर घरबाट लखेटिदिने र आफूले पत्नीलाई डिभोर्स गरेर अर्की महिलासँग विवाह गरिहाल्ने जस्ता विद्यमान घटनाहरूलाई वास्तविकताको रङ चढाएर प्रस्तुत गरिएको छ प ‘नीलकण्ठ’ मा ।
अर्को रोचक कथा छ ‘साइनो’ । जसले ‘अन्धा प्रेम’ मा गाँसिएका यौटा प्रेमिल जोडी नयाँ जीवन, नयाँ घर बसाउन आ-आफ्नो घर छोडी साथीकोमा पुग्छन् भागेर । यसमा युवतीले गरेको विश्वास र उठाएको जोखिमको विपरीत जीवनसाथीले हिम्मत हारेको र मुन्टो फर्काएको कारुणिक वर्णन र दृश्य देखिन्छ; तर जे हुनुछ त्यो भएरै छोड्छ भन्ने उक्ति सत्य ठहरिन पुग्छ अन्तमा जब दुवैको सन्तानको लहरो केलाउँदै जाँदा उनीहरू त पारिवारिक साइनोले आफन्त पो रहेछन्, यस्तो साइनो जसमा विवाह वर्जित छ हाम्रो समाजमा । त्यसपछि के भो – यो जान्न त ‘साइनो’ पढ्नै पर्छ पाठकले ।
तेस्रो कथा ‘हराएको भाग्य’ ले हाम्रो दैनिक जीवनमा आइपरेका समस्या पनि चित्रण गरेको छ । समाजमा विद्यमान भ्रष्टाचार र मनमानी र थिचोमिचोको प्रत्यक्ष दृश्य प्रस्तुत गरिएको छ । कथाकार स्वयम् पात्रको रूपमा यौटा अविरल वर्षा र पहिरोको कारणले विपद् परेको परिवेश छ । त्यै बेला राहतको सामान लिन जाँदा वितरण शिविरमा देखिएको कष्टप्रद स्थितिको सामना गर्नु परेको तथा यौटी वृद्धाले बल्लबल्ल पाएको दुई मध्ये एक राहत अर्को दुष्टले खोसेर लागेको कारुणिक दृश्य लेखिएको छ ।
‘आमो’ कथामा कथाकार बिनीता छेत्रीले नेपालको पहाडी विकट गाउँकी यौटी वृद्धाको मार्मिक जीवन कहानीलाई कुरैकुरा गर्दै हामीलाई बताइदिएकी छिन् । लखनउमा आफ्नो पल्टने श्रीमान् र नानीहरूसँग क्वार्टरमा बस्दा कथाकारले छोराबुहारी भेट्न आएकी एकजना आमैले आफूले चार छोरी जन्माएपछि निराश भएर छोराको आश गरिरहने लोग्नेको माया लागेर उसलाई दार्जीलिङकी यौटी स्त्रीलाई आफ्नी सौताको रूपमा भित्र्याउने अनुमति दिएको कथा ज्यादै पीडादायक छ । वंश थाम्न छोरा नै चाहिने ढिपी अनन्त कालदेखि नै चलिआएको हाम्रो समाजको यस्तो रीतिले होला आमोले अन्तमा आफ्नो भाग्यसित हार खाएर लोग्नेलाई कान्छी ल्याउने अनुमति खुशीका साथ दिन्छिन् । तर भित्रभित्र उनको मन रोएको र मुटु टुक्रेको कसैलाई देखाउन सकिनन् । त्यहाँ भएका संवाद र कहानी रोचक छन्, पढेपछि थाहा हुन्छ ।
‘पीडा’ – उमेर पुगेको पुत्रको विवाहको लागि हरेक आमाको चाहना हुन्छ बुहारी भित्र्याउने, घरगृहस्थी सम्हाल्ने र नातिनातिनाहरू ल्याइदिने । बुढेसकाल पुगेपछि यौटी विधवा आमाको अन्तरात्माको पुकारको सम्मान गर्दै पात्र विजयले आफ्नी प्रेमिकालाई विवाह गरी घरमा भित्र्याउँछ । अर्कोतर्फ यौटी अबोध युवती कसैको यौन प्यासको शिकार भएर गर्भवती भएकी हुन्छे जसको नानी त जन्मिन्छ तर प्रसव सम्बन्धी समस्याले गर्दा उसको ज्यान जान्छ । दुवै महिलाको एकैपल्ट प्रसवकाल चल्छ तर यौटी बेसहारा लाटी, जसलाई थाहा भएन कसको गर्भ बोकेकी थिई, उसको भने अकालमै मृत्यु हुन्छ । यसमा नारी गर्भवती हुँदाको अनुभव, भोग्नु परेको पीडा र असुविधाहरू बारे लेखिएको छ, तर दुई छुट्टाछुट्टै परिस्थितिको चित्रण छ, जसमा कसैको नासो पेटमा हुर्काएकी युवतीलाई अत्यावश्यक स्वास्थ्य उपचार, हेरचाह, खानपिन, आदि सुविधा प्राप्त हुँदैन भने अर्को सम्पन्न परिवारकी श्रीमतीलाई भने हरेक पल सन्चो-बिसन्चो सोध्ने, यथेष्ट आराम दिलाउने, र प्रसवको लागि समयमा अस्पताल पुर्याउने श्रीमानले अति ध्यान पुर्याएको कथा हो ।
छैठोंमा छ कथा ‘निम-दावा’ । निम-दावा सिनियर स्कूलको परीक्षा सकिएपछि जंगलमा घाँसदाउरा लिनु जाने केटा र केटीहरू मध्येको एक हो । छुल्याहा साथीहरूले उल्काएर उसलाई त्यही जंगलमा अर्को गाउँबाट आउने केटी सीमालाई लभलेटर लेख्न लाउँछन्, उसले लेख्छ अनि अलिक पछि उसले प्रत्युत्तर पनि केटीबाट पाउँछ । प्रेमपत्रको आदानप्रदान साथीहरू मार्फत नै हुन्छ, तर एकदिन जब उसले प्रेमिका ठानेकी केटी सीमासित उसको साक्षात्कार हुन्छ र उसको बाट हिजोआज पत्र ढीलो आउनु थालेको शिकायत गर्छ, त्यतिवेला सीमा चकित बन्छे, किनकि न त उसले नीमदावाबाट कुनै पत्र पाएकी छे, न त प्रत्युत्तर नै लेखेकी छे । झन् प्रेम गर्ने, स्वीकार्ने कुरा त परै जावोस् । नीमदावा छाँगाबाट खसेको जस्तो भयो त्यो दिन, उसले बुझ्यो बदमाश साथीहरूले मनोरंजनका लागि गरेको नाटक र छल रहेछ, वास्तवमा उसको चिट्ठी उनीहरूले पढ्ने र रिप्लाई पनि उनीहरूले नै सीमा भएर लेख्ने गरेका रहेछन् ।
‘छल’ छुट्टै राज्य गोर्खाल्याण्डको लागि दार्जीलिङमा आन्दोलन चर्केको बेलाको कथा हो । पारिवारिक कथा हो जसमा पति विदेश जान्छन् कामको सिलसिलामा, र यता पत्नी घरमा आमाजू, सासूसित स्यानोस्यानो कुरामा विवाद शुरू हुन्छ । समस्या बढ्दै जान्छ र पत्नी माइतीमै बस्न थाल्छे । पति विदेशबाट फर्कंदा पत्नीको परपुरुषसँगको कुरा खुलासा हुँदै जान्छ । त्यो परपुरुष अरु कोही नभएर आफ्नै उही साथी जितेन हुन्छ । त्यो मात्रै हैन श्रीमतीले सासूले आफूलाई गाली गरेको भिडियो समेत राखेकी हुन्छे । सासूको विरुद्ध घरेलु हिंसाको मुद्दा पनि दर्ता गरिदिन्छे । कस्तो कस्तो छल हाम्रो घर समाजमा गरिंदो रहेछ, कस्ता कस्ता धोखेबाजहरू फेला पर्दा रहेछन् भन्ने उदाहरण हो सातौँ कथा छल ।
‘जुलूसको कथा‘ झनै रोचक छ । यो आठौं कथा पढ्दा पाठक आफै दार्जीलिङका गल्ली बजारमा हिंडेको अनुभव हुन्छ । पटकपटक गोर्खाल्याण्ड र अन्य राजनीतिक आन्दोलनहरूले वाक्कदिक्क र रुग्ण बनाएको दार्जीलिङमा युवा, तन्नेरी, स्कूले र सर्वसाधारण कसरी उत्साहपूर्वक जुलुसमा भाग लिएका थिए भन्ने दृश्य कथाकारले हाम्रो सामु पस्केकी छिन् । दोकानमा चिनेको भाउजूसित किनमेल गर्दाको बातचित सुन्दा नमुस्काई रहन सकिन्न । शायद मर्दको बारे स्त्री-गफ यस्तै हुन्छ होला प्रायः । कथामा जुलुस र आन्दोलनले स्थानीयहरूलाई डरको पहाड पनि सिर्जना गर्छ भन्ने भाव पनि पाइन्छ ।
अर्को कथा ‘पुनर्जीवन‘मा विवाहकै दिन विधवा जस्तो हुन पुगेकी, विद्यालयमा स्वयंसेविकाको रूपमा काम गर्ने यौटी शिक्षिकालाई समाजले तथानाम भनेर उसको स्वच्छ चरित्रमा हिलो छ्याप्ने काम गरेको छ । उसको कुनै दोष थिएन, उसको दुलाहाले नै अर्की स्त्रीलाई गर्भवती बनाइसकेको रहेछ, जसले गर्दा भइरहेको विवाह पूर्ण हुन पाएन । अनि उनी एक्लै बस्न पुगिन् केवल आफ्नी आमाको सहारामा । यो सबै देखेका, बुझेका यौटा सहृदयी मित्रले एकदिन थाहा पाउँछन् कि शिक्षिकालाई स्तन क्यान्सर भएको छ । तिनै शिक्षक एकदिन उनको हात माग्न पुग्छन् र शिक्षिकालाई आफ्नो बनाउँछन्, पुनर्विवाह विवाह गरेर । पत्नीको सघन उपचार गराउँछन् र अन्तमा सफल पनि हुन्छ उपचार । पुनर्मिलन मार्मिक कहानी छ यसमा ।
‘आत्मग्लानी‘ मा गाउँबाट विवाह गरेर ल्याएकी पत्नीसँग रमाउन नसकी बाहिर प्रेमिका राख्छन् कथाको पुरुष पात्रले । जब पात्रलाई डायबिटिजले गाँज्न थाल्छ कथाले अर्कै माड पक्रिन्छ । आखिर आफ्नै श्रीमतीको शरणमा भिजेको बिरालोजस्तो अबेर भै राती पुग्छ भयभीत भएर । त्यसपछि के भो ? जान्नलाई यो आत्मग्लानि कथा नै पढ्नुपर्छ ।
‘एकलो लुङ्दर’ (आवरण कथा)- यो कथामा बितेको असफल प्रेम छ, चाहेर पनि आफ्नी हुन नसकेकी पात्रा छिन् कल्पना जसकी छोरी करुणा उनकै छुटेको प्रेमी प्रवेशकी सुपुत्री रहिछन् । प्रवेशकी पत्नी नीराको निधन भैसकेको छ, ऊ नितान्त एक्लो छ, घरमै भएको दुर्घटनाले घाइते भएर ऊ ओछ्यानमा थलिएको छ जसलाई उसकी बुहारीले स्याहार्दै छे । पेशाले नर्स, कल्पनाकी छोरी करुणा, र प्रवेशकी बुहारी अति मिल्ने साथी, बिमारले थलिएको बेला एकदिन सुनेर अचानक प्रवेशलाई हेर्न आइपुग्छिन् कल्पना, कोसेली लिएर । पल्टने छोरा घर आएपछि उनीहरूको भेटघाटलाई सहन सक्तैन, उमेरले डाँडा काटेका आफ्नो पिताको यस्तो सम्बन्ध उसलाई सह्य हुँदैन । यस्तो ‘तमाशा’ किन ? भन्छ ऊ, तर प्रवेश सोच्दछ – म बूढो भएँ त के भो, के उमेर बित्दैमा मान्छे कसैसँग बोल्न पाउँदैन ? के मैले पनि साथी बनाउनु पाउंदिन ? बर्षौंपछि भेट्न आएकी कल्पना फर्केर गएपछि प्रवेश यौटा एक्लो लुङ्दर बनेको छ, सुनसान, चुपचाप, पुराना यादहरू सँगालेर, जीवनको अन्त पर्खेर ।
“सहयात्री” – कौतुहलता जगाइदिने अन्तिम कथा हो । यसमा कथाकारले आफ्नो एक्लिएको जिन्दगीमा टुप्लुक्क यौटा सहृदयी व्यक्तिको प्रवेशलाई प्रस्तुत गरेकी छन् । एकदिन यात्राका क्रममा भेटेको अनजान ड्राइभरसित पछि गएर सम्बन्ध झ्याम्मिएको प्रसङ्ग छ, तर उसको आत्मीयता र सहयोगलाई सहर्ष स्वीकार गर्ने कि नगर्ने द्विविधामा परेकी देखिन्छिन् उनी । शहरदेखि टाढाको गाउँमा बसी यौटा स्यानो व्यवसाय गरेर स्वावलम्बी बन्न दिनरात संघर्ष गरेर आफ्नो खुट्टामा उभिने प्रयासमा लागेकी यौटी नारीको कारुणिक जीवन कहानी सुनेर द्रवीभूत बनेका सहयात्रीले अघि बढाएको सहयोगी हात थाम्ने कि नथाम्ने द्विविधालाई ‘सहयात्री‘ कथामा मन छुने शब्दहरूमा उनले आफै सजीव पात्र बनेर खुलाएकी छिन्, जुन पढेर जो सुकैको मनमा उनीप्रति सहानुभूति र माया जगाइदिन्छ ।
नारी संवेदनालाई राम्ररी आत्मसात गरेकी बिनीताज्यूले नारीहरूको वास्तविक भोगाइ र कठिनाइ आफैले समेत बुझेर सटिक पात्र-पात्राहरू चुनेर कथा बुनेकी छिन् । उनका कथाहरूमा विभिन्न भूमिकामा छन् पीडित नारीहरू यात्रा गर्दा, कुनै पनि सामाजिक-साहित्यिक वा निजी काममा कतै जाँदा उनले वरिपरि घटिरहेका घटनाहरूलाई नियालिरहेकी हुन्छिन् ।
हिंड्दाहिंड्दै कथाको प्लट तयार हुन्छ, लेख्दालेख्दै उनका नारी संवेदना र हिंसाका कथाहरू सिर्जित हुँदै जान्छन् । गाउँघर समाजतिर जे जस्तो नारी उत्पीडक घटनाहरू देख्छिन्, वा सामाजिक विसंगतिहरू देख्छिन्, उनको मानसपटलमा त्यसले कथाको बिउको रोपिदिन्छ । थोरै लेखेर लेख्ने कथाकारले धेरै थोक भानिदिन्छिन्, यो उनको लेखन सुन्दरता हो ।
भाषा र शैली अब्बल दर्जाको छ । गाउँघरमा चलनचल्तीमा बोलिने भाष्यहरू र पात्रको पृष्ठभूमि अनुसार जनजिब्रो सुहाउँदो भाषाको प्रयोग पनि गर्छिन् । नेपालका गाउँमा बोलिने ठेट नेपाली होस्, वा भारतका विभिन्न प्रान्तमा बोलिने लवज होस्, उनले धेरथोर टिपेकै हुन्छिन् ।
बिनीताको लेखन शैली बहुमुखी छ । कुनै कथामा प्रथम पुरुष अँगालेकी छन् भने कतिपय कथामा तृतीय पुरुष पाइन्छ । तर यसले उनको कथालाई उज्यालो दिन काम गरेको छ । उनले आफू नै पुरुष पात्र भएर पनि लेखेको पाइन्छ ।
‘एकलो लुङ्दर‘मा उनको धेरै परिश्रम र लगानी परेको छ । खर्सांगस्थित ज्ञानकुन्ज पब्लिकेशनले प्रकाशित गरेको यस संग्रह जम्मा ११० पृष्ठको छ । मूल्य भा.रु. २५० रुपियाँ रहेको छ ।
भारतीय नेपाली साहित्यमा उदाएकी उम्दा युवा नारी सर्जक बिनीता छेत्रीबाट भविष्यमा पनि अझ उत्कृष्ट सिर्जनाहरू पढ्न पाउने अपेक्षा गर्दछु ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।