अध्ययन अनुभूति १

पुस्तक पढ्ने रुचि र सोखलाई मैले वरदान मानेको छु । पुस्तक पसल जाने, नयाँ पुस्तक ल्याउने र एकाग्र भै पढ्ने रुचि घटेको छैन, उमेर सँगसँगै बढ्दै गएको छ । पुस्तक अध्ययनले मलाई ज्ञान सँगै असीम आनन्द र खुशी पनि दिएको छ । साथै लेख, रचना, पुस्तक, गीत, कविता लेख्न पनि उत्प्रेरित गरिरहेको छ । सिकाइरहेको छ । पछिल्लो समय पर्यासाहित्यले आकर्षित गरेर धूमधाम रमाइलो र मनमुग् बनाइरहेको छ ।

भर्खरै अध्ययन गरिसकेको पुस्तक “लाहुरेको रेलिमाई” उत्कृष्ट कृति हो । यसले मेरो मन मस्तिष्क पगालेको छ । जितेको छ । र, मलाई अध्ययन अनुसन्धान लेखनको लागि नयाँ तर भव्य र सभ्य विधातर्फ ध्यानकेन्द्रित गर्न दिशानिर्देश गरेको छ ।

पुस्तकका नायक ब्रिटिश इन्डियन आर्मी । लेखक ब्रिटिश आर्मी । र, पाठक म नेपाली आर्मी । कति रमाइलो संयोजन, मिलन र घुलन !

संयोग, हामी तीनै जनाको स्वर्गजस्तो सुगन्ध वास आउने प्रकृति र संस्कृतिको धनी पवित्र भूमि – नेपाल । मन पर्ने विधावस्तु – नेपालको सुन्दर प्रकृति, धर्ती र संस्कृति । रक्षा–कल्याण–सम्मान गर्नुपर्ने श्री सम्पत्ति – नेपाली भाषा, साहित्य, कला र संस्कृति ।

अपूर्व संयोग मान्नुपर्दछ, हामी एउटै सपना, कल्पना, बिपना, साधना बोकेका उहिले एउटै भूगोलका ऐले ग्लोबल भिलेजका समान ज्ञान, ध्यान, मनलाई यो पुस्तकले जोडिदिएको छ । (लेखक र म) हामीलाई लगने गाँठोले कसिलो बाँधिदिएको छ ।

एक छिनलाई नेपाली सेनाको संक्षिप्त चर्चा गर्दछु । मैले करिब साँढे तीन दशक लामो सेवामा हीरा जस्ता सिपाहीहरूको हात, साथ र काँध पाएँ । शान्ति सेनादेखि युद्ध मैदानसम्म । महाभूकम्पदेखि बाढी–पहिरोसम्म । महामारीदेखि–भोकमरीसम्म । विषम मौसमदेखि अनकन्टार वनजंगल र ज्यान लिने जोखिमपूर्ण हिमालसम्म । आफू भाग्यमानी भएर होला मैले सेवा अवधिभर, बहादुर, होनहार र जोडदार राम्रा सैनिकहरू मात्र देखें–भेटें । मैले भेटे–देखेका गण गुल्महरूको बहादुरी र विजय वर्णन गरिनसक्नु गौरवशाली छ ।

मैले देखेका हाम्रा सैनिकहरू एसियादेखि युरोप हुँदै अमेरिकासम्म पुगेर गरेका तालिममा प्रथम । संयुक्त अभ्यासमा प्रथम । विश्व शान्ति स्थापना कार्यमा प्रथम । उद्धार कार्यमा प्रथम । देश निर्माण त्याग र समर्पणमा प्रथम । सगरमाथा आरोहणमा सफल । हिमाल सफाइमा अगुवाइ । साहसिक खेलकुदमा प्रथम । सैनिक–राष्ट्रिय प्रतिस्पर्धामा प्रथम ।

बहादुर सिपाही, जुनियर कमिसन अधिकृत र जुनियर अधिकृतहरूले असफलतालाई सफलता र पराजयलाई विजयमा रूपान्तरण गरेका गौरवशाली कथाहरूको फेहरिस्त लामो छ । अग्रजहरूको बहादुरीको कथा गढीहरूमा सुनको अक्षरले कुँदिएको छ र त्यही जगमा सधैँ स्वतन्त्र सिद्ध आजको सुन्दर शान्त विशाल नेपाल उभिएको छ ।

विडम्बना, ती बहादुर अग्रज र सिपाहीहरूको साहसिक कथा र विजय गाथा हराएको छ । लिपिबद्ध र दस्ताबेजीकरण हुन नसक्दा तिनको अमूल्य योगदान, त्याग र समर्पण माटोमा विलीन भएको छ । संगठन, समाज र देशभक्ति मेटिएको छ । अद्भुत सिर्जना, प्रतिभा, इतिहास, कला, साहित्य, गीत–संगीत साधना सम्मान र संरक्षण नपाएर मरेर गएको दुर्भाग्य छ । अहिले जोस जाँगर र ऊर्जाको ढोका बन्द भएको एउटा कारण यो पनि हुन सक्दछ ।

सलाम छ लेखकलाई, जसले शताब्दी पुरानो सिपाहीको रगत र पसिनाले भिजेको मक्किएको च्यात्तिएको डायरीलाई धोएर जोडेर केस्रा केस्रा केलाएर सुन्दर पुस्तकको रूप दिनुभएको छ । र, एउटा महत्त्वपूर्ण ऐतिहासिक कृतिलाई पाठकसामु राखिदिनु भएको छ ।

सत्य तथ्यमा आधारित यो महत्त्वपूर्ण दस्ताबेज हरेक देशका सेनालाई श्रोत–सामाग्री हुन सक्दछ । किनभने आज प्रायः धेरै देशको सेनामा गोर्खालीको सम्मानजनक र शानदार सहभागिता छ ।

विश्वभरिका भूपू सैनिकहरू: जसले युद्ध देख्न भोग्न पाएनन् तिनलाई यो पुस्तकले युद्ध मैदानमा पुर्‍याएर युद्ध खेलाइछाड्ने छ । घरमा बसीबसी योद्धा हुन पाउने सुन्दर अवसर !

जन्मपछि अवकाश अवश्यम्भावी छ । मृत्यु पनि निश्चय छ । तर अवकाश पछिको जीवन यती सुन्दर, व्यस्त, मस्त, सभ्य र भव्य छ कि पुस्तकले सुनौलो मार्ग भएर त्यो स्वर्णिम गन्तव्यसम्मको सानदार यात्रालाई सिफारिस र दिशानिर्देश गर्दछ ।

यो विशिष्ट कृति पस्केर महान् पूर्व लाहुरेको पहिचान र सम्मान गर्ने आधुनिक लाहुरे लेखक निःसन्देह आफैमा महान् र सम्मानयोग्य छन् । लाहुरे मित्रसेनलाई न्याय दिने लेखक नेपाली कदर र पुरस्कारका होनहार हकदार हुन् र प्राकृतिक न्यायको लागि मेरो जोडदार सिफारिस छ । र, अर्को सिफारिस छ – यो ज्यादै पठनीय र मननीय पुस्तक अध्ययन गरेर प्रथम विश्व युद्धको साहसिक योद्धा हुनलाई । र, अवकाश पछि लोकप्रिय सर्जक हुनलाई ।

 ० ० ० ० ०   

अध्ययन अनुभूति २

पर्यासाहित्यका सर्जक विजय हितानले लेखेको पुस्तक किन्न असन हान्निएँ । फिजिकल भेट नभई लेखकले मेरो मन मस्तिष्क जितेका छन्, प्रकृति नामको पुस्तकमा प्रकाशित एउटा लेखले । सरल तर गोली छ त्यो लेख । मन मुटु छुने र हल्लाउने । एउटा लाहुरेको अकल्पनीय सपना, सिर्जना, सफलता र दूरदृष्टि देखेर मलाई ताजुब लाग्यो । वातावरण सुधारदेखि समाज, देश सुधारको पवित्र र महान् दूरदृष्टि ।

अत्यन्त उत्साहका साथ ढोका थुनेर एकाग्रसाथ पुस्तक पढ्न शुरु गरें । जति पढ्यो उत्ति मोहनी जालमा परे जस्तो मनमुग्ध भएँ । पागल जस्तै भएँ । खुशीको सीमा रहेन ।

सुनूँसुनूँ लाग्ने पुरानो गीतको नाम पुस्तकको आवरणमा देख्न पाइन्छ । सायद पुस्तकको आवरणले यो प्रख्यात गीतका रचनाकार, गीतकार, संगीतकार, बहुआयामिक कलाकार, बहुप्रतिभाशाली मित्रसेन थापाको अद्भुत शक्तिशाली कला र गलालाई सम्मान गरेको छ । प्राकृतिक सामाजिक न्याय दिएको छ ।

प्रथम विश्वयुद्धका प्रत्यक्ष सहभागी र भुक्तभोगी मित्रसेन थापाले आजभन्दा करिब सभा सय वर्ष अगाडि यो गीत रचेर गुनगुनाएर युद्ध–मैदानस्थित कठिन घडीका सैनिक यात्रा, मार्चपास, ब्याटलअर्डर दौड हुँदै युद्धको अग्र मोर्चाका ट्रेञ्चभित्र पुर्‍याएका रहेछन् । जीवन–मरणको दोसाँध र मृत्युवरणको सँघारमा तङ्ग्रिने, जुरुक्क उठ्ने र दुरुस्त लड्ने–लडाउने शक्तिशाली साधना रहेछ यो कर्णप्रिय गीत ।

यो गीतलाई मित्रसेनले युरोपस्थित फ्रान्सका ट्रेञ्च हुँदै बेल्जियम बेलायत मेसापोटामिया (सिरिया इराक) का युद्ध मोर्चाहरूमा खुबै धेरै गाएछन् । युद्धमा होमिएका गोर्खालीहरूलाई नेपाली रस र सास भर्न । रौस र जोस भरेर उद्याउन र लाग्ने बनाउन । जोसै जोसमा दुश्मनलाई ठहरै पार्न ।

गीतको नालीबेली थाहा पाएपछि अब यो गीतको अक्षरअक्षर मेरो मुटुमा कुँदिएको छ । र, शक्तिशाली सर्जक मित्रसेन थापा मेरो आँखाको नानीमा सजिएर बसेका छन् ।

मित्रसेनलाई  सिपाही भनेर सम्बोधन गर्न मेरो मन र कलमले पटक्कै मान्दैन । तर, प्रथम विश्व युद्धलाई आश्चर्य चकित पार्ने, बेलायत फ्रान्स लगायत मल्टिनेशनल फ्रेन्ड्ली फोर्स र उनका तत्कालीन दुश्मन जर्मनहरूलाई रगत पसिना बगाएर जादु देखाउने अथक अमर मित्रसेन सिग्नलर सिपाही नै थिए । बहु सीपधारी मित्रसेन कुशल सिग्नलरका अलावा कुशल इन्फ्यान्ट्री, इन्जिनियर, मेडिकल, सर्भेयर, काउन्सिलर सबै थिए । सर्वगुण सम्पन्न र सबै सीपमा निपुण ।  सबै कमान्डरका दाहिने हात । लडाइँका संवेदनशील र दुःखका घडीमा कमान्डरका आँखा, कान र सल्लाहकार । नबिराउने र रत्तीभर नडराउने । देखेको लागेको सत्य कुरा निडर राख्ने । तर पनि सबैको प्रिय र विश्वासपात्र । किनभने उनमा व्यावसायिक निपुणता सँगै साराको मन छुने कला गला सिर्जनाको गहना थियो । सरलता, शालीनता, नम्रता, भद्रता मानवताका गहनाले उनी सुसज्जित लाग्दथे । स्वाभिमानको गहनाले उनी सधैँ चम्किरहेका हुन्थे ।

लडाइँमा असर पार्ने भूगोल, मौसम, स्थानीय जनता, दुश्मनको दुरुस्त अध्ययन अनुसन्धान गरी पूर्वानुमान लाउन सक्ने र सही योजना बनाउन सक्ने उनको क्षमताले उनमा भारी नेतृत्व गुण देखिन्छ । दुरुस्त सुँघ्न, सुन्न र देख्न तथा अरूको मनोविज्ञान पहिल्याउन सक्ने विलक्षणकारी शक्तिले  उनी युद्धभरि सिपाही होइन कुशल कमान्डर लागिरह्यो ।

कति भाग्यमानी तत्कालीन ब्रिटिश इन्डियन आर्मी कि मित्रसेन जस्तो काबिल होनहार सिपाहीलाई वारपार युद्धको अग्र मोर्चामा पाउने ।

सिपाही दर्जा होइन, सैनिक पेशा हो । त्यसैले जुनसुकै दर्जा होस् सैनिक पेशा अँगाल्ने हामी सबै पहिला सिपाही हौं । दर्जा पछि थपिएको अतिरिक्त अलङ्कार मात्र हो । त्यसैले म आफूलाई जहिले जहाँ पनि सगर्व सिपाही हुँ भनेर प्रस्तुत गर्दछु । “म सेनापति होइन सिपाही हुँ” भनेर धेरै आर्मी चीफहरूले छाती फुलाएर गौरव गरेको आँखाले देखेको छु । त्यसैले मैले अन्याय भए पनि मित्रसेनलाई धक नमानी यहाँ सिपाही भनें । उनको वास्तविक ओजिलो र तेजिलो टाइटल अर्कै छ जुन म पछिल्लो लेखमा रहस्योद्घाटन गर्ने नै छु ।

====

मेरो सपनाको सिपाही

गति मति हराम पदिक अधिकृत हुनुभन्दा असल सिपाही हुनु हजार गुना उचित र ठूलो हो भन्ने आफ्नो मान्यता र सपनाको सिपाही थिए मित्रसेन ।

राशन मै निःशुल्क पाउने चुरोट र रमको अम्मल मित्रसेनले जीवनमा चाखेनन् । र, धूम्रपान मद्यपानलाई दुख र सुखको साथी बनाएर भयमुक्त पीडामुक्त भएँ भन्ने अन्धविश्वासलाई मित्रसेनले सधैँ बिचरा भने । विकृति भने । र, गोर्खाली समाज यो विकृतिको सिकार भइरहेको दुर्भाग्य देखेर उनलाई पीडा भइरह्यो । समाजलाई यो विकृतिबाट कसरी मुक्ति दिलाउने भन्ने चिन्ताले उनी छटपटाइरहे ।

यही अम्मलबाट टाढा रहनाले हो उनी युद्धमा बाँचेको । हिरो भएको । किनभने उनको शरीर हमेसा चुस्त, फुर्त रहिरह्यो र जज्मेन्ट दुरुस्त थियो । दुश्मनको ग्याँस, कानेखुशी र सकल छिटो सुँघ्ने, सुन्ने र देख्ने उनका कति तिखा नाक कान आँखा । ग्याँस, रसायन, धुवाँ–धुलो, प्रदूषण, रोग पहिचान गर्ने टाठो छाला ।

लत्रिने, थाक्ने, हरेश खाने, काम ठग्ने, पछि हट्ने धिङ्न्याहा मित्रसेनको रगतमै थिएन । र, आफू गुनाको अरू भने झैं उनले त्यस्तो घामट सहकर्मी सहयोद्धा पनि युद्धभरि देख्नु भोग्नु परेन ।

जन्मजात कलाकार भएर होला उनमा मानवता, नैतिकता, इमानदारिता, बफादारिता, सत्यता औधी धेरै थियो । करुणाको खानी भएकोले उनले भीषण युद्धको दौरान आफ्नो जीउ ज्यान नभनेर अरू घाइतेहरूको ज्यान बचाउन ठूलो त्याग गरे । धेरै घायल सहयोद्धाहरूलाई उद्धार त्याग धर्म गरेर दोस्रो जीवन दिए । पाठकहरूले मित्रसेनलाई धेरैवटा भिसी मेडलले बहादुरीको सम्मान गर्ने छन् । “कर्मण्ये बाधिकारस्तेमा फलेषु कदाचन” आदर्श बोकेका मित्रसेनले पराक्रम देखाइरहे र पुरस्कार, पद, पैसाको पछि लागेनन् ।

मित्रसेन सप्रेको मुला जस्ता हिरो थिए । शारीरिक सुगठन, चट्ट मिलेको कद, साहस र स्वाभिमान झल्किने मुहार हेरेर युरोपका हुन् वा भारतदेखि नेपालका पट्ठी सुन्दरीहरू लट्ठै पर्दथे । आँखा नझिम्क्याई एकटक हेरिरहन्थे ।

त्यसमाथि उनको असल आचरण र कला गलाको चमत्कार देख्न सुन्न पाए भने हुरुक्कै हुन्थे । ज्यानै फ्याँक्थे । एउटा प्राकृतिक हिरोलाई ती चारित्रिक गुण र कला गला अतिरिक्त हीरा मोती थिए । त्यसमाथि नेपाली भाषा साहित्य कला संस्कृतिको रक्षा कल्याण सम्मान भाव उनको चम्किलो र मूल्यवान् श्रीपेच थियो ।

तर, अम्मलरहित र आध्यात्मिक ज्ञानले निर्देशित हिरो मित्रसेन कहिलेकहीँ कसैको मोहनी जालमा परेनन् । उनी पत्नीभक्त सत्यवान् साधु सरह थिए । लाहुरेलाई जबरजस्ती हात समातेर तान्ने वेश्याहरूलाई उनी दिदीबहिनी सम्झेर उद्धार राहत सुधारको चिन्तामा पर्दथे । फौजी र कलाकार दुवै जीवन सुन्दरीहरूको सिकार आरक्ष हो । सुन्दरीहरूले एम्बुसमा पारी छोड्छन् । शिकार गर्दछन् । तर अपवाद जति झ्याउरे, दोहोरी, गीत संगीत नृत्य मनोरञ्जन गरे पनि मित्रसेनको पत्नीव्रत कहिल्यै डगमगाएन ।

कलाकार कति धेरै प्रकृतिप्रेमी हुन्छ र प्रकृतिसँग नजिकिन चाहन्छ भन्ने कुरा मित्रसेनको मनोविज्ञानबाट प्रस्ट हुन्छ । तोतारानी गाउँ र मास्तिरको डल झिल । निलो आकाश चुम्दै गरेको धौलाधर हिमाल । काखमा आसीन सुन्दर काँगडा उपत्यका । नेपाली पुर्खाको पूर्व विशाल नेपाल । ऐलेसम्म मगमग नेपालको सुगन्ध आउने नेपाली भूमि । प्रकृतिसँग मित्रसेन हुरुक्कै हुन्छन् । डुब्दछन् र हराउँदछन् ।

जब मित्रसेन पुर्ख्यौली घर खोज्दै बाग्लुङको राखुपुल्लाको यात्रा गर्दछन्, तब प्राकृतिक छटाले भरपुर सुन्दर नेपाल नेपालीको विविध विचित्र प्रकृति, धर्ती (भूगोल) र संस्कृति देखेर मोहित हुन्छन् । स्वर्गमा पुगेको अनुभूत गर्दछन् ।

सलाम छ, प्रकृतिका पुजारी मित्रसेनलाई ।

====

बिस्मात

बिस्मात चार कुराको लाग्यो –

पहिलो, यो धर्तीको असीम साहस र दृढ इच्छाशक्ति भएको लोहा पुरुषलाई लुरे लुते कालले कसरी ५१ वर्षको उमेरमा चुँडेर लग्यो ? जब कि भीषण युद्धमा धेरै कालहरूलाई उनले संसारभरि पुगेर लडेर जितेर धुलो चटाएका थिए ।

दोस्रो, उनी जन्मजात कलाकार थिए । रगतको कणकणमा कला बग्ने मित्रसेनलाई लाहुरे हुनु समयको खेल, भाग्यको लेखन, बाध्यताको झेल जे भने पनि उनले आफ्नो भागमा परिआएको विश्वयुद्ध बहादुरीका साथ लडे । र, सर्वाङ्ग सग्लै शरीर लिएर परिवारसामु पुनः हाजिर भए । तर, नेपाली भाषा–साहित्य–कला संस्कृतिको प्रवर्द्धन सम्बर्द्धन गरी गोर्खाली समाजलाई सकारात्मक परिवर्तन र सुधार गरेर अझ धेरै चम्काउने टल्काउने उनको पवित्र र महान् उद्देश्य अधुरै रह्यो कि ! बाँकी आधा उमेरमा उनको सत्सङ्ग र सत्कर्मले निःसन्देह आकाश छुने थियो । धर्ती चम्किने थियो । लक्षित समाज परिवर्तन भएर सभ्य स्वर्गमा रूपान्तरण हुने थियो ।

तेस्रो, किन असल आत्मा र कर्मशील, वीर, महान्, प्रकृति धर्ती संस्कृति पुत्रहरूको स्वर्गमा छिटो बोलावट हुन्छ ?

चौथो, यो पुस्तक किन विसं २०५० सालमा छापिएर हाम्रा हरेक सिपाहीका हातमा परेन ? परेको भए पुस्तकले फोर्स मल्टिप्लायरको काम गर्ने थियो । फौजको तागत तीन गुना बढ्ने थियो । साहसको मूल फुटेर भलबाडी आउने थियो । भलै, हाम्रो खाँटी दुश्मन कोही थिएन । “फुटाऊ र शासन गर” बाह्य शक्तिको न्यारेटिभमा आफ्नै दाजुभाइ दिदीबहिनीहरूलाई दुश्मनको कित्तामा उभ्याइएको थियो ।

तथापि, सेनाको पर्यायवाची शब्द हो साहस । साहसको कारखाना हो सैनिक संगठन । त्यहाँ साहसको खानी हुनै पर्दछ । शान्तिमा होस् वा प्रकोपमा । शान्तिसेनामा होस् वा द्वन्द्वग्रस्त क्षेत्रमा । सैनिक तालिम र अभ्यासमा होस् वा उद्धार राहतमा । विकास निर्माणमा होस् वा प्रकृति र वन्यजन्तु संरक्षण कार्यमा  ।

यो पुस्तकले सिपाहीलाई धार लगाउँदछ र साहसिक, शक्तिशाली, सफल, विजयी सिपाही बनाउने मित्रसेनको मन्त्र सिकाउँदछ ।

हरेक सैनिक ढिलो चाँडो एक दिन निवृत्त हुन्छ । निवृत्त पछिको मित्रसेनले कोरेको सुमार्गले सभ्य, भव्य र सुखद भविष्यको गन्तव्य फेला पर्दछ ।

त्यसैले सेना होस् वा अन्य सुरक्षा निकायहरू, भूपू सुरक्षाकर्मी हुन् वा सुरक्षाकर्मी बन्ने सुन्दर सपना पालेका भावी उम्मेदवारहरू, सबैको लागि यो पुस्तक अति उपयोगी र शिक्षाप्रद छ । साथै, निजामती कर्मचारी हुन् वा साहसिक खेलाडी, विद्यार्थी हुन् वा शिक्षक, कलाकार वा साहित्यकार, स्वयंसेवक वा समाजसेवी, सञ्चारकर्मी वा अधिकारकर्मी अथवा नागरिक समाज सम्पूर्ण सर्वसाधारण नेपालीको लागि यो पुस्तक ज्यादै पठनीय छ ।

विदेशमा बस्ने नेपालीहरूलाई आफ्नो मौलिक भाषा साहित्य कला संस्कृति र मातृभूमि पितृभूमिसँग जोड्न जोडिन र योगदान पुर्‍याउन यो पुस्तकले आँखा कान खोलिदिने छ । प्रेरणा भरिदिने छ ।

० ० ० ० ०

अध्ययन अनुभूति ३

नेपाली सेनाका पुराना पल्टनहरूको बन्दोबस्ती तयारी, टुँडिखेलमा सामेली, ब्रिफिङ, मार्च पास र युद्ध मैदानतर्फ प्रस्थान ।

डफ्फाका डफ्फा पल्टनहरू मालिकलाई राष्ट्रिय कोसेली नजराना र श्री ३ महाराजाको शुभकामना सन्देश लिएर युद्ध भूमितर्फ प्रस्थान । कुन बाटो कसरी गए र कहिले कुन कुन ठाउँमा पुगे ? कुन मोर्चा सम्हाले ? घाइते–बिरामी, भोक, प्यास, निन्द्रा, आराम, ओखती कहाँ कसरी भयो होला ? कतिले वीरगति प्राप्त गरे, कुन माटोमा कसरी गाडिए पुरिए ? कति युद्धबन्दी भए ? र, कति अनकन्टार वनजंगल, समुन्द्र, दलदल, टापु, मरुभूमिमा अलपत्र परे र हराए ?

प्रथम विश्वयुद्धको तमाम जिज्ञासा र कौतुहलताको भारीले मलाई थिचिरहेकै थियो । सबै सैनिकलाई अनिवार्य जान्न–सुन्न–बुझ्न मन लाग्ने ऐतिहासिक घटना मलाई पनि अनुभूत गर्न इच्छा थियो । गैरसैनिक नेपालीहरूको पनि गहिरो जिज्ञासा हुँदो हो । किनभने नेपाली सेना हुन् वा ब्रिटिश इन्डिया गोर्खाको सक्रिय र दरो सहभागिता एवं योगदान बारे जो कोहीलाई जान्ने उत्सुकता जाग्ने नै भयो । आज पनि दोस्रो तेस्रो पुस्ताले गाउँ–गाउँमा विश्वयुद्धका कहानी हालिरहेकै हुन्छन् ।

ब्रिटिश इन्डिया कम्पनीले गोर्खालीहरूलाई कसरी हिमालका काखबाट झोडेर महाभारत र ज्यान लिने बाघ, औलो लाग्ने डरलाग्दो चार कोसे झाडी कटाएर भारत हुँदै युद्धभूमिमा पुर्‍याउँदथ्यो त्यो कारुणिक दृश्य छर्लङ्ग देख्न पाइन्छ यो पुस्तकमा ।

धेरै कौतुहलता मेटिन्छ थोरै नयाँ जन्मिन्छ । जस्तै – बल र बहादुरी प्रथम विश्व युद्धलाई चाहिएको पहिलो, ठूलो, सर्वाधिक महत्वको मूल्यवान् शक्ति (गुण) थियो । सायद दोस्रो विश्व युद्धसम्म त्यही शक्तिले महत्त्व र प्राथमिकता पाइरह्यो । भन्नै परेन, नेपाल अधिराज्य बल र साहसको प्राकृतिक खानी थियो । आज पर्यन्त छ ।

के दशगजाबाट जति माथिमाथि पहाडको कुनाकन्दरा हुँदै हिमालको काखसम्म गयो उसैगर बल र साहस पनि बढ्दै जाने हो त ? भौगोलिक बनावट जस्तै जति उचाइ बढ्दै गयो उत्ति तागत र साहस पनि उकासिँदै आकासिँदै गएर सगरमाथा जस्तो हुने हो त ?

त्यही भएर हो त शेर्पाहरूले खुरुखुरु ३० औं पटक सर्वोच्च शिखर सकुशल चढ्दै ओर्लंदै गरेका ?

हो भने हावापानीको करामत हो कि भूगोलको ? रगत उस्तो हो कि प्रकृतिले बाल्यकालमा दिएको तालिमको योगदान हो ? रहर हो कि कर र बाध्यता ? बुद्धिमत्ता हो कि मूर्खता ?

तर मूल पात्र मित्रसेनले एउटा जिज्ञासा स्थायी रूपमा मेटाइदिएका छन् । बल र बहादुरी सँगसँगै गोर्खालीको रगतमा अटुट बगिरहेको अर्को शक्तिशाली गुण हो, इमानदारिता । इमानदारिताको जलप लगाएको बल र बहादुरीले गोर्खालीलाई सर्वाधिक विश्वसनीय र लोकप्रिय बनाएको छ ।

त्यस कै करामत र परिणाम हुनुपर्दछ आज विश्वका सबै शक्तिराष्ट्रहरूको सैनिक शक्तिको अभिन्न अङ्ग बनेर उदाएका छन् गोर्खालीहरू । मानौं महाशक्ति र शक्ति राष्ट्रहरूले आ–आफ्नो कोत (हतियारखाना) को साँचो विश्वासपात्र इमानदार गोर्खालीलाई सुम्पिइएका छन् । त्यो बल र साहसभन्दा माथिको इमानदारिताको कदर हो । अमूल्य इमानदारिताले आर्जन गरेको अन्तर्राष्ट्रिय विश्वास हो ।

तसर्थ, इमानदारिता भनेको प्रथम विश्वयुद्धदेखि अन्तर्राष्ट्रियकरण भइसकेको नेपाली ब्रान्ड हो । विश्वव्यापी शान मान गौरवले सुसज्जित हाम्रो अन्तर्राष्ट्रिय पुँजी हो । यो पुँजीको सम्भार सदुपयोग जरुरी छ । यसलाई धार लगाएर टल्काउन चम्काउन अति आवश्यक छ । बहादुर पुर्खा र मित्रसेनले जस्तै ।

तर, परिवर्तित आधुनिक नेपालमा नयाँ भयले जन्म लिएको छ । विकृत राजनीतिले नैतिकता मारेको छ । इमानदारिताको धार भुत्ते बनाउँदै लगेको छ ।  नैतिकता र इमानदारिता एक अर्काका पूरक हुन् । र, मित्रसेन यी गुणले भरिपूर्ण थिए । त्यसैले आज पर्यन्त उनी चम्किरहेका छन् ।

विश्वयुद्धको औचित्य र महत्त्व

पढालिखा मित्रसेनलाई विश्वयुद्ध किन, कसलाई, के का लागि, अनुत्तरित प्रश्नहरूले गिजोलिरहन्छ ।

समुन्द्र पारि गएर अर्काको भूमिमा अरू कोही मालिकको लागि तागत र साहस प्रदर्शन गर्दै बलि चढिदिनुपर्ने कर कि रहर वा आवश्यकता कि बाध्यता भन्ने चिन्तन मननले उनको गिदी खान्छ । दरो र निरन्तरको आध्यात्मिक ज्ञान, सत्कर्म, स्वधर्म, स्वाभिमान, नैतिक साहसले हमेसा आत्मबल भरिदिरहन्छ र युद्ध मैदानमा सगरमाथा जस्तो अटल अमर बनाउँदछ –

“नुनको सोझो गर्नु ।

मालिक प्रति बफादार हुनु ।

हुकुमको अक्षरशः पालना गर्नु ।

उद्देश्य प्रति एकाग्र हुनु ।”

नयाँ मान्छे भूगोल र वातावरणीय परिवेशलाई अनुकूलन बनाउँदै लैजानु ।

आफ्नो धर्म संस्कृति इतिहासप्रति गौरव गर्ने, आस्थावान् हुने, बस् बाँकी जे हुन्छ ईश्वरको मर्जी ।

लाछी भै भागी मर्नुभन्दा वीरता देखाएर मर्नु ।”

प्रथम विश्व युद्धको आवश्यकता र महत्त्व नबुझेरै मित्रसेनले अमरसिंह थापा जस्तो वीर पुर्खाको विरासत, गोर्खाली जातीय पहिचान र बहादुरीको निशान तथा बफादारिता र इमानदारिताको कसीमा आफूलाई हमेसा अब्बल, दरो–खरो साबित गर्दै युद्धमा उच्च त्याग प्रदर्शन गर्दछन् । दुश्मनलाई झिनो मसिनो सानो र दुर्बल देख्दछन्, जब कि आफू र फ्रेन्ड्ली फोर्सलाई शक्तिशाली ठान्दछन् । सपना बिपना हमेसा सफलता र विजयको सकारात्मक कल्पना बुन्दछन् । गोर्खालीलाई सकारात्मक सोच, ऊर्जा र प्रेरणा भरिदिन्छन् ।

“जस्तो सोच उस्तै सुन्दर परिणाम” – उनी विजयले सुशोभित भइरहन्छन् ।

आँखा अगाडिको गोलाबारी, बमबारुद, ग्याँसको दैनिकीसँग मित्रसेन रत्तीभर डराउँदैनन् । गोली लाग्छ, हेलमेट उडाउँछ, कुम झम्झमाउँछ, खुट्टा टेकिंदैन तथापि मित्रसेनको अर्धचेत अर्जुनदृष्टि कम्युनिकेसन लाइन दुरुस्त राख्नु, छिटो र दुरुस्त खबर पास गर्नु, सकिनसकी घाइतेलाई पछि हटाउनु र बचाउनु उनका नित्यकर्म हुन्छन् । अचेत मित्रसेन जब लन्डनस्थित भव्य अस्पतालको शैयामा आफूलाई पाउँदछन्, अर्ध चेत मै मलाई छिटो युद्धको फ्रन्टलाइनमा पठाऊ भनेर विदेशी गोरेनी उपचारीकालाई हैरान पार्दछन् ।

मानौं नहुनु युद्ध भइसकेपछि बहादुर र इमानदार योद्धालाई त्यो एउटा गहिरो नशा हो । उसको रगतको कण कणमा युद्धको नशा उम्लिरहन्छ र उ एकोहोरो एकभक्ति भएर उचालिरहन्छ । खुकुरी धार लाएर, छिद्र छिद्र खोजेर, एक थोपा रगत र धुकधुकी रहेसम्म दुश्मन खोजिरहन्छ, छप्काइरहन्छ र विजयोत्सव मनाइरहन्छ ।

“मरेपछि डुमै राजा” किम्बदन्तीले मित्रसेनलाई पटक्कै आकर्षण गर्दैन । जन्मेपछि मर्नुपर्दछ भन्ने शाश्वत सत्यलाई उनी राजीसाथ मनन र आत्मविश्वास गर्दछन् । तर युद्धभूमिमा होमिएर चौबिस घण्टा रगतको आलमा खडा भै युद्ध खेल्ने उनलाई विश्राम समय र अस्पतालको शैयामा लाछी मरण नहोस् भन्ने वीरताको निशानीले घोचिरहन्छ र सावधान सतर्क गराइरहन्छ । उनमा ईश्वरीय शक्ति भए झैँ जे सोच्यो त्यो पूरा हुन्छ ।

मित्रसेन मनमनै सामरिक महत्वका योजना बुनिरहन्छन् । म कमान्डर भएको भए यसो र त्यसो गर्दथे भनेर माथिल्लो तहको योजना बनाउँदछन् । अकल्पनीय तर कति सुन्दर नेतृत्व गुण ? तर उनको हिलो बुठ् र घाउ पाकेको पाउ हमेसा आफ्नो औकात जिम्मेवारी र जबाफदेहितामा टेकेर उभिएको हुन्छ । उनी धरातलीय यथार्थलाई स्विकार्दछन् र शिरोपर गर्दछन् –

“जे सुकै योजना होस् दिल्ली र लन्डनमा ।

हुकुमको अक्षरशः पालना गर्नुपर्दछ ।

सुम्पिइएको जिम्मेवारी तदारुकताका साथ पूरा गरी छाड्नुपर्दछ ।

आफूसँग भएको ज्ञान ध्यान ज्यान दिएर दुश्मनलाई हराउनु पर्दछ र मालिकको अधीनस्थ क्षेत्र बढाउनु पर्दछ ।

युद्धमा परिणाम, पुरस्कार, परिवार र भविष्यको चिन्ता गर्नु हुँदैन ।”

उनी ट्याक्टिकल लेभलमा माहिर छन् ।

हामीले प्रथम विश्वयुद्ध कहाँ देख्न पाउनु ? न लड्न पाउनु –

पुस्तकले मलाई त्यो विश्वयुद्धमा पुर्‍यायो । ट्रेन्चमा उभ्यायो । काँधमा राइफल थमाइदियो । हातमा पिन थुतेको ग्रिनेड राखिदियो । हवाई मद्दत, आर्टिलरी बम्बार्डमेन्ट पछि दुश्मनको किल्लालाई “आयो गोर्खाली” भनेर फिजिकल एसल्ट गरेर सुरक्षित बनाउन सिकायो । विथड्रल, मेडिभ्याक, रेष्ट, रिअर्ग, रिसप्लाई, पुनः एड्भान्स, एम्बुस, सरप्राईज, किलिङ् एरियामा दुश्मनलाई प्रबेस र फायर, एच आवरमा हमला र अन्तिममा गुत्थमगुत्थाको लडाइँ (सिक्युबि) तथा धारिलो खुकुरीको मार नत्र मर (डु अर डाई) प्रयोग गर्न सिकायो ।

मलाई जस्तै पाठकहरूलाई पुस्तकले युद्धको मोर्चामा पुर्‍याउँदछ र अत्यन्त सरल भाषामा युद्धको दुरुस्त अनुभूति गराउँदछ । रगत रगतमा साहस र इमानदारिता जस्ता असल गुण भरिदिन्छ । जो कोहीलाई असल, सफल र कुशल योद्धा बनाइदिन्छ । नेपाली मूल, नेपाली जाती भाषीका गोर्खालीहरूलाई खुशी सुख र गौरवको रक्तसञ्चार गराइदिन्छ । सैनिक सेवाको अवसर नपाएका गैरसैनिक नेपाली मूलका जो कोही नागरिकलाई यो पुस्तकले सैनिक तालिम र युद्धकलाको आधारभूत ज्ञान प्रदान गर्दछ । तनाब हटाई दिन्छ । साहसको साथै सहिष्णुता धैर्यता, भरिदिन्छ । र, आपत्कालमा युद्ध आइलागे जाइलाग्न, जित्न र बाँच्न सिकाउँदछ ।

पुस्तक आँखा झिमिक्क नगरी पढी सिद्ध्याएँ । महमा जस्तै नसामा डुबे । पुनः दोहोर्याएर पढ्ने सङ्कल्प गरें । र, मनमनै गुनें –

“म मित्रसेन जस्तै हुन पाएको भए कति खुशी हुने थिएँ । कमान्डर पाएको भए बहादुरी देखाउने थिएँ । सत्कर्म सत्सङ्ग त्याग र समर्पणका सद्गुण कमाउने थिएँ ।”

धन्य, मित्रसेनको दूरदर्शन र अतिरिक्त काम । भोक निद नभनी रगतमा पौडी खेल्दै लालटिन बालेर बनाएको डायरी । जीवनभर बनाएको दैनिकीको विस्तृत विवरण । जसले आज मलाई मित्रसेनको ट्रेञ्च र बङ्करमा पुर्यायो । सपना र मनको सहयोद्धा बनायो ।

सलाम छ पुस्तकको प्राचीन लाहुरे मेरो महानायक मन मुटुको हिरो मित्रसेनलाई ।

अनि सलाम छ, मित्रसेनका नोटका चिर्केटो र डायरीका पाना पाना जोडेर, मोही पारेर, भातमाथि मिठो घिउ पस्किदिने वातावरण र संरक्षणप्रेमी आधुनिक लाहुरे लेखक विजय हितानलाई ।

अत्यन्त पठनीय यो पुस्तक भविष्यमा क्याम्पेनस्टडी र केसस्टडीको लागि पाठ्यक्रम योग्य छ । यो पुस्तकबाट मैले सिकेको सबैभन्दा ठूलो पाठ हरेक सैनिक होस् वा गैरसैनिक यो सुन्दर प्रकृति धर्ती संस्कृतिको लागि अमूल्य कृति हो । उपहार हो । र, प्रकृति धर्ती संस्कृति रक्षा कल्याण सम्मानको लागि हरेक नागरिकको अमूल्य योगदान छ ।

तसर्थ, विश्वभरि छरिएर फैलिएर वीरताको गाथा बुनिरहेका बहादुर र इमानदार हामी गोर्खालीहरूले अमूल्य जीवनीको दैनिकीलाई मित्रसेनले जस्तै अनिवार्य डायरीमा उतारिरहनुपर्दछ । र, त्यो डायरीलाई सुरक्षित राखिदिनुपर्दछ । प्रकृति, धर्ती, संस्कृति र सन्ततिलाई आफ्नो कृति र न्याय दिनको लागि ।

हेक्का रहोस् कमान्डरको कथा सिपाहीले थाहा पाउन र लेख्न सक्दछ । तर फ्रन्टलाइनमा सेवारत – युद्धरत वीर सिपाहीको बहादुरी कथा पछाडि बस्ने कमान्डरले देख्न लेख्न सक्दैन ।  र, यो पनि हेक्का रहोस् युद्धको योजना कमान्डरले बनाउने हो, त्यसको कार्यान्वयन सिपाहीको हातबाट हुने हो । सफल परिणाम र विजयको माला सिपाहीले उन्ने हो, बुन्ने हो र कमान्डर एवं मालिक (शासक) को गलामा पहिरिदिने हो । यसरी मातृभूमि सुशोभित हुने हो ।

आ–आफ्नो अमूल्य जीवनको डायरी लेखनको लागि सबैलाई पुनः सादर अनुरोध गर्दछु ।

बाँकी अर्को साता …