समाजमा विद्यमान तत्त्वहरू, जातीयता, धर्म र राष्ट्रियता, सँग-सँगै अति व्यक्तिपरक र मनोवैज्ञानिक कुण्ठाहरू लुकेका हुन्छन् । यस्ता विविधताहरू अज्ञात रहेर धेरैले आफ्नो जीवन नरकीय ढङ्गले बाँचिरहेका हुन्छन् । वास्तवमा समाजका सफल व्यक्तिहरू पनि कति सक्षम र अक्षम हुन् भन्ने रहस्य नबुझी परलोक पुग्छन् । आदर्शवाद तथा हाम्रो अध्यात्मले पनि पहिले आफूलाई चिन्नु भनी निर्देश गरेको छ । हामीले आफ्नो अस्तित्व बोध गर्ने क्रममा आफूलाई विभिन्न स्थान तथा स्तरमा राखेका हुन्छौँ । हाम्रो जन्म, घर, संस्कार, समाज, भाषा र संस्कृतिले हाम्रो पहिचान बोकेको छ र इतिहासले हाम्रो अस्तित्व । आजको विश्वव्यापी समाजमा पहिचान र अस्तित्व नै व्यक्तिका लागि महत्त्वपूर्ण र प्रथम प्राथमिकता हुन सक्छ । त्यसपछि मात्र व्यक्तिले आफ्नो लक्ष तय गर्छ । तर कतिपय पात्रहरू यो जीवनरूपी नाट्यशालामा प्रहेलिका भएर सकिन्छन् – अन्तर आत्मदेखि अनभिज्ञ रहेर, आफ्नो तन, मन, इन्द्रिय, ज्ञानेन्द्रिय तथा जननेन्द्रियदेखि अनभिज्ञ रहेर ।
“प्रहेलिका” यही पहिचान र अस्तित्वको सङ्घर्ष हो, जहाँ नेपालमा जन्मिएकी अनुष्काले संयुक्त राज्य अमेरिकामा स्नातक सकेर वैवाहिक जीवन सुरु गरेको महिनौँ बितिसक्दा पनि आफ्नो भावनात्मक रुचि बुझ्न विज्ञानको, विशेषज्ञको सहारा लिनु पर्ने तिक्तता चित्रण गरिएको छ । पुस्तककी नायिका अनुष्काको वास्तविक पहिचान नै “प्रहेलिका” हो र यही मुख्य पात्रले रहस्य बोकेकी छ । तर सायद पुस्तक पढिसकेपछि तपाईँको मानसपटलमा हुने आन्तरिक द्वन्द्व र वैचारिक कौतुहलता कारण “प्रहेलिका” सायद प्रहेलिका नरहला ।
मानव सभ्यताको युग बितेर जाँदै छ र मानव आफैमा रहेको रहस्य बोकी ज्ञानको अभावमा छटपटाइरहेको छ । यद्यपि “प्रहेलिका” यौन तथा लैङ्गिक रहस्यको आधार लिएर अघि बढे तापनि आजको अमेरिकन समाजमा बालबालिकालाई यस्तो शिक्षा विद्यालयमा पनि दिने गरिन्छ । लेखक जे.एन. दाहालले यही शिक्षा आजका नेपाली भाषी प्रौढ पाठकलाई दिएका छन् ।
यसो भनिरहँदा एउटा कमजोरी के पनि देखिन्छ भने भाषालाई धेरै नै फ्युजन गरिएको छ – यस आख्यानमा जसले भाषालाई माया गर्ने पाठक केही विचलित हुन सक्छन् । विशेषतः अङ्ग्रेजीसँगै नेपाली उपन्यास पढ्ने आदत भएका पाठकलाई यसले संयुक्त राज्य अमेरिका तथा अन्य सामाजिक परिपाटीमा हुने संवादको बोध गराउँछ ।
“प्रहेलिका” ले सामाजिक विषयको उठान गरे पनि यसलाई सामाजिक उपन्यास भन्नु दोषपूर्ण हुन जान्छ । अङ्ग्रेजी न्यून दर्जाको भाषाले संवाद भरिएको छ । जुन शब्द अङ्ग्रेजीमै पनि “एफ-वर्ड” भनेर सम्बोधन गरिन्छ, यसलाई साधारण रूपमा तर असाध्यै प्रयोग गरिएको छ । उपन्यास लेखन जति धेरै वर्णात्मक भयो, त्यसले पात्रको परिचय र पाठकलाई कथावस्तु तथा परिस्थितिसँगै जोडेर लान सहयोग गर्दछ । यसमा वर्णात्मक परिचय अधिक नभए तापनि कथामा घटनाको तादम्यताले पुस्तक पढ्नमा अर्को रस पैदा गर्दछ र प्रयोगात्मक संवादले चरित्र चित्रण गर्दछ ।
पुस्तक राखेर अल्पविराम लिए पनि पाठकलाई अर्को पानामा के हुन्छ भन्ने चासो रहिरहन्छ । अति मानवीय तथा मनोवैज्ञानिक कौतूहलहरू यसमा विद्यमान छन् तर पाठकले कुन उद्देश्यले पुस्तक पढ्दै छ त्यसमा आधार लिनुपर्ने हुन्छ । जस्तो केही पढ्नका लागि मात्रै पढ्छन्, कोही सक्नका लागि पढ्छन् । दाहालको पहिलो पुस्तक “लेखककी छोरी” पढ्न मैले पाएको छैन । त्यसैले लेखकको सिप र शैलीसँग म परिचित छैन तर यो समालोचना लेखकको भन्दा पनि पुस्तकका बारेमा भएकाले यतिभन्दा अत्युक्ति हुँदैन कि पुस्तकले एउटा आधुनिक नेपाली चलचित्र हेर्नुभन्दा धेरै रोचकता बोकेको छ ।
कथावस्तुमा नायकत्व दर्साउन मुख्य पात्रमा शतप्रतिशत गुण भर्न उहिलेका चलचित्रहरू प्रशस्त अभ्यास गर्दथे । यसमा पनि प्रयास जारी छ, तर पाठकले पढिसकेर यसको विश्लेषण गर्ने र चेतना सजग गर्ने उद्देश्य लिए लेखकले चाहेको पारिश्रमिक पाउने थिए भन्ने मेरो अवधारणा छ ।
अनुष्कालाई “ए-सेक्सुवालिटी” दिएर लेखकको अभ्यास पनि त्यस्तै नायकत्व दर्साउने नै हो कि भन्ने शङ्का गर्न सकिन्छ । यदि अनुष्का “ए-सेक्सुवल” नभइदिएकी भए कथाको स्थिति कस्तो हुन्थ्यो ? के अरू पात्रले अनुष्कालाई हेर्ने व्यवहारमा परिवर्तन आउँथ्यो ? या पाठकले एउटा नायिकाको रूपमा हेर्ने दृष्टिकोणमा ? “एलजीबिटीक्यू” वर्गीकरणमा पर्ने अरू समुदायको उदाहरण दिन लेखकले यसमा अलि अल्छी गरेका छन् । “हेरिटेज सोसाइटी” मा अरू पात्र खडा गरी यसमा रहेका सबै पात्रलाई वर्गीकरण गर्न सकिने सम्भावना यहाँ थियो तर सायद उपन्यासको आकार बढाउन लेखक तयार थिएनन् या त उहाँलाई केही व्यस्तता थियो । उपन्यास पढ्दा पाठकले यस्तो महसुस गर्न सक्छ किनभने मैले पनि गरेँ । संयुक्त राज्य अमेरिकामा अहिलेको परिस्थितिमा अङ्ग्रेजी नबोली पनि जीवन यापन गर्न सकिन्छ तर यसका पात्र अनुष्का, रेणु र ग्रेस तथा दिदी-बहिनी संवादले उपन्यासमा कहीँ कतै मात्रै नेपाली भाषाको पारम्परिक ढाँचा देखाएको छ, बाँकी तथाकथित “प्योर इङ्गलिश-एफ वर्ड ।”
पात्रले बोल्ने भाषा जस्तो भए पनि यो एउटा भुटानी लेखकले संयुक्त राज्य अमेरिकाको परिवेशलाई उतारेको नेपाली साहित्य हो, जसले सर्वसाधारण पाठकलाई समसामयिक सामाजिक तनावका विषयमा ज्ञानवर्धक खुराक पस्केको छ । यसलाई पढेर स्थानीय लेखकहरूले विषयवस्तु प्राप्त गर्दछन्, पाठकले उल्झिएको पहेली सुल्झाउन सक्छन् र समाजले विविध लैङ्गिक वर्गीकरण उपर आफ्नो धारणा स्थापित गरी नयाँ दिशा प्राप्त गर्दछ ।
यौन कुण्ठाका विविध विषयवस्तु लिएर पूर्वीय दर्शनलाई आधार बनाई आधुनिक युगलाई दिशा निर्देश गर्ने काम विश्वेश्वरप्रसाद कोइरालाले केही गरेका थिए । “कर्नेलको घोडा,” “सुन्नीमा” तथा “तीन घुम्ती” जस्ता गद्याख्यानले उतिखेर नेपाली समाजमा स्त्री-पुरुषमा आउने यौन धारणा तथा सम्बन्धमा देखिने तिक्तता दर्काउँथ्यो । उक्त रचनाहरू अझै पनि खोजी खोजी पढिन्छन् । तर समाज परिवर्तनशील छ । आजको पुस्ता र देश-प्रदेश तथा सङ्कुचित समाजले यौन तथा लैङ्गिक विषयमा निहित मनोविज्ञानलाई भिन्न तरिकाले फड्को मारेको छ । पहिले घृणित धेरै दृष्टिकोणहरू अहिले आएर सामान्य बनेका छन् र यस्ता विषयलाई सहज ढङ्गले स्वीकार गरिनुका साथै सहानुभूति प्रकट गरिन थालिएको छ । यति हुँदाहुँदै पनि जसले आफ्नै जीवनमा यस्ता विविधताको सामना गरेको हुन्छ, उसले कति वटा सामाजिक पक्षसँग लड्नुपर्छ भन्ने पूर्ण चित्रण यस उपन्यासले गरेको भने अवश्य छैन ।
नायिकालाई टुहुरी बनाउनु लेखकको रणनीति पनि हुन सक्छ । अनुष्का यदि टुहुरी थिइनन् भने ? अथवा उनी संयुक्त राज्य अमेरिकामा नभएर नेपालमै हुन्थिन् भने, उनको अवस्था कस्तो हुन्थ्यो ? अनुष्काको द्वन्द्व यहाँ उसको श्रीमान् मायल्ससँग मात्र छ । उ सक्षम भएकाले रोजगार तथा गाँस-बासको लागि केही समस्या छैन । नेपाल, भारत र भुटानमा भएको थियो भने न त यो प्रहेलिका यति सजिलै खुल्ने थियो न त अनुष्का यसरी समाजमा अटाउँथिन् । अनुष्का आफ्नो पारिवारिक कर्तव्य तथा उपेक्षाबाट बचेकी छन् । यसमा लेखकको ठुलो योगदान छ किनभने लेखकले नायिकालाई टुहुरी पारेका छन् ।
अर्को दृष्टिकोणबाट हेर्ने हो भने अनुष्काका माध्यमबाट मायल्स र मिस्टर ब्राउनलाई पुरुष खलनायक बनाएको बुझ्दा भने मलाई पुरुष गुनासो छ । यस्तो स्थितिमा पुरुषको मनोविज्ञानसँग भने लेखकले नजरअन्दाज गरेकै हुन् । संयुक्त राज्य अमेरिकामा लैङ्गिक विविधता जति सामान्य हुँदै छ, त्यति नै पारपाचुके (डिभोर्स) पनि त्यति नै सामान्य छ । सम्बन्धमा आएको कमजोरीका कारण मायल्सले अनुष्काको नयाँ जीवनप्रति आह्रिसे हुनुपर्ने र पैसा खर्च गरी-गरी उसको ल्यापटप ह्याक गराउनुपर्ने जस्तो निष्कर्मको आवश्यकता देखिँदैन । मायल्स त्यस्तो चरित्रको व्यक्ति थियो होला तर यो चरित्रले उपन्यासको कथावस्तुका आधारमा एउटा सिङ्गो पुरुष समूहको प्रतिनिधित्व गर्छ । एकातिर अनुष्कालाई सहानुभूति र अर्कातिर पुरुष (मायल्स र मिस्टर ब्राउन) लाई घृणा दिएर लेखकले स्थापना गरेको यो चरित्रले अरू लैङ्गिक समाजका अगाडि पुरुष नै खलनायक बनाउन केही कसर छोडेको छैन ।
उपन्यासलाई वैचारिक विश्लेषण गर्न एक पृथक् दृष्टिकोण राख्न जरुरी हुन्छ । यो दृष्टिकोण अपनाउन साहित्यले दिएको परिभाषा र उपन्यासका तत्त्वहरूको उत्खनन आवश्यक छ । प्रहेलिका एक उपन्यासकै परिचयपत्र बोकेर अगाडि बढेको भएता पनि उपन्यासको परिभाषासँग यो कत्तिको सटिक बस्छ हेरौँ ।
वास्तवमा लम्बाई र आकारको हिसाब लगाउने हो भने यो पुस्तक अरू धेरै उपन्यास जस्तै छोटा कथा (सर्ट स्टोरी) को श्रेणीमा पर्छ । यसमा मलाई पनि आपत्ति छ किनभने नेपाली वाङ्मयमा तीन सय पाना भन्दा धेरै लेखिएको गद्याख्यान कमै पाइन्छन् र धेरैमा सात सयदेखि एक हजार पानासम्मका पनि होलान् । यिनै कथाहरूलाई हामी उपन्यास भनेर पढ्दै आएका छौँ । तर “एडगार एलेन पो” देखि चलिआएको “सोर्ट स्टोरी मुभमेन्ट” को यसले पनि प्रतिनिधित्व गर्छ र यस्तो कथानक गद्याख्यानलाई सोर्ट स्टोरी नै भनिन्थ्यो र भनिन्छ । तर “प्रहेलिका” वा अरू लेखकका गद्याख्यानलाई नेपाली वाङ्मयमा उपन्यास किन भन्ने प्रश्नमा विचार पुर्याउने हो भने उपन्यासको शाब्दिक अर्थ तथा यसको तात्त्विक विश्लेषण गर्नु पर्ने आवश्यकता देखिन्छ ।
उपन्यास “उप” र “न्यास,” – दुई शब्दको सन्धिबाट बनेको छ । यहाँ उपको अर्थ हुन्छ निकट अथवा समीप र न्यासको अर्थ हुन्छ थाती । थातीलाई अङ्ग्रेजी शब्दको “ट्रस्ट” सँग तुलना गरिएको छ । ट्रस्टलाई विश्वास हैन तर “नासो” वा “गुठी” वा “धरोट” वा उर्दूको “अमानत” अर्थमा बुझिएको छ । समग्रमा यसको शाब्दिक अर्थले निकटताको बोध गर्छ र समाजको चित्रण गरी समाजलाई नै फर्काउँछ । अतः जुन साहित्यले समाजको निकट रही पात्रहरूको सहयोगले समाजको चित्रण गरी त्यो धरोहर समाजलाई फिर्ता गर्छ त्यो गद्याख्यान उपन्यास हो । यसो भन्दा समाजको पूर्ण चित्रण गर्न यसले वर्णात्मक रूपमा वृहत् विस्तारित हुनुपर्ने हुन्छ, जुन सोर्ट स्टोरी मुभमेन्टको उद्देश्यसँग सटिक बस्दैन । तथापि प्रहेलिकाले संक्षिप्त रूपमा उपन्यासका सबै तत्त्वहरूलाई समेट्न यथेष्ट प्रयास गरेको भने अवश्य छ ।
उपन्यासको स्तर निर्धारण गर्न या कतिको पठनीय छ बुझ्नका लागि छ ओटा तत्त्वहरू अनिवार्य रूपमा आवश्यक देखिन्छन् । ती हुन्- कथानक, चरित्र-चित्रण, संवाद, देश काल परिस्थिति तथा वातावरण, भाषा शैली र उद्देश्य । यी छ तत्त्वमा विशेष ध्यान गरिएर लेखिएको गद्यात्मक आख्यानले रोचकता बढाउनुका साथै पाठकलाई आकर्षण गर्न सक्ने तथा उपन्यासको कोटीमा सटिक बस्छ भन्ने मान्यता छ ।
कथानक तथा कथाको ढाँचाले घटनालाई आपसमा बाँधेर राख्न मदत गर्छ र कथालाई उपर्युक्त दिशा प्रदान गर्छ । प्रहेलिकाको हरेक घटनाहरू कथासँग बाँधिएर अगाडि बडेका छन् । अनुष्काले आफूलाई चिन्नु नै यो कथाको उत्कर्ष (क्लाइमेक्स) हो । त्यसपछिका घटना भने अनुष्काको जीवनको दोस्रो सङ्घर्षको पाटो हो । कथावस्तुको प्लट (कथानक) निर्धारण गर्दा नै लेखकले सर्वप्रथम एउटा निर्णय गर्छ- सत्य घटनामा आधारित कथावस्तु लिने वा कल्पनाद्वारा पात्र र कथाको विस्तार गर्ने । प्रहेलिकामा कल्पनाद्वारा पात्र, कथानक तथा घटनाको विकास भएको छ र यसको आफ्नै विशेषता छ ।
चरित्र चित्रण गर्न लेखकले केही हतार गरे तापनि घटनाको विस्तार र सरल तथा सरस आन्तरिक द्वन्द्व, पात्र-पात्र बिचको सङ्घर्ष र संवादद्वारा चित्रित मनोभावद्वारा घटनाको विस्तार सँगै चरित्रहरू उम्रिएर देखा परेका छन् । जननेन्द्रियको अरुचि तथा अधिकतम अभिरुचिका कारण मानसिक तनावका साथै सम्बन्धमा आउने परिवर्तनलाई अनुष्का, मायल्स तथा रेणु र मिस्टर ब्राउनको सम्बन्धले प्रस्ट्याएको छ ।
पात्रको चरित्र-चित्रण गर्न लेखकले धेरै अनुच्छेद खर्च गरेका छैनन् तर उनीहरूको व्यवहार, संवाद, र रुचि-अरुचिका माध्यमबाट पाठकले उपन्यासमा चित्रित चरित्र तथा पात्रहरूको उमेर, लवाइ-ख्वाई तथा शारीरिक बनावटको परिकल्पना स्वयं लगाउन सक्छ जसलाई लेखकको वर्णात्मक कला भन्न सकिन्छ ।
संवादमा अङ्ग्रेजीको अधिकतम प्रयोगले पाठकलाई केही दिक्क लाग्न सक्छ, तर देश काल र वातावरण तथा परिस्थितिलाई विश्लेषण गर्ने हो भने नेपाली बोल्ने पात्रहरू उपन्यासमा धेरै छैनन् । भए पनि उनीहरू एकै ठाउँ छैनन् । अनुष्का नेपाली भाषी भए पनि उनको विवाह मायल्ससँग भैसकेको छ जो नेपाली बुझ्दैन । केही पात्र जो नेपालीमा संवाद गर्न मिल्छन् तर त्यो फोन मार्फत छोटो भलाकुसारीसम्म नै सीमित छ । तथापि सकेसम्म उपन्यासलाई नेपाली संवाद दिन प्रयास गरिएको छ । संवादमा शुद्ध अङ्ग्रेजी र नेपाली मिश्रण बाहेक कुनै पात्रलाई विशेष डायलोग दिएर अलङ्कृत गरिएको छैन । त्यसैले यदि कुनै एक वाक्य संवादलाई लिएर, “यो कसले कसलाई भनेको हो ?” भनी प्रश्न गरेमा एक पटक ध्यान दिएर उपन्यास पढेको पाठकलाई पनि खुट्याउन कठिन हुनसक्छ । तर अनुष्का र दिदीको संवादमा काठमाडौँको रैथाने बोली झल्किएको छ ।
देश काल र वातावरणलाई भने उपन्यासले धेरै मात्रामा नजरअन्दाज गरेको छ । संयुक्त राज्य अमेरिका, यहाँको ऋतु, मौसम र “हेरिटेज सोसाइटी” को संस्थागत बोक्रे तर आन्तरिक संस्कृति (इन्टर्नल अर्गनाइजेशनल कल्चर) बाहेक देशको राजनीतिक, आर्थिक, सामाजिक, वैधानिक, पर्यावरणीय तथा सांस्कृतिक वातावरणलाई गहिरिएर वर्णन गर्न उपन्यास चुकेको देखिन्छ । यसलाई विस्तृत वर्णन गरिएको भए उपन्यासले औपन्यासिक आकार लिनुका साथै कथावस्तुलाई अझ जीवन्त बनाउन मदत मिल्ने थियो ।
उपन्यासको पाँचौँ तत्त्व भाषा शैलीलाई लिन सकिन्छ जुन केवल संवादभन्दा पृथक् तत्त्व हो । देश काल तथा वातावरण र पात्रको आधारमा भाषा शैलीलाई उखान, लोकोक्ति, व्यङ्ग इत्यादि प्रयोग गरी उपन्यासलाई अझ जीवन्त बनाउन सकिन्थ्यो । यसमा शैली एक प्रकारमा सीमित छ जुन अक्सर आधुनिक नेपाली उपन्यासमा पाइन्छ । लेखकको आफ्नै भाषा-शैली हरेक पात्रमा विद्यमान रहेकाले चरित्र निर्माणमा पनि एकरूपता देखिन्छ । तथापि प्रहेलिकामा शैली नै छैन भन्न मिल्दैन, लेखकको आफ्नै भाषिक-शैलीले पनि उपन्यासको सन्देश विशेष पाठकसम्म पुऱ्याउने सम्भावना अधिक रहेको छ ।
उपन्यासको छैटौँ तथा अन्तिम तत्त्व उद्देश्यलाई मानिन्छ । समय बिताउन र मनोरञ्जन बाहेक पनि उपन्यास लेखन तथा पठनका धेरै उद्देश्य हुन्छन् । उपन्यासको परिभाषाका आधारमा यसको उद्देश्यलाई निर्धारण गर्ने हो भने यसले समाजको लैङ्गिक भेदभाव र कुण्ठाको चित्रण गरी समाजलाई एक महत्त्वपूर्ण सन्देश दिएको छ । समाजमा अवश्य नै धेरै प्रहेलिका खुल्न बाँकी होलान्, कति खुलिएका होलान् यसमध्ये कतिले आफ्नो परिस्थिति स्वीकारेका होलान्, कतिले लक्ष तय गरेर जीवन सुदृढ गरेका होलान् तर कति भने ज्ञानको अभावमा आफ्नो भाग्यसँग सम्झौता गरी रहेका होलान् । त्यस बाहेक अझ धेरैले आफूलाई “सेक्सुवालिटी” का आधारमा नर्मल ठान्दा हुन् र समलिङ्गी तथा अन्य “एलजीबिटीक्यू” मेम्बरलाई उनीहरूको “सिक एपेटाइट” सम्झी घृणाका दृष्टिले हेर्दा हुन् । तिनीहरूलाई केही सन्देश त दिएको छ किनभने संसारमा हामीले दुई लैङ्गिक विशेषतालाई मात्रै मान्यता दिँदै आएका छौँ र बाँकीलाई अप्राकृतिक र असामान्य व्यक्तिगत रुचिको संज्ञा दिएका छौँ । अझै पनि हामीले यस्ता लैङ्गिक विविधताका बारेमा सम्पूर्ण जानकारी पाएका छैनौँ । समलिङ्गी, नपुंसकता, ट्रान्सजेण्डर, तथा एसेक्सुवालिटी इत्यादि व्यक्तिगत रुचि हैनन्, शारीरिक, जैविक, मानसिक तथा अन्य मेडिकल कारणले हुन्छन् र यस स्थितिमा समाजका सबै वर्ग पारदर्शी हुनु र समताको व्यवहार देखाउनु अनिवार्य हुन्छ ।
प्रहेलिकामा एसेक्सुवालिटीका बारेमा मात्रै जानकारी दिइएको छ तर यसले पाठकलाई लैङ्गिक विविधताको विषयमा धेरै महत्त्वपूर्ण चासो र जिज्ञासा छोडेको छ । जो कोहीले यो पुस्तक पढ्छ, उ मानवमा पाइने अरू विशेषता बुझ्न अवश्य रिसर्च गर्छ ।
अतः प्रहेलिकाले समसामयिक सामाजिक समस्या र यसको परिणाम (कन्सिकोएन्सेस), तथा कारण र प्रभाव (कज एण्ड इफेक्ट) थाती राखेर उपन्यासको धर्म वहन गरेको छ । सामाजिक यथार्थ उजागर गरी यसका पात्रहरूले उपन्यासलाई एक यथार्थवादी उपन्यासका रूपमा स्थापित गरेका छन् । उपरोक्त परिस्थितिमा कस्तो व्यवहार अपनाउने, र समाज कस्तो हुनु पर्छ भनी आदर्शको पाठ दिनबाट बचेर आदर्शवादको नाङ्गो स्वाङ यसले गरेको छैन । “क्यूवियन सिगार” को गन्ध सबैलाई सह्य हुँदैन तर आदर्श पत्नी बनेर यसलाई सहन गर्नु पर्छ भन्ने आदर्श बोक्नु वा समाजलाई वाद्य गराउनु अतिवाद हो ।
यस्ता अतिवादका विरुद्ध आफ्नै निर्णयद्वारा आफ्नै आदर्श निर्माण गर्ने मौका हरेक अनुष्का, रेणु र विशेष रहस्य लिएर आएका हरेक प्रहेलिकाले पाएका छन्, जुन अप्राकृतिक हैनन् । पाठकलाई पनि आफ्नो आदर्श आफै तय गर्न यसले शत्रु छोडेको छ । रसिक पाठकले मनोरञ्जनका साथै आफ्नो आदर्श आफै तय गरी हृदय परिवर्तन गर्न सक्छ, तर समाजको वास्तविक स्थिति चित्रण गरी लेखकले यो उपन्यास पस्कनु यथार्थवादको एक परिचय भने अवश्य हो भन्ने मेरो अनुभव छ ।
कुनै पनि विधाका साहित्यलाई सर्वश्रेष्ठ भन्नु भेडो प्रवृत्ति हो तर एक उदयमान समकालीन भुटानी लेखकले नेपाली साहित्यलाई दिन सक्ने योगदानको तुलनामा र पारम्परिक उपन्यासकारहरूको विषयवस्तु भन्दा पृथक् यो उपन्यास पठनीय छ र लेखक जे.एन. दाहाल साहित्यमा यथार्थवाद लिएर आएकामा सम्माननीय छन् । यति समीक्षाले सायद “प्रहेलिका” प्रहेलिका नरहला तर यसमा निहित पहेली भने पुस्तक पढेपछि मात्र खुल्छ । तर यस उपन्यासले यदि तपाईँको चेतनालाई बारम्बार एक प्रश्नरूपी वाणले घोचिरहन्छ भने यसले सार्थकता प्राप्त गर्नेछ भन्ने मेरो विश्वास छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।