‘सुकरातका पाइला’ डाक्टर गोविन्दराज भट्टराईको बहुचर्चित औपन्यासिक कृति पढ्ने सुअवसर भर्खरै मिल्यो । मुगलान, मेरो दोस्रो बेलायत यात्रा, निर्वाचित निबन्धावली भर्खरै पढेकी थिएँ । नेपाली साहित्य जगतमा सुपरिचित नाम हो डाक्टर गोविन्दराज भट्टराई । उपन्यास, निबन्ध, नियात्रा, अनुवाद, समालोचना र बौद्धिक विमर्शले युक्त अनेकौँ पुस्तकहरू उहाँका प्रकाशित छन् ।

भट्टराईका कृतिमा प्रस्तुत गरिएका विषय, विचार, दर्शन, समय र सन्दर्भको उठानमा साहित्यको व्यापकता, बहुलता, विविधता र नवीनता छ । अन्तर चेतना गहिरो छ । उहाँका साहित्यमा विमर्श, चिन्तन र दर्शनका साथै यथार्थ घटनाहरूको जीवन्त प्रस्तुति छ ।

उहाँका कृतिहरू पढ्दा उहाँका लेखनीबाट म निकै प्रभावित भएँ । मैले पढेको उहाँको पछिल्लो कृति सुकरातको पाइला पढ्दै गर्दा बडो बिस्मात पनि भयो ‘यस्तो कृति पढ्न मैले किन विलम्ब गरेँ भनेर ।‘ अनि  जिज्ञासु भएर म सुकरातका पाइलामा डुब्दै गएँ । मेरै समय कालमै भोगेका, देखेका, सुनेका यथार्थ घटनाहरू मिहिन तरिकाले उपन्यासको रूपमा यसरी पढ्न पाउँदा म पुनः त्यही समयमा फर्किएँ । जुन अप्रिय समय मेटेर कहिल्यै नामेट हुँदैन । जनयुद्ध इतिहास मात्र होइन मेरा लागि, वर्तमान र भविष्य पनि हो ।

आफूले भोगेको त्यो आततायी समय  हृदयमा आज पनि दौडिन्छ । ऊर्जाशील समयमा सन्त्रास बोकेर निसास्सिएको पल म कसरी भुलौँ ? जनयुद्धको छर्रा अझ पनि मेरो मस्तिष्कभरि छरिएको छ । भुल्न नसकिने अतीतको नमीठो स्मृति आखिर हामी सबैको हृदयमा शूल बनेर बसेको छ । पुस्तक पढ्दै गर्दा अतीत वर्तमान बनेर छर्लङ्ग आँखा अगाडि प्रकट भयो । आज पनि त्यो विद्रूप समय मेरो विवशतामा खित्का छोडेर हाँस्छ । आफ्नै आँगनमा बगेको रगतको खोलो नाघेर हिँडेकी थिएँ । त्यो रगतको खोलो अश्वत्थामा भएर मेरो अगिपछि हिँडिरहन्छ आज पनि ।

सुकरातका पाइला २७ शीर्षकमा फैलिएको छ । प्राकृतिक रूपमा सुन्दर नर्फोक गाउँबाट कथा आरम्भ हुन्छ । अनन्त प्रमुख पात्र भएर आएको छ । सम्पूर्ण उपन्यास अनन्तमा नै केन्द्रित छ । गाउँकै क्याम्पसबाट स्नातक तह पार गरेपछि ऊ अन्योलमा पर्छ । मनले विभिन्न बाटाहरू खोज्छन् । अभिभावक बिहे गर्ने कुरा गर्छन् । हेर्दाहेर्दै कयौँ साथीहरू जङ्गल पस्छन् । अनन्त उच्च शिक्षा हासिल गर्ने सपना बुन्छ । घरी विदेश पलाएन हुने वाञ्छा राख्छ । समय बडो अन्योलग्रस्त छ । जङ्गल पस्ने संस्कृति मौलाएपछि समाजले बिस्तारै आफ्नो स्वरूप फेर्न थाल्छ ।

अनन्त भविष्यको सुनौलो सपना बोकेर, आफ्नी प्रियसीलाई बडो भारी मनले  गाउँमै छोडेर, भोलिको रमाइलो सपना बुन्दै, कल्पनामै प्रियसीले स्नातक तह पूरा गरेपछि सँगै काठमाडौँमा बस्ने योजना बुन्छ । गाउँको प्रेमिल वातावरण छोडेर कयौँ स्पृहा लिएर गाउँबाट हिँडेको युवा अनन्तले भोगेको समयको कथा बडो हृदयविदारक छ । अनन्तको काठमाडौँ यात्रावर्णन उत्कृष्ट छ । रोमाञ्चकारी छ । समग्रमा सभ्यताको सारांश छ । काठमाडौँ सहर घुम्दा घुम्दै ऊ उच्च शिक्षाको लागि कीर्तिपुर पुग्छ ।

विद्यार्थी राजनीतिको तरङ्गमा ऊ पनि मिसिन्छ । अराजक समयको क्रन्दन बडो कोलाहलपूर्ण छ । गुरुलाई विद्यार्थीहरूले गर्नुपर्ने आदरभाव, मानसम्मानमा तुषारापात आएको समय निकै ऐँठन पार्ने किसिमको छ । चन्दा आतङ्क, अपहरण, धम्की, भौतिक कारबाही, दबाब, प्रभाव, राजनैतिक हस्तक्षेप आदि संस्कृति मौलाएको श्रद्धाहीन समयले बौद्धिक जगतलाई हायलकायल पारेको तितो यथार्थ बडो पीडादायी छ । विश्वविद्यालयको पवित्र भूमिमा अन्योलग्रस्त र विखण्डित मन लिएर भौँतारिएको अनन्तको भेट प्राध्यापक सुकरातसँग हुन्छ । अराजक समयले निर्माण गरेको सामाजिक, आर्थिक र राजनीतिक मनोविज्ञानलाई सजिलै अनुभूत गर्न सकिन्छ ।

युवाहरूको गिर्दो मनोबल, जीवनप्रतिको नैराश्य आम युवाहरूको दारुण अवस्थाको प्रतिनिधित्व अनन्तले गरेको छ । अनन्त विक्षिप्त हृदय लिएर सुकरातको नजिक पर्न थाल्छ । विश्वविद्यालमा पनि कहाँ सबैजना सुकरात छन् र ? सुकरातको वाणी सापट लिएर हृदयमा क्रूर शासकलाई लुकाएर बसेका बौद्धिक जगत् यत्रतत्र छरिएर बसेका छन् । दार्शनिक सुकरातका गुरु गम्भीर प्रवचन सुन्न थालेपछि बिस्तारै अनन्त जीवनको सार्थकता केलाउँदै जान्छ ।

चारैतिर युद्ध, आतङ्क, विकृति, विसङ्गति र निराशाजनक खबरहरू फैलिएको समयमा म्यानपावर कम्पनीको कालो कर्तुत उद्घाटित हुन्छ । सोझासाझा नेपाली जनताको पीर, व्यथा नामेट हुने दिन कहिले समाप्त हुँदैन। ठगहरूको फन्दामा चारैतिर फस्दै छन् नेपालीहरू । म्यानपावर कम्पनीले गरेको ठगी खप्न नसकेर अनन्तका गाउँले दाजुभाइ भक्तमान र चित्राखरले गरेको आत्महत्याले अनन्त निकै तनावग्रस्त हुन्छ । पूर्णिमाले मिलिसियाको तालिम लिएको खबर अनन्तको लागि प्रीतिकर हुँदैन । पश्चिमी पहाडको सदरमुकाममा भएको भीषण आक्रमणमा परी आफ्नी प्रियसीको बीभत्स मृत्यु सुनेर अनन्त विषादमा पुग्छ ।

देश तथा देश बाहिर आइपरेका अनेकौँ  उद्दण्डताका घटनाहरू देख्दा अनन्तलाई पीडाबोध हुन्छ । ऊ निकै संवेदनशील पात्र छ । उता इराकमा पनि म्यानपावर कम्पनीको लापर्बाहीले गर्दा निरपराध नेपाली युवाहरूले ज्यान गुमाउनु परेको विकराल घटना उपन्यासमा आएको छ । इराकमा घटेको घटनाको तरङ्गले उत्पन्न भएको आक्रोश म्यानपावर कम्पनीहरूको घर घरमा आगो भएर फैलिन्छ ।लुटपाट र तोडफोडको शृङ्खला आरम्भ हुन्छ । जीवन समापनको अवस्थामा नेपाली दाजुभाइ पुगेको टिठ लाग्दो समय छ ।

एकातिर क्षमतावान् युवा दोहोरो भिडन्तमा परेर लासको थुप्रो भएको विकराल अवस्था छ । मृतकहरूको लास गाड्न पनि भ्याइएको छैन । मान्छेलाई घाइते पारे जिउँदै बोरामा बाँधेर जङ्गलमा फालिएको दृश्य छ । यस्तो अवस्थामा जीवनसँग लड्दै हिँडेको युवा अनन्त सुकरातको दर्शनबाट उत्साहित हुन्छ । ज्ञान, विज्ञान, साहित्य, कला र दर्शनबाट जीवन जिउने वास्तविक कला सिक्दै गरेको युवा राजनीति, सामाजिक र आर्थिक परिवेशमा रुमलिँदा रुमलिँदै जीवनसँग हार खाएर निराशताको मार्गमा झुन्डिन पुग्छ ।

एउटा युगलाई कलात्मक तरिकाले उपन्यासको रूपमा ‘सुकरातको पाइला’ आउनु बडो गर्वको कुरा छ । शीर्षकहरू पनि बडो उत्कृष्ट छन् । विषयवस्तु र प्रसङ्गसँग हरेक शीर्षकको नामाकरण गरिएको छ । सुकरातका पाइला पढ्दा मैले तरेको त्यो रगतको खोलोबारम्बार सुसायो। अतियथार्थको धरातलमा बुनिएको कथा बडो हृदयस्पर्शी छ, मार्मिक र कारुणिक छ । मलाई पुस्तक पढ्दै जाँदा यस्तो लाग्यो , ‘विष, भाँग, धतुरो खाएर  शिवजी विचेत हुँदा गर्नुपर्ने  महत्त्वपूर्ण कार्य भुलेको कथा सुनेर हुर्किएकी म । मलाई बडो अचम्म लाग्थ्यो,  आदरणीय पात्र ईश्वर कसरी मस्त निदाउन  सक्छ ? कसरी आफ्नो कर्तव्य भुल्न सक्छ ?  नसाको लतमा ईश्वर कसरी भुल्न सक्छ ?आखिर शिवले किन खोजे भाँग ? यस्ता प्रश्नहरूको रोटेपिङ मस्तिष्कमा खेलिरहन्थ्यो ।

साहित्यको विराट आँगनमा धरमराउँदै  उभिएर हेर्दै गर्दा कानैमा आएर नित्सेले भने  ईश्वरको मृत्यु भैसक्यो । म झल्याँस्स भएँ, ठुलै विद्वान् हुन पत्याउनै पर्‍यो उनका कुरा, दिग्गजहरूले  पत्याए मैले पनि पत्याएँ । तर ईश्वर मान्दै आएको हृदय दोधारमा पर्‍यो । घरी ईश्वर छन् जस्तो लाग्छ घरी छैन जस्तो लाग्छ । सुकरातको पाइला पढ्दै गर्दा ईश्वर त घोर पश्चात्तापमा परेको थाहा भयो । चेतनशील, संवेदनशील र करुणा विगलित हृदय भएको मानव निर्माण गर्ने ईश्वर पनि कसरी संवेदनाशून्य भयो ?

ईश्वरको सर्वश्रेष्ठ सिर्जना मानव कसरी यति क्रूर भयो ? कसरी नरसंहार गर्न उद्वेलित भयो ? कसरी मान्छेले मान्छेलाई कुभिन्डो काटे जसरी काट्न सक्यो ? छलछाम, धोका, लुट, चन्दा, भिडन्त, जुलुस, नारा, बम, बारुद , बन्द, शङ्का, घृणा र तिरस्कारको कालो समय आखिर प्रबुद्ध मानवले किन सिर्जना गर्‍यो ?  मान्छेले मान्छेकै रगतको होली खेलेको त्यो विनाशकारी समयको साक्षी हुनुपरेकोमा आज पनि हृदय कम्पित छ । सिरानीमा भविष्यको सुन्दर सपना सजाएर आनन्दको निद्रा पिउने समयमा मैले पनि हातमा मार हान्ने खुकुरी बोकेर निदाएको यथार्थ अझ ताजै छ ।  जनयुद्धलाई स्मरण गर्दा जहिले पनि मेरो मन व्यथित हुन्छ ।

डाक्टर गोविन्दराज भट्टराई ईश्वर, मानव र समयलाई यसरी गम्भीर भएर व्यङ्ग्य गर्छन् , ‘ ईश्वरले सुन्दैन । त्यो छैन, छ भनेपनि अपाङ्ग भएको छ, भनौँ मानिस जस्तै ईश्वर पनि संवेदनाशून्य भएको छ । समयसँगै ईश्वर पनि बदलिन्छ । आजको ईश्वरले सुन्ने, देख्ने, अनुभव गर्ने आफ्ना इन्द्रियको संवेदनशीलता पूर्ण रूपले गुमाइसकेको छ । मानिसले सिर्जना गरेको विकराल पर्वतहरू थाम्न नसकेर आज ईश्वर बेहोस छ । यी दुर्लङ्घ्य पर्वतहरू ढुङ्गामाटाका होइनन्, हिउँका होइनन्, यी ता विनाशका, संहारका, शोकका, अङ्कारका, दम्भ, अन्धकार र बर्बरताका हुन् । ईश्वरले सृष्टिको बेला यस्ता पर्वत नाघ्ने उपाय सोचेको थिएन । मानिसले सधैँ उसैको गीत गाइरहला भन्ने ठानेको थियो; तर आज ऊ बन्दुकको गीत गाउने भयो । अहिले त्यो सोच्ने बेला बितिसकेको छ । ईश्वर छ भनेपनि ऊ पश्चात्तापमा छ ।“( पृष्ठ ७० )

बडो गहिरो चिन्तन छ स्रष्टाको विचारमा । विविध विषयहरूलाई बहुपक्षबाट गहिरो चिन्तन, मनन र अध्ययन गरेर सिर्जना गरिएको यस कृति पठनीय, अध्ययनीय र सङ्ग्रहणीय छ । समय, सन्दर्भ र विषयवस्तुलाई सुन्दर तवरले प्रस्तुत गरिएको अक्षरहरूको रङ्गमञ्च हो सुकरातको पाइला । बहुअर्थ बोकेको शीर्षक पढ्दै पुस्तकले मलाई निकै आकर्षित गरेको थियो ।

नवीन चेतनाको प्रयोगले सुकरातका पाइला निकै सुस्वादु भएको छ । भ्रान्तिको प्रयोग रोमाञ्चकारी छ । कति घटनाहरू घटेकै हो जस्तो पनि लाग्छ, भने कतै भ्रान्ति हो जस्तो पनि लाग्छ ।  मायावी घटनाहरूको प्रसङ्गले सुकरातको पाइलालाई विशिष्ट तुल्याएको छ ।

सकुरातका जीवनसँग सम्बन्धित विचार र दर्शन मननयोग्य छन् । सुकरातका विचारले जीवन जिउने कला सिकाउँछ । चैतन्यको मार्गमा डोर्याउँछ तर आन्तरिकताको मार्ग टालिएको यो अशान्त समयमा सुकरातहरू नै हेमकल हातमा लिन विवश छन् । राजनैतिक, सामाजिक, आर्थिक र पारिवारिक परिस्थितिले सुकरातहरू विष पिउन बाध्य छन् ।

सुकरातका पाइलामा स्पष्ट देखिन्छ मानवले विवेक गुमाएको त्यो दश वर्षीय जनयुद्ध र त्यसले निर्माण गरेको अन्धकारको युग । युद्धको पिरो वातावरण सम्झिँदा आज पनि हाम्रा आँखा पोल्छन्। युद्धले मानवतालाई क्षतविक्षत पारेको त्रासदीपूर्ण काल आज पनि फनफनी हाम्रो अगाडि घुम्छ । अविवेक, अज्ञान र अहंकारको कालोमुस्लो मानव हृदयमा मडारिएको  बेला प्रभाती सूर्य साँच्चै कालो थियो ।

सुकरातका पाइलामा सुनिन्छ युद्धको दोहोरो मारमा परेका मानव हृदयको चीत्कार, म्यानपावर कम्पनीको मनपरितन्त्र, इरानमा १२ जना नेपालीहरूले भोग्नु परेको हृदयविदारक दृश्य । विश्वविद्यालयभित्र गरिएको घिनलाग्दो राजनीति, सुन्दर गाउँहरू खण्डहर भएको समय, युवाहरूको मनोबल गिरेको पल, नेपालबन्दको अत्यासलाग्दो कालखण्ड । शिक्षालयमा ताल लगाएर जङ्गलतिर मोडिएको  भविष्य ।युवाशक्तिलाई विपरीत धारमा लगेर ज्ञानको मूललाई टुक्राटुक्र पारेर छिनालेको अमानुषिक व्यवहार । बन्दुकको सङ्गीत गुञ्जिएको घर आँगन । बारुद र बमको धूप सल्काएर गरिएको नेपाल आमाको अभ्यर्चना । भाइभाइको रगत पोखेर खेलिएको होली । संरचनालाई ध्वस्त पारेर हाँसेको समृद्धि ।

असमझदारीलाई अँगालेर निर्माण गरेको घृणित खेलले आखिर ठूलो विनाश निम्त्यायो ।ज्ञान, विवेक र शान्तिलाई सती पठाउँदा उत्पन्न भएको पराकम्पन आज पनि महसुस हुन्छ । युद्धको सन्त्रासले आज पनि हृदय काम्छ । व्यक्ति, समाज, परिवार र राष्ट्र निर्मम रूपमा घाइते भएको समय हो ‘सुकरातको पाइला’ ।

अनिता कोइराला