विषय प्रवेश

नीलकण्ठ न्यौपाने जीवनका छत्तीस वर्ष शिक्षण पेसामा सम्बद्ध रहेर धेरैका ज्ञानका आँखा खोल्ने कार्यमा लागे । सत्र वर्षको उमेरमा आएर अक्षर चिन्ने अवसर पाएका न्यौपाने आफूलाई बुद्धि प्राप्त होस् भनी नौ दिनसम्म रम्भादेवीको प्रार्थना गरेपछि ज्ञान खुलेको बताउँछन् ।

साहित्य साधनामा लागेर दर्जनभन्दा बढी कृति, फुटकर कविता, विचारमूलक लेख तथा स्तम्भ लेखनमा समेत पहिचान बनाएका न्यौपानेका नाटक, कविता र अन्य सामग्रीहरूका अप्रकाशित पाण्डुलिपि रहेको उल्लेख पाइन्छ । श्रमसाधना (२०७६) महाकाव्य यिनको साहित्यिक यात्राको विशिष्ट प्राप्ति हो ।

२०८१ को प्रारम्भमै ज्योतिर्गमय आत्मकथा प्रकाशनमा आएको छ । यो नीलकण्ठ न्यौपानेका जीवनको अभिलेख पनि हो । २००६ सालमा जन्मेका न्यौपाने शिक्षक, संगठक, किसान, साहित्यकार, पुराणका मीमांसक, अठार महापुराण वाचक तथा सामाजिक व्यक्तित्वका रूपमा परिचित छन् । हिम-सरिता नामक महाकाव्यको लेखनमा रहेका न्यौपाने कालो अक्षरभित्रको सेतो प्रकाशले नै आफ्नो जीवनलाई सार्थक बनाएको निष्कर्ष निकालेका छन् । जीवनप्रतिको विश्वास, कर्मप्रतिको निष्ठा र सङ्घर्षबाट खारिएको व्यक्तित्व नै यिनको पहिचान हो । यस लेखमा न्यौपानेको पछिल्लो कृति ज्योतिर्मय माथि प्रकाश पारिएको छ ।

० ० ० ०

उज्यालो जीवनको कथा ज्योतिर्गमय

यो नीलकण्ठ न्यौपानेद्वारा आफ्नै जीवनीलाई केन्द्रित गरेर लेखिएको आत्मकथात्मक कृति हो । कुल एक सय चौहत्तर पृष्ठमा संरचित यस कृतिमा विभिन्न छत्तीस वटा शीर्षकहरू समेटिएका छन् । प्रश्रित प्रतिष्ठानको उन्नाईसौँ प्रकाशन शृङ्खलाका रूपमा रहेको यस कृतिमा पाल्पाको पूर्वखोला र आसपासको क्षेत्र, त्रिवेणी, भारतको हरिद्वारको परिवेश अङ्कित भएको छ ।

बाल्यकाल तथा सत्र वर्षसम्मको समय घाँसपात, गाईगोठालो र खेती किसानीमा बिताएका न्यौपानेलाई आमाले पढ्नुपर्छ भन्ने बोध गराएपछि मात्र पढाइतर्फ मोह जागेको पाइन्छ । अनौपचारिक रूपमा आफ्नै दाजु जीवनाथ न्यौपानेसँग साउँ अक्षर चिनेका न्यौपाने पाल्पाको हुँगी र नवलपरासीको त्रिवेणीमा गएर शिक्षा लिएको चर्चा पाइन्छ । यस क्रममा गुरु लोकहरि अर्यालको सल्लाहमा रम्भादेवीको प्रार्थना गरेपछि मात्र विद्या खुलेको कुरा प्रस्ट पारिएको छ ।

१८ देखि २४ वर्षसम्म हरिद्वारमा अध्ययन गरी शास्त्री उत्तीर्ण गरेर नेपाल फर्किएको कुरालाई प्रकाश पारिएको छ । हरिद्वारमा रहँदा व्यक्तित्व विकासका साथै ज्ञानको स्तरलाई माथि उठाएको देख्न सकिन्छ । २०३० सालमा पाल्पाको ताहुँस्थित रम्भा माविमा मावि शिक्षकका रूपमा नियुक्ति लिई २३ वर्ष ताहुँमा सेवा गरेको र त्यसपछिका १३ वर्ष आफ्नै जन्मथलोको उद्बुद्ध मावि पूर्वखोलामा सेवा गरी २०६६ सालमा अवकाश लिएको सन्दर्भ उल्लेख गरिएको छ । यिनको अवकाशप्राप्त जीवन पनि सक्रिय रूपमा बितेको पाइन्छ ।

अवकाश भइसकेपछि के गरौँ र कसो गरौँ भन्ने छटपटी भएको बेलामा शास्त्रको अध्ययनतर्फ रुचि जागेको कुरा उल्लेख गरिएको छ । १८ महापुराण र ९ वटा उपमहापुराणको वाचन गरी समापन गर्दाको दिन जीवनमा सार्थक एक दिन बाँचेको अनुभूति भएको कुरा व्यक्त गरिएको छ ।

यसै क्रममा श्रमसाधना महाकाव्यको लेखन भएको र त्यसको विमोचन हुँदाको दिन अर्को एक दिन सार्थक जीवन बाँचेको अनुभूति पाइन्छ । यो कृति पढ्दै जाँदा एउटा बोधो दिमाग भएको गोठालो के कसरी ज्ञान प्राप्त गरेर सार्थक जीवन बाँच्दो रहेछ भन्ने दृष्टान्त पाठकलाई प्राप्त हुन्छ । जीवनप्रतिको आस्था, लगनशीलता, कठोर सङ्घर्ष र सङ्कल्प भएमा मानिसले जीवनमा ठुलो फड्को मार्न सक्छ भन्ने सन्देश यस कृतिमा प्रवाहित भएको पाइन्छ ।

नीलकण्ठ न्यौपाने कुशल संगठक पनि हुन् । नेपाल राष्ट्रिय शिक्षक संगठनप्रतिको अविचलित आस्था र विभिन्न कमिटीमा बस्दै ३ पटकसम्म पाल्पा जिल्लाको अध्यक्षका रूपमा नेतृत्व गर्नुले पुष्टि गर्दछ । संगठनमा रहँदा आर्थिक पारदर्शिता कायम गर्नका लागि देखाएको निष्ठा, आन्दोलनको नेतृत्वको नेतृत्व गर्नुका साथै संगठनको इतिहास लेखन कार्यमा पनि भूमिका खेलेको देखिन्छ । सुरुदेखि नै वामपन्थी विचारतर्फ झुकाव राखेका कारण सत्ताको आँखी बन्नुपरेको कुरा प्रकाश पारिएको छ ।

२०४८ सालपछि नेकपा एमालेको समीपमा रही राजनीतिक विचार प्रवाह गर्नेदेखि संगठन निर्माणमा लागेको कुरा उल्लेख गरिएको छ । निष्ठाको राजनीतिको अपेक्षाका साथै शुद्धीकरणको आवश्यकता रहेको मर्म कृतिमा उल्लेख पाइन्छ । राजनीतिमा शुद्धीकरण नआउँदा सामाजिक मूल्य स्खलित हुने विचार पनि व्यक्त भएको पाइन्छ ।

आफ्नो पारिवारिक अवस्थालाई कृतिमा महत्त्वका साथ प्रकाश पारिएको छ । सुरुमा गरिबीको सामना गर्नुपरेको, गरिबीकै कारण समयमा पढ्न नपाएको, जेठो छोरो भएकाले परिवारमा धेरै सङ्घर्ष गर्नुपरेको सन्दर्भलाई उल्लेख गरी संयुक्त परिवारमा रहँदाका राम्रा र नराम्रा पक्षलाई पनि प्रकाश पारिएको छ । बाबाको स्वभाव, आमाको ममता, दिदीहरूको विवाहपछि घरको जिम्मेवारी सम्हाल्नुपरेको अवस्था, भाइबहिनी सानै भएकाले दाम्पत्य जीवनको समेत प्रवाह नगरी घरमै खटिनुपरेको स्थिति, सन्तान जन्मन ढिलो हुँदा सुन्नुपरेका प्रतिक्रिया, परिवारको एकताका लागि निष्ठा र इमानमा चेलेको आत्मस्वीकृति तर कहिल्यै जस नपाएको गुनासो पनि व्यक्त भएको छ । अग्रजहरूप्रतिको आदरभाव अनि पारिवारिक  एकताका लागि आफूले खेलेको भूमिकालाई उत्साहका साथ प्रकाश पारिएको छ ।

हरिद्वारमा अध्ययन गर्दा विभिन्न संस्थाहरूमा संलग्न हुनुका साथै अतिरिक्त क्रियाकलापमा सक्रिय भएर लागेको सन्दर्भ प्रकाश पारिएको छ । ‘सगरमाथा’ पत्रिका प्रकाशन गरिएको र त्यसमा आफ्नो रचना छपाएको सन्दर्भ उल्लेख पाइन्छ । यससँगै साहित्यतर्फ रुचि जागेको र कलम चलाउँदै आएको कुरा व्यक्त गरिएको छ । पुरेतको मुखमा बुजो (२०३४) यिनको पहिलो काव्य रहेको र यसमा विद्रोही चेतना मुखरित भएको देखिन्छ । यसपछि क्रमशः अरू काव्यकृतिहरू प्रकाशित भएको सन्दर्भलाई उठाइएको छ ।

यिनका सिर्जनामा सामाजिक परिष्कार, आत्मानुशासन, देशभक्ति, संस्कृतिप्रेम, राष्ट्रिय एकता तथा जागरणका स्वरहरू मुखरित भएको पाइन्छ । विद्यार्थी र शिक्षण जीवनमा नाटक लेख्ने, अभिनय गर्ने तथा अरूलाई अभिनय गर्न लगाइएको, ती नाटकहरू अप्रकाशित पाण्डुलिपिका रूपमा रहेको, थुप्रै कविताहरू अप्रकाशित अवस्थामै रहेको कुरा चर्चा गरिएको छ । फुटकर कवितादेखि महाकाव्यको साधनामा यिनलाई सफलता प्राप्त भएको छ ।

यस कृतिमा धेरै पात्रहरूको सन्दर्भ जोडिएको पाइन्छ । धेरै पात्रहरूप्रति कृतज्ञताभाव व्यक्त भएको छ भने केही प्रतिकूल चरित्रका मानिसहरूको सन्दर्भ पनि उठाइएको छ । परेवा, कुकुर तथा गाईप्रतिको सद्भाव पनि देख्न सकिन्छ । पूर्वखोलाको शैक्षिक तथा राजनीतिक जागरणका अगुवा ईश्वरी आचार्य, आफूलाई शैक्षिक तथा स्वास्थ्य सचेतनाको जग हालिदिने गुरु तथा भानिज दाइ लोकहरि अर्याल, ताहुँमा शिक्षण गर्दाका सहकर्मी साहित्य तथा राजनीतिमा मार्गदर्शन गर्ने व्यक्ति कृष्णभक्त देवकोटा तथा माता र पितालाई आदर्श र अनुकरणीय पात्रका रूपमा चित्रण गरिएको छ । जीवनबोधका साथमा उनीहरूप्रति कृतज्ञताभाव प्रकट भएको पाइन्छ ।

कृतिमा समेटिएका अन्य पात्रहरू धेरै छन् । साहित्य क्षेत्रका पूर्वज तथा समकालीन व्यक्तिहरू, शैक्षिक प्राज्ञिक व्यक्तित्वहरू, सामाजिक राजनीतिक क्षेत्रका व्यक्तिहरू तथा  पारिवारिक नातासम्बन्धका व्यक्तिहरूलाई सन्दर्भानुकूल उल्लेख गरिएको छ । यसैगरी प्रतिकूल चरित्रको पनि उल्लेख गरिएको छ । छुद्र प्रवृत्तिका मानिसलाई मर्ममा पुग्ने गरी प्रहार गर्नुका साथै असल व्यवहारको आग्रह पाइन्छ । गोठाला कालको नाइकेलाई निरङ्कुश, दम्भी र अविवेकी चरित्रका रूपमा प्रस्तुत गरिएको छ । शासकवर्ग, मुद्दामामिलामा फसाउने व्यक्तिहरू, कुभलो चिताउने परपीडकहरूलाई प्रतिकूल चरित्रका रूपमा उपस्थित गराइएको छ ।

आफूले जीवनमा धेरै सङ्घर्ष गरेको कुरालाई ठाउँठाउँमा व्यक्त गरिएको छ । शास्त्री उत्तीर्ण गर्दाको क्षण, ताहुँमा पहिलोपल्ट नै माविमा नियुक्त हुँदाको क्षण, विद्यार्थी शिक्षक र समाजसँगको सुमधुर सम्बन्धलाई जीवनको सुखद प्राप्तिका रूपमा लिइएको छ ।

यसैगरी अठार महापुराण वाचनको समाप्तिको दिन, श्रमसाधना महाकाव्य विमोचनको क्षणलाई जीवनकै सुखद र अविस्मरणीय क्षणका रूपमा लिइएको छ । सामाजिक यशकीर्ति, विद्वता, शैक्षिक पुरस्कार, मानसम्मान प्राप्तिलाई पनि प्रस्तुत गरिएको छ । आमालाई प्रथम कर्ता बनाएर अठार महापुराण वाचन गरी आमालाई सन्तुष्टि दिनसकेकोमा एउटा पुत्रका रूपमा जीवन सार्थक भएको मर्म व्यक्त भएको पाइन्छ ।

जीवनमा बेलाबेलामा झेल्नुपरेका शारीरिक पीडा र झन्झटलाई पनि कृतिमा व्यक्त गरिएको छ । बाल्यकालमै रोगाग्रस्त भएको, चिसोको असरले गर्दा बाथको बिरामी, रुखबाट लडेर अचेत रूपमा घाइते बनेको, पुराण वाचन गर्ने क्रममा टाउको दुखेर उपचारका क्रममा अचेत भई ढलेको र टाउकामा रगत जमेकाले शल्यक्रिया गर्नुपरेको अवस्था, वीभत्समय सपनाका कुरा, भूतप्रेतले तर्साएका कुरा पनि उल्लेख गरिएको छ ।

अठार महापुराणको सार लेखन गर्ने र हिम-सरिता महाकाव्य लेखन पूरा गर्ने धोको रहेको कुराका साथै अझै अध्ययनशील र सिर्जनशील बनूँ भन्ने अपेक्षा भाव व्यक्त भएको छ । कृषि तथा पशुपालनको राम्रो प्रस्तुति तथा पुस्तातरणले ल्याएको समस्या अनि मूल्यमान्यता स्खलित हुँदै गएको अवस्थाप्रति गहिरो चासो व्यक्त भएको पाइन्छ । केही मात्रामा वणर्विन्यासीय त्रुटि, केही रूपमा पुनरावृत्ति र केही पात्रलाई रहस्यमै राख्नुजस्ता केही सीमाहरू भेट्न सकिन्छ ।

० ० ० ०

निष्कर्ष

नीलकण्ठ न्यौपानेका एकल कृतिहरूमध्ये बाह्रौँ कृतिका रूपमा यो आएको छ । यसलाई नीलकण्ठ व्यक्ति एक आयाम अनेकका रूपमा लिन सकिन्छ । बाल्यकालदेखि आजपर्यन्तका इतिवृत्तात्मक घटनाहरू शृङ्खलाबद्ध रूपमा आएको पाइन्छ । नायकको जीवनदर्शन र आस्था मिहिन रूपमा प्रकट भएर आएको छ । ठाउँठाउँमा अहं प्रकाशन र महत्वाकांक्षाको प्रस्तुति पाइन्छ । पारिवारिक उठान र एकता कायम गर्नमा आफूले गरेको योगदान अनुरूप मूल्याङ्कन नभएको कुरा पनि उल्लेख गरिएको छ । पारिवारिक दाम्पत्य जीवन, श्रीमती गंगाको आगमनपछि परिवारमा क्रमशः समृद्धि छाएको अनुभूति पाठकले गर्दछन् ।

अन्तिम क्रममा रहेको ‘कालो अक्षरभित्रको सेतो प्रकाश’ शीर्षकको लेख निष्कर्ष वा उपसंहारका रूपमा आएको स्पष्ट हुन्छ । जीवनमा ज्ञान वा शिक्षाको महिमालाई आफ्नै जीवनको पृष्ठभूमिबाट प्रस्ट पार्ने काम गरिएको छ । केही अलौकिक घटना र सन्दर्भहरू लेखकको आध्यात्मिक रुझानका रूपमा आएको पाइन्छ ।

ठाउँठाउँमा यात्राको झलक पाइन्छ, जसले आफूसँगै पाठकलाई हिँडाउन सफल भएको देख्न सकिन्छ । निजात्मक शैली र प्रस्तुतिले निबन्धात्कतालाई पछ्याएको पाइन्छ । एक दुई पदका वाक्य तथा विशिष्ट पदक्रमको विन्यासले अभिव्यक्तिमा काव्यात्मकता झल्किएको देखिन्छ । प्रथम पुरुष दृष्टिबिन्दुकै सेरोफेरोमा विषय र विचारको सम्प्रेषण भएको देखिन्छ । आत्म अनुशासन र निष्ठालाई उठाउने कुरामा लेखक सचेत रहेको देखिन्छ । लेखक आफूले भोगेको युग, परिवेश, प्रथा, चालचलन, दुःखकष्ट र अभावको सजीव प्रस्तुतिले कृति सङ्ग्रहणीय रहेको छ । नयाँ पुस्तालाई महत्त्वपूर्ण सामग्रीका रूपमा यो कृति आएको स्पष्ट हुन्छ ।