यो भयावह युद्धमा जीवनहरू हराउँछन् । समाजहरू चकनाचुर हुन्छन् । न्याय हराउँछ । युद्धले गम्भीर सत्यको सामना गर्न बाध्य तुल्याउँछ ।
“लुगा राख्नु बाकसमा
हवाईजहाज आउँछ आकाशमा ।
हातको बन्दुक हानाहान, मिसिन गनको गोली
तोपको गोली छरपस्ट
मान्छे मार्यो भरस्ट ।
कलि जुगे राजाको रिस त राख्छ आँखामा
सिपाई मर्यो पाखामा
आई भ्यायो बिपत्ति
राजा मरे कुन गति
सिपाई मरे यो गति
दुनियाँलाई दुःख मत्तै छैन एै कतै
सम्झी ल्याउँदा खेरी त
मनै हुन्छ भरङ्गै । ”
एक सय वर्ष नाघिसक्यो । माथिको यो बेनामी गीतको सफर । यो लोक भाका हाक्पारे पालम शैलीको चर्चित भाका हो । यो भाकालाई एक वर्षअघि उपेन्द्र सुब्बाको चलचित्र “जारी” ले नेपाली समाजमा अझ धेरै चर्चित बनायो । सय वर्षअघि पहिलो विश्व युद्धमा जर्मनद्वारा युद्धबन्दी बनाइएका गोर्खा सैनिकले युद्धबारे गाएको गीत हो । लेखकको ठाउँमा बेनाम लेखिएको छ ।
युद्धमा सिपाही कसरी मर्छ ? लेखकको नजिकै पाखाभरि लाश छ । राजा मर्नु र एउटा सिपाही मर्नुको गहिरो अन्तर रहेको गीतले भन्छ । विनाशकारी वास्तविकता र यसको खाडलमा लडेका सिपाहीहरूमा युद्धको गहिरो प्रभावलाई चित्रण गरेका छन् पहिचान हराएको लेखकले । युद्धको बेला अनगिन्ती युवा पुरुषहरू युद्ध मैदानमा फैलिएको हिलो, जाडो, खतरनाक खाडलहरूको जालमा फसेका थिए । यी खाडलहरू मृत्यु र निराशाको अकल्पनीय प्रतीकको रूपमा परिणत भयो । सिपाहीहरूको शव मात्रै हैन, उनीहरूको आशा, सपना र आकाङ्क्षाहरू पनि सस्तो चिहानमा परिणत भए ।
“गोर्खाली युद्धबन्दीका लोकभाका र कथा” डा. अल्का आत्रेय चूडालको पुस्तकमा फुटकर गीतहरू अन्तर्गत प्रकाशित छ । यो गीत युवा युद्ध बन्दीको मनको चरम अत्यास अनि निराशाको कथन हो । जो उनीहरूको तत्कालीन शासक राजाहरूले निम्त्याएका थिए ।
पहिलो विश्वयुद्धको प्रताडना पीडा अनि आशुको तथ्य बोकेको डा. चूडालको यो पुस्तक सय वर्ष अघि जर्मनीद्वारा युद्धबन्दी बनाइएको गोर्खाली सेनाको रेकर्डेट आवाज हो । जर्मनीले वेस्टर्न फ्रन्टमा दक्षिण एसियाका सैनिकहरूलाई बन्धक बनाएका थिए । सन् १९१५ को प्रारम्भबाट नै बर्लीन देखि लगभग चालीस किलोमिटरको दुरीमा रहेको चोसनको हाल्बमोन्डको “हाफ मुन शिविर”मा गोर्खा युद्धबन्दीलाई राखिएको थियो । चूडालका अनुसार त्यो शिविरमा तीन सय भन्दा धेरै गोर्खाली बन्धकहरू थिए ।
विश्व भाषा सङ्ग्रहालय
पहिलो विश्व युद्ध चलिरहेकै बेला थियो । भाषाको समृद्ध सङ्ग्रहालय बनाउने जर्मन शिक्षक विलहेल्म डोगेनको योजना बन्छ । यसै अनुरूप सन् १९१५ अक्टोबरमा रोयल पर्सियन फोनेटीक कमिशनको स्थापना हुन्छ । डोगेनकै सल्लाहमा जर्मनी र अस्ट्रियाका अन्तर्राष्ट्रिय युद्ध बन्दी शिविरहरूमा भएका पचास भन्दा धेरै देशका नागरिक र सैनिकहरूको विभिन्न भाषाका नमुना सङ्कलन हुन्छ । विश्वभरका भाषाको एउटा समृद्ध सङ्ग्रहालय तयार गर्ने उद्देश्यले थियो । यो कमिशनले संसारभरका सबै भाषाहरूको नमुना युद्धबन्दी शिविरमा कम लगानीमा अध्ययन गर्न सक्थे । फोनेटिक कमिशनले बन्दीहरूले प्रतिनिधित्व गर्ने देशको भाषा, गीत , सङ्गीत वर्णमाला उच्चारण र कथाहरू रेकर्ड गरे ।
ती बेला दुई सय भन्दा धेरै भाषामा १६ सय भन्दा धेरै युद्धबन्दीको आवाज रेकर्ड भएका थिए । दोस्रो विश्वयुद्धमा केही नष्ट भए पनि बाँकी रहेका डिजिटल फाइल हाल हुम्बोल्ट विश्वविद्यालय, जर्मनीको ध्वनि सङ्ग्रहालयमा सुरक्षित राखिएको छ । “गोर्खाली युद्धबन्दीका लोकभाका र कथा” अध्ययन नेपाल प्रज्ञाप्रतिष्ठानले विसं २०७७ प्रकाशित गरेको हो ।
सय वर्ष अघि जर्मनीमा युद्धबन्दी भएका गोर्खालीहरूको गीत, कथा अनि आत्मकथा पढेपछि पुर्खाले बाँचेर मरेको त्यो पलले साह्रै नमिठा चिमोट्यो । जर्मनसँग विश्वयुद्ध ताका पहिलो पङ्क्तिको सिपाही हुनु भनेको तर्क गर्नु हुँदै हैन, गर या मरको पहिलो कर्तव्य हुन्छ । युद्धको समयमा सिपाहीहरूको त्याग र दृढ सङ्कल्पले नै युद्धको छिनोफानो हुन्छ । मात्र आदेशहरूको पालना गर्नुपर्छ । अझ गोर्खा सिपाहीहरूको त अरूको भूमि, रुकै आदेश पालना गर्न, रुकै देशमा अलपत्र थिए । गोर्खा सिपाहीहरूले बुझ्छन् कि उनीहरूको काम जोखिमहरूको सामना गर्नु हो । जहाँ उसको बलिदान पनि हुन सक्छ ।
विश्व जित्ने सपना बोकेको जर्मनको युद्धनीति अनुसार, जर्मनीको हाफ मुन बन्दी शिविरमा राखिएका बन्दी सैनिकहरूलाई जर्मनले “भाडाका सिपाही” मानेको हुनुपर्छ । उनीहरू बेलायतको नागरिक थिएनन् । बन्दी शिविरमा राखिएका दक्षिण एसियाका सैनिकहरूलाई आफ्ना मालिक विरुद्ध बगावतको लागि तयार गर्नु पनि जर्मनको तत्कालीन युद्धनीति हुनुपर्छ ।
इलामको सिलाम फकफके तोरी तेल चुन्छ तुरुरु
जर्मनको देशमा कैदै भयो मन रुन्छ धुरुरु
नेपालै ज्यानको सेतोलाई माटो रातोलाई कमेरो
प्यारीको माया म कति गरूँ जिउ भयो चमेरो (बिर्ख राई)
युद्ध विवेकहीन छ । दिशाहीन आवेग छ । प्रेम भुत्लोभाङ छैन तर युद्धबन्दी सिपाही कसैको प्रेममा छ । उनलाई दिन रात जस्तो छ, लाग्छ उसको चमेरो जस्तो हविगतको भएको छ । सन्सार उल्टो देखिरहेको छ । सिपाहीहरू प्रायः अराजक र घातक वातवरणमा रुमलिन्छन् । अराजक परिस्थिति र निरन्तर खतराको सामना गर्दा सिपाहीहरूले आफ्नो जीवनलाई दुःखद रूपमा काट्नु बाहेक कुनै लक्ष भेट्नै सक्दैनन् किनकि ऊ गोर्खा सिपाही हो ।
एक सय दश वर्ष अघि सङ्ग्रहित गोर्खालीहरूको भाका, भाषा, गीत, कथा र गीत अनि लेखोटहरूबाट गोर्खालीहरूको डर त्रास अनि युद्धको विषाद मनोदशालाई आफैले दर्शाएका छन् । उनीहरू लडाकु थिए, लेखक थिएनन् । जे मनले भोगे जस्ताको तस्तै लेख्नै सकेनन् “मनमा छ भन्न सकिएन” । कति कति नलेखिएका व्यथाहरू उनीहरूसँगै हराए । नभनिएका, नलेखिएका र रेकर्ड नगरिएका उनीहरूको भाव कति छन् कति ?
आकाशै भरी नौलाख तारा म गन्न सक्दिन
पेटको कुरा यै मुखमा छ मै भन्न सक्दिन ।
हातैमा राइफल कम्मरमा पेटी बन्दिलो भरुवा
कि मरिजाउँला जर्मनको देशमा कि बाँची फिरुँला ।
अँधेरी रात गुहेँलो पाक्यो चरीको रोदन
जर्मनी राजको धेरै छ बातचित के कहूँ वेदन । (वीरबहादुर गुरुङ)
विश्ययुद्धको युद्धबन्दीका गोर्खाहरू आफ्नो कथा भन्न फर्किए कि फर्केनन्, इतिहासमा कुनै दस्ताबेज भेटिन्न । मरेकाहरू कहाँ मरे, कति मरे, यसको बेलायत र नेपालसँग कुनै जवाफ छैन । युद्ध यति भयानक हुन्छ । युद्धको क्रूरता र विनाशकारितालाई यी रचनाहरूमा नजिकबाट महसुस गर्न सक्छौं । फेरि पनि युद्धले परिवर्तनको चेतनालाई बोकेको हुन्छ । युद्ध चाहने देशले यसलाई रोमाञ्चित अनि महिमा दिएर पनि व्याख्या गरिरहन्छ । तर त्यो भन्दा पनि बढ्ता यसले निम्त्याउने विनाशकारी नतिजा र मानवीय पीडालाई बढवा दिन महत्त्वपूर्ण हुन्छ । जुन दिन युद्धको भयावहतालाई स्वीकार गरेर यसप्रति कडा घृणा गर्न सक्छौं त्यो बेला मात्रै हामी मान्छे बन्छौं । नेपाली श्लोक भजन शैलीमा युद्दबन्दी गजबल थापा भन्छन् ।
जिल्ला हो तनहुँ गजबल म हुँ, मेरो विपत क्या कहूँ
नौकरीको भरले अति गरी पिर्यो कैद कुर्ने मै हुँ ।
राजा बादशाहको सबै हजुरले जल्दी मिलाई दिनु
धावाको जति काम हो हजुरले साङ्गे बनाइदिनु
यस नरक देखि हामीलाई भगवान् जल्दी उकासी दिनु ।
भक्तैको उपर कृपा गरी हजुरले पारै उतारी दिनु ।। (गजबल थापा, श्लोक भाका)
युद्धमा परिचय हराउँछ । युद्धले हृदयविदारक अनुभव र निराशालाई समेटेको हुन्छ । मृत्युको प्रकोप र डरको निरन्तर उपस्थितिले मन निराशाहरूको घर बन्छ । मानिस मानिस बिचको मानवता कसरी टुक्रा टुक्रा हुन्छ ? शरीर र अध्यात्म बीचको सम्बन्ध चकनाचुर हुन्छ । युद्धबाट मनमा पैदा हुने निराशा नै हो ।
डा. अल्का आत्रेय चूडालले अनुसन्धान गरी लेख्नु भएको पुस्तक “गोर्खाली युद्धबन्दीका लोकभाका र कथा” पुस्तकमा रेकर्ड भएको यी रचनाका सङ्कलित हरफहरूले चसक्क मन छुन्छ । एकछिन सोचिरहेँ, कथ्ने कसको छोरो थियो । उसका सपनाहरू के थिए होलान् । परिवारसँग अन्तिम पल्ट कहिले भेटेका थिए हाला ? जीवनमा उनको फेरि परिवारसँग भेट भयो कि भएन होला ? मनमा अनेकन् प्रश्नहरू बजारिरहे ।
किन भयो पहिलो विश्वयुद्ध ?
पहिलो विश्वयुद्धको सुरुवात हुँदा, नेपालमा जहानियाँ एकतन्त्रीय १०४ बर्से शासन कालको निरन्तरतामा श्री ३ महाराज चन्द्रशमशेर जङ्गबहादुर राणाको जगजगी थियो । बेलायत सरकाले नेपाल सरकारको स्वीकृति बिना अङ्ग्रेजहरूले गोर्खाली सेनाको भारतमा बटालियनका बटालियन खोलेर सीमा रक्षा र आन्तरिक मामिलामा प्रयोग गरी रहेको पनि सय वर्ष नाघिसकेको थियो ।
पहिलो विश्व युद्धको कारण जर्मनीको विस्तारवादी रणनीति, जसले विश्वशक्तिको रूपमा स्थापना गर्ने प्रयास गरेका थिए । परस्पर रक्षा गठबन्धन -Mutual Defence llaiances), सम्पूर्ण युरोपमा निर्माण भएको थियो । जसले यदि कुनै पनि युरोपको एक राष्ट्रमाथि हमला भयो भने उक्त राष्ट्रको रक्षाको सहायताको लागि आउनु पर्नेछ । युरोपमा दुई एलायन्स थिए । १८८२ मा त्रिपक्षीय सन्धिमा जर्मनीसँग अस्ट्रिया–हंगेरी, र इटली जोडिए ।
त्रिपक्षीय सौहार्द भनेर १९०७ सम्म ब्रिटेनसँग फ्रान्स, र रुससँग सम्बद्ध थियो । बढ्दै गरेको सैनिक शक्ति प्रतिस्पर्धा, अधिक साम्राज्यको स्थापनाको कारण युरोपभित्र टकराबको कारण नै पहिलो विश्वयुद्धको जग थियो ।
सन् १९१४ को जुनमा बोस्नीया सराएभो भ्रमणमा रहेका आर्कड्यूक फ्रान्ज फर्डिनंडलाई गोली हानी हत्या गरियो । उनी अस्ट्रिया हंगरी सिंहासनका उत्तराधिकारी थिए । सर्वियाईहरूको सोच थियो कि अस्ट्रिया हंगरीले होइन बोस्नीयालाई नियन्त्रण गर्नु उचित हुनेछ । यो घटनामा अस्ट्रियाले सर्बियालाई दोषी मान्यो । सर्बियालाई ४८ घण्टाको अल्टिमेटम दिएर अपराधीलाई दमन गर्न उर्दी गरे । तर सर्बिया कारबाही गर्न मानेन । परिणाम स्वरूप २८ जुलाई १९१४अस्ट्रियाले सर्बिया विरुद्ध युद्धको घोषण गर्यो । हेर्दा हेर्दै विश्वको अन्य देश पनि आफ्नो आफ्नो गुटको समर्थनमा उत्रे अनि युद्ध विकराल बन्यो ।
यो युद्धमा रुस सामेल भयो । किनकि सर्बियासंग मित्रताको सन्धि थियो ।
जर्मनीले रुससँग युद्धको घोषणा गर्यो । किनकि अस्ट्रिया हंगेरी बीच सन्धि भएको थियो ।
यसपछि ब्रिटेनले जर्मन विरुद्ध युद्धको घोषण गर्यो । किनभने फ्रान्स र बेल्जियमको रक्षाको लागि बेलायतले सम्झौता गरेका थिए ।
यो युद्धले युरोपमा सात करोड भन्दा धेरै सैन्यकर्मी एकत्र गर्ने नेतृत्व गर्यो । जसलाई इतिहासमा सबै भन्दा ठुलो युद्धमा एउटा युद्ध बनाउँछ । सबै युद्धलाई समाप्त गर्ने युद्ध पनि भनिन्थ्यो । भनिन्छ, नौ करोड सिपाही मारिए । एक करोड तीस लाख नागरिक हताहत भए ।
जति बेला नेपालमा साठी लाखको हाराहारीमा जनसंख्या थियो त्यो बेला दुई लाख युवाहरूले सो युद्धमा भाग लिए । घाइते मात्रै बिस हजार भएका थिए । तीस हजार गोर्खा मारिए, बेपत्ता भए ।
० ० ० ०
फ्लान्डर्स फिल्ड, लाहुरेको रेलिमाई अनि मित्रसेन
लाहुरेको दाइको रेलिमाई फेशनै राम्रो
हातमा बन्दुक रेलिमाई खुकुरी भिरेको
लाहुरे दाइको रेलिमाई त्यो बिर्के टोपी
टोपी खस्यो रेलिमाई टिप्दिने कोही छौ कि ?
लाहुरे दाइको रेलिमाई काँधैमा झोला
फेरी भेट रेलिमाई होला की नहोला ?
लाहुरेको फेशन, खुकुरी, बिर्के टोपी, झोला बाहेक अरूको रेलिमाई हुनै सक्तैन । रेलिमाई विनाको लाहुरे कहाँ हुनु । एक सय दश वर्ष अघि यो गीतको उदय भएको थियो । जसले एक सय दश वर्ष यात्रा पार गर्दा पनि आज सम्म पनि उत्तिकै नेपाली समाजमा हराएको छैन ।
मित्रसेन थापा मगर, लाहुरे पहिलो विश्वयुद्ध लड्ने सिपाही थिए । रचना गरे, स्वर अनि संगीत उनैले भरे । पहिलो विश्वयुद्ध लड्दै गर्दा फ्रान्सको फ्लान्डर्स फिल्डमा नै लाहुरेको रेलिमाई रचेका हुन् । उनी भाग्सुका नेपाली थिए । उनले पहिलो विश्वयुद्ध मात्रै लडेनन् नेपाली गीतलाई अमर बनाएर हामीलाई उपहार छाडेर गए ।
फ्लान्डर्स फिल्ड
सन् २०१४ देखि १९१८ सम्म, फ्लान्डस फिल्ड पहिलो विश्वयुद्धको समयमा पश्चिमी मोर्चामा एक प्रमुख स्थल थियो । यो ठाउँमा पचास भन्दा धेरै देशका दश लाख भन्दा धेरै सैनिकहरू घाइते भएका थिए, बेपत्ता भए वा मारिएका थिए । सम्पूर्ण शहर र गाउँ नष्ट भए । यप्रेस सहरहरूको विनाश क्रूर अवस्थाहरू युद्धको त्रासदीका लागि विश्वव्यापी प्रतीक बने । आज पनि यस शान्तिपूर्ण क्षेत्रले यसका स्मारकहरू, सङ्ग्रहालयहरू, विश्वको सबै भन्दा ठुलो अन्तर्राष्ट्रिय सैनिक चिहानहरूले अनि विश्वसँग जोड्ने अनगिन्ती व्यक्तिगत कथाहरू मार्फत विश्वलाई जोडिरहन्छ । फ्लान्डर्स फिल्ड विश्वयुद्धको कहिल्यै नमेटिने विश्वयुद्धको साक्षी हो ।
अनि जोन म्याकक्रेकको कविताले ‘ईन फ्लान्डर्स फील्डस’ को पप्पी फूल विश्व प्रतीक बन्न पुग्यो । पप्पी फूल आज पनि विश्वभरि युद्ध सम्झनाको स्थायी प्रतीक बन्न पुग्यो । जो फ्लान्डर्स फिल्डको चिहानभरि फुलेको थियो ।
“रेलिमाई” शब्दको जादु यस्तो छ – प्रेयसीको पहिलो स्पर्शको उत्सुकता जसरी मनमा गाढा बसिदिन्छ । रेलिमाईको अर्थ – रेलिमा रेलिमाई’ शब्दको व्युत्पत्ति हिमाञ्चल प्रदेशको अलमोडा भाग्सु क्षेत्रबाट आएको हो । भाग्सु तोतारानी भन्ने ठाउँमा प्रेयसीलाई रेलिमा भनिन्छ । मास्टर मित्रसेन थापा त्यही भाग्सु आर्मी क्याम्पका “लाइन छोकडा” थिए । लाहुरेहरू भन्दा पर रेलिमाईलाई राख्नै सकिन्न । रेलिमाई बिना लाहुरे हुनै सकिन्न । जे होस् लाहुरेहरूको आँसु, रगत, पसिना अनि प्रेमको अन्तिम सार नै मानो रेलिमाई हो ।
“लाहुरेको रेलिमाई” जीवनीपरक उपन्यास, उनै पहिलो विश्वयुद्ध लडेका मित्रसेन थापाको डायरीमा आधार रहेर विजय हितानले लेखेका हुन् । ब्रिटिस गोर्खा रेजिमेन्टबाट सेवानिवृत्त विजय हितानले बाहेक अरूले यो उपन्यास लेख्न सक्तैनथे । सैनिकहरूको प्राविधिक भाषाको ज्ञान अनि भोगाई विजय हितानलाई जति अरूलाई थाहा हुँदै हुन्न । पहिलो विश्वयुद्धमा गएका बेला मित्रसेनले लेखेको डायरीबाट नै सुरुवात भएको छ उपन्यास “लाहुरेको रेलिमाई ।”
भनिन्छ, इतिहासमा मिति ठिक हुन्छ विषय झुट हुन्छ । तर कथामा मिति मात्रै फरक हुन्छ बाँकी सब सत्य हुन्छ । यो उपन्यासमा ८० प्रतिशत वास्तविक र २० प्रतिशतलाई कल्पनाले लेखेको लेखक हितानले आफै “यसरी लेखे उपन्यास ‘लाहुरेको रेलिमाई’ भनेर दाबी गरेका छन् । म चाहिँ यो उपन्यास भन्दा धेरै विश्वयुद्धको नेपाली दस्ताबेज हो जो कुनै शासकले लेखेर राख्न भ्याउँदैन । यो एउटा सिपाहीको विश्व युद्ध बकपत्र हो भन्ठान्छु ।
मित्रसेन तेस्रो पुस्ताका लाहुरे थिए । धर्मशाला भाग्सुमा नै भारतीय गोर्खा रेजिमेन्टमा जन्मिएका उनका बुबा पनि लाहुरे नै थिए । आठसम्म पढेका मित्रसेन १६ वर्षका उमेरमा भाग्सुमा नै भर्ती भएका थिए । सन १९१२ मा भर्ती भएका उनी १–१ गोर्खा राईफल्समा थिए । ११ अगस्ट १९१४ मा पहिलो विश्वयुद्धको लागि भाग्सु धर्मशाला छाउनी छाडेका थिए । उनको नेपाली र अङ्ग्रेजी भाषा दुवै राम्रो भएकोले होला उनी सिग्नल कम्पनीमा थिए ।
उनले उत्तरी फ्रान्स र बेल्जियममा खटे । एक वर्ष जर्मन विरुद्ध लडे । त्यहाँ उनी घाइते पनि भए । निको भएर फेरि १९१६ देखि १९१९ सम्म मेसोपाटामीया (हालको इराक र सिरिया) मा टर्की अटोमन अम्पायर विरुद्ध लडे । चार वर्ष युद्धमा बिताएका मित्रसेनले सात वर्ष २११ दिन बेलायतको सेवा गरे । उनले बाँकी जीवन गीत, संगीत, साहित्य अनि समाजसेवामा बिताए । ५१ वर्षको उमेरमा देहान्त भएका मित्रसेनले पहिलो विश्वयुद्धमा भोगेका युद्ध विभीषिका को डायरी छाडेर गए जसले “लाहुरेको रेलिमाई” जस्तो ऐतिहासिक पुस्तक विजय हितानले लेखे ।
हामीसँग अहिले गाउँ घरमा युद्धका कथा भन्ने हाम्रा लाहुरे बाजेहरू अब छैनन् । दोस्रो विश्वयुद्ध लडेका लाहुरेहरू अहिले औंलामा गन्न सकिने होलान् तर उनीहरूको पनि सम्झना धुमिल हुँदै गएको छ । उनीहरूले लडेको ठाउँ र आफ्ना लडाइमा गएको साथीको नाउँ बिर्संदै गएका छन् । लेख्न–पढन नसक्ने गोर्खाहरूले बिर्सनु भनेको इतिहासको अमिलो विसर्जन हो । गीत–संगीत अनि दस्ताबेजले इतिहासलाई फेरि ताजा अनि नयाँ ढङ्गले बुझ्न सकिने बनाउँदो रहेछ ।
क्षत्रे टोपी लम्काई, खुकुरी चम्काई ,
लाहुरे पुगे रेलिमाई बैरीको देशैमा ।
केटाकेटी स्वास्नी जम्मै घरको माया मारी
भोकभोकै लडी हिँड्छन् बैरी चहारी चहारी
पुस्तक मित्रसेन थापा मगरको डायरीमा आधार बनाएर लडाइको मिति सहित उल्लेख गरिएको छ जुन मिति काल्पनिक थिएन । पहिलो विश्वयुद्धको मितिसँग ठ्याक्कै मेल खान्छ । युद्धमा लैजाँदा गोर्खालीहरूलाई थाहा नदिई लगिएको कथाबाट सुरु हुन्छ । उपन्यासका नायक मित्रसेनलाई लाग्छ । उनीहरू यो युद्ध लड्नु पर्ने कुनै शत्रुदेशको सैनिक हुँदै हैनन् । उनी आफ्नो डायरीमा लेख्छन्, “गोर्खालीलाई जस्तो आफ्नो मातृभूमि एउटा, ज्यानको बलिदान अर्कैका लागि दिनु पर्ने बाध्यता जर्मन सैनिकलाई थिएन । मैले बुझ्न सकेको राजनीति र युद्धको मनोविज्ञान यति नै थियो ।”
पहिलो विश्वयुद्धमा नेपालको भूमिकाको बारेमा पनि चर्चा गरेको छ । डिसेम्बर १, १९१४ मा फ्रान्सको दक्षिणमा रहेको मार्से बन्दरगाह भएको शहरमा छन् । युद्ध फ्लान्डर्स फिल्ड पुग्न त्यति टाढा छैन । युद्ध मैदान जान अघि कमाण्डर अफ द कोरले सम्बोधन गर्छन् सम्बोधनमा श्री ३ महाराज चन्द्र शमशेर जबराको सहयोगको धन्यवाद दिइएको थियो ।
“श्री ३ प्रधानमन्त्री चन्द्र शमशेर जबरा द्वारा तीन लाख रुपियाँ मेशिनगन खरिद गर्न सहयोग गरेको साथै प्रधानमन्त्रीको व्यक्तिगत तवरबाट पनि ‘प्रिन्स अफ वेल्स’ र ‘ईम्पेरियल रिलीफ फन्ड’ मा पनि ठुलो धनराशि मद्दत गरेको छ । सहयोगको लागि तत्कालीन ईग्लेण्डका बडामहाराजा जर्ज छैठौको तर्फबाट आभार व्यक्त गरिएको छ ।”
विश्वयुद्धमा जान श्री ३ महाराज चन्द्रशमशेरको उर्दी
नेपालमा भने अङ्ग्रेजलाई खुशी पार्न गाउँगाउँमा युवाहरूलाई जातै तोकेर श्री ३ महाराज मेजर जनरल चन्द्रशमशेर जङ्गबहादुर राणाले १९७२ साल अर्थात् १९१५ मा सनद जारी गरेका थिए । गाउँका तालुकदार मुखियाहरूलाई सम्बोधन गरी, जारी गरिएको थियो । पहिले देखि भर्ना हुँदै आएको तर आफूखुसी भन्दा पनि सरकारको तर्फबाट भर्ना भए सुबिस्ता र कदर गरिने लेखिएको छ । एक दुई वर्षमा लडाई सकिहाल्छ भनेर हचुवा र सनकको भरमा उर्दी जारी गरिएको छ ।
ठकुरी, क्षेत्री ,गुरुङ, घले, मगर, लिम्बु किराती राई, दनुवार, रानाभाट, नगरकोटी, मतुवाली खस, तामाङ र स्यार्पा जातै किटान गरिएको छ । शारीरिक बनौट १८ देखी २५ वर्ष सम्मका ५फुट दुई इन्च र छाती ३२ इन्च घटी नभएको पनि उल्लेख गरिएको छ । गाउँको कम्तीमा एक दुई जना सम्म राजी खुशी गराई राख्न आदेश दिइएको छ । तत्कालीन अवस्थाको गाउँ, जिल्ला र अञ्चलको कर्मचारी नै सञ्चालन गरी भर्तीको लागी लागु गरिएको थियो । लाहुर जाने युवाहरूलाई खोजी राख्ने आदेश पालन नगरे सजाय गर्ने साथै तालुकदार पनि खोसिने चेतावनी दिएका छन् । यदि लडाइँमा जाने युवाहरूलाई खोजेर राखे कमिशनको लोभ पनि दिएका छन् ।
१ जना देखि १० जना सम्म प्रत्येक जवानको मोहरु तीन रुपियाँ
११ जना देखि २४ जना सम्म ल्याउने जवानको मोहरु चार रुपियाँ ।
२४ भन्दा धेरै ल्याउने पाँच रुपियाँ तोकिएको थियो ।
एक वर्ष भित्र अनेकन् युद्धका भिडन्त हुन्छ । ९ मे १९१५ मा फेतुस्बर्तमा उनी घाइते हुन्छन् । बेहोस भै लडेका उनको एक हप्ता पछि मात्रै होस आउँछ । होस आए पछि मात्रै सम्झन्छन् अनि लेख्छन्, “रगतले बनेका पोखरी र तिनलाई कुल्चँदै अगाडी बढेका मेरा बुटहरू, लासहरू र तिनलाई कुल्चँदै हिँडेका मेरा पाइलाहरू, मरे आमा बचाउ बचाउ भन्दै गरेका करुण चित्कारहरू, साईफलबाट निस्किएका आवाजहरू, तोप ग्रनेड ले शरीरलाई छेदन गरेर निस्केका शरीरका टुक्राहरू” । युद्धभूमिको बीभत्सतालाई उपन्यासमा सम्झेका छन् । पाँच महिनाको उपचार उपचार सकिएपछि फेरि उनी हालको इराकको टिग्रीस नदीतिर लाग्छन् ।
फ्लान्डर्स फिल्ड छाड्नै लाग्दा डिसेम्बर १, १९१५ मा थुप्रै नेपाली गोर्खाली नयाँ युवाहरूलाई भेटेको थिए । उनीहरू फगत विदेश घुम्न पाउने लालच र धनको प्रलोभनमा फसाएर युद्धमा होमिएका हुन् । उनैले नेपालमा त्यतिबेलाको भर्तीको बारेमा नयाँ गोर्खाहरूलाई सोधेर लेखेका छन् । “गल्लावाल त हुने नै भए, जिम्मावाल, तालुकदारहरूबाट समेत गाउँघरमा पुगेर युवाहरूलाई लाहुरे हुन जान आव्हान गरिँदो रहेछ ।” बाउ आमाले अस्वीकार गरेको गोर्खा भर्ती गाउँका सोझा अनपढ युवाहरू युद्धको बारेमा कसैलाई थाहा नै थिएन ।
त्यो बेला सम्म फ्लान्डर्स फिल्डमा २४ हजार भन्दा धेरै गोर्खा जवानहरू मार्से भएर फ्रान्स भित्री सकेका थिए अझ थपिने क्रम जारी थियो । १४ डिसेम्बरमा गीभान्चीमा आक्रमण हुन्छ । आक्रमणको चित्रण चलचित्रका पर्दामा देखिएको जस्तो मानो युद्धको सिन चलिरहेको होस् ।
मित्रसेन कवि गायक अनि लेखक थिए । तर उनी विश्व युद्धमा थिए । घाइते भए । उनीसँग युद्धको चरम निराशा र हृदयविदारक दृश्यहरू थिए । उनको युद्धको मिल्ने साथी नरसिंह बम लागेर क्षतविक्षत शरीर मात्रै गाडेर श्रद्धाञ्जली दिएका थिए । नम्बरी नरसिंहको गाउँमा मृत्युको खबर पठाउने पनि उनै थिए । एक वर्ष नपुग्दै नम्बरीलाई जर्मनीको न्यु सेफलको आक्रमणमा मारिएका साथी बेल्जियमको डनकर्क माजिङहम मा भेटिन्छन् । उनी वास्तवमा जर्मनीद्वारा युद्धबन्दी बनाइएका रहेछन् । रेडक्रसको समन्वयका कारण उनी छुटेका रहेछन् ।
उपन्यासमा गजबको घुमाउ छ । आफैले टुक्रा शरीरलाई नरसिंह हो भनी गाड्नु, नरसींहसँग फेरि भेट हुनु । उनीहरूको त्यो भेट अन्तिम हुनु इराकको टिग्रीस नदी छेउ, नरसिंहले लडाइँमा वीरगति प्राप्त गर्नु उपन्यासले देखाएको सरल कथा हो जो लेखकले भोगका थिए । अनि उनी लेख्छन् आफ्नो डायरीमा । “लाहुरे हुनु भनेको त झन् दुःखको एउटा भिरालो पहाड बन्नु रहेछ । हुरी, बतास, झरी, असिनाले चुट्दा ऐया भन्न नपाउने अटल पहाड । लाहुरे बन्नु भनेको त झन् पिरै पिरको गहिरो खाडल बन्नु रहेछ । म अहिले उभिइरहेको ट्रन्च जस्तै रहेछु । आफ्ना खुशी र रहर कटौती गरेर जहान केटाकेटीको ओठमा मुस्कान परिपूर्ती गरिदिनु पर्ने ।” युद्ध आँधी हो, सबै चीजहरू मेटिन्छन् । युद्धले माया, विश्वास अनि प्रेम सबै उल्टो हुने गर्दछ । जीवनको आशा अनि सपनाहरूलाई आफ्नै आँखा अगाडी बगाएर लैजान्छ ।
युद्धको विश्वव्यापी प्रभावलाई हेर्ने हो भने जो देश प्रत्यक्ष युद्धमा जोडिएका थिए । उनीहरू घोर अराजकता र पीडामा थिए । किनभने अनगिन्ती जीवनहरू गुमेको थिए । समुदायहरूको अतुलनीय विनाश भै रहेको थियो । युद्धले अनिश्चित भविष्य अनि अथाह पीडाहरू मानिससँगै हिँडाइरहेको थियो ।
उपन्यासकार विजय हितानको पुस्तक “लाहुरेको रेलिमाई” अनि डा. अलका आत्रेय चूडालका पुस्तक “गोर्खाली युद्धबन्दीका लोक भाका र कथा” पहिलो विश्व युद्धको नेपाली कथा भन्ने समकालीन पुस्तक हो । “लाहुरेको रेलिमाई” कथाले पहिलो विश्व युद्धको गोर्खाली कथा भन्छ । “गोर्खाली युद्धबन्दीका लोक भाका र कथा” त्यही युद्धमा जर्मनद्वारा बन्दी बनाइएका गोर्खालीहरूको बन्दी मनोदशा भन्छ । दुवै पुस्तकले यौटै समयको कथा भन्छ । यी सबै युद्धबन्दीहरू मित्रसेन थापाका नम्बरीहरू थिए । मित्रसेन पहिलो युद्ध समाप्त भएर घर फर्के परिवारसँग सुख दुःख बाँडे । जो युद्धबन्दी थिए, उनीहरू फर्के फर्केनन् कसैको खुटखबर छैन । यी दुवै पुस्तक पढ्दा युद्धको मैदान अनि बन्दी शिविरमा एकै साथ पुगिन्छ । ।
दुवै पुस्तकभित्र विश्वयुद्धको त्रासदी, विवशता अनि मानवीयताको करुणा अनुभूति गर्न सकिन्छ । इतिहासमा जीवन गुमाउनेहरूको साहस र निःस्वार्थताका भाकाहरू हाम्रै जीवनभित्र प्रतिध्वनि भै रहन्छ । यो त अझ राष्ट्रको सामूहिक चेतनामा पनि प्रतिध्वनि हुनुपर्ने हो । जसले हामीलाई युद्धको ठुलो मूल्य र परिणामहरूको सम्झना गराओस् । यी दुवै पुस्तक पढेपछि लाग्यो – नेपाली कथाहरू जो मेरा पुर्खाले सुनाउँदै आएका थिए जो लेखेको थिएन, नभनिएका, भन्न बाँकी भएका, अनि खोज्न बाँकी भएका थुप्रै कथाहरू बाँकी नै रहेछन् ।
पहिलो चार बर्षे विश्वयुद्धले नै गोर्खालीहरूलाई “वीर गोर्खाली’ को पगरी जर्बजस्ती भिडायो । भर्ती गरेर बाटो बाटै कमजोर युद्ध अभ्यास गराइएका गोर्खालीहरू ट्रेन्च युद्धमा हारी रहँदा मेसोपोटामीया टिग्रीस नदीको छेउछाउ नै खुकुरीको धारमा “आयो गोर्खाली” भन्ने आशुले धोएको हिम्मतिलो आवाजको आविष्कार भएको थियो, आज सम्म गुञ्जायमान छ ।
डेभिड लोयड जर्ज बेलायतका तत्कालीन प्रधानमन्त्री (सन्१९१६–१९२२) थिए । उनले यो युद्धलाई बढावा दिनै को निम्ति भनेका थिए । “यो युद्ध, अर्को युद्ध जस्तै, युद्ध समाप्त गर्नको लागी एक युद्ध हो ।” अराजकता र विनाशमा फसेको राष्ट्रलाई सम्बोधन गर्ने क्रममा भयानक अनि कहिले नसकिने युद्धको पक्षपोषण गरिएका हुन् । दुर्भाग्यवश उनको त्यो सपना सपना मात्रै रह्यो । अहिले पनि पहिलो विश्व युद्धको घाउको खाटा गोर्खाली मनभरि उस्तै छ, युद्ध सकिएको छैन ।
न्यूयोर्क ज्याक्सन हाईट
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।