‘पानीघट्ट’ नाट्य संग्रह हो । ‘पानीघट्ट’ र ‘फड्के’ गरी दुई वटा फरक फरक नाटक पुस्तकमा संग्रहित गरिएको छ । एकै बसाइमा पढिसकिने दुवै नाटक आकारगत दृष्टिले साना छन् । युवा नाटककार पुरु लम्सालले लमजुङ जिल्लामा छोटो बसाइको सिलसिलामा त्यहाँ देखेका, अनुभव गरेका सामाजिक, सांस्कृतिक पक्षको परिवेश लिएर नाटकीकरण गर्नुभएको छ ।
पानीघट्ट
पानीघट्ट नाटक ९ दृश्यमा समेटिएको छ । प्रविधियुक्त वर्तमान समाजमा पानीघट्ट चलाउने समाजको परिकल्पना गरिएको छ ।
लाग्छ, झन्डै ३५÷४० वर्ष अगाडिको समयको परिकल्पना गरी नाटक लेखिएको छ । धान, मकै, कोदो पिंध्ने साधन पानीघट्टलाई जीविकोपार्जनको माध्यम बनाएका ६० वर्षे जगतबहादुरको जीवनको वरिपरि कथावस्तु घुमेको छ ।
नाटकको सुरुवात २३ वर्षे मैंया नाम गरेकी महिला पात्रले खोलेको भट्टी पसलमा साँझपख जगतबहादुरको छोरो कृष्णे लगायतका अन्य पात्र रक्सी खाएर हँसीमजाक, दुःखसुख बाँडिरहेका छन् ।
विदेशिएर घर फर्कंदा रने पात्रकी श्रीमती छोरोसहित पोइल गएकी छे । रक्सीको नसामा ऊ भावविह्वल छ । छोराको मायाले ऊ रन्थनिएको छ । साँच्चिकै विदेशले धेरैका घरबार सपार्यो पनि बिगार्यो पनि ।
जस्तो –
कृष्णेः त्यही त साउँ पनि चैट, ब्याज पनि चैट ।
रनेः बोल्न पाएँ भन्दैमा यसरी घोच्ने गरी नभन, तेरी स्वास्नी पोइल ग’को भए थाहा हुन्थ्यो । (छातीमा ठोक्दै भक्कानिँदै) यहाँ दुखेको छ ! मलाई यहाँ दुखेको छ ।
पृष्ठ ९
साँझपख हुनु, भट्टीमा पस्नु, दिनभरिको शारीरिक श्रम र त्यसको दर्दलाई भुलाउन रक्सी पिउनु नेपालका गाउँबस्तीको कथा । त्यसमा पनि यस्तो संस्कृति नेपालका जनजातिको बाहुल्यता भएको ठाउँमा हुने । भट्टीमा मन लाग्दी बोल्नु, त्यस्तै भाषाको प्रयोग हुनु, सामाजिक अवस्थाको झलक थाहा पाउन सकिन्छ ।
विदेशमा लामो समय बसेर आएको रने, २० बर्से प्रदीप विदेशिने तरखर गर्दै गरेको अवस्था छ । अहिले यो क्रम बढेको बढ्यै छ, महिनामा लगभग ५०÷६० हजारको संख्यामा बाहिरिने क्रम जारी छ ।
हुने खाने युरोप, अमेरिका, अस्ट्रेलिया हुँदा खाने वर्ग खाडीतिर । झन्डै ७ वर्ष अगाडि लेखिएको नाटकले देश कसरी रित्तिँदै छ ? देशमा रोजगारीका अवसर किन सिर्जना नभएका होलान् ? यी र यस्तै विषयवस्तु बोकेको छ ।
नाटकको प्रमुख पात्र जगतबहादुरको देहान्त हुँदा खटमा काँध दिने मान्छे नभएको अवस्था छ । गाउँमा मलामी जाने, जन्ती जाने पुरुषको ठुलै खडेरी परेको छ ।
मेरै गाउँ (स्याङ्जा, अर्जुन चौपारी ०३) लगभग १०० घरधुरी अहिले मुस्किलले १० घरधुरीमा सीमित हुन पुग्यो । नाटक पठन गर्दैगर्दा मेरै आफ्नै गाउँको समस्याजस्तै लाग्ने ।
गाउँ छोड्नेको लर्कोलाई बडो दर्दनाक अवस्था नाटकमा पनि देखाइएको छ ।
अन्तर आत्माले मान्दै नमाने पनि जीवनको उत्तरार्धमा पुगेका दिलबहादुर सहारा खोज्दै छोरी ज्वाइँसँग बसाइँ सराइ तिर लागेका छन् । मातृभूमि छोड्दाको पीडा, दिलबहादुर र जगतबहादुरका भावुक कुराकानीबाट प्रस्ट हुन्छ ।
जस्तो–
जगतबहादुरः (विकाससँग मादल लिएर) लौ ! नजाऊ भनेको मानेनौ । मसँग पनि त अब तिम्रो सम्झना मात्रै त रहने भयो नि ! (नातिसँग मादल मागेर) अब यो मादन बजाउने मान्छे तिमी नै जाने भएपछि यसको के काम ! मसँग तिम्लाई दिन केही छैन , कान्छा ! सम्झना पनि हुन्छ, यो मादल लैजाऊ ।
पृष्ठ ४८
हरेराम र चन्द्रमायाका छोराछोरी विदेशिएर उद्यम गरेका, पैसा पनि कमाएका छन् । समाजमा भन्नलाई, सुन्नलाई निकै रमाइलो र गर्वको विषय पनि बनेको छ तर अन्तरहृदयमा पीडा गुम्सिएको कुरा नाटक पढ्दै गर्दा बढो मज्जासँग प्रतिविम्बित भएको छ । जगतबहादुरको छोरो कृष्णे विदेशमै लापता भएको छ ।
नाटकका प्रमुख पात्र जगतबहादुर गाउँकै लोक संस्कृति बोकेको ‘ठाडोभाका’ जोगाउन नसकेकोमा दुःखी छन् । कसरी त्यो पहिचान बचाउने भन्नेमा उनको हुटहुटी छताछुल्ल देख्न सकिन्छ नाटकमा । नाटकको मुख्य सार पनि यही कुरा रहेको भन्न सकिन्छ । अन्त्यमा जगतबहादुरको देहान्तले नाटक वियोगान्तमा टुङ्गिन्छ ।
र अन्त्यमा,
व्यक्ति आफैमा संस्कृति हो । संस्कृति समाजको पहिचान हो । समाजको अन्त्यसँगै संस्कृतिको पनि लोप हुन्छ नै । संस्कृतिको संरक्षण नाटक पहिलो सार भन्न सकिन्छ । देश विदेशिएर निख्रिएको कथा नाटकको अर्को निष्कर्ष भन्न सकिन्छ । विकासका कुरा पछिल्लो समयमा म नभएको पनि भन्दिनँ तर गाउँ नै रित्तिने अवस्था बन्यो । गाउँ नै नरहेपछि केको वडा केको गाउँपालिका !
० ० ० ०
फड्के
पानीघट्ट नाट्य संग्रहमा संग्रहित अर्को नाटकको नाम हो ‘फड्के’ । जम्मा २० पानामा संरचित छ यो नाटक । ६ वटा दृश्यमा नाटक पनि समाप्त हुन्छ । उल्लिखित नाटकले विकट ग्रामीण समाजको चित्रण गरेको छ ।
नाटकमा विकासका पूर्वाधारअन्तर्गत बाटोघाटो, स्कुल, बिजुली, पानी, अस्पतालको अभावमा छटपटाइरहेको समाज देखाइएको छ । घरका लागि सामलतुमल लिन झन्डै तिन दिन लाग्ने कुरा नाटकको परिवेश बनेको छ ।
बटौली (बुटवल) बाट महिना दिन लगाएर नूनतेल ल्याएको कथा सानो छँदा हजुरबाका मुखारबाट सुनेको हो ।
म सम्झन्छु, कुनै समय स्याङ्जाको असाध्यै व्यस्त ग्रामीण बजार अर्जुन चौपारी सम्भवः नेपालकै व्यस्त ग्रामीण बजारमध्येको एक थियो । पहिलो होमस्टेका रूपमा स्थापित स्याङ्जाको ‘सिरुवारि’, पर्वतका उत्तरी भेग त्यही बजारमा नै भर पर्थे, हप्तौँ दिन लगाएर सामान बोक्नेको ताँती देखिन्थ्यो ।
हो, ठ्याक्कै नाटकमा त्यही परिवेशको वर्णन छ । आफ्नै गाउँकै कथा लेखेजस्तो लाग्ने !
गाउँले समाज अति ठाडो भाषा, त्यही भाषाभित्र लुकेको लोभलाग्दो पारिवारिक प्रेम नाटक पढ्दा फिस्स हाँस्न मन लाग्छ नै ।
जस्तो –
निर्मलीः तिमीलाई चाहिएको छैन भने मलाई पनि चाहिएको छैन ।
धनेः किन कराको ? थुतुनो नचला भन्छु, टेर्ने भए पो ,
निर्मलीः म बोल्न पनि नहुने है । मनको कुरा भन्यो कि तिमीलाई रिस उठिहाल्छ । पृष्ठ – ७७
न पदको लागि तिकडम न पैसाको लागि लुछाचुँडी गाउँका सोझासाझा जनता मात्र गाँस, बास र कपास सहज तरिकाले पुगे हुने स्वच्छ नेपालीपन छल्किने पात्रहरू नाटकमा देख्न सकिन्छ । उनीहरूको चाहाना नै गाउँमा बिजुली बत्ती, बाटोघाटो, स्कुल सरल र सहज भइदिए मात्र पुग्ने आशा देख्न सकिन्छ । पिउने पानीका लागि घन्टौँ समय व्यतीत गर्नुपर्ने कठोर गाउँले जीवनको वर्णन नाटकमा दुरुस्तै उतारिएको छ ।
नाटकको प्रमुख पात्र धने ३÷३ वटी छोरी जन्माएर पनि छोराको चाहाना राख्छन् । श्रीमती सुन्तली चौथो सन्तानका रूपमा छोरो जन्माउने ध्याउन्नमा छिन् । छोरो, मरे पछिको पिण्डदाता भन्ने विचारबाट ग्रसित समाज छ ।
जस्तो –
धनेः क्यारौँ त मैले, वंश नै टुङ्गिनी भयो । एउटा छोरो हुन्छ कि भन्ने आशमा छोरी छोरी जन्मिए । बुढी पनि एउटा छोरो चाइन्छ भन्छे । पृष्ठ –८०
तर त्यही समाजमा पनि छोरीलाई पनि पढाइ लेखाइमा अग्रसरता गराए राष्ट्रपति बन्ने, देश चलाउन सक्ने कुरा पनि बाटोमा कुराकानीका विषय पनि बनेका छन् । कता कता थोरै भए पनि लैङ्गिक विभेदको मामलामा समाजको सोच परिवर्तन भएकै हो कि ! भन्ने कुराको छनक पनि पाउन सकिन्छ ।
जस्तो –
भैरेः त्यही त बुढा ! छोरै चाहिन्छ भन्ने के छ र ? भएका छोरीहरूलाई राम्रो शिक्षा दीक्षा देऊ न । गरिहाल्छन् । देशका ठुला ठुला पदमा महिलाहरू पुगिसके । अहिलेको जमानामा पनि तिमी चैँ छोरा र छोरी बिचको भेदभावको कुरा गर्छौ ? पृष्ठ –८१
कक्षा ६ मा पढ्ने रत्नेले किताब, कापी, कलम, मसी किन्नका लागि गरेको सङ्घर्षले जोकोहीको मन अमिलो बनाउँछ नै । आजकलका विद्यार्थीले झर्यात झर्यात कापीका पाना च्यातेको देख्दा नाटकमा पढ्नका लागि रत्ने भन्ने बाल पात्रले गरेको सङ्घर्ष झलझली याद आउँछ । स्वयम् नाटकको मुख्य पात्र धनेका तीन छोरीहरूले विद्यालय जानका लागि एकएक वर्षमा गरेको आलोपालोको कथा कारुणिक छ ।
अझै पनि हाम्रा लाखौँ बालबालिकाहरू चाहेर पनि पढ्न पाएका छैनन् । संविधानमा विद्यालयीय शिक्षा सबैका लागि निःशुल्क लेखिएको कुरा उपहासझैँ लाग्ने ।
फड्के तर्दा धनेको दुःखद निधनले नाटक वियोगान्त बन्न पुगेको छ । यो कुरा सुदूर पश्चिममा तुइनको यात्रा तय गर्दा प्राण गुमाएका कयौँ घटनाहरू ताजा भएर आउँछ । एउटा सामान्य झोलुङ्गे पुलको अभावले अकालमा ज्यान गुमाएको धने नेपालका दुर्गम वस्तीको प्रतिनिधित्व गर्ने पात्र पनि रहेको छ । पितृसत्तात्मक हाम्रो समाजमा घरको मुली नै नरहेपछि परिवारको हरिविजोग !
म आफै टुहुरो भएर बाँच्दाको अनुभूति । नाटकले च्वास्स सियोले घोचेझैँ हुने । नाटककारले आफ्नै कथा लेखेजस्तै लाग्ने ।
० ० ० ०
अन्त्यमा,
मञ्चीयता नाटकको महत्त्वपूर्ण पाटो हो । मञ्चीयताको एउटा बलियो शर्त भाषा पनि हो । नाटकमा छोटाछोटा वाक्य, भाषिकाको प्रयोग देखिन्छ । नाटककार पुरुजीले लमजुङको विशेषतः गुरुङ जातिको सांस्कृतिक, सामाजिक परिवेश नाटकमा देखाउनुभएको छ । त्यसैले पनि आञ्चलिकताको बलियो छनक छ नाटकमा । यसर्थले नाटक सफल देखिन्छन् । हो, लेखनी वा प्रिन्टिङमा हुन सक्छ कहीँ कतै भाषिक त्रुटि नदेखिएको पनि होइन .
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।