हरेकको सम्बन्धमा आफ्नै कथा छन् । कतै उज्यालो आशाको किरण छन् भने कतै अत्यन्तै अत्यास लाग्दो भीर । यी आरोह-अवरोह बीचको बाटो रोज्दै रात बिताउँछ, उदाउँदो सूर्यले पक्कै मार्ग दर्शन दिने आशामा ।

उज्यालो अनुहार, सधैं खुसी र ओठमा मुस्कान छरेर बोल्ने मृदुभाषी स्रष्टा हरिशलाई हेर्दा वा सङ्गत गर्दा यस्तो लाग्छ – उनको जीवनमा अँध्यारोले कहिले प्रवेश पाएनन् । दुःखलाई पनि अँगाल्न सक्ने ठूलो खुबी छ उनीसँग जो हर कोहीसँग भेट्न गाह्रो पर्छ ।

संसारमै भइरहेका अनगिन्ती कथा मध्ये – अत्यन्त सफल मानिसको कथा लेखिन्छ या भुइँमान्छेको ।

विश्व बजारमा कैयौं मानिस छन् उनीहरूको कथा चर्चामा छैन । बजारमा बिक्री छैन ।

मानिस बढ्ने, हुर्कने, समाजमा कसरी ऊ हुर्केको हुन्छ । त्यसको प्रत्यक्ष प्रभाव उसले देखाएको हुन्छ । यसरी नियाल्दा सम्बन्धले नै चलेको छ संसार । सम्बन्ध बिना मान्छेको अस्तित्व नै छैन । न कथा लेखेर नै सकिन्छ ।

यिनै स्वाभाविक रूपमा बगेका छन् कथाकार हरिशका कथाहरू । भोगेको-देखेको विषयवस्तुलाई केलाएर, निफनेर मन छुने गरी प्रस्तुत गर्छन् हरिशले ‘ग्याब्रियले’ कथासङ्ग्रहमा ।

पढिसकेपछि कुनै कथा मेरो कथा जस्तै लाग्छन् । पात्रहरू पनि आफ्नै नजिकका । हुन त एउटा स्रष्टा परिकल्पनामा जहाँ पनि पुगेका हुन्छन् । तर उनी त्यहाँ पुगेर अलमलिन खोज्दैनन् । वास्तविकताबाट नै कथा विषयवस्तु रोज्छन् । आफ्नै नजरबाट विश्वभ्रमण गर्छन् ।

अब प्रवेश गरौं ‘ग्याब्रियले’भित्र । यसको शाब्दिक अर्थ हो – “ईश्वर नै मेरो शक्ति हो” ।

जीवन पाउनु, हराउनु र गुमाउनु नै त हो भनी लेखक दार्शनिक अभिव्यक्ति पनि पस्किन्छन् ।

१ सय ५२ पृष्ठमा आबद्ध यस सङ्ग्रहमा १३ वटा कथा संग्रहित छन् ।

अर्थको गहिराइलाई बुझेर युरोपियन नाम रोजेका कथाकारले आकर्षित भाषाशैलीलाई अँगालेर कथा प्रस्तुत गरेका छन् ।

सुखसुबिधा जति नै भए पनि मानिसहरू स्वार्थी हुँदै गइरहेका छन् । पैसामुखी, नाफाखोरी, चोरी, डकैती बढिरहेको छ । प्रेम कमजोर बन्दै गइरहेको छ । यान्त्रिक जीवन बन्दै गइरहेको देख्दा पीडाबोध हुन्छ लेखकलाई ।

यही भावनात्मक एकाकार भएरै जन्मिएको हो ‘ग्याब्रियले’ । किनभने थोमस र मिकाका परिवारसँग स्रष्टा पनि गाँसिएका हुन्छन् । जब मिका गायब भएर थोमस तड्पिन्छन लेखक पनि पिडामा हुन्छन् । उनी दार्शनिक बनिदिन्छन् । जीवनका अँध्यारा उज्याला दुवै पाटा केलाउन खोज्छन् ।

तर उनी निराश भने छैनन् । प्रबल गुरुङलाई उनको दृष्टिकोणले नियालेर हेर्ने हो भने विश्व परिवेशमा नै प्रसिद्ध बनाउन कुनै कसर राखेको देखिँदैन ।

अर्को विषय लिएका छन् – मलालालाई, जसले विश्व प्रसिद्ध शान्ति नोबेल पुरस्कार समेत हात पारिन् । २०१२ मा तालिवानीहरूले बन्दुक समेत प्रहार गरे उनको निर्भीक स्वभाव शिक्षाको लागि अनवरत लागिरहिन् । यो लेखकलाई पनि प्रेरणादायी विषय रहिरह्यो । कथा आफैमा जीवन्त बनी उभिएको छ । लेखकलाई कतै आफैं उभिए झैं लाग्छ भने कतै यथार्थलाई धरातल बनाउन सफलता भेटिइन्छ । विश्वका कुना र आफ्नो माटोको सुगन्ध फैलाउन सक्नु हरिशको विशेष क्षमता बनेको छ ।

कथाहरू मझौला आकारका छन् । न धेरै लामा न त छोटा आकारका । मानवीय संवेदनशीलता, नारी मनोविज्ञान, स्वतस्फूर्त रूपमा जीवनमा आइपर्ने घटना, पुरुष मनोविज्ञान, परिस्थिति, परिबन्द, नियति, आरोह-अवरोह यसरी नै बगेका छन् उनी नअमलिकन, नहबडाई सलल शान्त नदीको प्रवाह जस्तै धैर्यवान् बनेर आफ्ना कथाहरूमा । जसलाई परिस्थितिले भेल र चट्याङले जतिसुकै हिर्काएको भएपनि समुद्र भेट्ने आश बोकेर बगिरहेका भेटिन्छन् । त्यसैले पनि उज्यालो भविष्यको संकेत बोकेर देखिन्छन् आख्यानको भीडमा ।

पुस्तकका प्रकाशक आमा प्रेमकुमारी सुवेदी हुनुहुन्छ । स्वर्गीय दाजु लालचरण सुवेदीलाई समर्पित गरिएको यस पुस्तकको मूल्य २७५ रहेको छ ।

यो पुस्तक आख्यान मन पराउने जोसुकैलाई पनि बहुउपयोगी हुने देखिन्छ । सक्रियता कहिले कमीकमजोरी नहोस् पुस्तक जस्तै । उज्ज्वल भविष्यको कामना छ लेखकलाई ।