मणि लोहनी (२०३२) नेपाली साहित्यमा लागिरहेका परिचित व्यक्तित्व हुन् । पिता शिवशरण लोहनी र माता गायत्री लोहनीको कोखबाट नुवाकोटमा जन्मिएका लोहनी पत्रकारितामा निकै सक्रिय तथा लोकप्रिय छन् । उनको साहित्यमा उनको उपस्थितिलाई हेर्ने हो भने पहिले कवि हुन् अनि मात्र कथाकार । पत्रकारिताको कर्म गरिरहेका लोहनीले गोरखापत्रमा पहिलो कविता समयको अवसान प्रकाशन गरी आफ्नो उपस्थिति प्रस्तुत गरेका हुन् । मणि लोहनीले २०४७ को ‘सगरमाथा’ पत्रिकामा प्रकाशित ‘अभिशप्त वर्तमान’ कविताबाट लेखनमा प्रवृत्त भएका हुन् । उनका ’आन्दोलनले छटपटाएका कलमहरू’ (संयुक्त २०४८), ‘मलामी साँझ’ (२०६१), ‘मृत्युको अघिल्तिर’ (२०७६) कवितासंग्रह प्रकाशित छन् ।

कवि लोहनी संवेदित, यथार्थपरक र अनुभूतिपरक कविता लेख्ने कवि हुन् । देश र जनता, जीवनका विसङ्गत पक्ष एवम् प्रणयचेतनाका विविध भावविम्बमा कविता लेख्छन् । उनका कवितामा जीवनवादी चिन्तन र चेतना प्रभावपूर्ण रूपमा आएको छ भने उनका कवितामा मृत्यु चिन्तनका दार्शनिक अभिव्यक्ति पनि पाइन्छ । उनले भानुमोती पुरस्कार, युवावर्ष मोती पुरस्कार, सुसिद्धि राष्ट्रिय कलाश्री पुरस्कार, व्यथित काव्य वनिताश्री पुरस्कार आदि पुरस्कार प्राप्त गरेका छन् ।

मणि लोहनी समसामयिक युगचेतना र मानवीय संवेदना दुवै विषयमा समान रूपमा कविता लेख्ने कवि हुन् । जीवनबोध तथा मृत्युबोधका स्वरहरू पनि उनका कवितामा सशक्त रूपमा पाइन्छ । जनआन्दोलनकालीन परिवेशदेखि लिएर वर्तमानसम्मका यथार्थको अभिव्यक्ति उनका कवितामा देख्न सकिन्छ । देशलाई सम्बोधन गरेर लेखिएका र देश दुखेका विम्बहरू अभिव्यक्त भएका उनका कवितामा समयलाई सम्बोधन गरिएको छ र वर्तमान राजनीतिक अराजकतालाई यथार्थ रूपमा देखाइएको छ । हरेक सत्यावस्था, नेताहरूका भ्रष्टता र यस्तै यस्तै हुन्छ तर राज्यको उदासीनता र नेताहरूको अकर्मण्यताका कारण देश झनझन अन्योलग्रस्त बन्दै गएको छ । प्रजातन्त्र, लोकतन्त्र र त्यसपछिको गणतन्त्रमा केही राम्रो होला र सबैका लागि उपलब्धि होला भन्ने आश जनताले समाजका लागि एउटा मीठो सपना देखेको हुन्छ भन्ने कुरालाई उनका कविताले देखाएका छन् ।

उनी जीवनवादी कवि हुन् र जीवन र प्रेमलाई उनका कविताले शाश्वत मानेका छन् । यसै शाश्वततासँगै उनका कवितामा मृत्युबोध पनि सशक्त भएर आएको छ र उनले मृत्युलाई पनि शाश्वत नै मानेका छन् । यसरी मणि लोहनीका कविताका विषयवस्तु युगीन यथार्थ, जीवनबोध, प्रणयचेतना, मृत्युबोध र मानवीय संवेदनामा केन्द्रित छन् ।

उनी सरल कलात्मक भाषामा लयात्मक गद्यकविता लेख्ने कवि हुन् । हामी मृत्युको अघिल्तिर उभिएर जिन्दगीका ससाना धर्साहरू कोरिरहन विवश छौं भन्नु नै मृत्यु अघिल्तिरको जीवनबोध हो । यही अभिशापले सिङ्गो जिन्दगी अनुभूत गर्न दिँदैन भन्ने प्रस्तुत गरेका छन् लेखकले ‘मृत्युको अघिल्तिर’मा । मृत्यु अघिल्तिर उभिएर सर्वाङ्ग जिन्दगी लेख्न कहाँ सक्नु ? पटक्कै सकिँदैन भन्दै कवि लोहनीले जीवन मृत्युको दुरी बिजुली चम्केजस्तो मात्र हो, त्यही झिलिक्क उज्यालो जीवनको गति देखिन्छ, करबलले दङ्ग अनुहारको उज्यालो बोकेर हामी जिन्दगीको यात्रामा छौं भनेका छन् । कविले मृत्युको अघिल्तिरलाई जीवनको सानो क्षणका रूपमा परिभाषित गरेका छन् । यस कविता संग्रहका दोस्रो खण्डका केही कवितामा चित्रित मृत्युको सामुन्नेको पल र परिवेशलाई मात्र यहाँ विश्लेषण गरिएको छ । मृत्युका बारेमा केही अनुभूति र विचारहरू यस कवितासंग्रहमा समाविष्ट छन् । यससंग्रहमा जोडिएको मृत्युको प्रस्तुति, परिभाषा र परिवेशको यहाँ अध्ययन गरिएको छ ।

० ० ० ०

मृत्युसम्बन्धी धारणा

जातस्य हि धुर्वो मृत्युध्रुवं जन्म मृतस्य च अर्थात् जन्म लिएका सबैको लागि मृत्यु निश्चित छ र मरणोपरान्त पुनर्जन्म अपरिहार्य छ । यस सत्यको ज्ञान हुँदाहुँदै पनि मरणप्रति मानिसको धारणा जीवनको विभिन्न चरणमा फरकफरक हुन्छ । सामान्यतः बाल्यकालमा मृत्युबारे खासै ज्ञान हुँदैन, युवावस्थामा ज्ञान भए पनि वास्ता हुँदैन र वृद्धावस्थामा पुगेपछि जति उमेर घर्कंदै जान्छ उति मानिस यसबारे संवेदनशील हुँदै जान्छ । पुनर्जन्मलाई भने यस जीवनबाट निकै टाढा रहेको धुमिल र फगत कल्पनामा सीमित सम्भावना मानेर साधारण मानिसहरू प्रायः त्यसबारे खासै चिन्ता गर्दैनन्, कैयन त विश्वास पनि गर्दैनन् । मरणसम्बन्धी धारणामा मानिस हुर्कंदाको वातावरणले पनि ठुलो प्रभाव पार्दछ । लौकिक सुखले मोहित भएका या त्यस्तो सुखको अपेक्षा राख्नेहरू जीवनलाई त्यसैको साधन या अवसरको रूपमा

देख्छन् । तर कतिपय यस्ता साधकहरू पनि छन् जो आफ्नो आस्था र दृष्टिलाई अहिले जिएको जीवनको समय सीमाले बाँध्न चाहँदैनन् । साहित्य कल्पना र वास्तविकताको संगम भएकाले यसका स्रष्टाहरूले जीवन, मरण र पुनर्जन्मका सबै पक्षलाई सिर्जनाको दायराभित्र राखेका छन् ।

यस्य ब्रह्म च क्षत्रं च उभे भवत ओदानः।

मृत्र्युस्योपसेचनं क इत्था वेद यत्र सः ।।

दैनिक रूपमा गरिएको भोजन झैं मृत्युलाई पनि मान्छेले सजिलै खान्छ अर्थात् भोग्दछ ।

आत्मतत्व बुझिसकेपछि विषयभोग रहन्न तर अल्पज्ञ हुँदा सांसारिक विषयभोग र काममा निरन्तर लागिरहन्छ । जसले केही बुझ्दैन ती मृत्युको पासोमा पर्दछन् ।

यदेवेह तदमुत्र यदमुत्र तदन्विह

मृत्योः स मृत्युमाप्नोति य इह नानेव पश्यति ।।

तत्वज्ञानबाट परलोकको ज्ञान हुन्छ । जुन तत्व बाह्य जगत्मा छ आन्तरिक जगत्मा त्यही छ ।

जसले आत्मालाई बुझ्दैन त्यसले मृत्युबाट मृत्यु प्राप्त गर्दछ । अर्थात् जन्ममृत्युको दुष्चक्रमा परेर घुमिरहन्छ । ब्रह्मज्ञानबाट मृत्युबोध भएपछि सबै सामान्य बन्दछन् । आत्मा र शरीरको भेदबाट मृत्युमाथि विजय हुन्छ । अर्थात् जन्म मृत्युको ज्ञान हुन्छ ।

मृत्यु एक आश्चर्यबोधक स्थिति, एक गन्तव्यको सङ्केत र एक क्रियामुखी भाव व्यक्त गर्ने बहुआयामिक साङ्केतिक भाव व्यक्त गर्ने शब्दको रूपमा रहेको छ । यस शब्दले एकातिर प्रलयवत् अवस्थाको सङ्केत गर्दछ र परिवर्तनको स्थिति दर्शाउँछ भने अर्कोतिर अति महत्त्वपूर्ण प्रस्थान बिन्दुको रूपमा समेत भाव व्यक्त गरिरहेको हुन्छ ।

यस शब्दले समाजमा व्याप्त गतिहीनता, निरुद्देश्यता, पथभ्रष्टता सङ्केत गर्दै यस्ता स्थिति तथा अवस्थाबाट मुक्ति पाउन गरिनुपर्ने हाम्रो सामाजिक दायित्वतर्फ पनि हामीबाट हुनैपर्ने अति महत्वको चुनौतीपूर्ण प्रयासलाई समेत बोध गराइरहेको हुन्छ । सामान्यतया लोकलयको भाषामा व्यापक मात्रामा प्रयोग भइरहेको मृत्युको अर्थ र अवस्था सबैले बुझेका छन् । तापनि परिवर्तित अर्थमा मृत्युको भूमिका र स्थिति पनि बुझ्नुपर्ने आवश्यकता त छँदै छ तापनि प्रस्थान बिन्दुको रूपमा समेत रहेको मृत्युले के र कस्तो सन्देश दिन खोजिरहेको छ । यस भावको गहिराइमा समेत पुग्नु हाम्रो लागि अनिवार्य छ ।

यति मात्र होइन समाज सुधारको रूपमा क्रियाशील समूहहरूका लागि ती भौतिकवादी हुन् या अध्यात्मवादी ? यी अति महत्वका चुनौतीपूर्ण सन्देश बाहक शब्द रहेका छन् । ‘प्राणत्याग गर्नु’ भन्ने अर्थ बुझाउने ‘मृद्ध’ धातुमा ’त्युक्’ प्रत्ययको संयोजन भएपछि बन्ने मृत्यु शब्दको अर्थ प्राणत्याग वा मरण भन्ने हुन्छ । भौतिक शरीरलाई छोडेर प्राण निस्कने भएकाले मृत्यु हुनुलाई देहावसान पनि भनिएको छ । त्यस्तै निधन शब्दले पनि मृत्युलाई नै बुझाएको छ । यसरी जन्मको अभिप्राय भौतिक शरीर, चैतन्यको मृत्युको अभिधार्थ भौतिक शरीरसित जोडिएको छ । मृत्यु वा निधन चैतन्यको वियोग–संयोग भएकाले जन्म–मृत्यु जीवन–मरण विपरीतार्थक शब्दका रूपमा आएका हुन्छन् । यही मृत्युको अवश्यम्भावी भन्ने कुरा सचेत सबै मानिसलाई थाहा छ तर पनि मानिसको जीवनको भन्दा मृत्युको कम चर्चा गर्न सक्छ । सुन्न पनि कम चाहन्छ । सायद यो मृत्युभयबाट जीवनको आक्रान्त हुनुको परिणति पनि हुन सक्छ । भय सम्पूर्ण प्राणीमा हुने साझा अभिलक्षण हो ।

जीवनका आधारभूत अभिलक्षण मध्ये खानु, सुत्नु, डराउनु, सन्तान उत्पत्ति गराएर आफ्नो वंशलाई बिस्तार गर्नु चार मुख्य हुन् । यी चार सम्पूर्ण जीवजन्तु, प्राणीमा हुने साझा अभिलक्षण हुन् । यीमध्ये मृत्यु अन्य अभिलक्षणभन्दा पृथक् प्रकृतिको तथा अनिवार्य भएकाले समग्र प्राणीलाई साझा विशेषण दिने गरिन्छ– मरणधर्मा जीव । यसरी मरणधर्मा समग्र प्राणीकै साझा विशेषण भए पनि मृत्युभयबाट बढी चिन्तित हुने प्राणीमा मानिस पहिलो स्थानमा पर्छ । मानिस अन्य प्राणीभन्दा बडी मृत्युभयाक्रान्त हुनुमा उसभित्र रहेको चिन्तन शक्ति नै प्रमुख कारक बनेको देखिन्छ र यही शक्तिकै कारण ऊ अन्य पशुभन्दा फरक दर्जामा उभिएको छ ।

मानिसले मृत्युका बारे जति सोचे पनि, मृत्युलाई टार्न जति नै प्रयास गरे पनि कालले मानिसलाई छोड्दैन भन्ने सत्य कवि लेखनाथले भनेझैं ‘आयो टप्प टिप्यो लाग्यो मिति पुग्यो टारेर टर्दैन त्यो’ भएको छ । मृत्युले कुनै पनि प्राणीलाई छोडेको छैन र छोड्दैन पनि ।

यस सन्दर्भमा भन्नै पर्ने अर्को कुरा के भने चिन्तन शक्तिकै कारण मानिस मृत्युभय बाट जति आक्रान्त छ, त्यति नै त्यसको भयबाट मुक्त हुने कुरामा पनि ऊ नै अग्रणी छ । मरिने जीवन बारेको चिन्तनभन्दा अनिश्चित मृत्युभयबाट जति आक्रान्त छ, त्यति न यसैले जीवनबारेको चिन्तनभन्दा अपेक्षाकृत कम भए पनि संसारका अधिकांश दार्शनिकले मृत्युचिन्तन गरेकै छन् ।

मृत्यु शाश्वत सत्य भएकाले दार्शनिकले मात्र नभई हरेक सचेत व्यक्तिले जीवनको कुनै न कुनै क्षणविशेषणमा मृत्यु चिन्तन गरेकै हुन्छ । चाहे मृत्युको नजिक पर्दा होस्, चाहे जीवन चिन्तन गर्दा होस् वा अरूको मृत्यु देख्दा होस् मानिसले मर्नुपर्छ भनेर मृत्युचिन्तन गरेकै हुन्छ । प्रायः सबै सचेत व्यक्तिबाट मृत्युचिन्तन भए पनि त्यसलाई अभिलेखीकरण गर्ने कार्य भने अत्यन्त न्यून मात्रामा मात्र भएको पाइन्छ । पौरस्त्य दर्शनमा मृत्युचिन्तन गरिएका उपजीव्य ग्रन्थ उपनिषद् हुन् । उपनिषद्हरूमा पनि कठ उपनिषद् मृत्युचिन्तन सूक्ष्मताका साथ भएको छ । कठोपनिषद्ले शरीर, आत्मा, पुनर्जन्म र मुक्तिका सन्दर्भबाट प्रशस्त चिन्तन गरेको छ ।

यस्य ब्रह्म च क्षत्रं च उभे भवत ओदनः

मृत्युर्यस्योपसेचनं क इत्था वेद यत्र सः ।

मृत्युले जुनसुकै बलियो, निर्धो सबै मानिसलाई भात तिहुन खाए झैं खाइदिन्छ । मृत्युलाई परमात्माले ।

यदेवेह तदमुत्र यदमुत्र तदन्विह ।

मृत्योः स मृत्युमाप्नोति य इह नानेव पश्यति ।।

जुन तत्त्व यस संसारमा छ त्यही तत्त्व परलोकमा पनि छ । आत्मालाई बुझ्न नसक्नेले मृत्युबाट मृत्यु नै प्राप्त गर्दछ । अर्थात् जन्ममृत्युको चक्रमा घुमिरहन्छ ।

भयादस्याग्निस्तपति भयात्तपति सूर्यः ।

भयादिन्द्रश्च वायुश्च मृत्युर्धावति पञ्चमः ।।

यस संसारमा परमात्माको भय अर्थात् डरले अग्नि सधैं तातो रहन्छ, सूर्य संसारमा घुमिरहन्छ, इन्द्र, वायु, र मृत्यु सधैं आफ्नो काममा अहरोत्र लागिरहन्छन् ।

यदा सर्वे प्रमुच्यते कामा येऽस्य हृदि श्रिताः ।

अथ मृत्र्योऽमृतो भवत्यत्र ब्रह्म समश्नुते ।।

मृत्युलाई जित्नका लागि आफूसँग भएका सबै कामना सकिनु पर्दछ, त्यति बेला मृत्युभन्दा माथिको अमरता प्राप्त हुन्छ भन्ने कुरा यमराजबाट नचिकेताले पाएको ज्ञान अर्थात् ब्रह्मभाव उत्पन्न भएको पाइन्छ । कठोपनिषद्लाई आधार मानेर उत्तरवर्ती अध्यात्मवादी र भौतिकवादी दार्शनिकले मृत्युचिन्तन गरेका छन् ।  यस लेखमा मृत्युको अघिल्तिर कवितामा प्रयुक्त मृत्युको शब्द लहरलाई खोजी गरिएको छ ।

मृत्युको अघिल्तिर कवितासंग्रहमा मृत्युको शब्द

मृत्यु अनुभूतिका अनेकौं मोडहरू देखा परिरहेछ । जीवन र मृत्युका विडम्बनापूर्ण तनावमाथि कविताको विषयवस्तु केन्द्रित कवितामा प्रयुक्त मृत्यु परिवेशलाई प्रस्तुत गरिएको छ ।  यस संग्रहको शीर्ष कविता मृत्युको अघिल्तिरमा मृत्युको प्रहरलाई यसरी प्रस्तुत गरिएको छ:

हत्केलामा च्यापेर

एक मुठ्ठी सपना

उभिएको छु मृत्युको अघिल्तिर

जीवनको के भर

खसेजस्तै आकाशबाट उल्कापिण्ड

खस्नेछन् दुवै आँखाको सौन्दर्य

र मारिनेछु म

जसरी मारिन्छन् मानिसहरू

दुःखलाई साक्षी राखेर चलेको यही मुटु खोज्दै

कुनै दिन घुस्नेछ घृणाको धारिलो चक्कु

मेरो छातीको बायाँ भाग थरथराउँदै च्यातिने छ

र बिथोलिने छन् प्रेमका केही सुकिला अनुहार

पीडाका घाउमा डुबेर जीवनको मूल्य सकिनेछ र

रित्तिनेछन् मेरो भागमा शेष रहेका खुशी

कुनै गोलीले रोज्नेछ मेरो कञ्चटको बाटो

मस्तिष्कमा अचानक बन्द हुनेछ विचारको यात्रा

त्यो कल्पनाको गहिराई

रोकिनेछ सम्झनाको आँसु

बन्द हुनेछन् सपना देख्ने यी दुई आँखा

र, एकसाथ रोकिनेछ

सुख र दुःखको यो अविराम नृत्य ।

कुनै हत्याराको आतङ्कित अनुहारजस्तो

देखिन्छ आफ्नै स्वाभिमान

दिन दहाडै बन्दुक ताकेर उभिन्छ

आफैंले गरेको प्रेम

मध्यरातमा छुरा देखाएर भाग्छ त्यो अटुट विश्वास

लाग्छ कविता लेखेकै कारण मारिनेछु म

प्रेम गरेकै कारण रोकिनेछ मुटुको चाल

सोच्नु काफी छ,

यस्तै केही सोच्दासोच्दै एक दिन मारिनेछु म

जसरी मारिन्छन् मानिसहरू ।( पृ.७५–७६)

जन्मजात सँगै बोकेर हिँडेको मृत्युलाई सपना जस्तै मुठीमा च्यापेर हिँडेकाले जीवनको भर नभएको भावसँगै कविले जसरी अन्य मानिसको अन्त्य हुन्छ आफ्नो अन्त्य पनि उस्तै हुनेछ भनेका छन् । मृत्युका अनगिन्ती बाटो र अवस्थासँगै चल्दाचल्दै सोच्दासोच्दै एक दिन मर्नैपर्ने सत्यलाई शब्दका माध्यमबाट कविले झङ्कृत गरेका छन् ।

त्यस्तै इच्छामृत्यु कवितामा कविले अँजुलीमा थापेको पानी र मान्छेको वय उर्फ उमेरसँगै तुलना गर्दै एकै क्षणमा निख्रेको आभास भएको भन्ने भाव अभिव्यक्त गरेका छन् । यो माया, मोह, नाता, सम्बन्ध सबै भ्रमपूर्ण र कुन बेला आफ्ना-पराई भइसक्दा रहेछन् भन्ने भावसँगै सूर्य अस्त र मृत्यु समान भएको कुरालाई कवितामा प्रस्तुत गरेका छन् ।

अँजुलीमा लिएको पानीजस्तो

थाहै भएन कुन बेला सकिएछ– उमेर !

सिमलको नाङ्गो हाँगाजस्तो

यो फुङ्ग उडेको समय

म बगेर गएको नदीलाई फर्काएर हेरिरहेछु ।

खिलखिलाएको शिशु हाँसोजस्तो

उद्दण्ड तन्नेरी जोस

आकाश साँघुरिएको युवाउत्साह

फलेको वृक्षको हाँगो नुहेको प्रौढता

अँजुलीमा लिएको पानीजस्तो

थाहै भएन कुन बेला सकिएछ– उमेर ।

चट्टानमाथि फुलेको हिमपुष्प जस्तो

आफैंमा लाचार समय

म सम्झनाको सन्दुक खोलिरहेछु–

छोराछोरीसँगै हुर्किएका कमजोर सपना

खुल्दै गएका सम्बन्धका एकपछि अर्का नामहरू

र आँखाले देख जतिका कमाई र वर्चस्व

के उडेर गयो पखेटा हालेको परेवा, फुटे आफ्नै सपना

के भाँचेर लग्यो रुखको हाँगो कसैले, लुछिए आफ्नै

सम्बन्धहरू

के सकियो आँखाबाट मोती झर्ने सिलसिला

सरकारले बाँडेको वृद्धभत्ता जस्तो आँखैमा थपियो

मोतीबिन्दु ।

यो नाथे जीवन बाँच्नै जानिएनछ

सिङ्गो बाँच्नुपर्छ सोच्नै भ्याइएनछ

टुक्राटुक्रा बाँचेर कमाएको यही सम्झना आफ्नो भएको छ

बिहान–बिहान छिल्लिन आउने घामका कलिला

किरणहरू आफ्ना भएका छन् ।

जो आफ्ना थिए ती त थाहै भएन कुन बेला पराई भइसकेछन् ।

यतिखेर यो अस्ताउँदै गरेको सूर्यसँग कामना गरिरहेछु – इच्छामृत्युको । ( पृ.७९–८०)

जीवनको यात्रामा बिताएका विभिन्न पलहरूको स्मरणसँगै बितिएको उमेर अनि मृत्युको निकट पुग्दा आएका पूर्वस्मृतिलाई दर्शन ढुङ्गासँग जोख्दै र टुक्रिंदै गएको, फुट्दै गएको जीवनका समयसँग दाँज्न पुगेका छन् । कविले आफ्ना पदचापहरू छाडेर जाने नवयौवना, गायकका स्वर, कविता बेच्ने कवि, नाङ्गो छातीमा धून टाँसेर हिँड्ने सङ्गीतकार र कवि स्वयं दर्शन ढुङ्गासँग ठोकिएको प्रसङ्ग जोडिएको छ । कुनैदिन आफूले छोडेर जाने स्मृति उर्फ मृत्युको बोधलाई यसरी सम्झन पुगेका छन्:

र बाटाभरि भेटिन्छन्

दर्शनढुङ्गा जस्ता अक्षरहरू ।

यही काँचको गिलासमा

पिएको हुनुपर्छ उसले रक्सी पटकपटक

यो चुरोट निभाएको भित्तो

बिर्को नभएको कलम

र रङ्ग उडेको कागज– सबै उसैका हुनुपर्छ

उसैका हुनुपर्छ,

उरन्ठेउला केटीको हाँसोजस्तो बुङ्गबुङ्ग उड्ने धुलोमा

यी पाइलाका डोबहरू ।

हामी हिँडिरहेका छौं, यही गोरेटोमा

जहाँ उसले छोडेर गएको छ– दर्शनढुङ्गा जस्ता

अक्षरहरू ।

यहाँ अहिले पनि

रुखहरूमा काप्छन् गायकका हृदय

कविहरू एक चिम्टी सुर्तीका लागि बेचिरहेछन् कविता

कलाकारको रगत भेटिन्छ पेन्टिङमा

र नाङ्गो छातीमा धून टाँसेर हिँडिरहेछ सङ्गीतकार

यस्तैमा भेटिन्छन्, असङ्ख्य मणि लोहनीहरू

जो एक सर्को घूँवाका लागि पटकपटक ठोकिरहेछन्– दर्शनढुङ्गा

भयङ्कर–भयङ्कर किताबहरूका बीचमा रहेको

यो मसिनो पुस्तिका

रातो क्रान्तिकारी गीतको छेउमा

उद्धृत गरिएको कविता

मायालु शब्द,

जसलाई भर्खरै प्रेमी तन्नेरीले च्याटमा अरू कसैलाई पठायो

ऊ त्यो नेताले बोल्दै गरेको भाषण

कुमारी केटीको उकुसमुकुस

हल्लामा रुमल्लिरहेका जनता

सबैमा ऊ बाँडिएको छ, अलिअलि

र, बाँकी आफूलाई

छाडेर गएको छ– यही दर्शन ढुङ्गाहरूमा । ।

आफू जन्मेर पच्चिस वर्ष पछि उभिएको भूमिलाई विगत र भर्खरै फल सकिएर रहेको आँपको रुखलाई जीवनको अन्तिम पल, लछारिएको बेगमबेलीको बोटलाई सङ्घर्षशील अवस्थासँग तुलना गरिएको छ । त्यस्तै  जन्म उत्सव कवितामा कविले आफू उभिएको धरातल र मृत्युको चेतलाई यसरी प्रस्तुत गरिएको छ:

आज म पच्चीस वर्षपछि

यहाँ उभिएको छु, मेरो साल गाडिएको माटोमा ।

भर्खरै फल सकिएर दुःखको गीतजस्तो

झोक्राइरहेको बूढो आँपको रुख

बिहान नउज्यालिँदैको मिर्मिरे अँधेरी

र बतासको पाइलाले कुल्चिएर

लछारिएको बेगमकलीको बोट,

…..

झार उम्रिएको अँगेनामा हेर्छु र,

आमाका ओठहरूले पल्टाउँछु

सम्झनाको सन्दुकमा राखिएका अलबमका धमिला

पानाहरू

अँगेनामा हात सेकाउँदै मलाई तेल घसेका धूमिल

दृश्यहरू

….

सुनिन्छन् मेरी आमाका पीडाका स्वरहरू

धन्य, मसँगै जन्मेका ती रगतका थोपाहरू छैनन्, भुइँमा

प्रेमले च्यातेका जिन्दगीका टुक्राजस्ता टालाहरू छैनन्

र मेरी आमाले चरम पीडामा खसालेको हर्षको आँसु छैन

छैठीको होम गर्न सुन्दर वेदीले सजिएको आँगन

क्षतविक्षत दुःखान्त प्रेमीको हृदयजस्तो बनेको छ

र प्रेम गर्नेहरूले कसम खाएर साक्षी बनाएको

विवश मन्दिरजस्तो एक्लो छ– नाङ्गो–

म जन्मिएको गोठ । ।

यसरी आफू उभिएको धरातल जुन आमाले छोडेर गएका अवशेष हुन् भन्दै कविले आमाको पीडाको स्वरसँगै तुलना गरिएको छ ।

आमाको अवशेषका रूपमा रहेको जीवनलाई आफूभित्र खोज्दै कविले आमा र आफू भरि हुर्किएको उज्यालोलाई दर्शनका रूपमा व्यक्त गरेका छन्:

 

म भरि हुर्किएको छ उज्यालो

घामझैँ फैलिएका छन् सपनाहरू

आकाश भएर टाँगिएको छ सफलता

भगवान्जस्तो मैभित्र हुर्किएको छ खुशी

र नदीझैं सग्लिएका छन् तमाम सम्बन्धहरू

अँध्यारो नदेखेको होइन

हिर्काउन नखोजेको होइन चिसो सिरेटोले

बेलाबेलामा असिना खसेको सुन्छु

दुःख बर्सिन्छन् हिउँजस्तो पटक पटक

ठाउँ कुठाउँ अभावको झरी दर्किन्छ

र पनि, निर्धक्क छु

बेपरवाह हिँडिरहेछु जीवनसँग

म भरि हुर्किएको उज्यालोले

मलाई यी सबबाट टाढा राखेको छ

र म निस्फिक्री छु जीवनसँग ।

आमा हुनुहुन्छ,

र म भरि हुर्किएको छ जीवनको उज्यालो ।

० ० ० ०

निष्कर्ष

यसरी ‘मृत्युको अघिल्तिर’ कवितामा कवि मणि लोहनीले नजिकबाट अर्थात् सामुन्नेबाट छामेका छन् । कवितामा प्रयुक्त मृत्युका विभिन्न अवस्थासँग जोडेर जीवनको सार पक्षलाई प्रस्तुत गरिएको छ । यहाँ प्रस्तुत मृत्युचिन्तनले मानिसले चाहेर पनि बिर्सने नसक्ने कुरा मृत्यु हो भन्ने भाव व्यक्त गर्दै कविले हामी पलपल मृत्यु बोकेर नै हिँडिरहेको छ । त्यसैले मृत्युको अघिल्तिर हामी निरीह जीव बनेर बाँचिरहेको अवस्थालाई कवितामा व्यक्त गरेका छन् । मृत्यु भय निकै डरलाग्दो हो भन्दै कविले मृत्युसँग साक्षात्कार गरी अघि बढ्न आग्रह समेत गरेका छन् ।