![](https://sahityapost.com/wp-content/uploads/2021/08/198038331_514779063003633_162432387183836512_n-e1684847162329.jpg)
नेपाली कविताको इतिहासमा विभिन्न समयमा नयाँनयाँ प्रयोग र अभियानहरू आएको देख्न सकिन्छ । पछिल्लो समयमा नेपाली कविताका क्षेत्रमा सूक्ष्म आयामका सिर्जनातर्फ कविहरूको ध्यान ज्यादा गएको देखिन्छ । त्यही सिलसिलामा जन्मिएको कविताको विशिष्ट रूप साइनोलाई मानिन्छ ।
२०७६ साल साउन १६ गतेका दिन साहित्यकार छायादत्त न्यौपाने ‘बगर’ ले हाइकुकै ढाँचामा केही अक्षरको विस्तार गरी एउटा नयाँ प्रयोग स्वरूप सञ्जालमा पोस्ट गरेसँगै कविताको प्रविधाका रूपमा साइनोको जन्म भएको हो । यो कविताकै एउटा प्रयोग हो । नेपालीपन र परिवेशको अर्ग्यानिक उपजका रूपमा साइनो कवितालाई लिइन्छ ।
साता, आठ र नौ अक्षरको विन्यासमा साइनो कविताको संरचना तयार हुन्छ । यसका प्रत्येक हरफले आफ्नै स्वतन्त्र अर्थ व्यक्त गर्ने र तीन हरफमा समेटिएका कूल चौबीस अक्षरबाट सिङ्गो अर्थ ध्वनित हुने मान्यता रहेको छ । थोरै शब्दमा धेरै वा पूर्ण विचार व्यक्त गर्न सक्नुलाई साइनो सिर्जनाको सफलता मानिन्छ ।
०० ०० ०० ००
संरचना र आयाम
साइनो कविताका आफ्नै मौलिक विशेषताहरू रहेका छन् । यो त्रिपंक्तीय संरचनामा लेखिने कविताको खास प्रयोग हो । पहिलो हरफमा सात, दोस्रो हरफमा आठ र तेस्रो हरफमा नौ अक्षरद्वारा यसको पूर्ण संरचना तयार हुन्छ । यसमा प्रयुक्त अक्षरको गणना गर्दा नेपाली भाषाको लेख्य मानकतालाई आधार मानिएको छ । यसमा प्रयोग हुने सात, आठ र नौ अक्षरलाई सांस्कृतिक तथा सामाजिक अर्थमा पनि विशिष्ट रूपमा हेर्ने गरिएको पाइन्छ ।
साहित्यकार डा. देवी नेपालको धारणालाई हेर्दा साइनोका तीन वटा हरफमा प्रयोग हुने अक्षरको सान्दर्भिक अर्थ रहेको कुरा उल्लेख भएको पाइन्छ । ‘लेखन शिल्प’ कृतिमा साइनोको परिचय गराउने क्रममा सात अक्षरले सार्थकतालाई, आठ अक्षरले आकर्षणलाई र नौ अक्षरले नवीनतालाई ध्वनित गर्ने कुरालाई जोड दिएको पाइन्छ । यस विचारलाई हेर्दा साइनोमा सार्थक भाव वा मर्मको अपेक्षा गरिन्छ ।
यसैगरी साइनो कविताले पाठकलाई आकर्षण गर्न सक्नुपर्छ । यसको प्रस्तुति कलात्मक र आह्लादकारी भएमा मात्र आकर्षणको उपादेयता प्रस्ट हुन्छ । नवीनताको तात्पर्य नवीन विचार, बिम्ब र सौन्दर्यलाई साइनोले समेट्न सक्नुपर्छ भन्ने नै हो । अथवा साइनोले नवीन चेतनालाई सम्प्रेषण गर्न सक्नुपर्छ भन्ने सार रहेको पाइन्छ ।
स्रष्टाले साइनो सिर्जनाका क्रममा यी कुरालाई ध्यान दिएमा सशक्त साइनो कविताको रचना हुन्छ । छायादत्त न्यौपाने बगर द्वारा २०७६ साल साउन १६ मा रचना गरिएको पहिलो साइनो यसप्रकार छ :
मान्छे छैन इमानी
न शहरमा धन छ
न त झोपडीमा पिसानी । (छायादत्त न्यौपाने)
साइनोको विशेषतालाई केन्द्रित गरी लेखिएको नमूना यस्तो रहेको छ :
सूत्रबाटै गाइन्छ
उत्प्रेरणा जगाइन्छ
मित्रताको कडी साइनो ! (टंक पन्थ)
साइनोका लेखन अंग्रेजी, संस्कृत, हिन्दी, थारू, मैथिली लगायतका भाषामा पनि भएको पाइन्छ । प्रीति आत्रेयद्वारा संस्कृत भाषामा लेखिएको साइनो यस प्रकार रहेको छ :
लेखनी नैव श्रान्तः
दिवारात्रि न भणति
साधकस्य हस्ते रमति । (प्रीति आत्रेय)
०० ०० ०० ००
साइनोमा समेटिने विषय
साइनो नाताबोधक शब्दका रूपमा हाम्रा विधि व्यवहारमा प्रचलित छ । साइनु, सैना आदि पनि बोलीका तहमा प्रचलित शब्द हुन् । सबै प्रकारका विषय र हाम्रै वरिपरिको प्रकृतिसँग साइनो कविताको विशेष सम्बन्ध रहेको कुरा यसबाट झल्किन्छ । यही आधारमा यसले समेट्ने विषय र मर्मलाई बुझ्न सकिन्छ ।
हाइकुको प्रमुख विशेषता प्रकृतिको अनिवार्य संयोजन भएजस्तै साइनो कविताको प्रमुख विशेषता भनेको व्यङ्ग्यात्मकता हो । सूक्ष्मता भित्र व्यंग्यात्मक धर्म हुँदा मानिसका मर्ममा घोच्न पुग्छ । प्रकृति, प्रेम, दर्शन, मनको अवस्था, अध्यात्म तथा सामाजिक क्षेत्रका विषयमा साइनो सिर्जना हुनसक्छ, ब्रह्माण्डका सबै कुराहरू साइनोको विषयका रूपमा समेटिन सक्छन् । हाम्रा वरिपरिका क्रियाकलाप, संस्कृति, विकृति तथा मानवीय कमजोरीलाई उधिन्ने काम यस प्रकारको सिर्जनामा अनुकूल मानिन्छ ।
यही कारण व्यंग्यप्रधान हुनु यसको थप सौन्दर्य हो । विषयलाई सूक्ष्म रूपमा चित्रण गरी विशिष्ट अर्थ निर्माण गर्न सक्नुलाई नै यसको सामर्थ्य मानिन्छ । अभिव्यक्ति कलाको मितव्ययितालाई साइनो कविताको धर्म मानिन्छ । स्रष्टाले आफ्नो परिवेशमा देखे-भोगेका कुराहरूलाई ट्वाक्क रूपमा सम्प्रेषण गर्न यसप्रकारको अभिव्यक्ति उपयुक्त हुन्छ । यसैले सञ्जालका भित्ताहरूमा साइनो कविताले लोकप्रियता प्राप्त गरेको स्पष्ट हुन्छ ।
०० ०० ०० ००
शैली र शिल्प
साइनो कविताको सिर्जना विशिष्ट प्रकृतिको छ । अनुप्रास विधानका साथमा साइनोको रचना हुनु प्रभावकारी मानिन्छ । हुन त अनुप्रास मुक्त साइनोहरू पनि लेखिएका छन् । कवित्वपन जगाउन अनुप्रासले सशक्त भूमिका खेलेको पाइन्छ । लय कविताको विशिष्ट पहिचान हो । साइनोको कुरा गर्दा लयमा पनि लेख्न सकिन्छ, मुक्त लयमा पनि सिर्जना गर्न सकिन्छ ।
साइनोसम्बन्धी शुरूका विचारलाई हेर्दा मुक्त लयमा बाँधिएको कविताको सूक्ष्म रूप भनिएको देखिन्छ तर अभ्यासमा आएका साइनोहरूको प्रकृतिलाई हेर्दा बद्ध लयात्मक ढाँचामा साइनोहरू लेखिएको अवस्था पनि छ । लयका पनि आफ्नै तरिका र अभ्यास भएको देखिन्छ । मूलतः लोकलयका बान्की र ढाँचामा ढालेर पनि साइनो लेख्ने र गाउने पनि गरिएको पाइन्छ । शिल्पसज्जा र कलात्मकता साइनो कविताको प्राण हो । बिम्ब, प्रतीक र अलङ्कारको उपयुक्त विन्यासले यसलाई सजाउन सकिन्छ । शब्द प्रयोगको सामर्थ्य र अभिव्यक्तिको कुशलता साइनोको वास्तविक पहिचान मानिन्छ । शैली शिल्पगत सौन्दर्यले साइनोको ओज बढाउने कुरातर्फ ध्यान दिनु उत्तिकै आवश्यक मानिन्छ ।
०० ०० ०० ००
प्रकाशनमा साइनो
साइनो कविता प्रकाशनका क्षेत्रमा पनि लोकप्रिय बनेको देखिन्छ । संयुक्त र एकल गरी साइनोका दर्जनभन्दा बढी कृतिहरू प्रकाशनमा आएको देख्न सकिन्छ । २०७७ सालमा साइनो सारथि शीर्षकमा देशका विभिन्न भागका स्रष्टाका साइनोहरू सङ्कलन गरी प्रकाशनमा ल्याइएको पाइन्छ । हिपत र जनमत साहित्यिक पत्रिकाले साइनोको विशेषाङ्क नै प्रकाशनमा ल्याएका छन् ।
स्थानीय तथा राष्ट्रिय छापा पत्रिका तथा विद्युतीय अनलाइन पत्रिकाहरूमा साइनोसम्बन्धी सैद्धान्तिक लेख तथा सिर्जनाहरू प्रकाशित भइरहेको अवस्था देखिन्छ । खेमलाल शर्माको अङ्ग्रेजी भाषामा प्रकाशित साइनो सङ्ग्रहले साइनोलाई देशविदेशमा चिनाउने काम गरेको पाइन्छ । पाल्पाका स्रष्टाहरूद्वारा पाल्पाली साइनो र पाल्पाली साइनो भाग २ प्रकाशनमा आइसकेको अवस्था छ ।
साइनो संसार पेजमा दैनिक रूपमा स्रष्टाहरूले साइनो कविता सम्प्रेषण गर्दै आउनुलाई पनि सुखद पक्ष मान्नुपर्छ । विष्णु पादुका, निरु, छायादत्त न्याैपाने बगर, सीता सुवेदी पन्थी, शेखर अर्याल, शान्तिदीप, सरिता पराजुली लगायतका स्रष्टाका एकल साइनो संग्रहहरू प्रकाशन भएको अवस्थालाई हेर्दा साइनोले छोटो समयमै लोकप्रियता प्राप्त गरेको मान्न सकिन्छ ।
०० ०० ०० ००
निष्कर्ष
साइनो नेपाली कविताका क्षेत्रमा विकास भएको कविताको सूक्ष्म रूप हो । आजको व्यस्त समाजमा यस्तै सूक्ष्म आयामका रचनाहरू लोकप्रिय भएको देख्न सकिन्छ । सूक्ष्म आयाममा बाँधिनु, विचारलाई सघन रूपमा समेट्नु, कलात्मक शिल्पमा सजिएर आउनु, समाजका विकृति र विसङ्गतिलाई सटीक ढङ्गले उधिन्ने काम गर्नु, सुधार र परिष्कारको अपेक्षा राख्नु आदिजस्ता कारणले साइनो कविताले छोटो समयमै लोकप्रियता प्राप्त गरेको देखिन्छ ।
अहिले धेरै स्रष्टाहरू साइनो सिर्जनामा जाेडिएको देखिन्छ । साइनोको सैद्धान्तिक पक्षमा पनि विचार विमर्श भएको पाइन्छ । संयुक्त र एकल रूपमा कृति प्रकाशनको अभियान पनि चलेको छ । यी विभिन्न कुराले साइनो कविताको भविष्य उज्ज्वल रहेको देखिन्छ । आज साइनोको छैटौं वर्ष प्रवेशका अवसरमा सम्पूर्ण स्रष्टाहरूलाई हार्दिक बधाईका साथ शुभकामना ।
![पोस्ट पेज – लेखको तल 1st (Banner Ad)](https://sahityapost.com/wp-content/uploads/2023/11/1200-100_GIF.gif)
![पोस्ट पेज – लेखको तल 2nd (Banner Ad)](https://sahityapost.com/wp-content/uploads/2023/12/Digital-Fraud-900X100-px.gif)
![पोस्ट पेज – लेखको तल 3rd (Banner Ad)](https://sahityapost.com/wp-content/uploads/2023/12/1000x100.gif)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
![](https://sahityapost.com/wp-content/uploads/2023/03/fonepay_payments_fatafat.png)
![](https://sahityapost.com/wp-content/uploads/2023/03/png.png)