ताराहरू चम्किरहेको रात– ‘तारकिणी’ । निशाचर होइन तारा, तर अँध्यारो नै त्यो चम्किनका लागि अनुकूल हुन्छ । त्यस्तै कवि राजेन्द्र तारकिणीका लागि तपाईं–हाम्रै समाजमा विद्यमान विकृति, चित्त नबुझ्दो परम्परा एवम् राजनैतिक तुवाँलोका कारण छाएको अन्धकार काव्य–जगत्मा चम्कनका लागि आधारभूमि बनेको छ । यसै क्रममा उनी ‘बिगन रामको मादल’ लिएर काव्याकाशमा चम्किएका छन् ।

खरीविनाको, मात्र आकारजनित मादलको थोते विवरबाट निस्किएका रौनक नआउने ताल भोको पेटको शक्तिहीन आवाजजस्तै लाग्छ, तालढाल नमिलेको । धेरै बटुवाको ध्यान खिच्न नसकेको । छेउ लागेको थोत्रो मानिने जिन्दगी बोकेको ‘बिगन राम’लाई उठाएर कवि तारकिणीले काव्यरूपी बहस दिन खोजेको विषय सूक्ष्म भईकन पनि गहन छ ।

बिगन राम, मादल, घण्टाघर र राष्ट्रिय झण्डाको एकधरो अंकित आवरण–दृश्यले इतिहासदेखि नै समाजमा व्याप्त पक्षपात, थिचोमिचो, उत्पीडन र उपेक्षा बोलिरहेको छ । घण्टाघर समय–कालखण्डको प्रतिबिम्ब हो, जो यहाँका अनेकन् घटना–परिघटना र परिवर्तनको साक्षी छ । जमलको आकाशे पुलसम्म त्यस साक्षीको नजर पसारिँदा बिगन रामको मैलो जीवनमा पर्छ । पुलमा मादल ठटाउँदै मागीखान बाध्य पारिएको एक मानववर्ग-एक अस्तित्व, थोत्रो मादलजस्तै जति ठटाए पनि ताल आउन नसकेको सामाजिक व्यवस्थामा माथि उठ्न सकेको छैन । यस कृतिमा कविले लाखौँ बिगन रामहरूको जीवन र सामाजिक धरातल खोतल्ने प्रयत्न गरेका छन् ।

बिगन राम तराई–मधेसमा तथाकथित तल्लो मानिएको दलित जातिको प्रतिनिधि पात्र हो । ऊ दृष्टिविहीन छ र मादल ठटाएर जमल पुलमा जीविकोपार्जन गर्दछ । जो सामाजिक प्रतिकूल वातावरणमा सहरको घुइँचो, कोलाहल र प्रदूषणबीच मैलिएर, खिइएर बाँच्न अभिशप्त छ । रित्तो हात पसार्न अप्ठेरो लागेर मादलको गाला चड्काउँदै दानका लागि याचनारूपी आर्तनाद घन्काउँछ । उसको दरिद्रता झल्किने शारीरिक स्वरूपले र मादलको अडमिल्दो तालले देशको वर्तमान कालखण्ड र अवस्थिति तथा वर्गीय यथार्थ झल्काउँछ । विदेशी दान र भिखमा राज्य चलेको छ । बाहिर जति समृद्धिका नारा घन्काए पनि भित्र खोक्रो भइरहेको राष्ट्र बिगनराम र उसको मादलको प्रतीक भएर बोलेको छ । ‘बिगन रामको मादल’ देशको र जनताकै समस्याग्रस्त जीवनको प्रतीक बनेर आएको छ ।

कविको सावितीअनुसार यस कृतिमा समाविष्ट कविताहरू ‘कनिकुथी’ लेखिएका होइनन् । यी त उच्चतम सुख वा गहिरो दुःखबाट प्रस्फुटन भएका अनुभूति-अभिव्यक्ति हुन् । अर्थात् हृदयको आवाज । कवि तारकिणीलाई आफै बाँचेको देश, काल, परिस्थिति, पात्र, घटना इत्यादिले बेस्सरी हिर्काएपछि वा कुनै कुराको सुखानुभूति भएपछि आफसेआफ प्रस्फुटन भएका शब्दहरूबाट निर्मित यी ‘संरचना’हरू हुन्, जसलाई उनी कविता भन्न रुचाउँछन् । सचेत पाठकका आँखाबाट कविता मात्र नभई यी उत्कृष्ट ‘फुटकर काव्य’ हुन् । बाहिर शान्त देखिने कविभित्र अशान्त उथलपुथल छ, जुन काव्यरूपी हतियारका रूपमा प्रकट भएको छ । विसङ्गतिविरुद्ध काव्य–हतियार उद्याउने अनि आवेगको हुरी–हुन्डरी मच्चाउने कलमजीवीजस्ता लाग्छन् कवि तारकिणी ।

====

कविताहरू केलाएर हेर्दा

यस सङ्ग्रहभित्रका कविताहरूलाई बिस्कुनझैँ रेलेर केलाउँदा कहिले कर्णालीको नुनको कथादेखि सुदूर अपीका पाखा र भीरबाट त कहिले सामाजिक विभेदका आधारभूमिबाट हेलित–पेलित एवं पीडित तप्काको आवाज कविले बोलेका छन् । ‘समय कोलाज’को साथमा ‘भोकको पोस्टमार्टम’ गरेर कवि तारकिणी ‘ईश्वरको अदालतमा बयान’ दिँदै अरब भूमिसम्म चहारेका छन् ।

सन् २०१४ मा अन्तर्राष्ट्रिय स्तरको कविता प्रतियोगितामा प्रथम पुरस्कार जितेको ‘कविता लेख्न बस्दा’ उनको सशक्त कविता हो । गर्वलाग्दो देशको प्रकृति–संस्कृति र जहान परिवार त्यागेर विदेशी लहरोमा डोरेपिङ खेलिरहेका लाखौँ युवाहरूलाई ‘हिमालको सग्लो कविता लेख्न’का निम्ति फर्कन सङ्कल्परूपी आग्रह गरिएको छ । परदेसिएका युवाहरूको नोस्टाल्टिया, गृहप्रेम, विवशता र माटोको माया मुटुबाट मेट्न नसकिएको मार्मिक शब्दबिम्बमा यो कविता बुनिएको छ ।

‘बिगन रामको मादल’ र ‘कुच्चिएको स्टिलको भाँडो’ नेपाली समाज र सडक किनाराको ‘किस्मत’ पक्कै होइनन्, परिस्थितिजन्य उपज हुन् । यी समय, समाज र देशको अवस्थाका बिम्ब बनेर समेत प्रस्तुत भएका छन् । देशको युवाशक्ति, श्रम र अर्थ बाहिरिएको, प्राकृतिक–सांस्कृतिक पर्यावरण बिग्रिएको अनि पुर्खाको इतिहास उडन्ते मिथकजस्तै बनेको, हरबार बेथिति देखिने वर्तमान नेपालमा आम नेपालीको आँसु आर्द्र बनेको छ । आयातित खसीको परिपाक चबाउँदै आयातित चामलकै अक्षता लगाउँदा दशैँलाई उमङ्गको ‘राष्ट्रिय पर्व’ मान्न नसकिने विचार व्यक्त गर्ने कविको राष्ट्रवादी भाव समेत कविता छचल्किएको छ ।

देशमा राष्ट्रवाददेखि जनवाद–समाजवाद भन्दै नारा अलाप्ने ध्वाँसे नेताहरूलाई ‘दक्षिणायन’को रोगले गाँजेपछि क्रान्ति र विद्रोहका रापताप चिसिँदै-खुम्चिँदै गएकोमा कविभित्र व्यङ्ग्य–तरङ्गको सुनामी मडारिएको छ । क्रान्ति–नायकहरू पुरानै ‘सामन्ती’ दरबारका दिवालमा नयाँ रङ लगाएर आनन्दको श्वास लिन बानी परेका, सत्तालिप्सामा लीन हुँदै समाजवादी सपनाको ‘थारो फ्याक्ट्री’ खोलेको देखाउने सत्ता–राजनीतिका ठेकेदारहरूलाई कवि गतिलो व्यङ्ग्य प्रहार गर्छन् । हिजोका दिनमा पुरानो सामन्ती एवं जर्जर संस्कृतिका विरुद्ध धावा बोलेकाहरू आज आफै नवसामन्त बनेका छन्, क्रान्तिलाई पूर्णता दिन नसकी घरको न घाटको बनाइएको देख्दा कवि आक्रोशित छन् ।

नेपालको सार्वभौमिकतामा ‘ब्वाँसो’जस्तै चाल खेल्ने छिमेकीले विस्तारवादी झण्डामुनि अन्तर्राष्ट्रमा भाइचारा बिकाएर शत्रुताको कैँची चलाउनु छिमेकी–धर्म हुन सक्दैन भन्ने कविको विचार छ । नेपालको मूल कानूनमा पञ्जाछाप लगाउन खोज्नुभन्दा आफ्नै देशको संविधान मिलाउन उक्त छिमेकीलाई सुझाव दिने कवि अझै सन् १९५० सुगौली सन्धिमा दृष्टिगोचर गर्न हाँक दिन्छन् । ‘दसगजा’मा कालो झन्डा बोकेर आफ्नै देशलाई ‘नाकाबन्दी’ गर्ने बृजलाल (प्रतिनिधि पात्र)हरू आफ्ना टुहुरा छाप्राहरूको दुर्गति हुनुको खाटी कारणबारे अनविज्ञ छन् । तर सच्चा राष्ट्रभक्तहरूको धमनीको ‘वीर रगत’ उम्लिएको दर्शाउँदै छिमेकीको उक्त हर्कतलाई ‘नाकाबन्दी’ नभई ‘विवेकबन्दी’को संज्ञा कविले दिएका छन् ।

कवि तारकिणीलाई आजको मान्छे मन परेको छैन, खतरनाक लाग्छ । विज्ञानको आधुनिकताको खोलभित्र देखिने ‘क्रर र क्रुद्ध दैवी मस्तिष्क’ बोकेको मानिस, जस्तै: लादेन, हिटलर र ट्युम्यानहरूको सनक एवं आणविक आदेशको दासता सहनुपर्ने विवशता उनलाई मन पर्दैन ।

‘प्रतिध्रुवको वक्तव्य’मा उनी फरक मतहरूको एकत्रित रूप भएर देखा परेका छन् । समाज र व्यवस्थाले अलगथलग पारेको, मिचेको, दबाइएकाहरूको आवाज र आक्रोश यस खण्डमा व्यक्त छन् । विभेदकारी व्यवस्थामा शासकवर्ग मुसल बनेको र शासित वर्ग ओखल अनि अचानो भएर ताडना सहन विवश बनेको बिम्ब प्रकट छ । शक्ति, सत्तारूपी ध्रुवको विरुद्धमा कवि अर्को ध्रुव बनेर हाँक दिइरहेको आभास हुन्छ ।

यस सङ्ग्रहमा प्रेम–कविता पनि उत्तिकै सरस र गहन लाग्छन् । ‘गुलाब युद्ध’मा ठट्टेउलो हास्य मिश्रित शृङ्गारिकतालाई स्थान दिएका छन् । यसमा कविले प्रेमीलाई मिजासको हिमाल, प्रेमिकालाई मायाको सागरको रूपमा वर्णन गर्दै, तर कहिलेकाहीँ हुने ठाकठुक र घोचपेचमा एक–अर्कालाई काँडा, सुख्खा भीर र सिउँडीको रूपमा  चित्रण गरेका छन् ।

====

बिम्ब, भाव र अलङ्कारको कसीमा

काव्य हेतुका तीनवटै तत्त्व (प्रतिभा, व्युत्पत्ति र अभ्यास) मा कवि तारकिणी प्रतिस्पर्धा गर्न सक्ने हैसियत राख्छन् । स्रष्टा वा काव्यपारखीलाई यस कृतिले विभिन्न लाभ दिने क्षमता राख्छ । तसर्थ यस कृतिले काव्य प्रयोजनमा पनि महत्त्वपूर्ण स्थान लिन सक्ने निश्चित छ । शब्द शक्ति (अभिधा, लक्षणा र व्यञ्जना) मा कवि अभ्यस्त छन् । काव्यको रसात्मक आनन्द व्यङ्ग्यप्रधान उत्तम भावमा हुने हुन्छ र प्रस्तुत कृतिमा समाविष्ट कविता आफैमा उत्कृष्ट छन् ।

काव्यरसको तिर्खा मेटाउन वीर, रौद्र, शृङ्गार, करुण, अद्भुत आदि रसहरू क्रमशः अँजुलीमा थाप्न सकिन्छ । काव्यिक आभूषण मानिने अलङ्कार र बिम्ब यी कविताहरूमा अत्यधिक राज गर्न सफल छन् । शब्दालङ्कार र वाच्यार्थको चमत्कारमा काव्यको आत्मा बोल्छ । रस ध्वनि र अलङ्कार ध्वनिको आधिक्यतामा कवि सरस शैलीमा हौसिएका छन् । कविताहरूमा वस्तुध्वनि, रसध्वनि र अलङ्कार–ध्वनि सबैतिर छरपस्टिएकाे देखिएकाले ध्वनिवादी दृष्टिले यो कृति आलोच्य हुन सक्छ ।

‘बिगन रामको मादल’ भित्रका ५५ (पचपन्न) पाठ कविता सबैमा बिम्बको आधिक्यता छ । अर्थात् प्रस्तुत कृति बिम्बै–बिम्बको माला बन्न पुगेको छ । प्रसिद्ध कवि भूपि शेरचनको पदचापलाई पछ्याउँदै मौलिक बिम्ब प्रयोगमा हातेमालो गर्न सक्षम कवि तारकिणीलाई ‘बाटो भुलेको कमिलो’ बन्न आवश्यक छैन । उनको उज्ज्वल काव्ययात्राको कामना गर्दै यस सङ्ग्रहका कवितामा प्रयुक्त सशक्त बिम्बहरूमध्ये केही अंश उद्धृत गर्न चाहन्छु :

 

‘कसौँडीभरि रापिलो दुःख पिएर

भतभत… भातले लय हाल्दा मुग्ध हुन्थिन् आमा ।’ (कविता लेख्न बस्दा)

 

‘चियाको कपमा एउटा रगताम्मे अनुहार छचल्किन्छ ।’ (अखबार)

 

‘भूगोलजस्तो न खगोलजस्तो पाठेघरबाट

जबरजस्ती धकेलिरहन्छ एकएक नयाँ बिहान ।’ (झर्न बाँकी पातहरू)

 

‘घाम त मैला हातहरू बीचबाट उदाउँछ

पटपटी फुटेका, चरचरी चिरिएका

हातहरूकै डिलबाट अस्ताउँछ ।’ (घाम उदाउने हातहरू)

 

‘धरती बहुलायो

नियम–उपनियमका तमसुकहरू उल्टापुल्टा परे ।’ (नयाँ जीवनको खाका)

 

‘अजिङ्गरजस्तो लम्पसार परेको सिमानाबाट

निर्बाध भित्रिएको छ विषाक्त शीतलहर’ (आँसुको आर्द्रता)

 

‘ढोकामा पिङ खेलिरहेछ

खियाले म्वाइँ खाइसकेको ताल्चा ।’ (दशैँरामको डोरबेल)

 

‘भेलको तन्नामै बसेर मैले यस सालको बर्खा कटाएँ

तुसारोको पलङमै सुतेर मैले गत सालको हिउँद कटाएँ ।’ (नेता–रोग लागेको मान्छे)

 

‘सपनाका चल्ला कोरल्ने भनिएको उसको दारीमा

तुसारो ओइरिन थालेदेखि देशभित्र सपनाहरू मरिरहेछन् ।’ (बिगन रामको मादल)

 

‘कुच्चिएको कोदालीले

थाप्लोमा पसिनाको कुलो खनिरहेँ… ।’ (अपिको प्रतिच्छायामा)

 

‘प्याज नकाटीकनै

सेतीको भासझैँ भत्किन्छ उसको आँसुको डिल ।’ (बिरभानको शहर)

 

‘जिन्दगीका कयौं लोलीगाडहरू साउनको बुई चढी

एकैसाथ गडगडाएर गए । (मङगली बज्यैको बिहे !)

 

‘असङ्ख्य राता फूल बोकी

अन्तिम श्रद्धाञ्जली दिन घाम क्षितिजबाट ओर्लिन्छ ।’ (प्रतीक्षालयको बूढो यात्री)

 

‘काँक्रोको पहेँलो फूलझैँ

तिम्रो यो चञ्चलता कति चाँडोचाँडो

फुल्दै छ, झर्दै छ… ।’ (काँक्रो)

 

‘न्यायको सूर्यले आत्महत्या गरेको दिनदेखि

यहाँ औँसी पोतिएको हो ।’ (अस्वीकृत दीपावली)

 

‘त्यो थोत्रो टेपरेकर्डरजस्तो

भग्न राष्ट्रियताको गीत

उत्पीडनका कोर्रा बर्साएर

बजाइने त्यो सामाजिक सद्भावको शङ्ख… ।’ (डाइनोसरको खण्डहर)