डा. कुसुमाकर शर्मा गौतमले लेखेको लघुकथासंग्रह ‘हिउँको राप’ को चर्चा-परिचर्चा धेरै भइसकेका छन् । समीक्षाहरू पनि निकै नै आइसकेका छन् । प्रकाशनको छोटो अवधिमा नै यति धेरै चर्चा परिचर्या यस संग्रहले पाउनु पक्कै पनि यो संग्रहको सफलता हो । यस संग्रहको सफलता यस संग्रहका लेखकको सफलता हो । कुनै पनि साहित्यिक कृति विशेष भएमा मात्र त्यसले धेरै पाठकहरूको ध्यान आफूतिर आकर्षित गर्छ भन्ने तथ्य घामझैं छर्लङ्ग छ । हिउँको रापको चर्चा परिचर्चा निकै हुनुले यो कृति विशेष रहेको पुष्टि हुन्छ ।
हिउँको राप भित्र के कस्ता लघुकथाहरू छन् । ती लघुकथाहरूका प्रकृति र बनौट कस्ता छन् । तिनले पाठक वर्गलाई के सन्देश दिन खोजेका छन् । यी विषयहरूमाथि छलफल, विचार वा समीक्षा गर्ने जिम्मा म पाठक वर्गलाई नै दिन्छु । यो पुस्तक पढ्न अनुरोध पनि गर्छु । कुनै पनि सर्जकको सृजना पढिदिनु भनेको उक्त सर्जकलाई अझै लेख्न प्रोत्साहित गर्नु हो । एक सर्जकले कुनै पनि सिर्जना गर्न धेरै नै यत्न, समय र साधनहरू खर्च गरेको हुन्छ । यो हामी सबैले भलिभाँती बुझेको कुरा हो ।
‘हिउँको राप’को अध्ययन गरेपछि मैले साहित्यकार गौतम कस्तो व्यक्ति रहेको पाएँ र यस कृति मार्फत उनले के सन्देश दिन खोजेका छन्, म यी विषयहरूमा माथि प्रकाश पार्नेछु ।
आफ्नो साहित्यिक कृति हिउँको रापमा गौतमले अनेक विषयहरूको उठान गरेका छन् । । उनले उठान गरेका सबै विषयहरू तिर म अहिले जाने जमर्को गर्दिन । केवल दुई विषयहरूमा मात्र जाने यत्न गर्नेछु ।
हिउँको रापमा रहेका अनेक विषयहरू मध्ये मैले चर्चा गर्न खोजेका दुई विषय, जुन गौतमले सशक्त किसिमले उठाएका छन्, ती हुन्- राष्ट्रियताको परिभाषा जटिल छ र प्रवासमा रहेका नेपालीहरूको समस्या सीमित छैन ।
ठूलो संख्यामा व्यक्तिहरू रोजगारको लागि विदेश जाने र केही स्थायी रूपमा विदेशमा नै बस्ने क्रम शुरू भएसँगै राष्ट्रियताको परिभाषा जटिल हुन पुगेको छ । एक व्यक्ति भारतमा जन्मेर पाँच वर्ष पछि क्यानडा पुगेको छ, क्यानडामा बीस वर्ष बसेर पछिल्लो समयमा अस्ट्रेलिया बसेको र अहिले ऊ अस्ट्रेलियाको नागरिक भएर त्यहाँ नै स्थायी बसोबास गरिरहेको छ । यस्तो स्थितिमा उक्त व्यक्तिले राष्ट्रियताको बोध गर्नु देशप्रति गर्नु पर्ने हो, भारत, क्यानडा वा अस्ट्रेलियाप्रति ? यो केवल उदाहरण मात्र हो ।
तर यो उदाहरण अहिले अनेक व्यक्तिहरूको जीवनमा लागू भएको छ । अहिले ठूलो संख्यामा व्यक्तिहरूले स्थानान्तर गरेका छन्, गरिरहेका छन् । कुनै व्यक्ति एउटै देशमा जन्मेर, हुर्केर र जीवनको अन्तिम समयमा पनि त्यही देशमा बसेर देह त्याग गरेको स्थिति क्रमिक रूपमा कम हुँदै गएको छ । यो नयाँ परिस्थितिमा राष्ट्रियताको परिभाषा जटिल हुन पुगेको छ । राष्ट्रियाता वा राष्ट्रियता बोध यो कारणले गर्दा जटिल हुन पुगेको छ भन्ने कटु यथार्थ डा. कुसुमाकार शर्मा गौतमका लघुकथाहरू पढेपछि ज्ञात हुन आउँछ ।
प्रवासी जीवन अति आनन्ददायी हुन्छ । प्रवासी जीवन सुख, सुविधा र सन्तुष्टिले भरिपूर्ण हुन्छ । आम्दानीको दृष्टिकोणले पनि प्रवासी जीवन उत्तम हो । नेपाल वा नेपालको जस्तै स्थिति भएका मुलुकहरूबाट अमेरिका, क्यानडा, अस्ट्रेलिया, युरोप (युरोपका धनी मुलुकहरू) पुगेका व्यक्तिहरूले विदेशमा ‘मौजको जीवन’ बिताइ रहेका छन् । अहिलेको लोक-धारणा वा अनुभूति यस्तै छ । यी धारणले गर्दा अहिले अनेक देशहरूबाट र खास गरी नेपालबाट मानिसहरू चराको झुन्ड आकाशमा उडेझैं विदेशको अकाशतिर उडिरहेका छन् । माथिल्लो बाट नपाए पनि तल्लो बाटो भए पनि, पातालतिर प्रवेश गरिरहेका छन् ।
प्रवासी जीवन बिताइरहेका र मुख्यगरी नेपालीहरू सोचिएझैं प्रवासमा सुविधाहरूले युक्त त छन् तर सन्तुष्ट छैनन् । वर्तमानमा खुशी देखिए पनि भविष्यप्रति अति चिन्तित छन् । नित्य, प्रवासमा नै जीवन शेष गर्ने वा स्वदेश फिर्ने ? यो प्रश्न आफूलाई आफैले दिनमा दश चोटि सोध्छन् । प्रवासी नेपालीहरूसँग एक, दुई होइन यस्ता दर्जनौं प्रश्नहरू छन्, जुन उनीहरूले आफूले आफैलाई दिनहुँ सोध्छन् । यस किसिमका मुद्दा वा समस्याहरूलाई गौतमले आफ्ना लघुकथाहरू मार्फत चिन्ता सहित पाठकहरूसमक्ष ल्याएका छन् । प्रवासीहरूको स्वदेश-चिन्तालाई आफ्ना लघुकथाहरू मार्फत सार्वजनीकरण गरेका छन् ।
अब केही सर्जक गौतमका व्यक्तित्व बारे कुरा गरौं । पेशाले गौतम एक सरकारी वैज्ञानिक हुन् । उनको पेशगत कार्य पानीको प्रकृतिको अनुसन्धान गर्नु हो । गौतमको बसोबास सपरिवार क्यानडाको अल्बर्टा राज्यको एडमन्टन शहरमा रहेको छ ।
गौतमको पेशागत गुण (पानीको सानो भन्दा सानो थोपाको अवलोकन एवं विश्लेषण गर्नु) उनको साहित्य- जीवनमा पनि देखिन्छ । यो तथ्य उनको कृति हिउँको राप पढेपछि अवगत हुन्छ । गौतम पहिले अध्ययन गर्छन् । अध्ययन पछि मनन गर्छन् । मनन गरे पछि चिन्तन गर्छन् । कुनै विषय उठान गर्दा वा लेख्दा पहिले त्यस विषयको गहिरो अध्ययन गर्छन् । अध्ययन पछि मनन गर्छन् । मनन पछि चिन्तन गर्छन् । यसरी तिन क्रियाहरू- अध्ययन, मनन र चिन्तन गरेपछि मात्र लेख्छन् । यो कारणले गर्दा पनि गौतमका सृजनाहरू अर्थपूर्ण, औचित्यपूर्ण र सन्देशयुक्त हुन पुग्छन् । हिउँको राप पढेपछि मलाई ज्ञात भएको यथार्थ हो यो, गौतमका लागि गरिएको भजन वा भक्ति होइन ।
साधारण विषय वा मुद्दालाई पनि, उठाएर त्यसलाई जनसमक्ष ल्याउन असाधारण किसिमले अध्ययन, मनन र चिन्तन गर्ने साहित्यकार कुसुमाकर शर्मा गौतमबाट आउँदा वर्षहरूमा अनेक उपयोगी कृतिहरू आउनेमा म विश्वस्त छु ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।