मानिसलाई मान्छे भएर बाँच्न प्रेम अपरिहार्य छ । प्रेमको सुखानुभूति अवर्णनीय हुन्छ । प्रेमको यही शाश्वत पक्ष कविता बनेर पोखिएका छन् ‘तृतीयाकी जून’मा ।
म हुनेछु
त्यो ठूलो सिसा पछाडि
र तिमी देख्नेछौ मलाई
जब सिसामा तिमी
हेर्नेछौ आफ्नो अनुहार ।
सारै मार्मिक लाग्यो मलाई माथिको कवितांश । कविता बन्नका लागि ओजिलो, कठिन शब्दको चयन हुनुपर्छ । कविता बौद्धिक वर्गले बुन्ने विषयवस्तु हो । कविताले सिधा अर्थ दिंदैन भन्ने परम्परागत मान्यताको मुखमा झापड हो, यो कवितांश । सरल शब्दमा पनि गम्भीर भाव व्यक्त गर्न सकिन्छ भन्ने ज्वलन्त उदाहरण हो माथिको कविताको अंश । हो, कवि विष्णु एस राई यस्तै सरल तर सरस कविता लेख्न सिपालु छन् ।
पेशाले अंग्रेजी विषयका प्राध्यापक प्रा. डा. विष्णु एस राईले त्यसो त भाषा विज्ञान र अंग्रेजी शिक्षासँग सम्बन्धित असंख्य पुस्तक लेखेका छन् । लोपोन्मुख भाषा, अंग्रेजी शिक्षा र सिर्जनात्मक लेखनसम्बन्धी प्रशिक्षण, कार्यशाला गोष्ठीहरूमा कार्यपत्र प्रस्तुत गर्ने अक्षर कर्ममा निरन्तर लागिरहेकै छन् । यति हुँदा हुँदै पनि नेपाली भाषा र साहित्यको भण्डार भर्ने काममा पनि उनको कलम निरन्तर चलेकै देखिन्छ । नेपाली नियात्रा लेखनको उँचाइलाई अझ अग्लो बनाउने कर्म उनले गरेका छन् । उपन्यासमा कलम नदीजस्तै बगाएका छन् । निबन्धमा मखमली फुलाएका छन् । साथै कविता, गीत, गजलमा पनि साधनारत छन् । यसैको पछिल्लो उदाहरण हो तृतीयाकी जून ।
‘तृतीयाकी जून’ कविता, गीत र गजलको त्रिवेणी मान्न सकिन्छ । हुन त गीत र गजल दुवै कविताकै उपविधा हुन् । यस संग्रहमा जम्मा ४४ ओटा सिर्जनाहरू छन् । जसमा ६ ओटा गीत, ११ ओटा गजल अनि २७ ओटा कविता छन् ।
प्रेम प्राप्ति मात्र होइन, त्याग पनि हो । अनि त्यस त्यागबाट प्राप्त हुने प्रेरणा जीवनका लागि उपयोगी हुन्छ । कसैले छोडेर गए पनि स्मृतिमा बाँचिरहन्छ । प्रेममा अलौकिक शक्ति हुन्छ । त्यसैले त कवि पछ्यौरीभित्र आफ्नो प्रियसी पाउँछन् । पछ्यौरीलाई घाममा सुकाउँछन् । सुकाउँदा सुकाउँदै पछ्यौरीको रङ खुइलिएको छ । तर माया भने अझ गाढा बन्दै गएको छ । कविलाई सुपर मून मन पर्दैन । उनलाई त धरतीकी आफ्नै जूनको माया छ । आँखाभरि सपना अनि मुटुभरि माया छ आफ्नो जूनका लागि । आफूसँग निर्जीव क्यामेरा होइन ढुकढुक गर्ने मुटु रहेकोमा कवि प्रसन्न छन् । अनि त्यो हृदयकेन्द्रमा तृतीयाकी जूनको तस्बिर सजाएर आनन्दको सागरमा पौडिँदै यसो भन्छन् कवि:
म सुपर मुनलाई होइन
धरतीकी जूनलाई हेर्छु
मसँग निर्जीव क्यामेरा होइन
ढुकढुक गर्ने सजीव मुटु छ
मैले क्यामेरामा कैद गर्नु पर्दैन
उनी त जन्म जन्मान्तरदेखि
मेरो मुटुभित्र कैद छिन् । (सुपर मुन बनाम तृतीयाकी जूनबाट)
प्रेम भोग गर्ने विषय मात्र होइन । त्यो भन्दा बढी यो अनुभूत गर्ने विषय हो । भौतिक सामीप्यले मायालाई तिखार्ने काम गर्न सक्छ । तर भौतिकको आधारमा मायालाई जोख्न सकिँदैन । प्रेम त भावनात्मक विषय हो । हृदयको केन्द्रबाट निस्किएको अनमोल बस्तु हो । प्रेमलाई गहिरो गरी बुन्न सकियो भने निर्जीव बस्तुहरू पनि सजीव बन्न थाल्दछन् । समीर गुनगुनाउन थाल्दछ । पुस्तकहरू नाच्न थाल्दछन् । यालका पर्दाहरू झुल्न थाल्दछन् । आफ्नो प्रेम बाढी बनेर आएको अनुभूत हुन्छ कविलाई । साउनको झरीजस्तै वर्षन्छ निरन्तर ।
प्रेम हृदयले गर्ने हो । यो देखाउने विषय होइन । प्रेम व्यवहारमा देखिन्छ । मुखले बोल्नै पर्दैन । प्रेम व्यक्त गर्न शब्द अपुरो बन्छन्, आधुनिक सुविधा पनि पर्याप्त छैन प्रेमको अभिव्यक्तिका लागि । तर एक थरी मानिस प्रेमको गहिराई बुझ्न चाहँदैनन् । हल्ला बढी गर्छन् । नाराबाजी गर्दै उफ्रन्छन् । तर प्रेमको गहनता बुझ्ने मानिसले प्रेम गरिरहन्छ । त्यो प्रेमभित्र प्रेरणा हुन्छ । समर्पण पनि हुन्छ । यस्तै भाव कविता बनेर उभिएका छन् तृतीयाकी जूनमा । जस्तो:
एउटाले नाराबाजी गर्छ आफ्नो प्रेमको
सुनाउन चाहन्छ, सुनाउँछ संसारलाई
अर्कीले स्वीकार गर्छिन् प्रेम
चुपचाप
भन्दिन कसैलाई पनि
मेरी उनी ।
उनी हुँदा संसार उज्यालो लाग्छ कविलाई । अनि उनी नहुँदा उराठ लाग्छ, उजाड लाग्छ । यस्ता मानवीय समवेदनाले भरिएका छन् कविता । मानिसको आयु लामो छैन । एक दिन यो धरती छोडेर जानैपर्छ । यस्तो क्षणिक जिन्दगीलाई भरपुर जिउनका लागि मानिसलाई प्रेमको आवश्यकता पर्दछ । आफू एक्लैले संसार बन्दैन । नारी र पुरुष दुई मिलेर सुन्दर संसारको सिर्जना हुन्छ । त्यो प्रेमको संसारबाट मानिसले आत्मीय आनन्द प्राप्त गर्दछ । कवि राईले यस्तै भाव आफ्ना प्रेमिल कविताहरूमा व्यक्त गरेका छन् ।
मन परेपछि कुनै सीमा हुन्न । आफूलाई मन परेको मान्छे यो संसारको सबैभन्दा राम्रो मान्छे लाग्छ । उसको रूप, विचार, बोली, आनीबानी, व्यवहार सबै राम्रा हुन्छन् । उसले लगाउने लुगा, काम गर्ने तरिका सबै राम्रै लाग्छ । आफूले मन पराएको मान्छेभन्दा कम सुन्दर लाग्छन् फूलहरू । यहाँसम्म कि चन्द्रमा पनि फिका लाग्छ । कविले यस्तै भाव पोखेका छन् कविताका माध्यमबाट ।
भन्छन् तँलाई देखेर
कविहरू पागल हुन्छन् रे
रातभरि हेरिरहन्छन् तँलाई
तँ जस्तो रातभरि होइन
एक छिन मात्रै उदाउँछिन्
मेरी तृतीयाकी जून
तर त्यो एक पलको एक झलकले नै
पागल भएको छु, दिवाना । (उनको निधारको टीका)
दुनियाँमा सबै कुरा प्राप्त गर्न सजिलो छ तर आफ्नो मनको मीत पाउन ज्यादै कठिन छ । आफूसँग मन नमिल्ने मानिस सँगै भएर पनि नभएकै सरह हुन्छ । त्यसैले प्रत्येक मानिस मनको मीत चाहन्छन् । मन मिल्ने साथी नपाउँदासम्म हरेक मानिसले आफूलाई अधुरो ठान्छ । जब उसले आफ्नो मन मिल्ने साथी पाउँछ उसलाई संसारका सबै कुरा पाएजस्तो लाग्छ । आफ्नो बर्षौं देखिको रित्तो हृदय भरिएजस्तो लाग्छ । प्रेमले यस्तै भन्छ । भौतिक रूपमा आफ्नो प्रेमी वा प्रेमिका टाढा भए पनि सम्झना भने नदीभन्दा लामो र सागरभन्दा गहिरो हुन्छ । कतै एकान्तमा बस्दा बोलाएको जस्तो, केही भनेको जस्तो, कतै स्पर्श गरेजस्तो अनुभूत हुन्छ । यस्तै हृदयको भाव कविता बनेर उठेको छ तृतीयाकी जूनमा । आफूसँग भौतिक दूरीमा रहेकी आफ्नी प्रियसीलाई सन्देश पठाउन हावासँग बात मार्छन् कवि राईः
ऐ हावा !
हुनसक्छ तँ पुग्दा
उनी फूलका बिरुवामा पानी हाल्दै होलिन्
फूलले फूललाई पानी हालेको
कहिल्यै देख्या छस् तैँले? (हावासँग)
प्रेम र प्रेरणाको सुन्दर बिम्ब छ तृतीयाकी जूनमा । मानिसलाई मान्छे भएर बाँच्न प्रेम अपरिहार्य छ । प्रेमको सुखानुभूति अवर्णनीय हुन्छ । प्रेमको यही शाश्वत पक्ष कविता बनेर पोखिएका छन् ‘तृतीयाकी जून’मा । मलाई मन पर्ने आदरणीय कवि बिष्णु एस. राईको सिर्जनात्मक विशेषता कलात्मक शिल्प, शैली र प्रस्तुति हो । त्यो विशेषता तृतीयाकी जूनमा पनि पोखिएको छ । कविताहरू (गीत, गजलसहित) सरस, मार्मिक एवं हृदयस्पर्शी छन् ।
यसभित्र प्रेम, प्रणयका मीठा धुन छन् । विरहका गीत पनि कतै गुञ्जिएको भेटिन्छन् । त्योभन्दा बढी आफ्नो मायामाथि विश्वासको सगरमाथा बनाएका छन् कविले । सिर्जना हार्दिक विषय हो । यस दृष्टिले तृतीयाकी जून सबल र सफल देखिन्छ । तृतीयाकी जूनको चर्चा ठाउँ ठाउँमा छ । तृतीयाकी जूनलाई मनको मन्दिरमा सजाएर बाँच्न जानेका कविले उनीप्रतिको चोखो प्रेमलाई कविताको रूपमा व्यक्त गरेका छन् । यो दृष्टिले हेर्दा यसको शीर्षक तृतीयाकी जून सार्थक देखिन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।