नेपाली साहित्यका परिचित नाम समशेर अली-

कालिम्पोङका समशेर अली एक दक्ष कथाकारका रूपमा स्थापित छन् । उनको जन्म १८ अगस्ट, १९५६ मा कालिम्पोङको सिन्देबुङ बस्तीमा भएको हो । उनका मातापिताको नाम स्व. सेलिना सितलिङ अली र स्व. रूस्तम अली हो । उनी लेप्चा परिवार र स्थानीय मुस्लिम परिवारको दुवैतिरबाट प्रभावित छन् । उनले स्नातक अध्ययन गरेपछि दुई वर्ष जति सिक्किममा शिक्षण कार्य गरे । र पछि कालेबुङकै पागाङ गुम्पा उच्च विद्यालयमा एक वर्ष जति शिक्षण कार्य गरे । उनी १९८० देखि पश्चिम बङ्गाल सरकारको खाद्य आपूर्ति विभागमा मुख्य खाद्य निरीक्षक सम्म पुगेर २०१६ मा सेवानिवृत्त भएका हुन् ।

हाल उनी रोग उपचारका क्रममा गत तीन वर्षदेखि कोलकातामा बसिरहेका छन् । उनी राम्रा साहित्य अध्येता हुन् । उनी इस्लाम धर्मावलम्बी भए पनि स्थानीय नेपाली समाजमा एक खाँट्टी नेपालीभाषी, जातिप्रेमी, पहाडप्रेमी सचेत व्यक्तित्व हुन् । उनी कालिम्पोङ दार्जिलिङ आयोजित हुने प्रायः प्रत्येक साहित्यिक कार्यक्रममा सक्रिय रूपले भाग लिने गर्थे । उनी कविता र कथा लेख्ने गर्छन् ।

उनी जनताका बिचमा गएर त्यहाँका दृष्ट अदृष्ट साना ठुला घटनाहरूलाई टिपेर खिपेर कथा बुन्ने गर्छन् । कथाका सामग्रीलाई लिएर पाठकका रुचिलाई बुझेर कथा लेख्ने गर्छन् । उनी कथाका सामल खोज्ने गाउँघर डुल्छन्, पुराना सैनिक योद्धाहरू खोजी खोजी तिनको वीरताको वर्णन लिन्छन्, गाउँका कर्मी ज्यामीका कथाहरू टिप्छन् । कथा टिप्न बाहिर पनि जान्छन् । कहिले कश्मीर पनि पुग्छन्, कहिले सिक्किम पुग्छन् ।

कथाकारका रूपमा समशेर अली

कथाकार अलीका हालसम्म पाँचवटा कथासङ्ग्रह प्रकाशित छन् । ती हुन्- बिउ भाले (२०१०), सोल्दती गोर्खा मोल्तो ब्योनी (२०१४), हुटिट्याउँ (२०१८), आफ्रिन (२०२१), मामा (२०२२) र अब अब्बुइ (२०२४) । उनको पहिलो कथासङ्ग्रह बिउ भाले अत्यन्त लोकप्रिय र बहुपठित बनेको छ ।

उनको कविता बुख्याँचाको अँग्रेजी अनुवाद (अनुवादक डि टी लेप्चा) नेपालका अन्तराष्ट्रिय बोर्डको छैटौं श्रेणीको पाठ्यपुस्तकका रूपमा अध्ययन-अध्यापन हुन्छ । त्यस्तै गरी उनको मुखाल्नी मैंया भन्ने कथा पनि यता डुवर्सतिरको कुनै पाठ्यक्रमा समावेश छ । उनका बारेमा इन्द्रबहादुर राई, राजनारायण प्रधान, अर्जुन प्रधान, नरबहादुर दाहालदेखि लिएर नवीन पौड्याल, सपन प्रधान आदिले समीक्षा गरेका छन् । उनको पहिलो कथा ‘पुनर्जन्म’ सन् १९८२ तिर दैनिक हिमालचुलीमा प्रकाशित भएको थियो । उनका कथा, कविता र लेखहरू हिमालचुली, सुनचरी हिमालय दर्पण आदि दैनिक तथा सगरमाथा साप्ताहिक र सिक्किम असम डुवर्स कालिम्पोङतिरका पत्र पत्रिकामा प्रकाशित छन् । हालसम्म उनले पूर्ण राई स्मृति पुरस्कार र लैनसिंह बाङदेल स्मृति पुरस्कार हासिल गरेका छन् । २०२० मा सम्पन्न अखिल असम साहित्य सभाको आयोजनामा आयोजित राष्ट्रिय कथा प्रतियोगितामा द्वितीय भएका थिए ।

उनको ‘पहिलो बिउ भाले’ कथासङ्ग्रहमा रहेका कथाहरू हुन्- मुखाल्नी मैया, काटिएको त्यो राती गुड्डी, मेरी जेठीसासू, न्युयोर्कदेखि समथरसम्म, शिकारी मामा, अली सर जिन्दावाद, कैदी नम्बर ५१३- बब्लु घोष, बिउ भाले, पहेंलो रिबिन, नायक शेरजङ्ग थापा, रूच्दै रूचेन बासमति चामलको भात र कुखुराको भुटुन, मभित्र मैले छामेको कथा, भुँवरी, कथा झरीले बोकेको डुब्दो घाम एक सम्झना… । सोल्दती गोर्खा मोल्तो व्योनी कथासङ्ग्रहभित्रका कथाहरू हुन्- पेनिली, सुवेदार, बाघपुल चर्किदैछ, नाचिरह्यो फर्दीमाथी मिरिकको सम्झना, काल बैसाखी, फोटो थिएन, कांडेतार, दले, मास्टर मोसाय, डेभाजू, दिउँसै तारा झलल, सोल्दती गोर्खा मोल्तो ब्योनी ।

‘हुट्टिट्याउँ’ कथासङ्ग्रहका कथाहरू हुन्- ‘इस्कुसको झ्याङमा पाँच मिनट’, ‘बिर्ता’, ‘कमरेड’, ‘नोपु सरदार’, ‘क्याप्सोल’, ‘मेरो पुरानो स्कुल’, ‘सिकारी कटुवाल मामा र वीर बँदेल’, ‘सिन्दुरे साइला’, ‘पहेंलीसअर’, ‘माहुते’, ‘सजाय, ‘पैंयुको फूल’, ‘अल्टिमो ट्रेमलो र लालुपाते’, ‘आन्दोलन’, ‘सिजल’ । ‘आफ्रीन’ कथासङ्ग्रहका कथाहरू हुन्- ‘आफ्रीन’, ‘गोरू चोर’, ‘फस्ट फ्लस’, ‘स्टेसन मोगलसराय’, ‘चौंरी नाच’, ‘साम्प्रदायिक’, ‘काँस फूल’, ‘झुसे पत्रकार’, ‘छिचिमिरा’, ‘कटुसको रूख’, ‘कमिलाको बाबु’, ‘अस्तु’, ‘मेरो डायरीभित्रको पानाभित्र मेजर पुर्ने राई’, ‘बाघवीर मामा’, ‘हराएको मान्छे’, ‘गुराँसको रक्सी’, ‘लाहुरेको रेलीमाई’ ।

यस्तै गरी मामा कथासङ्ग्रहमा जम्मा तेत्तीस वटा कथा समावेश छन् । यसमा उन्तीस वटा भने मामा र भानिजको संवादमा मामाको मुखबाट गाउँ-घरतिर प्रचलित र लोककथामा आधारित बनमान्छेको कथा, जलदेवता, जोगी, जादू टुना, सिमेभूमे आदिका सुनेका अद्भुत कथाहरू सुनाइएको पाइन्छ । यसलाई घटना प्रसङ्गलाई कथाका रूपमा प्रस्तुत गरिएको छ । यसमा ठट्यौली, परिहास, लोकआहान आदिलाई प्रयोग गरिएको छ । त्यस्तै गरी उनको अब्बुइ (२०२४) कथासङ्ग्रहमा कालिम्पोङको भूतबङ्गलो ठानिएको मोर्गन हाउसको बारे स्थानीय मानिसहरूबाट तथ्य सङ्ग्रह गरेर तर्साउने भूतप्रेतको घटना प्रसङ्गलाई कथाको रूपमा प्रस्तुत गरिएको छ । यस दुईवटा कथा भने अन्य विषयका छन् । यद्यपि पछिल्ला दुईवटा कथासङ्ग्रह मामा र अब्बुइ भने औपचारिक कथासङ्ग्रह नै नभएर कथामूलक संस्मरण रहेका छन् ।

० ० ० ०

समशेर अलीका कथागत मुख्य प्रवृत्ति-

कथाकार अलीले कथाको कच्चा पदार्थ खोज्न अलिक समाज सर्वेक्षण गर्दै खट्नुभएको रहेछ । समाजभित्र लुकेर बसेर व्यक्तित्वहरूलाई खोजी खोजी उनीहरूको विगतबाट नै कथा बुन्ने गरेका छन् । कथाका कच्चा वस्तु खोज्न कश्मिरसम्म पुगेका छन् । त्यहाँ गएर जनताका राय बुझ्छन् ।

यसका साथै उनी कालिम्पोङका भित्री गाउँ पनि पुगेर नयाँ नयाँ रोचक तथ्य फेला पारेर कथा लेखेका छन् । कहिले सिलगडी, कोलकाता दिल्ली आदि घुमेर नयाँ लागेको कुरालाई कथा बुनेका छन् । दिल्लीको चोरको धार्मिक विश्वास र जीवनको सुधारलाई पनि छेउबाट हेरेजस्तो गरी उतारेका छन् ।

‘कटुसको रूख’ कथामा सामाजिक र यौन शोषणलाई देखाएर कलियुगमा पहिलेको पाप पर्लक्क फर्किन्छ भन्ने हाम्रो विश्वासलाई टेवा दिएका छन् । बुढेसकालमा आएपछि जस्तै शक्तिशाली पनि मलिन र कारुणिक अवस्था पुग्छ भन्ने धारणालाई यस कथामा देखाएका छन् ।

‘कमिलाको बाबु’ कथामा कुनै लगनशील विद्यार्थीलाई एउटा शिक्षकले कमिला नाम राखिदिएकाले उसको बाबुसमेतको नाम कमिलाको बाबु भएको कुरा उल्लेख छ । उसको आरनमा समाजका विभिन्न जातका मानिसहरू आएर तत्कालीन राजनैतिक, सामाजिक आदि गफ गर्ने गरेको, समाजमा एकता, भातीत्व र सद्भावना आदि कायम रहेको तथ्यलाई देखाएका छन् । इच्छेका पराजुली, बमबस्तीका पौड्याल, डुमराबस्तीका कर्ने लिम्बू, सन्ते छेत्री, सिन्देबुङ बस्तीका नेवार, भालुखोपका तामाङ, छेत्री आदिको एकार्कामा सद्भावनालाई झल्काएका छन् । यस कथामा कथातन्तु त खासै छैन तर कता कता जीवनवृत्तबाट नै कथावस्तु निर्मित छ । समशेर अलीका कथामा विविध विषयवस्तु र प्रवृत्ति पाइन्छन् । तीमध्ये केही उल्लेखनीय विषय र प्रवृत्तिलाई निम्न बुँदामा हेर्न सकिन्छ-

नामकरणमा सचेतता

आफ्ना कथाहरूको नामकरण गर्न कथाकार अली सचेत छन् । बिउ भाले, सोल्दती गोर्खा मोल्तो व्योनी (इटली भाषामा गोर्खाहरू निर्दयी हुँदैनन्), हुट्टिट्याउँ, आफ्रिन आदि जस्ता पाठकलाई आकर्षित पार्ने नाम खोजेर पाठकप्रिय बनाएका हुन्छन् । सङ्ग्रहभित्रका कथाहरूका नाम पनि आकर्षक बनाइएको छ । उनका प्रायः प्रत्येक कथाको शीर्षक नै पाठकका निम्ति चित्ताकर्षक लाग्छन् । जस्तै इस्कुसको झ्याङमा पाँच मिनट, कमरेड १९४८, नोपु सरदार, बोजू देउता, पैयुको फूल, आन्दोलन, सिजल, पेनिली, सुवेदार साहेबको एलसेसन कुकुर, बाघपुल चर्किदैछ, दिउँसै तारा झलल, सोल्दाती गोर्खा मोल्तो ब्योनी, आदि जस्ता नामकरण गदरगरेर पाठकलाई कथाप्रति ध्यानाकर्षण गरेका छन् ।

प्रेमका विविध रूपको चित्रण

समशेर अलीका केही कथामा प्रेमका विविध रूपको चित्रण गरिएको पाइन्छ । कहिले प्रेम धर्मको व्यवधानका कारणले, गरिबीका कारणले बिछोड भएको छ । दार्जिलिङको लरेटो कलेजमा पढ्ने कश्मीरकी आफ्रीन र कालिम्पोङका युवकको भौगोलिक दुरत्वका कारण प्रेम बिछोड भएको छ । केही वर्षपछि प्रेमिकालाई भेट्न म पात्र कश्मीर पुगेको, धर्मको कारणले पहेंलो रिबन कथामा प्रेम छुटेको छ । भुँवरी कथामा रेल यात्राको क्रममा एउटी युवतीको विभिन्न युवकसित सस्तो प्रेम गरिएको रोचक तथ्य प्रस्तुत गरिएको छ । इस्कुसको झ्याङमा पाँच मिनट कथामा पनि शाश्वत प्रेमको वर्णन पाइन्छ । प्रत्येक शनिवार रातभरि कालेबुङदेखि हिँडेर गान्तोक पुगेर पाँच मिनट जति भए पनि आफ्नी प्रेमिकालाई भेटेर छुर्पी वा केही कोसेली दिएर फेरि लगत्तै हिँडेर सोमबार स्कुलको ड्युटी भ्याएको रोचक कथा छ । यो कथा पढेपछि पाठकलाई प्रेमको त्याग र निःस्वार्थता अनुकरणयोग्य बोध हुन्छ ।

स्थानीय रङ्ग निर्देशन

समशेर अलि कथाका कच्चा पदार्थ खोज्दै गाउँ घर डुल्छन्, बुढापाकाका विगतका कथा सुन्छन्, स्थलगत इतिहास खोज्छन् । उनका कथाहरूमा स्थानीय रङ्ग पाइन्छ । उनी कालिम्पोङका जन्मी-हुर्की-बढी र अधिकांश जीवन बितेका हुनाले उनी कथामा यहाँका गाउँबस्तीको वर्णन, कथा पात्र-पात्राहरू बनाएका छन् । आफ्नो वरिपरिका गाउँ, कालेबुङ बजार, केही बस्ती आदिका मान्छेका जनजीवनलाई समेटेका छन् । गाउँमा सब्जीखेती, धानखेती, पशुपालन आदिको दिनचर्या आदि यी जम्मै उल्लेख गरिएको पाइन्छ । कोलकाता, कश्मीर, दिल्ली आदिको पनि उल्लेख पाइन्छ ।

सामाजिक यथार्थवाद

प्रायः सबैका कथामा सामाजिक यथार्थवाद पाइन्छन् । अलीका अधिकांश कथाहरूमा नै सामाजिक यथार्थवाद पाइन्छन् । समाजमा थाहा पाइएका र नपाइएका साना ठुला घटनाहरूलाई प्रस्तुत गरेका छन् । प्रेमका विभिन्न रूपका कथा, जेल बस्ने कैदीको खेताला भएर भएर बस्ता आफैं आजीवन जेल बस्नुपरेको बब्लु घोष उर्फ थापा, कश्मीर गएका बेला त्यहाँकी एउटी युवतीको कथा, धर्मको कारणले प्रेममा बिछोड भएको प्रसङ्ग आदि पाइन्छ ।

कल्पना र वास्तविकताको मिश्रण

शमशेर अलीका कथामा काल्पनिकता र वास्तविकताको मिश्रण गरिएको हुन्छ । वास्तविक भएकै घटनालाई काल्पनिक बनाइ कथा बुनिएको हुन्छ । भूतपूर्व सैनिकको संस्मरण, शिकारको कथा, भूतका कथा, गाउँ बस्तीका केही रोचक घटना प्रसङ्ग आदिलाई बुनेका पनि छन् । गाउँ घरमा भएकै घटना र प्रसङ्गलाई कल्पनाले बुनेर एउटा सुन्दर कथा सिर्जना गर्न सक्छन् । स्थानीय समाजका कतिपय अदेख घटना व्यक्ति र प्रसङ्गलाई रोचक ढङ्गमा प्रस्तुत गर्दछन् ।

तथ्यात्मकता

अलीका कथामा स्थलगत सर्वेक्षण र इतिहासपरक, त्यहाँको पेशागत, व्यक्तित्वगत तथ्यात्मकता पाइन्छ । कथामा प्रसङ्गवश कालिम्पोङको पूर्व इतिहास, यहाँका पूर्व शिक्षकहरू, व्यापारी वर्ग आदिका तथ्य पाइन्छ । उनको रुचि भने दोस्रो विश्वयुद्धमा सामेल भएका गोर्खा सैनिकहरूलाई खोजी गरेर तिनको संस्मरणलाई कथा बुनेका हुन्छन् । भारत बाङलादेशको सिमानामा मान्छेहरू काँडेतारबाट छिर्ने प्रणाली, कालिम्पोङको इतिहासमा मुस्लिम परिवार, चिनियाँ परिवार, तिब्बती परिवार, लाप्चे परिवार, भोटे परिवारको उपस्थिति रहेको, कालिम्पोङका पुराना खानदान, आदिलाई कथामा स्थान दिइएको पाइन्छ ।

युद्ध वर्णन

अलीका कथामा पहिलो र दोस्रो विश्वयुद्धको वर्णन पाइन्छन् । विशेष गरी भूतपूर्व सैनिकहरूसित सित भेटेर अन्तर्वार्ता लिएर उनीहरूका बाट पहिलेको घटनाहरू उनीहरूकै मुखबाट सुनेर त्यसलाई कथा रूप दिएका छन् । इटलीको युद्धमा कुलबहादुर लिम्बूले लडाइमा वीरतामूलक खटेको प्रसङ्ग, बर्माको युद्धमा शेरसिंह थापाले खटेको प्रसङ्ग आदि रोचक ढङ्गमा प्रस्तुत गरिएको छ । अहिलेसम्म चर्चित चार-चारवटा कथासङ्ग्रहका अध्ययन गरे कति रमाइला कथा पढ्न पाइन्छ । समाजभित्र के के घटना भइरहेका हुन्छन्, तिनलाई नजिकबाट हेरेर तिनलाई अङ्कन गर्नुभएको छ । कतै तपाईं डायरी बोकेर समाजभित्र पस्नुहुन्छ होला । कथा खोज्दै जाँदा बुढा पाकासित भेट गर्नुहुन्छ होला, उनीहरूको विगतका रमाइला वा विषाद लाग्दा घटनाहरू कोट्याउन लाउनुहुन्छ होला, तपाईँ  टिप्दै जानुहुन्छ होला । अझ पहिलो वा दोस्रो विश्वयुद्धका जीवित योद्धाहरू पाउनुभयो भने कति खातिर गरेर कुरा कोट्याउनु हुन्छ होला । तपाईंको युद्ध र योद्धा प्रसङ्गमा कति मजाले चाख लिएर कथा बुनेका छन् ।

आफ्रीनमा भएको तीनवटा कथाको मूल विषय नै युद्ध प्रसङ्ग रहेको छ । एउटा कथा बाघवीर मामा भन्नेमा विश्वयुद्धको प्रभावबाट बाघवीर मामाले पनि आफू सेनामा भर्ती नभई ठगीका रूपमा भए पनि विश्व युद्धका परोक्ष सहभागी बनी पेन्सनसम्म भ्याउँछ । अर्कालाई भर्ती पठाएर उसलाई ठगेर पेन्सन थापेर आफू नै सेनामा गएको झुटो कुरा गरेको रोचक कथा कथेका छन् । मेरो डायरीको पानाभित्र मेजर पुर्ने राई कथामा मलेसियामा अङ्गेजको सेनाको मेजर भएर लडाई गर्ने पुर्ने राईको कथालाई पाठकले सासै नफेरी पढ्ने गर्छन् । मलेसियाको घोर जङ्लमा त्यहाँ स्थानीय गोरिल्ला छापामार समूह र तिनका नेतृत्व गर्ने सिम्फोलाई मारेको रोचक घटनालाई सङ्कलन गरेका छन् ।

लाहुरेको रेलिमाई कथामा पनि कालेबुङका वृद्ध अम्बरबहादुर गौतमका विगतको दोस्रो विश्वयुद्धको घटना उपघटनालाई कसरी प्रस्तुत गर्नुभएको छ । आहा! रोचक बनाउनु भएको छ । यस कथामा बर्माको थुम्का थुम्कामा लडिएका कथा छन् । यो कथा पढ्दा हामी पाठकको आङ सिरिङ हुन्छ, नछोडौं जस्तो लाग्छ ।

हास्य र विनोदप्रियता

समशेर अलीका केही कथामा हास्यका पुट पनि पाइन्छन् । बिउभाले, हाउस नम्बर, आदि शीर्षकीय कथाहरूमा पाठकका निम्ति बडो हास्य र विनोदको भाव पाइन्छ । साँझपख एउटा बुढामान्छेकाबाट बिउभाले सस्तै पाएँ भनेर म पात्रले किनेर घरमा ल्याउँदा त आफ्नै घरको बिउभाले पो आफैंले किनेको थाहा पाएर स्वास्नीको व्यङ्ग्यात्मक टोकसोले पाठकलाई भुँडी मिचिमिचि हाँस्न बाध्य बनाउँछ । अर्को त्यस्तै एउटा कथामा पनि कोलकाताको एउटा ठेगाना पुगेर आफन्तको घर सम्झेर गएको, ठाँटसँग खाना खाएको म पात्रले पछि त्यो घर आफन्तको नभएर अर्कैको रहेछ भनेर थाहा पाएर त्यहाँबाट भागेको बडो विनोदात्मक प्रसङ्ग पाइन्छ । मास्टर मोसाय कथामा उनको चरित्र चित्रण विनोदी किसिमको छ । शिकार खेल्दा रक्सी खाएर शिकारी आफैं ढलेको जस्ता केही रोचक विषयवस्तु पाइन्छ ।

शैलीगत नौलोपन

समशेर अलीको कथा लेखनको आफ्नै मौलिक कथाशिल्प र शैली पाइन्छ । क्रियापदविहीन वाक्य, छोटा वाक्य, कथा पढ्दै जाँदा पाठकलाई उनका कथामा एक प्रकारको स्वाद, रोचकता पाइन्छ । एक प्रकारको घुमाउरो वाक्य, कता कता अशुद्ध भए पनि रसिला वाक्य, परिहासपूर्ण प्रस्तुति, छोटा वाक्य, वाक्यको अन्तमा क्रियापदको बहिष्कार गरिएको पाइन्छ । यद्यपि उनको भाषागत कमजोरी नै छन् । औपचारिक शैलीमा पढ्ने बानी परेका आमपाठकलाई उनका अनौपचारिक शैलीमा प्रस्तुत गरिएका कथा रोचक र रमाइलो लाग्ने गर्छ । कथाभित्र हठात् मोड परिवर्तनले पाठकलाई रोचक बनाउने गर्छन् । कार्टुन चरित्रका पात्रलाई उभ्याएर तिनको आदर्शीकरण गरिएको हुन् । मुखाल्नी मैया कथामा गुन्द्रुक हाल्ने प्रक्रिया पढ्दा पाठकका मुखमा पानी आउँछ । त्यस कथामा मुखाल्नी मैंयाले गुन्द्रुक बनाएर आफूलाई आपूर्ति दिने गाउँले किसानलाई आपत् पर्दा मुनाफाबाट केही बढी रकम दिएर मानववादलाई जिउँदो राखेकी छ । भाषाको व्याकरणिक विचलन, कतै अशुद्धि आदि केही भाषिक कमजोरी भए तापनि शैलीको मिठासले गर्दा पाठकलाई रुचिकर लाग्छ ।

विविध विषय

समशेर अलीका कथामा उपर्युक्त विषयवस्तु र प्रवृत्तिबाहेक मान्छे हराएका, एकजना लोभी गुरुबाबुले आफ्नो जीवनभर लोभले गर्दा राम्रो खाने लाउने गरेनन् तर सेवानिवृत्त भएपछि आफ्नो भएभरको कमाइ भने एउटा हाई स्कुल स्थापना गरेको महान् कार्य गरेको रोचक कथा वर्णित छ ।  पतिभक्ति, देशभक्ति, बेसी चलाक मान्छेको दुर्गति, सिमानाको काँडेतारबाट छिर्दाको दुष्परिणाम, शिकार कथा, दार्जिलिङ पहाडमा चलेको गोर्खाल्याण्ड आन्दोलनका विभिन्न पक्ष र घटना, भूतप्रेत र लोकोक्ति आदिलाई कथाका सामग्री बनाएका छन् । उनी एक सफल कथाकार हुनाले उनले जे विषयलाई पनि कथा बुन्न सक्छन्, पाठकलाई रोचक बनाएर प्रस्तुत गर्छन् ।

० ० ० ०

मूल्याङ्कन र उपसंहार

नेपाली कथा साहित्यमा समशेर अलीको नाम पनि जोडिएको छ । उनका कथाहरू समीक्षकहरूबाट समीक्षित पनि भएका छन् । उनी एक दक्ष कथाकार हुन् । पाठकले खोजेका वा चाहेको जस्तो कथा बुन्ने गरेका छन् । परम्परागत कथा लेखनभन्दा भिन्न रहेर आफ्नै परिपाटी शैली, लिएर कथा लेख्ने गर्छन् ।

उनका कथाहरूलाई अध्ययन गर्दा नामकरणमा सचेतता, प्रेमका विविध रूपको चित्रण, स्थानीय रङ्ग निर्देशन, सामाजिक यथार्थवाद, कल्पना र वास्तविकताको मिश्रण, तथ्यात्मकता, युद्ध वर्णन, हास्य र विनोदप्रियता, शैलीगत नौलोपन, कतै कतै प्रतीकात्मकता, विविध विषय आदि जस्ता पाउन सकिन्छ । उनको लेखनगत शैली रोचक, आकर्षक र छरितोपन पाइन्छ । उनले साना साना विषयलाई पनि कथाका कच्चा पदार्थ बनाएर कथाको रूप दिन सक्छन् । उनी कथाका वस्तु खोजी खोजी हिँडेर त्यसलाई कथाको रूपमा ढालेर एउटा कथा तयारी गर्छन् ।