
नारायण गोपालको गीत नसुन्ने र नचिन्ने को होला र खै ? तर धेरै जसो व्यक्तिहरूले नारायण गोपाललाई गायकको रूपमा मात्र चिनेका छन् । नारायण गोपाल बारे संक्षिप्त जानकारी लिनको लागि नारायण गोपाल संगीत कोषद्वारा प्रकाशित पुस्तक ‘बागीना’ले नारायण गोपाल सम्बन्धी सबै कौतुहलता निर्मूल पार्न मद्दत गर्दछ । नारायण गोपाललाई नजिकबाट चिन्ने उनका साथी, दौँतरी, सहपाठी, सहकर्मी तथा अन्य गीतकार, संगीतकार, लेखक, पत्रकार लगायत ७० जना व्यक्तित्वहरूले उनको बारेमा लेखेका लेखहरूलाई “बागीना” नारायण गोपाल स्मृति अङ्कमा प्रकाशित गरिएको छ । उहाँसँग सङ्गत गर्नेहरूले उहाँको असल-खराब आनी-बानीहरूको बारेमा विश्लेषण गरेका छन् ।
बागीना अर्थात् (बाजा, गीत र नाच) नामको कला पत्रिका निकाल्न नारायण गोपालले धेरै मेहेनत र योगदान गरेका रहेछन् । यो पुस्तक पढेपछि उनलाई नजिकबाट चिन्न पाइयो ।
नारायण गोपालको गीतहरू सुन्दै हुर्केका हामी, उनी गायक संगीतकारको अलावा धेरै रक्सी सेवन गर्दथे, अहङ्कारी थिए, जो पायो त्यसको गीत गाउँदैनथे । यस्तै यस्तै कुराहरू सुन्नमा आउँथ्यो ।
तर यो बागीनाले भने वास्तवमा उनी को थिए, के थिए, कसरी जीवन जिएका थिए, उनको आदर्श के थियो, गीत संगीतलाई कुन रूपमा लिन्थे, कसरी गीत छनौट गर्दथे, कसरी गाउँथे, सम्पूर्ण कुराको जनकारी दिन्छ ।
स्वरसम्राटको उपाधिले सम्मानित नारायण गोपालले लगभग २०० भन्दा बढी नेपाली गीत गाएका थिए । उनका गीतहरू नेपाली चलचित्र तथा नाटकहरूमा पनि समावेश गरिएका छन् । नारायण गोपाल जन्म वि.सं. १९९६ असोज १८ गते बुबा आशा गोपाल गुरुवाचार्य र आमा रामदेवी गुरुवाचार्यको सन्तानका रूपमा काठमाडौँको किलागलमा भएको थियो । वि.सं. २०२७ साल फागुनमा दार्जिलिङ निवासी पेमालाका साथ उनको विवाह भएको थियो ।
उनी कुशल तबला बादक समेत थिए । चेस खेल्नका सोखिन थिए । खाना पकाउनमा पनि रुचि राख्थे । साथीभाइ बिच हाँसो ठट्टा गर्नमा माहिर थिए ।
पलपलमा लाखौं मान्छे जन्मन्छन् र मर्छन्, यो प्रकृतिको नियम नै हो । तर कोही मान्छेहरू मरेर पनि अमर बनिरहन्छ । भौतिक शरीर यस दुनियाँमा नभएता पनि गीत र संगीतको माध्यमबाट सधैं हामी बिच बाचिरहेका छन् नारायण गोपाल गुर्वाचार्य ।
उनी घाँटीबाट होइन मुटुबाट गाउँथे, त्यसैले हरेक मुटुहरूमा उनको स्वरले छुने गर्दछ । उनी गीतको अर्थलाई उपयुक्त संगीतमा ढालेर फिल गरेर गाउँथे, हरेक गीत उनको आफ्नै भोगाइ झैँ लाग्दथ्यो । उनको स्वरमा सम्मोहन थियो, जादु थियो । विलक्षण गायक थिए ।
संगीत प्रतिको मोह र समर्पण नारायण गोपालको आफ्नो व्यक्तिगत स्वार्थको लागि छँदै थिएन भन्ने कुरा वीर अस्पतालको आइसियु मा हुँदा गीतकार नगेन्द्र थापालाई भनेको कुराले प्रस्ट पार्दछ ।
नारायण गोपाल भन्छन्, “वकिल बोलाउनु पर्यो, पेमाला (उनकी श्रीमती) लाई पुग्ने राखेर बाँकी मेरो सम्पत्तिको एउटा संगीतको ट्रस्ट बनाउन चाहन्छु ।”
उनले १९७० तिर बम्बैमा गीत गाएर बस्ने अफर पनि आएको रहेछ, तर उनले आफ्नै देशमा गीत संगीतको विकास गर्न धेरै बाँकी छ, यही नै केही गर्छु भनेर बम्बई जान अस्वीकार गरेछन् । बसन्त कुमार चौधरीका अनुसार नारायण गोपाललाई सम्मान गर्ने हो भने नेपाली संगीतको विकास गरिनु पर्छ ।
रोचक कुरा दार्जिलिङकी पेमलाजीसँग बिहे गरे पश्चात् उनी श्रीमती सहीत पोखरा आएर बसेका रहेछन् (६ महिना जति) । त्यो समयमा पेमालाजी रत्नराज्य लक्ष्मी स्कुलमा र उनले अंम्मबरसिङ स्कुलमा पढाउने काम गरेका रहेछन् ।
उनले आफूलाई चित्त नबुझी गीत रेकर्ड नै गराउँदैनथे ।
“मलाई नसोध कहाँ दुख्छ घाउ” बोलको गीतको २३ वटा धुन बनाएका थिए ।
एक पटक मालती मंगलेको गीत “रातैमा बोलाई दरौदीलाई मर्स्याङ्दी मिसियो, म केले बोलाउ मालतीलाई मुरली खोसियो” गीतभित्र डुब्दा नारायण गोपाल मर्स्याङ्दी र दरौदी मिसिएको दोभान कस्तो रहेछ भन्दै हेर्न गएका रहेछन् ।
बसन्त श्रेष्ठ भन्छन्, “गोपाल घमण्डी थिए भन्ने सुनिन्छ, मलाई लाग्छ त्यो चाहिँ उहाँसँग सङ्गत नगरेकाहरूको अनुमान मात्रै हो । उहाँ कति नरम र सरल मानिस थिए भन्ने कुरा एक पटक सङ्गत गरे पछि सजिलै थाहा हुन्थ्यो ।”
मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य भन्छन्, “करोडौं जन्मेका मध्ये कुनै कुनैको मृत्यु हुँदा समाचार बन्दछ । देश स्तब्ध हुन्छ, संसार स्तब्ध हुन्छ । मृत्युमा त्यस्तो अवसर पाउन कर्मयोगी हुनुपर्छ र ऐतिहासिक काम गरेको हुनुपर्छ ।” नारायण गोपालको मृत्युमा उर्लिएको जनसागरले देखाउँछ, उनी कति प्यारा थिए ।
विसं २०२३ मा रेडियो नेपालद्वारा आयोजित आधुनिक संगीत सम्मेलनमा सर्वोत्कृष्ट गायकको पुरस्कार प्राप्त गरेका थिए । विसं २०२९ मा रत्न रेकर्ड पुरस्कारले विभूषित भए । २०३३ मा गोर्खा दक्षिण बाहु चौथा, २०४० मा ईन्द्रराज्यलक्ष्मी पुरस्कार, २०४३ मा विशाल बजार लायन्स अवार्ड, २०४४ मा छिन्नलता पुरस्कार, २०४५ मा जगदम्बा श्री पुरस्कार, २०४५ मा वर्षको सर्वश्रेष्ठ पुरुष, २०४६ मा गोल्डेन काइट अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायक मण्डल र २०४७ मा उर्वशी रङ पुरस्कार प्राप्त गरेका थिए ।
त्यसै गरी त्रिवि ले उनको योगदानको कदर गर्दै संगीत विशेषज्ञको पदमा सहप्राध्यापक बनायो । त्यति बेला उनले त्रिवि अन्तर्गतका क्याम्पसका विद्यार्थीहरूलाई जुटाइ उनीहरूको प्रतिभाको संयोजन गरे । क्याम्पसको पुनर्निर्माणका लागि श्रोत जुटाउन एकल गायन प्रस्तुत गरे ।
नारायण गोपाल इतिहास पढ्नमा धेरै रुचि राख्दथे भने सदैव सत्य बोल्दथे । सत्य बोल्दा त्यो जति नै तितो होस्, जस्तोसुकै परिस्थिति र जस्तोसुकै मानिस सामु होस् उनी सत्य बोल्न हिच्किचाउँदैनथे । यिनै कुराले उनी माथि मुडी, लहडी, घमण्डी र सन्काहा भन्ने आरोप लगाइएको हुन सक्छ । ती आरोपहरू सत्य कुरा पचाउन नसक्नेहरूले गरेका अलाप मात्र थिए । त्यसैले होला उनी रेडियो नेपालदेखि टाढा नै रहेर आफ्नो गीत संगीतको माहौललाई निरन्तरता दिंदै गए ।
नारायण गोपाललाई ‘तपाईंलाई मन पर्ने गीत कुन हो ?’ भनी सोध्दा, ‘ड्याट इज अ सेक्रेट’ भन्ने जवाफ दिएछन् ।
उनकी पत्नी पेमलाका अनुसार नारायण गोपाललाई यी दुई गीत मन पर्थ्यो – ज्यादै खुशी भएर रचेको गीत “साउनको झरी बनी तिमी आउन” र अत्यन्तै दुःख विह्वल बन्दै रचेका गीत “मलाई नसोध कहाँ दुख्छ घाउ” ।
नारायण गोपालको बिहे दार्जिलिङ निवासी उनको फ्यान पेमालासँग बिहे हुँदाका रोमाञ्चक क्षणहरूको बारेमा उल्लेख गरिएको छ । साथै उनका मितज्यू गोपाल योन्जन सँगको सहकार्य र सबन्ध, वरिष्ठ संगीतकार अंम्म्बर गुरुङसँगको सहकार्य बारे चर्चा गरिएको पाइन्छ । उनको रोग र उपचारमा गरिएका प्रयासहरू यस पुस्तकमा समाविष्ट छन् ।
पहिलो पटक कुनै जनताको छोराले लास माथि राष्ट्रिय झन्डा ओढाउने सौभाग्य पाएको थियो । कलाकारको पार्थिव शरीर दर्शनको लागि राखिँदा अपार जनसमूह उर्लेको यो पहिलो घटना थियो । महिलाहरू मलामी नजाने पारम्परिक मान्यता स्वतः स्फूर्त रूपमा तोडिएको थियो । यो पहिलो उदाहरण थियो । यसरी पुस्तकमा उनको मृत्यु हुँदा संवेदनासँगै विभिन्न पत्र–पत्रिकामा लेखिएका कुराहरूलाई समेत समावेश गरिएको छ भने पुस्तकको अन्तमा विभिन्न समारोहहरूमा तथा गीत रेकर्डका क्रममा खिचिएका नारायण गोपालका तस्बिरहरू राखिएको छ ।
समग्रमा भन्नु पर्दा स्वर सम्राट् नारायण गोपालका बारेमा बृहत् र आधिकारिक जानकारी दिने पुस्तक हो यो । कालजयी स्रष्टाको अमरत्वलाई उजागर गर्ने कृति हो यो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

