अति आवश्यक काम कर्तव्यहरूलाई पहिलो प्राथमिकतामा राखेर अघि बढ्दा बढ्दै समयले हुत्त्याएर कहाँ-कहाँ पुर्‍याउँछ पत्तै हुँदैन । समयको रफ्तारलाई पछ्याउने दुस्साहस त गरिरहन्छौं, तर समयको पछि आफ्ना कतिपय रहर अनि अनेकौं सपनाहरू कहीँ कतै अधुरै छाडेर अघि बढ्नु पर्छ सायद जीवन जिउने सूत्र नै यहीं होला कि !

अधुरा काम कुराहरू एकदिन पूरा गर्छु भन्ने आशा त बाचुन्जेल राखिन्छ नै । तै पनि समयले कहाँ कसलाई पो पर्खेको छ र ? त्यस्तै छटपटीमा सास फेरिरहेको  बेला फेरि दाजु गुरुङ दाइको नयाँ कृति उपन्यास “निरजोया” मेरो हातमा आइपुग्यो । अहिले सम्झन्छु त्यसबेला म जोर्डनको सब्जी बजारमा तरकारी किन्दै थिएँ सायद ! हुन त म समयसँग आत्म समर्पण गरेर अघि बढ्न सिकिसकेको मान्छे एकदिनमा कति ठाउँ पुग्छ, कहाँ कहाँ को को सित भेट्छु पत्तै हुँदैन  ।

किताब पढ्ने मेरो रुचिको विषय भैकन पनि समय अभावले हिजोआज थुप्रै किताब अल्मारीमा थन्किएका छन् । नेपालमा रिटायर लाइफ बिताइरहेका कतिपय अभिभावकहरूलाई देख्दा म पनि त्यो मोडमा कहिले पुगौं जस्तो लाग्छ, र डर पनि लाग्छ खोइ कति धेरै कन्फ्युजन हो जीवनमा ?

ठ्याक्कै भोट माग्ने नेताले जितें भने यो गर्छु र त्यो गर्छु भन्दै जनतासामु बाचा गरे जस्तो म पनि ती किताबहरू सित भोलि पढ्छु, पर्सि पढ्छु भन्दै निस्फिक्री बाचा गरिरहन्छु, बिचरा ती अल्मारीमा निर्निमेष बसिरहेका किताबहरूले न सवाल जवाफ गर्छन्, न विरोध नै, अदृश्य समयसँग बाचा गर्नु अथवा निर्जीव बस्तुहरूसित बात गर्नु पनि गजब मात्र होइन उदेकै कुरा रैछ ।

मेरो रुचिको विषय भएर हो कि ! दाइको यो किताबको कभरको फोटो फेसबुकमा देख्दै पढ्न खुब मन लागेथ्यो । तर,यति चाँडो यो किताब हात लाग्छ जस्तो चाहिं लागेको थिएन कारण यहाँ लोकार्पण हुन बाँकी नै थियो । किताब दिंदै दाइले पढेर  केही भन्नु पर्यो है बहिनी लोकार्पणमा भन्नु हुँदा पो, हस् हुन्छ दाइ भनौं कि सक्दिन भनौं ? को दोसाँधमा एकछिन उभिएर सोचिरहें ।

दाइले छेउमै उभिएर मेरो जवाफ पर्खिरहे जस्तो लागेकोले, हुन्छ को भावमा टाउको हल्लाएर छुट्टिएँ । खोइ के काम थियो कुन्नि ? किताब लिएर केही बेर नेपालीहरूको राजधानी सहर जोर्डनतिरै अलमलिएँ ।

यो राजधानी घुम्ने कामले पनि केही महिनादेखि निरन्तरता पाएको छ । त्यहाँ पुगेपछि ठ्याक्कै काठमाडौँ शहर जस्तो कोही न कोही भेटिहालिन्छ र ब्यर्थै अलमल हुन्छ ।

घर पुगेर त्यहीं साँझदेखि किताब पल्टाउन थाले पनि व्यस्तताको कारण सक्नु महिनौं लाग्यो । लोकार्पण कार्यक्रम मे २६-२०२४ आइतबारका दिन आयोजक सनखुवसभा समाज हङकङ र  सह संयोजक हङकङ साहित्यिक साझाले संयुक्त रूपमा जोर्डन स्थित ब्लु ओसियन रेस्टुरेन्टमा सम्पन्न गर्ने भएको थियो ।

कार्यक्रम निजिकिंदै गर्दा पढेर नसकिने पो हो कि ? भनेर जता जता गयो उता उतै झोलामा बोकेर हिंडिरहें ।

“निरजोया” निरजको मात्र कथा नभएर लाखौं नेपाली युवाहरूको  कथा हो, निरज त एक प्रतिनिधि पात्र मात्र हुन् । मलेसियाका विभिन्न ठाउँमा उसैगरी लाखौं लाख नेपाली युवाहरू हराइरहेका छन् । कतिले आफ्नो कथा भन्न चाहन्छन्, कतिले चाहँदैनन् फरक त्यति हो ।

यो कथा पढ्दै गर्दा मैले पनि मेरै एकजना आफन्तको अनुहार झलझली सम्झें, जो मलेसिया गएको दश बाह्र वर्ष बितिसक्यो न पैसा पठाउँछ, न आफै सम्पर्कमा आउँछ । १२ वर्षमा त खोला पनि फर्कन्छ भन्छन् तर भासिएका मान्छे नफर्कने रैछन् ।

पहिले एकपल्ट त झन् मुस्लिम धर्म नै अपनाइसकेको जस्तो फोटो पोस्ट गरेको र आफन्तले सोध्दा यहाँ बस्ने कागजपत्रको लागि त्यसो गरेको भन्ने कुरो बाहिर आएको थियो । सायद ! निरजलाई जोयाले पटक पटक मुस्लिम धर्म अपनाउन अनुरोध गरे जस्तै उसलाई पनि अर्को कुनै जोयाले फकाइहोलिन् र उतै हराएको होला । यस्तै अनेक तर्कनाहरू सित खेल्दै किताब पढी सिध्याएँ ।

बाबा आमाले रोजिदिएको एक युवतीसँग बिहे गरेर नव दुलही छाडी सुन्दर भविष्यको सपना बोकेर मलेसिया पुगेको निरजको भोगाइ हो यो उपन्यास, कथा यथार्थपरक छ । यो किताब बारे म भन्दा अघिका केही अग्रजहरूको समीक्षामा पनि यहीं विषय उठेको पाएँ ।

घरीघरी त निरज भन्ने पात्र लेखक आफै हुन् कि ! नभए पनि कसैले आफ्नो कथा लेखिदिन अनुरोध गरेका हुन् ? यो प्रश्नले पाठकलाई सुरुदेखि अन्त्यसम्म पछ्याउँछ ।

किनकि आफू नपुगेको देशको गल्लीगल्ल, घर, चोक अनि त्यहाँ चल्ने यातायात र तिनका स्टप र सारा भौगोलिक रूपरेखा र त्यहाँका संस्कार संस्कृति अनि  परम्पराहरूको त्यति मिहिन तरिकाले कसरी कल्पना गर्न सकिन्छ ?

स्वभावैले आफू नपुगेको ठाउँको कल्पना हामी स्वर्गकै गर्छौं । तर त्यहाँका मसिनामसिना चिजहरूलाई समेट्न सक्दैनौं जस्तो लाग्छ । देश आफैमा नराम्रो हुँदैन । नराम्रो त त्यहाँका शासक र कानून बनाउने ठेकेदारहरूले बनाएका  हुन्छन् ।

यो उपन्यास पढेपछि मलाई त्यस्तो सुन्दर देश मलेसिया कुरूप  मात्र होइन एक नर्क नै हो जस्तो लाग्यो । निरजले जोयासँगको संसर्गमा जति समय बितायो सायद ! उसले सोचेको स्वर्ग त्यति नै थियो ।

किनकि निरज एक विवाह अघिको सहवासलाई मान्यता नदिने समाजमा हुर्केको केटा हो । त्यसैले पनि स्वर्ग ठानेर त्यो अचम्मको समाजमा डुबुल्की मारिरह्यो ।

आफ्नो चाहा पूरा भएपछि जोया जस्तो मायालुलाई छाडेको पक्ष एकछिनको लागि सोच्ने हो भने मान्छे स्वभावैले स्वार्थी हुन्छन् । अर्कोतिर जोयाको घरबाट निस्कँदा एउटा केही चिज नलिई निस्केको पक्षमा नेपालीहरू कति सच्चा अनि स्वाभिमानी हुन्छन् भन्ने पनि प्रमाणित हुन्छ ।

तर मेरो नजरमा निरज स्वार्थी होइनन् बरु “धेरै खाए मह पनि तितो हुन्छ” भन्ने नेपाली उखान उसमा लागु भएको देखिन्छ ।

जब ऊ त्यो स्वर्गरूपी मिठो सपनाबाट ब्युँझन्छ तब घर परिवारको निम्ति सोच्न थाल्छ । त्यसपछि आफू के का लागि मलेसिया आएको हो भन्ने ग्लानिभाव ज्वारभाटा झैं मनमा उर्लन थाल्छ । अनि बल्ल एउटा छोरो हुनुको दायित्वबोध उत्पन्न हुन्छ । र अन्ततोगत्वा उसले जोहोरबारुद्ध छाड्ने निर्णय गर्छ, त्यो पक्ष एकदम सकारात्मक लाग्यो ।

नत्र उपन्यासकारले यहाँनिर पुगेर निरजलाई धर्म परिवर्तन गरेर जोयासँगै जीवन बिताउने निर्णय गरेर आफू उतै भासिएको पात्र बनाएको भए नेपाली समाजलाई यो उपन्यासले नकारात्मक सन्देश दिन्थ्यो । यस्ता साना-साना कामले लेखकलाई सफल बनाएको हुन्छ भन्छन् त्यो कुरो सही लाग्यो ।

समग्रमा यो उपन्यासले नेपाली युवाहरू पलायन हुनु हुँदैन भन्ने राम्रो सन्देश दिएको छ । अर्कोतिर निरजलाई आफूतिर तान्ने देश, धर्म, परिवार अनि संस्कार संस्कृति पनि बलियो डोरी बनेको छ । त्यतिकै भनेका होइन रहेछन्  विज्ञहरूले भाषा, धर्म र संस्कार संस्कृति नै हाम्रो पहिचान हुन् भनेर ।

नत्र निरजलाई के थियो र ? उतै जोयाको मायामा जिन्दगीभर लुटपुटिएर बस्न पनि त सक्थ्यो नि ? देशमा आफूले घर छाडेपछि जन्मिएको छोरा, आफूले राम्रोसँग अनुहार पनि नहेरेको स्वास्नी र बुढेसकाल लागेका एक जोडी बा-आमा त थिए नि होइन र ?

निरज केही वर्ष बहकिए पनि अन्त्यमा एउटा बलियो देशभक्त्त अनि आफ्नो परिवारप्रति कर्मनिष्ठ युवा भएर उभिएको छ । उसलाई आफू को हुँ र के का लागि मलेसिया आएको हो भन्ने कुरो सम्झाइरहने अर्को पात्र डम्बर दाइको भूमिका पनि धन्य छ । अहिलेको यो सामाजिक सञ्जालले सारा युवा युवतीहरूलाई अति व्यस्त बनाइरहेको समयमा गलत बाटोतर्फ उन्मुक्त साना भाइ बहिनीहरूलाई सही बाटो तर्फ मोड्नु हाम्रो धर्म हो भन्ने एउटा राम्रो सन्देश बोकेको डम्बर दाइको भूमिकाले पनि हामीलाई सकारात्मक सन्देश दिएको छ ।

यो उपन्यासले कामदारको रूपमा पहिलो पटक मलेसिया जान लागेका हरेक युवा युवतीहरूलाई त्यहाँको भूगोल, रहन सहन र पुलिस प्रशासन बारे जान्न ठूलो मद्दत मिल्नेछ । जब घर छाडेर हिंडिन्छ तब सङ्घर्ष सुरु हुन्छ, त्यो परदेश टाढाको होस् या नजिकको दुरी अनुसारको भोगाइ र कठिनाइहरू हुन्छन् नै । यो पात्रको भोगाइबाट

अन्त्यमा उसले पुलिस प्रशासन द्वारा भोगेको त्यो क्रूर यातना पडिरहँदा आङ नै सिरिङ्ग हुन्छ । कति निर्दयी ती सजाय दिने मान्छेहरू ? जानीजानी कसैको ज्यानै मारेको त होइन नि !

अन्य देशका कामदार ल्याउन पाउने प्रावधान सरकारले ल्याएको  हो । बस्दै जाँदा विदेशी कामदारहरूको भिसा सकिनु अस्वाभाविक त होइन, मान्छेको जीवन हो यस्ता अप्ठ्यारा कुराहरू आइ नै रहन्छन् तर त्यो एकदम अमानवीय ढङ्गले मनमानी सजाय दिने दौर तरिकालाई मलेसियन सरकारले किन नजर अन्दाज गरेको होला ? यो जमानामा आएर पनि यस्ता विकृतिहरू परिवर्तन नगर्दा मलेसियन सरकार प्रति नै प्रश्न चिन्ह खडा हुन्छ ।

“ईश्वरको घरमा धेर छ अँधेर छैन” भन्ने उक्तिलाई सार्थक बनाउन एउटा छिमेकी मुलुकको मान्छे भगवान भएर निरजको जेल जीवनमा ढिलै भएपनि आइपुग्छ र त्यो जंगोलबाट उसले अति मुस्किलले छुटकारा पाउँछ । यो पार्टले अलिकति भए पनि पाठकलाई सुकुन मिल्छ ।

तर अर्कोतर्फ निरजले जोहोरबारुद छाडेपछि जोयाको जीवनमा कस्तो तुफान आयो होला ? उनले निरज बिनाको दिन कसरी व्यतीत गरिन् ? किनकि उनी निरज बिना बाँच्न नसक्ने भैसकेकी कुरा पटक पटक गरेकी हुन्छिन् । यतिसम्म कल्पना गरेर लेखिसकेपछि त्यति कुरा पनि लेखकले पाठकलाई भनेको भए हुन्थ्यो भन्ने प्रश्नले पछ्याइरह्यो ।

निरजले जेलमा त्यो अमानवीय निर्मम सजाय भोगिरहेको बेला जोया आइदिए हुन्थ्यो भन्ने लागिरह्यो । कुनैबेला अर्को धर्मको अथवा अर्को देशको केटाहरूलाई मन पराउनुको सजाय यस्तो कठोर हुँदो रैछ अब आइन्दा कहिल्यै विदेशीहरूलाई माया गर्दिन भन्ने प्रण गरेर, भाषा धर्म र रीतिथिति मिल्ने युवकसँग बिहे गरेर घरजम गरिन् कि ! पढ्दै गर्दा जोयाप्रति यस्ता अनेक तर्कनाहरू मनमा छाल भै उर्लिरहे ।

लेखक सन्तुष्ट भए पनि हामी पाठक कहाँ सन्तुष्ट भइँदो रहेछ र ? जे होस् निरजोया उपन्यासले पाठकलाई मलेसियाको रहनसहन बताउँदै कुना कन्दरा घुमाएको छ । मैले पढिरहँदा आफै त्यो ठाउँहरूमा पुगे झैं महसुस भो । पहिले मलेसियाको युद्धमा हराएका पुर्खाहरूको बस्ती पुगेर गुरुङ मामासँग म आफैले ढेंडो खाएको भान भो ।

साँच्चै हामी नेपाली अब चन्द्रमामा पुग्न मात्र बाँकी छ है ? आशा गरौँ त्यहाँ पनि चाँडै पुगिनेछ । म समीक्षक नभएर मात्र एक पाठक हुँ । त्यसैले उपन्यास भित्रका कमी कमजोरी औंल्याउन हिम्मत गरिनँ भनौं या आँट गरिन । किनकि म दाजु गुरुङ दाइ अभिभावक मान्छु। हङकङमा म उहाँहरूकै औंलो पक्डेर साहित्यको खुड्किलो चढ्ने कोशि गर्दै छु । दाइको कृतिहरू पढ्न पाएको यो दोस्रो हो पहिले ‘लाई-सी’मा समावेश कथाहरू पनि गजब लागे ।

हरेक दुख सुखमा जोया सिवाय कोही सम्झँदैन निरजले, कतिपय ठाउँमा त आवश्यकता भन्दा बढी नै सम्झेको छ, त्यस्तरी पलपल सम्झिरहने प्रेमिकासँग अन्त्यमा कहीँ कतै भेट नहुनु या एक अर्का बारे दुवै बेखबर छुट्नु अलिकति खल्लो हो कि जस्तो लाग्यो पाठकको नजरले हेर्दा । अन्यथा उपन्यास एकदम राम्रो, सरल र जानकारी मूलक छ।

यति राम्रो उपन्यास हामीमाझ ल्याउनु भएकोमा दाजु गुरुङ दाइप्रति आभार व्यक्त गर्दै हार्दिक बधाई तथा सफलताको अनेक शुभकामना दिन चाहन्छु ।

हङकङ