पन्ध्रवटा लामा-छोटा कथाहरूको सङ्गालोको नाम हो — “एली” । कथाकार हुन् कालिम्पोङको कम्जेर बस्ती निवासी श्री फानुस सादा । भारतीय राजस्व सेवाका वरिष्ठ अधिकारीको पदबाट सेवानिवृत्त भएर लेखनमा उत्रेका हुन् । विद्यार्थी छँदादेखि नै साहित्यप्र ति चासो राखी फुटकर रचनाहरू प्रकाशित भइसकेका, कतिपय सामयिक पत्र-पत्रिकाका सम्पादक कुशलतापूर्वक गरिसकेका, साहित्यप्रति सचेत मानिस भए तापनि अद्‍यावदि पुस्तकाकार कृति निकाल्न असमर्थ रहेका व्यक्ति श्री फनुस सादा । उनकै कथासङ्ग्रह ‘एली’ बारे संक्षिप्त रूपमा कतिपय कुरा राख्न लागेको छु ।

कथाविधाको सिद्धान्तको प्रसङ्ग आजको सन्दर्भमा नउठाए पनि हुन्छ । परम्परागत सिद्धान्त र आज व्याख्या गरिएका सिद्धान्त र तत्वमा आएको भिन्नता, चरित्रका अस्थिर र विविध बान्कीको कारणले गर्दा हो कि भनेजस्तो लाग्नु स्वाभाविक हो । यसले कथाको बुनोटलाई पनि प्रभावित गरिदेएको छ । पुराना कथामा निहित सर्वकालिकता, सच्चरित्रता, उदारता, टड्कारो सामाजिक समस्या र यस्ता अन्य कतिपया विशेषता आजका कथामा खोज्न पनि नमिल्ला । आजका कथाहरू विधागत निद्धान्तका बन्धन-वजेनबाट मुक्त भइसकेका छन् । मानव जीवनका पीड़ा र भोगाइलाई मात्र केन्द्र गरी लेख्ने परम्पराले पनि धेरथोर बिदा लिए जस्तो लाग्न थालेको छ ।

अब ‘एली’ बारे केही कुरा –

संग्रहमा परेको पहिलो हो – ‘बाजेको रासिन, तिहुन बोजुको’ । स्वागत कथात्मक शैलीमा लेखेका यस कथालाई सामाजिक यथार्थवादी कथा भन्न सकिए तपानि कथातत्त्वको आधारमा निफननाफन गर्दा यो कथा अनुस्मरणात्मक वर्णन जस्तो मात्र हुन गएको छ । कथाको शीर्षकले मौलिक, आकर्षक र मूल कथ्यलाई व्यक्त गर्न सकेको छ । शीर्षक मा ‘बोजु’ शब्द लेखिएको छ, भित्र पातामा ‘बोजू’ नै लेखिएकाले यस बर्तनीगत त्रुटिलाई ‘प्रुफ’ को अशुद्धि मान्न सकिन्छ । चार पृष्ठमा टुङ्ग्याइएको यस कथाको कथावस्तु सामान्य रहेको छ – बाजेबोजुमाझ सांसारिक दायित्वका रूपले बाजेले रासिन र बोजुले आफ्नो बारीबाट सागसब्जी जुटाउनु पर्ने यथार्थ ।

‘ब्लीडिङ हार्ट’ यो फूलको नाम भएकोले अङ्ग्रेजी शब्द नै शीर्षकमा थपक्क राखिएको छ । दोस्रो कथा हो र कथाकारको जीवनको वास्ताविकतासँगै निकट सम्बन्ध रहेको विषयवस्तुलाई आधार बनाई बुनोट गरिएको यस कथाका मुख्य पात्र हुन् तिब्बती मूलका भारतीय नागरिक जुली नामक युवक । सोझो, निश्छल र प्रेम प्रसङ्गबाट टाढिएर बस्ने कुनै रोगग्रस्त युवक जुली उसका जीवनशैलीलाई केन्द्रित गरी रचिएको यो कथा वियोगान्त कथा भए तापनि कथाले सामान्य गति नलिए जस्तो लाग्छ युवकलाई । सरल भाषाको प्रयोग गरेका छन् कथाकारले ।

धेरै बर्ष कोलकत्ता प्रवासमा रहेका कथाकार फानुस सादाको ‘कलकत्ता बाँडेर खायौँ’ तेस्रो कथाबाट टिपिएको हो यो अंश “होचिने ठाउँमा होचिने, ढिट गर्नुपर्ने ठाउँमा ढिट बस्ने, मुखले अहिले नै मारौँला, काटिनै हाल्ने जस्तो गरे पनि हात चाहिँ नहाल्ने कलकत्ते प्रवृत्तिमा दुवै परिपक्व थिए …. ।” यस कथाका दुई पात्रहरू हुन् – राजदीप र अनिमेष । दुवै युवक उद्यमी । व्यावसायिक क्षेत्रअधिकार कायम गर्न र आ-आफ्नो व्यापार केन्द्रित गर्न कोलकातालाई बाँड्छन् उनीहरू । कतिपय पारस्परिक द्वेष-विद्वेषसँगै जुझ्दै भए पनि कालान्तरमा उनीहरू सफल हुन्छन्, अन्तमा दुवैमाझको दूरत्व मेटिएपछि पहिलेजस्तै सौहार्दपूर्ण मित्रता कायम हुन्छ ।

थुप्रैले ‘काली केटीहरू’ – बारे लेखेका हुन्छन् । यसरी लेख्नेहरूमा राजनारायणको नाउँ टुप्पोमा पर्छ । उनले श्रृङ्खलावद्ध रूपमा यस्ता काली केटीहहरूबारे धेर लेखेका छन् । डुवर्स अञ्चलका विभिन्न चियाकमानमा श्रमिक जीवन यापन गर्ने छोटानागपुर, राँची आदि क्षेत्रहरूबाट आएर बसोबासो गर्ने ती श्यामवर्णका सन्तानलाई यता पाहाड़तिर काले केटा, काली कटी भनी हामी उनीहरूलाई सम्बोधन गर्ने गर्छौँ । ‘एली’ अथवा एलिनाको जीवनकथा बोकेको छ – ‘एली’ कथाले र यसै कथाबाट नै पुस्तकले शीर्षक पाएको छ ‘एली’ ।

अन्य काले केटा अथवा काली केटीसरह एली पनि विपन्न र अभावग्रस्त चिया श्रमिककी छोरी । स्वागत कथानक शैलीमा बुनिएको यस कथामा उसको किशोरावस्थादेखि तारूण्य अवस्थासम्मको विविध प्रसङ्गको चर्चा गरिएको छ- ऊ घरबाट कसैको साथ लागेर आएपछि घरेलु कामकी सहायिका बनेर बसेकीबाट सुरु भएको कथाले विश्राम लिएको छ – सम्पन्न पति पाएपछि दुबाईमा काम गर्ने भएकी सम्पन्न एलीमा आइपुगेर । कथा सुखान्त भएको छ । कथा एलीको जीवन वरिपरि घुमेको छ ।

उराँबु – एलीजस्तै चियाकमाने काले केटो । यस कथाको शीर्षकले मूल कथाको आधारभूत कथ्यलाई व्यक्त गर्न सफल भएको छ । कथाको शीर्षक रोचक छ- ‘चियाको बोटजस्तै छँटाइको जिन्दगी’ ।

स्वकथनात्मक शैलीमा नै बुनोट गरिएको यस कथाको पृष्ठभूमिमा रहेका दुई मूलभूत विषय हुन् – चियाकमानमा रहेका श्रमिकहरूको शोषित जीवन र आदिवासी समुदायका श्रमिकहरूप्रति चियाकमानका प्रबन्ध पक्षको थिचोमिचो । यसका दुई प्रमुख पात्र हुन्- मरियानुस उराँव र कथाकार स्वयं । घटनालाई दुई खण्डमा हेर्न सकिन्छ । उराँवको जीवन- मेधावी छात्रले चियाकमानमा किरानी हुनु परेको परिस्थिति अनि कथाकारसँग अप्रत्याशित रूपमा हुन गएको पुनर्भेट ।

सञ्चमान र श्रीमती मालरविच्ची राईको शून्यदेखि सयसम्म उक्लिएर जीवन भोगेका सङ्घर्षमय कथा हो ‘एली’- मा परेको छैटौँ कथा – ‘परदेश खाएको मान्छे’ । कथाकारकै अक्षरहरूर राखेर कथाको सारवस्तु यसरी प्रस्तुतर गर्न सकिन्छ- “अल्पशिक्षितलाई माथि उठ्नलाई शारीरिक परिश्रम र अनुशासनसित आचरणबाहेक अर्का विकल्प छैन्… ।” यो कथा सानैमा घरबाट भागेर परदेश लागेको सञ्चवीरको संघर्षको कथा हो । परदेशबाट सपरिवार आफ्नो गाउँ रामझोडा फर्किएर आएपछि दाजुले जमिनको अंशबन्डामा गरेको आलटाल, चित्त नपर्दो अवस्थामा भएको जमिन आफ्नो बन्डामा परेको र त्यसै जमिनलाई आयस्रोत बनाई सम्पन्नता प्राप्तिसम्मको कथा हो यो ।

‘अब म कुकुर पाल्दिनँ’ कथामा कुकुरलाई अत्यन्तै स्वामिभक्त पशु मानिएको कुरा व्यक्त गरिएको छ । कथाकार विद्यार्थी छँदा गान्तोकमा बसेका हुन् । त्यसै समयावधिमा उनलाई एउटा छाउरी कुकुर फेला परेको, त्यसलाई ल्याएर पालेको अनि ‘रूबी’ नामकरण गरिदिएका प्रसङ्गहरू छन् । रूबीका तीन पुस्ता सन्तानका घटनाहरू लिएर गुम्फित यस कथाको केन्द्रीय विषयवस्तु नै मान्छे र कुकुरमाझको अटुट सम्बन्ध रहेको छ । यसले कतिपय घटना-उपघटनाले पाठकलाई सहजै द्रवीभूत तुल्याउँछ । कथाको प्रकट र प्रस्तुतिबाट अनुमान लाउन सकिन्छ – यसको सम्पूर्ण अवयव वास्तविक घटनाबाट प्रभावित रहेको छ भन्ने यथार्थ ।

‘एली’ मा परेको सबैभन्दा विस्तृत कथा हो – ‘एकलै तिमी नआऊ’, जो मोठ पच्चिस पृष्ठमा विस्तृत छ । आर्थिक र शौक्षणिक दृष्टिकोणले हेर्दा मेल नखाने एउटा विपन्न परिवारको ठिटो विक्रम अनि सम्पन्न परिवारकी केटी वीणामाझ गोप्य राखिएको प्रणयको कथामा अवलम्बित छ । इन्टर्नेट र मोबाइल नभएको त्यस युगको यो प्रेमकथा सुखान्त छ भने पनि आजको युगमा भइरहने पारिवारि विघटन, अमेल जातिसँग भइरहेको वैवाहिक सम्बन्धजस्ता समस्याहरूप्रति इङ्गित गरेका छन् कथाकारले । परिश्रम र लगनशीलताद्वारा लक्ष्य प्राप्त गर्न सकिन्छ भन्ने सन्देश दिएका छन् लेखकले यस कथाद्वारा । कथा लामो भए तापनि सोचक लाग्ने छ, विशेष गरी युवा जमातलाई ।

०० ०० ००

नवौँ कथा हो – ‘गिद्धको मासु खाएर महात्म भएको एक यात्रा’ । कथाकार उत्तरपूर्व भारतका कुनै सहरमा तैनात रहेको बेला गौहाटीदेखि न्यु-जलपाइगुढीसम्म रेलयात्रा गरिरहेका समयावधिमा रेलको त्यस कम्पार्टमेन्टभित्र घटिरहेका कुरालाई टिपेर बुनिएको छ यो कथा । वास्तवमा कथाको शीर्षक लामो त छँदैछ, शीर्षकले कथामा चित्रित पात्र-पात्रा एवम् घटिरहेका घटनाको पूर्णरूपले व्याख्या गर्न सकेको छैन । यस कथाका चरित्रहरूमा कथाकार स्वयं, उनका सहयात्रीहरूमा एउटा नेपाली परिवार र अर्को एउटा अनेपाली परिवार रहेका छन् । अनेपाली परिवारका पुरुषको मुखबाट उसको बालक छोरो र आफ्नै पत्नीप्रति निस्किएको अशिष्ट, अभद्र, असम्य र निम्न स्तरका शब्दहरू सुनेर कथाकारले ती अनेपाली पुरूषलाई अत्यान्तै सरल शब्दमा सम्झाउने कार्य गर्दै भनेका छन् –

“भाइ, शब्दमा शक्ति हुन्छ । जुन शक्ति ईश्वरले तिमीलाई एक बाबु, एक सृष्टिकर्ताको रूपमा दिनुभएको छ । त्यसको तिमीले दुरुपयोग गरेका छै …. तिम्रो बोलीको सबे परिणाम छोराले निश्चय नै पूरा गरिदिन्छ ।”

यस प्रसङ्गमा कथाकारले जीवन र आचरण, बोली वचन सुधार्नका निम्ति उपदेश दिने कुनै महात्मको भूमिका निर्वाह गरेका छन् – रेलमा खानपिन विभागले दिएको मासु खाइसकेपछि । गिद्धको मासु बारे नेपाली परिवारकी सहयात्री नारीले यति मात्र भनेकी छ – “खै यो मासु पो कुखुराको हो कि गिद्धको हो… ।”

यसबारे लेखकले तर्कसङ्गत र चित्त बुझ्ने गरी उपयुक्त स्पष्टीकरण दिँदै गिद्ध प्रजातिको पक्षी लोपोन्मुख भइसकेको कुरा बताएका छन् मासुबारे शङ्का गर्ने ती सहयात्री महिलालाई  – “…गिद्ध जंगलमा हराइसक्यो…”

आजको युगमा संयुक्त परिवाको परम्परागत प्रथाको अस्तित्व अस्ताइसकेको छ भने पनि हुन्छ । यसको पृष्ठभूमिमा देखिने कारणहरू धेर छन्, विवशता र वाध्यताको सिर्जन गरिदिने अनेकौँ सामाजिक र आर्थिक कुरा छन् । गाउँघरमै सीमित रही जीवन धान्ने सपनाहरू बोकेर हिँड़्न सकिँदैन । सन्तोषभरिको शेष जिन्दगीकी आमा यस्तै यस्तै कारणले गर्दा गाउँमा एकलै बस्न बाध्य छिन् । परिबन्दले गर्दा बुढेउली उमेरमा उनले आफनो जीविका उपार्जन स्वयं गर्नु परेको छ । विधवा आमाको सन्तानमा छोराहरू छन्, छोरी छे तर उनीहरू गाउँघरबाट टाढा छन् – हातमुख जोर्ने उनी स्वयं गर्छिन् । तर उनी आमा हुन् – छोराछोरीको समस्या बुझ्छिन् अनि मनका गुनासाहरू आफ्नो मनमै थन्काएर छोराछोरीको पक्षमै बोल्छिन् । ती आमाको निधनसँगै कथाकाले टुङ्ग्याएका छन् यो कथा । करूणरसको यस कथामा अन्य कुनै विशेषता अनुभूत नभए पनि पाठकलाई बाँधेर राख्ने क्षमता भने यस कथामा पाइन्छ । कथा पढी सिद्‍ध्याएपछि ती आमाप्रति सहानुभूतिको प्रादुर्भाव हुँदछ पाठकको हृदयमा ।

“मेरो बदमवाला, मेरो खोकन” – विपन्न परिवारको बङ्गाली किशोरको कथा हो । पेसा उसको बदाम बेच्नु, बदाम बेच्ने कामबाट मालिकले उसलाई पन्साएपछि कथाकारबाट ऋण काढेर लिएको दुई सय रूपियाँको लगानी गरेर थालेको व्यवसायमा वृद्धि गरी ऊ सानुतिनु चियापसलको मालिक भइसकेथ्यो चार पर्षपछि लेखकसँग भेट हुँदा । पुनर्भेटमा त्यस ठिटोले लेखकप्रति आफ्नो कृतज्ञता व्यक्त गर्दै भन्दछन् – “तपाईं त मेरो ईश्वर हुनुहुन्छ । तपाईंले दिनुभएको पैसाले नै मलाई यो अवस्थामा उभ्याएको छ । आजसम्म मैले जे गरे तपाईंको दयाले गर्न सकेँ । म तपाईंको ऋणी छु ।” यस कथाले समाजलाई भन्न खोजेको छ – सहयोग र परिश्रमले मान्छेको स्थिति परिवर्तन गर्दछ ।

एक युगअघिसम्म घरआँगन नाँघेर कतै जान सङ्कोच मान्ने हामी हिजोआज गाँस जुटाउनु पर्ने आर्थिक दबाउले गर्दा सात समुद्र नागेर संसारको पल्लो पाटोसम्म पुगिसकेका छौँ । क्विन भिक्टोरिया नामक भूमध्ये सागरमा चल्ने विशालकाय जलयान (क्रुज) को यथार्थ चित्रणबाट थालनी गरिएको कथा हो – बाह्रौँ कथा, ‘ओह ! लिडिया, ओह ! लिडिया मेरी प्रिये’ ।

लिडिया यस कथाकीर मूल पात्रा, कालेबुङ जिल्लाअन्तर्गत एउचा सुदूरवर्ती गाउँकी छोरी, कृषक मातापिताकी सन्तान । भिक्टोरिया क्रुजकी एकजना परिश्रमी र कर्त्तव्यनिष्ठा कर्मचारी । क्रुजमा परिचारिकाको रूपमा यात्रा गरिरहेकी क्रममा अप्रत्याशित रूपमा उसको परिचय भइदिन्छ – टाइटनिक फ्लिमका मूल नायक लियोनार्डो डिक्यापरियोसँग । यसै क्रममा एकार्कासँग भएको परिचयलाई लिएर धेर चर्चा परिचर्चा भइदिन्छ, सानु तोरीका दानालाई सिङ्गो पाहाड़ बनाइदिन्छ मिडियाले । धेरै राम्रो नराम्रो प्रतिक्रिया सामाजिक सन्जालको माध्यमबाट फैलिन्छ । ऊ स्वयमलाई एकै साथमा विश्नब्यापी प्रसिद्धि प्राप्त गरेकी अनुभव हुन्छ । तथापि, यस घटनले त्यो अनुभवबाहेक अन्य कुनै प्रभाव उसलाई पर्न सक्दैन । यस कथाभित्रै गाँसिएको अर्को उपकथा छ लिडियाकी अदृष्य आमाको प्रसङ्ग चित्तबुझ्दो वर्णन भने छैन । अन्तिम पत्रमा लिडियाले एन्ड्रुसँग बिहे गर्ने निश्चय गरेकी चर्चा गरिएकोलो लियनार्डो डिक्यापारियोसँगको सम्बन्ध स्यालको हुँय्या मात्र प्रमाणित भएको छ । अवकाशमा घर गएकी लिडाको विहेसँग यस कथालाई समाप्त गरिएको छ ।

‘ईश्वरीय आश्चार्यकर्म’, शीर्षक कथामा अन्तर्निहित सूक्ष्म विषयवस्तू पनि यही हो भन्न सहजै सिकन्छ । प्रथम पुरुषात्मक शैलीमा गुथिएको यस अनुस्मरणात्मक कथामा वर्णित मूल गाँठी कुरोले कथालाई रोचक बनाउने कार्य गरेको छ । यसमा चारजना पात्रहरू माझ केन्द्रीभूत रहेको छ । प्रथम पात्रका रूपमा कथाकार स्वयं, विभागीय मन्त्री महोदय, साहित्यकार स्व. महानन्द पौड्याल, सिक्किम सरकारको शिक्षा विभागका सहनिर्देशक ।सिक्किमको शिक्षा विभागमा शिक्षक पदमा नियुक्तिका निम्ति आवेदन गरिसकेका स्नातक तहसम्म शिक्षाप्राप्त कथाकारले नियुक्तिको अवधिसम्ममा आफ्नो नाम नदेखेपछि सम्बन्धित विभागका मन्त्रीलाई भेटेर त्यसबारे सोधखोज ग्रने अभिप्रायले तत्कालीन शिक्षामन्त्री महाकाव्यकार स्व. तुलसीराम ‘काश्यप’ को सरकारी आवासमा पुगेका बेला मन्त्री महोदयको आँगनमा स्व. महानन्द पौड्यालसँग भेट हुन्छ, वार्तालाप हुन्छ । कुनै समयमा मन्त्री महोदयका शिक्षक पनि रहेका पौड्यालसँग एउटा युवकलाई देखेपछि मन्त्री महोदयलाई लाग्छ- त्यो नौलो ठिटो पौड्यालकै कोही आफन्त हो । फलस्वरूप मन्त्री महोदयले कथाकारलाई शिक्षा विभागको सहनिर्देशककहाँ पठाउँछन् । …. अन्ततोगत्वा कथाकारले नियुक्ति पाउँछन् । पौड़्याल सरसँग संयोगवश भएको त्यसदिनको भेटलाई ईश्वरीय चमत्कार मानेका छन् कथाकारले । वास्तवमा कथाकारको जीवनमा घटेको सत्य घटनाको ‘फोटोकपी’ हो यो ।

‘एउटा कथा परदेशी छोरीको’ कथामा रत्नमानले तिस बर्षसम्म काम गरेको एउटा आयात निर्यात कम्पनीको मालिकको जेठो छोरोसँग एक दिन कालेबुङको हाटमा रत्नमान र सीमाको हठात् भेट भइदिन्छ । बुढा रत्नमानको परिवारमा चारजना सदस्य छन्- रत्नमान स्वयं, उनकी पत्नी, छोरी सीमा र छोरो किशोर । सीमालाई देखेपछि मालिकको छोरोले कतिपय प्रश्न गर्छ र सीमा बेकार रहेको जानेपछि कम्पनीमा नियुक्ति दिने प्रस्ताव अघि सार्छे ।… त्यसपछि भने रत्नमानको मन-मस्तिष्क द्विविधामा पर्छ, निर्णय लिन उनलाई कठिन हुन्छ, द्वन्द्व मच्चिन्छ –छोरीलाई कलकत्ता पठाउने कुरामा उनी झट्ट निष्कर्षमा पुग्न सक्दैनन् । छोरीलाई कलकत्ता पठाउने विषय लिएर रत्नमानकी स्वास्नीमा असीम उत्साह छ । यसैले गर्दा नै अवसर पाउने बित्तिक्कै र घरीघरी नै यसबारे सोध्न, कुरा कोट्ट्याउन उनी चुक्दिनन् ।

रत्नमानलाई भने आफूँ त्यही कम्पनीमा उतै हुँदा, मालिकका छोराहरूले आवश्यक्ताभन्दा बढी तनाका दिएर राखेका सोनीया नामक ‘त्यसै खाले’ एउटी ठिटीसँगको सम्बन्धबारे झलझल्ती भइरहेको हुन्छ । तथापि परिवारले भोगिरहेको आर्थिक सङ्कट, स्वास्नीको अतिशय तम्स्याई अनि सीमाको इच्छा बुझेपछि रत्मानले मनभरी शङ्का बोकेर भए तापनि छोरीलाई पठाउने कुरोमा सहमति दिन्छन् …. सीमा जान्छे कलकत्ता । कलकत्ता पुगेपछि महिनैपछि आफ्नो चार हजार तनखाबाट पच्चिस सय चाहिँ घर पठाउँछे उसले । यो क्रम चार महिनासम्म चलिरहन्छ । त्यसपछि यस कथाको एउटा ठुलै पाटो रित्तो छोडिदिएर कथाकारले पाठकलाई सोच्ने, बुझ्ने र कथाका रिक्ताङ्शलाई पुरा गर्न दयित्व सुम्पिएका छन्…. किनभने अप्रत्याशित रुपमा चार महिनापछि कालेबुङ फर्किएर आएकी सीमाले भनेकी छ रत्नमानलाई- ‘बाबा, मैले त्यो काम छोड़िदिएँ, गर्दिनँ म त्यो काम ।’

कथाको अन्तिम वाक्य – ‘…बाबु र छोरीलाई हेरेर आमा चाहिँले छक्कै पर्दै हेरी मात्र रही ।’

पाठकले नै बुझ्नु पर्छ, ‘आमालाई छोरीले काम छाडेकी कारणबारे थाहा नै छैन भन्ने यथार्थ ।’

०० ०० ००

कलकत्ता महानगरीको विशेषता, गुण अवगुण, त्यहाँको सामाजिक परिवेश, पर्यावरण, आवासको समस्या, बुहुजातीय मानव समाजलाई पृष्ठभूमि बनाएर बुनिएको कथालाई कथाकारले शीर्षक दिएका छन्- ‘कलकत्ता महानगरी मोहनी नगरी’ । अन्तिम कथा हो यो । यस कथामा पात्र-पात्राहरूको बहुलता छ, घटना उपघटना छन् । फलस्वरूप सामान्य पाठकलाई कथासँगै अघि बढ्दाबढ्दै घटनाक्रमको शृङ्खला भङ्ग भएजस्तो लाग्न थाल्छ र कथाको सरसतालाई बिथोलिदिन्छ । यसलाई एउटा जटिल बान्कीको कथा भन्न सकिन्छ । कथाकारले आफ्नो कलकत्ता प्रवासको अवधिमा बुझेका, देखेका र भोगेका कुराहरूको वर्णन प्रारम्भिक अंशमा गरेका छन् । त्यसपछि आफूले आवाससम्बन्धी भोगेका समस्या, एउटै बिल्डिङमा भारतका विभिन्न जातिका मानिस अटाएर बसेको कुराहरूको संक्षिप्त चर्चा गरेका छन् अनि मात्र कथाको मुख्य विषयवस्तुमा केन्द्रित भएका छन् । मुख्य विषयवस्तुको रूपमा प्रेमी युगल सीमा र मिक्कुको प्रेम प्रसङ्गलाई नै कथाकारले महत्व दिएका छन् ।

पन्जावी परिवारकी युवती सीमा अनि चिनियाँ परिवारको युवक मिक्कु । दुवै समवयस्क सहपाठी । एकार्काप्रति आकर्षित अनि प्रणय बन्धनमा बाँधिएरका । उनीहरूमाझको प्रेम प्रसङ्गलाई लिएर कतिपय तितामिठा घटनाक्रमहरूको सान्दर्भिक वर्णन गरेका छन् कथाकारले । त्यस प्रेमको परिणति के भयो त भने जिज्ञासा मिक्कुको निम्न संवादले स्पष्ट गरिदिन्छ –

‘यो पुरानो असभ्य विचारधारा भएका मानिसहरूसित हार खाएँ । अन्धविश्वासी, रुढीवादी, असभ्य मानिसहरू …. संसार कहाँ पुगिसक्यो, यी भारतीयहरू आज पनि जात-पात र बासर-गाँसमा नै अल्झिरहेका छन् ।’

यस प्रणयबारे कथाकारले आफ्नो कलकत्ता प्रवासबाट बटुलेका अनुभवको आधारमा यस्तो टिप्पणी गरेका छन् – ‘एकै साथ बसेर त्यो खिचटी महानगरीमा कसले बचाउन सक्छ आफ्नो जाति, परम्परा र संस्कृति…… ।’

यस प्रकरणिकापश्चात् कालेबुङतिर फर्किएर सत्ताइस जुलाईको गोलीकाण्ड, गोर्खाल्याण्डको मागलाई लिएर गरिएको चालिस दिनब्यापी बन्द आदि भइरहेका उथुलपुथुललाई स्पर्श मात्र गरेर चट्ट छाडिदिन उचित ठानेका छन् । पाहाड़मा भइरहेको आन्दोलनको सन्दर्भमा स्थानीय वासीहरूले समाचार पत्रमा पढेका घटनास्थलबारे जान्ने जिज्ञासा मात्र व्यक्त  गरेका छन् – प्रतिक्रियास्वरूप ।

चार बर्षपछि… ।

यस खण्डमा आएर कथाकारले चार बर्ष अघिका ती विभिन्न जात-जातिका परिवार, कलकत्तामा महानगरीमा स्पष्ट देखिने संरचनागत भौतिक परिवर्तनसम्बन्धी विवरण सुन्दर ढङ्गले प्रस्तुत गरेका छन् । मिक्कु अस्ट्रेलिया गइसकेको, सीमाको विवाह पन्जाबमा भइसकेको घटनाको उल्लेखसँगै कलकत्ता महानगरीले भोगिरहेको व्यवसायिक क्षीणता, विवेकानन्द सेतुको निर्माणजस्ता कतिपय कुराको वर्णन गरेका छन् । यसै क्रममा हामीले गरेको आन्दोलन (क्रान्ति भनेका छन् लेखकले) बारे लेखकले पृष्ठ १७६-१७७ मा आफ्नो व्यक्तिगत मन्तब्य व्यक्त गरेका छन् । यस मन्तब्यले कथाको प्रवाहलाई कुनै सहयोग गरेजस्तो लाग्दैन ।

कथाको अन्तमा कलकत्ता प्रवासको त्यस कालखण्डभित्र कथाकारले देखेका, भोगेका, अनुभव गरेका, कुराहरूको …. मिक्कु र सीमाको प्रेम प्रसङ्ग…. इत्यादिबारे सम्झना गर्दै दार्जिलिङ मेलमा चड्छन् फानुस सादा, न्यु जलपाइगुड़ी जानलाई ।

तेह्र पृष्ठमा अटाएको यस कथाको पठन गर्दा कथाकारले विस्तृत विषयवस्तुलाई सङ्‍कुचन गरी प्रस्तुत गर्ने प्रयास गरेका छन् तर कथाले आफ्नो मूलभूत उद्देश्यप्रति न्याय गर्न सकेको छैन । यस कथाभित्रका कतिपय घटना र प्रसङ्गले कथालाई केही जटिल बनाइदिएको छ भन्ने लाग्दछ मलाई । यो मेरो नितान्त व्यक्तिगत निष्कर्ष हो ।

०० ०० ००

मैले यस लेखको आरम्भ गर्दा लेखेको कुराहरू एक पटक फेरि दोहोर्‍याउँछु अलि बोग्लै शब्दमा –

परम्परागत सिद्धान्त, वाद, कथातत्व, जस्ता कथालेखनका विधागत विशेषताका आधारमा आझ लेखिइने कथाहरूलाई कोट्याउन निकै अप्ठेरो हुन्छ । कथामा विधाभञ्जन स्पष्टतया देखा परेका विधागत परिवर्तनले गर्दा ‘कथा’ लाई ‘अकथा’ भनिन थालिएको हो ।

कथालाई सशक्त सिर्जनात्मक रचना भनिन्छ । कथा छोटो हुन सक्छ, लामो पनि हुन सक्छ । कतिपय साहित्य विश्लेषकहरूले कथा पन्ध्र-बिस मिनटभित्र पढी सिध्याउने बान्कीको हुनुपर्छ भनेका छन् । यस ठोकाइप्रति पनि धेरैले असहमति जनाएका छन् ।

डा. दयारत्न शाक्यले भनेका छन् – लेखनक्रममा कथाकारले कथालाई स्वाभाविक रूपमा विस्तारण अथवा सङ्‍कुचन गरी लम्याउने अथवा छोटाउने भन्ने कुनै सोच र लक्ष्य राखेको हुँदैन । संक्षिप्तता वा लघुता नै कथाको धर्म मान्ने सर्जकहरूले लघुताको सर्वमान्य व्याख्या पनि गरेका छैनन् संभवतः !”

स्वयं भोगेका र स्वयंले प्रत्यक्ष देखेका घटना, परिस्थिति, परिवर्तन, परिवेश, स्थिति, इत्यादि कुरालाई थपक्क टिपेर कथाकारले बुनेका यी कथाहरू निस्सन्देह पूर्ण सत्य र यथार्थवादी कथाहरू हुन् । कतै अनावश्यक र नचाहिँदो कल्पनाको सहारा नलिई लेखिएका कथाहरू छन् ‘एली’ । सरल भाषाको प्रयोगले कथाहरू बोधगम्य छन्, कथोपकथन वा संवाद स्वाभाविक छन् । यस सङ्ग्रहमा परेका पन्ध्रवटा कथामा दसवटा कथाहरू स्वागत कथनात्मक शैलीमा रचिएका छन् । स्वागत कथनात्मक शैलीमा लेखिएका कथाहरू प्रायः नै अनावश्यक वर्णन, पट्यारलाग्दा हुने गर्छन् भने पनि एउटा कथाबाहेक अन्य कथाहरू  यी दोषहरूबाट मुक्त रहेका छन् । यी कथाहरूमा प्रायः सबै कथाका स्रोत, विशेष गरी वास्तविक घटना, जीवित पात्र-पात्रा र कथाकार स्वयं उपस्थित रही भोगेका स्थानगत परिवेश परिलक्षित भएका छन् । ….

सिक्किम महाविद्यालयका प्राध्यापक श्री रूद्र पौड्यालले एली मा लेख्नु भएको गहन भूमिकाबाट केही सान्दर्भिक वाक्यहरू उद्‍घृत गर्न यहाँ आवश्यक देखिन्छ । यसर्थ, भूमिकाबाट केही टिपटाप गरी राख्नो धृष्टता गरिरहेछु-

“…कथा संस्मरण तथा भोगाइको सम्मीश्रण भएको यो संग्रह लेखक सादाका जीवनप्रति दृष्टि मानव समाजमा चलिरहेको पुग र अपुगको द्वान्द्व, सुख र शान्ति खोज्न चाहने व्यक्तिलाई अन्तर्दृष्टिको परामर्श आदिको राम्रो पुलिन्दा मान्छु म । यसैभित्र श्री सादालाई पनि भेटेको छु कतै… ।”

श्री रूद्र पौड्याल महोदयसँग शत प्रतिशत सहमत हुँदै फेरि पनि उनकै शब्द टपाटप टिपेर जस्ताको तस्तै राख्दैछु फेरि – “धेरै बर्ष भाषासाहित्य जगतबाट ओझेल पर्न वाध्य रहे तापनि हृदयभित्र हुर्किरहेको साहित्य प्रतिको तलतलीले श्री सादाको अवकाशप्राप्त जीवनले फेरि झाँगिने अवसर पायो । प्रथम पुस्तक नै एक सिद्धहस्त लेखक श्री फानुस सादा भनेर चिनाउन पर्याप्त छ । मैले यी कथा एवं संस्मरणमाथि पुट्टा थपेर इजिल्याउन थाले त्यो सुन्दर पात्रको सौन्दर्यमा कत्लाझैँ देखिएला…”

श्री फानुस सादाकृत ‘एली’का सम्बन्धमा नेपाली भाषा साहित्यका अध्येता श्री रूद्र पौड्याल महोदयले उक्त मन्तव्य आफ्नो भूमिकामा व्यक्त गर्नु भएको छ । त्यसैले नै चर्चाधीन रहेको कृतिबारे मैले थपनी गर्ने धृष्टता गर्न मिल्दैन ।

शुभेच्छा र बधाई छ सर्जकलाई । अर्को कृतिको अपेक्षा गर्दछु ।