
नारायणी नदीको किनार । यात्राको क्रममा सुखद भेट । त्यसपछि मन्दिरै मन्दिरको शहरमा कफी गफ । तान्त्रिक शहरमा एक छकाल सँगै यात्रा । भादगाउँको बिस्का जात्रा र यात्रा । अर्को एक दिन साहित्यपोस्टद्वारा आयोजित पुस्तक विमोचन कार्यक्रममा रिडर्स हबमा जम्काभेट ।
त्यसपछि अग्रज कथाकार हरिहर खनालसँग कथा विमर्श गर्न त्यहाँदेखि धापासी हाईटसम्मको सहयात्रा । सहयात्रीहरू दीपक लोहनी, डा. हिमलाल र प्रमोद प्याकुरेल । न्यातपोल नजिकै रहेको पाटीमा कुरिलो घरबाट ल्याएको अर्ग्यानिक काँक्रो, गाजर र मुलासँग मोही र मकैको स्वाद ।
महाभारतकालीन आख्यानका बारेमा चर्चा चलिरहेकै बेला दीपकले आफ्नो सानो झोलाबाट सानै पुस्तिका निकाले । ‘आधुनिक महाभारत’ शीर्षकको लघुकथा सुनाए ।
स्वैरकल्पनाको सुन्दर प्रयोग भएको त्यस कथामा म पात्रको मनमा एउटै कालखण्डका धृतराष्ट्र र पाण्डुका सन्तान संख्यामा त्यति ठूलो भिन्नता कसरी हुन गयो ? जिज्ञासा उत्पन्न हुन्छ र सिग्मण्ड फ्रायडलाई भिडियो कल गर्छ । फ्रायडले भन्छन्, “पाण्डुका अनेक काम थिए । तर धृतराष्ट्र अन्धा थिए । उनको कुनै काम थिएन ।” सामान्य संवादमार्फत गम्भीर कुरा अवगत गराउनु, कथामा बिम्बको प्रयोग र काव्यको स्वाद पस्किनु दीपक दृष्टि र शैली नै हो । त्यही बसाईंमा नै हो मैले स्रष्टाकै हातबाट ‘दीपक र दीपकहरू’ पाएको ।
कमलविनायक पुगेर कृति सुमसुम्याएँ, खोलेर हेरें । भूमिका र शुभकामनाले २३ पृष्ठ खाइदिएछ । २८ पृष्ठबाट बल्ल उनका कथाहरू शुरू हुन्छन् र जम्मा ४४ पृष्ठमा २४ थान कथा समेटिएका छन् । सरसर्ती एकपटक पढें । चित्त बुझेन । केही दिनपछि ‘दीपक र दीपकहरू’ लिएर म पहाडकी रानी इलाम पुगें । अनि काव्यिक लघुकथाहरूको रसास्वादन गर्न लागें ।
‘लघुमृत्यु‘ कोरोना कहरको मारमा परेको म पात्रले आफू मरेको सफल नाटक गरेको छ ।‘कोपरा‘ मा लोभी सुन व्यापारी र उसकी श्रीमतीको कहानी, व्यङ्ग्य र असन्तुष्टि छ । ‘तिम्रो बूढो र म‘ रोमाञ्चकताले भरिएको सन्देशमूलक प्रेमिल कथा हो ।
शीर्षकथा ‘दीपक र दीपकहरू’ उत्तरआधुनिक समाजको प्रतिनिधित्व गर्ने कथा हो । पुरुषप्रधान समाज कसरी महिलाले चलाएको जाँतोमा पिसिंदै छ ! नारी दिवसको सभामा पछिल्लो सिटमा बसेको दीपक र ऊ जस्तै दीपकहरू रहेका छन् । पितृसत्तालाई खिस्स हँसाउँदै कहानी सकिन्छ । दीपकका कथामा बाध्यता छन् विवशता छन् । विसङ्गति र विकृति छन् । जिन्दगीका कटु यथार्थ छन् ।
‘किनमेल’ शीर्षकको कथामा हतियार र औषधि किन्न बजार निस्केको म पात्र अन्तमा बूढीआमासँग धैर्य र हाँसो लिएर फर्किन्छ । जिन्दगीमा के कुराको महत्त्व ज्यादा महत्त्वपूर्ण छ त्यसलाई कलात्मक तरिकाले प्रस्तुत गर्नु दीपक लोहनीको आफ्नै विशेषता हो । ‘एक अङ्गालो’ र ‘कैदी’ लघुकथामा पनि मानिसमा अन्तर्निहित आनन्दभाव, खुशी र प्रगतिको कारक तत्त्वबारे फरक शैलीमा स्पष्ट पारिएको छ ।
लघुकथा लेखन र उन्नयनमा लामो समयदेखि लागिपरेका कुशल कथाकार, अभियन्ता र सञ्चारकर्मी समेत भएकाले उनको यो कृति र लेखनीको बारेमा यथेष्ट समीक्षा र परिचर्चा भइसकेको छ । मैले पनि तिनै र त्यस्तै पक्ष दोहोर्याउनु पाठकहरूको लागि घोर अन्याय हुनेछ, तसर्थ यसमा मैले एक पाठकको दृष्टिकोणबाट कहाँकहाँ खल्लो लाग्छ ! मीठो परिकार स्वादले चपाइरहँदा दाँतमा ढुङ्गो लाग्दा कस्तो हुन्छ ? त्यो पाटो देखाउने कोशिश गरेको छु ।
१. परिवर्तन र विद्रोहको स्वर मलिन:
‘दीपक र दीपकहरू’ मा एउटा पनि कथा यस्तो छैन जसले विद्रोहको स्वर मुखरित गरेको होस् । सकारात्मक परिवर्तन र क्रान्तिको झिल्को कतै देखिंदैन । सबै पात्रहरू लाचार र विवश छन् ।
२. विभेदहरूप्रति मौन:
समाजमा लैङ्गिक, जातीय, वर्गीय, धार्मिक लगायतका अनेक भेदभावहरू विद्यमान छन् । ‘कोपरा’ र ‘दीपक र दीपकहरू’ मा लैंगिक विभेदको सूक्ष्म संकेत त छ तर त्यसमा पनि सुस्पष्ट विचार छैन ।
३. कोरोना कहरका कहानीको बहुलता:
कोरोना कालमा सिर्जित भएर हुनसक्छ, दीपकका कथामा महामारीका कहानीले बहुलता पाएको छ ।
४. विषय विविधतामा कमी:
संख्यात्मक हिसाबले कम भएर हुनसक्छ, विषय विविधतामा कमी छ । आफू र परिवार वरिपरिका कहानीहरूले प्रमुखता पाएको छन् ।
५. परिवर्तनकारी विचारबाट दूर :
साहित्य कसको लागि, के को लागि लेख्ने ? समाजको सकारात्मक रूपान्तरको लागि कि स्वायन्त सुखायका लागि ? बहसको विषय हो । दीपक र दीपकहरूमा अधिकांश कथा स्वायन्त सुखायका लागि लेखिएजस्तो प्रतीत हुन्छ ।
हीरा र सुनलाई पनि खोट लगाउन सकिन्छ । जल, आकाश र वायुको पनि खोट देखाउन सकिन्छ । मान्छेको कामै आफ्नो गुण र अर्काको दोष देखाउनु जस्तो भएको अहिलेको युगमा जति खोट लगाउन सकिन्छ मैले लगाएँ । त्यसको लागि पटकपटक कृति अध्ययन गरें । दोहोर्याई तेहेर्याई पढ्दा अर्ग्यानिक स्वाद कहाँ पाइन्छ र ! तथापि मैले दीपकका कथामा कल्पनाको अनौठोपना चमत्कारिक ढङ्गले प्रस्तुत भएको पाएँ ।
‘तिम्रो बुढो र म’ त्यस्तै मिठासले भरिएको कथा हो । स्वैरकल्पनामा रचित आधुनिक महाभारत, कैदी र ईश्वरको मृत्युले मानवीय संवेदनालाई स्पर्श गर्दै रहस्यमय लोकमा पुगेको अनुभूति हुन्छ । मानवीय प्रेम, संवेदना र आदर्शले लतपतिएका कलात्मक मीठा कथाले हृदयलाई आनन्दित तुल्याउन सक्षम छन् ।
यति सुन्दर आख्यान रचना गर्ने दीपकले किन यति थोरै संख्या मात्रै समेटेर कृति प्रकाशित गरे ? पाठकहरूले गर्ने जिज्ञासा हो यो । तर दुर्लभ वस्तु सहजै कहाँ उपलब्ध हुन्छ र ! पाठकले दीपकको अर्को कृतिको प्रतीक्षा गर्नुको विकल्प छैन । २०७७ सालमा प्रकाशन भएको यो कृतिले छिटै जोडी पाउने कुरामा कुनै शङ्का छैन ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

