नेपालमा २०५२ साल देखि सुरु भएको सशस्त्र द्वन्द्व २०६२-६३ सम्म निरन्तर रह्यो । देश जलिरहेको थियो, आर्तनाद मनहरू जलिरहेका थिए ।

२०६२ को अन्त्यतिर मा बल्ल सात दल र द्वन्द्वरत पक्षबीच समन्वय भएर संयुक्त जनआन्दोलन सफल भएसँगै यसको समाधान भयो । यस बीचमा धेरै नेपाली दाजुभाइ दिदीबहिनीहरूले ज्यान गुमाउनु पर्‍यो । युद्धको रूप बीभत्सता र आक्रान्तको भुमरीमा अल्झेको हुन्छ नै ।

हो, त्यस्तै २०५८ कार्तिक २९ गते जुम्लामा राज्य पक्ष र माओवादी बीच घमासान भिडन्त भयो । त्यही भिडन्त भइरहँदा जुम्लाका बासिन्दा र त्यहाँका कर्मचारीहरूले प्रत्यक्षदर्शी भएर भोग्नु परेको साक्षात् क्लान्त रूपलाई नर्स राधा पौडेलले डायरी लेखेर ‘खलंगामा हमला’ नामक पुस्तकको रूप दिएकी छन् ।

यस कृतिमा उनले जुम्लाको सामाजिक, राजनैतिक, सांस्कृतिक, मनोवैज्ञानिक, आर्थिक र अतियथार्थको नजिक रही डायरी तयार पारेकी छन् । यो कार्य सराहनीय छ । ९ अनुच्छेदमा बाँडिएको डायरी एक बसाइमै पढेर सकिन्छ । पुस्तक पढ्दै गर्दा म पनि सोही परिवेश भोगिरहे जस्तो भान हुन्छ । घटना जीवन्त छ । बीभत्स युद्धका व्याख्याले आङ नै सिरिङ्ग भई त्यो कारुणिक रूप चित्रात्मक बिम्ब बनी अहिले पनि मानसपटलमा झलझली आउँछ । यो डायरीमा उल्लेख गरे अनुसार जुम्लामा पिडा छ, अभाव छ, अनि समस्या ।

राधा पौडेललाई निडरकी प्रतिमूर्ति भने पनि हुँदो रहेछ । किनभने जुम्लाको तिला नदीमा युद्धको समयमा फालिएका शवहरू सफा गर्न जिल्लाका प्रमुखहरू पुरुष साथीहरूले डरले खुट्टा कमाइरहेको बेलामा उनले निडरताका साथ उपस्थित भई सहयोग गर्छु भन्दा पुरुष साथीहरूले लैजान खोज्दैनन् । महिलालाई कमजोर मुटुको रूपमै हेर्छन् ती पुरुषहरू, किन्तु उनी पुरुषार्थ महिला रहिछन् । जहाँ अप्ठ्यारो हुन्छ, त्यहाँ अघि सर्छिन् काम गर्न । युद्धको समयमा मारिएका मान्छेको खाल्टोमा पुरिएका शव निडरताका साथ लौराले कोट्याउँदै हिँड्दछिन् । हाम्रो समाजमा महिलालाई किन पछि पारिन्छ त ? के काम गर्न पनि लिङ्गको आधारमा मात्र वर्गीकरण गरिनु पर्ने हो ?

एउटी नर्स सुविधा सम्पन्न सरकारी अस्पतालको स्थायी जागिर छोडेर घरदेखि निकै टाढा जुम्लामा गएर जनताको सेवा गर्नु, त्यो पनि माओवादी युद्धकालमा ज्यानको प्रवाह नगरी तिनीहरूसँग पौंठेजोरी खेल्नु सामान्य कुरा होइन । तत्कालीन परिवेशमा यसलाई महान् कार्य मान्नै पर्छ ।

यिनको खलंगामा हमला पुस्तक पढ्दै गर्दा मथिङ्गलमा सिङ्गो जुम्लाको मुहार चित्रित हुन्छ । पढेलेखेका मान्छेले पनि छाउपडी मान्नु, श्रीमती तथा कुनै पनि महिलालाई दासीको व्यवहार गर्नु जस्ता कुराले मान्छेको मनोवृत्ति कस्तो छ भन्ने कुरा देखाउँछ । लेखकले हर कुरामा जुम्ला पछाडि परेको सन्देश दिएता पनि प्राकृतिक दृष्टिकोणले भने धनी रहेको त्यस क्षेत्रलाई प्रकृतिले जडीबुटीको झोली नै फुकाइदिएको कुरा गर्छिन् । त्यहाँको यार्सागुम्बा सुन जत्तिकै महँगो रहेको छ । त्यसलाई परिचालन गर्न सकियो भने स्थानीयलाई  आयस्रोतको राम्रो बाटो हुने थियो । नेपाल सरकारले यस्तो बहुमूल्य जडीबुटी खोजोस् भन्ने आह्वान पनि गरेकी हुन् । यो कुरामा हामी किन पछि परेका छौं ?

यस डायरी खलंगामा हमला माओवादी द्वन्द्वको चित्रण चित्रित हुँदा जो कोहीलाई करुणा जाग्नु स्वाभाविकै हो । समय यस्तो थियो कि जनताहरू दिन नढल्कियोस् भनी भगवान्सँग पुकार गर्थे । जब सूर्यले आफ्नो किरण पहाडको टुप्पोमा ठक्कर खाँदै पृथ्वीमा झार्दा सबैको अनुहारमा उत्साह उमङ्ग छाउँथ्यो । जब दिन ढल्किन्थ्यो, तब मान्छेको मनमा त्रासै त्रासले बास गरेको हुन्थ्यो ।

तत्क्षण जनताहरू साढेको जुधाई बाच्छाको मिचाइमा परेका थिए । नेपाली समाजमा एक अर्काप्रति अविश्वास अराजक मनस्थिति कुण्ठा र आक्रोशले भरिएको थियो । जब त्यहाँ युद्ध भयो तब केन्द्रीय कार्यालय र राधाका घर परिवारले सुरक्षाका लागि बोलाउँदा सुगम ठाउँमा नगएर उनले आफ्नो व्यक्तिगत सुरक्षा भन्दा पनि सिङ्गो जुम्लाको सुरक्षा खोजिन् । आफू कार्यरत संस्था लगायत घर परिवारले बोलाउँदा पनि नगएर भिडन्त हेर्न पुगिन् ।

जुम्लावासी प्रति राधाले गरेको सहयोगमा हार्दिकता छ नै । उनले मातृ सुरक्षा तथा नवजात शिशुस्याहार अन्तर्गत अपरेसन गर्ने औजार भित्र्याउनु र मदनले दिएको जग्गामा सहिद स्मारक बनाउनु, भिडन्तमा कालको मुखबाट फर्किसकेपछि पनि फेरी जुम्लामा संवेदना बोकेर जानु यो उनको उदाहरणीय स्वरूप हो । सायद जो कोहीले पनि बिना साइनो जुम्ला प्रति उदारता देखाउन सक्तैनन् । यिनी जुम्लाको लागि वीर महिला हुन् । छाती भरी जुम्लाको मायामा समर्पित भएकी छन् ।

यस डायरीमा माओवादी भिडन्तमा परी वरिष्ठ अधिकारीहरू सहित जनताले वीरगति प्राप्त गरी एउटी महिलाले ती सबैको शव खोज्दै जानु कायरतालाई  एउटा कुनामा राख्नु हो । अझ महानताको कुरा भन्ने हो भने उनका साथीले पी.एच.डी गर्नु र स्वयम् आमा बिरामी हुँदा पनि जुम्ला जुम्ला भनी फेरि जुम्लावासीसँग हृदय जोडी सेवा गर्नु जुम्लावासीहरूको अहोभाग्य हो ।

पुस्तक भित्रका कथाहरूले सिङ्गो मानव छाती फुलाएका छन् । जे होस् जुम्ला भिडन्तको झलक प्रस्तुत गरी छोटो आख्यान दिई जुम्लाकै बारेमा लेखिएको ऐतिहासिक भिडन्तको चित्रणले पीडित परिवारको यथार्थ पस्किन सफल भएको छ । यो कृति आफन्त गुमाउनेको लागि र प्रत्यक्षदर्शीहरूका लागि सम्झनाको फूल बन्नेछ ।

राधाको डायरी क्लिष्टता नभई सरल सहज एवं जो कोहीले बुझ्न सक्ने भाषामा प्रस्तुत गरेकी छिन् । यस्तो लाग्छ – एउटी नर्सले स्वास्थ्य तथा नर्सिङको प्राविधिक भाषा मात्र हैन साहित्यको भाषामा पनि यथार्थ प्रस्तुत गर्न सक्छिन् ।

साहित्यकार र अरू कृतिकारहरू सँगको दौडमा राधा पौडेलले ओजिलो मदन पुरस्कार प्राप्त गर्न पुगिन् । यसको लागि उनलाई सधन्यवाद बधाई दिनै पर्छ । यस डायरीमा शब्दानुवृत्ति भएको छ । यसमा पाठकलाई प्रेरित पार्ने किसिमको बिम्ब, प्रतीकको प्रयोग भएको छैन ।

हुन त यस डायरीमा भनेअनुसार राधाको मात्र प्रयासले त्यहाँ प्रगति हुन सक्थेन होला, सायद जुम्लावासीले सहयोग नगरेको भए । जे होस् आँटिली, निडर र अग्रसरताकी नमुना बनिन् राधा । त्यही भएर होला उनी स्वदेश मात्र नभई विदेशबाट समेत पुरस्कृत भइन् ।

पुस्तकको अध्ययन पश्चात् म सोच्दै छु – युद्धमा क्षतक्षत् भएका व्यक्तिको अवस्था कस्तो होला । राज्यबाट के कस्तो सुविधा प्राप्त गरेका छन् वा छैनन् । जुम्लाको भूमिलाई आफ्नो पाइतालाले स्पर्श नगरेता पनि भौगोलिक विकटताबाट टाढा भएका व्यक्तिलाई यसै कृतिबाट राधाले जुम्ला र खलङ्गा चिनाइन् । त्यस समयको घटनालाई निकै मार्मिक ढङ्गबाट सिलसिलेवार रूप दिएर कृति तयार पारिन् । त्यहाँको सांस्कृतिक सौन्दर्यसँग साक्षात्कार गराइन् । त्यो समयको यो दस्ताबेज हो, यो डायरी । सामान्य डायरी भएता पनि यसभित्र बीभत्स युद्धको अनुहार छ । युद्धको आक्रान्त विवरण छ ।