नौ वर्षसम्म बाटो छेक्नेहरूले छेकिरहे – एउटा उत्साह लिएर जोशिलो यात्राको सुरुवात गर्ने दृढ आकांक्षा लिएका प्रतीक ढकाल । उपसचिव स्तरको लेखकको आफ्नै किसिमको इच्छा – सुन्दर हिमालहरूलाई नजिकैबाट नियाल्ने रहर, ५०/६० हजार रुपियाँ बचत गर्ने योजना तथा लेखनमा रुचि भएकोले नयाँ विषय पाठकसमक्ष भित्र्याउने रहर । दुष्टहरूको आफ्नै दुष्ट्याइँ हुन्छ, खुट्टा तान्ने र थचार्ने सिवाय त्यस्ताले कहिले पनि दिमागमा नयाँ कुरा सोच्न पनि सक्तैनन् । सोचे पनि बङ्ग्याउनु बाहेक अरू काम गर्न जानेकै हुँदैनन् । लेखक बन्छु भन्दैमा सजिलैसित बनिने भए जो पनि लेखक बनी टोपल्ये ।

‘हिमालपारि पुगेपछि’ को यात्रा यात्राको क्रम । धेरैले आ-आफ्नो किसिमले यात्रा लेख्न पुगे- कसैले इतिहास बनाउन पुगे, कसैले तथ्यपूर्ण सामग्रीको साधन बनाए, कसैले सटिक रूपमा सम्पूर्णतालाई केन्द्रित स्वरूप स्केचको रूपमा प्रदर्शन गर्न पुगे । प्रतीक ढकालको स्वीकार्ने प्रवृत्ति-हेलिकोप्टर नचढेको कुरालाई महत्त्व दिएर यात्रा बारेको पृष्ठभूमिको सुरुवात यसरी गरिएको छ- “मैले त हेलिकोप्टर भन्ने बित्तिकै सानो हुन्छ भन्ने ठानेको रहेछु । कहाँको सानो हुनु नि यो मोरो त ।” भन्ने तरिका आफ्नै हुन्छ- हो, यही शैली नै ‘मिल्काउने’ र ‘अँठ्याउने’ काम गर्छ प्रतीक ढकालको आफ्नै पन छ र त उसको अस्तित्व पनि रहेको छ । यात्रा गर्नेले यात्रालाई Map बनाउन खोज्छन् – अनि Map बनेपछि निर्जीव भएर विचार शून्य दिशातिर बज्रिन पुग्छ । टक्क अडिएको फोटोसँग आत्मसात् गर्ने बानी भएकाहरूले आफूजस्तै भुत्ते बनाएका छन्- यात्रालाई ।

हेलिकोप्टर चढेर घुम्न जान पाउनुको मज्जा पनि अर्कै नहुने होइन । नढाँटीकन, अझ भन्ने हो भने पेटमा कुरा अडाउन नसकेर हो कि प्रतीक ढकाल खुलस्त हुन्छन्- “पहिलो चोटि हेलिकोप्टर चढिएको छ । आफैले खर्च गरेर देश-दर्शन गर्नु पर्नेमा जापानीहरूको टिमले खर्च व्यहोरेर आफू पनि जान पाइएको छ । खान, सुत्न, बस्न कतै पनि आफ्नो खर्च लाग्दैन ।” अनि प्रफुल्ल मुद्रामा संकोच नमानी हँसिलो मुख पार्दै सजिलै सित भनिदिन्छन्- “सबैतिर शुभैशुभ छ- चारैतिर लाभैलाभ ।”

प्रतीक ढकाल मख्ख परेका छन् । घुम्न जान पाउनु मात्र होइन, देशको वास्तविकता बुझ्ने इच्छा पनि त्यतिकै छ- ऊनीभित्र । यात्राको मज्जाको जो पायो त्यसले लिन खोज्दैन/चाहँदैन । नेपालको भू-धरातल नै अनौठो छ जोखिमपूर्ण र त्यही जोखिमपूर्ण यात्राको मोहले लडिएका प्रतीक ढकालको आफ्नै पनको अस्तित्वले ऊनीभित्र एउटा कौतूहल मडारिइरहेको देखिन्छ । नबुझिने किसिमको लहडपनले उत्तेजित पार्दाको सन्की सोचाइ भनेर कसैले लत्त्याउन पनि पछि नपर्लान् । अनायास स्वर निस्किन्छ – “जब ‘चील’गाडीमा चढिन्छ, तब त्यो तराई यति चाँडै बिलाउँछ कि सिर्फ एउटा धर्सो जस्तो मात्र ।” अनि आफैलाई हँसाउँछन्- “बुढापाकाहरूले लगाउने लगौंटी जस्तो मात्र ।”

‘डोल्पाको आकाश’ आकाशै आकाश । आँखाभरि भीरैभीर, खोंच, जङ्गल, नदी र पहराहरू । प्रतीक ढकाल उत्तेजित हुँदैनन् । सुनेको होइन, आफ्नै आँखाले देखेका र भोगेका दृश्यहरू उनका आँखाअगाडि आएर पहिलेको र अहिलेकोमा के कति फरक र समानता छ भन्ने कुरामा मात्र जिज्ञासा जान्छ । त्यसैले त प्रतीक ढकाल गर्वसाथ भन्छन्- “भ्रमण गरेका जिल्लाको संख्या ७५ पुग्न नसके पनि मैले टेकेको अञ्चलहरूको संख्या आज देखि १४ पुग्यो ।” डोल्पा जिल्लाको हवाई-मैदान-जुफाल एयरपोर्टमा खुट्टा टेकेपछि छाती तन्काएर आकाश हेर्दै निस्केका शब्दहरू ।

प्रतीक ढकाल देखेका र सुनेका कुराहरू नढाँटीकन लेख्छन् । लेखक भन्नु नै इमानदारीको प्रतीक हो । त्यसैले ढाँटिदियो भने, त्यसैले लत्त्याइदियो भने र त्यसैले मोडिदियो भने वास्तविकताको ‘मृत्यु’ अवश्यै हुन्छ । नराम्रा पक्षलाई पनि यात्राकारले स्वाभाविक ढंगले उतार्न सक्नुपर्छ । त्यसैले होला, ढकालले यसरी चित्रण गर्दछन्- “नाङ्गा भुतुङ्गा केटाकेटी र बाटैभरि छरिएका गुहुका थाप्राहरू । घिन मान्दै अघि बढिंदैछ ।”

यात्रा त सबैले गरेकै हुन्छन् र सबैले लेख्छन् भन्ने कुरा पनि आउँदैन । यात्रा मैले पनि गरेको छु तर यात्रा-साहित्य लेख्न मलाई मन लाग्दैन । चरित्रहरूलाई कथा अथवा कविताको माध्यमद्वारा चिनाउने प्रयास गर्छु । शैलीको चमत्कारिताले यात्रा साहित्यलाई प्राण दिन्छ- उत्तेजना दिँदै चरम सुखमा परिणत गरिदिन्छ पागलपनको रङ थोपरेर हुन्छ कि शब्दको आडम्बरभित्र खोक्रो प्वाल पारेर कोचिएका काला डरलाग्दा पहाड उभ्याएर हुन्छ, गर्नुपर्ने गरिदिन्छन् ।

‘खजुरा’को कुरा उठाएर एउटा रहस्यमय वातावरणको सिर्जना प्रतीक ढकालले यसै गरेको छनक खजुरी’ आतइले कसैले ‘दुनै’लाई हाइलाइट पो गरेको हो कि ? खजुरो कानभित्र छिर्यो भने ?

प्रतीक ढकाल साधारण मान्छे होइनन् – टोलीको मूल मान्छे मध्येका एक । मागको कुरालाई उनले बिर्सेका छैनन् । दुःख नपाइकन अनुभव बटुल्ने मौका कहाँ प्राप्त हुन्छ, हुन पाउनुको मज्जाका सारखे होइनन्छ टोमन सार मान्छे भएर यात्रा गर्न तास्सिएको र अनौठो नास्ताबारे प्रतीक ढकाल लेख्छन्- “चाउचाउ खाने जस्तो ठूलो कचौरामा खोले जस्तो गिलो भात राखिएको छ र त्यसको बीचमा एउटा लप्सीको गेडो आकारको अचार राखिएको छ । यो गिलो भात जापानी चामलकै हो र जापानीहरूकै लागि ट्रेकिङ एजेन्सीले जापानबाटै मगाउँदो रहेछ ।”

अनि सम्झेँ मैले नेपाली जाउलोको परम्परा- अझ मदनमणि दीक्षितले लेखेको शब्द- “ताउलोमा पकाएको जाउलो खाएको कुरा ।”

प्रतीक ढकाल यसरी सविस्तार वर्णन गर्छन्- “भात त हो तर धेरै गिलो छ र च्यापच्यापी टाँसिने यसको प्रकृति छ ।” आ-आफ्नो परम्पराको खाना- लसुन र अदुवा मिसाएको जाउलो, बाक्लो माडमा मसला हालेर बनाइएको सूप, नून खुर्सानी र मसला हालेर बनाइएको मकैको फाँडोको स्वाद लिए जस्तै हरियो धुलो र पौष्टिक समुद्री मसला छरेर बनाइएको जापानी खानाको स्वादमा कुनै अन्तर नआउन पनि सक्छ । भोको पेटलाई टम्म पार्नु सिवाय अर्को विकल्प नै त्यहाँ हुँदैन । खानु थियो, प्रतीक ढकालले पनि जापानी जाउलो खाए । भोलिपल्ट बिहान “गिलो भातको डकार मुखबाट फाल्दै म पनि अघि लागें” भनेर खुलस्त पारे ।

‘बोम्पो’ धर्ममा विद्यावारिधि गर्ने लागेकी एउटी केटी पूरै डोल्पेली संस्कृतिमा भिजेको कुरा सुच्या (भोटे चिया) पिइरहेको घटनालाई अघि सारेर भन्न पनि पछि परेका छैनन्- “दिगमिग मानी मानीकन एक कप सुच्या पिएको कुरो चाहिं लुकाउन चाहँदैनन् प्रतीक ।”

डरै डरको यात्रा । उकालो चढ्दै जाँदा देखिने भीरहरू । तल तालतिर हेर्दा आङ जिरिङ्ग हुने । अनकन्टार भीरको साँघुरो बाटो । ताल कहिले सकिएला भने जस्तो हुँदो रहेछ । पहरामा अलिकति ठोकियो भने तालमा खसिएला भन्ने डर । पिठ्युँभरी भारी बोकेर हिँडेका ‘जोक्से’ का अवस्थाहरू । अनि पहाडको संयोगले बनेको खोंचै-खोच भुइँ फूलका थेग्लाहरू ! पहिले पहिले आमाहरूले लगाउने ढुङ्ग्री जस्ता फूलहरू फुलेका छन्- विभिन्न रङमा । दृश्य बदलिएको प्रकृति-रुखै-रुखको जङ्गल ।

प्रतीक ढकाल मोहित भएर वर्णन गर्छन्- “सेता तिघ्रा देखाएर हामीलाई आकर्षित गर्न प्रकृति पनि पछि परेन । तर रुखका यी सेता तिघ्राको आनन्द धेरैबेर रहन पाएन । नाङ्गा तिघ्रा देखाउने चलचित्रको जस्तो यो दृश्य तत्कालै ‘कट’ भयो जब पूरै बाटो सेतो देखियो र हामी हिउँले थुनिएर अप्ठेरोमा पर्‍यो ।”

हिउँको पहिरो ! पूरै बाटो ढाकेर दिएको खतराको घण्टी बाटो काटेर हिउँमाथि हिंडेको जीवनको पहिले अनुभव भनेर सुनाउन पनि पछि परेका छैनन् यात्राकार प्रतीक ढकालले । विभिन्न उमेरका यात्रीहरू ! सबैको आ-आफ्नो धून, तस्वीर खिच्ने रहर, अरूले चुरोट खाउन्जेल सम्मको समयलाई चित्र उतार्नमा मग्न हुने पनि नभएका होइनन् । कतै गुम्बा देख्ने बित्तिकै टेप लिएर नाप्न दगुर्ने ‘ओइवा’ । पट्‌यारलाग्दो धिमा गतिको हिंडाइ । एक ठाउँमा प्रतीक ढकालले यसरी चित्रण गरेको छन्- “तोमिनागासान् उमेरले बुढी भएर होला अरू जस्तो चाँडो हिंड्न सकेकी छैनन् । ऊनी जहिले पनि समूहको पछाडि हुन्छिन् र उनको पनि पछाडि हुन्छु म ।”

अझ खुलस्त भएर प्रतीक भन्छन्, “तर म चाहिं तोमिनागाको हार्दिकताका कारणले उनको वृद्धावस्थालाई सम्मान गर्दै सहयोगी भाव​ले लाग्ने ग​रेको छु ।”
गुम्बैगुम्बा जतासुकै । प्राकृतिक बनोट पनि ठाउँ पिच्छे फरक औषधीकै खानीको रूपमा रहेको – कीरा फट्यांग्रादेखि हरिया पातसम्म । ‘यार्सागुम्बा’ देख्ने बित्तिकै एक अर्कालाई उछिन्दै दौडेका भरियाहरू । “बडो अचम्मको चीज, तलतल कीरो र माथिमाथि च्याउ । टाउकोमा च्याउको छाता ओढेको किरो मज्जाले हल्लिने रहेछ। झुस नभएको तर ठ्याक्कै झुसिलकीराकै आकारको किरो ।” त्यस्तै प्राकृतिक बगैंचाको रूपमा देखिएको ‘पदमचाल’ ।

Flash Light फाल्न सिपालु छन् – प्रतीक ढकाल । आखिर लेखकै त हुन् । राम्ररी कलम चलाएर शैलीगत प्रभाव पार्न ऊनी पनि कम छैनन् । फेरि चानचुने मान्छे पनि त होइनन् – ‘खली’ खाइसकेका प्रशासनिक व्यक्तित्व ‘आँ’ गर्ने बित्तिकै बुझिहाल्ने क्षमता । सीमा नजिक आपराधिक घटनाहरू नघट्ने भन्ने कुरा आउँदैन । आपराधिक घटनाको वर्णन लेखकले यसरी गरेको छन्- “यही तीन-चार महिनाको अवधिमा उसले पटकपटक तिनै ठालुका चौरीहरू काटेर खाइदिएछ । यो कुरा त गोप्यै थियो वा शङ्का मात्र गरिएको थियो । तर अहिले त उनकै छोरीलाई पेट बोकाएछ । त्यही भएर त्यसलाई मार्नुपर्छ भन्दै ती तीन नेपालीले हतियार लिएर लखेटेका रहेछन् र त्यो तिब्बती चाहिं ज्यान जोगाउन भागेको रहेछ ।” जतिसुकै गुन गरे पनि र जति सुकै माया गरे पनि पशु प्रवृत्ति मान्छेमा आउँदो रहेछ भन्ने कुरा यात्राकारले देखाउन खोजेको देखिन्छ ।

अनि लेख्छन्- “लखेट्ने र लखेटिनेहरूको बोलीचाली, भेषभूषा, रूप, आकृति र शैलीमा कुनै फरक छैन । को तिब्बती हो र को नेपाली भन्ने कुरा पटक्कै छुट्याउन सकिंदैन । आखिर तराईको जस्तै समस्या यहाँ पनि रहेछ ।” अपराधीहरूको कथाव्यथा यहाँ पनि नभएका होइनन् प्रशस्त यात्रामा छन् । कष्टमय जिन्दगी । मार्ने र मारिनेको परम्परा । मासु, रक्सी र केटी जहाँ पनि छन् र नभई नहुने नै भइसके । जीवनको अन्धकारमय संसारलाई उज्यालो बनाउनको लागि करीबकरीब भोटे भइसकेको झापातिरको रमेश सिवाकोटीको बारेमा प्रतीक ढकालले दिएको हुलिया- “यो मोरो एउटी केटीमा पल्केको छ । त्यही भएर कतै जाँदैन । ठीक छ, हामी यसलाई भोटेको ज्वाइँ बनाएर यतै राख्छौं ।” यात्राकार प्रतीक ढकालले आफ्नो किताबमा यस्तो लेख्न पुगेका छन्- “फोहरका कारणले मैले छ्‌याङ खान घिन मानें र ब्राण्डी मात्र पिएँ । तर साथीहरूले भने मजाले मात्ने गरी छ्याङ र ब्राण्डी दुवै पिए ।”

सामान थुपारिएको पालमा रमेश एक्लै आगो तापेर बसिरहेको थियो हामी फर्कंदा ।

‘सोनाम खोइ त ?’ मैले सोधें ।

‘सोनाम दाइ त मोज गर्न गएको छ ।’ रमेशले भन्यो ।

‘कस्तो मोज ?’ हामीमा जिज्ञासा पलायो ।

रमेशले भनेर पो थाहा पाइयो – यहाँका चलन अनुसार घरमा मीत पाहुना लागेपछि अको मौरले त्यस रात आ नी श्रीमती छोडिदिनु पर्ने रहेछ । यही गाउँमा सोनामले कसैसँग मीत लगाएको हुनाले ऊ आज मितिनीसँग सुत्न गएका रहेछन् ।

रमेशले भन्यो- ‘तलतिरका टाढाबाठाहरू आ नो काम पट्याउन यहाँको सोझा भोटेहरूसँग मीत लगाउँछन् । आफू यता आएका बेला मितिनीसँग सुत्छन् । तर यता तिरका मीतहरू तलतिर ओर्लेका बेला आ नी श्रीमतीलाई भगाउँछन् र मीतसँग सुत्नबाट जोगाउँछन् । तर सोनामदाइ त इमानदार छन् । ऊनी त्यस्तो फट्याइँ गर्दैनन् ।  उनको त दोहोरै चल्छ । तर दुनै तिरका अरू जातले भने एकोहोरो मोज गर्छन् ।’

रमेशको कुरा सुनेर रमाइलो र आश्चर्य दुवै एकै चोटि लाग्यो । ‘त्यसो भए सोनामले आज मोज गर्ने नै भएछ, हैन त रमेश ?’

‘हो सर, फरकै पर्दैन ।’

जब एउटा सानो घेरालाई छाडेर जतिसक्दो परसम्म गएर नयाँ-नयाँ कुरा हेर्न खोजे चाहना मानिसमा आउँछ तब ऊ आफ्नो घेरालाई छाडेर अघि बढिहाल्छ । जीवन सजिलो छैन । भोग्ने क्रममा जस्तो सुकै अप्ठ्‌यारो देखा परे पनि अघि बढ्छु भन्ने प्रण लिएको हुन्छ उसले । उद्देश्य विहीन ऊ हिंडिरहेको हुन्छ- जस्तोसुकै बाधा अवरोधसित पनि सम्झौता नगरीकनै । व्यक्तिको साहस र त्यही साहसको प्रतिफल अरूका लागि वरदान हुन पुग्छ । एउटै मात्र दृश्यमा अल्झिएको कोही पनि हुँदैन । यात्रा एउटा सागर हो- सागरको पाइलाका डोबलाई खोतल्न सक्नु पर्छ अरूले । घटनाहरू, दृश्यहरू र भोगाइहरू मनोगत हुन पुग्छन् तिनै मनोगत कुरालाई खोतल्न सक्ने क्षमता भएकाहरूले आफ्नै किसिमले कोट्याएर आनन्द लिन पनि पछि पर्दैनन् । घटना कसैको लागि साधारण बन्न सक्छ भने कसैको लागि प्रेरणा पनि । त्यही प्रेरणाले जीवन-दर्शन बदलिन सक्छ। नयाँ जीवनको उत्थानको लागि मार्गदर्शक पनि हुन सक्छ ।

प्रतीक ढकालले सानो घेरामा खुम्चिएर जीवनलाई साँगुरो बनाउन खोजेनन् । साहस गरे- प्राप्तिका साथै नयाँ कुरा दिन सके नयाँ मान्यता कायम गर्न सकिन्छ भन्ने दरो आस्था अघि सारेर । साहस सबैमा हुँदैन । मान्यता र संस्कारभित्र गुट्‌मुष्टिएर फलको आशा राख्नेको संसारभन्दा एक पाइला अगाडि बढेर कसैले गर्न नसकेको काममा हात हाल्ने दिमाग सन्किन पनि सक्छ । त्यही दिमागले दिएको तरङ्गले नौलोपन जन्माइदिएको पनि हुन सक्छ । यात्रा गर्नेहरूले आफ्नो-आफ्नै ढङ्गले यात्रा गरेको कुरा कसैले पनि बिर्सन सक्तैन । गर्छु भनेर गरिने कुरा पनि यात्रा होइन । उद्देश्यहीन तरङ्गहरूले जहां-जहां पुऱ्याउँछ त्यहीं त्यहीं पुग्नु पर्ने हुन्छ । समय सापेक्षित हुन्छ । समयले पाखा पनि  लगाइदिन्छ, किनारामा लगेर फाली पनि दिन्छ, अझ मृत्युमा परिणत गरे अस्तित्वहीन पनि बनाइदिन सक्छ ।

यात्राको क्रममा हिंडेका यात्रीहरूको लेखाइ र देखाइले विश्वलाई नै चकित पार्ने कुरा पनि दिएका छन् । नयाँ कुरा सिक्न र सिकाउनका लागि प्रेरणा पनि दिएका छन् । यात्राले हरेक विधाको लागि पृष्ठभूमि तयार पारिदिएको हुन्छ- जानेर होस् वा नजानेर होस् । यात्रा विवरणको सानो कुराले पनि चिन्तक र अनुसन्धानकर्तालाई ऐतिहासिक रूपमा प्रभाव पारेको हुन्छ ।

आधारशिलाको रूपमा यात्रा विवरणलाई हेर्ने आँखाको उद्देश्य अर्कै हुन्छ । उद्देश्य लिएर यात्रा गर्ने पनि हुन्छन् तर झिल्काहरू झिल्किएकै हुन्छन् । वेवास्ता गर्दा गर्दै सानो कुराले महत्त्व पाइरहेको हुन्छ- सबैका आँखाको नानी भएर । कोलम्बस हुन् वा चीनियाँ यात्री, अथवा नामै थाहा नभए पनि गुफामा कोरेका रेखाहरू हुन्, अथवा ढुंगाको चाङ थुपारेको दृश्य नै किन नहोस् – पाइलाका दागले संकेत गरेको यात्राले पनि भूमिका खेलेका हुन्छ, वास्तविकताको परिचय पाउन मिथकीय संसार, रहस्यमय सर्पका अनुसारहरू, नाङ्गा शरीरका बनोटहरू, आगाका अवशेषहरू, जगल्टे पुरुष र नारीका डरलाग्दा अनुहारहरू, सबैका लागि खोजिने महत्त्वपूर्ण सामाग्री ।

ती सामाग्रीलाई कति मात्रामा कसरी खोतलिने हो त्यो त व्यक्तिमा भर पर्छ । तर प्रत्येक व्यक्तिको हृदयमा कहिल्यै बिर्सन नसक्ने छाप दिन सक्छ कि सक्दैन भन्ने कुरा नै महत्त्वपूर्ण हुन्छ । त्यसैले घटनालाई बोलेर पनि सुनाइन्छ, लेखेर पनि बताइन्छ, तथा दृश्यगत रूपले आँखै अगाडि तेर्साई पनि दिन्छ । प्रभाव कसरी पर्छ भन्ने कुरा आफ्नैमा भर पर्ने कुरा हो ।

प्रतीक ढकालको बिर्सन नसकिने अभिव्यक्तिलाई सबैका सामु राख्नु पर्ने हुन्छ- “भ्रमण गरिएको स्थान उही हो र देखेका कुरा पनि उनै हुन् । तर सरिक भ्यालीसँग भूमि क्यामेरा थियो र उनले विश्वप्रसिद्ध चलचित्र ‘क्याराभान’ को निर्माण गर्न सके । मसँग भने कल्पना शक्ति र कमल मात्रै थियो । त्यसैले पुस्तकाकार रूपमा यो नियात्राकृति तयार भयो ।”

देखेका अनुभूति र भोगेका अनुभूतिको बीचमा रहेर गरिएका विभिन्न वर्णन एकातिर छन् भने अर्कातिर सांकेतिक रूपमा व्यक्त गरिएका भावको पनि त्यतिकै महत्त्व देखिन आएको छ प्रतीक ढकालको लेखाइमा ।

उनको भनाइ- “उकालो लागेको सबैभन्दा पहिले नाकले नै थाहा पाउँछ कि क्या हो ?”

अनि आफै एकोहोरा तालले बरबराउन पुग्छन् -“मोरा नाकले गति छोडेपछि खुट्टाहरू पनि तलतिरै ओर्लन पाए हुन्थ्यो भन्ने चाहन्छन् ।”

स्वाभाविक नै मान्नु पर्छ प्रकृतिको नियमलाई उकालो चढ्न कोही पनि मान्दैनन् । उकालो नचढीकन पुग्नु पर्ने ठाउँमा पुग्नै सकिन्न । चढ्न नमान्ने खुट्टाहरू र ओर्लन नखोज्ने तिघ्राहरूको कुरा एकातिर प्रतीक ढकालले उठाएका छन् भने अर्कोतिर थोष्चिएका र चेप्टिएका विकृत औलाबारे रेखा कोर्छन् ।

मानिस शक्तिको पुजारी हो । जतिसुकै महान् बने पनि, जतिसुकै त्यागी भए पनि, दबेर बसेको नीच प्रवृत्ति बेला मौकामा टुसाइहाल्छ । जति सुकै सिद्धि प्राप्ति भए पनि आफूले अरूलाई आशीर्वाद  दिए ज​स्तै आफू प​नि आशीर्वाद​को भोको  हुन्छ भ​न्ने कुराको पोल प्र​तीक  ढ​काल​ले राम्ररी खोली दिएका छन् । समयअनुसार चल्न सक्नेले नै सफलता पाउँछ । साम, दाम, दण्ड र भेदको नीति अपनाइसकेका यात्राकारले मौकामा चौका हान्न सकिएन भने उत्तानो टाङ फर्काउनु पर्छ भन्ने कुरा बुझिसकेको हुनाले नै अवतारी हान्न सकी आश्वस्त बनाइदिहाले- “हजुरले यस विषयमा कुनै चिन्ता लिनु पर्दैन । म पनि सिड्‌यो जस्तै हुँ । दुनाईको सिड्योको र मेरो दर्जा एउटै हो । गुम्वाको सबै सुरक्षाको जिम्मा म लिन्छु ।”

यात्राकार अलमल्ल पर्छन्- “एउटा विचित्रको कचौरो लिएर आयो र मलाई थमायो । कचौरीमा रक्सी छ र त्यसको किनारामा चार ठाउँमा नौनी घिउका पित्काहरू छन् ।” लामाले आदरपूर्वक टक्राएको सगुन । घिउसँग घिन मान्ने भएता पनि घिउ नटाँसिएको ठाउँबाट सगुने रक्सी पिउनु थियो, यात्राकारले पिइहाले । चौरीको घिउ लागेको सगुन आएपछि काम फत्ते भइहाल्दो रहेछ । प्रतीकात्मक रूपमा रहेको संस्कृति-स्वरूपको सर्वोच्च सम्मान । ‘याञ्जीर गुम्बाको राष्ट्रपूजा’- कहिले बिर्सन नसकिने वास्तविक कथा हो, अनि एउटा जिउँदो तथ्यपूर्ण आधारशिला हो ।

योजनाबद्ध तरिकाले लेखेको टिपोट जस्तो लाग्दैन- अधिकार पाएको व्यक्तिले प्रयोग गरेको क्षण, स्वाभाविक इतिहास भित्रको अकल्पनीय आभासले रङ्गिएका घिउहरू, पग्लिन नसकेर कठोर भएर एउटै ढिका फोड्नु पर्ने बज्र प्रहार गरेर खुम्चिएका काला भित्ताहरू, हल्लिएका लामा-लामा चुप्पीहरूको अहंकार, अनि के चाहियो ती राता-राता खल्याङमल्याङ गर्ने आँखाहरू । याञ्जीर गुम्बा त पछि ‘ठाँडो’ भएर पो निस्कियो । मान्छेको मनै हो, तरुनी युवती देखेपछि आँखा पर्ने नै भइहाल्यो । झन् तरुनीले मज्जासँग मस्किएपछि, प्रकृति नै छिल्लिएपछि कसको के लाग्दो रहेछ र ? रामकुमार किन पछि पर्थे र ? जिस्काइहाले- “तिमी यस्ती तरुनी भएर पनि ऐलेसम्म गरेकी छैनौ कि क्या हो ?”

निर्धक्क भएर भनी – “गारेको छ । तीन जानासाँग गारेको छ ।” तरुनी देखेपछि खोतल्ने काम भई नै हाल्छ । झन् निर्धक्क भएर भन्न सक्नेलाई कोट्याउन कुनै गाह्रो नै पर्दैन ।

रामकुमारको सोधाइलाई लाजै नमानी तरुनीले भनिदिई- “दुई बार्स पैले मो जोक्रो लिएर बानमा जाँदा आर्मीको तीनजना मान्छेले मलाई पाक्रियो । समातेर लोरायो आनि लुगा माति सारेर तीनजनाले गोरो ।” तीन-तीन जना सिपाहीलाई तृप्ति दिन सक्ने क्षमतावान युवती भित्रको आगोको राप कति चर्को रहेछ भन्ने कुरा यस घटनाले पुष्टि गरेको छ । प्रकृतिले कठोर यातना दिए पनि, जतिसुकै अभावमा पनि संघर्ष गरिरहेका लोग्नेमान्छे र स्वास्नीमान्छे एकैछिन भए पनि नौलो अनुहारसित आश्रित  हुन खोज्छन् । फरासिलो मिजास देखाएर आफू भित्रको कुण्ठित इच्छा प्रकट गर्न पनि पछि पर्दैनन् । यात्राकारले वर्णन गरे अनुसार- “हामीलाई पनि सँगै लैजाओ, सँगै सुतौला, छोरा-छोरी पाउँला ।”

कठोर जीवन, डरलाग्दा भीर-पाखा, उराठ लाग्दो बैंस, अरूको भरमा बाँच्नु पर्ने  बाध्य​ताले सिकाएको हँसिलो जवानी । सोच्ने त कुरै छैन । अगाडि जे देखा पर्छ त्यस्तै बन्नुपर्छ । रोएर कसले सुन्ने ? भोकाएको कुरा कसले बुझ्ने ? यौवनको मादकताले लठ्याएको शरीरलाई कस्ले सुमसुम्याउने ? यस्ता अनेकौं समस्याहरूका गतिलाई प्रतीक ढकालले उतार्ने प्रयास गरेका छन् । भगवान भरोसा – मृत्युलाई साथ लगाएर हिंडेको जीवन, त्यो पशु होस वा मानिस – कुनै फरक छैन । अलिकति ठक्कर लाग्यो, अलिकति छोइयो अथवा अलिकति घिस्रियो भने पनि हत्तरपत्तर कालले माया गर्न आई पुगिहाल्छ, आफूलाई साथी बनाउन ।

कठोरताभित्र पनि आस्थाहरू पलाउँछन्, झाँगिन्छन् र फल लाग्न पुग्छन्- समयको चक्र । तर एउटै ठाउँमा रहिरहनु पर्दाको जीवनको गति उराठमय हुन्छ, उराठ भएर के गर्ने ? सहनै पर्छ । रोएर मात्र पनि पुग्दैन, हाँसेर मात्र पनि पुग्दैन मस्किंदै तान्न जानु पर्ने हुन्छ- होइन भने तान्नेको फेला पर्‍यो भने सास्तीमाथि सास्ती । त्यहीं कुरूपता छ, त्यहीं अनुपम लज्जालु सौन्दर्यले लठ्याइरहेछ छ्याङ खाए जस्तै । त्यहीं दुर्घटना, त्यहीं कठोरता, त्यहीं मृत्युका छायाले लघारिरहँदा पनि आँखा चिम्लेर हिंडिरहनु पर्छ- जे हुने भइहाल्छ भनेर विश्वास दिलाउँदै ।

आफ्नै पनको यात्रा काँधमा बोकेर हिंडेका प्रतीक ढकालले सहज रूपमा यात्रालाई महत्त्वपूर्ण दिनु उनको सफलता मान्नु पर्छ । भड्किने र भड्काउने दिशातिर पाइला नहाल्नु नै यात्राकारको आफ्नै किसिमको विशेषता हो । डोल्पाबारे किताब नलेखिएको होइनन् – डोल्पाबारे अनुसन्धान नभएका होइनन् – डोल्पाबारे अझै नलेखिने पनि होइन, लेखिएलान् । उत्तेजनात्मक नभएर, कुण्ठित नभएर, वीभत्सता नदेखाएर, सरलताका साथ जे जस्तो स्वरूप छ, त्यसकै चित्रण गरेर, आ-आफ्नो किसिमको धारणा आफैले बनाउन् भनेर प्रतीक ढकालले छाडिदिएको एउटा सफा तथा सेतो क्यानभासको रूपमा डोल्पाको चित्रण गरिएको व्यक्तिगत अनुभवको रूपमा यो कृतिलाई स्वीकार्नु पर्ने हुन्छ ।