‘बिसौँ शताब्दीको अद्वितीय खेल’ साहित्यकार गोविन्द गिरी प्रेरणाको लघुकथा कृति हो । म र प्रेरणा उमेरका हिसाबले तुरिया हौं सायद । तर साहित्य साधना तथा गुणवत्ताका हिसाबले चुली हुन् प्रेरणा । हामी दुवै यति बेला अमेरिकामा बस्छौँ र बुताले भ्याएको साहित्य मार्गमा छौँ । त्यसैले अमेरिकी हुलाकीले बोकेर मेरा घरआँगनमा ल्याइदिएको छ ‘बिसौँ शताब्दीको अद्वितीय खेल’ ।
कृति फुकाएको छु । विक्रम शिशिरको कलामा अमूर्त-मूर्त मान्छेको आकृतिले सजिएको छ आवरण । पश्च भागमा लघुकथाकारको तस्बिर र सोमुनि डा. दयाराम श्रेष्ठकै भूमिकाको अंश टाँस भएको छ । प्राविधिक रूपमा प्रकाशक नेपाल स्रष्टा समाज रहेको छ । प्रकाशकका तर्फबाट श्रीओम श्रेष्ठ ‘रोदन’ को प्रकाशकीय, ‘गोविन्द गिरी प्रेरणाका लघुकथाका रङ्गिन तरेलीहरू’ शीर्षकमा डा. दयाराम श्रेष्ठको भूमिका, र ‘मेरा केही कुरा’ शीर्षकमा लघुकथाकार प्रेरणाका रचनागर्भ रहेका छन् । पचास ओटा लघुकथाहरूको क्रम छ ।
नेपाली साहित्यवृत्तमा गोविन्द गिरी प्रेरणा मैले चिनाउनुपर्ने नाम होइन । आफ्नो किशोर वयदेखि नै साहित्य साधनामा लागेका प्रेरणा साहित्यको सङ्ख्यात्मक तथा गुणात्मक दुवै रूपमा अब्बल छन् । मोफसलको जन्माइ भए पनि बेलैमा उच्च शिक्षा अध्ययन गर्न राजधानी छिरेका प्रेरणाको जिन्दगीले अग्रज साहित्यकारहरूको वातावरणीय सान्निध्य पायो । त्यसैले उनको सिर्जना धर्मिताले सुमधुर भएर पन्पिने अवसर पनि पायो । आज उभिएर हेर्दा उनले आधा दर्जन कथासङ्ग्रह, आधा दर्जन नै उपन्यास, झन्डै आधा दर्जन नै कवितासङ्ग्रह, यात्रा संस्मरणहरू, निबन्धसङ्ग्रह, समालोचना सङ्ग्रह, हास्यव्यङ्ग्य, पारिजातको जीवनी, कलममणि दीक्षितसँगको अन्तरवार्ता जस्ता अनेकन् विधाका कृतिहरू प्रकाशन गराइसकेका छन् । यसबाहेक उनी साहित्य उन्नयनका लागि अभियन्ता पनि हुन् ।
उनले तीसको दशकदेखि लघुकथा लेख्न थालेको हो । फुटकर रूपमा प्रकाशित पनि भएका हुन् । तर लघुकथाकृतिको हकमा भने यो ‘बिसौँ शताब्दीको अद्वितीय खेल’ पहिलो हो । यद्यपि उनले गोजी पत्रिकाकालदेखि नै लघुकथा लेख्ने गरेका हुन् । उनले आफैँले पनि ‘लघुकथा’ नामक विधाकेन्द्रित पत्रिका चलाउने गरेको कुरा इतिहासमा छँदै छ । लघुकथा, कथा तथा लामाकथाका कृतिहरू प्रकाशन गर्ने सायद एक मात्र स्रष्टा भएका छन् ।
हालसम्म आधुनिक नेपाली लघुकथाको उठानीकरण १९९२ जेठ ३२ गतेको गोरखापत्रमा सिद्धिचरण श्रेष्ठको ‘प्रतिहिंसा’ नामक लघुकथा प्रकाशित भएपछि भएको भनिन्छ । यसअघि लोकथाका रूपमा, नीतिकथाका रूपमा अनेकन् लघु स्वरूपका गद्यसिर्जनाहरू चलेर आएका थिए । विसं १९९२ देखि २००७ सालसम्म फुटकर रूपमा तत्काल उपलब्ध पत्रपत्रिकामा विविध विद्वानहरूको लघुकथाहरू छापिए ।
२००७ सालमा पूर्ण प्रसाद ब्राह्मणले ‘झिल्का’ नामक लघुकथासङ्ग्रह प्रकाशन गराएपछि भने नेपाली लघुकथा साहित्यमा कृतिको रूपमा फड्को मार्ने क्रमको सुरुवात भएको छ । संस्थागत रूपमा नेपाल प्रज्ञा—प्रतिष्ठानले २०५३ सालमा आयोजना गरिएको कार्यक्रममा प्रस्तुत गरिएको लघुकथासम्बन्धी कार्यपत्र र २०५६ सालको मधुपर्कले प्रकाशन गरेको लघुकथा विशेषाङ्कले नेपाली लघुकथाको स्वरूपी करणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् । यसबाहेक व्यक्तिगत तथा सामूहिक रूपले विविध माध्यममा लघुकथा प्रकाशन गरेको कुरालाई पनि बिर्सनु हुन्न । जसमा गोजी पत्रिका तथा हवाई पत्र अभियान दुवैको भूमिका उल्लेख्य छ ।
वर्तमानमा उभिएर हेर्दा अग्रज विद्वानहरूको प्रयासले लघुकथाको सैद्धान्तिक स्वरूपी करण भइसकेको छ । लघुकथाको रूपविधानको अन्तर्यले फड्को मारिसकेको छ । अहिले लघुकथाको विशेषताका आधारमा आख्यानको स्वतन्त्र प्रविधा भएको कुरा प्रस्टिएको छ । त्यसैले लघुकथा भन्नु कथाको खुम्चिएको रूप वा कथांश भन्नु वा उपन्यासांश भन्नु न्यायोचित हुन्न । वर्तमानमा आयाममा छोटो, आकारमा लघु, भावमा सर्वाङ्ग पूर्णता, प्रयोजनमा एकोन्मुखता, पात्रको सीमितता, आकस्मिकता, अप्रत्याशितता, प्रतिध्वन्यात्मकता, बहावमा तीव्रता, उत्कर्षमा चुस्तता आदिआदि लघुकथाका विशेषता भएका छन् । यसकारण प्रेरणाको लघुकथासङ्ग्रह ‘बिसौँ शताब्दीको अद्वितीय खेल’ भित्र गवेषण गर्ने आधार पनि यिनै विशेषताहरू हुन् ।
लघुकथाकार गोविन्द गिरी प्रेरणाको साहित्य लेखनीसहितको जीवन भोगाइ व्यापक छ । किशोरावस्थादेखि नै जीवन बुझेर साहित्य लेख्न थालेकाले र वर्तमानसम्म अविच्छिन्न रूपमा सिर्जना गरिरहेन स्रष्टा हुन् प्रेरणा । उनका लघुकथाका विषयले सामाजिक, राजनीतिक विविधता पस्केका छन् ।
विषयवस्तु चयनका हिसाबमा उनका धेरै लघुकथाले राजनीतिक विकर्षण, विद्रोह तथा विसङ्गति केलाएका छन् । जस्तो सुकै समस्या भए पनि चुपचाप बस्ने, विद्रोह नगर्ने जनता तथा शासन प्रणाली माथि जाइलाग्छन् । जनताका नामको बहानामा जनताकै स्वतन्त्रताको हरण गरिने राजनीतिक परिपाटी माथि व्यङ्ग्य गर्छन् । जनताको जन्मसिद्ध अधिकारमाथि दमन गर्ने राजनीतिक चित्र र त्यसमा बोल्न पनि नपाइने परिवेशलाई उजागर गर्छन् । कर्मचारीको दोहोरो चरित्र, अन्तरवार्तालाई ढोङको रूपमा देखाएर आफ्नो मान्छे नियुक्ति गर्ने परिपाटी, पुस्तौँदेखि थिचोमिचो गर्ने छिमेकी र सोको वातावरण बनाइदिने नेपाली नेता सवैका प्रति व्यङ्ग्यवाण प्रहार गर्छन् । प्रतिष्ठित व्यक्तिको नाङ्गो रूप र त्यसलाई ढाकछोप गर्ने सरकारी प्रयत्नमाथि असन्तोष गर्छन् । सर्पलाई जति दूध ख्वाए पनि दाँत पलाएपछि विष बनाउँछ र डस्छ । यो विम्बमा राजनीतिक व्यङ्ग्य प्रहार गर्छन् ।
राजनीतिक नेताहरूले दिने आश्वासनयुक्त भाषणले जनता कङ्कालमा रूपान्तरण भएको चित्र भयानक देखिन्छ । आवाजविहीन, हिँड्न नसक्ने, देख्न नसक्ने, स्मरणशक्ति नभएको मान्छे बाँचेको कि मरेको ? भन्ने यथार्थ राजनीतिक व्यङ्ग्य पस्किएका छन् । मन्त्री हुँदा जनतालाई बाउन्ने देख्ने राजनीतिक नेताको चरित्र र प्रवृत्ति माथि प्रहार गर्छन् ।
कृतिशीर्षक समेत भएको ‘बिसौँ शताब्दीको अद्वितीय खेल’ लघुकथामा प्रजातन्त्रमा नागरिक चुनावमा मत हाल्ने मेसिन भएको कहर अभिव्यक्त भएको छ । प्रेरणाकै शब्दलाई सापट लिने हो भने जनताले ‘अर्को चुनाव आउँदा पुनर्जीवन प्राप्त गर्छन् र मत पेटिकामा पुगेर निर्वाण प्राप्त गर्छन्’ (४८) । नेताले देशलाई याने आमालाई हाडनाता नै भए पनि करणी गरेको विम्बमा राजनीतिक व्यङ्ग्य प्रहार गरिएको छ । राजनीतिक क्षेत्रकै विपर्यास चिन्तन याने सत्तामा हुँदा विकास भएको देख्ने विपक्षमा हुँदा विकास नदेख्ने विरोध मात्र गर्ने प्रवृत्तिमाथि प्रहार गरिएको छ ।
प्रेरणाका लघुकथामा समग्रतामा मान्छेको चित्र छ । यान्त्रिकतामा बाँचेको छ मान्छे । त्यसैले यन्त्र भएको छ । मान्छेको चरित्र यस्तो भएको छ कि पृथ्वीमा मान्छे सुध्रनेवाला छैन बरु नर्कमा सुधार गर्न सकिन्छ । नर्कभन्दा बदत्तर भएको छ मान्छे । गणेशको चाकरीले प्रश्रय पाएको नेपालमा कुमारको मेहनत त्यसै खेर गएको छ । मान्छेको चेतनालाई याने प्रकाशलाई पिटेर अन्धकार बनाएको दृश्य देखाएर मान्छेको हविगत बताइएको छ । भएको पनि खान नपाउने, प्राकृतिक अधिकार पनि प्रयोग गर्न नपाउने अभिशप्त भैँसीको पाडोको जुनीमा मान्छेको परिवेश देखाइएको छ ।
धनीले गरिबलाई गर्ने मत्स्य न्याय, हबलदारलाई इन्स्पेक्टर भन्ने मूर्ख कि, इन्स्पेक्टर भन्यो भनेर अपराधी छोड्ने हबलदार मूर्ख ? एउटा गजबको प्रश्न उठाइएको छ । मान्छे भन्नु गुण-दोषयुक्त हुन्छ । प्रेममा छु भन्नु भ्रम हो । वास्तवमा मान्छेले प्रेमबाट मुक्ति खोजेको हुन्छ भन्ने चिन्तन प्रवाहित गरिएको छ । सुदामा र कृष्णको मिथकमा आधुनिक मित्रता तथा स्वार्थी मित्रताको चित्र प्रस्तुत गरिएको छ ।
मान्छेको जीवनमा यौन अपरिहार्य कुरा हो । यौनका विषयमा पनि प्रेरणाको कलम चलेको छ । यसलाई सामाजिक बाध्यताका कारणले गर्दा समाजले त्यति महत्त्व नदिएको देखिन्छ । तर जति यौनजन्य भावनालाई दबाए पनि त्यो विस्फोट हुन्छ । त्यसैले प्रेरणाका लघुकथामा सामाजिक परिवेशसमेतलाई विचार गर्दै यौन विपर्यास तथा कुण्ठा अभिव्यक्त भएको पाइन्छ । यौनको आपूर्ति सहज नभएपछि कथाका पात्र व्यभिचारी भएका छन् । हाकिमले आफ्नी कार्यालयकी महिला कर्मचारीलाई यौन शोषण गर्छ । सम्पन्न बाबुसाहेबको घरको यौन मनोविज्ञान र बाबुसाहेबनीको यौन उत्तेजना बढाउने मुसाको अस्वाभाविक मृत्यु भएको छ । गुरुदक्षिणामा शिक्षकले आफ्नै चेलीप्रति देखाएको यौनवासना छ । गरिबीको कारणले हुने यौन व्यवसायको निरीहता उल्लेख गरिएको छ ।
कृतिभित्र घुसका प्रसङ्ग प्रशस्त आएका छन् । श्रीमतीले इमानदार जागिरे श्रीमान्लाई घुस खान बाध्य पार्छन् भन्ने कुरामा व्यङ्ग्य छ । परिवेश प्रधान लघुकथाहरू छन् । राहत दिने र राहतलाई अपचलन गर्ने प्रवृत्तिमाथि व्यङ्ग्य प्रहार गरिएको छ । गरिबी उन्मुलनको समस्याको समाधान तलब बाँडेर मगन्ते हुनु होइन, बरु त्यसका लागि कार्ययोजना आवश्यक छ भन्ने सन्देश पनि प्रदान गरिएको छ ।
प्रेरणाका लघुकथामा परिवेश तथा घटनाप्रधान मनोविज्ञान प्रस्टसँग आएको छ । खाने कुरा नहुँदाको मनोवैज्ञानिक अवस्था तथा आमा गुमाएकाका लागि आमाको प्रतिच्छाया मात्र देख्दा पनि हुने मनोविज्ञान भाव प्रस्ट भएको छ । परम्परागत मान्यताका विरुद्ध विधवाले मृत श्रीमान्कै फाटोअगाडि रङ्गिन पहिरन लगाएको इमोसनल मनोविज्ञान अभिव्यक्त भएको छ । सामाजिक सञ्जालले गाँजेको वर्तमान समाजको मनोवैज्ञानिक अवस्थाको चित्रण छ । पानी पिएर छाक टार्नु पर्ने अवस्थाको चित्रण गर्दै त्यो बेलाको मनोविज्ञान उजागर भएको छ ।
आधुनिक युवायुवतीको चरित्र, सोचाइमा उदात्तता तथा तथा उनीहरूको मनोविज्ञान अभिव्यक्त भएको छ । उनका कृतिमा विज्ञका प्रति पनि व्यङ्ग्य प्रहार गरिएको छ । समीक्षा लेखिदिन्छु भन्दै पैसा पनि लिने, रेस्टुरेन्टमा खाने तर समीक्षा भने नलेख्ने समीक्षकप्रति पनि व्यङ्ग्य गरिएको छ । यसरी लेखक समीक्षक दुवैको मनोविज्ञान उल्लेख भएको छ । अर्कातिर कविता सुन्न बसेका दर्शक कविको लागि मात्र ताली बजाउने भन्ने व्यङ्ग्य प्रहार भएको छ । यसैगरी शिक्षकको तलब, बोर्डिङको महँगो फी, गरिबी, गरिब विद्यार्थीका विषयमा लघुकथा छन् जसले तत्तत् विषयको मनोविज्ञान बताएका छन् । परिवेश बताएका छन् । यथार्थ बताएका छन् ।
लघुकथाकार प्रेरणा दिलदिमागका साथ दत्तचित्त भएर सिर्जना गर्ने स्रष्टा हुन् । लेखनीमा दायित्वबोध तथा आत्मबोधका साथ लेख्छन् । उनका लघुकथामा आख्यानका मूलभूत तत्त्व द्वन्द्व, कथानक, पात्र, परिवेश, थिम, बुनौट आदिलाई हेक्का राखिएको पाइन्छ । मिथकीयता अर्थात् धर्मग्रन्थका घटना तथा पात्रलाई उभ्याएर वर्तमान बोल्न सक्ने खालका छन् उनका लघुकथा ।
उनी स्वैरकल्पनाका पात्र र घटना उभ्याएर पनि लघुकथा लेख्छन् । मानवेत्तर पात्रको प्रयोग र जादूगरी कथ्य शिल्पको प्रयोग गर्छन् । समाजमा उनले देखेका, भोगेका, सुनेका, पढेका विसङ्गतिमाथि व्यङ्ग्यात्मक अस्त्र प्रहार गर्छन् । अर्थात् व्यङ्ग्यात्मकता उनको कुशल विशेषता हो । अर्थात् ती विसङ्गतिमाथि सोझै आक्रमण गर्ने शैली देखिन्छ । उनले भन्न खोजेको कुरालाई अभिधा अर्थमा मात्र प्रयोग गरेका छैनन् । लाक्षणिक तरिकाले कथ्यमा व्यङ्ग्यको लेप लगाउने उनको शैली देखिन्छ । यसरी हेर्दा उनको विशेषता लाक्षणिक पनि छ भन्न सकिन्छ । उनको भाषा प्रयोगमा आक्षेप वा निकृष्टता छैन । साहित्यिकता, कल्पनाशीलता, तीक्ष्णता उनका विशेषता हुन् ।
उनको लघुकथा लेखनको ज्यादै सुन्दर पक्ष भनेको सुन्दर समापन हो । लघुकथा पढेपछि पाठकका मनमस्तिष्कमा प्रतिध्वन्यात्मकता उत्पन्न हुन्छन् । यसैगरी आकारका हिसाबमा हेर्दा पनि उनका कतिपय लघुकथाहरू चिटिक्क परेका देखिन्छन् । आँपको टिकुला चटनीजस्ता छन् केही लघुकथा । पात्र चयनमा पनि विम्ब प्रयोग गर्छन् । कथात्मकतामा जब्बर देखिन्छन् । सबैभन्दा महत्त्वपूर्ण विशेषता भनेको राष्ट्र, समाज, परिवार तथा परिवेशका प्रति गम्भीर छन् । दायित्वबोध गर्छन् ।
वर्तमान पुस्ताका लघुकथाका पाठकले प्रेरणाको यो कृति पढिरहँदा अलि फरकपन पाउने सम्भावना पनि उत्तिकै टड्कारो छ । केही नमिलेको भन्ने पनि बोध हुन्छ । यद्यपि मिल्नु र नमिल्नु पनि समय, पाठक तथा चेतको त्रिवेणी हो ।
सर्वप्रथम त कृति शीर्षक ‘बिसौँ शताब्दीको अद्वितीय खेल’ नै लघुकथाका लागि अलि लामो भएको महसुस हुन्छ । कृतिभित्र सँगेटिएका केही लघुकथाहरूको शीर्षक पनि लामो प्रतीत हुन्छ । तर शीर्षकी करणको यो सवालमा हामीले बुझ्नुपर्ने कुरा भनेको उनी पुराना स्रष्टा हुन् । र, तिनताक कथा वा कविताका शीर्षक असाध्य लामो र प्रभाविलो बनाउने चलन थियो । यही प्रभावका आधारमा लघुकथाको शीर्षक पनि लामो राखिएको भनेर चित्त बुझाउनुबाहेक अरू केही विकल्प छैन । अर्थात् उनका लघुकथामा उनको लेखनीको तीसको दशकको प्रभाव देखिन्छ । उनले लघुकथा लेखेको समयकाल लामो भएकाले कथावस्तुमा त्यसको प्रभाव देखिन्छ । कथावस्तुमा समयको फेर देखिन्छ ।
लघुकथाको उठानमा आकस्मिकताको ख्याल गरिएको छैन । छोटो आयाममा झिल्का जस्तो लघुकथा सुरु हुने र अन्त्य हुने विशेषताको विकास गरिएको सन्दर्भमा उनका कतिपय लघुकथामा आयाम पनि लामो देखिन्छ । आयाम लामो हुने बित्तिकै छोटाकथातिर उन्मुख पनि भएका छन् जस्तो लाग्छ । आयाम लामो हुँदा बयानात्मक प्रस्तुति हुनु स्वाभाविक हो । बयानात्मक हुने बित्तिकै लघुकथामा संवादको अपुगता अनुभूत हुन्छ । कतिपय कथानक इमोस्नल छन् । आदर्शोन्मुख पनि छन् । आयामको न्यूनताको प्रसङ्ग, उठानमा पनि आकस्मिकताको कुरा, बयानात्मक शैली आदि लघुकथाका बाधा मानिन्छन् ।
उपसंहार :
अब उपसंहारतिर आइपुगेको छु । सारमा भन्दा उनको लघुकथाकृति ‘बिसौँ शताब्दीको अद्वितीय खेल’ मा तीसको दशकको लघुकथाको स्वाददेखि लिएर वर्तमानको स्वादसमेत पाइन्छ ।
साहित्य सिर्जनामा सर्जकका भित्री आँखाले देखेको कुरा पाठकका सामान्य आँखाले देख्दैन । द्रष्टाले जस्ताको तस्तै देख्दैन । यसकारण सर्जकले आफ्ना सिर्जनामा उठाइएको गूढ रहस्यलाई देखाइदिने हो । त्यो देखाउने क्रिया भनेको विषयको सचेतन सङ्केतन हो । साङ्केतिकता हो । यही सङ्केतनभित्र सर्जकले विसङ्केतन अर्थात् सङ्केतले भन्न खोजेको कुरा बुझाउन सूत्र प्रयोग गर्नु पनि पर्छ । साहित्य शास्त्रमा यसको ठूलो महत्त्व छ । त्यसमा पनि लघुकथामा गागरमा सागर अटाउनुपर्ने भएकाले सर्जकको सङ्केतन सिप र पाठकको विसङ्केतन क्षमता अति अपरिहार्य कुरा हो । यो कुरालाई लघुकथाकार प्रेरणाले सुन्दर तरिकाले प्रयोग गरेका छन् ।
लघुकथा रचना विधानलाई विचार गर्ने हो भने आख्यानका तत्त्वहरू तथा लघुकथाका विशिष्ट विशेषता दुवैको ख्याल गरिनु पर्छ । लेखक बाँचेको एउटा चेतीय संसार हुन्छ र त्यही संसारले सिर्जनामाथि नियमन गर्छन् । लेखक बाँचेको संसारमा निराशावादी, आशावादी तथा निरपेक्षतावादी चिन्तन हुन्छन् । निराशावादी चिन्तनमा लेखकले आफू बाँचेको संसार याने देश, समाज, परिवार वा परिवेशमा विध्वंस, विपर्यास र विरूप मात्र देख्छ । विसङ्गति मात्र देख्छ । र, सोही कुरा आफ्ना सिर्जनामार्फत अभिव्यक्त गर्छ । समाजमा हुर्कँदै रहेको नकारात्मक वादले यो निराशावादी चिन्तन खुब मन पराउँछ ।
यसैगरी आशावादी चिन्तन बोकेको लेखकले सोही संसारलाई वृहत् दृष्टिले हेर्छ । आफू नबाँचेको संसार पनि हेर्छ । ऐतिहासिक सत्यका आधारमा हेर्छ । समाज विकासका नीतिनियमलाई हेर्छ र एउटा धारणा बनाउँछ । र, उपलब्धि उन्मुख परिवेश देख्छ । सोही कुरा लेख्छ । आशावादी कुरा लेख्नु भने अलि जोखिम नै हुन्छ । सत्ता, पद, प्रतिष्ठाको पछि लागेको लेखक भनेर आरोप खप्ने परिवेशको निर्माण हुन्छ । समाज नकारात्मकतामा रमाउने परिवेशमा बाँचेको हुन्छ ।
निरपेक्षतावादी चिन्तनमा आफू बाँचेको संसारलाई न त निराशावादी न त आशावादी तरिकाले हेरिन्छ बरु त्यस मामलामा तटस्थ बस्ने काम हुन्छ । र, जीवन जगत्का अमूर्त कुरा उठाएर सिर्जना गर्ने गरिन्छ । अमूर्त, अस्मेल तथा अपराजित निरपेक्षतावादी चिन्तनको सामल हो ।
गोविन्द गिरी प्रेरणाको यो कृतिमा तीनै खाले विचार प्रस्तुत भएको छ । यसो किन भएको हो भने प्रेरणाले लघुकथा लेखेको कालखण्ड र वर्तमानका बिचमा धेरै फरक आइसकेको छ । राज्य व्यवस्थामा फरक आएको छ । समाजले गर्ने चिन्तनमा फरक आइसकेको छ । यसो भएकाले प्रेरणाका लघुकथामा ज्यादात्तर निराशावादी त्यसपछि निरपेक्षतावादी र आशावादी चिन्तन देखिन्छ ।
र, अब अन्त्यमा प्रेरणाको लघुकथाका मार्फतबाट प्रदान गरेको सार कुरा भनेको विषयको गम्भीरता, पाठकमा पर्ने-पारिने प्रभावजन्यता वा प्रतिध्वन्यात्मकताको विशिष्ट रोपण हो । लघुकथामा हुनुपर्ने चुस्तता तथा सर्वाङ्ग पूर्णतासहित आएको कृति हुनाले कृति ‘बिसौँ शताब्दीको अद्वितीय खेल’ नमूना बन्न पुगेको छ । प्रेरणाको लघुकथा लेखनको यात्रा सुमधुर बनोस् । शुभकामना ।
सान मार्कोस, अमेरिका
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।