नेपाली साहित्यमा नयाँ नयाँ लेखक, अध्येताको सङ्ख्या दिनानुदिन बढिरहेको छ । नयाँ नयाँ चेतना र स्वर लिएर सर्जकहरू साहित्यमा ओर्लिरहेका छन् । वर्तमान स्थितिमाथि विभिन्न कोण प्रतिकोणबाट निरीक्षण परीक्षण र अनुगमन गरी कृतिहरू लेखिइरहेका छन् । बजारमा नयाँ नयाँ पुस्तक पत्रिका देखा परिरहेका छन् । नेपाली साहित्य अब विश्वव्यापी बनेको छ । नेपाल र भारतबाहेक अमेरिका, म्यान्मा, युरोप, खाडी मुलुक, दक्षिण एशिया आदितिर नेपाली साहित्य लेखिन, देखिन र पढिन थालेका छन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, विश्व नेपाली साहित्य महासङ्घ गरी प्रमुख दुईवटा नेपाली साहित्यिक संस्थाहरू नेपाली साहित्यलाई प्रवर्द्धन गर्न लागि परेका छन् ।

नेपाली भाषा र साहित्यको प्रयोग प्रचार-प्रसार, प्रवर्द्धन विकास आदिका क्षेत्रमा पूर्वोत्तर भारतको असमको पनि महत्त्वपूर्ण योगदान रहिआएको छ । असमबाट दिनानुदिन नयाँ नयाँ नेपाली साहित्य लेखकहरूको सङ्ख्या बढिरहेको छ । यहाँको पूर्वदेखि पश्चिमसम्मका जिल्लाका गाउँ र शहरबाट नेपाली लेखकहरूको उपस्थिति पाइन्छ । साहित्यका स्रष्टा र द्रष्टा दुवै खाले लेखकहरू बढिरहेका छन् । पुराना लेखकका हाँचमा नयाँ पुस्ताका लेखकहरू पनि थपिइरहेका छन् ।

असमबाट बाक्लै गरी नयाँ नयाँ नेपाली साहित्यिक पुस्तक प्रकाशित भइरहेका छन्, नयाँ साहित्यिक संस्था संस्था जन्मिइरहेका छन्, गोष्ठी सम्पन्न भइरहेका छन् । असमबाट नेपाली साहित्य समालोचकहरूको कमीलाई पूरा गर्न केही नयाँ पुस्ताका लेखकहरू पनि जुर्मुराएका छन् । असम नेपाली साहित्य सभाले असमेली नेपाली साहित्यको विकासका निम्ति काम गरिरहेको छ । हालसालै स्थापना गरिएको इन्द्रेनी प्रकाशनले भने असमेली नेपाली समालोचना- १, २, ३, गरी हालसम्म तीन खण्डको ग्रन्थमाला र त्रैमासिक इन्द्रेनी पत्रिकाको प्रकाशन गरेर असमेली नेपाली समालोचनालाई ठुलो टेवा दिइरहेको छ । त्यहाँको प्रान्त प्रान्तबाट नेपाली नेपाली साहित्य सर्जक र समीक्षकहरूको सङ्ख्या बढ्दो छ ।

असमकी नवगाउँ जिल्लाको कलियाबरकी एक नारी सर्जक उदीयमान भएकी छिन्- कल्पनादेवी आत्रेय । उनको जन्म २६ अप्रेल, १९७८ मा कलियाबर, नौगाउँ जिल्लामा भएको हो । उनका मातापिताको नाम स्व. नीलिमादेवी र श्री नारायण उपाध्याय हो । उनले आफ्नो विद्यालय अध्ययन कालमा असमिय माध्यमबाट अध्ययन गरेकी हुन् भने उच्च माध्यमिक र बी ए पढ्दा प्रमुख भारतीय भाषाका रूपमा हिन्दी पढेकी हुन् । यस हिसाबले हेर्दा उनले औपचारिक रूपमा नेपाली पढ्न पाइनन् । उनी स्थानीय गाउँमा नै एउटा सरकारी विद्यालयमा अध्यापन गर्दछिन् ।

उनले २०१० मा उनी शैक्षणिक प्रशिक्षण लिएका बेला उनले पाठ्य प्रयोजनका लागि सिर्जना गर्नुपर्दा उनले हिन्दी लेखनबाट शुर  गरेकी थिइन् । यद्यपि उनी आफ्नो भाषा र साहित्यप्रति हुटहुटी लागेर नेपाली भाषामा लेख्ने निर्णय गरेर लेख्न थालेकी हुन् । हालसम्म उनको निबन्धसङ्ग्रह ‘चेतनाको स्पन्दन’ (२०१९), असमीयबाट हिन्दीमा अनूदित ‘मृगतृष्णा के छन्द’ (कवितासङ्ग्रह, २०२२) प्रकाशित कृति हुन् । उनी आफ्नो पति श्री मेघराज आत्रेयसित आफ्नो दाम्पत्य जीवन बिताउँदै सामाजिक र साहित्यिक सङ्घ-संस्थासित पनि संलग्न रही सेवामा रहेकी छिन् । उनी नेपाली सांस्कृतिक सुरक्षा परिषद्, नेपाली सांस्कृतिक आमा मञ्च, हरिहरधाम मन्दिर समितिकी सक्रिय सदस्य रहेकी छन् । यसबाट हेर्दा उनी नेपाली भाषा साहित्यप्रति माया र आकर्षणले समर्पित रही आफ्नो बलबुताबाट अध्ययन लेखन चिन्तन गरेकी हुन् भन्ने कुरा सिद्ध हुन्छ ।

कोरोनाकालदेखि उनी नेपाली साहित्यमा छाएकी हुन् । उनी इन्द्रेनी प्रकाशनसित पनि जडित छिन् । असमेली नेपाली समालोचक खण्ड एक र खण्ड दुई ग्रन्थमा एनका एकेकवटा समीक्षात्मक लेखहरू समावेश छन् । उनका कविता लेखहरू अन्य पत्रिकातिर पनि प्रकाशित हुँदै आएका छन् । उनको एउटा पुस्तक प्रकाशोन्मुख छ- सिर्जना र अभिव्यक्ति

यसमा जम्मा सोह्रवटा लेख रहेका छन् । यसमा रहेका लेखहरू हुन्- ‘हराउँदै गएको संस्कृति र यसको भविष्य’, ‘दशैँ’, ‘त्याग र आत्मवलिदानकी जाग्रत प्रतीक सती जयमती’, ‘असमको काव्यिक धरातलमा छन्दविधा र छन्द कविहरू’, ‘तिजपर्व- अध्यात्म र संस्कृति’, ‘अदम्य इच्छाशक्तिको प्रतीक हो दुर्गादत्त गौतमको महीयसी उपन्यास’, ‘मैले देखेका शतायुपुरूष श्री चन्द्रमोहन छेत्री’, ‘भारतीय संस्कृतिमा नारीको स्थान’, ‘आदिकवि भानुभक्त आचार्य र नेपाली भाषा जगतको एकीकरण’, ‘सोलङका दानवीर तथा समाजसेवक दधिराम उपाध्याय’, ‘भारतवर्षको इतिहास लेखनका विभिन्न स्रोतहरू’, ‘पूर्वोत्तर भारतका जनजातीय भाषाहरू’, ‘तारापति उपाध्यायको साहित्य संस्कृति एवम् धर्मका केही आराधिका मातृहरू – एक विहङ्गम दृष्टि’, ‘कवि विद्यापति दाहालको कविता मञ्जरी – एक तात्पर्य चिन्तन’, ‘विष्णु शर्मा नेउपानेको उपन्यास घामछाँया कति घाम कति पानी’, ‘भारतीय नेपाली जाति एक अवलोकन को बुँदागत अध्ययन’ ।

यसरी हेर्दा यसमा रहेका लेखहरूलाई मूलभूत पाँच वटा विषयगत वर्गीकरण गर्न सकिन्छ- क. व्यक्तित्व परिचय, ख. सृष्टि परिचय, ग. सांस्कृतिक चिन्तन, घ. इतिहास चिन्तन, ङ. नारी चिन्तन । यसमा जयमती, भानुभक्त आचार्य, दधिराम उपाध्याय, चन्द्रमोहन छेत्री आदि जस्ता समाज सेवक र साहित्य सेवकका संक्षिप्त जीवनी र मूल्याङ्कन गरिएको छ ।

त्यस्तै गरी यसमा तारापति उपाध्यायको साहित्य संस्कृति एवम् धर्मका केही आराधिका मातृहरू, विद्यापति दाहालको कविता मञ्जरी, विष्णु शर्मा नेउपानेको ‘घाम-छाँया’ उपन्यास, दुर्गादत्त गौतमको ‘महीयसी’ उपन्यास, लक्ष्मण अधिकारीको ‘भारतीय नेपाली जाति : एक अवलोकन’ जस्ता कृतिहरूको अध्ययन र मूल्याङ्कन गरिएको पाइन्छ । यी कृतिहरूको मूल स्वरलाई उधिनेर पाठकलाई यी कृतिका निम्ति पाठ्य सुगम बनाइदिएकी छन् । यसमा रहेका सांस्कृतिक चिन्तनपरक लेखहरूमा हराउँदै गएको संस्कृति र यसको भविष्य, दसैं, तीज पर्व अध्यात्म र संस्कृति मुख्य हुन् । इतिहास चिन्तनपरक लेखहरूमा भारतीय इतिहास लेखनका विभिन्न स्रोतहरू, त्याग र आत्मबलिदानकी जाग्रत प्रतीक सती जयमती हुन् । त्यस्तै गरी भारतीय संस्कृतिमा नारीको स्थान,  साहित्य संस्कृति एवम् धर्मका केही आराधिका मातृहरू जस्ता लेखमा नारीविषय चिन्तन गरिएको पाइन्छ ।

यस पुस्तकमा मुख्य गरी तीनवटा प्रवृत्ति पाउँछौं- १. चिन्तनपरकता, २. समीक्षण, ३.  मूल्याङ्कनपरकता ।

चिन्तनपरकता

प्रस्तुत पुस्तकमा चिन्तन पक्ष नै सबैभन्दा प्रबल पाइन्छ । चाहे व्यक्तित्व परिचय होस् वा कृतित्व परिचय होस्, लेखिकाभित्रको मनन-चिन्तन गर्ने प्रवृत्तिको प्रमुख भूमिका पाइन्छ । यो पुस्तक लेखनको तयारी गर्दा उनले अध्ययन, मनन, चिन्तन, अन्वेषण, बहस, परिचर्चा आदिको पृष्ठभूमि रहेको हुनुपर्छ । यसलाई विचारप्रधान समीक्षात्मक निबन्धात्मक कृति मान्न सकिन्छ ।

यसभित्र रहेका जुनसुकै विषयमा लेखिए पनि सांस्कृतिक चिन्तनमा नै गएर टुङ्गिएको पाइन्छ । भारतीयका साथै हाम्रो संस्कृतिको विशेषता, प्रवृत्ति, बदलिँदो स्वरूप, ह्रासोन्मुख परिदृश्यबारे चिन्तित हुँदै भविष्यमा यसको संरक्षण गर्नुपर्ने कुरामा सावधानीसमेत व्यक्त गरेकी छन् ।

समीक्षण

कल्पनादेवी आत्रेयभित्र समीक्षणको प्रवृत्ति पनि पाउँछौं । कुनै कृति पढेर त्यसका भावपक्षलाई समात्ने प्रयास गरिएको छ । महीयसी उपन्यास, घामछाँया उपन्यास, कविता-मञ्जरी कविता सङ्ग्रह, असमका छन्दोवादी नेपाली कविहरू, भारतीय नेपाली जाति एक अवलोकन आदि जस्ता कृतिहरूको समीक्षण गरिएको छ । यसमा रहेका समीक्षाहरू कृति पढेर उब्जेका केही पक्षलाई उतारिएका हुनाले प्रभाववादीका रूपमा रहेका छन् ।

छन्दमा कविता र असमका केही छन्दोबद्ध कविता लेख्ने कविहरूको सर्वेक्षण र अध्ययन गरिएको छ । यसमा पुष्पलाल उपाध्याय, छविलाल उपाध्याय, विद्यापति दाहाल, डा खेमराज नेपाल मुख्य हुन् भने अबका केही नव-पुस्ताका कविहरूले पनि छन्दोबद्ध कविता लेखेका छन् । यसरी नयाँ पुस्ताका कविहरूले पनि छन्दमा कविता लेख्दा यसको भविष्य सुनिश्चित छ भन्ने सङ्केत गर्छ । यद्यपि भाव सम्प्रेषण गर्न केही कविलाई छन्दको नियमको निर्वाह गर्दा कठिनाइ पनि पर्नसक्छ । यो त कवि प्रतिभामाथि पनि निर्भर हुन्छ ।

पुस्तकको परिचय दिने क्रममा पुस्तक समीक्षा पनि एउटा हाँगाको रूपमा पाइन्छ । कुनै एउटा पुस्तक पढेर त्यसबाट उब्जेका मानसिक प्रभावलाई समीक्षाका रूपमा लेखिन्छ । पुस्तकका भाव पक्ष, शिल्प पक्ष, अर्थद्यौतन आदिबारे निरूपण हुन्छ । समालोचनाको शुरुवात् मूलतः पुस्तक निरूपणबाट पनि हुन सक्छ । अधिकांश समालोचकहरूले कृति पढेर त्यसका विभिन्न पक्ष केलाउने क्रममा आफ्नो अध्ययनलाई अघि बढाएर लाने गरेको पाइन्छ । यस पुस्तकमा पनि पुस्तक समीक्षा गरिएको पाइन्छ । उदाहरणका रूपमा कवि विद्यापति दाहालको कविता मञ्जरी एक तात्पर्य चिन्तन भन्ने लेखमा केही कविताहरूको तात्पर्य केलाउँदै तिनका विशेषता र पद प्रयोगबारे चर्चा गरिएको छ ।

त्यस्तै गरी विष्णु शर्मा नेउपानेको उपन्यास घामछाँयाको चर्चा गर्दा विष्णु शर्माको संक्षिप्त परिचय, उपन्यासको सैद्धान्तिक परिचय, घामछायाँ उपन्यासको कथावस्तुबारे प्रकाश पारिएको छ । यद्यपि यहाँ उनले उपन्यासको विपठन भनेकी छन् । कृति पढेर त्यसभित्रको आफ्नो आफ्नो बुझाइ हुन्छ र प्रत्येक पाठकको एकेक पठनलाई विपठन भन्न खोजिएको हो । पठनलाई विपठन भन्ने प्रचलन उत्तर आधुनिक समालोचनामा रहेको पाइन्छ । यहाँ कल्पनादेवीले घामछाँया उपन्यासबारे बुझेका तथ्यहरू प्रस्तुत गरिएको छ । यद्यपि यहाँको समीक्षणलाई उत्तर आधुनिक समालोचनाभित्र राख्न मिल्दैन । समीक्षकले बुझेको, सुझेको कुरालाई अघि ल्याएर त्यसलाई विपठन भनिन् जुन उनको लेखकीय इमानदारिता हो ।

मूल्याङ्कनपरकता

यसमा रहेका केही लेखहरूको प्रवृत्ति मूल्याङ्कन रहेको पाइन्छ । चाहे कृति होस् वा कृतिकार वा समाजसेवक, सबैलाई धेरथोर मूल्याङ्कन गर्ने प्रयत्न गरिएको छ । यसमा मूलतः दुई प्रकारका मूल्याङ्कन छन्- कृतिपरक र व्यक्तित्वपरक । यसमा छन्दोबद्ध कविता लेख्ने केही प्रमुख कविहरू, ‘महीयसी’ र ‘घामछाँया’ जस्ता उपन्यास र उपन्यासकारद्वय दुर्गादत्त गौतम र विष्णु शर्मा न्यौपाने तथा भानुभक्त आचार्य, लक्ष्मण अधिकारी र तिनको कृति ‘भारतीय नेपाली जाति एक अवलोकन’, तारापति उपाध्यायको ‘साहित्य संस्कृति एवम् धर्मका केही आराधिका मातृहरू’, कवि विद्यापति दाहाल र तिनको ‘कविता मञ्जरी’ जस्ता साहित्यिक कृति र कृतिकारको लेखाजोखा र मूल्याङ्कन गरिएको छ । नेपाली कविता क्षेत्रमा विद्यापति दाहालको योगदान स्तुत्य छ । उनको काव्यकारितामाथि अझै धेरै समीक्षा हुनुपर्छ । कल्पनादेवीका विचारमा विद्यापति दाहालको काव्यिक चेतना खोतलेकी छन् ।

यसै गरी समाजसेवक चन्द्रमोहन छेत्री, दानवीर दधिराम उपाध्याय, सती जयमती आदिको जीवनीपरक मूल्याङ्कन गरिएको छ । सती जयमतीका इतिहासका कुरा असमका प्रायः सबैलाई थाहा होला तर असमबाहिरका नेपाली पाठकलाई नयाँ र रोचक लाग्दछ । त्यसै गरी पूर्वोत्तरका विभिन्न भाषाहरूको सर्वेक्षण र सूचि पनि असमबाहेक अन्यत्रका पाठकका लागि पनि नयाँ तथ्य लाग्छ । लेखिकाको उद्देश्य नै यसमा भएका प्रायः जम्मै लेखहरूमा नै मूल्याङ्कन गर्नु हो । सर्जकको कलमलाई पाठकलाई चिनाउनु, योगदानको कदर गर्नु, मूल्याङ्कन गर्नु जस्ता महत उद्देश्य निहित छ ।

उपसंहार-

यस पुस्तकमा रहेका सोह्रवटा लेखहरूले आफ्नो आफ्नो महत्त्व, विशेषता, उद्देश्य र चिन्तनलाई अघि बढाएका छन् । यस सङ्ग्रहका आधारमा अध्ययन गर्दा कल्पनादेवीलाई स्रष्टा र दुवै मान्न सकिन्छ । उनी एक समीक्षक र निबन्धकार दुवै व्यक्तित्वले भरिएको पाउन सकिन्छ ।

उनी एक स्वतन्त्र लेखिका हुन् । उनलाई नेपाली भाषा साहित्यप्रेमी, एक सचेतक र चिन्तकका पुन सकिन्छ । उनी कुनै एउटा साहित्यिक सिद्धान्त, वाद, प्रणाली र पक्ष आदिका आडमा नरही आफ्नो चेतना, मौलिक विचार र चिन्तन, कर्तव्य, हुटहुटी, अन्वेषण, दृष्टिकोण, वैयक्तिक र सामूहिक चेतना आदिले युक्त भएकी लेखिका हुन् । यसभित्र चिन्तन पक्ष सबैभन्दा प्रबल पाइन्छ भने मूल्याङ्कन, समीक्षण, तथ्यात्मकता, जानकारी पनि पाइन्छन् । कतै गहिरो अध्ययन, कतै तथ्यात्मकता, कतै विश्लेषण, कतै भावुकता आदि गुण र विशेषता पाइन्छ । यसमा सृष्टि पनि छ दृष्टि पनि छ । यसमा निबन्ध पनि छ साथै समीक्षा पनि छ ।

कल्पनादेवी आत्रेयको कलम नरोकियोस्, उनको अध्ययन, लेखन, मनन, चिन्तन आदि बढेर एउटी अझै दह्री लेखिकाको रूपमा उन्नति होस्, उनका कलमले त्यहाँका नवीन-प्रवीण सबै खाले लेखकहरू प्रकाशित हुन्, उनको दृष्टिले समाजमा नदेखिएका, नचिनिएका, नबुझिएका, नसुझिएका, वास्ता नगरिएका कुराहरू स्पर्शित भएर प्रज्ज्वलित बनुन्, उनको यो जोस र जाँगर दिनानुदिन बढेर जाओस् भन्ने उनको साहित्यिक उज्ज्वल भविष्यको कामना गर्दछु ।

यसमा विशेषगरी जातीय, सांस्कृतिक, धार्मिक, नारी अस्मिता, साहित्यिक, इतिहास, भाषिक आदि कुराहरूमा चिन्तन गरिएको छ । यसमा रहेका प्रायः जसो लेखहरूको मूल नै चिन्तन हो । चाहे हाम्रा दशैं-तिहार, तीज र अन्य सांस्कृतिक पर्व, हाम्रो जीवनशैलीभित्र विद्यमान  सांस्कृतिक पक्ष हुन्, चाहे कुनै कृतिभित्र होस्, चाहे कुनै व्यक्तित्वपरक होस्, उनले चिन्तन पक्षलाई नै पक्रेकी छन् । पूर्वोत्तरका विभिन्न जनजातिका भाषिक स्थितिमाथि पनि आफ्नो चिन्तन गरिएको छ ।